छुट्यो मञ्च, छुटेन रंगमञ्च

पुस्तान्तरण प्रक्रिया एउटा चक्रमा घुम्छ । आफू बाँचेको परिवेशबाटै मान्छेले जीवन दर्शन र विश्वास पद्धति निर्माण गर्छ । त्यही दर्शनले आगामी पुस्तालाई बाटो देखाउँछ । हामीलाई अग्रजले सिकाएका विषय हामी रोबोटलाई भनिरहेका छौं, रोबोटले हामीलाई भनिरहेको छ । यो परिवर्तन अर्थपूर्ण छ । 

चैत्र ९, २०८१

दयाहाङ राई

Missed the stage, missed the stage

जीवनका स्वर्णिम दिनहरू अभिनय र कलाकारितामा बिताएँ । यसो बेलाबखत सोचिबस्छु– कला के हो ? र, निष्कर्ष निकाल्छु– जीवन बाँच्नु नै एउटा कला रहेछ । बाँच्न सिक्ने सिलसिलामै म एक कलाकार बनेछु । म उभिएँ– थिएटरको जगमा, लम्किएँ फिल्मतिर । एक कलाकारका लागि यो स्वाभाविक यात्रा थियो । यात्रामा अगाडि बढ्दा केही न केही पछाडि छुट्ने रहेछ । कत्तिलाई लाग्दो हो, फिल्ममा भुलेर दयाले रंगमञ्च छाड्यो । 

तर, म कसरी छोड्न सक्छु, त्यो पवित्र रंगमञ्च ? हो, मञ्च छुटेकै हो तर रंगमञ्च कहिल्यै छाडिनँ । रंगमञ्च त्यस्तो ज्ञानशाला हो, जहाँ बृहत् विद्या, कला र शिल्पको संयोजन हुन्छ । त्यो व्यापक ज्ञानशालामा सम्पूर्ण कलाको शास्त्रसँग साक्षात्कार हुन्छ । 

‘दासढुंगा’ मा अभिनय गरेपछि नै हो ‘अब फिल्ममा काम पाइन्छ’ भन्ने मलाई लागेको । ‘फिल्म खेल्छु’ भनेर हिँडिसकेपछि मञ्चमा अभिनय गर्ने लोभ त्याग्नैपर्थ्यो । ‘हाइवे’, ‘लुट’ फिल्महरूको अभिनय पछि सिनेमामा मेरो व्यस्तता ह्वात्तै बढ्यो । थिएटरमा अभिनय गर्न नभ्याउने भएँ । त्यसबेला पनि रंगमञ्चसँग कसरी जोडिने भन्नेमा म स्पष्ट थिएँ । फिल्महरूमा अत्यन्तै व्यस्त रहेका रात–साँझहरूमा पनि मैले ‘मेरो जीवनबाट थिएटर छुट्यो वा ‘छुट्नेछ’ भन्ने कहिल्यै सोचिनँ । 

रंगमञ्चमा प्रतिबद्ध साथीहरू मिलेर मण्डला थिएटर सुरु गरेको पनि १७ वर्ष बितेछ । त्यो डेढ दशकमा फिल्मबाहेक मेरो अधिकांश समय थिएटर व्यवस्थापनमै बित्यो । बेला–बेला फिल्मबाट समय चोरेर कहिले नाटक लेख्थें, कहिले नाटक निर्देशन गर्थें । फेरि स्टेज नै चढ्न भने धेरै वर्ष लाग्यो । वर्षौंको अन्तरालमा ‘महाभोज’ र ‘कोर्टमार्सल’ नाटकमा अभिनय गरिएछ । एक दर्जन जति नाटक पनि लेखिएछ । मण्डला थिएटर अनामनगरबाट थापागाउँ सरेपछि ‘कुभिन्डोको कथा’ नाटक निर्देशन गरें । पुरानै नाटक ‘मीतज्यू’ पनि रिडिजाइनसहित मञ्चन भयो । 

Missed the stage, missed the stage

फिल्मको कामबाट थाकेर जबजब म मण्डला थिएटर छिर्थें, अति सहज र आनन्दको महसुस हुन्थ्यो । आज पनि मण्डला–आँगनमा पाइला टेक्दा सुरक्षित महसुस गर्छु । मलाई नाटकतिर तान्ने विषय नै यही हो । फिल्ममा काम गर्दा म दर्शकबाट अलि टाढा पुगेको हुन्छु । धेरै दर्शक र हाहाहुहुको माहोलमा म अलिकति बदलिनुपर्छ । यो सबै मलाई मन पर्दैन, तर गर्नैपर्छ । ‘फेक रियाक्सन’ का लागि मोहित भइरहेछौं हामी । त्यसैले आफूलाई ‘अर्ग्यानिक’ बनाइराख्न पनि मैले थिएटर छोड्नु हुन्न भन्ने सोच्छु । 

थिएटरमा संघर्ष गर्दा सुरुदेखि नै मेरा केही सपना थिए, केही परिकल्पना थिए । मसँगै मेरो टिमको सपना र परिकल्पना पनि थपिएको थियो । हामी आफ्नै काम मञ्चन गर्न र नेपालभरिका कलाकारसँग सहकार्य गर्न चाहन्थ्यौं । देश–विदेशमा भएका कलाकारसँग कला–संस्कृति आदानप्रदान गर्न चाहन्थ्यौं ।

नेपालमा विदेशी कलाकारहरू डाकेर हाम्रा कथा, शैली, संस्कृति देखाउन चाहन्थ्यौं । र, त्यसरी नै हामी पनि देशको प्रतिनिधित्व गरी अरू देश पुगेर नयाँ कुरा हेर्न र देखाउन चाहन्थ्यौं । अहिले मण्डला थिएटरले ‘निटफेस्ट– २०२५’ (नेपाल इन्टरनेसनल थिएटर फेस्टिभल) आयोजना गरिरहेको छ । यो फेस्टिभल मार्च १९ देखि २५ सम्म चल्नेछ । हाम्रा नाटकहरू विदेश लैजाने र विदेशका नाटक नेपालमा मञ्चन गर्ने अनि संस्कृतिहरू आदानप्रदान गर्ने उद्देश्यले नै यो थिएटर फेस्टिभलको परिकल्पना गरिएको हो । 

Missed the stage, missed the stage

सन् २००७ मा म पहिलो पटक नाट्य महोत्सवमा सहभागी हुन कलाकारका रूपमा एनएसडी (राष्ट्रिय नाट्य विद्यालय), नयाँदिल्ली पुगेको थिएँ । त्यो एनएसडी–फेस्टिभल मेरा लागि बेग्लै र सानदार अनुभव थियो । ती दिनका स्मृति मसँग ताजै भएर बसिरहेका छन् । 

सन् २००९ मा उडिसाको अर्को नाट्य महोत्सवमा निर्देशकका रूपमा म पहिलो पटक सहभागी भएँ । त्यो गजबको इम्प्रेसन थियो मेरा लागि । नाटकको भर्खर–भर्खर जुर्मुराउँदो त्यस समयमा देखेका दृश्य मेरा आँखामा अहिले पनि नाचिरहन्छन् । त्यो बडो मोहित र आकर्षक थियो । त्यसले दुई/तीन वर्षसम्मै ऊर्जा दिएको थियो । त्यही बेलादेखि नेपालमा पनि त्यस्तै भव्य महोत्सवहरू हुनुपर्छ भन्ने लाग्थ्यो । 

मलाई सधैं के लागिरहन्थ्यो भने सहरमा यस्तो स्पेस होस्, जहाँ आनन्दले बसेर चिया खान पाइयोस्, मस्तले कलाका अनेक विषयमा गफ गर्न पाइयोस् अनि नाटक हेरेर, संगीत वा कविता सुनेर आनन्द लिन पाइयोस् । 

हामी नेपाली युवा धेरै हिसाबले निराश छौं । घरदेखि अफिस र अफिसदेखि घर आउजाउ गर्दा बाटोमा श्वास फेर्न पनि गाह्रो छ । सहरमा एउटा कुना पनि नछाडी घर निर्माण गरिरहेका छौं । घरैघरैको यो सहर कुनै कहरभन्दा कम छैन । यस्तो सहर निर्माण गरेका छौं, जहाँ केबल हतार र तनाव छ । एकैछिनको विश्राम र शान्ति पनि छैन । सहरमा हाम्रो मनलाई आराम वा बिराम दिने कुनै चिजै छैन । 

हाम्रो मनको साथी त नाटक, संगीत, कविता वा चित्रकला नै हुन् । अफिस जाने र घर आउने बाटोबीच एकछिन टक्क रोकिएर भन्न पाइयोस् न, ‘अहो, कस्तो आकर्षक ठाउँ’ ! तर, खै त त्यस्तो स्पेस ? हामीले कलामा काम त गर्दै छौं, तर आर्ट कल्चर विकास हुने नयाँ–नयाँ स्पेस बनाउन सकिरहेकै छैनौं । हामी यो के गरिरहेका छौं ? यो प्रश्न मलाई पनि मैले सोधेको हुँ । 

यस्तै सपना देख्ने म सुरुदेखि नै नाटक महोत्सव गरौं भनेर जोड दिइरहन्थें । काम गर्दै जाँदा राजन खतिवडा, सोमनाथ खनाल, सिर्जना सुब्बालगायत साथीहरू ‘निटफेस्ट’ का मुख्य योजनाकार बने । सन् २०१९ मा जब हामीले निटफेस्ट सुरु गर्‍यौं, नाटकको आराधना स्थल आरोहण गुरुकुल निष्क्रिय भइसकेको समय थियो । नाटक महोत्सव नहुँदा हामीले अरूका काम हेर्न पाइरहेका थिएनौं । अन्तरसांस्कृतिक आदानप्रदान भइरहेको थिएन । महोत्सव आयोजना गर्नु हाम्रै जिम्मेवारी ठानेर आँट गर्‍यौं । निटफेस्टको अर्को संस्करण २०२३ मा गरियो, थापागाउँको नयाँ स्पेस मण्डला थिएटरमा । 

Missed the stage, missed the stage

मैले निटफेस्ट–निर्देशकको अभिभारा लिएको यो पहिलो पटक हो । यतिबेला म मेरो व्यक्तिगत परिवार, मण्डला परिवार, निटफेस्ट परिवारलाई जुन सपना बाँडेको छु त्यो पूरा गर्न सक्छु कि सक्दिनँ भन्ने सम्झेर डराइरहेको छु । एउटा सपना, एउटा भविष्य देखेर जुटेका यी साथीहरूको सपना पूरा गर्न सक्छु कि सक्दिनँ होला ? खासमा म पिरोलिएको छु । 

म नेपथ्यमा जसरी काम गर्थें, त्यहीं सहज थिएँ । मसँग सपना त ठूलो छ, तर त्यो पूरा गर्न नसके साथीभाइ निराश होलान् भन्ने डर पनि छ । आफ्नो सपना अरूलाई बुझाउन सक्दिनँ, अनि म फिल्टर गर्दोरहेछु । फिल्टर गर्दा कतिपय चिजको सही खाका आउँदैन । मेरो परिकल्पना बुझ्न अरूले मसँग लामो संगत गर्नुपर्छ । त्यसैले यो निटफेस्ट संस्करणको तयारी एक वर्षअघिदेखि नै सुरु गरें । 

निर्देशक भएर म धेरैथोक परिकल्पना गर्थें । महोत्सव यस्तो भव्य बनाउँछु, उस्तो बनाउँछु सोच्थें । कति कुरा गर्न सकियो, कति सकिएन । म सहकार्यमा विश्वास गर्छु । पहिलो निटफेस्टमा नाट्य संस्थाहरूसँग काम गर्‍यौं । यसपालि विभिन्न संघसंस्थासँग सहकार्य गरेका छौं । सहकार्यका सम्भावनाहरूको खोजी गर्ने क्रममा हामी कहाँनेर समस्यामा छौं ? हाम्रो कला संस्कृति कहाँ समस्यामा छ ? यस्ता कुरा बुझ्ने अवसर बन्यो यो निटफेस्ट । 

हामी कलाकारहरू काम, काम र काम मात्रै गरिरहेका रहेछौं । कलाले समाज र राज्यमा के योगदान गर्छ भन्ने विषय हामीले नीतिगत रूपमा बुझाउन सकेका रहेनछौं । कुन सरकारी निकाय वा मन्त्रालयले हामीलाई कुन शीर्षकमा आर्थिक सहायता दिने ? स्थानीय, प्रदेशदेखि लिएर संघीय सरकारसम्मै यो विषयको स्पष्टता रहेनछ । हामीले नै त्यो ठाउँसम्म आवाज पुर्‍याउनुपर्ने रहेछ । हाम्रो कामको महत्त्व कला–संस्कृति हेर्ने सम्बन्धित निकाय र ब्युरोक्रेसीलाई नै बुझाउन सकेका छैनौं । कर्पोरेटलाई पनि बुझाउन सकेका छैनौं । नसक्नु हाम्रै कमजोरी हो भन्ने बोध भएको छ ।

देशको आर्थिक परिस्थिति, राजनीतिक अवस्था र कला–नीतिको अभावले हामी राज्यको प्राथमिकतामा पर्दैनौं । सरकारी नीतिजस्तै छ, कर्पोरेटसँग कसरी काम गर्ने भन्ने नीतिको अवस्था पनि । कर्पोरेटहरूसँग सहकार्य गर्ने नीति पनि सरकारले नै बनाउनुपर्छ । महोत्सवहरू आयोजना गरिरह्यौं भने बुझ्ने–बुझाउने सहज वातावरण बन्दै जाला । काम गर्दै गएपछि परिणाम अवश्य आउँछ भन्ने विश्वासमा महोत्सव गरिरहेका हौं । 

हामीकहाँ रंगमञ्चमा जति काम भएको छ, त्यो व्यक्ति–व्यक्ति मिलेरै भएको छ । टिकट दर्शकबाट उठाएर नाटक गरिरहेका छौं । यसलाई हाम्रो समयको ठूलो आन्दोलन र अभ्यास भन्छु म । टिकट महँगो भन्ने कुरा पनि आउँछ । तैपनि कलाकारलाई पारिश्रमिक दिन सकिरहेका छैनौं । 

Missed the stage, missed the stage

निटफेस्टमा धेरै स्वयंसेवी युवाको सहयोग र संलग्नता छ । पहिलो पटक निटफेस्ट गर्दा हामीसँग एउटा ठूलो फन्ड थियो । अहिले आर्थिक हिसाबले हामी ७० प्रतिशत खुम्चिएका छौं । तर पनि महोत्सवलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ । अधिकांशले पारिश्रमिक लिएका छैनौं । स्रोत नहुँदा किन स्वयंसेवा गर्ने भन्ने प्रश्न पनि आउँछ । आउँदा दिनमा स्रोत आउने बाटो खोल्नका लागि पनि हामीले काम गरेर देखाउनुपर्नेछ । 

निटफेस्ट एउटा बच्चा हो, जसलाई हुर्काउने जिम्मा हाम्रै हो । निटफेस्ट आफैं बढेर आफ्नो अस्तित्व बनायो भने पछि सजिलो होला भनेर लागिपरेका छौं । यसलाई पनि म हाम्रो समयको ठूलो आन्दोलन र अभ्यास भन्छु ।

यसो सोच्छु, गुरुकुलमा हुने महोत्सव निरन्तर चलिरहेको भए नेपाली रंगमञ्च आज अर्कै ठाउँमा पुगिसक्थ्यो । जति धेरै नाट्य संस्था सक्रिय हुन्छन्, मञ्चमा नयाँ नयाँ सोच र भिजन मञ्चन हुन्छन् । निटफेस्ट सुरु गर्दा दुई वर्षमा एक पटक आयोजना गर्ने सोचेका थियौं । एक पटक गरेपछि बिसाइँदो रहेछ । हाम्रो रंगमञ्चले भोगेको सबैभन्दा ठूलो समस्या हो, निरन्तरताकै अभाव । निरन्तरता नहुनुमा कहीं न कहीं हामी अग्रजलाई हेरिरहेका हुन्छौं । उनीहरू सक्रिय हुन्जेल सँगसँगै हिँड्छौं । कतिपय बेला हामी अपेक्षा गर्दारहेछौं, हामीलाई अग्रजहरूले हेरिदिएनन् । तर, यो जिम्मेवारी मेरो हो भनेर महसुस गरिरहेका छौं कि छैनौं ? 

एउटा पुस्ता निष्क्रिय हुनेबित्तिकै सबै बिलाएर जान्छ । यहाँनेर मेरो भूमिका के त ? महोत्सव निर्देशक भएर मैले मेरो भूमिकालाई अझ गम्भीर रूपमा सोच्ने मौका पाएँ । हामीकहाँ रंगमञ्चमा जेजति काम भएको छ, केही सीमित व्यक्तिहरूको चाहनाले भएको हो । स्वयंले जिम्मेवारी महसुस गर्दा मात्रै निरन्तरता दिने आधार भेटिने रहेछ । हामी पछिल्लो पुस्ता आउनुपर्छ भनौंला रे । तर, त्यो पुस्तान्तरण गर्ने कसरी ? हामी थिममा बसेर काम गर्छौं । यसअघिको संस्करणमा हाम्रो नारा थियो– ‘सामाजिक रूपान्तरणका लागि रंगमञ्च ।’ यस पटकको हाम्रो नारा छ– ‘रैथाने ज्ञानको उज्यालो ।’ 

‘रैथाने’ शब्दसँग पुस्तान्तरण जोडिएर आउँदोरहेछ । हाम्रो समाज आउने पुस्ताका लागि बढी चिन्तित हुने समाज हो । हामी ‘हाम्रा छोराछोरीका लागि’ भनेर अनेक कर्म गरिरहेका हुन्छौं । आफूपछिको पुस्ता कता जाला भनेर चिन्ता मात्र गरेर पुग्दैन । उनीहरूलाई निर्देशित गर्ने जिम्मेवारी पनि हाम्रै हो । 

यस पटकको महोत्सवमा मण्डला थिएटरमा बाँसको संरचनादेखि रोबोटसम्मलाई प्रतीकात्मक रूपमा प्रयोग गर्‍यौं । बाँसले हाम्रो विगतको जीवन पद्धतिलाई इंगित गरिरहेको थियो भने रोबोटले हाम्रो भविष्यको जीवनशैलीतर्फ संकेत गर्थ्यो । बाँसदेखि रोबोटसम्मको यात्रा हाम्रै यात्रा हो । 

यो मानव समुदायको निरन्तरताको यात्रा पनि हो । बाँस पुस्ताको ज्ञान रोबोट पुस्तामा पुस्तान्तरण गर्ने प्रक्रियामा कलाको महत्त्व खास हुन्छ । बाँच्ने दौरानमा मान्छेले अनेक कुरा सिक्छ । आफ्नो परिवेशबाट सिकेको विषयबाटै उसले जीवन दर्शन र विश्वास पद्धति बनाउँछ । त्यही दर्शन र पद्धतिले आगामी पुस्तालाई बाटो देखाउँछ । हामीलाई हाम्रा अग्रजले सिकाएका कुरा हामी अहिले रोबोटलाई भनिरहेका छौं । रोबोटले फेरि हामीलाई भनिरहेको छ । यो परिवर्तन अर्थपूर्ण छ । पुस्तान्तरण प्रक्रिया एउटा चक्रमा घुम्छ । रंगमञ्चमा हामी आफ्नै समाजका यस्तै विश्वासपद्धति वा जीवन दर्शन लिएर मञ्चसम्म आइपुगेका छौं । कलाले हिजो, आज र भोलिलाई यसरी जोड्ने रहेछ । 

आरोहण गुरुकुलकै समयदेखि आजको समयसम्म हामीले पाएको उपलब्धि नयाँ पुस्ता नै हो । यस्तो पुस्ता, जसले आफ्नो सिर्जना दिइरहेको छ । पछिल्लो समयका नाटकहरूमा आफ्नो कथा लिएर आउने क्रम बढेको छ । युवा पुस्ताले नयाँ नयाँ नाटक लेख्ने, निर्देशन गर्ने, सिर्जना गर्ने काम भइरहेको छ । निरन्तरता नै नभएको भए यो परिवर्तन सम्भव थिएन । निटफेस्टलाई म र मेरो टिमले यस्तै निरन्तरताको अंश मानेका छौं ।

कला–संस्कृति प्रदर्शन र प्रवर्द्धन गर्ने निटफेस्टजस्ता धेरै महोत्सवहरू हामीलाई चाहिएको छ, जहाँ कलाका विविध विधा र समाजका विविध विषयले एकअर्कालाई अँगालो हालून् । जहाँ कलाकार, कलाप्रेमी र समीक्षकहरू भेला होऊन्, वाद–संवाद र प्रतिवाद गरून्, कलाको सराहना र आलोचना गरून् । यस्तै प्रक्रियामा सोच र सपनाको आदानप्रदान हुन्छ । यही प्रक्रियाले नयाँ विषय जन्मिन्छ । सामान्य अवस्थामा नदेखिने कुराहरू कलाका माध्यमबाटै देखिन्छ । यो मान्छे स्वयं र अरूलाई चिन्ने माध्यम पनि हो । कलाका विविध महोत्सवहरूले मान्छेलाई हेर्न, बुझ्न र सोच्न अभिप्रेरित गर्छ । आफूलाई मन पर्ने शैलीमा अभिव्यक्त गर्ने माध्यम दिन्छ । स्वतन्त्र रूपमा अभिव्यक्त गर्न पाउनु लोकतन्त्रकै सुन्दर पक्ष हो । 

विडम्बना, यतिबेला राज्यबाट सिनेमामा एकपछि अर्को सेन्सरसिप लागिरहेको छ । म आफैंले अभिनय गरेको पछिल्लो फिल्म ‘राजागंज’ का केही दृश्य काटेर मात्रै फिल्म प्रदर्शन गर्नुपर्ने स्थिति आयो । हिजो कलाले सत्ताको भक्ति गर्थ्यो, आज प्रश्न गरिरहेछ । प्रश्न गर्दा सत्तामा बस्नेहरूलाई बिझाउँछ नै । कला सत्ताको विपक्षमा हुन्छ । यसरी बिझाउनु हामीले गरिरहेको कर्मको शक्ति हो । यस्तो बन्देज लोकतन्त्रको धज्जी उडाउने कुरा त हो नै, हामीलाई हाम्रो स्वतन्त्रताको महत्त्व बुझाउने विषय पनि हो । 

लोकतन्त्रमा शासकहरूले आफूखुसी गरिरहेका छन् । हामी नागरिकले पनि आफूलाई लागेको काम गरिरहनुपर्छ । हाम्रो कला–सिर्जनाले कसैलाई अप्ठ्यारोमा पार्छ भने त्यो हिजो उसले बाँचेको सोचको ह्याङओभर मात्रै हो । सार्वजनिक वृत्तमा हुने छलफल, प्रदर्शनी, महोत्सव र प्रतिरोधका अन्य गतिविधि नै यस्ता ह्याङओभरका ओखती हुन् ।

Missed the stage, missed the stage 

निटफेस्ट (नेपाल इन्टरनेसनल थिएटर फेस्टिभल)– २०२५ मा १२ देशका १७ नाटक मञ्चन हुनेछन् । मण्डला थिएटरमा चलिरहेको महोत्सवमा मञ्चनका लागि संसारैभरका १ सय १५ नाटकको आवेदन आएको थियो । तीबाट १० विदेशी र २ नेपाली गरी १२ वटा नाटक छनोट गरियो । त्योबाहेक आयोजक संस्था मण्डला थिएटरबाट १, तीन सहरका स्थानीय आयोजकका ३ र चौतारी नाटक १ गरी जम्मा १७ नाटक छनोटमा परेका छन् । 

नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’, जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राई’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोन’, लिथुआना र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’ लगायत नाटकहरु मञ्चन भइरहेका छन् । 

यस पटकको फेस्टिभल ४ सहरमा चल्नेछ– काठमाडौं, पोखरा, भरतपुर र बेलबारी । महोत्सवमा भाग लिन एक सयभन्दा बढी विदेशी कलाकार आएका छन् । स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारले कार्यशालाहरु आयोजना गरिरहेका छन् । कला प्रदर्शनी, संगीत, नृत्य प्रदर्शनी चलिरहेकै छ ।

दयाहाङ

Link copied successfully