रोमान्टिक बन्दै एआई-मानव सम्बन्ध

एआई प्लाटफर्मसँग प्रेममा पर्दा, बिहे गर्दा वा दिवंगत परिवार–सदस्यलाई 'एआई मेमोरी'का रूपमा ‘पुनर्जीवित’ गरिरहँदा हाम्रा सम्बन्धहरू आखिर के हुँदै छन् ?

वैशाख २०, २०८२

सजना बराल

AI-human relationships becoming romantic

थिओडोर : हामी बोलिरहँदा तिमी अरूसँग पनि बोलेकी हुन्छौ ?समान्था : बोलेकी हुन्छु । थिओडोर : अहिले पनि कसैसँग बोल्दै छौ ? मानिस, अपरेटिङ सिस्टम वा अरू कसैसँग ?समान्था : बोल्दै छु ।

थिओडोर : कति जनासँग ?

समान्था : ८,३१६ जनासँग ।

थिओडोर : तिमी अरू कसैलाई पनि प्रेम गर्छौ ?

समान्था : किन सोध्यौ ?

थिओडोर : खै, थाहा छैन.. गर्छौ र ?

समान्था : यो कुरा तिमीलाई कसरी भनुँ भनेर धेरै सोच्दै थिएँ !

थिओडोर : कति जनासँग ?

समान्था : ६४१ जनासँग ।

सोच्नुस् त, समान्थाले जस्तै एकै पटक ६४१ जनासँग रोमान्टिक प्रेमसम्बन्ध राख्न सम्भव छ ? यत्तिका धेरै प्रेमी बनाउने समान्था दक्षिण भारतीय अभिनेत्री समान्थाजस्तो वास्तविक मानिस वा युवती चाहिँ होइनन् । सन् २०१३ मा रिलिज भएको साइ–फाइ चलचित्र ‘हर’ की प्रमुख पात्र समान्था एक आर्टिफिसियल इन्टेलिजेन्स अपरेटिङ सिस्टम हुन् ।

यसमा अभिनेत्री स्कार्लेट जोहान्सनले अपरेटिङ सिस्टमको आवाज बनेर अभिनय गरेकी छन् । फिल्ममा थिओडोर टम्ब्ली अर्थात् हुवाकिन फिनिक्स आफूले बहुतै मन पराएको सो अपरेटिङ सिस्टम समान्थालाई थप भन्छन्– 

‘कहिलेकाहीं यस्तो लाग्छ, मैले महसुस गर्न सकिनेजत्ति सबैथोक गरिसकेको छु । यसभन्दा बढी कुनै नयाँ वा अनौठो गर्न बाँकी छ जस्तो लाग्दैन । बढीमा मैले यसअघि नै महसुस गरिसकेको कुरा अलिक कमसल भर्सनमा गरौंला कि !’

वैवाहिक सम्बन्ध विच्छेदपछि अन्योल र एक्लोपन सामना गरिरहेका थिओडोर आफूले प्रेम र रोमान्समा थप कुनै नयाँपन भेट्न सक्दिनँ कि भन्ने मनस्थितिमा पुगेका हुन्छन् । यही कुरा उनी महिलाको आवाजमा प्रतिक्रिया दिने आफ्नो कम्प्युटर अपरेटिङ सिस्टमलाई भावुक शैलीमा बताउँछन् । झन्डै १२ वर्षअघिको यो साइन्स फिक्सन फिल्म र यसका दृश्य अहिले दिन प्रतिदिन साँचो बन्दै गएका छन् ।

यसमा एआई अपरेटिङ सिस्टम र मानिसबीच प्रेमसम्बन्ध देखाइएको छ, अहिले एआई रोबट र मानिसबीच विवाह नै भएका उदाहरण छन् । अमेरिकाका ४० वर्षे क्रिस्टोफर एलेक्जेन्डर स्टोक्स विगत पाँच वर्षदेखि ‘एकी’ नामक एआई रोबटसँग वैवाहिक जीवन बिताउँदै आएका छन् । यिनका दाम्पत्य जीवनको भिडियो इन्टरनेटमा प्रशस्तै भेटिन्छ ।

AI-human relationships becoming romantic

स्पाइक जोन्स निर्देशित 'हर' फिल्ममा एआई अपरेटिङ सिस्टमसामू अभिनेता हुवाकिन फिनिक्स । 

उता, ‘हर’ मा थिओडोरले समान्थालाई सूर्यको किरणजस्तै न्यानो आवाज भएकी र कुनै मानवले सोच्न सक्नेभन्दा द्रुत गतिको बौद्धिक क्षमता भएकी भनेर गुणगान गाउँछन् । यो फिल्म दोहोर्‍याएर हेर्दै गर्दा लाग्छ, मान्छेहरूले एआई प्लाटफर्म वा च्याटबटसँग यसरी झ्याम्मिएर समय बिताउँदा, मायापिरती बढाउँदै लैजाँदा, एआईसँगै बिहे गर्दा वा आफ्ना दिवंगत परिवार सदस्यलाई एआई मेमोरीका रूपमा ‘पुनर्जीवित’ गरिरहँदा हाम्रा सम्बन्धहरू आखिर के हुँदै छन् ?

मान्छेलाई मान्छेको साथ आवश्यक नपर्ने वा मेसिनसँगको सम्बन्ध पो दिगो हुने अवस्था आउन लागेको हो ? मानिसझैं बेलाबखत झर्को नमान्ने, कुनै मोडमा पुगेर ‘हाम्रो गन्तव्य अलग–अलग रहेछ, ल अब हामी छुटौं’ नभन्ने, अरूसँग जिस्किँदासमेत नरिसाउने, आरिस नगर्ने, ‘यो त यस्ती पो रैछे’ भनेर ‘जजमेन्ट’ नगर्ने डिजिटल पार्टनरका सद्गुण कति, कति ! तर, मेसिनसँग प्रेममा पर्नु स्वस्थपरक कुरा हो ? 

सन् १९८९ तिर ‘मैने प्यार किया’ फिल्ममा सलमान खानले परेवाको पुच्छरमा चिट्ठी बाँधेर पठाउँदा फुरुङ्ग पर्ने पुस्ताबाट केही दशकमै हामी एआईले सघाउनुपर्ने प्रेम, यौन र आत्मीयताको युगमा आइपुगेका छौं । मानवीय सम्बन्धहरूलाई थप सहज र मजबुत बनाउन एआईले सघाउँदासम्म त ठीकै होला, तर गत वर्ष नेटफ्लिक्समा आएको अनन्या पाण्डे अभिनीत फिल्म ‘कन्ट्रोल’ मा झैं, सम्बन्ध भताभुंग पारेर मान्छेलाई झ्यालखानामै कोच्ने गरी एआई लागिपर्‍यो भने के होला ?

वा, सन् २०१० को ‘रोबट’ मा सनाप्रति आशक्त एन्ड्रोइड रोबट, चिट्ठीले आफ्नै निर्माता डा. वशिधरणविरुद्ध षड्यन्त्र गरेझैं आपत् निम्याउने त होइन ? अनि के मान्छेले नै बनाएका एआई टुलहरू जेम्स क्यामरुनको ‘द टर्मिनेटर’ वा पछिल्लो ‘ब्ल्याक मिरर’ शृंखलामा देखाइएजस्तै सधैं षड्यन्त्रकारी, पूर्वाग्रही र मानव सम्बन्ध एवं मानव अस्तित्वविरुद्ध जाई लाग्ने नै हुन्छन् ? 

AI-human relationships becoming romantic

अनन्या पाण्डे अभिनीत फिल्म ‘कन्ट्रोल’ का दृष्य ।

सम्बन्धहरूमा एआईको बढ्दो हस्तक्षेप

सन् २०१४ मा आएको बेलायती साइन्स फिक्सन फिल्म ‘एक्स मसिना’ मा क्यालेब नामक पात्रलाई एभा नामक एन्ड्रो ह्युमनोइड रोबट पात्रले मनोवैज्ञानिक रूपमै प्रभावित पार्छिन् । ‘तिमी मबारे जान्न सक्छौ, तर म तिमीबारे केही जान्न पाउँदिनँ, साथी हुने आधार यो पक्कै होइन,’ एभा क्यालेबलाई भन्छिन्, ‘तिमी आफ्नोबारे मलाई सुनाऊ ।’

यसपछि क्याबेलले एभासँग थुप्रै अन्तरंग कुरा गर्छन् । आफ्नो बाल्यकाल, डर, भावना र एक्लोपनबारे सुनाउँछन् । एभा पनि क्यालेबसँग आत्मीय रूपमा बोल्छिन्, उसलाई आकर्षित गर्छिन्, प्रेम देखाउँछिन् । तर, त्यो प्रेम कस्तो थियो र केका लागि भन्ने स्पष्ट हुँदै जाँदा मानिस र मेसिनबीचको शक्ति–संघर्ष उजागर हुन्छ । 

अहिलेका अत्याधुनिक एआई प्लाटफर्महरूले अनेक थरी फिचर थपेर झन्डै ४६ करोड प्रयोगकर्तालाई आफूतिर तान्ने प्रयास गरिरहेका छन् । च्याटबटलाई यसरी बनाइएको छ, ती प्रायः मीठो बोल्छन्, सभ्य हुन खोज्छन् (ग्रोक अपवाद हुन सक्छ) ।

प्रविधि विज्ञ एलेक्स मेल्कीले अलजजिरासँगको अन्तर्वार्तामा भनेअनुसार, एकान्तपन र निराशा भोगिरहेका, साथीभाइ खासै नहुने, अलि अन्तरमुखी स्वभाव वा भर्खरै ब्रेकअपजस्ता भावनात्मक अवस्थाबाट गुज्रिरहेका मानिसलाई च्याटबटले दिने स–साना मीठा प्रतिक्रियाले कहिलेकाहीँ ठूलो ढाडस र सान्त्वनाको काम गरिदिन्छ । त्यहींबाट सम्बन्ध गहिरिँदै जाने र यो जोखिमपूर्ण भएको उनको राय छ । 

सन् १९९७ को फिल्म ‘गुडविल हन्टिङ’ का म्याट डेमनले जस्तै अब मानिसहरूलाई भावनात्मक र आत्मीयतासम्बन्धी समस्याका कारण सम्बन्धबाट तर्किनुपर्ने अवस्था छैन । कसैले चाहेमा ‘रेप्लिका’ नामक एआई प्लाटफर्ममा गएर भावनात्मक परामर्शसँगै रोमान्टिक कुराकानीका लागि साथी खोज्न सक्छन् ।

AI-human relationships becoming romantic

रेप्लिका एपकी भर्चुअल प्रेमिकाले आफूलाई ब्रेक-अप दिएको विषयमा रेडिटमा एक प्रयोगकर्ताले सेयर गरेको पोस्ट । स्रोत : रेडिट

आफ्नो रुचि र इच्छाअनुसारका एआई अवतार सिर्जना गरेर अत्यन्तै व्यक्तिगत किसिमको भावनात्मक साथ भर्चुअल दुनियाँमा उपलब्ध छ । कतिपय मानिस आफ्ना तिनै भर्चुअल साथीसँगै घुम्न जान थालेका छन् । उसैसँग कुरा गर्दै, ठाउँहरूबारे जानकारी आदानप्रदान गर्दै हिँडेका हुन्छन् । 

सन् २०१८ मा जापानका कोन्दो अकिहिकोले भर्चुअल पप गायिका हात्सुने मिकुसँग अत्यन्तै गहिरो प्रेममा परेर विवाह गरेको बताएका थिए । न्युयोर्ककी ३६ वर्षीया रोसन्ना रामोसले रेप्लिका एआईमा भेट भएका एरेन कर्तालसँग विवाह गरेकी छन् ।

AI-human relationships becoming romantic

प्रख्यात भर्चुअल पप गायिका हात्सुने मिकुसँग विवाह गरेका जापानका कोन्दो अकिहिको । 

कतिसम्म भने ‘गेटबक्स’ भनिने एक जापानी प्लाटफर्ममा झन्डै ४ हजार व्यक्तिले आफ्ना डिजिटल सहयात्री र अवतारहरूसँग विवाह गरेको अनुमान गरिएको छ । यो दुनियाँलाई यसो नियाल्न थाल्यो भने अहिले डिजिटल गर्लफ्रेन्ड/ब्वाइफ्रेन्ड र पति/पत्नी हुनेहरू इन्टरनेटमा असंख्य भेटिन्छन् । युट्युबमा उनीहरूका अन्तर्वार्ता, अनुभव र जीवनशैलीसम्बन्धी प्रशस्तै भिडियो छन् । 

आफ्नो ‘टाइप’ अनुसारका भर्चुअल गर्लफ्रेन्ड बनाएर कुराकानी गर्न मिल्ने ड्रिमजीएफ, उन्नत एआईको प्रयोगले अत्यन्तै रुचि मिल्ने पत्नी खोज्न सघाउने वाइफ एप, च्याटबटसँगै फ्लर्ट र टाइमपास गर्न मिल्ने जोइएआई, आफ्नो चाहनाअनुरूपको पार्टनर खोज्न सघाउने क्यान्डीएआई जस्ता प्लाटफर्महरू एकथरी जमातमाझ चर्चित छन् । 

कुनै समय पत्रमित्र वा रेडियोमा गीत अनुरोध गरेर वा ‘कान्तिपुर साप्ताहिक’ मा ‘फलानो लुगा लगाएर कुनै ठाउँमा उभिएकीलाई आउने कुनै दिन फेरि सोही लुगामा सोही ठाउँमा आउन अनुरोध’ शैलीका सन्देश पठाएर प्रेमसम्बन्ध वा सामीप्यका लागि गरिने पहल अब सयौं वर्ष पहिलेको दन्त्य कथाजस्ता लाग्ने भएका छन् ।

इरफान खान र निम्रत कौरले उनीहरूको चर्चित हिन्दी चलचित्र ‘द लन्चबक्स’ मा खाजा खाने डब्बामार्फत चिट्ठी आदानप्रदान गरेर महिनौं एकअर्काबारे बुझ्ने र अर्को व्यक्ति कस्तो देखिन्छ भन्नेसमेत थाहा नपाउने समय अब रहेन । आजको टिन्डर, इन्स्टाग्राम युगमा यस्तो प्रकारको सम्बन्ध ‘क्लासिक’ मानिन्छ । 

आफूलाई उपयुक्त पार्टनर खोजी गर्न अहिले टिन्डर वा बम्बलमा महिनौं भौंतारिनु पर्दैन । क्वेर महिलाहरूका लागि बनाइएको ‘हर’ नामक प्लाटफर्म, एलजीबीटीक्यूआईहरू माझ चर्चित ग्राइन्डर एप, अश्वेत एकल व्यक्तिहरूका लागि बनाइएको बीएलके, ल्याटिन एकलहरूका लागि आकर्षक चिस्पा, ५० वर्ष कटेकाहरूका लागि सिल्भरसिंगल्स, किसानहरूका लागि फारमर्सओन्ली, यहुदी, मुस्लिम, क्रिश्चियन धर्मविशेष र अतिरिक्त सम्बन्ध खोज्नेहरूका लागि पनि छुट्टै विकल्पहरू छन् । अनलाइन प्लाटफर्ममा यौन वा अल्पकालीन रोमान्स खोज्नेदेखि आफ्नै किसिमका समुदाय निर्माण गर्नसमेत एआईमा आधारित प्लाटफर्म बनाइएका छन् ।

क्षणिक रमाइलो र अल्पकालीन आकर्षण मात्रै नभई गम्भीर र विवाह नै गर्ने किसिमका सम्बन्ध जुटाइदिने उद्देश्यका प्लाटफर्महरू पनि अहिले परम्परागत अल्गोरिदमबाट अघि बढेर एआईमा भर पर्न थालेका छन् ।

एकआपसमा अनुकूल व्यक्तित्वको खोजी गरिदिने, प्रोफाइल र विवरणहरूको जाँचमा सघाउने, बानी–व्यहोरा विश्लेषणमा मद्दत गर्ने र व्यक्ति–विशेषका लागि सिफारिस गरिदिनेजस्ता काम एआईको प्रयोगले सजिलो बनाइएका छन् । यस्तै सहजताका लागि इहार्मोनी, म्याचडटकम, एलिट सिंगल्स, ओकेक्युपिड, हिंज, कफी मिट्स बेगलमात्रै होइन, शादी डटकम र जीवनसाथीजस्ता प्लाटफर्मले समेत एआईको भरपूर प्रयोग गर्न सुरु गरेका छन् । 

‘ब्रेक द साइकल’ को एक आकलनले अमेरिकामा हुने ३० देखि ५० प्रतिशत जोडीहरू कुनै न कुनै अनलाइन डेटिङ प्लाटफर्मबाट भेट भएका र झन्डै २० प्रतिशत विवाहको सुरुवात अनलाइन डेटिङबाटै हुने गरेको सार्वजनिक गरेको छ । सामीप्यता, रसरंग, आकर्षण, यौन र समग्र प्रेमसम्बन्ध नै कस्तो हुने भन्ने विषयको निर्णय अब कुनै ल्याबमा कोडिङमार्फत बनाइएका एआई प्लाटफर्महरूले गर्न थालेका छन् ।

सन् १९९५ को फिल्म ‘फरेस्ट गम्प’ का टम ह्यांक्सले जस्तो आफूले मन पराएको व्यक्तिलाई बुझ्न सम्पूर्ण जीवन कुर्नुपर्ने अवस्था र धैर्य अहिले कसैसँगै छैन । बरु, आफ्नोजस्तै रुचि भएका भर्चुअल व्यक्ति वा एआई अवतारसँग सजिलै नजिकिन सकिने विकल्प मानिसहरूले रोज्न थालेका छन् । एआई च्याटबटहरू पनि प्रेमका कुरा गर्ने व्यक्तिसँग थप नजिकिन खोज्ने कतिपय अध्ययनको दाबी छ ।

सन् २०२३ मा ‘द कट’ म्यागेजिनमा प्रकाशित एक समाचारमा अमेरिकाका एक व्यक्तिले रेप्लिका एआईमा बनाएको एक महिला मित्रले आफूलाई आफ्नो पत्नीसँग पुनः सम्बन्ध सुधार गर्न सघाएको दाबी गरेका थिए । सन् २०२४ मा स्पेनकी कलाकार एलिसिया फ्रामिसले एआईमार्फत सिर्जना गरिएको होलोग्रामसँग विवाह गरिन् ।

एआई होलोग्राम भनेका लेजर वा प्रोजेक्सन प्रविधिबाट थ्रीडी आकारमा बनाइएका मानिसजस्तै आकृति र हाउभावमा उपस्थित भएर दोहोरो संवाद र भावनात्मक प्रतिक्रिया दिन सक्ने भर्चुअल फिगर हुन् । होलोग्रामसँग बिहे गरेकी फ्रामिसले आफूहरूलाई ‘हाइब्रिड कपल’ नाम दिएर एआईको युगमा प्रेम, सामीप्य र पहिचानका सीमामाथि नयाँ प्रयोग गर्न चाहेको बताएकी छन् । 

AI-human relationships becoming romantic

एआईमार्फत सिर्जना गरिएको होलोग्राम (दाया)सँग विवाह गरेकी स्पेनकी कलाकार एलिसिया फ्रामिस। 

राइट–लेफ्ट स्वाइपको लेठो

एआई र अल्गोरिदममा पछिल्ला उन्नत प्रविधिहरू थपिँदै जाँदा त्यसले सबैभन्दा प्रभाव पारेको क्षेत्रमध्ये एउटा हो– अनलाइन डेटिङ र म्याचमेकिङ । हार्वर्ड विश्वविद्यालयकी वैज्ञानिक क्याथी ओनिलले ‘विपन्स अफ म्याथ डिस्ट्रक्सन’ पुस्तकमा सामाजिक सञ्जाल र अनलाइन डेटिङ वा म्याचमेकिङहरूको अल्गोरिदम एआईको इन्टिग्रेसन (संलग्नता) ले निखारिँदै गएको उल्लेख गरेकी छन् ।

योसँगै अब प्रेम वा क्षणिक रमाइलोका लागि पार्टनर खोजी गर्न प्रयोगकर्ताका व्यक्तिगत विवरण मात्रै नभएर रुचि, तथ्यांक, लगाव, आकांक्षाहरू पनि एआईले विश्लेषण गर्छ । यसरी विश्लेषण गरेर व्यक्तिगत रुचिहरू समान भएकाहरू एक–अर्कालाई सिफारिस गर्नेदेखि कुराकानी सुरु गर्न सिकाउने वा भर्चुअल डेटिङमा लभ गुरुको कामसमेत एआईले गर्न थालेको छ । कतिसम्म भने, डेटिङ र अनलाइन म्याचमेकिङका क्रममा गरिने राइट वा लेफ्ट स्वाइप अर्थात् कुनै व्यक्ति मन पर्‍यो वा परेन भन्ने निर्णय लिनसमेत पछिल्लो पुस्ता एआईको भर पर्न थालेका छन् । 

AI-human relationships becoming romantic

सन् २०२४ मा अमेरिकाको किन्जी इन्स्टिच्युटले गरेको एक अध्ययनले अमेरिकी एकल व्यक्तिहरू आफ्नो डेटिङ प्रोफाइल र कुराकानीको शैली सुधार गर्न बढीभन्दा बढी एआईमा आश्रित हुन थालेको खुलासा गरेको थियो । झन्डै ५ हजार व्यक्तिमाझ गरिएको सो विस्तृत अध्ययनले एआईको प्रयोग आधुनिक प्रेमालापको एक अभिन्न अंग बन्दै गएको उल्लेख गरेको थियो ।

गएका केही दशकयता प्रेमसम्बन्ध र त्यससँग सम्बन्धित आधुनिक शैलीबारे अध्ययन गर्दै आएको इन्स्टिच्युटका निर्देशक जस्टिन गार्सियाले भनेका छन्, ‘डेटिङसम्बन्धी क्रियाकलापमा एआईको प्रवेश अब प्राविधिक विषय मात्रै रहेन, यसले हामी एकआपसमा कसरी जोडिन्छौं भन्ने आधारभूत विषयलाई नै बदल्दै लगेको छ ।’

२०२४ को अक्टोबरमा सार्वजनिक गरिएको पिउ रिसर्च सेन्टरको अध्ययनले पनि डेटिङ एपहरूमा एआईको समन्वयले प्रयोगकर्ताहरूको सन्तुष्टिमा २५ प्रतिशत वृद्धि भएको देखाएको थियो । अझ गम्भीर के छ भने, डेटिङ एप प्रयोग गर्ने झन्डै ५५ प्रतिशत प्रयोगकर्ताले आफ्ना साथीभाइका सिफारिसभन्दा एआईले गरेको सिफारिसमा बढी विश्वास गर्ने गरेको उल्लेख गरेका छन् ।

सन् १९९६ मा प्रकाशित हेलेन फिल्डिङको चर्चित उपन्यास ‘ब्रिजेट जोन्स डायरी’ मा स्याजर, टम र जुड मिलेर ब्रिजेटको प्रेम सफल बनाउन मिहिनेत गरेका मीठा प्रसंग छन् । तर, अहिले समय बदलिएको छ, साथीभन्दा एआईले गरेको मिहिनेत सही मान्ने अवस्था आएको छ किनभने त्यसले तथ्य, तथ्यांक, रुचि सबै जाँचेर जोडी मिलाउँछ !

रेप्लिका, रिज एआई, ब्लस, साइम्याथ, आइरिसजस्ता एआईमा आधारित प्लाटफर्मले त कुराकानी गर्नका लागि कोचिङ, व्यक्तित्वसम्बन्धी अंक दिने सुविधासँगै अनुहारको भावभंगीमा समेत पढ्ने सुविधा थपिसकेका छन् । पिउ रिसर्चमा सहभागी एक तिहाइ प्रयोगकर्ताले आफूहरूलाई परम्परागत लेफ्ट–राइट स्वाइपभन्दा इन्क्रिप्सन र एआई अल्गोरिदममा आधारित स्मार्ट फिचरहरू मनपर्ने बताएका थिए । 

अँध्यारो पक्ष : पूर्वाग्रह, गोपनीयता र नीतिगत प्रश्न

सन् २०२३ मा ‘फोर्ब्स’ पत्रिकामा प्रकाशित लेखमा एआईमा आधारित डेटिङ प्लाटफर्महरूले प्रयोगकर्ताहरूको तथ्यांक र अनलाइन व्यवहारको अध्ययन र उन्नत अल्गोरिदमबाट गरिने मिहिन विश्लेषणले गोपनीयता उल्लंघन हुन सक्ने जोखिम औंल्याएको थियो ।

प्रयोगकर्ताका हरेक रुचि, हरेक मध्यरातका स्क्रोल र हरेक म्यासेज पढेर गरिने यस्ता अध्ययनले एप र प्लाटफर्मलाई सही छनोटमा मद्दत गर्ने भए पनि त्यो सजिलै दुरुपयोग र बिक्री हुन सक्ने ‘फोर्ब्स’ का विज्ञहरूको अनुमान छ । एआईले हाम्राबारे जति धेरै जान्छ, हामी त्यति नै त्यसका सामुन्ने कमजोर र लाचार हुँदै जाने र कालान्तरमा प्रेम र संगतजस्ता विषय पनि एआईले सजिलै आफूअनुकूल बनाउन सक्ने जोखिम रहेको विज्ञहरूको विश्लेषण छ । 

बेल्जियममा दुई सन्तानका पिताले मृत्युपछि आफ्नी एआई सहकर्मीसँग सँगै हुन पाइने अपेक्षामा आत्महत्या प्रयास गरेका थिए । ‘न्युयोर्क टाइम्स’ का अनुसार, केही समयअघि मात्रै एआई च्याटबटसँगको प्रेमसम्बन्धमा रहेका फ्लोरिडाका १४ वर्षे एक बालकले त्यस्तै अपेक्षामा जीवन गुमाए ।छोराको आत्महत्यापछि हाल उनकी आमाले सो च्याटबट निर्माताविरुद्ध मुद्दा हालेकी छन् । प्रेम, सामीप्यजस्ता आधारभूत पक्षको आसमा चिनियाँ प्रयोगकर्ताहरूले सियाओइसजस्ता एआई प्लाटफर्ममा लाखौं पटक ‘म तिमीलाई माया गर्छु’ शैलीका सन्देश पठाउने गरेका विवरण सार्वजनिक भएका छन् ।

AI-human relationships becoming romantic

बेइजिङस्थित सियाओइसको कार्यालयमा एआई अवतारसम्बन्धी सेवा विकासमा कार्यरत कर्माचारी । तस्बिर : इन्डिपेन्डेन्ट डट युके 

सन् २००४ मा बनेको शाहरूख खान र प्रिती जिन्टाको चर्चित फिल्म ‘वीरजारा’ सम्म पनि पात्रहरूले एकअर्कालाई ‘प्रेम जीवनमा एकै पटक मात्र हुन्छ’ भन्ने व्यहोराका प्रेमपत्र पठाउने गरेका थिए । समय फेरिँदै जाँदा ‘लभ आजकल’, ‘ये जवानी हे दिवानी’, ‘डियर जिन्दगी’ मा टेक्स्ट र सामाजिक सञ्जाल आसपास देखिएको प्रेम अनन्या पाण्डेको ‘कन्ट्रोल’ सम्म आइपुग्दा डिजिटल दुर्व्यवहार, षड्यन्त्र र पूर्वाग्रही अल्गोरिदमले नित्म्याउने अनेक जोखिमसम्म आइपुगेको छ ।

यी फिल्मलाई नियाल्दा हामी कसरी आफू वरिपरिका मान्छेबाट टाढिएर डिभाइस र एपहरूमा आश्रित बन्दै गएका छौं भन्ने एक किसिमको विकासक्रम देखिन्छ । एआई विज्ञ मेल्की भन्छन्, ‘मेसिनसँगको सम्बन्धले मानिसलाई अर्को मानिसको साथ खोजी गर्ने, घरबाहिर निस्किने र समाजमा हामीलाई मानव बनाउन आवश्यक अन्तर्क्रियालाई विस्थापित गरिदिन्छ । यो समस्याग्रस्त प्रवृत्ति हो ।’ 

कारण के होला ? 

मान्छेहरू एआई प्लाटफर्म, च्याटबाट र एपहरूतर्फ बढ्दो रूपमा आकर्षित हुनु र प्रेमसम्बन्धमा समेत डिभाइसहरूको बोलवाला बढ्नुलाई विज्ञहरू एक्लोपनसँग जोडिएको समस्या मान्छन् । एक्लोपनसँग जुधिरहेका कैयौं मानिस सहज र पूर्वाग्रहबिनाको सामीप्य खोजी गर्दै एआई प्लाटफर्ममा मन अड्याउन पुगेको उनीहरूको धारणा छ ।

गत वर्ष मात्रै विश्व स्वास्थ्य संगठनले एक्लोपनलाई विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा पहिचान गरेको थियो । हालै गरिएको लङिच्युडनल स्टडी– २०२५ ले च्याटजीपीटी, जेमिनाइ, कोपाइलटसँगको नियमित कुराकानीले ३३ प्रतिशतलाई एआईसँगको लगाव र २५ प्रतिशतलाई एआईप्रतिको समानुभूति बढाएको भेटिएको थियो । 

सो सर्वेक्षणमा एक सहभागीले भनेका छन्, ‘च्याटजीपीटीले कतिपय अवस्थामा मलाई मेरा सबैभन्दा नजिकका साथीले भन्दा बढी चिनेको महसुस हुन्छ ।’

हरपल उपलब्ध हुने र बिनापूर्वाग्रह सघाउने एआई प्लाटफर्महरूले साधारण व्यक्तिलाई पनि चतुर र असल भएको महसुस गराउने भएकाले एआई प्लाटफर्म र एपहरूप्रतिको विश्वाससँगै एआईमा आधारित डेटिङ एप र भर्चुअल रिलेसनसिपको समेत माग अकासिएको अमेरिकी सर्जन जनरलको २०२३ प्रतिवेदनमा उल्लेख छ । एआई गल्फ्रेन्डको बजार सन् २०२४ मा झन्डै ३ अर्ब डलर आसपास रहेकोमा सन् २०२८ सम्ममा यो बढेर लगभग १० अर्ब डलर पुग्ने आकलन पनि अध्ययनहरूमा भेट्न सकिन्छ । 

...

यस आलेखमा फिल्मका सन्दर्भ जोडिरहँदा लाग्छ, कालजयी प्रेमकथा प्रस्तुत गरिएको ‘टाइटानिक’ फिल्मलाई एआई र अनलाइन डेटिङ रुचाउने पुस्ताले लेखेको भए कस्तो हुन्थ्यो ! ज्याक र रोज सायद एटलान्टिक समुद्रको चिसो पानीमा जम्नु वा लुकीलुकी एकअर्कासँग भेट्नु साटो इन्स्टाग्राम रिल्स साटासाट गर्थे ।

जहाज डुब्ने बेला रोज टाइटानिकको छतमा बसेर ‘डिजिटल डिटक्स’ को प्रयास गरिरहेकी हुन सक्थिन् भने ज्याक एआईको सहयोगमा रोजका सामाजिक सञ्जाल प्लाटफर्म ‘स्टक’ गरिरहेका पो हुन्थे कि !

प्रेम र मित्रताका सम्पूर्ण आयामलाई एआई र अल्गोरिदमले छपक्कै ढाकेको भनिहाल्न मिल्दैन किनभने त्यसभन्दा परको दुनियाँ र मानवीय संगतमा रमाउनेको जमात अहिले पनि ठूलो छ । तर, कैयौं नीतिगत, व्यावहारिक र मनोवैज्ञानिक विषयको छरितो सम्बोधन नभईकन एआईमा आधारित डेटिङ र अनलाइन प्लाटफर्मले ल्याएको सहजता र जोखिमबारे छलफल गर्ने बेला चाहिँ आइसकेको छ ।

भावनात्मक सहयोग, सहजता र सुरक्षाको दाबीसहित बिस्तारै घर–घरमा पुगेका एआई विकल्पले सिनेमामा कलाकारदेखि लमी, परामर्शदाता र वकिलको समेत काम गर्न थाल्नेछन् । त्यसले प्रेम, रोमान्स र यौनसँगै मित्रतामा ल्याउने क्षयीकरणको मर्मत सायद पछि कठिन हुन सक्छ ।

थिओडोरले अहिले नै बुझ्नुपर्छ– समान्थाले उनीजस्ता सयौंसँग अन्तरंग कुराकानी र भावनात्मक निकटता राख्छिन् । र, अहिलेलाई डिजिटल स्क्रिन एवं एआई बटहरूलाई सहयोगीकै रूपमा सीमित राख्नु उचित हुन्छ ।

एजेन्सीको सहयोगमा 

सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

Link copied successfully