जमानसिंहको बँदेल

एक कान, दुई कान गर्दै गाउँभरि फैलियो– जमानसिंहको बँदेल हराएको सूचना । बाटोछेउको रुख, चौतारो, दोबाटो, चौबाटो सबैतिर बाक्लो कागजमा लेखेर टाँसियो– बँदेल देख्नेलाई दुई हजार पुरस्कार ! सम्पर्कः– जमानसिंह लिम्बू ।

वैशाख ६, २०८२

सुन्दर कुरुप

Zamansingh's Boar

गाउँभरिका बाँसझ्याङहरूमा निद्रामै झुलिरहेका हुन्छन् रुपीका बथानहरू । खोला किनार, होलाहोलीमा राति अबेरसम्म कराइरहने जोडी हुटिट्याउँहरूको अझै निद्रा पुिगसकेको हुँदैन । छिटफुट कतै–कतै बासिरहेका कुखुराका भालेहरूको आवाजबाहेक निष्पट्ट सुनसान उभिइरहेछ वातावरण । बर्खामास सकिएपछिका रातहरू यसरी नै बाँच्ने गर्छ सिरानगाउँ ।बाह्र बजेतिर झमक्क एकछिन निदायो जमानसिंह । त्यसपछि पटक्कै निदाउन सकेन । सिरानीछेउ निभाएर राखेको सुर्तीको टुक्रा सल्कायो र छेउमा निदाइरहेकी बुढीलाई उठायो । गन्गनिँदै उठी बुढी ।

‘के भयो यति रातितिर ?’

‘लु दुई बटुका जाँड छान् छान् ।’ 

झ्यालतिर हेर्दै बोल्यो जमानसिंह ।

‘हैन केको जाँड खाने हाउ यतिखेर ।’

‘हल्ला नगरी छान् दुई बटुको...अब बँदेल खोज्न जान्छु’, निधार सुम्सुम्याउँदै बोल्यो जमानसिंह । हिजो मात्रै गोसघरे जेठाले तीस हजार रुपैयाँ आँखै अगाडि फालिदिँदा पनि नबेचेको बँदेल बेलुकी खोर नै भत्काएर भागेपछि होसहवास थिएन उसको । कतै भोकाएर चारो खान फर्किएर आयो कि भनेर एकपल्ट खोरतिर टर्चलाइट लगायो । आँखामा उज्यालो परेपछि अरू सुँगुरहरू घाँघाँघुँघुँ गर्दै उठे, तर बँदेलको खोर रित्तो थियो । फेरि एकपटक मन कटक्क खायो उसको । मनमनै आफैंलाई धिक्कार्‍यो, ‘लोभले लाभ, लाभले विलाप भनेको यै त होला नि । हिजै बेचेको भए नि हुने ।’

बुढीले छानिदिएको दुई बटुका जाँड स्वाट्टै बनायो र केही नबोली सिधै लाग्यो चाँजो खोलातिर । 

‘हात्तीले झटारो हान्ला नि होसियार...रातितिर के हिँडेको,’ फतफताउँदै बुढी फेरि ओछ्यान लागी ।

चाँजो खोलाको डिलमा उभिएर बगरको काँसघारीतिर टर्चलाइट लगायो । मन्दमन्द बतासमा नाचिरहेका नाङ्गा काँसहरू बाहेक केही देखेन । धने कुमाल, हेक्लम कान्छा, राई बहादुर सबैको सुँगुरखोर, बाँसघारी, छेउछाउको होलाहोली चहार्‍यो, तर उज्यालो हुने बेलासम्म पनि केही पत्ता लागेन । 

‘झिसमिसेमै कहाँबाट हौ जमानसिंह ?’

चाँजो खोलातिर फर्किएर पिसाब फेरिहेको जमानसिंह झसङ्ग भयो । हत्तपत्त पिसाब तुर्क्याएर पछाडि फर्किएर हेर्‍यो । गोसघरे जेठा ठिङ्ग उभिइरहेको थियो । ‘हैट, म त तर्सिए नि हौ । कहाँ हुनु नि हिजोदेखि बँदेल हराएर हैरान छु काका । यसो खोला बगर, होलाहोली कतै लुकेको छ कि भनेर खोजी हिँडेको ।’ 

छेउमा नेम्वाङ काइँलाले तानिरहेको बुच्चा सुँगुर देखाउँदै बोल्यो गोसघरे जेठा, ‘‘उऽऽ हेर कतै नपाएर हिजो मात्रै महङ्गै दाममा भए पनि किनेको । आज शुक्रबारे हाट नकाटी नहुने । मासु नकाटे त गाउँको बजार पनि के बजार, बाँकी पनि उठाउनै पर्‍यो । तिम्रो बँदेल काट्नु पाएको भए आज बजारको रौनक नै अर्कै हुन्थ्यो । के गर्नु मैले भनेको दाममा दिएनौ । अब जे हुनु भयो भयो, भरै आन्द्राभुँडी खानुचाहिँ आऊ है !’ 

केही बोल्ने आँट गरेन जमानसिहंले । नेम्वाङ काइँला देख्यो कि बोली नै हराउँछ उसको । एक समय खुब मिल्ने साथीहरू । तर, अहिले जार–जार हुन् उनीहरू । 

एकपल्ट नेम्वाङ काइँला गाउँले साथीभाइको लहैलहैमा लागेर हिँड्यो आसाम–मेघालयतिर । उतै बरालियो केही वर्ष । त्यसबेला यता जमानसिंहको निकै हिमचिम बढ्यो काइँलीसँग । एक रात गाउँलेहरूले उनीहरूलाई रङ्गेहात भेट्टाएपछि दुवै जनालाई कोर्रा लगाएर गाउँबाट निकाले ।

दस वर्षपछि गाउँका बुढापाकाहरूको रोहबरमा आधाउधी जारी बुझाएर गाउँमै फर्कियो जमानसिंह । अझै पनि जम्काभेट भयो कि काटौँलाझैँ गरेर हेर्छ नेम्वाङ काइँलाले उसलाई ।

नेम्वाङ काइँला सानैदेखि अलिक फौदारी खालको । कम्मरमा जहिल्यै खुकुरी । मात्यो कि फनफनी खुकुरी नचाउन थालिहाल्ने । जमानसिंहलाई रात–साँझ कतै हिँड्दा हात्ती र भूतप्रेतभन्दा पनि जारकै डरले सताउँथ्यो, बाटो छेकेर छप्काइ पो हाल्छ कि भनेर !

बुढीले पनि बेलाबेला तर्साउँथी, ‘मातेको छ भनेचाहिँ जोगिएर हिँड्नु है त्योसँग ।’ जिस्किँदै जवाफ दिन्थ्यो जमानसिंह, ‘तेरो पनि बुढा हो एक समयको । जम्मै कुरा थाहा होला नि तँलाई । अझै आउँछ भने डब्बल जारी तिरेर लान्छु भन्छ रे त ।’ 

‘उहिल्यै सकिसकेको कुरा के–के बहाना बनाउँदै नसुनाऊ है मलाई । आ...फेरि आँट गर्‍यो भने त जान्छु पो !,’ बुढीको यस्तो कुरा सुनेपछि आँखा तरेर हेर्थ्यो । एक कान, दुई कान मैदान गर्दै गाउँभरि फैलियो जमानसिंहको बँदेल हराएको सूचना । गाउँभरिको स्कुलमा सोध्न गयो, तर कसैले पनि देखेको कुरा गरेनन् । बाटोछेउको रूख, चौतारो, दोबाटो, चौबाटो सबैतिर बाक्लो कागजमा लेखेर टाँस्यो, ‘बँदेल देख्नेलाई दुई हजार पुरस्कार । सम्पर्क : – जमानसिंह लिम्बू ।’

दुई हप्तासम्म पनि कहीँ कसैबाट बँदेल भेटिएको समाचार आएन । सानो–सानो कुरामा पनि कचकच गरिरहने जमानसिंहले बँदेल हराएपछि त झन्् बुढीलाई बसी–खानु दिएको थिएन, ‘मैले त बेचौँ भनेको नि त । अलच्छिनी आइमाईले गरेर । कुन दिनमा दशा लागेर जारी गरेछु । तँलाई ल्याएदेखि कहिले सुख पाइनँ । जान्छेस् भने गइहाल त्यैसँग । तँ जतिको आइमाई त काठको खोपेर पनि बनाउँछु ।’

बुढाको बात सहन नसकेर रिसले रातो हुँदै बुढी पनि जवाफ फर्काउँथी, ‘के मालसामान जस्तो सम्झेको मलाई ? मन लाग्दा लिने, मन नलाग्दा फिर्ता दिने ! नाथे एउटा बँदेल हराउँदा पनि सर्वस्वै हराए जस्तो गर्ने नामर्द । तेरोभन्दा ठूलो आँट छ मेरो, बुझिस् ? त्यस्तो बँदेल त हजार ओटा पालिदिन्छु । साँच्चै नै हो भने मेरो केही दोष थिएन त्यो बेला । तैंले नै जबरजस्ती गर्न खोज्दा बदनाम गराइस् हैन मलाई ? अहिले दुनियाँले मलाई मात्र नराम्रो देख्ने । तिमेरु छोरा मान्छेहरूको मात्र ऐनचैन हैन यो संसारमा !’ अनि बुढाको कचकचले साह्रै मन दुख्दा सुँगुर–चारो खोज्न जाने बहानामा बाँसघारीमा लुकेर घण्टैसम्म रोई पनि रहन्थी ।

चाँजो खोलाको बगर ! आँखाले देखिनसक्ने गरी माथि–माथि चुरे पहाडको दोभानसम्म फैलिएको काँसको जङ्गल ! जमानसिंहलाई लाग्थ्यो, ‘उसको बँदेल यही काँसको घना जङ्गलभित्र लुकेको छ । एकदिन न एकदिन जसरी पनि आफ्नो खोरमा फर्कन्छ ।’ 

त्यसैले प्रत्येक साँझ डुँडमा चारो लगाएर आधा रातसम्म ढुकिरहन्थ्यो ऊ । एक रात मस्त निद्रामा सुतिरहेका बेला अचानक सुँगुर खोरबाट घाँघाँघुँघुँ आवाज आयो । जमानसिंह हत्तपत्त उठ्यो र बिरालोको चालमा सुँगुर खोरनजिक गएर चिहायो । बँदेल बेलुकी डुँडमा राखिदिएको चारो खाँदै थियो । खुसीले उसको छाती ढक्क फुलेर आयो । मनमनै बोल्यो, ‘मेरो सत्येको धन हो कतै हराउने छैन ।’ फेरि बिरालोको चालमा घर फर्किएर बुढीलाई उठायो र बँदेल फर्किआएको कुरा सुनायो । हतार–हतार दुई बटुको जाँड छान्न लगाएर स्वाट्टै बनायो अनि फेरि बिरालोको चालमै लाग्यो सुँगर खोरतिर । तर, बँदेल अघि नै चारो खाएर निस्किइसकेको थियो । सपनाजस्तो लाग्यो उसलाई । हत्तपत्त टर्चलाइट बालेर परसम्म हेर्‍यो । बँदेल पर बाँसघारीछेउ हेक्लम कान्छाको केराको बोट उधिन्दै थियो । मनमनै सम्झ्यो, ‘भोलि पनि पक्कै फेरि चारो खान आउँछ । त्यसबेला मारेर बरु मासु बेच्नुपर्ला । आखिरी दाम नहराउनु त हो ।’ 

गाउँको नामी सिकारी हल्दार कान्छा ! दाहिने आँखा फुला परेर देख्दैन, तर उसको सिस हेराइ साह्रै खतरनाक थियो । अंशमा बाजेबराजुको पालाको भरुवा बन्दुक पाएको थियो । एकपल्ट निसाना ताकेपछि खेर नजाने । तर, साह्रै जुवाडे । जुवा त झरी सक्दा–नसक्दा गनिसक्ने । दिनभर जुवा–तास खेल्यो, न कुनै पारिवारिक जिम्मेवारी न कुनै कर्तव्यबोध ! बेलुकी लर्खरिँदै घर गयो । बावुबाजेले कमाइदिएको जग्गाजमिनले आजसम्म चलिरहेको थियो उसको जिन्दगी ।

बिहान घरधन्दा सकेर जमानसिंह लाग्यो हल्दार कान्छाको घरतिर । कान्छा बाहिर अँगेनामा मासु पकाउने तरखर गरिरहेको थियो । अचानक बिहानै जमानसिंहलाई देखेर झसङ्ग भयो, ‘हैन, बिहानै कताबाट ?’

ओठमा च्यापेको खैनी जिब्रोले फाल्दै बोल्यो जमानसिंह, ‘घर त घरैबाट हो । एउटा सल्लाह पो गरौँ भनेर आ’को ।’

बस्नलाई सिकुवामा पिरा राखिदिँदै बोल्यो कान्छा, ‘कस्तो सल्लाह हौ ?’

लामो सास तानेर बोल्यो जमानसिंह, ‘तिमीलाई थाहा नै होला । महिना दिन भयो मेरो बँदेल हराएको । तर, आजसम्म जिउँदै रहेछ । अघि राति खोरमा सुँगुर कराएको सुनेर उठेर हेरेको त मेरै बँदेल पो आएर चारो खाँदै रहेछ । खोरमै थुनुम् भनेको एक्लै थिएँ, सकिनँ । बुढीलाई बोलाउनु गा’को त चारो खाइसकेर अघि नै भागेछ । अब जे गरेर भए पनि त्यसलाई नमारी भएन । त्यो काम तिमीले मात्र फत्ते गर्छौजस्तो लागेर आ’को । मारेको खण्डमा दुई केजी मासु तिमीलाई भो ।’

मुसुक्क हाँसेर एकछिन अनकनाउँदै बोल्यो कान्छा, ‘हैन, निकै दिन भइसक्यो, अरूले नै मारेर खाइसकेन अब त ?’

‘तेति बलियो बँदेल हत्तपत्त अरूले मारेर खान आँट गर्दैन,’ दाहिने फिला कन्याउँदै बोल्यो जमानसिंह ।

‘दुई केजी हैन, पाँच केजी दिने हो भने मञ्जुर छु । बारुदको दाम पनि त उठाउनुपर्‍यो । हुन्छ भने भरै राति आउँछु,’ कोठेबारीमा पसेका कुखुरा धपाउँदै बोल्यो कान्छा । केहीबेर सोचेर जमानसिंहले सहमति जनायो । 

दुई दिनसम्म ढुकुवा बस्दा पनि बँदेल फेरि चारो खान आएन । हल्दार कान्छा पनि आउन छाड्यो । तर, जमानसिंह हरेक साँझ चारो राखेर राति अबेरसम्म एक्लै भाला लिएर ढुकी बस्थ्यो । 

‘अब त जंगली नै भइसक्यो, खोरमा आउँदैन बरु त्यै परको खोला, काँसघारी, होलाहोलीतिर भेटिन्छ होला,’ बुढीको कुरो पनि मुनासिबै लाग्थ्यो उसलाई, तर त्यत्रो काँसघारीको पट्यार जंगलभित्र कहाँ खोज्ने बँदेल ! 

‘अरूले नै मारेर खाइसके कि !’ यस्तो शंका–उपशंकाले मन कटक्क खान्थ्यो । तर, कसैले मारेर खाएको भए त आजसम्म कहीँ न कहीँबाट कुरा चुहिनुपर्ने हो गाउँघरमा । मनमनै भन्थ्यो, ‘कसैले मारेर खाएको थाहा पाए भने चैं च्वाट्टै पार्छु ।’

गाउँघरमा भित्रभित्रै कसैले मन पराउँदैनथे– जमानसिंहलाई, तर पनि ऊ सबैसँग हाँसेरै बोल्थ्यो । आफ्नै साथीको श्रीमती बिहे गरेपछि त झन् दाजु–भाइहरूसँग पनि सम्बन्ध त्यति राम्रो थिएन । तर, उसलाई केही थिएन । आफ्नै लयमा बाँचिरहेको थियो । कसैले उसलाई ‘नराम्रो’ भन्दा पनि हाँसेर टारिदिने बानी परेको थियो । अंशबन्डा हुँदा पाएको छ कट्ठा जमिनले जसोतसो चलिरहेको थियो जिन्दगी । बेलाबेला आफैंलाई ढाड्स दिँदै भन्ने गर्थ्यो, ‘दुनियाँको नजरबाट गिरे पनि आफ्नो नजरबाट कहिले पनि नगिर्नू । बस, बाँच्नलाई यति भा’ पुग्यो ।’

सानैमा दुई हजार लगाएर किनेको बँदेल । त्यसमाथि गाईको दूध खुवाएर हुर्काएको– ठूलो भएपछि बिहान–बेलुकै मकैको पिठो, कनिका, मानेको पात मिसाएर पकाएको चारो ! बलियो न बलियो बँदेल । गाउँलेहरू भन्ने गर्थे, ‘बँदेल मारिस् भने हामीलाई पनि एक–एक किलो चैं नभुल्नू है !’ तर, जमानसिंह सिङ्गै हाताहाती बेच्न चाहन्थ्यो । उसलाई थाहा थियो कि आफैँ काट्यो भने गाउँमा पैसा हत्तपत्त उठ्दैन ।

बिस्तारै–बिस्तारै गाउँमा बँदेल हराएको चर्चा सेलाउँदै गयो । जमानसिंहलाई पनि बँदेल भेट्टाउने आस मर्दै गयो । तर, कसैले कुरैकुरामा हराएको बँदेलको कथा निकाल्दा उसको मन चसक्क दुख्थ्यो । सपनाझैँ लाग्थ्यो । साथीभाइले भनेको कुरो सम्झन्थ्यो, ‘बँदेल ठूलो हुँदै छ बारबेर राम्रो गर् नि, नत्र खोर भत्काएर भाग्छ है !’ साथीभाइको कुरा नसुनेकामा उसलाई थकथक लाग्थ्यो । बेला–बेला दिनभर भाला बोकेर चाँजो खोलाको काँसको जङ्गल चहारी रहन्थ्यो । दसैं–तिहारको छेक जुवातास सुरु भइसकेको थियो सिरानगाउँमा । श्रीमती पनि माइत गएकीले एक्लै घरमा बसिरहन मन लागेन जमानसिंहलाई । दराजबाट दस हजार रुपैयाँ निकाल्यो र जुवा खेल्ने मुठमा निस्कियो शतलीचोकतिर । खै के सम्झ्यो कुन्नि ! जाँदाजाँदै बाटोमा पेन्टको गोजीबाट पाँच हजार रुपैयाँ छुट्याएर कोटको भित्री गोजीमा लुकायो । 

‘छक्का !!!,’ नेम्वाङ काइँला जोडले चिच्यायो र छातीमा मुड्की बजार्‍यो । बाँकी खेलाडी र च्याँखे थाप्नेहरू भन्दै थिए, ‘आज नसकिने भो काइँलालाई । जमानसिंहको बँदेलले छिनाइदिएको ठुटे औंला साह्रै लच्छिनको रैछ । मारेको मारेकै छ ।’ 

‘जारको बँदेल खाएपछि दिन लागेको छ यसको । तास पनि मारेकै छ, जुवामा पनि मारेकै छ,’ खैनी माड्दै बोल्यो हल्दार कान्छा । त्यो कुरा सुनेर बगुन्द्र मान्छेहरूको बीच खम्बामा अडेसिएर जुवा हेरिरहेको जमानसिंहको मन चसक्क भयो । 

‘मार्नु त मैले मारें, तर मासु चैं मभन्दा बढी तिम्ले घिच्यौ, हैन ?’ भन्दै फेरि जोडले छाती पिटेर जुवा हान्यो नेम्वाङ काइँलाले । त्यसबेला नियालेर हेर्‍यो जमानसिंहले, साँच्चै काइँलाको दाहिने हातको साइँली औँला आधा थिएन । जुरुक्क उठेर जमानसिंह घर लाग्यो । रातभर उसलाई निद्रा लागेन । 

दुई दिनपछि जुठ््यानमा धन्दा गरिरहेकी श्रीमतीको छेउमा गएर भन्यो, ‘हाम्रो बँदेल त मारेर खाएछ नि !’ 

भाँडा माझ्न छाडेर रिसाउँदै बोली श्रीमती, ‘कुन हरामी असत्ति रैछ त्यो ?’ 

जमानसिंह केही बोलेन । 

‘हैन किन नबोलेको ?’ 

श्रीमतीले कराएपछि अन्ततः घोसे मुन्टो लगाउँदै जमानसिंहले बोल्नै पर्‍यो, ‘अरू त को हुनु र ? त्यै मतुवा...नेम्वाङ काइँला रैछ नि ।’ 

श्रीमती फेरि केही नबोली भाँडा माझ्न थाली । 

‘जार भए पनि म त्यसलाई छोड्दिनँ । समाज राख्छु । कि त त्यसले बँदेल जस्ताको तस्तै दिनुपर्छ, कि त तीस हजार रुपैयाँ,’ यत्ति भनेर जमानसिंह जुरुक्क उठेर हिँड्यो ।

सिरानगाउँको सिरानमा छ– नेम्वाङ काइँलाको घर । मुन्तिर गोसे साइँला छिमेकी । दुवै जनाको पेसा एउटै– गाउँको हाटबजारमा मासु काट्नु ! श्रीमतीले छाडेर हिँडेपछि फेरि काइँलाले घरजम गर्ने रहर गरेन । आफन्त–साथी–भाइहरूले सल्लाह दिन्थे, ‘बुढेसकालमा सहारा त चाहिन्छ, बिहे त गर्नुपर्छ है काइँला ।’ 

‘अब त उमेर गयो है,’ काइँला हाँसेरै टारिदिन्थ्यो । 

मातेपछि सधैं गाउने उसको गीत थियो–

ए...! आकाशै मुनि ए...! आकाशै मुनि

यत्तिकै बित्ने भो मेरो एकबारको जुनी

तीनपाने रक्सीको लै–लै मातै नै कडा

उडीमा जाऊँ कतै भन्छ मनैको चरा

गाउँमा समाज बस्यो । बुढापाका र भद्रभलाद्मीहरू सबै भेला भए । तर, नेम्वाङ काइँला आउन मानेन । अन्त्यमा बुढापाकाहरूले सम्झाएर ल्याए । सबैले केरकार गरे, ‘तिमीले बँदेल मारी खा’को साँचो हो त ? जमानसिंहले तिमीलाई आरोप लगा’को छ ।’ घोसे मुन्टो लगाएर केही बोलेन काइँला । जमानसिंहले जुवाखालमा सुनेको सबै कुरा सविस्तार सुनाइसकेपछि काइँलातिर देखाउँदै झन् जोड–जोडले पाखुरा सुर्किंदै कराउन थाल्यो, ‘मेरो बँदेल मारी खाने यै हो । त्यत्तिकै खान मिल्छ अर्काको सम्पत्ति ? मलाई बँदेल जस्ताको तस्तै चाहिन्छ कि त्यो बराबरको पैसा ।’ 

झोक्राएर बसिरहेको काइँला जुरुक्क उठ्यो र कम्मरको खुकुरी खटक–खटक पार्दै बोल्यो, ‘भर्खर रोपेको आलु उधिनेर सखाप पारेपछि कसैले राख्छ बाँकी ? बँदेल मैले नै मारेको हो । तर, तेरो घरमा आएर मारेको हैन । लु भन्, तेरै बँदेल हो भन्ने के छ प्रमाण ? खासमा बँदेेल पनि होइन त्यो । खैरो जगर हुँदैमा पोडी सुँगुर बँदेल हुन्छ ? धेरै रिस नउठा मलाई । च्वाट्टै पार्छु नि । अलिक होस गर् !’

काइँला झोक्किएर बोल्दै गर्दा बँदेलले टोकेर छिनाइदिएको दाहिने हातको आधा साइँली औँला प्रस्ट देखिन्थ्यो ।

‘बुढापाकाअघि तिमेर्को ठुल्ठूलो स्वर ? आफूहरू मात्रै बाझिरहने हो भने किन हामलाई बोला’को ?’ एक जना बुढाले चस्माको धूलो पुछ्दै काइँलालाई पछाडिबाट करायो । काइँला चुप भयो । पाखुरा सुर्केर उठेको जमानसिंह पनि भुतभुताउँदै बस्यो ।

अर्को बुढाले बीचको बाटो निकाल्यो, ‘लु, काइँलाले पनि घरैमा गएर मारेको हैन रैछ । तिमेरु दुवै जना अन्यायमा पनि नपर्ने । बँदेलको आधा पैसा काइँलाले तिर् र दुवै जना मिल् ।’

बसिरहेको ठाउँबाट जुरुक्क उठ्यो जमानसिंह र चोरऔँला काइँलातिर देखाउँदै बोल्यो, ‘यो कुरा मलाई मञ्जुर छैन । मेरो बँदेललाई पोडी सुँगुर भन्ने ? मलाई पूरै पैसा चाहियो कि त बँदेल जस्ताको तेस्तै । हैन भने पुलिसमा नालिस हाल्छु ।’

एक जना बुढा शिरको ढाका टोपी मिलाउँदै बोल्यो, ‘खाएर गु–माटो भइसकेको बँदेल जिउँदो माग्ने कुरा नगर् । तेरो बँदेलको दाम चैँ कति हो, भन् ।’ 

ओठ थरथराउँदै बोल्यो जमानसिंह, ‘तीस हजार ।’ 

काइँलातिर हेर्दै बोल्यो अर्को एक जना बुढा, ‘अब मार्नु त तैंले नै मारेको रैछस् । आधा भए नि तिर्छस् होला नि त ?’

फेरि कम्मरमा भिरेको खुकुरी खटखट पार्दै उठ्यो काइँला र जमानसिंहतिर हेर्दै झोक्किएर बोल्यो, ‘बँदेल न सँदेल, पैसा न सैसा, केही पनि तिर्दिनँ । चौध–पन्ध्र वर्ष भइसक्यो आजसम्म यसले जारीको आधा पैसा तिरेकै छैन । तेसको ब्याज–स्याज सबै बँदेलमै मिल्यो । मैले पनि रीतभात बुझाएर बिहे गरेको हुँ । तँजस्तो अरूको घर बिगार्दै हिँड्ने हैन म, बुझिस् ? तैंले तिर्नु छ कि छैन, यत्रो समाजको अगाडि भन् ?’

सबैले जमानसिंहतिर आँखा लगाए । ऊ घोसे मुन्टो लगाएर केही बोलेन । 

‘उहिले मैले घाँटी छिनाउनुपर्ने मान्छे मेरै अगाडि छाती फुलाएर कराउँछ । कत्रो आँट ? तँलाई एक दिन नछप्काइ छोड्दिनँ । हिसाब र निसाफ सबैलाई बराबर हुनुपर्छ,’ काइँला परसम्मै फतफताउँदै गएको सबैले सुनिरहे । जमानसिंह केही नबोली रातो मुख लगाएर घरतिर लाग्यो ।

घरछेउ पुगेपछि काइँलाले कम्मरबाट खुकुरी फुत्त निकाल्यो र दगुर्दै गएर बाख्रा खोरछेउको एउटा केराको बोट छ्वाम्मै छिनाल्यो ।

सुन्दर

Link copied successfully