एक दिनका ‘देवता’

जिब्रो छेड्ने संस्कृतिलाई कृष्णचन्द्र बागले १२ वर्ष जोगाए । त्यसपछि बुद्धकृष्णले ९ वर्ष थामे । अब पालो आएको छ– सुजन बागको, जसले तीन वर्षदेखि यो परम्परा धानिरहेका छन् । चिनारुहरू सुजनलाई सोधिरहन्छन्– दुई फिटको सियोले जिब्रो छेडेर तीन घण्टा सहर घुम्दा कति दुख्छ ?

वैशाख २०, २०८२

घनश्याम खड्का

A Day's 'God'

अनि जिब्रो निको भयो त ? तीन वर्षदेखि उनलाई चिनेपछि र उनीबारे जानेपछि अपरिचितहरू पनि सोध्ने गर्छन् ‘खै खै, हेरुँ कस्तो छ अहिले !’ जवाफमा सुजन बाग श्रेष्ठ केवल हाँस्छन् । ‘ठीक भइसक्यो’ भन्ने भावले सोध्नेको जिज्ञासा मत्थर पार्न खोज्छन् । तर, जिब्रो देखाएर हेर्न भने कदापि दिँदैनन् ।

मेरो पनि उनलाई पहिलो प्रश्न यही थियो र जिज्ञासा थियो– उनको जिब्रो कस्तो भएछ, त्यो हेर्ने । ‘यो हेर्न त मिल्दैन रे,’ सुजनले उस्तै निर्दोष मुस्कुराहटका साथ उही जवाफ फिराए, ‘घाउचाहिँ निको भइसक्या हुनुपर्छ, धेरै भइसक्यो दुख्न छाडेको छ ।’

सुजनका लागि जिब्रो निकाल्न कतिसम्म वर्जित छ भने उनी स्वयं पनि ऐनामा हेर्न पाउँदैनन् । ‘आफूले पनि नहेर्नु भन्ने छ, नत्र विध्न होला भन्ने पीर, अरूलाई त झन् देखाउनै भएन नि !,’ हालैको एक साँझ बोडे हाइटमा पानी सुकाइएको पोखरीछेउ उभिएको तीनतले घरको छतमा सिरसिर चलेको हावामा सुजन सुस्तरी बोले, ‘दाँत माझ्दा अलिकति देखिन खोज्छ र पनि म हेर्दिनँ, हुन्न भनेपछि त मान्नैपर्‍यो ।’ तीन वर्षअघि उनी आफ्नो जिब्रो जति पटक पनि हेर्न सक्थे । हुन त, अहिले पनि कसैले आएर छेकेको छैन ‘त्यसो नगर्’ भनेर । र पनि, ‘परम्परादेखि चलिआएको प्रथा हुनाले’ सुजन त्यसलाई केही होइन जसरी पन्छाउन सक्दैनन् । 

नयाँ वर्षको दोस्रो दिन सिन्दुर जात्रा गरेर भक्तपुर–बोडेमा जिब्रो छेडी हजारौं भीडको माझमा सहर घुम्ने चलन छ । यो चलनलाई उनका माइला बा कृष्णचन्द्र बागले १२ वर्ष जोगाए । त्यसपछि उनका बा बुद्धकृष्णले ९ वर्ष थामे । अब पालो आएको छ सुजनको, जसले तीन वर्षदेखि परम्परा धानिरहेका छन् । 

दुई फिटको सियोले जिब्रो छेडेर तीन घण्टा सहर घुम्दा उनलाई कति दुख्छ होला ? यो पनि चिनारुहरूले सोध्ने अर्को प्रश्न हो । यसको पनि जवाफ दिने शैली फरक छ सुजनको । ‘दाँतले अलिकति टोक्किँदा त दुख्छ भने सियोले छेड्दा नदुख्ला र ?,’ सुजन सोध्नेलाई नै सोच्नुपर्ने गरी हाँसेरै उत्तर दिन्छन् । जिब्रो छेड्दा हुने दुःखभन्दा त्यो हेर्न आउने हजारौं हजारको भीडले उनलाई नियाल्दाको खुसीको अनुभव बढ्ता छ सुजनसँग । त्यो एक दिन सुजनलाई जात्रालुहरू स्वयं नीलबाराहीको अवतार मान्छन्, साक्षात् भगवान् भनेर ढोग्छन् र उनको गोडा धोएर पानी नै खान्छन् । त्यो एक दिन उनी मान्छेबाट देवता बन्न पुग्छन् । र, देवता भनेर यसरी पुजिँदाको अनौठो भावले सायद जिब्रो छेड्दाको दुःख बिर्साइदिन्छ मस्तिष्कबाटै । यसपालि पनि सुजनको जिब्रो छेडियो । हजारौंहजार मानिस जम्मा भएर त्यो छेडेको क्षण सास रोकेर हेरे, अनि उनी जुरुक्क उठेर जात्रामा निक्लेपछि मानिसहरू सिन्दुरे जात्रा गर्दै उनको पछिपछि लागिरहे । योबेला सुजनको एक झल्को पाउन, चरणको एक स्पर्श लिन र गोडाबाट बगेको पानी शिरमा छर्केर मुखमा आचमन गर्न आउनेहरूको गनिनसक्ने भीड लाग्यो । यो हर्षले उनलाई तीन घण्टासम्म जिब्रोमा उनेर बसेको सियोले कुनै व्यवधान दिन सकेन । 

तर, जसै दिन ढल्छ, जात्रा सकिन्छ र मानिसहरू घरघर गएपछि सहर शान्त बन्छ, सुजन एक्लो हुँदै जान्छन् । र, जिब्रोको घाउ अनि त्यसको दुखाइ हराएजस्तै उनी पनि मानिसहरूको सम्झनाबाट हराउँछन् । 

त्यो दुःख र हैरानीले जिब्रो छेडेको र त्यो छेडेपछि मानिसले ‘देवता’ मानेर ढोग्न आएको सपनाजस्तो सम्झना मात्रै बाँकी रहन्छ उनीसँग । जात्रा सकिएपछि बिस्तारै मानिसहरू उनलाई चिन्न छाडेजस्तो गरिदिन्छन् । कसैले उनलाई बाटामा भेटे पनि बोलाउँदैन । ‘कस्तो छ तँलाई ?’ सोध्न कोही आउँदैन, ‘के गरी बितिरहेछ तेरो दिन’ सोध्ने कसैको हार्दिक बचन उनको कानमा पर्दैन । त्यो एक दिनको सघन पीडा र उद्धाम हर्ष फेरि अर्को दिन नभएजस्तै हराउँछ । अनि सुजनलाई मानिसहरूको बेवास्ता पहिलेभन्दा बढी भएजस्तो लाग्छ । 

‘संसार सायद यस्तै होला,’ जात्रा सकिएको दुई साता नबित्दै एकदम एक्लो महसुस गरिरहेका सुजनले भर्खरै ‘देवता’ भनेर असंख्य नरनारीले पूजा गरेको ताजा स्मृति सुमसुम्याएझैं गरी भने, ‘मलाई एक दिन संसारले पूजा गर्छ, बाँकी दिन बिर्सिदिँदोरहेछ, कस्तो अचम्म !’

कहिलेदेखि बोडेमा जिब्रो छेड्ने चलन बस्यो ? पहिलो जिब्रो कसले छेड्यो ? त्यो कसैले भन्न सक्दैन । यसबारे दुई किंवदन्ती छन्, जसले दुईथरी कथा भन्छन् । दुवै कथा आपसमा विपरीत मतका छन् । तर, दुवैमा के समानता छ भने घटना परापूर्वकालको हो । एउटा किंवदन्तीले के भन्छ भने एउटा ख्याक अर्थात् पिचास आएर बोडेमा निकै दुःख दिन थाल्यो । त्यसलाई गाउँलेहरूले तान्त्रिक लगाएर पक्राउ गरे । अनि सजायस्वरूप हरेक वर्ष जिब्रो छेडेर सहर घुमाउने सर्तमा उसलाई छाडिदिए । केही वर्षपछि तान्त्रिकलाई सपनामा नीलबाराहीले दर्शन दिए । अनि भने रे– पिचास पनि मेरै गणको सदस्य हो, त्यसलाई दुःख नदेओ, अबदेखि जिब्रो आफैं छेड्नु । नीलबाराहीको आज्ञा मानेपछि सहकाल आउने, बाली सप्रने र रोगव्याधि नलाग्ने मान्यता बोडेवासीमा पहिल्यै थियो । र, उनले सपनैमा सही, आदेश गरेपछि त्यसलाई शिरोधार्य गरेर हरेक वर्ष नगरवासीले जिब्रो छेडाएर जात्रा निकाल्दा भए । एउटा किंवदन्तीले यसो भन्छ । यो कथामा सुजनलाई पटक्कै विश्वास छैन । 

अर्को कथाले चाहिँ के मान्छ भने स्वयं नीलबाराही नै मानिसका रूपमा प्रकट भएर वैशाखको दोस्रो दिन जिब्रो छेडाई जात्रा निकाल्ने गर्छन् । बोलीमा संयमता र पीडा सहने सामर्थ्य जीवनमा हुनुपर्छ भन्ने शिक्षा दिन यसो गरिएको हो भन्ने जनविश्वास यसमा छ । र, त्यस दिन जसले जिब्रो छेड्छ, उसको शरीरमै नीलबाराहीको प्रवेश हुने हुनाले मात्रै एक दर्शन वा स्पर्शले पनि जीवनमा सुख आउने र समृद्धि छाउने कुरो कथाले गर्छ । किनकि, यो दोस्रो कथाले सुजनको मन जित्यो । अनि उनी १९ वर्षकै हुँदा जिब्रो छेडाइमाग्न बाबुको आज्ञा मागे । ‘तँ सानै छन्, यो कलिलो उमेरमा हुँदैन’ उनका बाले सुजनलाई त्यसबेला कसैगरी मनाए, ‘पछि छेड्लास् ।’

सुजन हरेक वर्ष जिब्रो छेड्ने संकल्पका साथ वैशाख महिना कुरी बस्थे । २७ वर्ष पुगेपछि चाहिँ उनका बाबुले ‘लौ हुन्छ’ भनेर अनुमति दिए । जिब्रो छेड्नेले ‘भगवान् बस्ने शरीरमा शुद्धि गर्न’ भनेर तीन दिनसम्म पानीबाहेक केही खान मिल्दैन, तीन दिनसम्म न सुत्न नै मिल्छ । उता, तीन महिनादेखि जिब्रो छेड्न भनेर कौका–घरमा तेलमा सियो डुबाएर राखिएको हुन्छ । ‘यो तीन दिनमा महिलालाई छुन मिल्दैन, कतै जान पाइन्न र परिवारमा कोही मरे पनि र जन्मिए पनि त्यसको जुठो सुतोकमा बाँधिनु पर्दैन,’ सुजन भन्छन्, ‘त्यस दिनदेखि म भगवान्को हुन्छु र जिब्रो छेडेपछि त भगवानै भनेर पुजिन्छु ।’

ठिमीमा बस्ने प्रेमिका निनालाई उनको जिब्रो छेड्ने कुराले हर्षित र काँतर दुवै बनायो । सुजन ‘देवता’ बन्न लागेको खुसी एकातिर थियो भने उनलाई सुईले छेड्दा कति दुःख्ला भन्ने पीर अर्कातिर । तिनताक सुजन कम वजनका थिए, एकदम लुरे । घरपरिवारदेखि सबैले ‘यो लुरे केटोले जिब्रो छेड्ला र ?’ भनेर आशंका गर्थे । ‘तर, छोराले आँटेपछि आँट्यो आँट्यो भनेर मैले जिब्रो छेडाउने भएँ,’ तीन वर्षअघि पहिलो जिब्रो छेडाइको अनुभवबारे सुजन भन्छन्, ‘अनि म व्रत बसेँ, अघि–पछि मलाई छिनछिनमा खाइरहनुपर्थ्यो, तर अचम्म के भने त्यो बेलामा भोकै लागेन ।’

उनी यसलाई साक्षात् नीलबाराहीको आशीर्वाद मान्छन् । र, तीन दिनपछि मञ्चमा जिब्रो छेडाउन उनी लगिए । त्यसको केहीअघि जिब्रो छेडाएको अनुभव भएकाहरूले भेटेर ‘डराउनु पर्दैन’ भनी आशीर्वाद दिने चलन छ, त्यो पनि उहिलेदेखि चल्दै आएको । उनका बा, माइलाबा र अरू पनि जिब्रो छेडाइसकेकाहरूले मन्दिरमा लगी उनलाई सम्झाएका थिए त्यस बिहान र दिएका थिए केही नहुने आशिष । मञ्चमा बसेपछि भने उनका बाले उनको कानमा सुटुक्क एउटा कुरा भने– ‘नडराएस् है, अब सियो लिएर एउटा मान्छे आउँछ, सियो हुन्छ दुई फिटको । तर, देखिन्छ २० फिटको ।’ 

‘नभन्दै, मैले त्यसबेला या...मानको सियो लिएर कोही आइरहेको देखेँ,’ सुजन सम्झन्छन्, ‘त्यो बेला मलाई मनमा चसक्क भएको थियो, यत्रो लामो सियोले बित्यास पार्ने भयो भनेर डर पनि लागेको थियो ।’

तर, त्यस्तो लागेको मात्रै रहेछ । सियो थियो दुई फिटकै । उनलाई जिब्रो निकाल्न भनियो । त्यसलाई बिस्तारै मध्यबिन्दुबाट हल्का दायाँतिर लगेर छेडियो । तुरुन्तै सारा मानिसले हर्षबढाइँ गरे । सिन्दुर जात्रा निकालियो, बाजाहरू बजे । अनि सुजन जुरुक्क उठेर बाँस र निगालाले तयार पारेको अर्ध चन्द्राकार प्रदीप्त दियो बोकेर जात्रालुलाई नेतृत्व गर्दै अघि बढे । केहीअघि एक दुर्घटनामा परेर सुजनको दाहिने पातो बेलाबखत आफैं खस्ने गर्थ्यो केही भार पर्न जाँदा । जात्राभरि नै सुजनलाई त्यो पातो पो खस्ला कि भन्ने डरले निकै सतायो । जात्रा अघि बढ्दै जाँदा पर नीलबाराहीमा पुगेपछि मानिसहरूले चिसो पानीले उनको गोडा धोइदिए । त्यसबाट बगेको पानी पिए र साक्षात् नीलबाराहीलाई भेटेजस्तो हर्षले मखलेल भए । 

‘त्यो बेला मेरो मुख प्याकप्याकी सुकेर मरुभूमि जस्तो भएको थियो,’ सुजन भन्छन्, ‘मलाई जीवनमा पहिलोपल्ट कुनै कुराको ठूलो तिर्सना भयो, त्यो त्यही चिसो पानी थियो, त्यो खान पाए पनि कस्तो हुँदो हो भन्ने भयो मलाई ।’ तर, उनी थिए देवता, जो साँच्चै बोल्न सक्दैनथे जिब्रो छेडिएकाले । तिर्खा उनीसँगै बस्यो । हर्ष र जात्रा अघि बढ्दै गयो । आनन्द र पीडाको त्यो सघन मिश्रणको क्षण केहीपछि अन्त्य भयो जब उनको जिब्रोबाट सियो निकालियो । 

उनी थिए– तीन दिनदेखिका भोका । उनका बा र काकाहरू सियो निकालेपछि अरू तीन दिनसम्म खाँदैनथे, खान सक्ने कुरा पनि थिएन । 

‘खान हुन्न भन्ने चलन होइन, खान नसकेर नखाने हो,’ सुजन भन्छन्, ‘तर, मलाई त सियो निकालेपछि नै भोक लाग्यो एकदमसँग, र एक थाल छोइला कपाकप खाइदिएँ ।’

यो देखेर उनकी आमा अचम्ममा परिन् । गएको वर्ष र यो वर्ष पनि उनले सियो निकालेपछि मज्जाले खाइदिए । ६ महिनाअघि उनकी प्रेमिका दुलही बनेर घर भित्रिएकी थिइन् । यसपाला सुजनले जिब्रो छेड्दाकै क्षणलाई उनले सास रोकेर हेरिरहिन् । परम प्रियको जिब्रोमा सियो पस्दा उनको मुटुमा केही पसेजस्तो एक सघन पीडा भएको थियो । र, मानिसहरूले भगवान् मानेर उनीमाथि श्रद्धाका सिन्दुर चढाएपछि उनको मन आनन्दले प्रफुल्लित भएको थियो । 

यसरी, यसपाला पनि उनको जिब्रो छेडियो । उनी एक दिनका लागि फेरि भगवान् भए, एक दिनका लागि उनको खुट्टा ढोगियो । जात्रा मनाउन घरमा आउनेहरू सबलाई भोज खुवाउनुपर्ने चलन छ । वडाले दिएको ८० हजारमा थप ५० हजार उनको खर्च भयो, भोज खुवाउन । त्यस दिन चिने/नचिनेका असंख्य मानिस आएर उनी अघिल्तिर शिर निहुँर्‍याए । पत्रकाहरूको ठूलो लस्कर लाग्यो घरमा । सबलाई अन्तर्वार्ता दिनै हम्मे परेको थियो उनलाई । 

फेरि जात्रा सकियो, सहर शान्त बन्यो र सुजन बिस्तारै एक्ला बने । सबैको सम्झनाबाट फेरि ओझेल परे । अहिले उनी बेरोजगार छन् । काम के गर्ने होला भन्ने पिरलो छ । ‘तर केही छैन,’ उनी भन्छन्, ‘मेरो मनमा पहिलेभन्दा बढी शान्ति छ, म लुरे थिएँ, जिब्रो छेडेपछि ज्यान लागेको छ, यो सब नीलबाराहीको आशिष हो ।’

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully