वन्यजन्तुको आनीबानीमाथि जानकारी राख्दा र त्यसअनुरूप व्यवहार परिवर्तन गर्दा तिनको आक्रमणबाट बच्न सकिन्छ
पूर्व–पश्चिम महेन्द्र राजमार्गको नवलपुर जिल्लास्थित अरुण खोलाबाट करिब ५ किलोमिटर दक्षिणमा छ– तमासपुर बस्ती । राजमार्गबाट यो बस्ती पुग्न ४ किलोमिटर जंगलको बाटो पार गर्नुपर्छ । २०३३/३४ सालतिर यहाँ अहिलेजस्तो मानिसको बाक्लो बसोबास थिएन । मध्यबिन्दु नगरपालिका–१२ का वडाध्यक्ष एवम् स्थानीय कान्तप्रसाद कुमालका अनुसार, यस स्थानमा १८० घर कुमाल र ५ घर थारू (त्यहींका आदिवासी) को मात्रै बसोबास थियो । अहिले विभिन्न ठाउँबाट बसाइँ सरिआएका मानिसले गाउँ भरिएको छ ।
अहिले यो गाउँमा करिब १ हजार, ३ सय घरधुरी छन् । २०३६ को जनमत संग्रहका बेला पहाडी जिल्लाबाट भूतपूर्व सेना र प्रहरीलाई यहाँ ल्याएर राखिएको थियो । पछि यहाँ मानिसको बसोबास बढ्दै गयो । नारायणी नदी किनार छेउको यो बस्ती पारिपट्टि छ– चितवन राष्ट्रिय निकुञ्ज । त्यतिबेला मानिसहरू वनस्रोतमा निर्भर थिए । घाँस, दाउरा, कन्दमूललगायत सम्पूर्ण स्रोतका लागि जंगल जानैपर्ने बाध्यता थियो । मानिसको जीविकोपार्जनको स्रोत नै वन/जंगल थियो । यसरी जंगल जाने क्रममा बाघ, गैंडा, भालुलगायतका जंगली जनावरसँग जम्काभेट भइरहन्थ्यो । ‘हामीलाई वन/जंगल जानुपर्ने बाध्यता थियो । खाना पकाउन अहिलेजस्तो ग्यासको विकल्प थिएन,’ कान्तप्रसाद कुमाल भन्छन्, ‘र, वन/जंगलमा जंगली जनावरसँग जम्काभेट भइरहन्थ्यो । कहिलेकाहीं जनावर निकुञ्जबाट बस्तीसम्मै आइपुग्थे ।’
घटना २०३३ सालको हो । कुमाल ७ कक्षा पढ्थे । उनी पढ्ने तमासपुरको विद्यालयको हाताभित्र एक दिन गैंडा आयो । साँझको समयमा उनीसहितका साथीहरूले गैंडालाई लखेट्दै नारायणी नदीको छेउसम्म पुर्याए । गैंडासँगै गाईबस्तु चराउने उनलाई ‘गैंडाले आक्रमण गर्छ’ भन्ने मेसो थिएन । तर, त्यस दिन उनीसहितका साथीहरूले खेदेको गैंडा नारायणी नदी किनारमा पुर्याएपछि फनक्क फर्क्यो र उनीहरू भएतिर बुर्कुसी मार्यो, भागाभाग चल्यो । दौड्न नसक्नेहरू बगरमा पल्टिए । तर, गैंडा उनीहरूलाई नाघ्दै अघि बढ्यो । ‘हामी नारायणी बगरमा थियौं, भाग्नै सकेनौं । १६ जना भुइँमा पल्टियौं । हामीमध्येको एक जना साथी दगुर्न पनि सक्थ्यो । उसलाई लखेट्यो,’ गैंडाले त्यो साथीलाई लखेट्नुको कारणबारे उनी भन्छन्, ‘उसले सेतो सर्ट लगाएको थियो । साथीले सर्ट निकालेर फाल्यो, अनि भुइँमा पल्टियो । गैंडाले सेतो सर्टलाई कुल्चियो र दाराले सर्ट च्यात्यो अनि फाल्यो । र, कराएर खुसी व्यक्त गर्यो । भुइँमा पल्टिएका कसैलाई पनि गैंडाले केही गरेन ।’
गैंडाले राति सेतो र दिउँसो रातो कपडालाई बढी ‘टार्गेट’ गर्ने भएकाले वन/जंगल र वन्यजन्तु भएको स्थानमा जाँदा ती पोसाकबारे ध्यान दिनुपर्ने कुमाल बताउँछन् । त्यस दिन यदि उनको साथीले सेतो सर्ट फुकालेर भुइँमा नफालेको भए गैंडाले साथीलाई त्यहीं मार्ने थियो भन्ने उनको आशंका छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता एवं सहसचिव वेदकुमार ढकाल पछिल्लो वर्षमा वन्यजन्तुको आक्रमणबाट भएका मृत्युका घटनाले मानव–वन्यजन्तु सहअस्तित्व कायम चुनौतीको विषय भएको बताउँछन् । विभागका अनुसार आर्थिक वर्ष २०७१ देखि २०८० सम्म वन्यजन्तुको आक्रमणबाट करिब २ सय ७७ जनाको मृत्यु भएको छ । राष्ट्रिय निकुञ्ज तथा त्यस वरपरका क्षेत्रमा मानिसहरू वन पैदावार संकलन गर्न गएका बेला यस्ता घटना हुने गरेका छन् । नवलपुरको कावासोतीका पर्यटक पथप्रदर्शक एवं संरक्षकर्मी डीबी चौधरी जंगल जाँदा जंगली जनावरबाट बच्न कस्तो व्यवहार गर्ने भन्ने विषयको जानकारी हुने हो भने वन्यजन्तुको आक्रमणबाट बच्न सकिने बताउँछन् ।
‘मानिस जंगल गएका बेला वन्यजन्तुले आक्रमण गर्ने गरेका छन् । जंगल जाँदा सावधानी नअपनाउनु र पालना गर्नुपर्ने नियम पालना नगर्नुले त्यस्ता घटना हुन पुग्छन्,’ उनी भन्छन्, ‘वन्यजन्तु जंगलमा कतिबेला सक्रिय हुन्छन् ? र, आइहाल्यो भने कसरी बच्ने ? भन्ने जानकारी हुनु एकदमै जरुरी हुन्छ ।’
वन्यजन्तु सक्रिय नहुने समय भनेको बिहान १० देखि २ बजेसम्म हो । त्यसबेला ती आराम गरिरहेका हुन्छन् । वन/जंगल जाँदा सकेसम्म एक्लै नजाने र वन्यजन्तुको आनीबानीबारे जानकारी लिनुपर्ने चौधरी बताउँछन् ।
‘जनावरलाई डिस्टर्ब नगर्दासम्म तिनले आक्रमण गर्दैनन्, उदाहरणका लागि बूढो, घाइते, प्रजनन र आहारा खान लागेको बेला बाघ बढी आक्रामक हुन्छ । बाघ हिंस्रक प्राणी हो, तर मानिससँग डराउँछ,’ चौधरी भन्छन्, ‘जहाँ बाघ बसेको हुन्छ, बलियो बाघले त्यसलाई त्यहाँबाट हटाउँछ । त्यस्तो अवस्थामा बाघ जंगलबाहिर आउँछ र सजिलो आहारा खोज्छ । पहिले कुकुर, घरपालुवा जीवजन्तु हेर्छ । मानिस त अन्तिम सिकार हो, मान्छेको घरमै गएर आक्रमण गर्दैन ।’
पर्यटकलाई घुमाउने क्रममा चौधरी स्वयं धेरै पटक जंगलमा सावधानी अपनाएकैले बच्न सफल भएका छन् । घटना सन् १९९८ को हो । उनी चितवन राष्ट्रिय निकुञ्जको कोर एरियामा पर्यटकलाई घुमाइरहेका थिए । अचानक हरिणको ठूलो आवाज आयो । हरिण जोडले कराएपछि नजिकै बाघ वा चितुवा छ भन्ने उनले अनुमान लगाए । उनले बुझेकै थिए– यस्तो बेला निकै सावधानी अपनाउनुपर्छ । त्यो भनेको बाघ आहाराका लागि हिँडिरहेको र एम्बुस गरेको अवस्था हो । हरिण खुट्टा बजार्दै उनीहरू नजिक आइपुग्यो । एक मिनेटपछि बाघ पनि आइपुग्यो ।
यस्तो बेलामा बाघ एकदमै चाल मारेर शरीरलाई खुम्चाएर हिँड्छ । उनीहरूले बाटोमा लुकेर बाघ हेरे । त्यसबेला बाघलाई डिस्टर्ब नहोस् भनेर उसले चाल नपाउने गरी लुकेर हेर्नुपर्छ । उनीहरू भएको ठाउँबाट बाघ दाहिनेतिर गयो । बाघ गइसकेपछि उनीहरू अगाडि बढे । ‘तर, बाघ त अगाडि गएर त्यही बाटो भएर आउँदै रहेछ । बाघसँग जम्काभेट भयो । बाघ जोडले गर्जियो र देब्रेतिर जम्प गर्यो,’ उनी भन्छन्, ‘जोडले बाघ गर्जियो । ला अब मेरो अन्तिम दिन हो भन्ने भयो । बाघले एक जम्प हानेको भए मलाई पुग्थ्यो । म पनि तयार थिएँ । म लट्ठी लिएर बसें । मसँग छ जना पाहुना थिए ।’
गैंडा शाकाहारी प्राणी हो । तर, गैंडाको आक्रमणबाट पनि मानिसले ज्यान गुमाइरहेका छन् । निकुञ्ज विभागको तथ्याङ्कअनुसार गैंडाको आक्रमणबाट पछिल्लो १० वर्षमा ज्यान गुमाउनेको संख्या ९० भन्दा बढी छ । मानिसहरू गैंडाको आनीबानीबारे जानकार छैनन्, त्यसैले उसलाई जिस्क्याउँछन् र नजिकै पुगेर लखेट्दा गैंडा रिसाएर मानिसलाई आक्रमण गर्ने गरेको चितवनका पुराना नेचर गाइड टीकाराम गिरी बताउँछन् । गैंडाको आँखा कमजोर हुन्छ, टाढासम्म देख्न सक्दैन । गैंडाको आक्रमण उसको मुड, सिजनअनुसार हुन्छ । प्रजननका बेला वा बच्चा भएको बेलामा बढी आक्रामक हुन्छ । दूरी कायम गर्ने हो भने गैंडासँग डर नहुने उनी बताउँछन् ।
कस्तो कपडा लगाउने ? गैंडा हान्न आयो भने के गर्ने ? भन्ने जानकारी भयो भने गैंडाको आक्रमणबाट बच्न सकिन्छ । जंगलमा जाँदा रातो र सेतो कपडा लगाउन हुँदैन । यी दुई रङका कपडासँग गैंडा आक्रामक हुन्छ र छिटो ठम्याउन सक्छ । सकेसम्म जंगलकै रूख–बिरुवासँग मेल खाने कपडा लगाउनुपर्छ, गैंडालाई डिस्टर्ब गर्यो भने मात्रै उसले आक्रमण गर्छ । उनीहरूले मानिसलाई आक्रमण गर्नुभन्दा पहिले संकेत गर्छन् । त्यसबारे पहिले जानकार हुनुपर्छ । यदि उसले आवाज निकाल्छ, फ्वाँ फ्वाँ गर्छ, टाउको भुइँतिर झार्छ, कान ठाडो बनाउँछ भने त्यो आक्रमण गर्ने अवस्था हो । त्यस्तो अवस्थामा भाग्ने, बाङ्गोटिङ्गो भाग्ने जस्ता कुराहरूको जानकारी हुनुपर्छ ।
जंगल जाँदा लट्ठी अनिवार्य बोक्नुपर्छ । जंगल जाँदा विभिन्न बास्नादार प्रफ्युमको प्रयोग गर्दा गैंडाले आक्रमण गर्ने सम्भावना बढी हुने चौधरी बताउँछन् । त्यसैगरी जंगल जाँदा सधैं चनाखो भइराख्नुपर्छ । पाइला, दिसा, आहाल खेलेको ठाउँ, चरेको ठाउँबाट पनि गैंडा छ कि छैन पत्ता लगाउन सकिन्छ । यी सबै कुरा विचार गरेर जंगल जाँदा रिक्स फ्याक्टर कम हुन्छ । तर, मानिसहरू घरपालुवा जनावरझैं गैंडालाई चलाउँछन् र आक्रमणको घटना हुन्छ । एउटा उदाहरण हेरौं– गत असोजको ११, १२ र १३ गतेको बाढीले बगाएर नारायणी नदीको किनारमा गैंडा देखिए । तर, बाढीले बगाएर ल्याएका गैंडालाई मानिसले जिस्क्याउने, लट्ठीले घोच्ने, भिडियो खिच्ने गर्न थाले । गैंडा रिसाएर एक जना महिला र पुरुषलाई आक्रमण गर्यो । ‘बाढीले बगाएर ल्याएका गैंडा थाकेका हुन्छन् । उनीहरूलाई पनि आराम चाहिन्छ । मानिसहरू त्यहाँ पुगेर अस्वाभाविक रूपमा जिस्क्याउँछन्,’ कान्तप्रसाद कुमाल भन्छन्, ‘अनि मानिसलाई आक्रमण नगरेर के गरोस्
त ! हामीले वन्यजन्तुको बासस्थान अतिक्रमण गरेर बसेका छौं । उनीहरू आफ्नो ठाउँमा आएका हुन् ।’ त्यसैगरी दुई वर्षअघि एउटा गैंडा तमासपुर गाउँमा आयो । गैंडा आएपछि मानिसहरू चिच्याए र लखेटे । आत्तिएको गैंडा रिसाएर जथाभाबी गाउँ–बस्तीमा बुर्कुसी मार्न थाल्यो । त्यही क्रममा घाँस काट्दै गरेकी एक महिलालाई आक्रमण गरेर मार्यो ।
बाघ, गैंडा जस्तै हात्तीको आक्रमणमा परेर हरेक वर्ष मानिसले ज्यान गुमाउँछन् । हात्तीको आनीबानीबारे जानकार नहुँदा र गाउँमा आएको हात्तीलाई जबर्जस्ती लखेट्दा रिसाएपछि आक्रामक बन्छ र मानिसलाई आक्रमण गर्न थाल्छ । हात्तीकै विषयमा विद्यावारिधि गरेका बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम हात्ती मातेका बेलामा, प्रजननको समयमा बढी आक्रामक हुन्छ । कुन समयमा हात्तीको कस्तो बानी हुन्छ ? त्यो जानकारी हुनु आवश्यक छ । जंगल जाँदा जंगली हात्ती भेटिने सम्भावना सधैं हुन्छ । त्यसकारण पनि हात्तीको पाइला, दिसा छ कि छैन हेर्नुपर्छ । रूखका हाँगा भाँचेको छ भने त्यो ठाउँमा हात्ती हुन्छ । नजिक जम्काभेट भयो भने के गर्ने भनेर पहिल्यै मानसिक रूपमा तयार हुनुपर्ने अशोक बताउँछन् । हात्तीले आक्रमण गर्नुअघि संकेत गर्छ– कान अगाडि ल्याउँछ, आवाज दिन्छ ।
ठूलो जनावर ओरालोमा धेरै दौडन नसक्ने भएकाले सकेसम्म हात्ती र गैंडाबाट बच्न ओरालो ठाउँ भएतिर भाग्नुपर्छ । अनि खाल्डो र खोल्सीमा जाँदा पनि उनीहरूबाट बच्न सकिन्छ । संरक्षणकर्मी तथा नेचर गाइड डीबी चौधरी मानिसले संरक्षण गर्ने ज्ञान पाएको तर वन्यजन्तुबाट कसरी बच्ने र आफ्नो व्यवहार कसरी परिवर्तन गर्ने भन्ने जानकारी पाउन नसकेको बताउँछन् । ‘मानिसले संरक्षण गर्ने भनेर ज्ञान पाए । तर, संरक्षण गरेको जीवजन्तुबाट कसरी बच्ने भन्ने शिक्षा पाउन सकेनन्,’ उनी भन्छन्, ‘सचेतनाको कार्यक्रम व्यापक रूपमा लैजानु आवश्यक छ । व्यवहार परिवर्तनको कुरा पाठ्यक्रममै चाहिन्छ । यस्ता कुरा सिक्दा धेरै सहयोग हुन्छ ।’
