यी कथाहरूले भन्छन्– जातीयता एक कमजोर खाटजस्तो हो, जो मक्किएर भाँच्चिएको छ दृश्य प्रलेख !
शीर्षक कुनै आर्ट ग्यालरीमा चलिरहेको चित्रकला प्रदर्शनीको अमूर्त नामजस्तो । अलिकति विम्बजस्तो, अलिकति साहित्यकारको निकनेमजस्तो । अलिकति भर्खरै प्रेममा मग्न–मगन हुन थालेकी प्रेमिकालाई उसको प्रेमीले सुनकेस्रे कपाल खेलाउँदै राखिदिएको नामजस्तो । तर, यो नाम हो कथाकार गोपालचन्द्र भट्टराईको कथासङ्ग्रहको, जसमा सत्र थान कथा छन् ।
समसामयिक विषयलाई कथाहरूमा प्रविष्ट गराएका भट्टराईले आख्यानको कलात्मक प्रस्तुतिमा विलक्षणता प्रस्तुत गरेका छन् । कथामा विशिष्ट सौन्दर्यको महक रसास्वादन गर्न सकिन्छ । जादुयी ढङ्गबाट कथालाई कुशल अवतरण गराउन सक्नु र समग्र कथाभरि यसबारे कुनै सङ्केतसम्म नदिनु कथाकारको लेखकीय चातुर्यता हो, जसमा उनी शतप्रतिशत सफल छन् ।
पहिलो कथा ‘डन्डीफोर’ पुँजीवादी सौन्दर्यचेतनासँग गाँसिएर सृजित छ । श्रीमतीलाई भोगको वस्तुको रूपमा मात्र स्विकार्ने सामाजिक विद्रुप मान्यतालाई कथामा प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । आत्मालापको शैलीमा श्रीमतीको भौतिक शरीरको सुन्दरताको पारखी लोग्नेको कुत्सित मनोविज्ञानलाई प्रस्तुत गरिएको छ । श्रीमतीको गालाको डन्डीफोरलाई बिम्ब बनाएर लेखिएको यस कथाले लोग्ने–स्वास्नीबिच हुनुपर्ने दाम्पत्य सम्बन्ध आजकल केवल वासनात्मक रूपमा मात्र रहेको र महिलाहरू त्यसका सिकार भइरहेको सन्दर्भर् प्रस्तुत गरिएको छ ।
दोस्रो कथा ‘पराजित गमन’ मा कोभिडकालको विषय आएको छ, गरिबीमाथि समाज र राज्यले गरेको उपहासको बीभत्स चित्रण छ । उत्तरआधुनिक समयका मान्छेमा ह्रासोन्मुख गतिमा रहेको मानवीयताको सचेत वर्णन छ । सबाल्टर्न वर्गले बाँच्नका लागि प्रभुत्वशाली वर्गसँग गरेको सङ्घर्षको कथा प्रस्तुत गर्दै राज्य नागरिकहरूप्रति कतिसम्म अनुत्तरदायी रहेको छ भन्ने विषय पनि उठाइएको छ ।
‘पाप धर्म’ कथाले समाजमा बढ्दै गइरहेको धर्मान्तरणको विषयलाई केन्द्रीय कथ्य बनाएको छ । निश्चित धर्मका विभेदका जङ्गे पिलरहरूले गर्दा समाजले दलित बनाइदिएका वर्गमा धर्मान्तरणको विषय उठिरहेको छ भन्ने सन्दर्भको व्याख्या गरिएको छ । कलात्मक हिसाबले कथानकलाई अगाडि बढाइको यस कथाको अन्त्य पनि सानदार छ ।
कुनै कथाहरूमा जेनजी पुस्ताको मनोविज्ञान, दुःख–सुख र सम्बन्धलाई उजागर गरिएको छ । पछिल्ला समयमा सम्बन्धहरू कति छिटो बन्छन् र त्यसको जग कति कमजोर धरातलमा निर्माण भएको हुन्छ भन्ने विषय आएको छ । ‘वर्तमानमा प्रेमको परीक्षण स्थल प्रेमिकाको शरीर नै हो’ भन्दै कथामा मान्छेहरू प्रेमलाई फगत शरीर प्राप्तिको माध्यम मात्र बनाइरहेका छन् भन्ने सन्दर्भ उल्लेख गरिएको छ । कुनै कथाले वैवाहिक सम्बन्ध र त्यसको सामाजिक प्रभावको विषय प्रस्तुत गर्छ । रतिरागात्मक सम्बन्धको पहेलीमा सबै पुरुषले स्वयंलाई बिर्सिएको विषयका साथमा वर्तमानको वैश्विक युगमा परिवार, नातासम्बन्ध सबै कृत्रिम र फिका हुँदै गएको, मान्छे पैसाका लागि सम्पूर्ण रूपमा नतमस्तक हुँदै गएको विषय कथामा आएको छ ।
कुनै कथामा बढ्दो सहरिया जीवनशैलीको प्रभाव देखाइएको छ । मान्छे स्वयंमा कति पतीत छ र कुत्सित मनसाय पालेर बाँचेको छ भन्ने देखाउन सहरिया उत्तरआधुनिकताको बोक्रेपन प्रस्तुत गरिएको छ । आजको मानव नामधारी छायाचित्र सम्पत्ति र शक्तिको समीपमा लाचार बनेर निरीह जीवन बाँचिरहेका छन् भन्ने तत्त्वबोध कथाले गराइदिएको छ । मानसिक अवसादका बाछिटाहरूले कालान्तरमा निम्त्याउन सक्ने मानसिक क्लेशलाई पनि कथाले प्रस्तुत गरेको छ ।
पात्र चयन र विषयवस्तुको प्रस्तुतिमा कुनै कुनै कथामा सामञ्जस्यता भने भेटिँदैनन् । कतिपय कथा पढ्दा रमाइलै लाग्छ तर पत्याइहाल्न भने अलि सकस पर्छ । कथाकार आफैँ प्रहरी सेवामा भएकाले त्यसको प्रभाव केही कथामा स्पष्ट अनुभूत गर्न सकिन्छ ।
अफ्रिकामा महामारीको रूपमा फैलिएको भाइरसलाई कथामा विषयवस्तु बनाएर प्रस्तुत गरिएको छ । यो महामारी र अज्ञानताको सम्मिश्रण भएको कथा हो । वैश्विक समाजसँग मिल्ने यस्ता कतिपय सन्दर्भहरू पनि कथामा मिसिन आएका देखिन्छन् ।
जातीय विभेद कथा यहाँ उल्लेख्य रूपमा आएका देखिन्छन् । सीमान्तीयताको स्वर तीव्र रूपमा मुखरित भएको छ । धार्मिक आडम्बरले कसरी परिवार विभक्त हुँदै जान्छ भन्ने कुरालाई कथामा रेखीय ढाँचामा प्रस्तुत गरिएको छ । पात्रको चरित्र त्यहीअनुसार विकसित गरिएको छ । समाज र राज्यले दलित भनेर सदियौँदेखि दलन गरिरहेको समुदाय बिस्तारै आफूमाथि भएको विभेदको विषयमा सचेत मात्रै बनिरहेको छैन, प्रतिरोध पनि गर्न थालेको छ । जातीयता एक कमजोर खाटजस्तो मक्किएर भाँच्चिएको छ भन्ने कुरा कथामा अभिव्यक्त भएको देखिन्छ ।
समग्रमा यस सङ्ग्रहका कथाहरू समसामयिक विषयलाई आधारभूमि बनाएर लेखिएको छ । कथाकार कुनै कुनै कथामा अलि बढी नै प्रगतिशील छन् कि भन्ने देखिन खोजेका छन् । पात्रको चरित्रचित्रणमा लेखकले निकै कुतूहलता प्र्रदर्शन गरेका छन् । सरल, सहज र स्वाभाविक शब्दचयन र कथन–ढाँचा भए पनि कथाको टुङ्ग्याउनी नवीन छ ।
भट्टराईका कथाहरू पढ्दै जाँदा पाठकले कथाको टुङ्ग्याउनीमा एक नवीनता, एक मिठास र एक अलग सौन्दर्यको महसुस गर्नेछन् । जुन उनको लेखनीको सफलता हो तर कथाहरू बढी नै संयोगान्त ढाँचामा लेखिएका छन् । कथाकारले कथालाई घुमाउरो किसिमले उपदेशात्मक बनाउन खोजेको आभास हुन्छ, यो यस पुस्तकको सीमा हो ।
