धन, मन र तनको तादात्म्यता मिलेपछि मात्रै जीवन रमाइलो हुन्छ
सानो छँदा घरबाट स्कुल जाँदा वा आउँदा खुब कलम हराउँथें । उतिबेला ‘हिरो’ नामको चाइनिज कलममा नीलो मसी हालेर चलाइन्थ्यो । प्रायः बाटोमा कि कहिले स्कुलमा, कलम हराएपछि एकदम दुःख लाग्थ्यो । असावधानीप्रति निकै खेद हुन्थ्यो, नमिठो लाग्थ्यो ।
अनि मनमा चाहना हुन्थ्यो, आज स्कुलबाट घर फर्कंदा सय रुपैयाँ बाटोमा खसेको भेटे कस्तो गजब हुन्थ्यो । सपनामा तैरिन्थें– म बाटोमा भेटेको त्यो पैसाले नयाँ कलम किन्थें । यस्तो सोचिरहँदा घर पुगिन्थ्यो ।
मजस्तो सानो कक्षामा पढ्ने विद्यार्थीले पैसा कमाउन वा पाउन दसैं वा घरको पूजा वा श्राद्ध पर्खनुपर्थ्यो, ती अवसरमा दक्षिणा पाइन्थ्यो ।
त्यतिबेला, क्यामेल ब्रान्डका राम्रा ज्यामिति बक्स, कलर पेनको खुब रहर लाग्थ्यो, अनेक डिजाइनका पेन्सिल बक्स पाइन्थ्यो । ती सब किन्न पैसा कमाऊँ कमाऊँ लाग्थ्यो ।
एसएलसी दिएपछि साना कक्षाका भाइबहिनीलाई दुई ग्रुप ट्युसन पढाएर केही सय पैसा कमाइयो । लाग्यो, के–के न भयो जिन्दगीमा ! स्कुल छँदा साथीहरूसँग टिफिनमा तित्री, रंगीचंगी पानी बरफ, बयर, काशी बयर, पाचक इत्यादि खान पनि पैसा चाहिन्थ्यो, दस रुपैयाँ बोकेर स्कुल आउने साथी पनि धनी लाग्थ्यो ।
पैसाको आवश्यकता हरेक उमेरमा फरक–फरक रहरका लागि हुँदोरहेछ । उतिबेला पचास पैसामा नीलो टल्किने खोल भएको, त्यसको भित्र पनि सानो खोल भएको चकलेटको रहर थियो । त्यो मोर्टन चकलेट, हिरो पेन, कलर पेन, डिस्को पेन्सिल र ज्यामिति बक्स किन्न खुब धनी हुनुपर्छ जस्तो लाग्थ्यो ।
पछि किशोर–बेलामा राम्रा लेडिज साइकलतिर आँखा दौडिन्थे । कसैको गुलाफी, कसैको हरियो, कसैको आकाशे नीलो साइकल, त्यो पनि अगाडि बास्केट भएकोले मन लोभिन्थ्यो । त्यस्तै साइकल चढेर स्कुल जान धन कमाउनुपर्छ जस्तो लाग्थ्यो, घरमा भएको पुरानो साइकल राम्रै थियो, त्यसले काम गर्दागर्दै ‘अर्को किनिदिनु’ भन्न डर लाग्थ्यो ।
आमा भन्नुहुन्थ्यो– खाने, लाउने कुरामा आफूभन्दा तलका साथीलाई हेर्नू र आफूले पाएका सुविधामा खुसी मान्नू, पढाइमा चाहिँ आफूभन्दा माथिका मिहिनेती साथीलाइ हेरेर कस्सिनू र खुब पढ्नू । बुवा भन्नुहुन्थ्यो– चाहिने कुराको खर्च कम गर्नुभन्दा कमाइ कसरी बढाउने भनेर सोच्नू र मिहिनेत गर्नू ।
एकपटक एसएससी अन्तिम परीक्षाको तयारी गर्न ताहाचलको मामाघरमा थिएँ । मन्टु मामाको साथी पाँचतारे सोल्टी होटलमा काम गर्थे, जहाँ स्टाफलाई हप्ताको एक दिन पचास प्रतिशत छुटमा त्यहाँ पाइने खानेकुरा दिइन्थ्यो । उहाँलाई अनुरोध गरेर सोल्टी होटलबाट छुटमा भेज पिज्जा मगाएँ । २०५६ सालमा ६०० रुपैयाँ पर्ने पिज्जा रु. ३०० मा घरमै आइपुग्यो । नरम, स्वादिष्ट त्यो पिज्जा खाएपछि जीवनमा मिठो र सही खान पहिलो पटक साँच्चै धनी हुन मन लाग्यो ।
पछि सन् २००८ मा कोलकाता जाँदा बसेको होटलको भव्यता देखेर लाग्यो– जीवनलाई सुखमय बनाउन साँच्चै धनी हुनुपर्ने रहेछ । जीवनमा दोस्रो पटक धनी हुन मन लागेको थियो त्यसबेला ।
त्यही बसाइमा एक रात, रात्रिभोजका लागि मिथुन चक्रवर्तीको साततारे होटल सोनार बांग्लामा निम्ता थियो । साँझ ७ बजे होटलको बगैंचामा राखिएको पार्टी भएको स्थानमा पुग्यौं । एक जना केटा आएर केटाकेटीलाई अर्को टेबलमा लगेर रुमाल हराउने र सिक्का यताउता गायब गर्ने खेल खेलाउन थाले । त्यहाँको खाना असाध्यै लजिज थियो । केहीबेरपछि एक्कासि माइकबाट सबैको ध्यान आकर्षित गरियो र भनियो– अब रमाइलो खेल खेलौं र उपहार जितौं, कालो सारी र कालै टीका लाउनेलाई उपहार ।
एक जना आगन्तुकले कालो सारी लाएकी रहिछन्, उनले उपहार पाइन्– माहोल रन्कियो । दोस्रो उपहार थियो– विदेशी मुद्रा हुनेले देखाउने । हामीसँग चाइनिज युआन र थाइल्यान्डको भाट त थियो, तर अर्को पाहुनाले हामीभन्दा चाँडो विदेशी मुद्रा देखाए र उपहार पाए । नेपालबाट जाने हामी दुई परिवार थियौं । त्यो साँझ रमाइलो भयो । पाहुनाको रमाइलो र सन्तुष्टिको ख्याल गरिएको फरकपन महसुस भयो, खुला चौरको सुविधाजनक, चलायमान शौचालय पनि पहिलो पटक देखियो ।
सन् २०१० मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंकक पुगियो । त्यहाँ हरेकथरी खानेकुरा पाइने कुनाहरू थिए– फलफूल स्टल, कफी स्टल, बेकरी र क्यान्टिनमा पनि विभिन्न परिकार । फलफूलको रस पनि इच्छाअनुसार किन्न पाइने । आफूले पढ्ने वा पढाउने परिसरमा त्यसरी किनेर खान पाउँदा पनि ‘अहो’ को अनुभूति भयो र आफूले पढेको–पढाउने कलेज सम्झिएँ । लाग्यो, एउटा धनी कलेजमा पढ्न र पढाउन पाउनेबारे हामी कहिले सोच्ने ? स्वास्थ्यबारे किन हाम्रा शिक्षण संस्थाहरू उदासीन ? म चाहन्छु, हामीले काम गर्ने कलेज धनी होस्– सोचले, अनुभवले र मानवीय गुणले ।
हाम्रो देशका सामान्य होटल हुन् वा क्यान्टिन– पाहुनाको विशेष ख्याल गर्न सके सेवाग्राही आएर बस्थे र हाम्र्रै देश धनी हुन्थ्यो । सोचाइ, सरसफाइ र खानामा ध्यान दिन सके हाम्रो पर्यटनले रफ्तार लिने थियो ।
कतिपय होटलमा झर्कोफर्को गरेको र खाना चर्को पकाएको नमिठो अनुभव छ । भन्न त ‘अतिथि देवो भवः’ भन्छौं, तर सबैले यो र यसको मर्म बुझेर पालना नगरेको पाउँदा नौनाडी फतक्कै गल्छ ।
मलाई लाग्छ– सम्पन्न हुनु सफा, सभ्य र शान्त हुनु हो । होटलमा ग्राहकका कुरा सुनेर त्यसअनुरूप राम्रो बोलीबचन गरे पाहुनाहरू तनाव बिर्सेर, खुसीको अनुभूति लिई घर फर्कन्थे । अरूलाई पनि भन्ने थिए, हाम्रो न्यानोपनबारे । अनि सफा र स्वादिष्ट खानाले बिग्रेको मनःमनस्थितिलाई चंगा बनाउँथ्यो । ‘धनको नि नाश धर्मको नि नाश’ हो, अस्वस्थकर खाना खुवाउनु–बेच्नु ।
सारा जीवन देशका विभिन्न कलेजमा बित्यो, पहिले विद्यार्थी भएर–अहिले शिक्षक भएर । कलेज क्यान्टिनका कर्मचारीले मायाप्रेमले पस्केको थालीको रहर (अपवादबाहेक) मसँगै रिटायर्ड होला कि ? सोचिबस्छु ।
‘सत्कार व्यवसाय’ गर्नेले ग्राहकलाई मिठो बोली र स्वस्थ खाना खुवाएर अनि सफा शौचालय उपलब्ध गराएर मात्रै धन कमाउने बाटोमा लागौं । धन, मन र तनको तादात्म्यता मिलेपछि नै जीवन रमाइलो हुन्छ । यी तिनैलाई मिलाएर लैजान हामी अनुशासित हुनुपर्छ ।
