‘सेभेन सामुराई’ का डाँकुहरू !

७१ वर्षअघि (सन् १९५४ अप्रिल २६) मा कुरोसावाको फिल्म ‘सेभेन सामुराई’ को पहिलो प्रदर्शन भएको थियो । बलिउडकै इपिक–हिट ‘सोले’ पनि ‘सेभेन सामुराई’ बाटै प्रेरित थियो ।

वैशाख १३, २०८२

श्रीजु सरल

Bandits of ”Seven Samurai”!

सप्तऋषिबारे त हामीले सुनिरहेकै हो । तर, सप्तयोद्धाबारे नि ? खैर, आजभन्दा ७१ वर्षअघि आजकै दिन अर्थात् सन् १९५४, अप्रिल २६ मा ‘सेभेन सामुराई’ पहिलो पटक प्रदर्शनमा आयो । यो जापानी फिल्मका निर्देशक को हुन् भनिरहनुपर्ने कुरो होइन । तै, फर्मालिटीबस् भनिहालूँ ‘सेभेन सामुराई’ बाहिरिएसँगै फिल्ममेकर अकिरा कुरोसावालाई गुरु मान्ने सिनेमाजगत्मा थुप्रै निस्किए ।

‘सेभेन सामुराई’ को रिमेक दुनियाँका धेरै देशका धेरै भाषामा बने । ती रिमेकमध्येको एउटा चर्चित रिमेक हो, जोन स्टर्जिसको ‘द म्याग्निफिसेन्ट सेभेन’ (१९६०) । त्यसो त बलिउडकै इपिक हिट ‘सोले’ (१९७५) पनि प्रत्यक्ष–परोक्ष सेभेन ‘सामुराई’ बाटै प्रेरित मानिन्छ ।

भनिन्छ, कमर्सियल सिनेमा मात्रै हेरिरहेको मान्छेलाई यदि आर्ट सिनेमाको दर्शक बन्ने रहर भए ‘सेभेन सामुराई’ बाट सुरु गर्नु उत्तम हुन्छ । तपाईंले अलेक्स पिनाको सिरिज ‘मनी हाइस्ट’ हेरिसक्नुभएको छ र ‘सेभेन सामुराई’ हेर्नुभएको छैन भने पक्कै केही छुटाइरहनुभएको छ । म भन्दिनँ कि ‘सेभेन सामुराई’ नबन्थ्यो त ‘मनी हाइस्ट’ पनि बन्दैनथ्यो । तर, यसरी पक्कै भन्न सकिन्छ ‘मनी हाइस्ट’ जुन बाटो हिँड्यो, त्यो बाटो खन्ने काम दशकौंअघि ‘सेभेन सामुराई’ ले गर्‍यो । हिजो ‘सेभेन सामुराई’ बनेकैले आज, ‘द म्याग्निफिसेन्ट सेभेन’ छ, ‘सोले’ छ, ‘अ बग्स अफ लाइफ’ छ, ‘लर्ड अब द रिङ’ छ, ‘मनी हाइस्ट’ छ ।

तर, फेरि पनि झन्डै साढे तीन घण्टा लामो यो फिल्ममा त्यस्तो के छ जसले यसलाई यति खास बनायो ? ७ दशक पार गरिसक्दा पनि यो पुरानो हुन किन मानिरहेको छैन ? आउनुस्, हामी विषय प्रवेश गरौं । 

एकीकरण अभियान

यो १६ औं शताब्दीको कथा हो । सामुराई अर्थात् योद्धा, जसलाई त्यसताका जापानमा किसानहरूभन्दा विशिष्ट मानिन्थ्यो । अनि अर्काथरी हुन्थे– डाकुँ, जो ऐस औ आरामबाहेक केही गर्थे भने किसानहरूको अन्नबाली लुटपाट गर्थे । चामल उनीहरूले लुटिसकेका छन् । अब जौ लुट्ने उनीहरूको योजना छ । कसैगरी, डाकुहरूको योजना किसानहरूलाई थाहा लाग्छ । गाउँभर त्राहिमाम् फैलिन्छ । रुवाबासी सुरु हुन्छ ।

(‘लगान’ को याद त आएन ?) खैर, ‘लगान’ (२००१) को भुवनजस्तै एउटा पात्र त्यो जापानी गाउँमा पनि हुन्छ । जो विद्रोहको चेत बोक्छ, रुन र भाग्न चाहँदैन । तर, डाकुसँग लड्ने पो कसरी ? घोडा चढेर आउने राइफलधारी डाकुहरूसँग लड्न सामुराई खोज्ने जुक्ति निकाल्छ त्यो जापानी भुवनले । त्यसपछि, सुरु हुन्छ मिसनको कथा । पहिला एउटा त्यसपछि दोस्रो, तेस्रो गर्दै सातजना योद्धा एउटै लक्ष्यका लागि जोडिन्छन्, रणनीति बनाउँछन् र त्यसलाई क्रमशः कार्यान्वयन गरेर पनि देखाउँछन् ।

कुरोसावाको यो फिल्मले सिनेमा 

जगत्लाई पहिलो पटक मिसनका कथा भन्न सिकायो । माथि भनिसकियो– पछिल्लो समयको हिट सिरिज ‘मनी हाइस्ट’ पनि एउटा मिसन कथा नै हो । यद्यपि धेरै पृथकताबीच एउटा मुख्य र रोचक भिन्नता के छ भने, ‘सेभेन सामुराई’ ले ‘डाकुहरूलाई कसरी रोक्ने ?’ भन्ने कथा सुनाइरहँदा ‘मनी हाइस्ट’ ले भने ‘कसरी पर्फेक्ट डकैती गर्ने ?’ भन्ने कथा भन्छ ।

जे होस्, धेरैजना मान्छे मिलेर एउटै लक्ष्य प्राप्तिका लागि गरेको यात्रा पनि एउटा सुनाउन लायक कथा हुनसक्छ है भन्ने पहिलो उदाहरण हो कुरोसावाको यो फिल्म । जसलाई आज पनि नयाँ–पुराना फिल्ममेकरले बडो उत्साहका साथ पछ्याइरहेकै छन् । 

विकेन्द्रीकृत पात्रलेखन

हामी अहिले पनि देख्छौं, अक्सर फिल्ममा मुख्य पात्र एउटा हुन्छ । सबै ध्यान त्यही एउटा पात्रमाथि सोहोरिने गरी पात्र लेखिएको हुन्छ । फेरि पनि ‘मनी हाइस्ट’ लाई नै लिऊँ । त्यसो त ‘मनी हाइस्ट’ का हरेक पात्र उत्तिकै रोचक छन् । कसैको प्रिय पात्र प्रोफेसर हुँदा, कसैको बर्लिन, टोकियो वा नाइरोबी हुनसक्ला । किनभने, ‘सेभेन सामुराई’ मा जस्तै ‘मनी हाइस्ट’ का पनि हरेक पात्रसँग दर्शक परिचित छन्, पात्रको पृष्ठभूमिबारे ज्ञान छ । जसकारण उसको जीवनमा अगाडि जे हुन्छ, त्यो उतारचढावसँग दर्शक भावनात्मक रूपमा सजिलै जोडिन्छन् । आखिर भन्छन् नि, नचिनेसम्म पो को हो, को हो चिनेपछि त उही– माया मोह !

यति हुँदाहुँदै पनि ‘मनी हाइस्ट’ को पात्रलेखन, ‘सेभेन सामुराई’ को जसरी पूर्णतया विकेन्द्रीकृत बन्न सकेको छैन । हरेक पात्रसँग दर्शक परिचित त हुन्छन् तर, हरेक पात्रभन्दा प्रोफेसर खास हो है भन्ने लाग्न छोड्दैन । तर, फिल्मलाई यदि एउटा तपस्वी मानेर हेर्न सकिन्छ भने, विकेन्द्रीकरणमा ‘सेभेन सामुराई’ ले त्यसरी तप गरेको छ कि मानौं उसलाई त्यसमा सिद्धी प्राप्त भएको होस् । ‘सेभेन सामुराई’ मा कुनै ‘प्रोफेसर’ छैन । चरित्र चित्रणमा होला, तर पात्र लेखनमा छैन । अथवा यसलाई सरल भाषामा यसरी भनौं, भूमिकामा होला तर, भाष्यमा छैन । कुरोसावाले फिल्ममा यस्तो भाष्य स्थापना हुन दिएका छैनन् कि ‘सेभेन सामुराई’ को हिरो त फलानो हो वा केन्द्रीय पात्र त यो हो । तर, प्रश्न यो हो– कसरी ?

हामी देख्छौं जब कुनै समस्या आउँछ ‘मनी हाइस्ट’ मा प्रोफेसरलाई डाक्नैपर्छ । निर्णायक बिन्दुमा प्रोफेसरलाई राखिएको छ । तर, ‘सेभेन सामुराई’ मा समस्याको समाधान हरेक पात्रले स्वविवेकले गरेका छन् । जस्तो, कातुसिरो र सिनोलाई एकसाथ देख्दा केइजोले कुनै निर्णायक भूमिका खेल्ने प्रयास गर्दैन । न त कसैलाई रिपोर्ट नै गर्छ । घरमा बच्चाहरूबीच झगडा हुँदा ‘पख् तँलाई ममीलाई भन्दिन्छु’ भनेजस्तो ‘सेभेन सामुराई’ मा रिपोर्ट गर्नुपर्ने कुनै घरमुली वा सिनेमाको भाषामा मुख्य पात्र छैन । जसकारण, यो फिल्मको पात्रलेखन पूर्णरूपमा विकेन्द्रीकृत बनेको छ ।

नवनायकत्व 

७१ वर्ष पुरानो यो फिल्ममा नवनायकत्व देख्न पाइन्छ– ‘नियो इरोइजम्’ । हामी फिल्महरूमा होइन, परम्परागत नायकत्वबारे हाम्रो समाजमै खोजौं । हाम्रा जिब्रा र आँखाहरूमै खोजौं । भेटिन्छन्, किनभने त्यसलाई हामीले हाम्रो मानसिकतामै टाँसेर, बोकेर हिँडिरहेका छौं । पुरुष भए र अग्लो कद, खाइलाग्दो ज्यानको भए हामी प्रशंसा गर्दै भनिदिन्छौं– कस्तो 

ह्यान्सम, फिल्मको हिरोजस्तै । महिला भए, घाँटी मुनितिरको हाड प्रस्ट देखिए र बस्दा पुटुस्स पेट नदेखिए तारिफ गरिहाल्छौं– कस्ती राम्री, हिरोइनजस्ती । सल्लाह दिन पनि पछि पर्दैनौं– अहो, फिल्म खेल्न जानू न । 

परम्परागत नायकत्वले नायक, नायिका यस्तै हुनुपर्छ भन्यो र त्यो सिनेमामार्फत हाम्रो मानसिकतामा टाँसिन आइपुग्यो, जसलाई हामीले क्रमशः छुटाउँदै लगिरहेका छौं । खैर, कुरोसावाले सन् १९५४ मा ‘सेभेन सामुराई’ मा नवनायकत्वको अभ्यास कसरी गरे त ? फिल्मका सातै नायक यस्ता खोजिएका छन्, जो गरिब छन् । कोही तक्लु, कोही भुँडे, कोही बूढा, कोही अल्लारे, कोही जँड्याहा छन् । अरू त अरू कोही त डरछेरुवा पनि छन् ।

परम्परागत चस्माबाट हेर्ने हो भने नायक हुनका लागि कुनै पनि पात्रको योग्यता पुगेको देखिँदैन । तर, यी सातै जनालाई कुरोसावाले ‘सेभेन सामुराई’ मा नायकका रूपमा देखाए । नायक हेर्दामा खाइलाग्दो नदेखिन सक्छ, अग्लो नभएर होचो हुन सक्छ, चिल्लो–गोरो अनुहार नहुन सक्छ, नायकमा गुणैगुण नभई एकादुई दोष हुन सक्छन् । र, यस्तो नायक नवनायक हो । यी गुण नै नायकमा हुने नवनायकत्व हुन् । हुलियाभन्दा पनि चरित्रले कोही नायक वा खलनायक हुन्छ भन्ने पाठका लागि ‘सेभेन सामुराई’ एउटा मास्टरक्लास हो । 

पात्रका पत्रपत्र

फिल्मका हरेक पात्रसँग दर्शक परिचित छन् । ती पात्रलाई दर्शकसँग परिचय गराउने कुरोसावाको आफ्नै शैली छ । यो पात्रको नाम यो हो, यसको पृष्ठभूमि यो हो, यसको...अहँ यसरी वाचाल भएर पटक्कै होइन, भनेर हुँदै होइन । नबोलेरै, नभनेरै कुरोसावा पात्र–परिचय दिन्छन् । मानौं, पात्र खेत हो, तिनको परिचय पानी हो र कुरोसावा किसान हुन् भने खेतमा पानी ल्याउन उनले कुलो खनेका छैनन् । बरु, खोलाले आफैं बाटो मोडिदिएको छ खेततिर । अथवा बादल पग्लिदिएको छ त्यति नै बेला । यसमानेमा कुरोसावाले पात्रको चरित्र चित्रणमा भन्न सकिन्छ– जे गरेका छन् जादु गरेका छन् । पात्रहरूको पृष्ठभूमि बल गरेर बनिएको छैन, बरु सन्दर्भवश स्वतःस्फूर्त आएको छ । र, पात्रहरूको चरित्र पनि हरेकको अलग र स्पष्ट हुँदा दर्शकको नजरमा ती टड्कारो भएर बसिदिन्छन् ।

सातै जना नायकको त छँदै छ, तीबाहेक अन्यको कथा पनि फिल्मले नभनेरै भनिदिएको छ । जस्तो, एकादेशमा एउटा बूढो थियो, युवती छोरीमाथि कसैको आँखा गढ्ला भनेर उसले हरसम्भव प्रयास गर्यो छोरीलाई लुकाउने । छोरीको केशसमेत काटिदियो, छोराको हुलिया दियो । तर, आखिरमा जे डर थियो त्यही भएरै छाड्यो । अर्को कथा यस्तो हुन सक्ला– एकादेशमा एउटा गाउँमा डाँकुहरूले हमला गरिरहेका थिए ।

त्यहीबेला बाढी आइरहेको थियो, आगलागी भइरहेको थियो । तर, त्यस्तोमा पनि एउटी आमाले आफू मरिसकेर पनि बच्चा छातीमै टाँसेर बँचिरहेकी थिई । गोली लागेकी त्यस आमाले बच्चालाई गाउँको जिम्मा लगाएपछि मात्रै प्राण त्यागी । यस्ता कथा ‘सेभेन सामुराई’ मा यसरी आएका छन् कि मानौं केही आइरहेकै छैन, खाली कोठातिर हेरेर कसले भन्ला कि त्यहाँ हावा छ ?

कथावाचन

‘सेभेन सामुराई’ बाट सिक्न सकिने अर्को पाठ हो– क्यामराको भाषा । क्यामराले फिल्मभरि पात्र र घटनालाई यसरी पछ्याइरहेको छ, मानौं कोही तेस्रो मान्छेले हामीलाई वर्णन गरिदिँदै छैन बरु हामी स्वयं ती पात्रलाई पछ्याइरहेका छौं । उसको पछिपछि कुदिरहेका छौं, दौडिरहेका छौं । 

किकुचियोको जंगलमा दौडिरहेको त्यो लङ शट दृश्य होस् या युद्धको समय पानीमा रुझ्दै–लड्दै गरेका सामुराई, डाँकु र घोडाहरूको ट्र्याकिङ शट ! दर्शकलाई लाग्छ, यो त मेरै आँखाले देखेको हो, यो कसैले सुनाइरहेको कथा होइन, भएकै घटना हो । 

त्यसो त, कुरोसावाले यही फिल्मभित्र कथावाचनको अर्को शैली पनि अपनाएका छन् । जब–जब उनी चाहन्छन्, निश्चित घटनाले दर्शकमा निश्चित भावना पैदा गरोस् तब–तब उनले पात्रहरूको माध्यमबाट कथा बाँचेका छन् । जस्तो कि, सिमाधाको डायलगपछि कातुसिरोको अनुहारमा देखिएको भावभंगिमाले हामीलाई कतिबेला कस्तो महसुस गर्ने भनेर मानौं सिकाइरहेको हुन्छ र त्यहीअनुसार कहिले छटपटिन्छौं, कहिले हौसिन्छौं । समग्रमा कहिले क्यामरा त कहिले पात्रले हामीलाई ‘सेभेन सामुराई’ को कथा सुनाउँछ ।

जोसँग लड्न यत्रो तयारी गर्‍यो, योद्धा भेला पार्‍यो, रणनीति बनायो तिनै खलनायकबारे भने केही थाहा दिइएकै छैन । उनीहरू कत्तिको बलिया वा चलाख छन् ? केही थाहै छैन । एकोहोरो एकैपक्षको कथा मात्रै भनिएको छ । के यो कमजोरी होइन त ? पक्कै हो । जोकसैले यही सूत्र लगाएर कथा भन्ने प्रयास नगरेकै जाती । तर, कुरोसावाले ‘सेभेन सामुराई’ मा यो कमजोरीलाई एउटा विशेषताका रूपमा उभ्याइदिएका छन् । कसरी ? त्यो जान्न तपाईंले मास्टरक्लास लिनैपर्छ अर्थात् ‘सेभेन सामुराई’ हेर्नैपर्छ ।

श्रीजु

Link copied successfully