ब्रह्माण्डको १३.८ अर्ब वर्षको इतिहासलाई एकवर्षे पात्रोमा समेट्दा प्रत्येक दिनले ३.७८ करोड वर्ष, प्रत्येक घण्टाले १५.८ लाख वर्ष, प्रत्येक मिनेटले २६,००० वर्ष र प्रत्येक सेकेन्डले ४३८ वर्षलाई संकेत गर्छ ।
सभ्यता र संस्कृतिपिच्छे अलग–अलग नयाँ वर्षहरू छन् र मनाउने अलग–अलग तरिका । वर्ष दिनभरिको यो पात्रोको आफ्नै सांस्कृतिक मूल्य र मान्यता छ । पात्रोहरूको जे–जस्तो विविधता भए पनि हामी मानिस समयलाई घण्टा, दिन, महिना र वर्षमा नाप्छौं । र, यसैको गणनामा ३ सय ६५ दिन बितेपछि एक वर्ष पुगेको भनी आउने ३६६ औं दिनलाई नयाँ वर्ष मान्छौं ।
यो सबै पृथ्वीबाट हेर्दा देखिने सूर्यको चाल र ग्रह नक्षत्रको परिभ्रमणलाई जोडेर निकालिएको खगोलीय हिसाबकिताबमा आधारित छ ।
विज्ञानलाई जनबोलीको बुझिने भाषामा भन्नुपर्छ भन्ने मान्यता बोक्ने प्रसिद्ध अमेरिकी खगोलशास्त्री कार्ल सेगनको मनमा एक दिन अनौठो विचार आएछ– यो सृष्टिको सुरुवातदेखिको समयलाई मानव पात्रोको एक वर्षमा मिलाउन खोज्दा कस्तो समय तालिका बन्दो हो ? यसमाथि उनले हिसाबकिताब गर्न थाले । यसको उत्पत्तिदेखि अहिलेसम्मको विकासक्रमलाई पृथ्वीको ३६५ दिनको समय–तालिकामा ढाल्न खोजे । र, अन्त्यमा एउटा गज्जबको हिसाब निस्कियो ।
त्यसलाई उनले आफ्नो पुस्तक ‘द ड्रागन्स अफ इडेन : स्पेकुलेसन्स अन द इभोलुसन अफ ह्युमन इन्टेलिजेन्स’ मा प्रस्तुत गरे, जो सन् १९७७ मा प्रकाशित भएको थियो । कार्लको यो अवधारणाले ज्यादै लोकप्रियता पायो । त्यसलाई उनले थप खोजबिनका साथ बढी प्रस्ट रूपमा अर्को पुस्तक ‘कस्मस (१९८०)’ मा उल्लेख गरे । अनि त्यसलाई ‘कस्मस : अ पर्सनल भोयज’ भन्ने टेलिभिजन शृंखलामार्फत थप लोकप्रिय बनाए ।
कार्ल सेगनको ब्रह्माण्डीय पात्रो यति गज्जबको छ कि यसका आँखाले संसारको आयु हेर्दा एउटा विस्मयकारी भावले जो कसैलाई वशीभूत पारिदिन्छ । हालसम्मको अध्ययनले वैज्ञानिकहरूको अनुमान के छ भने ब्रह्माण्डको सुरुवात १३.८ अर्ब वर्ष पहिले भएको थियो । सेगनले यति लामो अवधिलाई मानव मनले बुझ्ने एक वर्षको अवधिमा ढालेका छन् । सम्पूर्ण ब्रह्माण्डको इतिहासलाई एकवर्षे पात्रोमा समेट्दा प्रत्येक दिनले ३.७८ करोड वर्ष, प्रत्येक घण्टाले १५.८ लाख वर्ष, प्रत्येक मिनेटले २६,००० वर्ष र प्रत्येक सेकेन्डले ४३८ वर्षलाई संकेत गर्छ ।
त्यस हिसाबले हेर्दा ब्रह्माण्डको उत्पत्ति कहिले भयो ? सेगनले अंग्रेजी पात्रोअनुसार जनवरीदेखि डिसेम्बरसम्म गरेको हिसाबकिताबलाई सजिलोका लागि मैले यहाँ नेपाली पात्रोमा ढालेको छु । त्यस हिसाबले ब्रह्माण्डको सुरुवात निश्चय पनि वैशाख १ गते मध्यरातमा हुन गयो । कहीँ केही नभएको विशाल शून्यतामा अचानक एक महाविस्फोट अर्थात् विग ब्याङ भयो ।
स्टिफन हकिङले आफ्नो पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ मा लेखेका छन्– महाविस्फोटले ब्रह्माण्डको उत्पत्तिलाई सूचित गर्छ, जुन समय र स्थानको सुरुवात थियो । भर्खर गर्भाधारण भएको शिशु पाठेघरमा सानो मासुको डल्लोबाट विकसित हुने क्रमजस्तै त्यतिबेला ब्रह्माण्ड एक अत्यन्तै सानो, तातो र घनत्वपूर्ण बिन्दुमा सीमित थियो । केही सेकेन्डभित्रै यो फैलियो र क्वार्क, इलेक्ट्रोन र अन्य मौलिक कणहरू बने । वैशाख ३ सम्ममा पहिलो हाइड्रोजन र हेलियमका परमाणुहरू बने, जसले ब्रह्माण्डलाई पारदर्शी बनायो ।
वैशाखको दोस्रो साता अर्थात् १० तिर पहिलो ताराहरूको जन्म भयो । यी विशाल र छोटा आयुका थिए । यी ताराहरूले आफ्नो केन्द्रमा नाभिकीय संलयन अर्थात् न्युक्लियर फ्युजन गरेर हाइड्रोजनलाई हेलियम, कार्बन र अक्सिजनमा परिणत गरे । यी ताराहरू सुपरनोवा विस्फोटमा परेर नष्ट भए । अनि तिनबाट निक्लेको भारी तत्त्वहरू अन्तरिक्षमा फैलिए, जसले भविष्यका तारा, ग्रह र जीवनका लागि आधार बनायो । अर्को महिना गुरुत्वाकर्षणले ग्यास र धूलोलाई ठूला–ठूला संरचनाहरूमा जोड्यो । यो नै आकाशगंगाहरूको जन्म थियो । हाम्रो आफ्नै आकाशगंगा ‘मिल्की वे’ लगभग असार १ तिर जन्मिएको थियो ।
मंसिरको सुरुवातमा ग्यास र धूलोको विशाल बादल अर्थात् सोलार नेबुला खाँदिनाले सौर्य मण्डलको जन्म हुन पुग्छ । पृथ्वीको जन्म पनि लगभग यसै समयमा बनेको हो तर यसको प्रारम्भिक अवस्था उल्कापात, ज्वालामुखी विस्फोट र चिसो हुने प्रक्रियाले भरिएको थियो ।
तात्दै, सेलाउँदै एउटा ग्रहका रूपमा विकसित हुन पुगेको पृथ्वीमा मंसिर १५ मा एककोषीय जीवहरूको उत्पत्ति हुन्छ । ब्याक्टेरियाजस्ता एककोषीय यिनै जीवाणुका कारण पृथ्वीको वातावरण बिस्तारै अक्सिजनले भरिन मद्दत पुग्यो । यसपछि पुस ५ सम्ममा बहुकोषीय जीवहरूको विकास भयो । यी बहुकोषीय जीवबाट जलचर र थलचरको विकास हुँदै अन्ततः पुस १५ गते विशाल काय भएका डायनोसोरहरूको जन्म भयो । तिनले पृथ्वीमा चैत ३० सम्म शासन गरे । वर्षान्तमा एउटा विशाल उल्कापातले उनीहरूको वंश नाश गर्यो ।
चैत ३१ को अन्तिम घण्टामा मानिसहरूको जन्म भयो । चैत ३१ को राति १० बजे आजका मानिससँग मिल्ने प्रथम प्रजाति होमिनिडहरूको विकास भयो । हामी आधुनिक मानिसका आदिम पुर्खा होमो सेपियन्सको जन्म मसान्तको राति ११ः५२ बजे भयो । सम्पूर्ण मानव इतिहास— कृषि, सहर, साम्राज्य, विज्ञान र प्रविधि—ब्रह्माण्डीय पात्रोको अन्तिम ३० सेकेन्डभित्र हुन पुग्यो ।
ब्रह्माण्डीय पात्रोअनुसार, मानव सभ्यताको सम्पूर्ण इतिहास, कृषिको सुरुवातदेखि अहिलेको डिजिटल युगसम्म, सबै चैत ३१ गतेको राति ११ः५९ः३० सेकेन्डदेखि १२ः०० सम्म हुन पुगेको छ । यो अत्यन्तै संक्षिप्त अवधिमा नै हामीले आगो आविष्कार गर्यौं, सहर बसाल्यौं, महान् दार्शनिकहरू जन्मिए, औद्योगिक क्रान्ति भयो र अन्तरिक्ष यात्रासम्म गर्न सक्षम भयौं ।
चैत ३१ मा रातको ११ बजेर ५९ मिनेट ३० सेकेन्ड बित्दा हामीले आगोको आविष्कार गर्यौं । आगो नियन्त्रण गर्न सिकेपछि हाम्रा पुर्खाले खाना पकाउन, जंगली जनावरबाट बच्न र जाडोबाट आफूलाई बचाउन सके । आगोले मानिसलाई रातमा पनि सक्रिय रहन मद्दत गर्यो, जसले मस्तिष्कको विकासलाई बल दियो । ११ बजेर ५९ मिनेट ४० सेकेन्डमा मानिस घुमन्ते युगबाट कृषि युगमा प्रवेश गर्यो । अब मानिसले बाली रोप्न र पशुपालन गर्न सिके । त्यसपछि खानेकुराका लागि सिकारमा निर्भर रहनु परेन । यसले स्थायी बस्तीहरूको सुरुवात गर्यो ।
बिस्तारै समाजमा श्रम विभाजन सुरु भयो । किसान, शिल्पी, पुजारी र शासकहरूको उदय भयो । त्यसको ५ सेकेन्डपछि अर्थात् रातको ११ बजेर ५९ मिनेट ४५ सेकेन्ड बित्दा सभ्यताहरूको जन्म भयो । मेसोपोटामियामा सहर बस्यो । इजिप्ट, सिन्धु घाँटी र चीनको सभ्यताहरूले लेखन, गणित र कानुनको विकास गरे । वर्षान्तको ठीक पाँच सेकेन्ड अगाडि अर्थात् ११ः५९ः५५ मा बुद्ध, सुकरात र अरू धेरै दार्शनिकहरूको जन्म भयो । त्यसको तीन सेकेन्डपछि औद्योगिक क्रान्ति भयो । वाष्फ इन्जिन र कारखानाहरू बने ।
वस्तुको उत्पादनमा क्रान्ति आयो । आधुनिक सहर बने र ठूलो अर्थतन्त्रको उदय भयो । मान्छेले विज्ञान र प्रविधिमा ठूलो फड्को मार्यो । यी एक सेकेन्डभित्र दुई ठूला महायुद्धहरू भए । पर्यावरण प्रदूषण, शोषण र सामाजिक असमानताको सुरुवात पनि भयो । यी एक सेकेन्डभित्र मानिसले ठेलागाडा छाडेर कार, हवाईजहाज, रेल र रकेटको आविष्कार गर्यो । चन्द्रमामा पाइला टेक्यो । परमाणुलाई फोरेर के रहस्य रहेछ संसारको भनेर थाहा पाउने प्रयत्न गर्यो ।
यसरी हेर्दा मानिसको सारा आयु, उपलब्धि र विकास ब्रह्माण्डको पात्रोमा एक निमेषभरको पनि छैन । विश्वव्यापी रूपमा मानिसको अहिले औसत आयु ७३.१६ वर्षको छ । यो भनेको ब्रह्माण्डीय पात्रोअनुसार १६७ मिलिसेकेन्ड हो । एक सेकेन्डलाई हजार गुणा टुक्र्याउँदा एक भागमा जति समय पर्न आउँछ, त्यो नै मिलिसेकेन्ड हो । एक मिलिसेकेन्डमा मानिसले आँखा पनि झिम्क्याउन पाउँदैन । भनेपछि, अस्तित्वको यो विशाल क्यानभासमा मानिसको आयु त एक धर्को रङसम्म पनि बन्न अपर्याप्त छ ।
यति विशाल संसार छ र यति क्षणभंगुर हाम्रो जीवन र उपलब्धिहरू छन् । अहो नि, छैन त यो विस्मयकारी ! कार्ल सेगन यही विस्मयकारी सत्यलाई बुझाउन ब्रह्माण्डीय पात्रोको प्रयोग गर्थे र मन्त्रमुग्ध हुने गरी प्रवचनहरू दिन्थे ।
हालसम्मको खोजअनुसार, यो विशाल र अन्तहीन ब्रह्माण्डमा पृथ्वी मात्रै एक्लो ग्रह हो जीवनले भरिएको । र, पृथ्वीमा पनि हामी मानिस मात्रै एक्ला प्राणी हौं, जीवनको भव्य विस्तार र यसको छक्क पार्ने अल्पताबारे यसरी बुझ्न र व्याख्या गर्न सक्ने ।
यसलाई झन् राम्रोसँग बुझाउन ब्रह्माण्डीय पात्रोले मद्दत गर्छ । जीवन यति अल्प छ भने यसमा यो पुगेन र त्यो पुगेन भनेर ठुस्किने किन ? किन यो अल्प क्षणमा पनि रोइबस्ने ? झगडा गर्ने र शत्रुता साध्ने ? किन युद्ध गर्ने र किन साँध–सिमाना छुट्याएर आपसमा विग्रह ल्याउने ? यो वर्षभरि नै र आउने वर्षहरूमा पनि ब्रह्माण्डीय पात्रोलाई सम्झेर हामीले बाँचिरहेको समयको प्रत्येक क्षणको मूल्य बुझ्न सकौं ताकि प्रत्येक सुस्केरालाई आनन्दमा बदल्न सक्ने सामर्थ्य प्रकट होस् ।
