सर्जकहरू एक्लै कहाँसम्म आफ्नै सपनाको कफिन घिसार्दै हिँडिरहने ?
हुन त सिनेमा दर्शकमाझ पुगिसकेपछि जे बोल्छ उसैले बोल्छ, त्यसबारे थप बोलिरहनु सिनेमा स्वयंलाई कमजोर ठान्नु हो भन्ने मानिन्छ । तर कहिलेकाहीं चलिआएका सूत्र र शैलीलाई छोडेर केही गहिरो सञ्चार गर्न खोज्दा, भाषामा अभ्यस्त नभएका दर्शकहरू दिग्भ्रमित भइदिँदा रहेछन् । बजारको चौरस्तामा पछारिएको सिनेमा, कुनै अर्धसिल्लीझैं एक्लै बर्बराउँदै हिँड्दो रहेछ, केही तारतम्य नमिलेझैं, र्याङको ठ्याङ नमिलेझैं । ‘भुठान’ सिनेमाको संकल्पना टुसाएको दिनदेखि प्रदर्शनको दिनसम्मलाई नियालिरहेको एक साक्षीका रूपमा केही बुँदाहरू राख्ने धर्म सम्झेको छु ।
विषय
मैले यदि एक माछाको टुक्राबारे चलचित्र बनाउने भए पनि, त्यो अन्ततः मेरो बारेमा नै हुनेछ– फेडेरिको फेलिनी
‘भुठान’ को मूल विषय भुटानी शरणार्थीको पीडा होइन, न त उनीहरूको राजनीतिक–सामाजिक आरोह–अवरोहको चित्रण नै हो । यसले त आजको युगको मान्छेको एउटा साझा घाउ गहिराइमा खोतल्न खोजेको हो । लय हराएको, जग हराएको, वैश्विक पुँजीवादको घनचक्करमा आफ्नो जरा चुँडाएर, भौतिकताको भड्खालोमा जाकिएको आजको मान्छेको आध्यात्मिक संकट कति डरलाग्दो छ, त्यही जगमा टेकेर उम्केको विषय हो । एउटा परिवेशमा उभिएर आफैंले अनुभूत गरेका गहिरा पीडाहरू बाँच्न खोजिरहेथे विनोद पौडेल । कथा भन्न परिवेश, पात्र र भोगाइहरू चाहिन्छन् । भुटानी शरणार्थीको परिवेश सुहाएर आयो । यो विषय त हाम्रै कन्दराहरूबाट नाति–नातिना स्याहार्न विकसित देश पुगेका, तर विचलित भएका बाजे–बज्यैमा पनि फिट हुन सक्थ्यो अथवा धेरै टाढा इथियोपियाको पहाडबाट डीभी लटरी परेर थातथलोसँग धागो चुँडाएर ‘धरतीको स्वर्ग’ पुगेको एक अफ्रिकीको उकुसमुकुसमा पनि फिट हुन सक्थ्यो ।
विष्णुबहादुर केसीको भुटान जाने लङ्गिङ, आफ्नो देश फर्कने तृष्णा मात्रै होइन, यो त अस्तित्व संकटको चरम दोसाँधमा बतासिएको मान्छेको आत्माले आफ्नो जरा समाउने अभिलाषा हो— जसरी टम छिर्न चाहन्छ गर्भमा, भाग्न चाहन्छ भुलभुलैयादेखि, भेट्न चाहन्छ आफ्नो जरा । उल्झनमा अल्झिएर, विनोद जराको खोजीमा थिए, मूलको खोजीमा थिए— भुटानी आप्रवासीको परिवेशमा ।
शैली
सपनाको अनुभूतिजस्तो, संगीतको अनुभूतिजस्तो कुनै पनि कलाले हाम्रो चेतनालाई सिनेमा जसरी छिचोल्न सक्दैन । सिनेमा त सिधै हाम्रो आत्माको गहिरा अँध्यारा कोठाहरू भित्रसम्म पुग्छ– इङ्गमार बर्गम्यान मान्छेका अनुभूतिका विविध पाटामध्ये सिनेमा अनुभूति–सपनासँग नजिक छ भनिन्छ । परम्परागत कथावाचनका सूत्र र शैलीहरू छाडेर स्वप्नवाचनका शैली पछ्याएको छ– ‘भुठान’ ले । अवचेतनका आरोहझैं कथाका सिलसिला विशृंखलित, विखण्डित भएर आउँछन् । बाहिरी यथार्थलाई छाडेर बेला–बेला अवचेतनका पत्रहरू खोतल्न थाल्छ । पूरै सिनेमा एउटा लामो सपनाजस्तो, लामो ऐंठनजस्तो बितिदिन्छ । चेतन र अवचेतनबीचको मसिनो झिल्लीमा टेकेर सर्जक आत्माको अँध्यारा कोठाभित्रसम्म पुग्न खोजेका छन् ।
दर्शकलाई रिझाउन कथाले माग्ने केही आधारभूत तत्त्वहरू भन्दा पर पुगेको छ सिनेमाको कथावाचन । सिनेमाले पात्र र परिवेश स्थापित गर्दैन । पात्रहरूको सम्बन्ध स्थापित गर्दैन । न त नायकको लक्ष्यसँग एकाकार गर्छ, न त अन्तिम घटनाको रहस्यमा अल्झाइरहन्छ । परम्परागत कथाले गर्नुपर्ने भनिएका ती आधारहरू भत्काएको छ सिनेमाले ।
दर्शक रिझाउने कथावाचनभन्दा पर, सर्जकले सिनेमा दृश्यहरूमा मानवीय विचलनका प्रश्नहरूको उत्तर खोजिरहेका छन् । तर, सिनेमाले बाँच्न खोजेको यो ‘लेस ट्राभल्ड बाइ’ शैलीसँग दर्शकहरू एकाकार हुन सकेनन् । हलबाट निस्किरहेका दर्शकहरूको गम्भीर अनुहारमा एउटा साझा प्रतिक्रिया थियो— ‘सिनेमालाई प्रोसेस गर्न गाह्रो भयो ।’
सर्जक
‘सिनेमा निर्देशक कविजस्तै हो, तर कागजमा अक्षरहरू लेख्नुको साटो निर्देशकले दृश्य, आवाज र भावनामार्फत पर्दामा आफ्नो कविता लेख्छ– डेभिड लिन्च’ अनेक उल्झनबीचबाट आफैंले खोजेको कथ्य, आफ्नै शैलीमा वाचन गर्ने दृढता र साहस निकै कम सिने–सर्जकसँग हुन्छ । धेरैजसो त बजारको बाढीले पखाल्छ । तर, कहिलेकाहीं आफ्नो सिर्जनासँग सर्जक यति धेरै गाँसिन्छ कि अनेक चुनौती सामना गर्न एकोहोरिएर लाग्दोरहेछ । यो कथाभन्दा विनोद आफैं त्यति कम्फर्ट जोनमा थिएनन् । एउटा आउटसाइडरको रूपमा भुटानी जनजीवन नियाल्दा, भोगाइका नुआन्सेसहरू छुट्नु स्वाभाविक थियो ।
यो सिनेमाको बीजारोपण हुँदा विनोद आफैं जिन्दगीको विशेष घडी गुजारिरहेका थिए । पारिवारिक शोकको घाउ थियो । ‘मिड लाइफ क्राइसिस’ बाट गुज्रिरहेका थिए सायद । अमेरिकी सपनाभित्रका अँध्यारा ऐंठनहरू, भौतिकताको रापमा पिल्सिरहेको भ्रमित मान्छेलाई नजिकबाट नियालिरहेका थिए ।
ओहायोको हिउँले ढाकिएको चिसो जमिनमा घोत्लिएर लेखिरहेका थिए— जीवन र मृत्यु, धर्म र अध्यात्म, चेतन र अवचेतनको ल्याबरिन्थमा अड्किएर, दिग्भ्रमित आजको मान्छेको शोधपत्र ।
यो कथा भन्दा उनले परम्परागत सूत्र र शैली पछ्याएनन् । दृश्य र आवाजको सम्मोहक कविता लेख्न खोजे । यो स्वाद नेपाली दर्शकलाई अनौठो लाग्यो । आफ्नै कथावाचनको भुक्तानी नभेटिएपछि सुनसान सिनेमा घरबाट ‘सिनेमा’ हरायो ।
सिनेमाले लिन खोजेको यात्रामा पर्याप्त बहस भएनजस्तो लाग्छ । कला–सौन्दर्यको कसीमा राखेर यसको समीक्षा कतै भएन । बेफ्वाँक गसिपिङले मात्र मञ्चहरू तताए ।
ओहो ! कस्तो अत्यासलाग्दो परिवेश ? सिनेमा सिर्जनामा मनबाट एकोहोर भएर लाग्ने सर्जकहरू एक्लै–एक्लै, कहाँसम्म विष्णुबहादुर केसीझैं आफ्नै सपनाको कफिन घिसार्दै हिँडिरहने ? कहिलेसम्म ?
