जन्तीको शान्त जुलुस होइन– आन्दोलन । न त आन्दोलन मलामीको मौन लस्कर नै हो । न त हो यो मोजमस्तीमय वनभोज नै । शिक्षकको यो आन्दोलन निश्चिन्त छ, भयमुक्त छ, मगनमस्त छ । शिक्षक आन्दोलनमा आज धुमधाम रमिता छ !
राजनीतिक होस् वा अन्य, आन्दोलन जन्तीको शान्त जुलुस होइन । न त आन्दोलन मलामीको मौन लस्कर नै हो । न त हो यो मोजमस्तीमय वनभोज नै । आन्दोलनमा प्रायः तनाव हुन्छ, घर्षण हुन्छ, द्वन्द्व हुन्छ । त्यसैले त जब्बर हकदाबी हेतु सामूहिक प्रतिरोध कर्मको नाउँ हो– आन्दोलन ।
यतै छु म माइतीघर मण्डला
कहिले आउँछ अइन, कस्ले भन्देला
आन्दोलनको भर, सडक हाम्रो घर
हट्ने छैनौं हामी, तिम्ले होस गर
राजधानीका सडकमा अचेल लहरपछि लहर आन्दोलन उठिरहेछन् । कुनै अग्रगामी लहर, कुनै पश्चगामी लहर, कुनै न अघि न पछिको भ्रान्तिकारी लहर ! यी लहरमा अर्को एक बृहत् लहर भएर देशभरिका शिक्षक राजधानीको सडकमा ओइरिएका छन् । उत्कट अपेक्षाको गाढा मसीले लिपिबद्ध भएका छन्– वृत्ति विकास र पेसागत सुविधा विषयका यिनका बहुविध मागहरू ।
आन्दोलनरत शिक्षक विलम्बकारी र हेपाहा शासनाधीशका नाउँमा मसिनो स्वरमा फाटफुट नारा लाउँदै छन्— ‘फलानो चोर—देश छोड् !’ शिक्षकका मागको औचित्य हेरी तत्काल पूरा गर्न सकिने माग पूरा गरिदिनु, चरणबद्ध रूपमा पूरा गर्न सकिने माग चरणबद्ध रूपमै पूरा गर्छु भन्दिनु, पूरा गर्न नसकिने माग पूरा गर्न सक्दिनँ भन्दिनु— यो पो हो सही काइदा । तर, अप्रिय नाराद्वारा लक्षित चोर वा साधु शासनाधीश आफ्नो शासकीय जिम्मेवारीबोध गरी झटपट यथोचित प्रतिक्रिया गर्दैन । मानौं विचरा ऊ मृतवत् भई सर्वथा अशक्त र अकर्मण्य अवस्थामा छ । आन्दोलनको सुरक्षार्थ सडक किनारमा उभिएका प्रहरीहरू शासनाधीशको निन्दाकारी नारा सुनेर मुखामुख गर्दै मुसुमुसु हाँसिरहेछन् । राजधानीको सडकमा आज रमिता छ !
राजनीतिक होस् वा अन्य, आन्दोलन जन्तीको शान्त जुलुस होइन । न त आन्दोलन मलामीको मौन लस्कर नै हो । न त हो यो मोजमस्तीमय वनभोज नै । आन्दोलनमा प्रायः तनाव हुन्छ, घर्षण हुन्छ, द्वन्द्व हुन्छ । त्यसैले त जब्बर हकदाबी हेतु सामूहिक प्रतिरोध कर्मको नाउँ हो– आन्दोलन । तर लाग्छ, शिक्षकहरूको यो आन्दोलन निश्चिन्त छ, भयमुक्त छ, मगनमस्त छ । त्यहाँ मुस्कान र हाँसो छ । त्यहाँ परिहास र गायन छ । त्यहाँ नृत्य र अट्टहास छ । त्यहाँ चटक र उफ्रीपाफ्री छ । त्यसैले त शिक्षक आन्दोलनमा आज धुमधाम रमिता छ !
कुनै बेला म पनि शिक्षक थिएँ । आफ्नो समयमा, आफ्नै ढंगको शिक्षक आन्दोलनमा म पनि लिट्टी कसेर लागिपरेको थिएँ । चार दशकभन्दा अघिको कुरा हो यो । शिक्षक आन्दोलनको मेरो अनुभव मसँगै वृद्ध र विस्मृत भइरहेको थियो । शिक्षकहरूको यो भवसागर आन्दोलनले मेरो स्मृतिलाई दूर अतीतदेखि तानेर ताजा तुल्याउँदै मेरा आँखासामु ल्याइदियो । र, मेरो मनमा एउटा विस्मयकारी भाव जागृत भयो— अहो ! शिक्षक आन्दोलन हिजो त्यस्तो थियो, आज यस्तो भएछ ! यो ‘त्यस्तो’ र ‘यस्तो’ को प्रकृति र प्रवृत्तिको पृथक्ताको झलक दिन म यहाँ दूर अतीतका एकाध संस्मरण सुनाउँदै छु ।
कुरा २०३६ सालपछिको हो । जालझेलयुक्त जनमत संग्रहमा पहेंलो निर्दलले जितेर हार्यो, नीलो बहुदलले हारेर जित्यो । पहेंलो र नीलोको पूरा हारजितको फैसला २०४६ सालको गर्तमा लुकिबसेको थिएछ । जब समय आयो, शुभ फैसला सुनियो । जनमत संग्रहमा हारेर जितेको बहुदललाई केही राजनीतिक लाभ प्राप्त भयो । अब नामको अगाडि प्र. उर्फ प्रतिबन्धित राखेर सारा जगत्का आँखाले देख्ने गरी पार्टीको नाम लेख्न पाइने भयो । यथा प्र. नेपाली काङ्ग्रेस, प्र. नेपाल कम्निस्ट पार्टी, प्र. प्रजापरिषद् आदि ।
बहुदलले आधा हारेर जित्दा शाही निर्दलीय निरङ्कुश पञ्चायतको आधा सातो गयो र राजनीतिक परिवेश किञ्चत् खुकुलो भयो । त्यो खुकुलो परिवेश हामी उपेक्षित शिक्षकहरूका लागि खुदो भइदियो । हामीले उत्तुङ्ग जोस र उमंगका साथ पेसागत हक–हित हेतु आन्दोलन थाल्यौं । आन्दोलनको शुभारम्भ भेला हेटौंडामा भयो । निकटवर्ती जिल्लाका शिक्षकहरूको सानो भेला थियो त्यो । भेलामा मकवानपुरका प्रतिनिधि अग्रणी सूत्रधार बद्रीप्रसाद खतिवडा थिए । भक्तपुर र ललितपुरका प्रतिनिधि थिए– श्यामकृष्ण खमू र सुशीलचन्द्र अमात्य । पाल्पाका प्रतिनिधि यशपाल शाक्य थिए । र, म थिएँ छिमेकी चितवनको प्रतिनिधि ।
दीर्घ जीवनमा प्रिय घटना स्मृतिपटबाट प्रायः छिटै अलप हुन्छ । अप्रिय घटनाको सम्झनाले भने दूर भविष्यसम्म झस्काइरहन्छ । पहिलो भेलाको अघिल्लो रातको उपद्रो बेचैनीको मलाई झल्झली सम्झना छ । सुशील, श्याम र म होटलको एउटै कोठामा बसेका थियौँ । राति कुनै न कुनै बेला पक्राउ परिएला भनी हामी ढुक्क थियौँ । पक्राउको बेचैनीयुक्त प्रतीक्षामा सुस्त समयका पल गन्दै, एकपछि अर्को बिँडीको धूवाँ उडाउँदै अनिँदो रात बित्यो । खै, पक्राउ परिएन त कमरेड ! बिहान राता आँखा मिच्दै हामीले ठट्टा गर्यौँ । तथापि भेलाअगावै पक्राउ परिनेमा हामी ढुक्क थियौँ । सडकमा प्रहरीको अनिष्ट–सूचक चहलपहल बढ्दै गयो ।
हामी बसेको होटल प्रहरीको जत्थाले घरप्पै घेर्यो । बाहिर चिया खान जान हामीलाई डर लाग्यो । घेराउकारी प्रहरीले पोको पारिहाल्ला कि ! चियाको तलतलले जब उखर्माउलो भयो, जे त पर्ला भनेर हामी चिया खान फटाफट बाहिर निस्क्यौँ । खै, पक्राउ परिएन त कमरेड ! तातो चियाको चुस्की लिँदै हामीले फेरि ठट्टा गर्यौँ ।
भेलास्थल बद्री सरको भुटनदेवी माध्यमिक विद्यालय थियो । भेलाको निर्धारित समय जति नजिक आयो, भेलास्थल बाहिर प्रहरीको आक्रामक चहलपहल उति नै बढ्दै गयो । शाही गृहमन्त्री थिए– सदावहार जण्ड श्री जोगमेहर श्रेष्ठ । मित्र श्यामकृष्णले फोनमा नेपाल भाषामा सविनय निवेदन गरे— गृहमन्त्रीज्यू, हामी जुलुस, नाराबाजी केही गर्दैनौँ । हामी केवल बन्द कोठामा शिक्षहरूकका पीरमर्काबारे बात मार्छौँ । जनी गरेर हामीलाई नपक्रिन प्रहरीलाई आदेश दिलाई पाऊँ । जो हुकम, जो निगाह, जण्ड जोगमेहर महोदय !
भेलाको उद्घाटन गर्न जेपी हाई स्कुलका प्रधानाध्यापक रामजीप्रसादलाई बिन्ती गरिएको रहेछ । अतिशय पुरातनपन्थीे केही जीबातहरू हिजोआज कर्कश स्वरमा ‘कोही आऊ, केही बचाऊ’ भनी पुकार गर्दैछन् । हो, यही भाकामा हामीले मनमनै पुकार गर्यौँ– ‘रामजी सर आऊ, हामीलाई बचाऊ !’ रामजी सरको रोजाइ सुविचारित थियो । वास्तवमा रामजी सरको औतारमा हाम्रा लागि रक्षाकबजको सानदार प्रबन्ध थियो त्यो । भरोसायुक्त आशा थियो, रामजी सरजस्ता ख्यातनामा एव् प्रबुद्ध प्रधानाध्यापकको उपस्थितिको प्रभावले प्रहरीको हात बाँधिदेला । नभन्दै भयो पनि त्यस्तै ।
छोटो उद्घाटन भाषणमा साना काँटीका, सानै स्वर भएका, माइ डियर टाइपका रामजी सरले भने— ‘हामी शिक्षकहरू सिद्धान्तमा तीन थरीका छौं– बहुदलवादी, एकदलवादी र निर्दलवादी । तर, पेसागत दृष्टिले हामी तीनैथरीका पीरमर्का र आकाङ्क्षा उस्तै छन् । यो कुराको सधैँ हेक्का राख्नोस्, शिक्षक आन्दोलनको अवश्यै जित हुनेछ । मेरो शुभकामना छ ।’
रक्षाकवचले गजप काम गर्यो, हामी कोही पनि पक्राउ परेनौं । भेलाले मलाई पहिलो शिक्षक आन्दोलनको संयोजकको जिम्मा दियो । पहिलो शिक्षक आन्दोलन असलमा शिक्षक संगठनको संस्थापनको रिहर्सल पनि थियो । त्यही रिहर्सलको जगमाथि पछि संगठन खडा भयो । यसलाई सुखद् संयोग भनूँ, हेटौंडा भेलाका हामी पाँच प्रतिनिधि शिक्षक संगठनका संस्थापक कहलियौँ । अँ, आन्दोलनको संयोजन त मेरो घोषित काम–कर्तव्य भई नै हाल्यो । संयोजनको अतिरिक्त आन्दोलनमा मेरा अरू काम थिए— नारा कथ्नु, पर्चा लेख्नु, शिक्षकहरूका पीरमर्काको कारुणिक शब्दचित्र खिच्नु, आन्दोलनविरोधी आक्षेपहरूको खण्डन गर्नु र भाँती पारेर भाषण गर्नु । मैले जानेको त्यही थियो । जानेका कुराको जिम्मा पाउँदा कर्म गर्न मलाई सजिलो पनि भयो, आफ्नै कर्मबाट मलाई आनन्द प्राप्त पनि भयो ।
माइतीघर मण्डलामा अहिलेको मगनमस्त शिक्षक आन्दोलनको झाँकी हेर्दै म पहिलेको कष्टकर आन्दोलनको संस्मरण गरिरहेछु । पहिलो शिक्षक आन्दोलनको माग केवल दुई सूत्रीय थियो । एक— शिक्षकलाई निवृत्तिभरणको व्यवस्था गर, दुई— शिक्षक संगठनलाई मान्यता देऊ । शासनतन्त्रका नजरमा शिक्षकका नेता भनी हामी जो चिनिएका थियौं, हामीलाई कि त आन्दोलन घोषणा हुनुअगावै पक्राउ गरिन्थ्यो, अथवा आन्दोलनको घोषणालगत्तै हामी भूमिगत हुन्थ्यौँ । राजधानीमा हामी एकाध दिनमा गुप्तवास फेर्थ्यौं । गुप्तवासबाट हामी सकल शिक्षकको जोस र उमंग सुस्ताउन नदिन उत्तेजक वक्तव्य जारी गर्थ्यौं ।
आन्दोलनविरोधी बकबासको सशक्त प्रतिवाद गर्थ्यौं । र, सरकारका नाउँमा घरीघरी घुर्कीमय धम्की प्रसार गर्थ्यौं— ओ कर्णविहीन सरकार ! हाम्रा माग शीघ्र पूरा गर, नत्र....। शिक्षक आन्दोलनको दम वा हुती उति ठूलो थिएन, तर यसको ध्वाँस भने आन्दोलनको हैसियतभन्दा बढी नै दमदार हुन्थ्यो । जब वार्ताका लागि डाकिन्थ्यो, हामी दुविधा र अलमलमा पर्थ्यौं । वार्ताको बल्छी थापेर कुटिलमति सरकारले झ्याप्प जालमा पार्ला कि ! केही नेतालाई रिजापमा राखेर हामी केही वार्तामा जान्थ्यौं । पहिलेको शिक्षक आन्दोलन पलपल भय र संकटयुक्त आन्दोलन थियो । मण्डलामा अहिलेको मगनमस्त आन्दोलन यसो हेर्दा मनको भित्री पत्रमा मलाई किञ्चित् थकथक लाग्छ । यस्तो मगनमस्त आन्दोलनको परम आनन्द उपभोग गर्न पाइएन त खै ऊबेला ! तत्क्षण स्वयम्लाई सान्त्वना दिँदै म आत्मलाप गर्छु– थकथक नमान ब्रो, यो बख्त बख्तको बात हो ।
मगनमस्त शिक्षक आन्दोलनमा मागहरूको लाम लामै छ । ठाडो भाषामा प्वाक्क नभने पनि निहितार्थमा कुरा प्रस्ट बुझिन्छ । कुरो के हो भने कतिपय माग यस्ता छन्, झट्ट सुन्दैमा उदेक लाग्छ । जस्तो कि स्वतः स्थायी र स्वतः बढुवाको माग । नगण्य अपवादबाहेक, लोकतन्त्रमा स्वतः केही हुँदैन । स्वतः त केवल वंशतन्त्रमा हुन्छ । बौद्धिक र नैतिक योग्यताका दृष्टिले जतिसुकै लबरल्वाँठ किन नहोस्, राजाको जेठो छोरो स्वतः युवराज वा भावी राजा हुन्छ । उसले वैचारिक र नैतिक योग्यता सिद्ध गर्न प्रतिस्पर्धाको जाँच पास गर्नुपर्दैन । पूर्व ाजा ज्ञानेन्द्रका पुत्र पारस शाह स्वतः युवराज भए त ! हुकुमी वंशतन्त्रमा यस्तै युवराज त स्वतः राजा हुने हो । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो मति, मिजास र कर्मले आफ्नै वंशतन्त्रको सिंहासन गर्ल्याम्मै नढालेका भए युवराज पारस स्वतः राजा हुन्थे त !
हो, प्रतिस्पर्धी लोकतन्त्रमा स्वतःलाई कुनै स्थान छैन । सार्वजनिक दायित्वयुक्त पदमा आसीन हुन नागरिकले प्रतिस्पर्धाको जाँचमा खरो उत्रिनु अनिवार्य छ । शिक्षक बालबालिकाको वैचारिक र नैतिक व्यक्तित्वको प्रारूप निर्माण गर्ने र खाइजीवीका आर्जन गर्ने प्राविधिक सीपले तिनलाई सज्जित तुल्याउने शिल्पी हो । यस्तो विरल शिल्पीको हकमा योग्यता र गुणवत्ता सिद्ध गर्ने प्रतिस्पर्धाको जाँच झनै कडा हुन्छ । र, उसले त्यस्तो जाँचमा आवधिक रूपमा घरीघरी पास भइरहनुपर्छ । अन्यथा ऊ शिक्षक रहँदैन । अयोग्य सिद्ध भई ऊ स्वतः भूतपूर्वको महलमा फालिन्छ । मेरो सविनय प्रश्न— हैकमी र स्वेच्छारी स्वतःबारे वर्तमान शिक्षक आन्दोलनको नेतृत्व के सोच्दो हो ?
सालिन्दा प्रत्येक शैक्षिक तहको जाँचमा थुप्रो विद्यार्थी फेल हुन्छन् । फेल हुने वास्तवमा विद्यार्थी होइनन्, विद्यार्थीको माध्यमले फेल हुने शिक्षक स्वयम् हुन् । मेरो सविनय प्रश्न— अबोध र निर्दोष बालबालिकालाई शिरमा फेलको अभिशाप थोपरिने निर्मम क्रियाबाट मुक्त गर्ने विषयमा शिक्षक आन्दोलनको नेतृत्व के सोच्दो हो ?
पढ्नु कुर्सीमा बसेर खुट्टा हल्लाउँदै सरकारी वा गैरसरकारी जागिर खान हो । सरकारी वा गैरसरकारी जागिर खानु धन थुपार्न हो । धन थुपार्नु चैनको जिन्दगी यापन गर्न हो । अर्को कुरा, पठित व्यक्तिले शारीरिक श्रम गर्नु हुँदैन, गरे नाक काटिन्छ । चालु शिक्षाले शिष्यार्थीका मानसमा यस्तो श्रमद्वेषी भावना थोपरिरहेकै छ । मेरो सविनय प्रश्न— वर्तमान शिक्षामा निहित यी दुई रोगको उन्मूलनबारे शिक्षक आन्दोलनको नेतृत्व के सोच्दो हो ?
वर्तमान शिक्षाले पाठ्य–पुस्तकका निर्जीव शब्दहरू सुगा शैलीमा पढाउँछ, जीवनको जीवन्त पाठ पढाउँदैन । विद्यार्थीले आर्जन गरेको शैक्षिक प्रमाणपत्र कतै बिक्दैन, ऊसँग गरिखान कुनै प्राविधिक सीप हुँदैन । दस/बाह्र/चौध किलास पढेको व्यक्ति मूल्यहीन शैक्षिक प्रमाणपत्र रद्दीको टोकरीमा फालेर खाडी मुलुकमा इलम खोज्न प्लम्बर वा इलेक्ट्रिसियनसँग तत्तत् विषयमा प्रारम्भिक प्राविधिक सीप सिक्न विवश हुन्छ । विद्यार्थीहरूको बाह्र/चौध वर्षको आयु र थुप्रो आर्थिक लगानी व्यर्थमा खेर गइरहेको छ त ! विद्यार्थीहरूको यो अथाह क्षतिको दोष शिक्षकका भागमा पनि त पर्ला । मेरो सविनय प्रश्न— यो दयनीय विवशताबाट विद्यार्थीलाई मुक्त गर्नेबारे शिक्षक आन्दोलनको नेतृत्व के सोच्दो हो ?
शिक्षकहरूका मागको लाममा सुविधाहरूको दाबीको लाम निकै लामो छ । शिक्षा र शिक्षक स्वयम्को योग्यता र गुणवत्तामा सुधार एवम् परिष्कर गर्ने मूर्त्त बुँदा मागपत्रमा कतै पनि खुलस्त दृष्टिगोचर हुँदैन । शिक्षा र शिक्षक स्वयम्को योग्यता एवम् गुणवत्ताको सुधारको पर्बाह नगर्नु र केवल सुविधाको दाबी गर्नु— शिक्षकको यो कस्तो मनोवृत्ति र प्रवृत्ति हो ? दाबी गरिने प्रत्येक सुविधाले शिक्षकको थप गुणवत्ता र योगदानको अपेक्षा गर्दैन र, मान्यजन ?
माइतीघर मण्डलामा प्रस्तुत शिक्षक आन्दोलनको एक तमासको नृत्य–क्रीडाले उहिल्यैको परम्परागत बिहाको नृत्य–क्रीडाको स्मरण गराउँछ । ऊबेला विवाहमा बाजागाजा र गायन–नृत्य दर्जी जनको व्यवसाय थियो । विवाहलाई सरस र रोमाञ्चक तुल्याउन दुई दर्जी नृत्य प्रदर्शन गर्थे । नृत्यमा एउटा पुरुषले फरिया–चोलो लाउँथ्यो, झ्याम्ले कपाल भएको अर्को पुरुष झल्ला पोसाक धारण गर्थ्यो । झल्ला पोसाक–धारीलाई ढड्डुबारे उर्फ जोक्कर भनिन्थ्यो । यो जोक्कर बहुलट्ठी तालको हाउभाउ गर्दै, बाँकटे शैलीमा फरियाधारी भाले तरुनीलाई गाँज्न खोज्दै दर्शकलाई भरपूर मनोरन्जन प्रदान गर्थ्यो । नृत्यको बीचबीचमा ‘सक्को झिल्केले सक्को’ को समवेत स्वर गगन मण्डलमा गुन्जायमान हुन्थ्यो ।
मण्डलामा महिला नर्तकीको भूमिकामा महिला शिक्षक साडीको परिधानमा प्रकट भए । पुरुष शिक्षकले शिरमाथि टोपी र कटिमुनि साडी लाएर बाँकटे नृत्य प्रदर्शन गरे । साडीधारी महिला शिक्षकको नृत्य पनि कम बाँकटे थिएन । झट्ट हेर्दा त्यो रुमानी फिल्मांकनको नखरे ताहुरमाहुर पो हो कि झैँ लाग्थ्यो । उता विद्यार्थीका उत्तरकापीको जाँच, विद्यार्थीको भर्ना र पढाइ एवम् विद्यार्थीको आसन्न जाँचको व्यवस्थापन आदि यावत् कर्म अलपत्र परेका थिए ।
विद्यार्थी र अभिभावक चिन्तातुर त थिए नै, ती आन्दोलनरत शिक्षकहरूसँग क्रुद्ध पनि थिए । यता शिक्षकहरूको तालतालको बाँकटे नृत्य हेर्दै माइतीघर मण्डला मखलेल थियो । बाँकटे नृत्यको रसपान गर्ने आन्दोलनरत शिक्षकको आनन्दमग्न मनोदशा र अभिभावक एवम् विद्यार्थीको क्रुद्ध मनोदशाबीच संगति हुँदो हो कि विपर्यास ? बाँकटे शैलीको नृत्यले आन्दोलनरत शिक्षकलाई शोभा दियो कि तिनको मर्यादाप्रति लोकको चोर औंलो उठ्यो, मलाई थाहा छैन । शिक्षक आन्दोलनको नेतृृत्व यसबारे के भन्दो हो ?
आन्दोलनरत शिक्षकका वस्त्रले जगमान गुरुङको स्मरण गराउँछ । जानकारी होस् मान्यजन, जगमान गुरुङ पूर्वराजा ज्ञानेन्द्रका अघोषित राजनीतिक पुरोहित हुन् । वस्त्रजन्य मर्यादासम्बन्धी यी पुरोहित बाजेको मान्यता विचित्रको छ । समकालका किशोरीहरूको वस्त्रबारे जगमानको कटाक्ष सुन्नोस् त ! पुरोहित जगमान अतिशय घृणायुक्त लबजमा भन्छन्— ‘अचेलका किशोरीहरू हाफ जिन प्यान्ट पट्याउँदै माथि फर्काएर नाङ्गा फिला देखाउँछन् । माथि छातीमा बाँकटे सर्ट लाउँछन् । यसरी यी आफैँ आफ्नो बलात्कार र हत्यालाई निम्त्याउँछन् ।’ वस्त्रसम्बन्धी पुरातन मान्यतामा पुरोहित जगमानको साँच्चीकै आस्था हुँदो हो त यिनले आफ्नो छाती स्यालको छालाले र लिङग लोक्ताले छोप्नुपर्ने हो । तर, जगमान आफू आधुनिक कुर्ता–सुरुवाल र ज्वारीकोट लाउँछन् र किशोरीहरूको रोजाइको वस्त्रबारे त्यस्तो कटाक्ष गर्छन् । यी हुन् अन्धविश्वास र ढोङका प्रतिमूर्ति जाज्वल्यमान् जगमान गुरुङ !
शिक्षक आम मानिसका नजरमा एक आदर्श मानव हो । कुनै विद्यालयमा हजार विद्यार्थी भए त्यहाँको शिक्षक ती विद्यार्थीहरूमार्फत प्रतिदिन हजार घरमा पुग्छ । ऊ आफ्नो वचनले पुग्छ, ऊ आफ्नो कर्मले पुग्छ, ऊ आफ्नो आचरणले पुग्छ । यसरी शिक्षक आफ्नो वचन, कर्म र आचरणमार्फत व्यापक सार्वजनिक परिदृश्यमा हर्दम उपस्थित हुन्छ । त्यही वचन, कर्म र आचरणद्वारा आम जनमानसमा शिक्षकको बिम्ब निर्माण हुन्छ । शिक्षकका वचन, कर्म र आचरणको प्रकृति र प्रवृत्ति हेरी शिक्षकको बिम्ब सुन्दर वा कुरुप, ग्राह्य वा त्याज्य, प्रशंसायोग्य वा भर्त्सनायोग्य हुन्छ ।
हुनु र देखिनु अर्थात् अस्तित्व र जनदृष्टिबीच बहुधा साम्यभाव हुँदैन । हुनु र देखिनुबीचको विपर्यास हो यो । आन्दोलनरत शिक्षक आफूलाई जस्तो छु भन्ठान्छ, आम जनदृष्टिमा ऊ त्यस्तो नदेखिन सक्छ । आम जनदृष्टिले प्रायः वस्तु जस्तो छ, त्यसलाई त्यस्तै देख्दैन । वस्तुमा जे देख्न चाहेको हो, उसले त्यो देख्छ । यो देखाइमा समाजमा प्रचलित विश्वास र अन्धविश्वास तथा नैतिक–सांस्कृतिक धारणा वा मूल्यको प्रभाव बलशाली हुन्छ ।
माइतीघर मण्डलामा आम जनदृष्टिले शिष्ट, सौम्य र भद्र शिक्षक देख्न चाहेको हुँदो हो । तर जे देख्यो, चिताएजस्तो देखिएन । आन्दोलनरत शिक्षकका दृष्टिमा मण्डलामा प्रदर्शित आफ्ना भंगिमा, हाउभाउ, नृत्य आदि क्रियाकलापमा कहीं, कतै, कत्ति पनि असौम्यता र अभद्रताबोध नहुँदो हो । तर, आम जनदृष्टिले त्यस्तो देखिदिएन त ! समाजको आदर्श पात्र बन्न बाध्य शिक्षक लोकाचारको मान राख्न पनि बाध्य छ त, मान्यजन ।
आदर्श शिक्षक बन्न कति गाह्रो !
