फिल्म महोत्सवको ‘भिजुअल लिट्रेसी’

सांस्कृतिक सहरमा बर्सेनि महोत्सव हुन्छन्, तिनले फरक बहस छेड्छन्, नयाँ स्वादका फिल्म देखाउँछन् ।

चैत्र १६, २०८१

रीना मोक्तान

Film Festival's 'Visual Literacy'

कुलमान घिसिङको खबरले सहर तात्तिनुअघि काठमाडौं केमा व्यस्त थियो ? हो, दुर्गेश थापाको गीतमै झुमिरहेको थियो । तर, ‘हट भएर पट भएर’ को रौनक नसकिँदै काठमाडौं कलाका रङमा सजिएको थियो ।

चैतको हावाले कलाको यो रङलाई सुकाएर गाढा बनाइदिँदा काठमाडौं रंगीन बन्यो । गएसाता काठमाडौं फिल्म र नाट्य महोत्सवमा मस्त थियो । यहाँ एकैसाथ दुई महोत्सव चलिरहेका थिए– नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ– आठौं संस्करण) र नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट– तेस्रो संस्करण) । यी दुई महोत्सवले अन्तर्राष्ट्रिय पाहुना घर भित्र्याउँदै फिल्म र नाटकको भव्य महोत्सव मनायो । 

विदेशी पाहुनाका सिर्जनाहरू कत्तिले क्यू.एफ.एक्स.का पर्दाहरूमा हेरे, कत्तिले मण्डला थिएटरको प्रांगणमा । त्यस अर्थमा काठमाडौं यो साता महोत्सवमय रह्यो । ‘निफ’ ले नेपाली फिल्मकर्मीलाई एकै साथ भेला गराउँदै विभिन्न चाखलाग्दा विषयमा बहस–विमर्श गरायो । फिल्मकर्मीको जमघटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्महरू हेर्दै कथाहरूको उत्सव मनायो सहरले । उता, मण्डलाको प्रांगण र दुई वटा थिएटरमा विदेशीदेखि स्वदेशी नाटकको मञ्चन निरन्तर 

भइरह्यो । ‘निटफेस्ट’ ले संगीतदेखि कविता, लाइभ चित्रकलादेखि कलाका विभिन्न आयाम समेट्दै ‘रैथाने ज्ञानको उज्यालोतर्फ’ दैनिक ६ सय दर्शकलाई डोर्‍यायो । 

चार महिनाअघि पनि काठमाडौंमा यस्तै महोत्सव भएको थियो– नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार महोत्सव । महोत्सवको १२ औं संस्करणमा भारतीय निर्देशक पायल कपाडियाले बनाएको ‘अल वि इमाजिन एज लाइट’ जस्ता फिल्म दर्शकले हेरे । यसबीच फिल्म साउथ एसिया (एएसए) ले दक्षिण एसियाकै डकुमेन्ट्री–मेकरलाई काठमाडौं निम्त्यायो र देखायो मानव जीवनसँग नजिक रहेका सशक्त कथाहरू । अहिले काठमाडौं किम्फ (काठमाडौं माउन्टेन फिल्म फेस्टिभल) पर्खिरहेछ । 

नेपालमा ‘किम्फ’, ‘निफ’, ‘एफएसए’ र ‘मानवअधिकार फिल्म महोत्सव’ सक्रिय रूपमा आयोजना भइरहेका महोत्सवमा पर्छन् । हुन त यस अलावा थुप्रै फिल्म महोत्सव भइरहेकै छन् । तर, यी माथि उल्लेख गरिएका केही प्रमुख महोत्सव हुन्, जसले लामो समय आफूलाई टिकाउँदै र महोत्सवको साख पनि जोगाउँदै आएका छन् । यी चारै महोत्सवका आ–आफ्नै स्वाद र आफ्नै विशिष्ट उद्देश्य छन् । 

‘फिल्म साउथ एसिया’ डकुमेन्ट्रीहरूका लागि दक्षिण एसियाकै उत्कृष्ट महोत्सवमा गनिन्छ । ‘किम्फ’ हिमाल र हिमाली भेगसँग सम्बन्धित कथाहरूको उत्सव मनाउने थलो बनिसक्यो । ‘नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ ले मानवअधिकारका पक्ष समातेका फिल्म देखाउँछन् र मानवअधिकारका सवाल उठाउँछन् । ‘निफ’ ले मूलधारका फिल्म समेट्दै पूरै नेपाली फिल्म उद्योगलाई जोड्ने प्रयास गरिरहन्छ । 

विविधताले भरिएका यी महोत्सव बर्सेनि काठमाडौंमा आयोजना हुन्छन्, फरक बहसहरू छेड्छन् अनि नयाँ स्वादका फिल्महरू पस्कन्छन् । वर्षौंदेखि फिल्म महोत्सव आयोजना त भइरहेको छ, तर अहोरात्र खटेर महोत्सवका आयोजकले गर्न खोजेका चाहिँ के हुन् ? आखिर हरेक दिन भाइरल हुने गीतहरूमा रम्ने, मसिना किस्सामा अल्झिने अनि ठूला मुद्दामा घोत्लिने नेपाली समाजका लागि यसको आवश्यकता र महत्त्व के ? उसो त महोत्सवबिनै पनि काठमाडौं रंगीन छ, ‘कता हिँडेको’ भन्दै रमिरहेकै छ । यस्तोमा स्वदेशीदेखि विदेशी दर्शक, फिल्म अनि फिल्मकर्मी भेला गराउँदै किन फिल्महरू देखाइरहनुपर्‍यो ? महोत्सव खासमा आवश्यक छन् कि ती अब बाध्यता हुन् ? 

‘शाम्बाला’ फिल्मका निर्देशक मीन भाम फिल्मकर्मीका लागि मात्रै नभई आम दर्शकमा पनि महोत्सवले निकै महत्त्व राख्ने विचार राख्छन् । ‘महोत्सवहरू यस्ता प्लेटफर्म हुन्, जहाँ हामी हलमा नचल्ने र पहुँचमा नभएका फिल्म, लघु फिल्म हेर्न पाउँछौं । यसले हाम्रो भिजुअल लिट्रेसी बढ्छ, संस्कृतिको आदानप्रदान हुन्छ । विश्व सिनेमा कता ढल्किएको छ ? त्यसको अध्ययन अनुभव, अनुभूति लिन पनि महोत्सव चाहियो,’ भाम भन्छन्, ‘हामी फिल्मकर्मीका लागि महोत्सवहरू सिकाइ र बुझाइको थलो हो । विश्वका फिल्मकर्मीले महोत्सवहरूमा आएर बाँड्ने अनुभव–अनुभूतिले युवा फिल्मकर्मीमा उत्साह थप्छ ।’ 

काठमाडौंलाई सांस्कृतिक हबका रूपमा चिनाउन महोत्सव आवश्यकता रहेको ‘किम्फ’ की निर्देशक रम्यता लिम्बू बताउँछिन् । ‘महोत्सव हुनु संस्कृति आदानप्रदान पनि हो । त्यसैले विभिन्न देशमा सरकारले नै महोत्सव आयोजना गर्छन् । त्यसैले पहिचान, कला, संस्कृति र मौलिकता जोगाइरहने प्लेटफर्म चाहिन्छ,’ लिम्बू भन्छिन्, ‘फेस्टिभलमा विचारको आदानप्रदान पनि हुन्छ । त्यसैले महोत्सव आवश्यक छ ।’

मीनका अनुसार, यस्तै महोत्सवमा फिल्मकर्मीले घरेलु दर्शकलाई फिल्म देखाउन पाउँछन् । योपालि उनले ‘निफ’ मा ‘शाम्बाला’ देखाए । हलसम्म नपुगेका, फिल्म हेर्न नपाएका दर्शकले महोत्सवमा ‘शाम्बाला’ हरे । नेपालमा लघु फिल्म देखाउने माध्यम र बजार छैन । लघु फिल्म बनाइरहेकाहरूले पनि महोत्सवमार्फत घरेलु दर्शकलाई फिल्म देखाउने मौका पाउँछन् । विभिन्न फेस्टिभल घुमेको ‘साक्षी रुख’ ले ‘निफ’ मा पहिलो पटक घरेलु दर्शक पायो । त्यसअघि विदेशी दर्शकले फिल्म हेरे पनि नेपाली माटोको कथा बोकेको यो लघु फिल्म नेपाली दर्शकबीच देखाइएको थिएन । त्यस अर्थमा हलमा प्रदर्शन नहुने, दर्शकको पहुँचमा नपुग्ने फिल्म हेर्न पनि महोत्सव आवश्यक रहेको भामको बुझाइ छ । 

आखिर फिल्म हेर्नु समाज–संस्कृति बुझ्नु हो, कमजोरी पहिल्याउँदै सुन्दर समाज निर्माणमा अग्रसर हुनु पनि हो । ‘डकुमेन्ट्री पनि नेपालका हलमा प्रदर्शन हुँदैन । त्यसैले लघु फिल्म र डकुमेन्ट्री हेर्न वा देखाउन महोत्सव आवश्यक छ । यस्तो प्लेटफर्ममा दिने अवार्डले फिल्मकर्मीलाई हौसला–सहयोग मिल्छ,’ मीन भन्छन् । ‘साक्षी रुख’ बाट दुई अवार्ड जितेका निर्देशक निरञ्जन भेटुवाल आफ्नो फिल्म नेपाली दर्शकबीच देखाउन पाउँदा दंग थिए, अवाडै जित्दा फिल्म बनाउन थप हौसला थपिएको महसुस गर्दै छन् । ‘नेपालमा मात्रै होइन, संसारभर यस्तो फिल्म महोत्सव चाहिन्छ । उत्तर कोरियामा समेत फिल्म महोत्सव हुन्छ । पर्यटनकै लागि पनि यस्तो महोत्सव चाहिन्छ । नेपाल चिनाउने सशक्त माध्यम हो यो,’ मीन महोत्सवको आवश्यकता केलाउँछन् । 

युवा दर्शकलाई प्लेटफर्म दिनै ‘किम्फ’ ले सन् २००८ मा ‘नेपाल प्यानारोमा’ सुरुवात गर्‍यो । मीनको ‘बाँसुल्ली’ होस् वा दीपक रौनियारको ‘चौकठी’ विश्व बजारमा पुगेका यी फिल्मकर्मीलाई घरेलु दर्शकबीच पुर्‍याउन ‘किम्फ’ प्लेटफर्म बने । यस्तो प्लेटफर्मले युवा फिल्मकर्मीलाई प्लेटफर्म दिने रम्यता सुनाउँछिन् । ‘यो विधामा समेटिएका फिल्म हेर्दा त्यतिबेलाको समाज र पूरा नेपाल देखिन्छ । युवा पिढीका फिल्मकर्मीले आफ्नो काम यही विधामार्फत देखाउन पाउँछन्,’ रम्यता भन्छिन् ।

‘निफ’ अध्यक्ष केपी पाठक फिल्म बनाउने, बेच्ने र हेर्ने सबैका लागि महोत्सव आवश्यक रहेको बताउँछन् । ‘महोत्सव फिल्म हेर्ने मात्रै होइन, बनाउनेका लागि पनि हो । संसार बुझ्ने बलियो माध्यम हो फिल्म । त्यसैले आम दर्शकलाई कुनै देशको सांस्कृतिक–आर्थिक पाटो बुझ्न महोत्सवले सघाउँछ । फिल्म बजार चलायमान बनाउन पनि महोत्सव आवश्यक छ,’ केपी भन्छन् । ‘निफफेस्ट’ का निर्देशक दयाहाङ राई ‘एक–अर्काका अनुभव र ज्ञानबाट सिक्न–बुझ्न महोत्सव आवश्यक छ’ भन्छन् । 

फिल्म निर्देशक आचार्य गोपालको विचारमा फिल्म महोत्सवहरू भनेका संसारभरका सिनेमा हेर्न पाइने,  फिल्म मेकरका अनुभव सुन्न–सुनाउन पाइने प्लेटफर्म हुन् । ‘फिल्म फेस्टिभल धेरैभन्दा धेरै हुनुपर्छ ।

फेस्टिभलहरू विशेषतः सर्ट फिल्मका लागि मूल प्लेटफर्म हुन् । राम्रा सर्ट फिल्म मेकरले फेस्टिभलबाटै आफूलाई ब्रान्डिङ गर्छन् र फिचर फिल्मको यात्रा तय गर्छन्,’ गोपाल भन्छन्, ‘राम्रा मेकरलाई मास अडियन्ससम्म पुग्न फेस्टिभलले माहोल बनाइरहेको छ ।’ गोपालले दुई सर्ट फिल्म र आधा दर्जन डकुमेन्ट्री लेखन/निर्देशन गरिसकेका छन् । 

पैसा भर्सेस प्यासन 

थुप्र्रै देशका फिल्म एकसाथ देखाउने महोत्सवहरूका लागि ठूलै खर्च आवश्यक हुन्छ । विडम्बना ! फिल्म महोत्सवहरू थोरै खर्चमै सञ्चालित छन् । महोत्सव आयोजना गर्दा आर्थिक स्रोत जुटाउने दौडधुपमा हुन्छन् आयोजक । तिनको ध्यान महोत्सवको गुणस्तर र फिल्म छनोटभन्दा बढी अर्थ व्यवस्थापनमा हुन्छ । राज्यले कला–संस्कृतिको महत्त्व नबुझ्दा पनि यस्ता महोत्सव जेनतेन आयोजककै प्यासनले सञ्चालनमा आइरहेको ‘किम्फ’ निर्देशक रम्यता बताउँछिन् ।

‘जसरी विकसित देशमा सरकारले महत्त्व बुझेका छन्, यहाँ महत्त्व दिइँदैन । उनीहरू कलाको आदर गर्छन् । सायद अविकसित देशका लागि कलाभन्दा गरिबी निवारण महत्त्वपूर्ण लाग्ला । र, तिनलाई यस्तो महोत्सव गरेर के हुन्छ भन्ने पनि होला । तर, महोत्सवले कसरी विचारमा परिवर्तन ल्याउँछ ? कसरी त्यहाँ देखाइने फिल्मले समाज रूपान्तरण गर्छ भन्ने सजिलै देखिँदैन । त्यसैले राज्यले यसको महत्त्व बुझ्न सकेको छैन,’ रम्यता भन्छिन् । 

‘नेपाल अन्तर्राष्ट्रिय मानवअधिकार फिल्म महोत्सव’ का निर्देशक पाण्डभ खत्रीको भनाइ पनि रम्यताको जस्तै छ । ‘यहाँ कलाका काम गर्न धेरै ठूलो चुनौती छ । चाहिने स्रोत छैन । नेपाल सरकारलाई पनि चासो छैन । त्यसैले चुनौती छ,’ पाण्डभ भन्छन् । 

आर्थिक स्रोतको अभावसँग महोत्सवहरू जुधिरहेको देख्दा मीनलाई पनि लाग्छ– कहिलेसम्म हुने हुन् यी महोत्सव ? 

महोत्सवमा जोडिएका व्यक्तिका व्यक्तिगत चासो र समयले मात्रै महोत्सव सञ्चालनमा आइरहेको मीनको अनुभवले भन्छ । चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड, सञ्चार मन्त्रालय वा काठमाडौं महानगरपालिकाजस्ता सम्बन्धित निकायले महोत्सव सञ्चालनमा बलियो भूमिका देखाउन सक्नुपर्ने भनाइ राख्छन् मीन ।

‘सम्बन्धित निकायले साथ दियो भने मात्र यस किसिमको महोत्सव बाँच्ने आधार हुन्छ,’ मीन भन्छन् । राज्यको लगानी भइदिए विश्वस्तरमा भइरहेका ‘स्क्रिप्ट ल्याब’, ‘ट्यालेन्ट’ देखि ‘मार्केट’ सम्मका प्यानल छलफलका थुप्रै विधाले नेपाली महोत्सवलाई फराकिलो बनाउँदै लैजान सकिने भामको विचार छ । भन्छन्, ‘निजी क्षेत्रका सीएसआर यता आए महोत्सव अझ फराकिलो बन्ने थियो ।’ 

महोत्सवका चुनौती कति छन् कति ! नेपालमा धेरै दर्शक राखेर फिल्म देखाउन राम्रो हलकै पनि अभाव छ । यस पटक निजीस्तरमा स्थापित हलहरूले निफसँग साझेदारी गरेको थियो । त्यसैले निफका अधिकांश फिल्म क्यूएफएक्सका हलमा हेर्न पाइन्थ्यो । तर, अन्य महोत्सवका फिल्म कस्तो हलमा हेर्नुपर्छ ? सभागृह, पर्यटन बोर्ड वा चलचित्र विकास बोर्डको हल विश्वस्तरका फिल्म देखाउन प्राविधिक पक्षका सवालमा सबल छन् ? केपी पाठक भन्छन्, ‘फिल्मकर्मीले बनाएकै क्वालिटीमा फिल्म देखाउन सकिने भेन्यू हामीसँग छैन ।’ 

आर्थिक अभावकै कारण यसबीच ‘आदिवासी–जनजाति फिल्म फेस्टिभल’, ‘एकादेशमा’ लगायतका फेस्टिभल बीचमै हराए । ‘एकादेशमा फेस्टिभल लघु फिल्ममा निकै बलियो उपस्थिति जनाइरहेको महोत्सव थियो । आदिवासी महोत्सवले पनि निरन्तरता पाउन सकेन, त्यो दुःखको कुरा हो,’ लामो समय हिमाल एसोसिएसनअन्तर्गत ‘किम्फ’ सञ्चालन गरिरहेका लेखक वसन्त थापा भन्छन्, ‘खासमा यस किसिमको फरक–फरक महोत्सव हुनुपर्थ्यो । वातावरणसम्बन्धी, युवादेखि बालबालिका र एनिमेसनसँग सम्बन्धित फिल्म महोत्सव भइरहनुपर्छ, जसले फिल्मकर्मीलाई ऊर्जा दिइरहन्छ ।’ 

बहसले ल्याउने परिवर्तन 

महोत्सवको महत्त्व त्यहाँ आयोजना हुने अन्तर्क्रियात्मक बहसले पनि देखाउँछ । महोत्सवका यस्ता बहसले समाजका जटिल मुद्दामा विचार, विमर्श गराउँछ । समाजको चेत र विचार बदल्न सक्ने ल्याकत यी बहसमा भेटिन्छन् । यो वर्ष ‘निटफेस्ट’ ले नीतिस्तरमै प्रश्न उठाउने बहस चलायो । कला र महोत्सवको आवश्यकता बुझाउँदै नीतिगत तहमा रहेकालाई यसको महत्त्वमाथि घोत्लिन लगायो । ‘निफ’ ले फिल्मसँग सम्बन्धित समस्या, कलाका सुन्दर पक्ष अनि कलाको सौन्दर्यमाथि बहस छेड्यो । महोत्सवले बहसहरूमार्फत पनि समाज परिवर्तनमा भूमिका खेल्छ । 

सन् १९८० तिर यौनिक तथा अल्पसंख्यकका विषयलाई निकै नकारात्मक रूपमा लिइन्थ्यो । यस्तै प्लेटफर्महरूले त्यो विषयलाई बहसमा ल्याइदियो । हामीकहाँ चाहिँ उही पुरानै विषयमा अन्तर्क्रियात्मक कार्यक्रम अल्झिएको निर्देशक नवीन सुब्बा बताउँछन् । ‘फिल्म फेस्टिभल भइरहेका छन् । तर, नेपाली फिल्म फेस्टिभलहरू जसरी विकास हुनुपर्ने त्यसरी भइरहेको छैन । विश्व फिल्म र नेपाली फिल्ममा पुर्‍याउनुपर्ने योगदान पुर्‍याउन सकेको छैन । बजेटको सीमितता वा सरकारको नीतिगत उद्देश्य नभएर पनि यस्तो भएको हुन सक्छ वा आयोजकहरूको भिजन नभएर पनि,’ सुब्बा भन्छन्, ‘अहिले १० औं, १५ औं वर्षमा फेस्टिभल भइरहेका छन् । तर, एउटा वर्षमा भएको कुरा अर्को वर्ष फेरि दोहोरिन्छ ।’ 

फेस्टिभलका बहसका कार्यक्रम सीमित हुने गरेको मीनको विश्लेषण छ । ‘यस किसिमको छलफलमा एकअर्काका अनुभूति र अनुभवबाट पनि सिक्न सकिन्छ । तर यस्तो छलफल एकदम कम भयो, धेरै नै हुनुपर्छ । हामी अहिले काठमाडौं केन्द्रित महोत्सव गर्छौं, त्यसै किसिमको बहसमा केन्द्रित 

छौं,’ मीनको तर्क छ, ‘पर्यटनका हिसाबले सिनेमाको प्रचुर सम्भावना भएका ठाउँमा यस्तो छलफलको आवश्यकता देख्छु, जस्तै मधेश । मधेशको जनजीवन पनि फिल्ममा आएको छैन । त्यति धेरै आवादी भएका ठाउँमा गएर फिल्म देखाउन पाए र छलफल गरिए, दर्शकको भिजुअल लिट्रेसी बढ्ने थियो । विदेशी फिल्मकर्मीलाई पनि त्यहाँको भाषा, संस्कृतिमाथि फिल्म बनाउन आकर्षित गर्न सकिन्थ्यो ।’ 

पुग्नुपर्ने गन्तव्य 

खासमा महोत्सव त बृहत्तर नै हुनुपर्ने हो । दक्षिण एसियाकै सशक्त महोत्व हबका रूपमा काठमाडौंलाई चिनाउन सक्नुपर्थ्यो । विश्व बजारलाई नेपालको महोत्सवमा आकर्षित गर्न सक्नुपर्थ्यो । तर, त्यसो गर्न हामी चुकिरहेका छौं । जस्तो, नेपाल मानवअधिकार फिल्म महोत्सवले पायल कपाडियाको ‘अल वि इमाजिन एज लाइट’ फिल्म देखायो, जुन उदाहरणीय थियो । यस्तो फिल्मले आम दर्शकमा ‘फिल्म लिट्रेसी’ बढ्छ । तर, नेपालका महोत्सवले विश्वस्तरका फिल्म र फिल्मकर्मीलाई ल्याउन सकिरहेका छैनन् । 

यो वर्ष बर्लिनले ‘प्यारासाइट’ निर्देशक बोङजुन होको फिल्म ‘मिकी १७’ को विश्व प्रिमियर गराउन सफल भयो । विश्वका चर्चित निर्देशकहरू बोङदेखि होङ साङ सु, लिचर्ड लिंकलेटरहरूका फिल्म देखायो । टिमोथी स्यामलेटको ‘अ कम्प्लिट अननोन’ देखि रिचर्डकै ‘ब्लुमुन’ जस्ता फिल्म अनि विश्व चर्चित स्टारहरू रोबर्ट प्याटिन्सन, इथन हक, टिल्डा स्विन्टनलगायतलाई रेड कार्पेटमा हिँडायो । नेपालका फिल्म महोत्सवले अनमोल केसी, प्रदीप खड्का, प्रियंका कार्कीलाई पनि आकर्षित गर्न सकिरहेको छैन । नेपालका महोत्सवले बोङका फिल्म कहिले देखाउने ? विश्वका चर्चित निर्देशकदेखि कलाकार र निर्मातालाई कहिले आकर्षित गर्ने ?

खुला आवेदनको भर पर्दा चर्चित निर्देशकदेखि निर्मातालाई नेपाली महोत्सवमा जोड्न नसकिएको मीनको बुझाइ छ । ‘कहिलेकाहीं अवार्डका रकमले पनि फिल्मकर्मी आकर्षित हुन्छन् । खुला आवेदनदेखि बाहेक आफ्नै पहलमा कान्स, भेनिस, बर्लिनमा छनोट भएकै फिल्म ल्याएर देखाउन सकिन्थ्यो । त्यस्तो भएको भए उनीहरू आकर्षित हुने थिए हाम्रो महोत्सवमा, ‘मीनले भने, ‘आफूझैं देखिने, अवधारणा मिल्ने अन्य महोत्सवसँगको सहकार्यमा हामी चुकिरहेका छौं ।’ 

आर्थिक स्रोतकै कारण विश्वका फिल्म अझै महोत्सवमा ल्याउन नसकिएको केपी पाठकको अनुभवले भन्छ । ‘विश्वका फिल्म ल्याउन खोज्दा उनीहरू स्क्रिनिङ–खर्च माग्छन् । फेस्टिभल आयोजना गर्ने खर्चकै लागि संघर्ष गरिरहँदा यस्तो खर्च कसरी गर्नु ?’ उनी भन्छन् । महोत्सव गर्नु सहज नरहेको बसन्त थापाको अनुभव छ । ‘महोत्सवमा भनेजस्तो सहयोग कतैबाट आउँदैन । कसैले गरिरहाले पनि पटके सहयोग गर्छन् । यस्तै चुनौती झेल्दै आइयो । सरकारले त सहयोग नै गर्दैन । महोत्सव आयोजना गर्नु निकै गाह्रो काम हो । निश्चित स्रोत भइदिएको भए यसरी पाहुना बोलाऔं, यसरी योजना बनाऔं भन्ने हुन्थ्यो । अन्तिम समयसम्म पनि कुन कार्यक्रम गर्ने निश्चित छैन, सबै कार्यक्रमका लागि खर्च चाहिन्छ । यस्तै अनिश्चिततामै फेस्टिभल गर्दै आयौं,’ थापाले भने । 

फिल्म किनबेच हुने बजारकै पक्षमा पनि नेपालका महोत्सव कमजोर छन् । विश्वस्तरका प्रतिष्ठित फिल्म महोत्सवमा फिल्म किनबेचको छुट्टै बजार हुन्छ, जहाँ, फिल्मकर्मीले आफ्नो फिल्म किन्न–बेच्न पाउँछन् । यस किसिमको प्लेटफर्म भारतमै पनि सक्रिय छ । यस्तो बजारमा विश्वस्तरका फिल्मकर्मी, निर्माता र निर्देशक बोलाइन्छ । निर्माणाधीन फिल्म देखाउँदै फिल्मकर्मीले आफ्नो फिल्मको बजार खोज्छन् वा फिल्मको लगानी पनि भेट्न सक्छन् । ‘निफले पनि केही विदेशी फिल्मकर्मी बोलाएर नेपालमा इडिटिङ सकेर बसेका र महोत्सव ताकिरहेको फिल्मलाई बजारसँग जोडिदिने काम गर्न सक्थ्यो । त्यस्तो विधा राख्न पाएको भए ती फिल्म विश्व बजारमा बिक्री हुने सम्भावना बढ्थ्यो,’ भाम भन्छन् । 

नेपाली महोत्सवले बृहत्तर दर्शक पाउन सकेको छैन । बर्लिन, कान्स, भेनिस, लोकार्नो र बुसानहरूले २० औं हजार फिल्मसँग सम्बन्धित सरोकारवाला भेला गराउँदा नेपाली महोत्सवले १० औं हजारको पनि लक्ष्य राख्न सकिरहेका छैनन् । निर्देशक गणेशदेव पाण्डे नेपालका महोत्सवले नेपाली फिल्मकर्मीलाई पनि एकै ठाउँ भेला गराउन चुकिरहेको धारणा राख्छन् । ‘नेपालमा कतिबेला महोत्सव हुन्छ भन्ने कुरा समाचारबाट मात्रै थाहा हुन्छ । यस्ता महोत्सवले हामीजस्ता फिल्मकर्मीसँग पनि पहुँच बढाउँदैनन् । हामी स्वेदशमै भएका फिल्मकर्मीलाई त जोड्न सक्नुपर्ने हो नि !,’ पाण्डेले भने । 

आर्थिक भार कम भइदिए वा राज्यले नै यस किसिमको महोत्सवमा लगानी गरिदिए विश्वका हस्तीहरूलाई नेपालका फिल्म महोत्सवमा आकर्षित गराउन सकिने मीनको विचार छ । 

सन् १९९७ मा सुरु भएको नेपालको पहिलो फिल्म महोत्सव ‘फिल्म साउथ एसिया’ (एफएसए) हो । त्यसपछि ‘किम्फ’ (सन् २०००) । २००५ सम्म यी दुई महोत्सव ‘हिमाल एसोसिएसन’ अन्तर्गत हुन्थ्यो । त्यही संस्थाका तत्कालीन कार्यकारी निर्देशक बसन्त थापा आफूले सोचेजस्तो 

महोत्सव हुन नसकेको बताउँछन् । ‘जुन किसिमको बृहत्तर र गुणस्तरीय महोत्सव सोचेको थिएँ, त्यो भइरहेको छैन, मैले अहिले युवाहरूलाई महोत्सव सुम्पेको छु । संसारभरबाट हस्याङफस्याङ गर्दै मानिसहरू हाम्रा महोत्सवमा आउन्,’ थापाले भने, ‘क्वालिटीको दृष्टिले होस् या दर्शकको सहभागिताका हिसाबले, ठूला सेलिब्रेटीलाई आकर्षित गर्ने महोत्सव हुन जरुरी छ । काठमाडौंमा हुने महोत्सवमा जानैपर्छ भन्ने भाष्य विश्वमा पुर्‍याउन सक्नुपर्छ । हामीले कलाको यो सफ्ट पावरलाई विश्व बजारमा बेच्न सक्छौं ।’ 

अहिले भइरहेका कलाका गतिविधिले बिस्तारै महोत्सवलाई बृहत्तर बनाउँदै लैजाने आशामा छन् अभिनेता दयाहाङ राई । ‘हामी सीमित स्रोतसाधनमा काम गरिरहेका छौं । संसारभरका महोत्सवमा पुग्न कलाकारलाई त्यही देशका संघसंस्थाले टिकट खर्च दिन्छ । हामीकहाँ त त्यही पनि छैन । हामी त आफ्नै स्रोत–साधनमा काम गरिरहेका छौं,’ दयाहाङको प्रश्न छ, ‘यस्तो महोत्सव भइरहे, नीतिगत हिसाबले राज्यले पनि लगानी गर्न थाल्ला ?’ 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully