हिउँमा छुटेका सम्झनाहरू

हिमालयको देश नेपालमा पहिलो पटक २०३० सालमा पर्वतारोहण गरेकी थिइन्– जर्मन नागरिक क्रिस्टा कोउराले । त्यसपछि उनले १३ पटक नेपालका हिमालहरू चढिसकेकी छन् । 

चैत्र ३०, २०८१

अलका आत्रेय चुडाल

Missing memories in the snow

मैले युवावस्थामा हिमाल आरोहणबारे लेखिएका थुप्रै रोमाञ्चक किताबहरू पढेकी थिएँ र पर्वतारोहणले मलाई आकर्षित गरेको थियो । त्यसबेलासम्म ‘पर्वतारोहण’ वा ‘ट्रेकिङ’ जनसामान्यले रमाइलोका लागि, रुचिका लागि अथवा बिदा मनाउनका लागि गर्ने गतिविधिका रूपमा परिचित भइसकेको थिएन ।

धेरै पछि वि. सं. २०२०–२१ सालतिर ‘ट्रेकिङ’ गरेर बिदा मनाउने चलनको आविष्कार भयो । यसपछि मात्र मैले र मेरा पतिले समुद्री सतहदेखि ८ हजार मिटर अग्लो ठाउँ नेपालमा पर्वतारोहण गर्ने अवसर पायौं,’ आजभन्दा ८७ वर्षअघि जर्मनीमा जन्मिएकी क्रिस्टा कोउराले आफ्नो विगत सम्झँदै भनिन् । 

कश्मीरदेखि असमसम्म १५०० माइल लामो हिमशृंखला छ, जसमध्ये ५०० माइल नेपाली सीमाभित्र पर्छ । सबैभन्दा अग्ला हिमशृंखला र विश्वका प्रमुख हिमालहरूमध्ये दस वटा पनि नेपालभित्रै पर्ने हुँदा पर्वतारोहणका लागि नेपाल एउटा आकर्षक गन्तव्य हो । यसरी पर्वतारोहणका लागि आकर्षक गन्तव्य भए पनि प्रशासनिक प्रतिबन्धका कारण विक्रम संवत्को एक्काइसौं शताब्दीसम्म नेपालमा जोसुकैले हिमाल आरोहण गर्न सम्भव थिएन । मुलुकमा राणा शासन रहँदासम्म अर्थात् २००७ सम्म नेपाल सरकार र बेलायती राजदूतावासको अनुमतिमा बाहेक कसैलाई नेपाल छिर्ने अधिकार थिएन भने पर्वतारोहण त धेरै टाढाको कुरा । पहुँच नभएका सामान्य विदेशीलाई पर्वतारोहणका लागि नेपाल आउनु त्यतिबेला असम्भव थियो । 

नेपालीहरू राणाकालीन समयभन्दा अगाडि पनि यात्रा गर्थे । त्यसकारण ‘यात्रा’ सबैलाई थाहा भएको र नेपाली जनमानसमा परिचित गतिविधि थियो । तर पनि त्यस समयसम्म यात्रा भनेको तीर्थयात्रा, युद्धका लागि गरिने यात्रा वा पारिवारिक वा कुनै व्यक्तिगत वा प्रशासनिक काम विशेषको यात्रामा सीमित थियो । त्यति मात्र कहाँ हो र ! यात्रा भनेकै एउटा हाउगुजी थियो । यात्रा अनिश्चितता थियो । घरबाट हिँडेको व्यक्ति फर्कला नफर्कला त्यसको कुनै टुङ्गो हुँदैनथ्यो । त्यसैले कुन दिशातिर जाने हो त्यसको दिन, बार देखाएर साइत निकालेपछि मात्र यात्रा गरिन्थ्यो । ‘मुनामदन’ को कथामा झैं बाटामै झाडा–पखालाजस्तो रोग लागेर यात्रुहरू मर्न सक्ने प्रबल सम्भावना हुन्थ्यो । छिमेकी देशमा गाउँ–गाउँ रेल पुगे पनि नेपालमा सहज यातायातका साधन आइसकेका थिएनन् । त्यसैले यात्रा कष्टकर र चुनौतीपूर्ण गतिविधि ठानिन्थ्यो । समुद्र नाघेमा पानी पतिया गर्नुपर्ने चलन थियो । देशको यस्तो अवस्थामा हामी नेपालीहरूलाई रुचि र शौकका लागि पनि यात्रा गरिन्छ वा पर्वतारोहण गरिन्छ भन्ने विषयको के ज्ञान ? 

तर, वि. सं. १९९३ मा अर्थात् नेपालमा राणा शासन हुँदैखेरि जर्मनीमा जन्मिएकी एउटी सचेत युवती क्रिस्टालाई भने युवावस्थादेखि नै पर्वतारोहणको चस्को पसिसकेको थियो । आफूले पढेका किताबका लेखकहरूले जस्तै नेपालका अग्ला चुचुरामा पुगेको कल्पना गर्न र सपना देख्न थालिसकेकी थिइन् । तर, पर्वतारोहण जनसामान्यका लागि अझै सहज नभइसकेको हुँदा उनले ३७ वर्षको उमेरमा मात्र कल्पनाको संसार, हिमालयको देश नेपालमा पहिलो पटक पर्वतारोहण गर्ने अवसर पाइन् । आफ्नो इच्छा साकार हुने सम्भावना देख्नासाथ उनी र उनका पति २०३० सालमा पहिलो पटक नेपाल आए । एक पटकको पर्वतारोहणले उनको चित्त बुझेन । त्यसैले उनीहरू पटक–पटक नेपाल आइरहे, १३ पटक पर्वतारोहणका लागि र थप दुई पटक काठमाडौं घुम्नका लागि ।

नेपालमा क्रिस्टाको पर्वतारोहण तालिका 

वि.सं. २०३० लमजुङ हिमाल

वि.सं. २०३२ अन्नपूर्ण हिमाल (प्रथम)

वि.सं. २०३४ चौतारा

वि.सं. २०३५ सिक्लिस 

वि.सं. २०३७ हेलम्बु

वि.सं. २०४० अन्नपूर्ण (थोरोंग ला पासको बाटो) 

वि.सं. २०४२ लाङटाङ

वि.सं. २०४४ पोखरादेखि जुम्ला

वि.सं. २०४७ रोल्वालिङ

वि.सं. २०४९ सगरमाथा

वि.सं. २०५१ गणेश हिमाल

वि.सं. २०५४ कञ्चनजंघा

वि.सं. २०५५ लमजुङ हिमाल

नेपालको यति धेरै पटक साहसिक यात्रा गरेकी क्रिस्टा अहिले पनि जर्मनीको आफ्नो घरमा सक्रिय जीवन बिताइरहेकी छन् । उनलाई स्वास्थ्यको कारणले टेलिफोनमा कुरा गर्न त्यति सहज हुँदैन, तर टाढाका नयाँ र पुराना साथीहरूलाई इमेल लेख्छिन् । आफ्नो नेपाल यात्राबारे सम्झँदै उनी भन्छिन्– ‘मैले र मेरा श्रीमान्ले २०३० सालमा पहिलो पटक नेपालमा पर्वतारोहण गर्ने अवसर पाएका थियौं । पहिलो पटक जाँदा नै हामीलाई नेपालको भूमि र त्यहाँका मानिसहरू यति धेरै मन परे, त्यसपछि त हामी बारम्बार बिदा मनाउन नेपाल गइरह्यौं । 

हाम्रो पहिलो ट्रेकिङ लमजुङ हिमालबाट सुरु भयो । त्यसको दुई वर्षपछि हामीले फेरि २०३२ सालमा हाम्री सानी छोरी गाब्रिएलालाई पनि सँगै लिएर अन्नपूर्ण प्रथमको आरोहण गर्‍यौं । त्यसपछि हाम्रो नेपालमा पर्वतारोहण गर्ने क्रम निरन्तर चलिरह्यो र हामीले २०३४ मा चौतारा र २०३५ मा सिक्लिसमा पर्वतारोहण गर्‍यौं । २०३५ सालसम्म हामीले जर्मन व्यवसायीहरूले समायोजन गरेको जर्मन नागरिकहरूको सामूहिक ट्रेकिङ कार्यक्रमअन्तर्गत पर्वतारोहण गरेका थियौं । त्यसपछि हामीलाई स्वतन्त्र रूपमा आफ्नो यात्रा आफैं आयोजित गर्न मनलाग्यो । २०३७ सालदेखि भने हामीले आफ्नै समूह बनाएर नेपालमा पर्वतारोहण गर्‍यौं । हामी आफैंले बनाएका पर्वतारोहणको समूहमा न्यूनतम दुईदेखि अधिकतम पाँच जना हुन्थे । हामीले बनाएका समूहहरूको यात्रा व्यवस्थापनको जिम्मा हामी नेपाली कम्पनीहरूलाई दिन्थ्यौं । पर्वतारोहणमा सहयोग गर्न उनीहरूले हाम्रा लागि नेपाली नाइके, भान्से र भरियाको बन्दोबस्त गरिदिन्थे । हामी कहिल्यै पनि एक्लै अर्थात् नेपाली सहयोगीहरू बिना ट्रेकिङमा गएनौं । हामीले यसरी आफैंले आयोजना गरेका पर्वतारोहणअन्तर्गत २०३७ मा हेलम्बु, २०४० मा थोरोंग ला पासको बाटोबाट अन्नपूर्ण, २०४२ मा लाङटाङ र २०४४ मा पोखरादेखि जुम्ला, २०४७ मा रोल्वालिङ, २०४९ मा सगरमाथा (बेस क्याम्पसम्म जान सकेनौं), २०५१ मा गणेश हिमाल र २०५४ मा कञ्चनजंघा हिमालको आरोहण गर्‍यौं । हामीले अन्त्यमा २०५५ मा फेरि एक पटक लमजुङ हिमालको आरोहण गरेर हाम्रो आफ्नो नेपाल पर्वतारोहणको रजत महोत्सव मनायौं र साथै हाम्रो नेपाली पर्वतारोहणको विसर्जन पनि गर्‍यौं । नेपाल गएर हामी अझै अघाएका थिएनौं । ट्रेकिङ नगरे पनि त्यसपछि हामी थप दुई पटक काठमाडौं गयौं । हाम्रो पछिल्लो वा अन्तिम नेपाल यात्रा २०५७ मा गरिएको काठमाडौं यात्रा हो ।’

Missing memories in the snow

भनिन्छ, सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्णको प्रथम आरोहण गरेर विश्वमा पर्वतारोहणको इतिहास रचेका थिए । यसरी हिसाब गर्दा यो वर्ष अर्थात् सन् २०२५ नेपालमा हिमाल आरोहणको ७५ वर्ष पुगेको छ । नेपालमा सन् १९५० देखि १९६५ सम्मको अवधि पर्वतारोहणका लागि स्वर्णिम युग भएको पुराना पर्वतारोहीहरूले बताएका छन् किनभने त्यो समयमा पर्वतारोहणको अनुमति लिए पनि अहिलेको जस्तो चढ्न पाइने र नपाइने शिखर भनेर कुनै छेकबार लगाइसकिएको थिएन । त्यसै समयमा धेरै अग्ला हिमालहरू आरोहण गरिए । त्यो समयमा पाकिस्तान, तिब्बत र भारत युद्ध र राजनीतिक अस्थिरताग्रस्त भएको हुँदा त्यताबाट पर्वतारोहण सम्भव थिएन । नेपाल त्यस समयमा सुरक्षित र सहज गन्तव्य थियो । यद्यपि, पर्यटकको धेरै घुइँचो नभएको हुँदा एउटा हिमालमा एकै पटक धेरै आरोहण दलको लाम हुँदैनथ्यो । ती समयमा पर्वतारोहण गरेका धेरैजनाले थुप्रै पुस्तक पनि लेखे र ती पुस्तक नेपालका हिमालबारे जानकारी दिन मात्रै नभएर पर्वतारोहणका लागि प्रेरक पनि भए ।

क्रिस्टाले युवावस्थामा पर्वतारोहणसम्बन्धी किताबहरू पढेकी मात्र होइनन् ती सबै किताब उनको संग्रहमा अहिलेसम्म सुरक्षित छन् । तिनले नेपाल आउनुअघि पढेर प्रभावित भएका नेपालको पर्वतारोहणसम्बन्धी जर्मन भाषामा लेखिएका पुस्तकका केही लेखकहरू पाउल बाउअर, राइनहोल्ड मेस्नर, डा. कुर्ट बोएक, गुस्ताव हार्डर, कार्ल मारिया हेर्लिगकोफर, स्वेन हेडिन, विल्हेल्म फ्लिखनर, गेर्हार्ड लेन्सर, ग्युन्टर हाउसर, ग्युन्टर स्ट्रुम, एर्नस्ट शेफेर, हेनरी लान्डोर आदि हुन् । सन् १९३१ मा छापिएको पाउल बाउअरको पर्वतारोहणसम्बन्धी पहिलो किताब ‘हिमालयका लागि संघर्ष ः सन् १९२९ मा जर्मनहरूको पहिलो कञ्चनजंघा आरोहण’ (१९२९) ले लस एन्जल्समा संसारको विख्यात पुरस्कार ओलम्पिक गोल्ड मेडल पाएको थियो ।

जर्मन पर्वतारोहीहरूको नेपाल पर्वतारोहणको इतिहासलाई पल्टाएर हेर्दा सन् १९२९ मा पुगिन्छ । तत्कालीन राणा शासन भएको नेपालमा धेरै कम विदेशी पर्वतारोहीलाई दिइएको पर्वतारोहणको अनुमति पाउने समूहमा सन् १८६९मा स्थापना गरिएको जर्मन पर्वत संगठन पहिलो जर्मन संगठन हो । यसले पहिलो पटक सन् १९२९ मा कञ्चनजंघा हिमाल (८५८६ मि.) आरोहण गर्ने अनुमति पाएको थियो । यस संगठनको जर्मनीस्थित कार्यालयमा अहिले पनि त्यस आरोहण र पछिका अन्य आरोहणसँग सम्बन्धित सामग्री सुरक्षित छन् । ती संग्रहहरूमा चिठी–पत्र, पर्वतारोहण योजना, रिपोर्ट, चित्रहरू, स्वराङ्कन, प्रचार सामग्री, नक्सा आदि संग्रहित छन् । छिमेकी मुलुक अस्ट्रिया पनि ती पर्वतारोहणमा संलग्न भएको कुरा ती अभिलेखहरूबाट थाहा हुन्छ । त्यसपछि जर्मनीमा पर्वतारोहण र त्यससम्बन्धी अनुसन्धानका लागि अरू संस्थाहरू पनि खुले । पाउल बाउएर जर्मन पर्वत संगठनको सदस्यका रूपमा नेपालमा पर्वतारोहण गर्ने जर्मन पर्वतारोहीहरूको पहिलो समूहमा कञ्चनजंघाको आरोहण गर्न नेपाल आएका थिए । सन् १९५२ मा अर्का जर्मन पर्वतारोही कार्ल मारिया हेर्लिगकोफरले वैदेशिक अनुसन्धानका लागि जर्मन संस्थानको स्थापना गरे । माथि उल्लिखित प्रायः सबै लेखकहरू कुनै न कुनै किसिमले यी दुई संस्थामा आबद्ध थिए । क्रिस्टाको र मेरो प्रत्यक्ष भेट भएको छैन । हाम्रो इमेल वार्तालापमा क्रिस्टाले मलाई जर्मन भाषामा लेखिन् : 

‘तपाईं कति वर्षकी हुनुभयो प्रिय अलका मलाई थाहा छैन । तर मलाई लाग्छ, हाम्रो पर्वतारोहणको समयको बारेमा तपाईंले कल्पना पनि गर्न सक्नुहुन्न होला । मलाई अहिले नेपालको विकसित बाटोघाटोबारे थाहा छैन । तर, त्यो बेला हामीले कालीगण्डकी जान पोखरा भएर जानुपर्थ्यो । अनि हेलम्बु जाने प्रस्थान बिन्दु सुन्दरीजल थियो । हामी कहिल्यै एक्लै पर्वतारोहणमा गएनौं । हामी सधैं समूहमा हिँड्यौं । हामीसँग हिँड्ने नाइके, भान्से, भरियासँग हाम्रो राम्रो सम्बन्ध हुन्थ्यो । यहाँसम्म कि उनीहरू त कहिलेकाहीँ हामीलाई बा, आमा भनेर बोलाउँथे । हामी आफूलाई उनीहरूको रोजगारदाता ठान्थ्यौं र सधैं असल र सहृदयी रोजगारदाता हुने प्रयास गर्थ्यौं । हामीलाई एक्लै झोला बोकेर आरोहण गर्ने मानिसहरूले भरियालाई भारी बोकाएर हिँडेका शोषक भन्ठान्थे होला । तर वास्तवमा त्यस्तो होइन । हामीलाई त्यस्तो लाग्दैनथ्यो किनभने हामीले भरियाबिना गएर होटलमा खाएको खाना तिनै भरियाले बोकेर लगेका हुन्थे । तर उनीहरूले नेपाली साहूका लागि भारी बोकेर कमाएको पैसा हामीले दिएको पैसाभन्दा धेरै कम हुन्थ्यो । त्यसकारण हामी आफूलाई महँगो परे पनि र हामीले आफैं आफ्नो भारी बोक्न सके पनि भरिया लिएर हिँड्थ्यौं । त्यसमाथि हामीले पर्वतारोहण गर्ने समयमा त्यहाँ एकदमै कम लजहरू थिए । त्यसैले हामी आफ्नै टेन्ट हालेर त्यसमा सुत्न रुचाउँथ्यौं । 

म नेपाली बोल्न, पढ्न र लेख्न चाहन्थें र त्यसका लागि मैले धेरै प्रयास पनि गरें । मैले म्युनिखमा नेपाली शिक्षकबाट नेपाली भाषाको कक्षा पनि लिएँ, तर त्यसको परिणाम साह्रै धेरै सन्तोषजनक भएन । मेरी छोरीको जस्तो नयाँ भाषा सिक्ने क्षमता ममा छैन । तर, म अहिले पनि धेरै नेपाली शब्दहरू सम्झन्छु, तिनलाई उच्चारण गर्न सक्छु र देवनागरी पनि राम्रै लेख्न सक्छु । हामीले नेपालमा पर्वतारोहण गर्दा म हाम्रो टेन्टको वरिपरि झुम्मिएका केटाकेटीहरूको नेपाली किताब पढ्न सक्थें । मैले कति कष्ट गरेर नेपाली पढ्न सिकेकी थिएँ तर के गर्नु ती साना केटाकेटीले मैले गरेको त्यो परिश्रम बुझेका थिएनन् र उनीहरू त्यसलाई सहज रूपमा लिन्थे ।

मैले मेरा श्रीमान् र मेरी छोरीले नेपाललाई जान्न पायौं यसमा हामी धेरै खुसी छौं । ‘मसँग नेपालका तस्बिरहरू र मेरो यात्राका डायरीहरू छन्, जुन मेरा अमूल्य सम्झनाहरू हुन् ।’ 

मैले क्रिस्टालाई जवाफ दिएँ, ‘प्रिय क्रिस्टा ! तिमी पहिलो पटक नेपाल आउँदा मेरा बाआमाको बिहा भएको थियो र त्यसको तीन वर्षपछि तिमी चौतारा आएको वर्ष तल तराईको कपिलवस्तुमा म जन्मिएकी थिएँ । हो, म कल्पना मात्र गर्न सक्छु तिमीले गरेको नेपालको यात्राका बारेमा । म यहीं जन्मेर पनि तिमी गएका सबै पर्वत शृंखलाहरू पुग्न सकेकी छैन । तिमीजस्ता पर्वतारोहीहरूको संस्मरण नेपालको ऐतिहासिक निधि हुन् ।’

अलका आत्रेय चुडाल

Link copied successfully