लोसाका लागि लेखन बेखुसीसँग जुध्ने औजार थियो । उनी भनिरहन्थे– म खुसी नभएकाले लेख्छु र जीवनको पहिलो प्राथमिकता लेख्नु हो, बाँच्नु होइन ।
गत महिना राजावादी आन्दोलनका कमान्डर बनाइएका दुर्गा प्रसाईंले आफूलाई गोन्जालोसँग तुलना गर्नु त विल्कुलै हास्यास्पद प्रसंग थियो । तर, त्यसबाट नब्बेको दशकका चर्चित गुरिल्ला नेता गोन्जालोबारे थोरै चासो भने बढ्यो । नेपाली कम्युनिस्ट वृत्तमा कुनै समय सशस्त्र युद्वमा समर्पण र निष्ठाको उदाहरण दिँदा गर्वसाथ नाम लिइने पात्र थिए– गोन्जालो, दक्षिण अमेरिकी देश पेरुको ‘साइनिङ पाथ’ सँग जोडिएका नेता । ‘साइनिङ पाथ’ को सिको गर्दै नेपालको माओवादी पार्टी पनि त्यही शैलीमा एक दशकपछि युद्वमा होमियो ।
तत्कालीन द्वन्द्वको समयमा बाक्लै उठ्थ्यो ल्याटिन अमेरिकी देश पेरुको यो प्रसंग । ब्राजिलसँगै अमेजन जंगलको हिस्सेदार रहेको छ यो देश । ब्राजिलका लेखक पाउलो कोहेलो हाम्रा युवामाझ पनि लोकप्रिय लेखक हुन् । तर, उस्तो चर्चा छैन छिमेकी देश पेरुको, न त हाम्रो भूगोलमा खासै बहस हुन्छ त्यहाँको साहित्य, संस्कृतिमाथि । त्यसैले त बेखबर छ, हाम्रो दुनियाँ नोबेल विजेता लेखकको निधन हुँदा पनि । हजुर ! प्रसंग हो, पेरुका आख्यानकार मारियो भार्गास लोसाको, जो गत हप्ता बिते ।
ल्याटिन अमेरिकी भूगोलको लेखन परिदृश्य नियाल्ने नेपाली लेखकमा नारायण ढकाल अग्रणी छन् । कोलम्बियाका लेखक मार्खेज त उनले पढेका र सर्वाधिक चर्चा गरेका लेखक भइगए । त्यस अतिरिक्त ढकालका फुटकर निबन्ध तथा औपचारिक बहस र अनौपचारिक बसाइमा यदाकदा समेटिन्छन् लोसा पनि । हालैको एक कुराकानीमा लोसाबारे गफिंँदै ढकालले सुनाए, ‘लोसा पठनीय छन् । उनको एकदमै मन परेको उपन्यासचाहिँ ‘दि स्टोरीटेलर’ हो । अमेजन जंगलका प्रकृतिपूजक माचिगुयेन्का आदिवासीको गाथा रोचक पाराले सुनाएका छन् उनले । उनीहरूको हक अधिकारका कुरा गर्दै र आधुनिक बनाउने वाचा गर्दै कहिले इशाई मिसनरी आउँछन्, कहिले कम्युनिस्टहरू त कहिले उदारतावादी । यो सन्दर्भ काटीकुटी मिल्छ हाम्रो जस्तो अस्थिर र नेताकेन्द्रित राजनैतिक परिवेशमा पनि ।’
फ्रान्ज काफ्काजस्तै बाबुको यातनाका सिकार भइरहे लोसा । बेफ्वाँकमा यातना दिइरहन्थे उनका बाबु । लेखन भरपर्दो पेसा नभएको ठान्थे र छोरालाई यो क्षेत्रमा नलागोस् भन्ने थियो उनको मनसाय । बाबुको असहयोगका बाबजुद उनी साहित्य अध्ययन र लेखनमै समर्पित भए, लेखन नै उनका लागि प्रतिरोधको माध्यम बन्दै गयो ।
पछि पेरुका तानाशाही शासकहरू उनका बाबुका विस्तारित स्वरूप बन्दै गए । क्रमशः उनका आख्यानका पात्रमा रूपान्तरित भए उनीहरू, प्रतिकारको यो स्वरूपले उनको प्रसिद्वि बढ्न थाल्यो । पेरुमा मात्रै सीमित रहेन उनको त्यो विद्रोह, बाहिरका आततायी शासक पनि उनका निसाना बन्दै गए । यसरी नै जन्मेको थियो– ‘दि फिस्ट अफ दि गोट’ । डोमिनिकन गणतन्त्रका तानाशाह राफैल त्रुजिलोको उत्थान–पतन अनि त्यसपछिको अव्यवस्था र अराजकता उक्त उपन्यासको विषयवस्तु हो ।
पेरुको अमेजन क्षेत्रमा पुगिरहन्थे लोसा । त्यही भूगोल र भावभूमिमा उनका अन्य केही उपन्यास रचिए । ‘दि स्टोरीटेलर’, ‘दि ग्रिन हाउस’, ‘क्याप्टेन प्यान्टोजा’ यही पृष्ठभूमिमा छन् । ‘डेथ इन दि एन्डिज’ उनको सशक्त राजनैतिक आख्यान हो, पेरुको ‘साइनिङ पाथ’ द्वारा सञ्चालित गुरिल्ला युद्वको छायामा लेखिएको । ‘हु किल्ड प्यालोमानो मोलेरो’ यसको अघिल्लो कडी हो, जहाँ हिंसात्मक द्वन्द्वको उठान भएको छ । ‘आन्ट जुलिया एन्ड दि स्क्रिप्ट राइटर’ भने उनको वैशालु जीवनकै आंशिक आख्यानीकरण हो । नजिककी आफन्त थिइन् जुलिया, उनीभन्दा एक दशक जेठी । उनकै प्रेममा हाबुडुबु भए उनी, घरवार उनैसँग बसाए तर लामो टिकेन यो सम्बन्ध । यद्यपि उनै जुलिया उपन्यास जन्माउने ऊर्जा बनिन् । पछि ‘ट्युन इन टुमरो’ शीर्षकमा यसमाथि सिनेमा बन्यो, हलिउडमा यसको मनग्गे चर्चा भयो । रसराग र हास्यरसले भरपूर छ उनको यो उपन्यास । पछिका उनका आख्यानमा हास्यरस त्यसरी आउन सकेन । यसको बचाउ गर्दै लोसा भन्थे– गम्भीर ऐतिहासिक तथा राजनैतिक पृष्ठभूमिमा हास्यरसले विषयलाई हल्का बनाइदिन्छ, मजाकको विषय बन्छ ।
आफ्नो भूगोलबाट टाढा रहेर सिर्जनामा निख्खार ल्याउने र तटस्थता खोज्ने समर्थवान कलाकार र साहित्यकारहरू पनि छन् । यसरी लामै लर्को लागेको थियो कुनै बेला देश छाडेर फ्रान्सको पेरिस पुग्नेहरूको । यो लर्कोमा सामेल थिए लोसा पनि । त्यही बसाइमा उनको पहिलो उपन्यास जन्मियो, ‘दि टाइम अफ दि हिरो’ । युवाकालमा अनिवार्य सैनिक सेवामा आवद्व रहँदाका पीडादायी अनुभवलाई आख्यानमा ढालेका छन् उनले पेरिस रहँदा । उनको अन्तिम उपन्यास ‘दि व्याड गर्ल’ पनि पेरिसको स्थानकालमा रचिएको छ । स्पेन, डोमिनिकल गणराज्य, ताहितीलगायतका अलग–अलग भूगोल विचरण गरेर आख्यान रच्ने वर्चस्वशाली लेखक थिए उनी । मार्खेजको म्याजिकल प्रभावबाट छुट्कारा पाउन पेरिस नै पुगेका अर्का कोलम्बियाली लेखक हुँवा ग्याब्रियल भास्केजका नजरमा लोसाको पेरिसकालीन समय अत्यन्तै उर्वर थियो ।
बेलायती लेखक टीएस एलियटको एउटा निबन्ध छ– ‘ट्रेडिसन एन्ड इन्डिभिज्युअल ट्यालेन्ट’ । त्यसमा उनी आफूभन्दा अगाडिका लेखकहरूको प्रभावबारे चर्चा गर्छन् । उनको आशय छ– कविता लेख्दा दिमागमा होमरदेखि सेक्सपियर र अझ तलका कविहरूको कविता याद हुनुपर्छ, तब मात्रै उनीहरूको प्रभावबाट मुक्त भएर मौलिक सिर्जना गर्न सकिन्छ । लोसाको हकमा यो कुरा एकदमै लागू हुन्छ । उनी असाध्यै पडाकु लेखक थिए । अत्यन्तै अनुशासित थिए लेख्ने विषयमा । पामुकजस्तै नियमित लेखन थियो उनको । फोन तथा भेटघाटका लागि उनी जतिखेर पनि उपलब्ध हुँदैनथे । लहडका भरमा लेखक बनेका थिएनन् उनी । निरन्तर साधना र समर्पण थियो । लेख्ने क्रममा असाध्यै धेरै अध्ययन, अनुसन्धान गर्थे । एक पटक पनि किताब नछिचोली अल्पज्ञानको डंका पिट्नेका लागि लोसा चुनौती थिए ।
सर्भान्टिसको साहसी तर उट्पट्याङ पात्र किहोते त ल्याटिन अमेरिकी लेखकहरूको नसा–नसामा बसेको छ । सर्भान्टिसको प्रत्यक्ष प्रभाव यही हो– एड्भेन्चरिज्म हरेक ल्याटिन लेखकमा कुनै न कुनै स्वरूपमा प्रकट हुन्छ । पेरुका कम्युनिस्ट विद्रोहीका गाथाले निकै प्रभावित भए किशोरबेलामा– लोसा । फिडेल कास्ट्रोको क्युबाली क्रान्तिबाट रोमाञ्चित भए । सार्त्रलाई खुब पढे उनले तर पछि कम्युनिस्ट दर्शन तथा चिन्तक, दार्शनिक सबैसँग मोहभंग भयो । कामुप्रति भने उनको लगाव रहिरह्यो । १९ औं शताब्दीका लेखकसँग विशेष पठनप्रेम थियो उनको । फ्लुवर्ट, बाल्जाक, दस्तोयब्स्की, टोल्सटोय, स्टेन्धल, हथोर्न, डिकेन्स, मेल्भिलः यी लेखकहरूलाई उनी रुचिपूर्वक पढ्थे । अमेरिकी लेखक फक्नरसँगै ल्याटिनी भूगोलका बोर्गेज उनका सर्वप्रिय लेखक थिए । आख्यान कमसल पठन हो, परिपक्व बन्दै गएपछि पढिने त गैरआख्यान नै हो भन्ने अभिमत हामीकहाँ पनि बलियो छ । तर, लोसाजस्ता आख्यानकारका लागि आख्यान र गैरआख्यान, यथार्थता र काल्पनिकताको सीमारेखा नै कोर्न सकिँदैन । सन् २०१० मा उनलाई नोबेल पुरस्कार दिइयो । मन्तव्य दिँदा उनले भनेका छन्, ‘आख्यानबिना जीवनको स्वतन्त्रताको महत्त्व बुझ्न सकिँदैन । कुनै लहडी तानाशाह, कुनै विचारसमूह वा धार्मिक पन्थले स्वतन्त्रतालाई कुल्चेर सजिलै नरक बनाएको समेत थाहापत्तो हुँदैन ।’ किन लेख्ने ? यो सन्दर्भमा लेखकका आ–आफ्ना मत हुन्छन् । बेथिति र विसंगतिको उरुङ देखेपछि नलेखी बस्न सक्दिनँ भन्थे जर्ज अर्वेल । लोसाको मत थियो– आफू खुसी नभएकाले लेख्छु । बेखुसीपनसँग जुध्ने औजार रहेछ लेखन उनका लागि । ‘जीवनको पहिलो प्राथमिकता लेख्नु हो, बाँच्नु होइन’ भन्ने यी लेखक खासमा लेख्नकै लागि जन्मेझैं लाग्छ ।
लोसाका अधिकांश उपन्यासमाथि सिनेमा बनेका छन् । सुरुमा पत्रकारिता गरे उनले, विविध विषय र क्षेत्रमा सहजै पहुँच बढ्यो । डेढ दर्जन हाराहारी छन् उनका गैरआख्यानसमेत । ‘ए फिस इन दि वाटर’ र ‘लेटर्स टु ए योङ नोभेलिस्ट’ अलिक दमदार छन् विषय, प्रस्तुति अनि प्रभावका हिसाबले । नाटक विधामा पनि हात हाले, तर खासै असरदार रहेन नाट्य संलग्नता । राजनीति लोसाको लेखनमा मात्रै सीमित रहेन, मैदानमै उत्रिए उनी सन् १९९० मा, पेरुको राष्ट्रपति पदको उम्मेदवार बनेर । तर, तिकडमबाजी र राजनैतिक कौशलको सर्वथा अभाव थियो उनमा । चुनावमा पराजित भए जापानी मूलका कृषिविज्ञ अल्बर्टो फुजिमोरीसँग । उनै फुजिमोरीको लामो तानाशाही शासन चल्यो पेरुमा त्यसपछि । पराजय पछि क्युबाली लेखक मित्र गुइलेर्मो क्याब्रेला इफान्टेले भने : यदि लोसाले जितेको भए पेरुको राजनैतिक भविष्य केही राम्रो हुन सक्थ्यो तर साहित्यलाई पूरै घाटा हुन जान्थ्यो । साहित्य अनन्तकालका लागि हो भने राजनीति त केवल एक कालखण्ड हो ।’ पराजयको पीडामा लोसा स्पेन पुगे, पछि ढुक्कै त्यहीँ बस्न थाले । बाहिरै बसेर पेरुलाई नियालिरहे, विमति प्रकट गरिरहे । प्रत्यक्ष राजनीतिबाट टाढिए पनि सधैं ‘वाचडग’ बनिरहे । मार्खेजलगायतका लेखक रहेको ल्याटिन अमेरिकी बुम समूहमा सामेल थिए लोसा । मार्खेज र उनको दोस्ती राम्रै थियो पहिले । एक अर्काबारे खुलेरै सरहाना गरेका छन् दुवैले, तर सन् १९७६ को एक घटनापछि उनीहरू टाढिए । घटनाबारे दुवैले केही बताएनन्, तर प्रत्यक्षदर्शीका अनुसार, लोसाकी श्रीमती प्याट्रिसिया मार्खेजकी प्रशंसक थिइन् । त्यतिखेर लोसा अर्कै युवतीसँग लहसिएका थिए । त्यही दिन मार्खेज दम्पती भेटिए, उत्साहित भएर प्याट्रिसिया मार्खेजलाई अंकमाल गर्न पुगिन् । लोसालाई त्यो दृश्य मन परेन र उनले मुक्का प्रहार गरे मार्खेजको अनुहारमा ।
एक अन्तर्वार्तामा सोधियो लोसालाई, ‘मृत्युपछि कसरी सम्झियून्् भन्ने चाहनुहुन्छ ?’ ‘मेरो चिहानमा यस्तो लेखियोस्’ भन्ने चाहना छ लोसाको– ‘उनले जीवन सम्पूर्ण बाँचे, अनि सबैभन्दा ज्यादा साहित्यलाई प्रेम गरे ।’ साँच्चि नै फराकिलो आयाम देखिन्छ उनका आख्यानमा । मिथक र इतिहास खोतल्दै उनी समकालीन राजनैतिक घटनाक्रमलाई आख्यानको आधार बनाउँथे । अतीतको गर्तमा गुमनाम रहेका कलाकार, संगीतकर्मीलाई समेत आख्यानको केन्द्रमा उभ्याउँथे । नामुद चित्रकार पल गौगुइन र आफ्नै हजुरआमाको समानान्तर कहानी समेटिएको छ– ‘दि वे टु प्याराडाइज’ मा । ‘दि कब्स् एन्ड अदर स्टोरिस्’ मा एकत्र पारिएका कथाहरू उत्तिकै चोटिला र रमाइला छन् । उनका आख्यान नपढे पनि कुनै अन्तर्वार्ता सुन्नोस्, पढ्नोस्– त्यसको पृष्ठभूमिमा कुनै चित्रकला, कुनै सिनेमा, कुनै ओपेराको सन्दर्भ छाइरहन्छ । यही अन्तर्विधाले जोडिन्छौं हामी उनीसँग, कतै न कतै ।
लोसा बांगोटिंगो यात्राका पथिक थिए । शुरुमा कम्युनिस्ट आस्था राख्ने उनी पछि उदारवादी बने, मार्गरेट थ्याचर र रोनाल्ड रेगन जस्ता कट्टरवादीका नीतिका प्रशंसकसमेत बने । त्यसैले त उनी चरम अवसरवादी थिए भन्नेहरू पेरुमा मात्र होइन, सबैतिर छन् । तर, उनका लागि त्यो अवसरवाद, अस्थिरताभन्दा पनि भोगाइ, सिकाइ र चलायमान हुनु थियो । एउटै पथमा जकडिएर रहनु मञ्जुर थिएन उनलाई । हैटीकी लेखक एद्विच दान्तिकाले लोसाको उपन्यास ‘दि फिस्ट अफ दि गोट’ मा हैटीवासीलाई हियाएकोमा उनको सार्वजनिक खण्डन गरेकी छन् । दान्तिकाको उपन्यास ‘दि ड्यु ब्रेकर’ मा हैटीको उही प्रसंग समभावले आउँछ । मार्खेज, कार्पेन्टियरलगायत ल्याटिन अमेरिकी लेखकसँग उनको दूरत्व सधैँ रह्यो, अरू पनि छन् उनका निन्दक । यौन–सुखलाई सिर्जनाको महत्त्वपूर्ण आधार मान्ने उनी साह्रै महिलामैत्री थिएनन्, महिलाभोगी थिए । अमेरिकी अभिनेत्री ग्लेन क्लोजले हालै कुनै समारोहमा भनेकी छन्, ‘मानिस हुनु भनेको गल्ती गर्नु हो, समस्याग्रस्त हुनु हो । अनि माया र माफीको लायक हुनु पनि हो ।’ गुण–दोषकै गठजोड न हो मानव जीवन । थुप्रै मुखुन्डो लगाएका नकाबधारी हौं हामी पनि । त्यसैले संस्थापनका खराबीलाई लेखनमार्फत अविराम खबरदारी गरिरहेका लोसा माया र माफीका हकदार होलान् पक्कै पनि, क्लोजले भनेझैं । आदिओस्, अमिगो लोसा ।
