कसैमाथि हानि गर्नु, दुःख दिनु र उक्साउने मनसायले केही भन्नु नै ट्रोलिङ हो । अनलाइनको हकमा चाहिँ कमेन्ट र पोस्ट हो– ट्रोलिङ ।
सामाजिक सञ्जालमा अभिनेत्री सुरक्षा पन्तबारे अनेक टीकाटिप्पणी ओइरिरहेका छन् । एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि सामाजिक सञ्जालमा व्यक्तिगत आक्रमण भइरहेको छ । कार्यक्रम प्रस्तोताले सुरक्षालाई पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रको तस्बिर देखाउँदै उनीकेन्द्रित प्रश्न सोधेका थिए । त्यस प्रसंगमा पूर्वयुवराज पारस शाह र उनका छोरा हृदयेन्द्रबारे बोलेकै आधारमा सुरक्षामाथि घृणा बर्साउन सुरु भएको थियो । सुरक्षा–अभिव्यक्तिमाथि आलोचनात्मक चेतभन्दा घृणा, उत्तेजना र अश्लील अभिव्यक्ति धेरै देखिन्छ । त्यति मात्र होइन, उनको अभिव्यक्ति र विचारलाई समर्थन गर्नेहरू पनि ट्रोल र घृणाको सिकार भइरहेका छन् ।
ट्रोलको पात्र बनिनु र बुलिङको सिकार बन्नु सामाजिक सञ्जाल प्रयोगकर्ताले भोग्नैपर्ने नियतिजस्तो बनिसकेको छ । अभिनेत्री र हास्य कलाकार दीपाश्री निरौलाले केही वर्षअघि यस्तै आक्रमण झेलेकी थिइन् । उनले अभिनेता राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा तीव्र ट्रोलिङको सिकार भइन् । उनको भनाइपछि सामाजिक सञ्जालमा अनेकौं गालीगलौज, अपमानजनक टिप्पणी, मिमहरू र व्यक्तिगत आक्रमण हुन थाले । यही घटनाले आफूलाई मानसिक आघात परेको बताएकी उनले अन्त्यमा रुँदै माफी नै मागिन् ।
दीपाश्रीले ट्रोलहरूले उनलाई गहिरो मानसिक असर पारेको खुलेरै बताएकी थिइन् । उनी घरबाट निस्कनसमेत डराउन थालिन्, जसको असर उनको व्यक्तिगत जीवनमा पनि देखियो । उनी अन्तर्वार्ताबाटै तर्किन थालिन् । ट्रोलिङले कसरी मानिसलाई चिन्ता अर्थात एन्जाइटी बढाउँछ ? सामाजिक दूरी बढाउँछ ? र असुरक्षा महसुस गराउन सक्छ ? यो घटना त्यसैको उदाहरण हो ।
उसो त धेरै सार्वजनिक व्यक्तित्वहरू नै ट्रोलिङको सिकारमा पर्छन् । उदाहरणका लागि नेपालमा केही वर्षअघि निकेश नाम गरेका एक किशोर टिकटकमा
आफ्नो नृत्य कौशल देखाउँथे । नाचेको भिडियो टिकटकमा पोस्ट गरेकै कारण उनीमाथि ट्रोल हुने गरेको थियो । उनले पछि आफूलाई निकिशा भनेर चिनाउन थाले । तत्पश्चात् उनले टिकटकलगायतका प्लेटफर्ममा निर्दयी ट्रोलिङको सामना गर्नुपर्यो । धेरैजसाले उनीसँग अन्तर्वार्ताका नाममा कुराकानी गर्दा पनि गिज्याउने खालका प्रश्न सोधे । कत्तिले उनीमाथि ‘छक्का’ जस्ता अपमानजनक शब्द प्रयोग गरेर उनको लैंगिक पहिचान र रूपरंगको खुलेआम मजाक उडाए ।
लगातार ट्रोलिङका कारण निकिशाको मानसिक स्वास्थ्यमा गहिरो असर पर्यो । उनी सामाजिक रूपमा अलग हुन पुिगन् । ट्रोलिङले खासगरी एलजीबीटीक्यूआई समुदायका सदस्यलाई कसरी टार्गेट गर्छ ? उनीहरूलाई समाजमा खुलेर आउन कसरी बन्देज हुन्छ ? ट्रोलहरूले कसरी उनीहरूलाई लाज, अपमान र समाजबाट टाढिएको महसुस गराउन सक्छ ? यो घटनाले देखाउँछ ।
ट्रोलिङले मानसिक रूपमा असर परेकै कारण ठूला दुर्घटना घटेका दृष्टान्तसमेत हामीमाझ छन् । गत वर्ष टिकटकर मोनिका सिंह ठकुरीले आत्महत्या गरिन् । उनको साथीहरूका अनुसार, उनलाई डिप्रेसन थियो । उनी एन्जाइटीजस्ता समस्याबाट पनि गुज्रिरहेकी थिइन् । त्यही समयमा उनलाई अनलाइन बुलिङ र ट्रोलिङहरू हुन थाले, जसकारण उनले आत्महत्या नै गर्न पुगिन् । काठमाडौं ल स्कुलमा आफूले भोगेको हिंसाको न्याय खोज्न लागिपरेकी सन्ध्या गौतम हुन् वा कमेडियन सजन श्रेष्ठ । आफ्नो विचार राखेकै कारण वा सामाजिक सञ्जालमा फरक रूपमा उपस्थित भएकै कारण ‘बलात्कार’ देखि ‘मृत्युका धम्की’ समेत दिन मानिसहरू डराउँदैनन् ।
समस्यासँग जुध्ने क्षमता र प्रक्रिया हरेक व्यक्तिको फरक हुन्छ । यी ट्रोलहरूलाई पनि कोही व्यक्तिले समयसँगै सामना गर्दै लैजान्छन्, कोही हिम्मत जुटाएरै कानुनी प्रक्रियासम्म पुग्छन् भने कोही बुलिङ र ट्रोलिङलाई सहजै सामना गर्न सक्दैनन् । ‘सेन्टर फर सुसाइड प्रिभेन्सन’ ले गरेको एक अध्ययनअनुसार बुलिङ र ट्रोलिङले आत्महत्याको सोचलाई १४.५ प्रतिशतले र आत्महत्याको प्रयासको सम्भावनालाई ८.७ प्रतिशतले बढाउँछ ।
के भन्छन् विज्ञहरू?
बुलिङ र ट्रोलिङले मानिसलाई मानसिक, सामाजिक र मनोसामाजिक रूपमै असर गर्छ । व्यक्तिगत प्रवृत्तिदेखि परिस्थितिसम्म यसका कारक तत्त्वहरू बन्न सक्छन् । मानिसको प्रवृत्ति नै नराम्रा कुरालाई मनन गर्ने खालको हुन्छ । सामान्यतः हामी सबैले महसुस गर्छौं, ५० जनामध्ये १० ले गलत भनेका रहेछन् भने पनि गलत कुरालाई धेरै सोच्छौं । साइकोलोजिस्ट प्रज्ज्वल आचार्यका अनुसार, जति नै थोरै संख्याका मानिसले हामीलाई ट्रोल गरेको भए पनि मानिसलाई हिनताबोध महसुस हुन्छ । उनी भन्छन्, ‘सारा संसारले मलाई बहिष्कार गर्यो, मन पराउँदैनन् भन्ने सोच पलाउन सक्छ । त्यसले गर्दा हामी नराम्रो नै रहेछौँ कि भन्ने धारणा बन्न थाल्छ ।’ यिनै कुरा बढ्दै गएर एन्जाइटी, डिप्रेसनदेखि सामाजिक सम्बन्धमा दरार आउनेजस्ता समस्या निम्तिने आर्चाय बताउँछन् ।
त्यस्तै नकारात्मक कमेन्ट बुलिङ र ट्रोलिङले मानिसमा डर सिर्जना गर्ने तर्क राख्छिन् रंगकर्मी एवं मनोविश्लेषक आकांक्षा कार्की । उनका अनुसार, सामान्य कुरा गर्दा पनि चाहिनेभन्दा धेरै ध्यान दिनुपर्ने, नापेर, तौलिएर बोल्नुपर्ने, कोही मान्छे अट्याक गर्न तयार बसेको छ जस्तो महसुस हुने र जतिबेलै डर लाग्ने अनुभवबाट पीडितहरू गुज्रनुपर्छ । कौशी थिएटरकी संस्थापक कार्कीले आफू केही समयअघि ट्रोलको सिकार भएकैले मानसिक असर परेर थेरापी लिनुपरेको अनुभव सुनाइन् । ‘ट्रोल गर्नेहरूले जे भनिरहेका छन्, म त्यस्तै हुँ भन्ने धारणा मनमा आएका थिए । अब कहिल्यै काम गर्न सक्दिनँ भन्ने महसुस पनि भएको थियो,’ कार्की सम्झिन्छिन् ।
इन्टरनेटको सुरुवातदेखि नै ट्रोलिङ कल्चर देखिँदै आएको छ । ट्रोलिङबाहेक पनि अनलाइन छलफलहरू प्रायः झगडामा परिणत हुन्छन्, जुन कहिलेकाहीँ व्यक्तिगत आक्रमणमा समेत पुग्छ । तर, के मानिसहरू साँच्चै अनलाइनमा बढी आक्रोशित, दुर्व्यवहारपूर्ण र अपमानजनक हुन्छन् ? यदि हुन्छन् भने त्यसको कारण के हो ? विभिन्न रिसर्चका अनुसार, अनलाइन गाली–गलौज गर्न सक्ने क्षमता गोपनीयताको कारण आउँछ । जसलाई, जहाँ र जे भने पनि थाहा हुँदैन भन्ने मनस्थिति यसको प्रमुख कारण रहेको पाइएको छ ।
साइकोलोजिस्ट जोन सुलरले सन् २००४ मा ‘द अनलाइन डिस्इनिभिसन इफेक्ट’ शीर्षकको एक लेख लेखेका थिए । लेखमा उनले अनलाइनमा मानिसहरूको व्यवहार किन र कसरी बदलिन्छ भन्नेबारे ६ वटा कारण दिएका थिए । ‘डिसोसिएटिभ एनोनिमिटी’ अर्थात् मैले जे गरिरहेको छु, मेरो वास्तविक पहिचान होइन । ‘इन्भिजिबिलिटी’ अर्थात् कसैले मलाई देख्दैन, मेरो हाउभाउ पनि बुझ्दैन । ‘एसिंक्रोनिसिटी’ अर्थात् मैले जुनबेला प्रतिक्रिया दिन्छु, त्यो तुरुन्तै भएको होइन, सोचेर गरेको हो । ‘सोलिप्सिस्टिक इट्रोजेक्सन’ अर्थात् म ती मानिसलाई देख्दिनँ, त्यसैले उनीहरू को हुन् र के सोचिरहेका छन् भन्ने अनुमान मात्र गर्नुपर्छ । ‘डिसोसिएटिभ इम्याजिनेसन’ अर्थात् यो वास्तविक संसार होइन, यी वास्तविक मानिस पनि होइनन् । र, अन्त्यमा ‘मिनिमाइजिङ अथोरिटी’ अर्थात् यहाँ कुनै नियम र नियन्त्रण छैन, म जे गर्न पनि स्वतन्त्र छु ।
यीमध्ये कुनै पनि कारणले गर्दा मानिस अनलाइनमा यस्तो व्यवहार गर्छन्, जुन उनीहरू वास्तविक जीवनमा गर्दैनन् । कहिलेकाहीँ यो सकारात्मक पनि हुन सक्छ । जस्तो कि खुलेर बोल्ने वा इमानदारीपूर्वक कुरा गर्ने, तर कहिलेकाहीँ नकारात्मक रूपमा, अन्य मानिसलाई गाली गर्ने, अपमान गर्नेजस्ता व्यवहार पनि देखिन्छन् जुन वास्तविक जीवनमा सायदै गर्न सक्छन् ।
साइकोलोजिस्ट एवं जेस्टाल्ट थेरापिस्ट आशिष काफ्ले ट्रोलिङलाई अझै प्रस्ट्याउँदै भन्छन्, ‘ट्रोलिङ के हो ? कसैलाई हानी गर्ने, दुःख दिने, उक्साउने मनसायले केही भन्नु नै ट्रोलिङ हो । अनलाइनको हकमा चाहिँ कमेन्ट, पोस्ट नै ट्रोलिङ हो ।’ उनका अनुसार, हामी सबैमा ट्रोल गर्ने प्रवृत्ति हुन्छ, जुन सामान्य हो । सामाजिक सञ्जालमा बाहेक पनि हामीलाई कुनै परिस्थितिमा रिस उठ्दा, कुनै कुरा मन नपर्दा असन्तुष्टि व्यक्त गर्दा ट्रोलिङकै मेकानिजम प्रयोग गरेका हुन्छौं । ‘ट्रोल दुई प्रकारका हुन्छन् । एक, नराम्रो महसुस गरेको समयमा, रिसाएको समयमा, परिस्थिति अनुकूल नभएको समयमा जोसुकैले पनि ट्रोल गर्न सक्छ । अर्को, मान्छेले ट्रोललाई हतियारका रूपमा पनि प्रयोग गर्न सक्छ । कसैलाई हानि गर्न, भावनात्मक रूपमा चोट पुर्याउन र प्रतिष्ठामा आँच पुर्याउने हतियार बन्छ,’ काफ्ले बताउँछन् ।
यसैमा व्यक्तिको ‘पर्सनालिटी’ पनि जोडिने उनको मत छ । विभिन्न रिसर्चअनुसार ट्रोलिङ गर्न रुचाउने मानिसमा देखिएको मुख्य पर्सनालिटी ‘सेडिजम’ भएको काफ्लेले बताए । सेडिजम् अर्थात् अरूलाई दुःख दिएर आफू सन्तुष्टि लिने प्रवृत्ति । हाम्रो समाजमा कोहीसँगको असहमतिको अर्थ अनादर हो भन्ने बुझाइ छ । यसले फरक मतलाई बहिष्कार गर्नुपर्ने धारण जन्माउने उनको भनाइ छ । मनोविश्लेषक कार्की घृणा फैलाउनु, ट्रोलिङ गर्नु मानिसहरूमा बढिरहेको असन्तुष्टिको पनि कारण भएको बताउँछिन् । ‘सामाजिक स्थिति कस्तो छ, मानिसहरूमा त्यही ‘रिफ्लेक्ट’ हुने हो । यदि देशमा मान्छे खुसी छन्, सन्तुष्ट छन्् भने अरूको खेदो खनेर बस्ने समय नै हुने थिएन । यो बेरोजगारी र प्रणालीगत असफलतासँग पनि जोडिएको छ,’ कार्की बताउँछिन् ।
यस्ता विषयबाट मानसिक रूपमा विचलित हुनबाट कसरी बच्ने ? जवाफमा आचार्य भन्छन्, ‘केही समय नचाहिने मेसेज र कमेन्ट नपढ्ने हो भने नराम्रा कुराले विछिप्त बनाउँदैन । आफूलाई न्याय भएको महसुस भएपछि मानसिक रूपमा असहज हुँदैन ।’
