जीवा लामिछानेको विचारमा यात्रा–लेखक एक दस्तावेजकर्ता हो, जसले आफू पुगेको ठाउँ, प्रकृति–संस्कृति, अनुभूति र समयलाई शब्दमा कैद गर्छ । पृथ्वीको सबैभन्दा दक्षिणमा अवस्थित १ करोड ४२ लाख वर्गकिलोमिटर क्षेत्रफलको महादेश अन्टार्कटिकाको भ्रमणपछि उनले लेखेका छन्– ‘अक्षत अन्टार्कटिका’ ।
सरल–कलात्मक ढाँचामा लेखिएको यो यात्रा–संस्मरणले पाठकलाई अन्टार्कटिकाको तिलस्मी संसार परिभ्रमण गराउँछ । ‘यात्रीले यात्रालाई जीवनको पाठशालाका रूपमा ग्रहण गर्छ’ सोच्ने लामिछानेसँग दीपक सापकोटाको अन्टार्कटिका–संवाद :
‘यात्रा रहेछ जिन्दगी’ गीत तपाईंकै लागि लेखिएझैं भयो । यात्रा के रहेछ ? यात्री के रहेछ ?
हो, त्यो गीतले भन्न खोजेको कुरा हाम्रो जीवनमा मेल खान्छ, मेरो जीवनसँग पनि मेल खाएको छ । यात्रा गर्नु भनेको केवल भौगोलिक दूरी पार गर्नु होइन, जीवनका अनुभवहरू सञ्चित गर्ने प्रक्रिया पनि हो यात्रा । जीवनको यथार्थलाई नजिकबाट बुझ्ने र साक्षात्कार हुने माध्यम पनि हो– यात्रा । यात्रामा हामी नयाँ ठाउँ मात्र देख्दैनौं, आफ्ना विचार, भावना र सम्भावनाहरूसँग साक्षात्कार पनि गर्छौं । यात्री केवल पर्यटक जस्तो कुनै गन्तव्यमा पुगेर फर्किने व्यक्ति होइन । यात्री त्यो हो, जसले हरेक यात्रालाई जीवनको पाठशालाका रूपमा ग्रहण गर्छ ! यात्रीले भोगेका, देखेका, महसुस गरेका हरेक पाटालाई आत्मसात् गर्छ । यात्रीको आँखामा ठाउँ र अनुभवहरू दुवै बोल्छन् ! घुम्नु केवल मोसन होइन, चिन्तन गर्नु पनि हो ।
लेखक हुनु र यात्रा–लेखक हुनुमा के फरक रहेछ ?
लेखक एक व्यापक सर्जक हुन्, जसले कल्पनाशक्ति, अध्ययन वा दृष्टिकोणको आधारमा सिर्जना गर्छन् । तर, यात्रा लेखकले प्रत्यक्ष अनुभवलाई शब्दमा रूपान्तरण गर्छन् । लेखकले कल्पनाबाट चरित्र सिर्जना गर्छन् भने यात्रा–लेखकले प्रत्यक्ष भोगाइबाट स्थान, प्रसंग र अनुभूति मिलाएर । यात्रा लेख्ने मानिस वास्तवमा दस्तावेजकर्ता हो, जसले आफू पुगेको ठाउँ, संस्कृति, परिवेश, अनुभूति र समयलाई शब्दमा कैद गरेको हुन्छ ।
यात्री र पर्यटकको उद्देश्यमा के समानता ? के भिन्नता ?
असलमा यात्री र पर्यटक दुवैले यात्रा गर्छन्, ती नयाँ ठाउँमा जान्छन्, अनुभव बटुल्छन् । तर, तिनीहरूको दृष्टिकोण र उद्देश्य सायद फरक हुन्छ । पर्यटकहरू प्रायः छुट्टी मनाउन, रमाइलो गर्न वा भनौं न मनोरन्जनका लागि यात्रा गर्छन् । उनीहरूको प्राथमिकता हुन्छ– ठाउँ हेर्ने, फोटो खिच्ने, रमणीय दृश्य अवलोकन गर्ने...। तर, ‘यात्री’ केही फरक हुन्छ । यात्री घुमेको ठाउँको भौगोलिकता, त्यस ठाउँको संस्कृति, समाज, इतिहास र मानिसहरूलाई नजिकबाट बुझ्ने प्रयास गर्छ । यात्रीको यात्रा ‘दृष्टिकोण’ केन्द्रित हुन्छ र पर्यटकको यात्रा ‘गन्तव्य’ केन्द्रित । त्यसैले पर्यटकले ‘यात्रा’ मात्रै पूरा गर्छ, तर यात्रीले यात्रालाई मनमस्तिष्कबाटै ‘अनुभूत’ गर्छ ।
त्यसोभए तपाईंचाहिँं अन्टार्कटिकाको यात्री कि पर्यटक ?
अन्टार्कटिकामा म पर्यटकका रूपमा गएको थिएँ । तर, अन्टार्कटिकालाई मैले गहन रूपमा बुझ्ने प्रयास गरेको थिएँ । त्यो केवल फोटो खिच्न वा घुमेका ठाउँको टिकमार्क लगाउने उद्देश्यले गरिएको यात्रा थिएन । त्यो यात्रा पृथ्वीको एउटा नयाँ र अनौठो ठाउँको स्वच्छन्द भूभागसँग संवाद गर्ने मेरो प्रयास थियो ।
तपाईंका पूर्व प्रकाशित दुई किताबभन्दा ‘अक्षत अन्टार्कटिका’ को लेखाइ भिन्न छ । एक लेखकले पूर्व लेखन–स्टाइल किन भत्काउनुपर्छ ?
लेखकको शैली समय, अनुभव र विषयवस्तु अनुसार रूपान्तरित हुँदै जान्छ । एउटा लेखकले जब नयाँ खालको अनुभव गर्छ (विशेषतः अनौठो र अद्वितीय अनुभव जसरी अन्टार्कटिका यात्रामा मैले गरें), त्यसलाई अभिव्यक्त गर्न पुरानो शैली सधैं पर्याप्त हुँदैन । ‘अक्षत अन्टार्कटिका’ लेख्दा मैले महसुस गरें कि परम्परागत शैलीमा यो अनुभव सायद खुम्चिन सक्ला ।
त्यसैले मैले इतिहास, आख्यान, तथ्य र विवरणलाई मिसाएर एउटा नयाँ संरचना बनाउन प्रयास गरें । लेखकले कहिलेकाहीँ आफ्नै परम्परागत लेखनलाई भत्काएर नयाँ ढाँचा अपनाउनु आवश्यक हुन्छ, जसबाट पाठकले अनुभवको गहिराइ र विविधता सजीव रूपमा महसुस गर्न सकून् । सिर्जना भनेकै प्रयोग हो, अनि त्यो प्रयोगमा नै बहुधाः नवीनता झल्किने गर्छ ।
समकालीन लेखन विधामा ‘यात्रा’ लोकप्रिय छ । तर, तिनमा वैयक्तिक र निर्वैयक्तिक, समकालीन र ऐतिहासिक तथा आञ्चलिक विषयवस्तु आएका छन् कि छैनन् ? नेपाली नियात्रामाथि तपाईंको समीक्षा कस्तो छ ?
समकालीन लेखनमा यात्रा विधा लोकप्रिय हुँदै गएको पाएको छु, किनभने यसले लेखकलाई आफ्ना अनुभवहरू सजीव रूपमा प्रस्तुत गर्न स्वतन्त्रता दिन्छ । नियात्राहरूमा व्यक्तिगत दृष्टिकोणको अभिव्यक्तिसँगै ऐतिहासिक, सामाजिक र सांस्कृतिक सन्दर्भ मिसिएको पाइन्छ ।
कतिपय लेखन आञ्चलिक पनि छन् । तर, धेरैजसो लेखन आत्मपरक भएको मैले पाएको छु । नेपालमा मैले नियात्रा लेखनको सम्भावना धेरै देखेको छु । हामीसँग हिमाल, पहाड, तराई, संस्कृति, जातीय विविधता, पदमार्ग, ऐतिहासिक सम्पदा र बहुभाषिक समाज छ, जसले हामीलाई ऐतिहासिक र आञ्चलिक पक्ष पनि समेट्न प्रेरणा दिन सक्छ ।
सन् १९११ मा पहिलो पटक मान्छे पुगेको अन्टार्कटिकामा नेपालबाट भुवनसिंह विश्वकर्मा ०४३ मा पुगे । यो किताब लेखनक्रममा तपाईंले उहाँसँग पनि वार्ता गर्नुभयो । त्यो वार्ता–बयान र तपाईं भर्खर त्यता पुग्दा अन्टार्कटिका कति फेरिएछ ? उनको र तपाईंको यात्राबीच के समानता ? कुन बढी रोमाञ्चक ?
भुवनसिंह विश्वकर्मा अन्टार्कटिका पुग्ने पहिलो नेपाली हुनुहुन्थ्यो । उहाँसँग कुरा गर्दा मलाई लाग्यो, त्यो समयको यात्रा आजभन्दा निक्कै कठिन र जोखिमपूर्ण थियो । प्रविधिको अभाव, सम्पर्क गर्न कठिनाइ र मौसमको स्पष्ट जानकारी नहुँदा उहाँको यात्रा साहसी मात्रै होइन, ऐतिहासिक पनि भयो । उहाँको यात्रा वैज्ञानिक खोजमा केन्द्रित थियो र अनुसन्धानकर्ताहरूको टिम–सहयोगीका रूपमा उहाँ त्यहाँ पुग्नुभएको थियो । तर, हामीले गरेको यात्रा प्राविधिक सुविधा र पूर्वतयारीसहित गरिएको यात्रा थियो । अनुभूतिका आधारमा भन्ने हो भने चाहिँ हामी दुवैको यात्रा रोमाञ्चक थिए । दुवै यात्राका आ–आफ्ना सौन्दर्य र फरकफरक महत्त्व अवश्य होलान् ।
अन्टार्कटिकामा पनि पर्यटन फस्टाउन थालिसक्यो । त्यो अक्षत भूमि अब मानवीय पाइलाको संक्रमणले क्षतविक्षत हुने डर कति छ ? हिउँको त्यो पर्यावरण र प्राणी मानिसबाट सुरक्षित रहिरहलान् ?
अन्टार्कटिका पृथ्वीको साँच्चै अक्षत र अन्तिम निष्कलंक भू–भागमध्ये एक हो । तर, हाल पर्यटन विस्तार र मानवीय चापले त्यहाँ खतरा ल्याउन सक्ला भन्ने चिन्ता पनि उब्जिएको छ । यद्यपि अन्तर्राष्ट्रिय सन्धिहरूले अन्टार्कटिकाको संरक्षण सुनिश्चित होस् भन्ने प्रयास पनि गरिरहेका छन् । यात्रा पछि मैले पर्यटन व्यवसाय र पर्यावरण सन्तुलन कायम राख्ने यथेष्ट प्रयास गरिएको अनुभूत गरें ।
त्यहाँका हिमनदी, हिमाल, पेन्गुइन, सिल, ह्वेल, अल्बाट्रोसजस्ता प्राणीहरू मानिसको बाक्लो आवतजावतले प्रभावित होलान्, प्लास्टिक–इन्धन आदिको प्रयोगले वातावरण प्रदूषित हुने खतरा बढ्न सक्ला भन्ने सोचेर वैज्ञानिक अनुसन्धान वा सचेत यात्राका लागि मात्रै अनुमति दिने गरी दिगो हुने खालका नीति निर्माणहरू बनाइएका रहेछन् । जुन सुझबुझका साथ त्यहाँ पर्यटकहरूलाई लैजाने गरिँदो रहेछ, त्यसबाट म के विश्वस्त भएँ भने पर्यटकहरूको उपस्थितिले त्यहाँको पर्यावरणलाई उतिसारो हानि पुर्याउने छैन ।
हाम्रा अक्सर यात्रा–लेखकहरू ‘घुम्न जाउँ घले गाउँ’ मै रमाइरहेको देख्छु । यात्रा लेख्नु इतिहासको अर्काइभ गर्नु पनि हो । हामीलाई यात्रा–लेखनमा के चाहिन्छ ?
यात्रा लेखनलाई केवल रमाइलो वा मनोरञ्जनको माध्यम नबनाई घुमेका ठाउँको तथ्यगत, ऐतिहासिक, सामाजिक र सांस्कृतिक विषयको दस्तावेज अभिलेखीकरण गर्नुपर्छ भन्ने मेरो भनाइ हो । कुनै ठाउँ घुम्दै गर्दा त्यहाँ बस्ने मानिस, तिनका परम्परा र आनीबानीलाई पनि समेट्नुपर्छ । तथ्य, सन्दर्भ, भावनात्मक संयोजन र अनुभूति मिल्यो भने मात्रै त्यो नियात्रा लेखनले पाठकलाई न्याय गर्न सक्ला ।
तपाईंले किताबमा लेख्नुभएको छ, ‘मलाई पक्का विश्वास छ– एउटा कोरा मान्छेलाई अन्टार्कटिका पुर्याउनुस्, ऊ कवि बनेर फर्किनेछ ।’ अन्टार्कटिकामा छ चाहिँ के, जसले हरव्यक्तिलाई कवि बनाउँछ ?
अन्टार्कटिका एउटा यस्तो स्थान हो, जहाँ मौनता पनि बोली रहेको हुन्छ । हिउँको साम्राज्य पनि जीवित भए झैँ लाग्छ । शून्यतामा पनि सुगन्ध भए झैँ लाग्छ । त्यहाँको विशालता, नीलो आकाशमुनिको सेतो साम्राज्यको फैलावट र प्रकृतिको निर्जनता
यति प्रभावशाली छन् कि हरेक मानिसको हृदयमा तिनले कम्पन ल्याइदिन्छन् । अन्टार्कटिकाले हरेक संवेदनशील मानिसको आत्मालाई हल्लाउने शक्ति राख्छ ।
अन्टार्कटिकाबाट फर्कंदा तपाईंमा यात्राको उत्साह, जिज्ञासा र प्रश्नहरू पनि थिए । यो सद्य–संस्मरणमा ती सबै लेखिसकियो कि अरू लेख्न बाँकी छ ?
‘अक्षत अन्टार्कटिका’ एउटा विशाल र अक्षत भूमिको यात्रा अनुभवलाई शब्दमा उतार्ने प्रयास हो । यात्रा समाप्त भए पनि अनुभूति भने निरन्तर भइरहन्छन् । अहिले पनि म त्यहाँका दृश्यहरू सम्झिरहेको हुन्छु । यस अर्थमा यो संस्मरण पूर्ण छैन । अझै धेरै प्रसंग, प्रश्न र अनुभूतिहरू छन् मसँग, जुन यसमा लेख्न सकिएका छैनन् ।
‘राति २ बजे सुनेको समुद्रको आवाज शब्दमा वर्णन गर्न सकिन’ भन्नुभएको छ । असलमा त्यो आवाजले तपाईंलाई के अनुभूति दिलायो ? त्यो आवाज अझै कानमा गुन्जिन्छ ?
त्यो आवाज केवल ध्वनि थिएन, एक किसिमको हृदयको अनुभूति थियो, जहाँ लेख्ने शब्दहरू सकिन्छन् । रातको मौनतामा समुद्रले आफ्ना कथा सुनाएझैँ लाग्ने क्षणलाई शब्दमा कसरी लेख्ने ? अहिले पनि आँखा बन्द गर्दा त्यो गुञ्जन म सुन्छु र यस्तो लाग्छ, मानौं अन्टार्कटिकाले मलाई अझै त्यता बोलाइरहेको छ ।
नेपालमा पोस्ट अफिस र पोस्ट म्यानहरू लुप्त भइरहँदा तपाईंले अन्टार्कटिकाको पोस्ट अफिसबाट श्रीमतीलाई चिठी पठाउनुभयो । पृथ्वीको त्यो सुदूर कुनाबाट पठाइएको चिठी ठेगानामा पुग्ला भन्ने ग्यारेन्टी थियो ? यात्राबाट फर्केको लामो समयपछि चिठी हात पर्दाको अनुभूति सुनौं त !
हुलाकबाट चिठी–पत्र लेख्ने र खसाल्ने परम्परा हराउँदै गएका बेला त्यहाँ भने यो अझै कायमै रहेछ । हराउँदै जान लागेको त्यो परम्परालाई ‘कन्टिन्यु’ गर्ने अवसर पाउँदा मलाई रमाइलो लाग्यो ! यात्रामा यस्ता साना–साना कुराहरूको अनुभूति पनि लिनुपर्छ भन्ने उद्देश्यले मैले त्यो पत्र लेखेको थिएँ ।
पत्र आफ्नो गन्तव्यसम्म तोकिएको समयमै आइपुग्छ भन्नेमा म निश्चिन्त थिएँ । त्यो चिठी केही हप्तापछि हाम्रो घरको ठेगानमा आइपुग्यो । पत्र पढेर विन्दिता खुसी भइन् । हामी डिजिटल युगमा बाँचिरहेका छौं, चिठी–पत्र प्रायः डिजिटल नै लेख्ने गर्छौं । त्यो चिठी पढेर उनले भनेकी थिइन्– हातले लामा–लामा पत्र लेख्ने बानी हजुरको अझै छुटेको रहेनछ !
अन्टार्कटिका पुग्नुअगावै ड्रेक प्यासेज भएर गुज्रिनुपर्दा समुद्रका भयानक छालहरूको साक्षी बन्नुभयो तपाईं । त्यो १२ दिने यात्राको साक्षी–बयान कस्तो छ ? किताबमा अलिखित अन्टार्कटिका–कथा के–के छन् ?
ड्रेक प्यासेजको यात्रालाई शब्दमा सीमित गर्न गाह्रो छ । ड्रेक प्यासेजका विशाल छालहरूले जहाज हल्लाउँदा मलाई लाग्थ्यो, मानिसको जीवन पनि यस्तै हो, कहिले शान्त तर कहिलेकाहीं उकुसमुकुसपूर्ण ! ‘अक्षत अन्टार्कटिका’ पुस्तकमा मैले केही अनुभवहरू समेट्ने प्रयास गरे पनि केही अनुभूतिहरू शब्दमा उतार्न सम्भव भएन, अथवा भनौं लेखनको प्रवाहमा ती छुटे । ती अलिखित अनुभवहरू मेरो मनमा अझै सुरक्षित छन् ।
एकान्तमा टोलाइरहेका पेन्गुइनका आँखामा देखिएको जिज्ञासा र निर्दोषपनलाई शब्दमा कसरी व्यक्त गर्ने ? समुद्रको सिम्फोनीबारे केही लेख्ने प्रयास गरे पनि मैले अनुभूत गरेको संगीतको पूर्ण आवाज त्यो होइन ।
हिउँले बनाएका प्राकृतिक मूर्तिहरू, चाँदनी रातमा टल्किएको समुद्रको छाया, समुद्री चराहरूको मौनता, हिउँमाथिको सूर्यको चमक– यी यस्ता सुन्दर दृश्य हुन्, जुन सायद कुनै सशक्त कविले मात्रै कवितामा कोर्न सक्ला, मजस्तो ‘अमेचर’ लेखकको क्षमताभन्दा बाहिरका विषय हुन् ती !
