खगेन्द्र संग्रौलाको कविता : इतिहासका प्रेतहरु-------------------------------------------------------
उराठलाग्दो औंसीको मध्यरातमा
मसानघाटबाट निस्केर फुत्तफुत्त
लागिरहेछन् लस्कर
मृत इतिहासका प्रेतहरु
सड्न बाँकी अवशेषहरु ।
...
सुनिन्छ सडकमा कर्कश कोलाहल
अभिनयरत छन् विकृत अनुहारहरु
र बमन गरिरहेछन् विषधारा
सौन्दर्यविरूद्ध
सिर्जनाविरूद्ध
करूणा र प्रेमविरूद्ध
जीवनको गति र उन्नयनविरूद्ध
र विरूद्ध ती यावत् चिज
news-wrap-secजो सुन्दर छन् ।
...
कविलाई प्रेत भन्छ—
कलम फाल
म लेख्छु कविता
शिक्षकलाई प्रेत भन्छ—
कक्षा छाड
म पढाउँछु पाठ
किसानलाई प्रेत भन्छ—
खलो छाड
म थन्क्याउँछु बाली
शासकलाई प्रेत भन्छ—
गद्दी छाड
म चलाउँछु शासन ।
...
news-wrap-secप्रिय युवा
प्रेतले कविता अपहरण गरेको हेर्न मन छ ?
प्रेतले कक्षा कब्जा गरेको हेर्न मन छ ?
प्रेतले खलो लुटेको हेर्न मन छ ?
प्रेतद्वारा शासित हुन मन छ ?
...
तिम्रो ठाउँमा म भए भन्दो हुँ युवा–
प्रेत घृणाको मुहान हो
news-wrap-secम सर्वथा अस्वीकार गर्छु
प्रेत कुरुपको बिम्ब हो
म हजार तिरस्कार गर्छु
प्रेत विकारको वाहक हो
तुफानी वेगमा म लखेट्छु
प्रेत प्रेमको विनाशक हो
यसविरूद्ध म लड्छु
बस्, म लड्छु
म लड्छु
अन्तिम दमसम्म म लड्छु ।
