भुठानका ‘विष्णु’ हरू

‘भुठान’ ले भुटानी शरणार्थी विष्णुको कथा भन्छ, जो आफ्नै जिन्दगी र अस्तित्वको लडाइँमा छन् । टिजरदेखि ट्रेलरसम्ममा हरिवंश आचार्य पूर्व–चरित्रभन्दा फरक उभिएका छन्– ‘विष्णु’ अवतार अहिले चर्चामा छ ।

वैशाख ६, २०८२

रीना मोक्तान

The 'Vishnu' of Bhutan

दैनिकजसो २/३ जनाको आत्महत्या, त्यो पनि अमेरिकाजस्तो सहरमा ! यो खबर पढेपछि फिल्म निर्देशक विनोद पौडेलको मुटु चुँडिएझैं भयो । सपनाको सहरमा मृत्यु अँगाल्ने निर्णयसम्म आखिर कोही किन पुग्दो हो ? प्रश्नले मनमा आगो सल्कायो । भुटानी शरणार्थीका उस्तैखाले तनावका अनुभव–अनुभूति पढ्दा तीभित्रका दर्दनाक कथाले विनोदलाई खर्लप्पै छोप्यो । अनि उनलाई लाग्यो– भुटानको कथा मैले भन्नैपर्छ ।

भुटानीहरूका तिनै कथा सुनाउने हुटहुटीले विनोदलाई ‘बुलबुल’ को स्क्रिप्ट सकिनेबित्तिकै सन् २०१८ अमेरिका पुर्‍यायो । त्यति बेला १५ दिन बसेर भुटानीमाथि डकुमेन्ट्री पनि बनाए । १२ जना पात्र पछ्याउँदै बनाइएको डकुमेन्ट्रीमा समेटिएको अन्तर्वार्ता र प्रश्नले सूचना मात्रै संकलन भयो, तिनका भित्री भावना आउँदै आएन । त्यसैले ती भुटानी शरणार्थीका भावना व्यक्त गर्न फिल्म नै बनाउनुपर्छ भन्ने लाग्यो । निर्देशकका लागि अभिव्यक्तिको बलियो माध्यम फिल्मै नै हो । त्यसैले डकुमेन्ट्री खिचेर नेपाल फर्किएको केही समयमै अमेरिका फर्के, फिल्मको कथा लेख्न । तीन महिना शरणार्थीसँग बिताए, वृद्धवृद्धाको घर–घर पुगे, तीसँग पिकनिक गए, भुटानी नयाँ पुस्तासँग क्रिकेट खेले, अस्पताल गएर सहयोग गरे, ‘ग्रोसरी स्टोर’ मा काम गरे । भुटानीसँग नजिकिएपछि विनोदले वास्तविक पात्रका भावना सुन्न पाए । तीसँग उनको भावनात्मक सम्बन्ध गाँसियो । 

‘फिल्म बनाउन’ साथी सुशान्त मैनालीसँग अमेरिका पुग्दा विनोदको बगलीमा अमेरिकी ६५ ‘सेन्ट्स’ मात्रै थियो । अनुसन्धानमा लामो समय हिँडेपछि झन् ऋण थपियो । केही रकम जोडजाम गरेर फिल्म त बनाए, तर विनोदकै शब्दमा ‘फेलर भए, एक करोड डुब्यो’ । त्यतिबेलासम्म अमेरिकाका प्राविधिक जनशक्तिसँग कसरी काम गर्ने भन्ने हेक्का थिएन । फिल्म बनाउन निर्माता चाहिँदो रहेछ, कानुनका विषयहरू बुझ्नुपर्ने रहेछ भन्ने उनले बल्ल बुझे । उनी त ‘नेपाली शैली’ मै फिल्म खिच्न खोज्दै थिए, एक हप्तामै सुटिङ रद्द गर्नुपर्‍यो । बजेट कम हुँदा विनोदको टोलीले दैनिक सय डलरमा प्राविधिक खटाएका थिए । समयमा फिल्म सक्न लगातार १२ घण्टा काम गर्न तयार थिए नेपाली टोली । तर, अमेरिकी प्राविधिकले ‘चिसो मौसम’ को कारण देखाउँदै फिल्म छाड्न थाले र ‘ओभरटाइम’ को पैसा मागे । अन्त्यमा सुटिङ नसकिँदै ‘प्याकअप’ गर्नुपर्‍यो । ‘अमेरिकामा आज प्राविधिक आएनन् भने भोलि अर्को प्राविधिक बोलाउँला भन्ने हुँदैन । लामो प्रक्रिया लाग्छ । त्यतिबेला हाम्रो पैसा सकियो, पैसा सकिएपछि फिल्म बन्ने कुरो भएन । प्राविधिक पनि पाएनौं । कलाकारहरू होटल बस्दाको खर्च उठिरहेको थियो । त्यसैले मैले फिल्म प्याकअप गर्ने निर्णय गरें,’ विनोद सम्झिन्छन् ।

फिल्म रोकिएपछि विनोद नेपाल फर्किए । सपना, समयको लगानी र त्यसमाथि ऋणले निराश थिए । नेपाल फर्किएलगत्तै कोभिड महामारीले आमा बितिन् । ‘अमेरिकामा फिल्म बनाउँछु भनेर किन सोचिएछ’ भन्ने विचारले अझ निराश बनाउँथ्यो । तनाव, अभाव र ऋणबाट निकास खोज्दै उनी फेरि अमेरिका उडे । त्यसपछि जोडिएका साथीहरू जोयश पाण्डे, विमल सुवेदीले फिल्म बनाउने हौसला थपिदिए । अनि हिम्मत बढ्यो । र, ‘भुठान’ को पुनः लेखन भयो । लगानीकर्ता पनि जोडिएपछि विनोदमा उत्साह थपियो– फिल्म खतरा बन्नेछ । तर, सोचेजस्तो खतरा कहाँ हुन्छ र ?

The 'Vishnu' of Bhutan

एकाध लगानीकर्ता यस्ता थिए, जसले बलिउडका कलाकारलाई लिएर फिल्म बनाउनुपर्ने सल्लाह दिन्थे । त्यसो गर्दा नेटफ्लिक्ससम्म पुग्ने योजना थियो । नबन्नु भन्दा फरक भाषामै भए नि फिल्म बनाउँछु भन्ने सोचेर काम थाले विनोदले । विमल सुवेदीले नसिरुद्दिन शाहलाई अभिनयको प्रस्ताव राखे, उनको समय मिलेन । त्यसपछि अनुपम खेरकहाँ स्क्रिप्ट पुग्यो । काम गर्ने निधो भइसकेपछि खेरले ‘बलिउड शैलीमा काम गरौं’ भन्ने सर्त राखे । यसबीच मुख्य लगानीकर्ताहरूले फिल्म छाड्ने क्रम सुरु भयो । भनेजस्तो फिल्म नबन्ने भएपछि नेपाली कलाकारसँग काम गर्ने सोचसहित हरिवंश आचार्यलाई विष्णु चरित्रका लागि छनोट गरियो । नयाँ लगानीकर्ता जोडिँदै गए । ‘प्राविधिक रूपले कन्ज्युस्याइँ नगरी व्यावसायिक रूपले काम गर्‍यौं । ३ निर्मातालाई पारिश्रमिक लिएर काम अह्राएँ । उनीहरूले लिड गरेपछि फिल्मको काम अघि बढ्यो । त्यसपछि हाम्रो लाइटम्यानले पनि दिनको ५ सय डलरसम्म पारिश्रमिक लिन्थे,’ विनोदले भने । 

फिल्म छायांकन गरिरहँदा पनि विनोदलाई फेरि ‘असफल’ हुन्छु कि भन्ने डरले सताउँथ्यो । तर, उनमा ‘गम्भीर फिल्म बनाउँछु, भिजुअल क्राफ्ट’ मा काम गर्छु भन्ने अठोट थियो र कतै सम्झौता गर्नु थिएन । वैशाख १२ देखि प्रदर्शनमा आउने यो फिल्ममा हँसाइरहने कलाकार हरिवंश आचार्यको रुवाउने चरित्र देख्न पाइने विनोद सुनाउँछन् । 

हरिवंशको विष्णु अवतार ‘भुठान’ को कथा विष्णु भन्ने एक यस्तो भुटानी शरणार्थीको हो, जो अस्तित्वको लडाइँ लडिरहेका हुन्छन् । विष्णुको भूमिकामा अभिनेता हरिवंशले गरेको अभिनयको चर्चा अहिले चौतर्फी छ । फिल्मको टिजरदेखि ट्रेलरसम्ममा हरिवंश केही फरक देखिएका छन् । खासमा यो फिल्मको अफर स्वस्तिमा खड्कामार्फत हरिवंशकहाँ पुगेको रहेछ । तीन पटक स्क्रिप्ट पढिसकेपछि प्रमुख भूमिकाले हरिवंशलाई लोभ्याइसकेको थियो । ‘मैले यो भूमिका सक्छु होला नि ?’ भन्दै विनोदलाई हरिवंशले सोधेका रहेछन् । लामो समयदेखि कलाकारितामा भए पनि हरिवंशमा ‘कुनै चरित्रलाई एक सटमै सक्छु’ भन्ने कुनै अहम् थिएन । नयाँ चरित्रमा अभिनय गरिरहँदा सधैं उनलाई डर लागिरहन्छ, तर हरिवंशका लागि ‘डर’ एक अनुशासन हो । एक पटक हरिवंशले फिल्मको वर्कसप चलिरहँदा यो अनुशासन नाघ्न खोजे । 

कसैले फोन गरेपछि वर्कशप चलिरहेकै बेला हरिवंश कक्षा छाडेर बाहिर गए । कास्टिङ निर्देशक रिसाइहाले । हरिवंशका अनुसार, अमेरिकाकै अर्को सहरबाट तीन घण्टा यात्रा गरेर कोही व्यक्ति उनलाई भेट्न ओहायोसम्म आइपुगेको थियो । त्यसरी भेट्न आइपुगेका व्यक्तिलाई नभेटी कसरी बस्नु ? हरिवंश ‘एकैछिन है’ भन्दै बाहिरिए । फर्किंदा वर्कशपमा सबैको मुख अँध्यारो देख्दा उनको चित्त दुख्यो । ‘सबैको मुख अँध्यारो देख्दा फिल्म नै छाडेर जाउँ कि भन्ने भयो एक पटक,’ त्यो क्षण सम्झँदै हरिवंश सुनाउँछन्, ’मनमनै रिसाएको थिएँ, तर बाहिर देखाइनँ ।’ 

त्यही समयको भावना छुँदै निर्देशक पौडेलले हरिवंशमा विष्णु चरित्र जन्माइदिए । कुराकानी सुरु गरिरहँदा हरिवंशको आँखामा आँसु छचल्कियो । वर्कशपमा ‘भुठान’ निर्माण गर्ने सपना सुनाउँदै हरिवंशलाई झनै विनोदले गम्भीर बनाउँदै लगे । दुईले एकअर्कालाई अंकमाल गरे, भरिएका गह पुछे । ‘मैले आजसम्म वर्कसप गरेको रहेनछु, आज बल्ल थाहा पाएँ । अबदेखि म हरिवंश होइन, विष्णु हो,’ हरिवंशले आफैंलाई भनेका कुरा विनोदले उद्धृत गरे । हरिवंश गम्भीर भएर होटलको लबीबाट एउटा कुनामा गएर बसे । सबै तनावमा थिए, निर्माताहरूले ‘नमस्ते’ गर्दा फिर्ता गरेनन् । त्यति बेला विनोदले हरिवंशमा आएको परिवर्तन हेर्दै भनेका थिए, ‘दाइको अर्को जन्म भयो’ । उक्त घटनापछि हरिवंशले ‘जोक्स’ गर्न छाडे । त्यतिबेला चरित्रमा भिजाउन विनोदले अर्कै कुरा पनि बताएका थिए, ‘अब तपाईं जिन्दगीभर नेपाल जान पाउनु हुन्न !’ निर्देशकले भनेको त्यही वाक्यलाई हरिवंशले मनैमनमा गुने । विष्णु चरित्र बिस्तारै उनीभित्र बास बस्यो ।

‘अमेरिका त धेरै पटक पुगिसकेको हो । काम सक्नेबित्तिकै नेपाल आउन मन लाग्छ तर, विष्णु चरित्रले त कहिल्यै आफ्नो देश फर्किंन पाउँदैन । मैले आफू कहिल्यै नेपाल फर्किन नपाएको कुरा कल्पना गरें,’ चरित्र निर्माणको समय सम्झिन्छन् हरिवंश, ‘त्यसपछि मैले गाउँको घर सम्झें, परिवार सम्झें । अब कहिल्यै उनीहरूलाई भेट्न पाउँदिनँ भन्ने सोचिसकेपछि म विष्णुमा परिवर्तन भएँ ।’ 

निर्देशक पौडेलले यसअघि अभिनेत्री स्वस्तिमा खड्कालाई ‘बुलबुल’ मार्फत जसरी नयाँ चरित्र दिए, त्यसैगरी हरिवंशलाई विष्णु–अवतारमा उभ्याइदिए । ‘खासमा उहाँले अभिनय गर्नुहुँदा आफू जे हो, त्यो पहिचानलाई बिर्सिदिनुहुन्छ । हरेक कुरामा उहाँ सहज भइदिनुहुन्थ्यो, म माध्यम मात्रै बनेको हुँ । उहाँका पुराना चरित्रहरूको छाप उहाँले नै हटाउनुभएको हो,’ विनोदले भने । भुटानी शरणार्थीसँग लामो समय बिताउँदा विनोदले ‘विष्णुहरू’ भेटेका थिए । त्यहाँ यस्तो भुटानी पनि भेटे, जो सधैं भुटानबाट ल्याएको माटोको टीका लगाउँथे । भुटानबाट भाग्दा बारीको माटो झोलामा राखेर ल्याएका उनको गोजीमा सधैं त्यही माटो हुन्थ्यो । सुत्नेबेला पनि सिरानीमुनि त्यही माटो राख्थे । किन ? मर्दा पनि देशकै माटोमा मर्न चाहन्थे तिनी । संयोगले ती पात्रसँग ठोक्किएपछि विनोदलाई देश हराउनु, अस्तित्व हराउनुको खास अर्थले छोयो । 

यो कथासँग विनोद नजिक छन् । किनभने बुवा बितेपछि सानै उमेरमा विनोद पनि देश छाडेर कमाउन विदेशिनुपर्‍यो । त्यसैले पनि ‘यो कथा भन्नैपर्ने’ जिम्मेवारी महसुस गरेपछि उनी फिल्म बनाउन अग्रसर भए । भुटानी शरणार्थीका नयाँ पुस्तालाई अस्तित्वमाथिको यो लडाइँ बुझाउन पनि ‘भुठान’ बनाएँ भन्छन् पौडेल । ‘जुन गहिराइबाट भुटानीका कथा आउनुपर्ने थियो र जुन दस्तावेजका रूपमा बस्नुपर्ने थियो, यसअघि यही विषयमाथि बनेका फिल्महरूले त्यो गरेका थिएनन्,’ विनोदले भने, ‘माटो बोक्ने ती हजुरबुबालाई आफ्नो कुरा नातिले बुझिदियोस्, आफूले भोगेका कुरा उसले भनिदियोस् भन्ने लाग्दो हो । त्यसैले म त्यो कुरा भनिदिने माध्यम बन्न सक्छु कि भन्ने लाग्यो । त्यसैले यो कथालाई दस्तावेज गर्न, अभिव्यक्त गर्नुपर्छ भन्ने भयो ।’ 

खासमा अहिले नेपाली फिल्म नै अस्तित्वको खोजीमा छ । ‘एकै किसिमका फिल्म बनिरहँदा नेपाली फिल्मको पहिचान के ?’ भन्ने प्रश्न उठिरहन्छ । नेपाली फिल्मको अस्तित्व जोगाउन ‘भुठान’ ले एउटा इँटा थप्ने पौडेलको दाबी छ । ‘कसै न कसैले त नयाँ स्वाद पस्कने सुरुवात गर्नुपर्छ, कसैले त जोखिम लिनैपर्छ । चलिरहेकै फिल्म जस्तो बनाउँदा नेपाली फिल्मकै अस्तित्व हराउँछ,’ विनोद भन्छन् । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully