जीवन सम्झौतामय छ । बाँच्न पटक–पटक मैले पनि सम्झौता गरेको छु तर मेरा कविता सम्झौताका उपज होइनन्, मैले भातसँग कविता साटेको छैन ।
मेरो नयाँ कविता–किताब ‘पानीको परेड’ प्रकाशनमा आएको यो सुखद घडीमा फर्केर आफ्नै कवि जीवनलाई हेर्दा एक किसिमको रमाइलोले मलाई छोपेको छ । संघर्षको बाटो त हिँडियो नै, त्योभन्दा बढ्ता स्नेह र सौहार्दताको उज्यालोले मन भरिएको छ ।
सम्झन्छु– २०३२ साल चैतमा त्यसबेलाको प्रतिष्ठित साहित्यिक पत्रिका ‘रत्नश्री’ मा मेरा स–साना दुइटा कविता छापिए । प्रकाशनको अर्थमा मेरो रचनाको यो पहिलो प्रकाशन थियो । २०८१ सालको चैत महिना सुरु भएसँगै प्रकाशनका दृष्टिले मैले कविताको परेड खेल्न थालेको समय पनि पचासौं वर्षमा प्रवेश गर्छ । समय कत्ति धेरै बगिसकेछ ।
स्कुले जीवनमा पुरस्कार जित्ने उद्देश्यबाट सुरु भएको मेरो कविता–यात्रा त्यसपछि पत्रपत्रिकामा नाम छाप्ने रहरको चरणमा प्रवेश गरेको हो । केही समय रहर र लहडमै बित्यो ।
२०३६ सालमा प्रत्यक्षतः अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र अप्रत्यक्ष रूपमा प्रजातन्त्र र बहुदलीय व्यवस्थाको पक्षमा उभिएर कविहरूले सडकमा कविता पढे । आफ्ना अग्रज कविहरू मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरेसमेतका साथमा म र मेरा समकालीन साथीहरू यो आन्दोलनमा होमियौं । नेपाली साहित्यमा ‘सडक कविता क्रान्ति’ को नामबाट परिचित यो आन्दोलनभन्दा अगाडि हामी कविता छाप्दैनौं भन्दै कविता नपठाउन सूचना निकाल्ने साहित्यिक पत्रिकाले त्यसपछि कविता विशेषांक नै निकालेको यथार्थ अहिले पनि मेरो सम्झनामा ताजै छ ।
सडक कविता क्रान्तिपछि उल्लेख्य संख्यामा साहित्यिक पत्रिकाहरू निस्कन थाले । धेरैले कविता अंक वा कविता विशेषांक निकाले । फलतः हामीले प्रकाशनको समस्या भोग्नुपरेन । सडक कविता क्रान्तिका कारण एक हदसम्म, समाजसँग टाढिँदै गएको कविताको सम्बन्धमा निकटता आउन थाल्यो । सामाजिक सरोकारको विषयले कवितामा फेरि अभिव्यक्ति पाउन थाल्नुका अतिरिक्त कवितामा भित्रिएको भाषागत सरलता, समाज र कविताबीच सम्बन्ध सुधारको प्रमुख कारण बन्न पुग्यो ।
हो, यही सडक कविता क्रान्तिपछि रहर वा लहडले कविता लेख्ने मेरो पुरानो बानी वा सोचमा पनि परिवर्तन आयो । अब कविता लेख्दा आनन्द लाग्ने मात्र होइन, मलाई कविता लेखिरहन मन लाग्ने पनि भयो । म गम्भीर हुन थालें ।
सडक कविता क्रान्तिकै मेसोमा औपचारिक रूपमा कतै दर्ता नभएको युवा साहित्यिक समाज, काठमाडौंले चन्दा उठाएर २०३७ साल वैशाख १ मा मेरो पहिलो कवितासङ्ग्रह ‘अन्तरका छिटाहरू’ प्रकाशनमा ल्यायो । त्यसपछि अहिलेसम्म दस वटा कविता/काव्यसमेत गरी १७ वटा पुस्तक प्रकाशनमा आएका छन् ।
अहिलेजस्तो अल्छे थिइनँ म त्यसबेला । साथीहरूसँग हूल बाँध्दै एउटा कविता पढ्न वा सुनाउन काठमाडौंबाट कहिले झापा, विराटनगर त कहिले पोखरा, पाल्पासम्म पुग्थें । इन्टरनेट थिएन । आफूले पढ्न चाहेका पुस्तकहरू किनेर पढ्ने आर्थिक हैसियत र पहुँचसमेत नभएकाले सार्वजनिक पुस्तकालयतिर खुबै धाउँथें ।
अग्रज कविहरूकहाँ गएर उहाँहरूका कुरा र सिर्जना सुन्ने पनि मेरो बानी थियो । मौका हेरी आफ्ना सिर्जना पनि सुनाउन पाइन्थ्यो । कवि सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपि शेरचन र वासु शशीको घर मेरो प्रमुख गन्तव्यहरूमध्ये पर्थ्यो । उहाँहरूको स्नेहले म सधैं निथ्रुक्क हुन्थें । अहिले पनि छु ।
२०४६ सालभन्दा अगाडि विद्रोही चेतका सिर्जना छाप्न त्यत्ति सहज थिएन । पञ्चायती प्रशासनको तिखो निगरानी स्रष्टाहरूउपर सधैं रहिरहेको हुन्थ्यो । स्रष्टा, सरकारी कर्मचारी पनि भए ऊ झनै जोखिममा हुन्थ्यो । २०३८ साल भदौबाट म पनि सरकारी जागिरे भएँ । त्यही वर्ष माघ २२ गते राष्ट्रपुकार (साप्ताहिक) मा म र साथी विष्णुविभु घिमिरेले संयुक्त रूपमा लेखेको ‘समय’ शीर्षकको कविता छापिएपछि त्यही कविताका कारण हामीमाथि १० वर्षसम्म सजिलै जेल सजाय हुने राजकाज मुद्दामा पक्राउ पुर्जी जारी भयो ।
हामी बागमती अञ्चलाधीश कार्यालयमा हाजिर हुन गयौं । बयान दियौं । धम्की खाइयो र खोजेका बखत हाजिर हुने कागज गरियो । धन्न, दिनेश अधिकारीका नामबाट कविता लेख्ने व्यक्ति नै सरकारी जागिरदार दिनेशहरि अधिकारी हो भन्ने सुइँको प्रशासनले पाएन । त्यो वास्तविकता त्यसबेला खुलेको भए मलाई लाग्छ, मेरो जागिर जाने त प्रायः निश्चित नै थियो, जेलको बाटो सोझिने सम्भावना पनि प्रबल थियो ।
‘रूपरेखा’, ‘भानु’, ‘अभिव्यक्ति’, ‘रचना’, ‘स्वतन्त्रता’ जस्ता साहित्यिक पत्रिका र विशेष गरी साप्ताहिक पत्रिकाहरू ‘राष्ट्रपुकार’ र ‘समीक्षा’ ले म र मेरा समकालीन साथीहरूका विद्रोही चेतका रचनाहरू प्रकाशित गर्ने मात्र होइन, प्रोत्साहन पनि गरिरहेका हुन्थे । २०४१ सालदेखि म ‘सरकारी वकिल’ को हैसियतका जागिर खान थालेपछि त प्रशासनको सन्त्रास मेरो वरिपरि घुम्नु स्वाभाविक नै थियो ।
म आफ्नो लेखनलाई जागिरसँग साट्न वा सम्झौता गर्न किमार्थ तयार थिइनँ र त्यस्तो सोच करिब ३४ वर्ष जागिरे जीवनमा कहिल्यै पनि आएन । तर, वातावरणमा सन्त्रास त थियो नि ! त्यसैले मैले कविता छाप्न अर्कै उपाय अवलम्बन गरें । मलाई लाग्यो– व्यवस्थाविरोधी भनेर चिनिएका पत्रपत्रिकामा भन्दा विद्रोही चेतका कविताहरू सरकारी छवि बोकेका पत्रपत्रिकामै छपाउनु सुरक्षित हुन्छ । त्यहाँ छापिएको रचनाउपर प्रशासनले वक्रदृष्टि राख्दैन । नभन्दै त्यस्तै भयो ।
पञ्चायती समयमा तुलनात्मक रूपमा स्वतन्त्रताको केही बढी उपयोग गर्न सक्ने वर्गमा वकिल, प्राध्यापकहरूको गणना गरिन्थ्यो । विश्वविद्यालयका तिनै केही प्राध्यापकहरू मिलेर निकाल्न लागेको एउटा साहित्यिक पत्रिकामा मेरो मात्र एउटा कविता राख्ने भनेर मसँग कविता लिइएको करिब एक सातापछि ‘हामीले छाप्ने आँट गर्न सकेनौं’ भनी मैले फिर्ता पाएको कविता साझा प्रकाशनबाट निस्कने ‘गरिमा’ (मासिक) मा छापियो । २०४० देखि २०४६ सालसम्म मैले प्रायः यही उपाय अवलम्बन गरें ।
सम्भवतः कर्म र संघर्ष एकअर्काका परिपूरक हुन् । संघर्षको यो कथा मेरो सन्दर्भमा, कवितालाई आफ्नो लेखनको प्रमुख विधा बनाउने विषयसम्म तन्किएर आएको छ । भयो के भने– सडक कविता क्रान्तिको समय सकिन सकिनै लागेका बेला उमेरले मभन्दा केही पाको, लेखनका हिसाबले मभन्दा ४/५ वर्ष जेठो एक जना कवि मित्रले मप्रति सदाशय राखेर एक दिन मलाई सुझाव दिनुभयो– कविता लेख्नेको संख्या धेरै भएकाले कविता विधामा स्थापित हुन ठूलै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
मैले त यसमा केही वर्ष बिताइसकेकाले अब फर्कने कुरा भएन । तपाईं सुरुवातकै अवस्थामा हुनुभएकाले साहित्यकारहरूको संलग्नताका दृष्टिले ‘खाली’ जस्तै देखिने निबन्ध वा नाटक विधातिर कलम चलाउनुभयो भने परिचय बनाउन सहज हुन सक्छ । त्यो सुझावमा कतै कुनै दुराशय थिएन । मान्छेकै जात न हो मेरो पनि मन उल्टोतिर बाउँठियो । मलाई लाग्यो– अरूले लेख्न सक्ने कविता म किन लेख्न सक्दिनँ ? प्रतिस्पर्धा हुन्छ त हुन्छ । मैले त्यही दिन अठोट गरें– अब म कविता नै लेख्छु । मैले आजसम्म हिँड्दै आएको कविताको बाटो त्यही अठोटको उपज हो ।
अब अलिकति कवितासँग मेरो सम्बन्धका कुरा गर्छु । कविता, मेरा लागि स्वतन्त्र अभिव्यक्तिको उच्चतम बिन्दु हो । म यसलाई कुनै ‘वाद’ वा ‘विचार’ मा सीमित गर्न रुचाउन्न । स्वतन्त्रता यसको सौन्दर्य हो र कला यसको उद्गम हो भन्ने मान्यता राख्छु । स्वतन्त्रताले विविधताको बाटो विस्तार गर्छ भन्ठान्छु ।
जीवन, सामान्यतः सम्झौतामय छ । बाँच्नका लागि त्यस्तो सम्झौता पटक–पटक मैले पनि गरेको छु । तर, मेरा कविता भने सम्झौताका उपज होइनन् । मैले भातसँग कविता साटेको छैन । मेरा कविता, मेरा मनका स्वतन्त्र पखेटाहरू हुन् । यस अर्थमा कविता, मेरो एकोहोरो प्रेम हो ।
कवितालाई परिभाषित गर्ने सोचको एक किसिमले विरोधी नै हुँ म । कहिले लाग्छ, कविता जीवनको कलात्मक मन्तव्य हो । कहिले लाग्छ– यो जीवनको विद्रोही वक्तव्य हो । शिल्प र कल्पनाको अँगालो त हो नै, यो भावना र विचारको भँगालो पनि हो । समयको छाप सँगसँगै संवेदनाको एकालाप पनि हो । फेरि पनि यसलाई कुनै एउटा बिन्दुमा सीमित गर्न सकिँदैन । कविता, कविता नै हो ।
नितान्त नयाँ विषयवस्तुमाथि कविता लेखें भन्ने आँट त म गर्दै गर्दिनँ । यत्ति हो, प्रस्तुतिको ढंगचाहिँ अरूको भन्दा अलि फरक होस् भन्ने प्रयत्न भने मैले सधैं गर्दै आएको छु । ‘पानीको परेड’, यी र यस्तै मान्यता तथा अनुभूतिको कोलाज हो । २०६४ सालदेखि २०८० सालसम्म लेखिएका/छापिएका मध्येबाट छानिएका र केहीचाहिँ पहिलो पटक यसै संग्रहमा छापिएका समेत गरी ७७ वटा कविता यसमा संगृहीत छन् ।
