कविता : मेखबहादुरको खुकुरीले मान्छे काट्दैन

चैत्र १६, २०८१

श्रवण मुकारूङ

Poem: Mekh Bahadur's khukuri does not bite people
news-wrap-sec

आफ्नै हृदयको दहभित्रकी सुम्निमालाई हेर्न पारूहाङले घाम काट्दाजूनतारा जन्मिएको कथा

आवाज सुन्न

बतास काट्दा 

रगतको भल बर्साउँदै घाइते बतास

पहाडै–पहाड भागिहिँड्दा

गुराँस उम्रिएको कथा

बादल काट्दा 

चट्याङ, हिउँ, असिना

र, पानी परेको कथा

क्षितिज काट्दा 

समुद्र गर्भिणी भएको कथा

...

मारिनुअघि

हजुरआमाले सुनाउनुभएका

यस्तै तिलस्मी कथाको धङ्धङेले

news-wrap-sec

कलम भिरेर हिँड्नुपर्ने युगमा 

खुकुरी भिरेर हिँड्छ मेखबहादुर

मानिसहरु भन्छन्–

‘मेखबहादुर काँचो छ ।

जंगली जनावरसित बच्न 

खोरिया फाँड्न

वा, गोठको घोचा तिखार्न

चोया काढ्न

पोया बाट्न

अथवा बिनायो खिप्न

उसका पुर्खाले भिरेका थिए सिरूपाते

अफसोस !

आइलाग्यो बाउ, कोसित लडूँ ?

पहिलोपल्ट

मेखबहादुरका चेब्जुले

आफैंलाई काट्न आउने

आफ्नै वंश काटेका थिए ।

त्यसपछि तिनले 

news-wrap-sec

खोला खोस्न आउने

सम्धी काटे

जंगल लुट्न आउने

जुवाइँ काटे

जमिन हडप्न आउने

गोर्खाली सेना काटे ।

मान्छे काट्ने मेलो बस्यो

मेखबहादुरको जिजुले

अंग्रेज सेना काटे

बराजुले–

विश्वयुद्धमा काट्न बाँकी कोही राखेनन् ।

जुहारीमा हारेर आफ्नी स्वास्नी

जित्ने गायकसित 

मेलाबाटै भागेको थाहा पाएपछि

मेखबहादुरका बाजे टेकबहादुरले

बाटो छेकीछेकी जार काटे ।

रिस मरेन, स्वास्नी काटे

news-wrap-sec

घरको खााबो, घुर्‍यानको मकै काटे

अहा अझै रिस मरेन

उनले आफ्नै घाँटी काटे ।

कलिला आँखाले यत्रो विध्वंस देखेर

गहिरो आत्मज्ञान पाएका

मेखबहादुरका बाउले 

कुभिन्डो त के, जीवनभर 

कसैको कुरासमेत काटेनन्

तर, खुकुरी 

उनको कम्मरमा सधैं झुन्डिरहृयो

किनभने–

मेखबहादुरको आमालाई यो विश्वास थियो कि

सुहागरातमा–

लोग्ने रेखबहादुरले खुकुरी भिरेकै कारण 

मेखबहादुर जन्मिएको हो ।

news-wrap-sec

निघार पियो कि

चमचम खुकुरी नचाउँदै 

हाटबजार डुलिहिँड्ने मेखबहादुर

आधा उमेर ढल्केपछि बल्ल होसमा आयो

र, बाउको मार्ग पछ्यायो 

त्यसैले त आज

पुर्खाले फौदारी खेलेको

आफूले छेलो हानेको 

घुँयेत्रो फालेको

यो डाँडाको बूढो रूखमुनि बसेर 

पर...बिजुलीको हाइटेन्सन लाइनमुनि 

हरियो घाँस नपाएर

अल्मलिरहेका गाईवस्तु हेर्दै 

मेखबहादुर

खुकुरीले खुट्टाको नङ काटिरहेछ ।

...

अहो !

news-wrap-sec

विश्वयुद्धमा मान्छे काटेको खुकुरीले 

गोर्खा, नङ काटिरहेछ ?!

ओ माई गड...!

आश्चर्यचकित भए– 

सांग्रिलाको खोजीमा आएका पर्यटक।

अचानक

कुइरे देखेर तर्सियो मेखबहादुर

के, हल्ला साँच्चो थियो...? 

घुसेकै हो त अमेरिका...?

थाहा छ मेखबहादुरलाई

भक्ति थापाले झैं

तोपमा तरबार घुसार्ने समय होइन यो

त्यसैले 

सर्माउँदै उचालेर खुकुरी

क्यामेरामा मुस्कुरायो मेखबहादुर

र, भन्यो उसले–

news-wrap-sec

‘बुद्ध वज् बोर्न इन नेपाल

आइ लाइक अमेरिका ।’

किनकि उसले अझै

आफ्नो जीवनको पट्यारलाग्दो आयु काट्नु छ

किनकि

न्युयोर्क सहरको कुनै साँघुरो कुनामा 

उसको छोरो पिज्जा काटिरहेछ

कुनै दिन

उसको नातिले दुःख काट्ने छ

र, पनातिले केक काट्ने छ ।

श्रवण मुकारूङ

Link copied successfully