बर्लिनाले : कलाको समुद्र !

विश्व प्रतिष्ठित ७५ औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा देखियो– अभिनय र कथा–वाचनका फरक आयाम

चैत्र २, २०८१

रीना मोक्तान

Berlinale: the sea of ​​art!

काठमाडौँ — दुई बच्चाका खेलौना यत्रतत्र छरिएर भुइँ अस्तव्यस्त देखिन्छ । भान्सा उस्तै छ, बेसिनमा जुठा भाँडा असरल्ल छन्, कपडाले पुरिएको छ– सोफा । दुई छोरा डायनिङ टेबलमा बसेर कचौरा ठटाउँदै छन्, कारण बुबा (बेनिडिट कम्बरब्याच) खानेकुरा तयार गर्न हस्याङफस्याङ गर्दै छन् । कहिले टोस्टरतिर ब्रेड तताउँदै छन्, त कहिले दूधको ग्यालिन खोज्दै छन् । यही हतारोबीच बल्लतल्ल छोराहरूलाई स्कुलका लागि तयार गर्छन् ।

बाहिर निस्कनै लाग्दा ढोकामा एक छोराले सोध्छ, मेरो ज्याकेट खोइ ? त्यसपछि बुबा चुपचाप कोठाभित्र छिरेर फर्कन्छन् ज्याकेटसहित । बुबाले ज्याकेट पहिरिदिएपछि छोरा भन्छ, ‘यो त मेरो ज्याकेट होइन ।’ उसको ज्याकेट खोजिदिने समय बुबासँग कहाँ ? दुई छोरामा कसको कुन ज्याकेट ! थाहा होस् पनि कसरी ? छोराहरूलाई लिएर दगुर्छन्, विद्यालयतिर । 

फिल्म ‘द थिङ विथ फिदर्स’ को यो पहिलो दृश्यले बोल्छ, यो आमा नभएको घर हो । दुई कलिला छोराहरूका आमा घरबाट कतै टाँढा गएकी हुनुपर्छ । पतिलाई घर सम्हाल्न दिएर उनी कहाँ पो गएकी हुन् ? ९८ मिनेटको यो फिल्मको कथा जसै अगाडि बढ्छ, बिस्तारै थाहा हुन्छ । दुई बच्चाकी आमा भर्खरै संसारबाट विलिन भएकी छन्, युवा उमेरको यो बुबालाई दुई सन्तान सम्हाल्नु छ, सँगसँगै आफू पनि सम्हालिनु छ ।

आफूभित्रका अनेकन भावना, निराशा अनि पत्नी गुमाउँदाका पीडाबीच बाँच्नु छ । हृदयभरिको पीडा लुकाएर बाँचिरहेको यो पात्रले शोक र निराशाबीचको भेद कसरी खुट्याउन सक्लान् ? अथवा शोकबीच आशाविहीन बन्दै गएको यो पात्रले मानसिक रूपले गर्ने संघर्ष, पीडाहरूसँगका साझेदारी र त्यसबाट बाहिरिन गरिएका हर मिहिन प्रयासलाई ठूला पखेटा फिँजाइ आइपुग्ने कागको बिम्बमार्फत सशक्त ढंगले प्रस्तुत गरिएको छ ।

फिल्ममा कहिले पत्नी गुमाएको पतिको दृष्टिकोणबाट उसले सहेका पीडा देखाइन्छ त कहिले छोराहरूका दृष्टिकोणबाट आमा गुमाएपछि बुबाको वास्तविक अवस्था । पत्नीको सम्झनामा उनका लुगाहरू हेर्दै टोलाइरहेको दृश्य होस् या छोराहरूले सुत्नुअघि आमाले झैं कथा सुनाउन अनुरोध गरेको दृश्यमा लाचार बुबा ! मर्माहित बनाउने यी फिल्मका अनेक दृश्यले थुप्रै भावनाहरू एकसाथ दर्शकमा पैदा गरिदिन्छ । हाँस्दाहाँस्दै रुवाइदिन्छ ।

एकदिन कागले भन्छ– तिमी दुईमध्ये जसले आमाको तस्बिर बनाउन सक्छौ म तिमीहरूका आमा फिर्ता ल्याइदिन्छु । साना हातहरूले बिस्तारै आमाका आकृति बनाउन थाल्छन्, नाबालकहरूले आमाको स्वरूप सम्झँदै गर्दाका यो दृश्यले मन हुडल्छ, आँखामा आँसु छल्काइदिन्छ । 

Berlinale: the sea of ​​art!

दायाँतिरको आँखाबाट अनायसै आँसु बग्यो । दुई थोपा आँसु हातमा तप्प चुहिएपछि दायाँतिर हेरें । छेउमा बसेकी जर्मन दर्शक सुकसुकाइरहेकी छन् । हलभित्रको सन्नाटाबीच सुकसुकाउनेहरूको मधुर आवाज सुनियो, अनि बल्ल चेतन मन बोल्यो– तिमी बानेश्वरको वानसिनेमाज होइन, बर्लिनमा छौं । 

विश्व प्रतिष्ठित ७५ औं बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी हुँदै गर्दा ‘बर्लिनाले पलास्ट’ भित्रको यो हलमा यस्तै सशक्त कथा, अभिनय र कथा–वाचनका थुप्रै फरक आयामहरूको साक्षी बनियो । फरक स्वादका कथाहरू, राजनीतिक व्यंग, स्वतन्त्र फिल्मले उठाएको भाष्य, भत्काउन खोजेका पर्खालहरू ।

महोत्सव आफैंले समातेको राजनीतिक धार, कलाले कुन पक्ष छुँदैन ? अदृश्य संवेदनादेखि राजनीतिक वक्तव्यमार्फत कला पारखीलाई विविधता, सहिष्णु, समावेशिता र संवेदनशीलताको बाटोतर्फ डोर्‍याउन सक्छ । ‘मिकी १७’ मार्फत पपुलिस्ट नेताहरूलाई प्रहार होस् वा सशक्त अभिनयसहितको बब डिलनमाथि बनेको ‘अ कम्प्लिट अननोन’ । मानवता हराउँदै गएको समाजमा मानवतालाई खोतल्न, जीवनलाई सुन्दर ढंगले बाँच्न उत्प्रेरित गर्ने विविधताले भरिएका फिल्महरू, कथाहरूमार्फत सशक्त आवाजसहित आफ्नो शिल्पले चकित पारिदिने निर्देशकहरू सबैलाई बर्लिनालले भेला गरायो । 

‘द थिङ विथ फिदर्स’ बुबाले सम्हालेको घर थियो । तर, बर्लिनको ७५ औं संस्करण अर्थात् हीरक जयन्ती आमाले सम्हालेको महोत्सव । महोत्सवकी नयाँ निर्देशक ट्रिसाले बर्लिनालेले वर्षौंदेखि समात्दै आएको विरासतलाई पछ्याउँदै नयाँ रंग, नयाँ आवाज, नयाँ बोली र नयाँ लय महोत्सवमा थपिदिएकी थिइन् ।

Berlinale: the sea of ​​art!

एकसाथ चौतर्फी कार्यक्रम– एकातिर रेड कार्पेटमा कलाकारको हिँडाइ, अर्कोतिर पत्रकार सम्मेलन । कतै फिल्म प्रदर्शन त कतै फिल्म किनबेच हुने बजारको चहलपहल । १ सय ५० देशका २० हजार फिल्मकर्मी, पत्रकार, निर्माताहरू, फिल्मसँग सरोकार राख्ने निम्तालुहरू । विश्वभरका फिल्मकर्मीलाई एकसाथ भेला गरिएको यो महोत्सव फिल्मप्रेमीका लागि महाकुम्भ हो । 

यहाँ जता फर्के पनि फिल्मकै कुरा, जोसँग ठोक्किए पनि फिल्मकै गफ । जहाँ पनि फिल्म हेर्नेहरूकै भीड । मध्यरात १० बजे पनि लामबद्ध भएर फिल्म हेर्नेहरूको लर्को, जवानदेखि वृद्धा सबै फिल्म हेर्नका लागि चिसो मौसममा चट्ट उभिएका छन् पंक्तिमा । महोत्सव हुने मुख्य स्थल बर्लिनाले पालस्टछेउका अधिकांश रेस्टुराँमा फिल्मकर्मीको भीड थियो । यस किसिमको चहलपहलले महोत्सव अवधिभर पलास्टमा रहेका रेस्टुराँहरूले कति कमाउँदा हुन् ?

त्यसको अर्थशास्त्रले कति जीवन छुँदो हो । मध्यरातसम्म पनि यी रेस्टुराँ चलिरहन्छन्, लाग्छ यी रेस्टुराँले पनि महोत्सव नै पर्खिरहेको थियो । हजारौं दर्शक १३ दिनसम्म यो रेस्टुराँमा, यहाँका छेउछाउका व्यवसायसँग ठोक्किँदा त्यहाँको पर्यटनले यो ठाउँको अर्थतन्त्र कति चलायमान बनाउँदो हो ? सरकारले नै ठूलो लागतमा देशमा यस किसिमको महोत्सव गर्दा त्यसले फिल्म उद्योग मात्रै होइन कति जीवनलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा छुन्छ होला ? पक्का कलाको यही शक्ति र सामर्थ्य बुझ्नेहरूले नै मनाइरहेछन्, हीरक जयन्ती । 

फिल्मकर्मी, फिल्म प्रेमी र फिल्मसँग जोडिनेहरूका चापले चिसो बर्लिन गरम थियो । महोत्सवको अन्त्यतिर खाली बन्दै गरेको पोस्टड्यामर प्लाजले ‘लिभिङ द ल्यान्ड’ को दृश्य सम्झाउँछ । बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट भई ‘उत्कृष्ट निर्देशक’ का लागि सिल्भर बियर जितेको यो फिल्ममा एउटा सुन्दर दृश्य छ ।

जसै कमाउन छोरालाई आमाकहाँ छोडेर दुई दम्पती गाउँ छोड्दै हुन्छ, धानका हरिया बाली लहलहाउँछ, त्यही लहलहाउँदै गरेको बालीबीचको बाटो हुँदै साइकलबाट दम्पतीले गाउँ छोड्छ, अर्थात् जमिन छोड्छ । अनि पर्दामा फिल्मको शीर्षक देखिन्छ– लिभिङ द ल्यान्ड । उनीहरूले त्यो जमिन छाडेर जाँदै गर्दाको अवस्था, परिस्थितिलाई दृश्यले बोलिरहन्छ । 

महोत्सवको अन्त्यतिरको दृश्य हेर्दा लाग्थ्यो, संसारभरबाट भेला भएका मानिसहरू बर्लिनको जमिन छोडेर फर्किसकेको छ । हुओ मेङ निर्देशित ‘लिभिङ द ल्यान्ड’ अस्तित्व खोजको कथा हो । बर्लिनालेको दोस्रो दिन पालस्टमा हेरेको यो मेरो पहिलो फिल्म हो । 

घण्टौंको यात्रामार्फत आफ्नो जमिन छोडेर बर्लिन टेकेको पहिलो दिन बर्लिनालेमा अभ्यस्त हुने प्रयासमै बित्यो । होटलदेखि पलास्ट, छेउको प्रेस अफिस अनि ग्रान्ड हायतमा हुने पत्रकार सम्मेलनमा डुबुल्की मार्नै पर्‍यो । टिकट बुकिङमा पहिलो अनुभव नै ‘लिभिङ द ल्यान्ड’ ।

फिल्म प्रदर्शनको तीन दिन अगाडि नै अनलाइनमा टिकट बुकिङ खुला गरिएको हुन्थ्यो । यात्राबीच कति फिल्मको टिकट बुकिङ बन्द भइसकेको थियो, कति शो सोल्डआउट । बल्लतल्ल हात पर्‍यो, ‘लिभिङ द ल्यान्ड’को शो । टिकट लिएर पलास्टको रेड कार्पेट हिँड्दै हलभित्र प्रवेश गरें । यो त्यही रेड कार्पेट हो, जहाँ विश्वका चम्किला ताराहरूले 

आफ्नो चमकका झिल्का देखाए । भव्य रेड कार्पेटसहितको प्रवेशले सधैं चमकधमकसहितको कथाहरूसँग मात्रै ठोक्काउँदैन, ‘लिभिङ द ल्यान्ड’ फुङ्ग रंग उडेको गाउँको कथा हो, जहाँ धानका बालीहरूमा जीवनहरू हाँसिरहेको भेटिन्छ । मस्त पानीमा मुसुक्क मुस्कुराउँदै खुसीको कटनी भइरहेको देखिन्छ । सन् १९९१ को सेटिङमा बनेको यो फिल्मले औद्योगीकरण सुरु हुनुअगाडिको कृषि प्रणाली, त्यससँग जोडिएका जीवन अनि आफ्ना अस्तित्वका लागि लडिरहेको एक बालकको कथा प्रस्तुत गर्छ ।

Berlinale: the sea of ​​art!

वास्तवमा उक्त बालकमार्फत औद्योगीकरणमा कृषि प्रणालीले खोजिरहेको अस्तित्वमाथि पनि फिल्मले साधारण शैलीमा व्यंग्य गरिदिन्छ । फिल्मको अर्को एउटा दृश्य छ, जहाँ खेतमा मृतकलाई गाड्ने चलन चलिरहेको हुन्छ । त्यत्तिकैमा १० वर्षे चुवाङ सोध्छ, अनि मलाई चाहिँ कहाँनेर गाँड्छौ ? त्यसपछि परिवारको एक जना वृद्धा बोल्छ, ‘यो तिम्रो ठाउँ होइन’ ।

औद्योगीकरणसँगै भित्रिएको प्रविधि र अर्थले कृषि जीवनका कस्ता रैथाने स्वभावहरू चुँडी लैजान्छन् ? अस्तित्वको यो लडाइँमा कसरी सहअस्तित्व कायम रहला ? ‘लिभिङ द ल्यान्ड’ वास्तवमै मनछुने कथा हो, जसले १० वर्षे बालकको नजरबाट त्यतिबेलाको समाज, औद्योगीकरणको असर अनि महिलाहरूको अस्तित्व चित्रित गर्छ । 

रेड कार्पेटको रौनक 

‘लिभिङ द ल्यान्ड’ होस् यो कन्टिनेन्टल २५ । मुख्य प्रतिस्पर्धादेखि विभिन्न विधामा छानिएका फिल्महरू उतिकै रोचक, सशक्त आवाजसहितका थिए । फिल्महरू मात्रै होइन, बर्लिनको रेड कार्पेट झन् रोचक थियो । फिल्मको विश्व प्रिमियरभन्दा अघि संसारका ठूल्ठूला कलाकार यही रेड कार्पेटमा उपस्थित हुन्थे, दर्शक यी ताराहरूको चमकले हर्षोल्लासमा चिच्याउँथे । रेड कार्पेटको कोलाहल बेजोड थियो । पलास्टभन्दा अगाडिको दुई घर परबाटै देखिन्थ्यो, रेड कार्पेटको चमक, रातो रंग अनि फ्यानहरूको खुसी मिश्रित हल्ला । बर्लिनालेको अनुभव रेड कार्पेटबाटै भयो । 

बर्लिन पुगेको साँझ फुसफुसाइरहेको हिउँलाई पछ्याउँदै पलास्टतिर हिँड्दै थिएँ । पोस्टड्यामर प्लाज नजिकिँदै जाँदा एक किसिमको भीडको आवाज, क्यामराका फ्ल्यासलाइट अनि फ्यानहरूको चीत्कारले सजिलै ठम्याउन सकिन्थ्यो, रेड कार्पेटको त्यो रौनक । यही रेड कार्पेटमा टिमोथी स्यामलेटले चञ्चल पारामा दर्शकलाई अटोग्राफ दिए, मुस्सुक्क मुस्कुराउँदै फ्यानहरूसँग फोटो खिचाए ।

रोबर्ट प्याटिन्सदेखि चर्चित कोरियाली निर्देशक बोङ जुन होले पनि यही कार्पेट हिँडेर ‘मिकी १७’ को विश्व प्रिमियर गराए । रोचक त तब भयो जब, टिमोथीले फ्यानसँग फोटो खिचाउँदै गर्दा दर्शकको ध्यान उनको पुत्लातिर पुग्यो । टिमोथी फ्यानसँग व्यस्त हुँदा भीडबाट कसैले टिमोथीकै कदको उनको पुत्ला भीडबाट देखाए । पत्रकारका क्यामरा उतै, दर्शकको ध्यान उतै अनि केही क्षणमा रेड कार्पेटमा हाँसोले गुन्जियो । टिमोथी पनि छक्कै !

खासमा पलास्टभित्र फिल्म हेर्ने दर्शकका लागि पनि यो रेड कार्पेट खुला हुन्छ । तर, रेड कार्पेटको वजन तब गह्रौं बन्छ जब संसारभरका ताराहरू यही रेड कार्पेटमा देखापर्छन् । ‘मिकी १७’ को विश्व प्रिमियर हुनुअघि दर्शकका लागि सुरुमा रेड कार्पेट खुला थियो । टिमोथी, बोङ, रोबर्ट, होङ साङ सु, लिचर्ड लिंकलेटर र इथन हकदेखि थुप्रै स्टारहरूले हिँडेको यही रेड कार्पेट हिँडिरहँदा अचानक क्यामराहरू तेर्सिए ।

फ्यानहरू कराउँदै थिए, टिल्डा–टिल्डा । झट्ट पछाडि हेरें, बर्लिनमा यो पटक ‘द अनरी गोल्डेन बियर’ मार्फत दीर्घसाधना सम्मान दिइएको चर्चित अभिनेत्री टिल्डा पो रहिछिन् । हत्तपत्त टिल्डाका लागि बाटो छोडेर बोङको साइफाइ विधाको ‘मिकी १७’ हेरें, बोङ र रोबर्टको उपस्थितिमा । 

बर्लिनमा यो पटक जति फिल्मकर्मीसँग भेटें, त्यतिले मीन भामको ‘शाम्बाला’ देखि सौरभ घिमिरेको ‘द सङ्स अफ लभ एन्ड हेट’ को प्रसंग ह्वात्त झिकिहाल्थे । कास ती फिल्मकर्मीलाई आकर्षित गर्ने त्यही स्तरको फिल्म महोत्सव नेपालमा गर्न सकिए, उनीहरूका फिल्मका किस्साहरूबारे काठमाडौंमा गफिन सकिन्थ्यो ।

Berlinale: the sea of ​​art!

अनि, फिल्म चलचित्र विकास बोर्डले भन्दै गरेको फिल्म पर्यटन बढ्थ्यो । फिल्मको किनबेच गर्ने ‘हब’ का रूपमा काठमाडौंलाई पनि विकास गर्न सकिन्थ्यो । बर्लिनालेको ‘युरोपियन फिल्म मार्फेट–ईएफएम’ को दृश्य अझै स्मृतिमा अल्झिरहेछ । 

ईएफएमको बजार ठ्याक्कै भृकुटीमण्डपको बजारझैं थियो । त्यो पनि दसैंमा देखिने व्यस्त माहोलजस्तो, दसैंमा यहाँ कस्तो भीड हुन्छ ? ‘ईएफएम’को भवनभरि हरेक कोठा, भित्ता, कुना काप्चामा विभिन्न फिल्मका स्टल राखिएका छन् । विभिन्न देशका प्रतिनिधित्व गर्नेहरू यहाँ छन्, फिल्मको स्टलमा बसेर विश्वबीच आफ्नो फिल्मको किनबेच गर्दै छन् ।

यो भीडमा नेपालबाट पनि एउटा स्टल भइदिए, विश्वको ध्यान नेपाली फिल्मतिर पनि तान्न सकिन्थ्यो । तर, यतातिर चलचित्र विकास बोर्डले सोच्ने कहिले हो ? विदेशी भूमिमा गएर लाखौं खर्चेर अवार्ड शो गर्नु महत्त्वपूर्ण कि स्टल थापेर फिल्म उद्योगको विकास विश्वसामु पुर्‍याउनु ठूलो ? यो बजार टेकिसकेपछि हरकोही नेपालीलाई लाग्ने एउटै कुरा हो, आखिर विकास बोर्डले यसको महत्त्व कहिले बुझ्ला ? कसले बुझाइदेला । बुझिनँ मैले, बुझाउदेऊ कसैले ।

थाहा थियो– बर्लिनाले खासमा समुद्र हो । समुद्रबाट कति पानी ल्याउने ? पौडने कि तैरिने ? अथवा कति गहिराइ नाप्ने ? मैले सक्दो अञ्जुलीभरि सम्झना, एक अँगालो अनुभव र विश्वबजारका ज्ञान, शिल्प र सम्बन्ध बोकी फर्किएको छु । 

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully