पश्चिमी अमेरिकाका सहरहरूलाई विद्युत्, खानेपानी र कृषिमा पानीको आपूर्ति गर्छ हुबर ड्यामले
ब्रेकफास्टपछि भाइ डिल्ली, पुकार र अर्जुनजी मेलातर्फ लाग्छन् । ब्रेकफास्ट लिँदै हामीलाई गीताले हुबर ड्यामबारे जानकारी दिन्छिन् । मलाई पनि लाग्यो, ‘लस भेगास पुगेपछि हुबर ड्याम त पुग्नै पर्यो ।’ गर्मी धेरै हुने हुनाले हामीलार्ई सचेत गराउँदै थिइन् । यात्रामा हिँडेपछि आएको व्यहोर्नै पर्छ, त्यसकारण हामी जुनसुकै परिस्थितिको पनि सामना गर्न तयार थियौं ।
हुबर ड्याम जाँदै गर्दा मैले हाम्रो नेपालको कुलेखानी जलाशय सम्झिएँ । कुलेखानी जलाशयमा पानी जम्मा गरेर आवश्यकताअनुसार विद्युत् उत्पादन गरिन्छ ।
यो नेपालकै पहिलो जलाशय जलविद्युत् परियोजना हो । धेरै पटक म पुगेको छु कुलेखानीमा । अहिले कुलेखानी जलाशय पर्यटकीय आकर्षणको केन्द्रबिन्दु भएको छ । यस जलाशयमा डुंगा सयर, माछा पालन र ट्रेकिङका लागि पर्यटकहरूको गन्तव्य स्थल बनेको छ । इन्द्रसरोवरको नामले प्रख्यात यो जलाशय निकै सुन्दर छ । नेपालमा धेरै विद्युत् उत्पादन गर्ने बाँधहरू छन्, सबैमा पुग्न सकेको पनि छैन । अमेरिका आएका बेलामा भने यो ऐतिहासिक बाँध अवलोकन गर्न पाउनु हाम्रा लागि राम्रो अवसर हो ।
सहर ओझेल पर्दै गएपछि काला स–साना पहाडहरू देखिन्छन् । पहाडको तल्लो भागमा केही स–साना पोथ्राहरू देखिन्छन् भने माथिल्लो भागमा काला चट्टानहरू । बाहिरको गर्मी कति छ, हामीले यकिन गर्न सकेका छैनौं किनकि हामी भित्र एसीमा छौं । बन्जर काला डाँडापाखाहरू छन् । हरियाली कतै देखिँदैन । गाडी आफ्नै रफ्तारमा छ । केही टाढा ठूलो तलाउजस्तो देखिन्छ, नजिक–नजिक पुग्दै गर्दा थाहा भयो– त्यो त सोलार खेती पो रहेछ । अहो ! कति ठूलो एरियामा फैलिएको रहेछ । बाटोको दुवैतिर फैलिएको सोलार खेती देख्दा हाम्रोमा पनि खेर गइरहेको घामको ऊर्जालाई सदुपयोग गर्न सके लोडसेडिङको मारबाट बचिन्थ्यो कि भन्ने मनमा खेलिरह्यो ।
गीता भन्दै थिइन्, ‘दाइ यहाँ सोलार खेती गर्न सरकारले ऋण पनि दिन्छ र उत्पादन भएको विद्युत् सरकारले किनिदिन्छ ।’ साँच्चै सरकारप्रति जनताको विश्वास छ र सरकार पनि जनताप्रति उत्तरदायी रहेछन् भन्ने सोच्न मलाई समय लागेन, त्यसैले पनि हो अमेरिकालाई सपनाको देश भनेको ।
हामीले अलावामा, टेनिसी, जर्जिया लस भेगास, लस एन्जेलस तथा एरिजोना जहाँ–जहाँ घुमेका छौं, सडक सबै ठाउँमा उस्तै, दुरुस्तै र फराकिला पायौं । सडकको विकास पनि प्रमुख रहेछ । मैले पछाडि सिटमा बसेर नेपाल र अमेरिकाको बाटोबारे दाँजें, अहँ कहीं कतै पनि मिल्दैन । राज्य कब्जा गरेर बसेकाहरूले जनताका थोरैभन्दा थोरै आवश्यकता पनि पूर्ण गर्न नसकेको देख्दा उदेक लाग्छ । अनेक तर्कनामा डुब्दाडुब्दै गन्तव्य अर्थात् हुबर ड्याम आइसकेछ ।
पहाडको भित्तामा पहाड खोपेर बनाइएको चार–पाँच तलाको पार्किङ भव्य रहेछ । सबै तलाको पार्किङ जानकारी मनिटरले देखाइरहेको छ । हामी तेस्रो तलामा गाडी पार्किङ गरेर लिफ्टमार्फत तल ओर्लियौं । अमेरिकामा नागरिक सुविधाका लागि व्यवस्था राम्रो हुँदोरहेछ । खानेपानी, शौचालय, पार्किङलगायतका सुविधा हरेक पर्यटक स्थानहरूमा व्यवस्थित थिए । यहाँ पनि तलैपिच्छे ती सुविधा थिए ।
हामी लिफ्टबाट बाहिर निस्केपछि हपक्कै बनायो । दस मिनेट जति पैदल यात्रापछि पुलमा पुग्यौं । आँखा हेर्न नसकिने तातो हावा चलिरहेको थियो, बिहानको एघार बजे पनि । पर्यटकहरूको भीड उस्तै थियो । बाटोमा मनिटरमार्फत जानकारी प्रवाहित भइरहेका छन् । बाँध कसरी निर्माण गरियो भन्ने जानकारी विभिन्न माध्यमबाट प्राप्त गर्न सकिने रहेछ । पुलबाट तल हेर्दा डुंगा र मान्छेहरू कमिलाजस्ता देखिने, हेर्दै कहाली लाग्लाजस्तो गहिरो ।
त्यसमाथि पनि मोटर गुड्ने पुल बनेको छ । आजभन्दा लगभग सय वर्षअघि बनेको यो बाँध अहिले भर्खरै बनेको जस्तो देखिन्छ । ‘दाइ एरिजोना राज्यमा पनि जाऊँ,’ मैले हुन्छ भने । गीता चाहन्थिन् हामीलाई धेरैभन्दा धेरै स्थानहरूमा घुमाउन सकौं । पुलको बीचमा पुगेपछि थाहा भयो– त्यो पुल नेभाडा र एरिजोना राज्यको सिमाना रहेछ । त्यसपछि हामीले एरिजोना राज्यमा पनि पाइला टेक्यौं ।
हुबर ड्याम संयुक्त राज्य अमेरिकाको एक विशाल जलविद्युत् ड्याम हो । यस ड्याम कोलोराडो नदीलाई रोकेर निर्माण गरिएको छ । यो नोभेडा र एरिजोना राज्यको सीमा क्षेत्रमा पर्छ । यो ड्यामको निर्माण सन् १९३० को दशकमा भएको थियो । यो ड्याम त्यसबेलाको इन्जिनियरिङ उपलब्धिको उत्कृष्ट उदाहरण हो । अहिलेको जस्तो प्रविधि नभएको त्यो समयमा बनेको यो बाँध इच्छाशक्तिको एउटा अद्वितीय नमुना रहेछ ।
हुबर ड्यामबारे थुप्रै स्थानमा जानकारीमूलक बोर्डहरूमार्फत हामीले पनि जानकारी लियौं । सुरुमा यसलाई बोल्डर ड्याम भनिएको रहेछ तर पछि अमेरिकी राष्ट्रपति हर्बर्र्ट हुबरका नाममा नामकरण गरिएको रहेछ । यसको उचाइ ७२६ फिट, चौडाइ ६६० फिट छ । यो विश्वको ठूलो कृत्रिम जलाशय पनि हो । यस ड्यामबाट उत्पादन हुने लगभग २०८० मेगावाट विद्युत् अमेरिकाका करिब बीस लाख जनसंख्याले उपभोग गरिरहेका छन् । यसरी हामीले हुबर ड्यामबारे अधिकतम जानकारीहरू संकलन गर्यौं ।
हुबर ड्याम सन् १९३१ मा निर्माण सुरु भएर सन् १९३६ मा सम्पन्न भएको रहेछ । यो बाँध बनाउन त्यसबेलाको ४९ मिलियन डलर लागेको रहेछ । यो ड्यामले पश्चिमी अमेरिकाका धेरै सहरलाई विद्युत् आपूर्ति, खानेपानी तथा कृषि क्षेत्रमा पानीको आपूर्ति गर्छ । वार्षिक लाखौं पर्यटक अवलोकनका लागि यहाँ आउने गर्छन् । अमेरिकामा यस्ता धेरै ऐतिहासिक स्थान छन्– घुम्नुपर्ने तर थोरै समयको पाहुना त थियौं हामी । अहिलेलाई भने मनमा हुबर ड्यामका तस्बिरहरू सजाएर हामी त्यसै दिन लस एन्जेलस फर्कियौं ।
