मान्छेले प्रतिक्रिया जनाउने दुई तरिका हुँदोरैछ– माया र घृणा । माया सकिए घृणा पलाउँदो रहेछ, घृणा सकिए फेरि माया ।
अरूलाई के लाग्छ कुन्नि ? मलाईचाहिँ माया भनेको कसैलाई कुनै दुःखकष्ट नदिईकन बाँच्न सक्ने बनाइरहनु हो भन्ने लाग्थ्यो । तर, मनमा उब्जेको मायालाई कसरी खटाएर दिए मात्रै त्यसको मूल्य रहन्छ ? त्यो मैले ४० कटेसी थाहा पाएँ, जसले गर्दा मायामा धेरैचोटि दुर्घटनामा परें ।
माया गर्न नजान्दाकै इतिहास सम्झिल्याउँदा लगभग पहिलो घटनाका रूपमा मेरी हितैषी मित्र गीतालाई सम्झन्छु । उनी उपाध्याय, म किरात । तर, छिमेकीको हिसाबले नजिक भएर मात्रै होइन, हामी दौंतरी अनि क्लासमेट पनि थियौं ।
नुन, भुटुन, आगो, पानी ऐंचोपैंचो चल्ने नजिकका आफन्त थियौं । मेरो धेरै बास गीतकै घरमा हुन्थ्यो । चौकामा जान त मिल्दैनथ्यो, म सुँगुर खाने भएर । गीता पनि मेरो चुलोमा जान मिल्दैनथ्यो, खसी खाने भएर । तर, हामी खान त दुवै चिज खान्थ्यौं । धर्ममा कट्टर विपरीतमार्गीले हामीलाई हिँडाएको थियो ।
बर्सेनि उनको घरमा स्वस्थानी व्रतकथा हुन्थ्यो– ‘आफूभन्दा दोब्बर उमेरको पति पाए पत्नीले राम्रो सुरक्षा पाउँछे, पतिलाई भगवान् मान्नुपर्छ’ भन्ने शिक्षा पाइयो । संगतको असर, म पनि व्रत बस्न खोज्थें, भावी पतिको कामना गर्न खोज्थें । तर, मेरो घरमा त व्रत बस्ने वातावरणै थिएन । समयमा खाना नखाए आमाले सिर्कुनो लगाइहाल्ने ।
गीतासँग बेलाबेला हामी ठूलो भएपछि एउटै केटासँग विवाह गरेर जाने सल्लाह गर्थ्यौं । तर, तिनको त ठूलो नभई ११ वर्षमै एउटा मास्टरसँग सुटुक्क विवाह भएछ । मैलै थाहै पाइनँ । मलाई नभनी विवाह गरेकीमा मेरो मनमा एकदम आघात पुग्यो । त्यति धेरै माया गरेकी साथीले कसरी मलाई नभनी पोइको घर गई ? उसपछि सम्झन पनि मन लागेन । बगिरहेको खोलालाई एक्कासि रोकेझैं मेरो माया मुटुमा गाँठो पर्यो । म बिमारी परें ।
केही हप्तापछि म सन्चो हुँदै गएँ । मेरो रिक्त मनमा आपा (बुबा) ले स्थान लिने कोसिस गर्नुभयो । सधैं अदपमा बोल्ने आपा साथीजस्तै बोल्न सुरु गर्नुभयो । सुरुसुरुमा अनौठो लागेर हाँसो लागे पनि पछिपछि त्यही बानी राम्रो लाग्न थाल्यो । सानो डोको बुन्दिनु भा’थ्यो । म त्यो बोकेर आपाको पछिपछि घाँस–दाउरा जान थालें । स्कुलको समयबाहेक आपासँग बस्तु–गोठालो सँगै जान थालें । बस्तु चराउँदै आपाले मुन्दुम पढाउन थाल्नुभयो । ‘चुला हाम्रो अन्तिम बिन्दु हो । हामी बाँचिन्जेल चुलामा देवता छ भनी आस्था राख्छौं र मरेपछि पनि चुलामै हाम्रो आत्मालाई स्थानान्तरण गर्छौं’ भनी सिकाउन थाल्नुभयो ।
आपा रैथाने गीतकार, कलाकार भएकाले मैले पनि बाह्रमात्रा छिचोल्नासाथ गीत रचेर लेख्न थालें । आपाले मात्रा पुर्याई शुद्ध बनाइदिनुहुन्थ्यो । एउटा गीतमा मैले ‘तिमी त मेरो संसारकै बहादुर..’ लेख्न खोज्दा ‘बादुर’ लेखेछु । ‘तिमी त मेरो बाँदर’ भनेर आपाले खुबै गिज्याउनुभयो, ‘बाँदरको बारेमा पनि गीत लेखिन थालियो । पशुप्रेमी गीत... यस्तै के–के भनेर गिज्याएर हैरान पार्नुहुन्थ्यो । अहिले सम्झिँदा मैले लेख्ने गीत स्वस्थानी व्रतकथाका आधारमा लेख्ने गरेको रहेछु । पूरै पुरुषप्रति आफूलाई लीन बनाएर गीत बनाउने रहेछु । एकदिन आपाले ‘धेर बाहुन गीत लेखिस् खुश्या
(कान्छी), अब किराती गीत लेख्’ भन्नुभयो । ‘किराती गीत भनेको के हो ?’ एका हातमा घाँसको मुठी र अर्को हातमा हँसिया फत्रेर म तीनछक्कै परिगएँ । आपा स्वाइँए हाँसेर सिमी–कलरको चुच्चे टोपी खेतको आँठामा राखेर खद्दरको जाँगेमा हात पुछ्दै सालबिँडे सल्काउन झुलो चकमक ठोस्न थाल्नुभयो । हरियो–पहेंलो धानको बालाभन्दा अलि अग्लो हुन आँठामा उभिएर फेरि सोधें, ‘आपा ! कस्तो हुन्छ किराती गीत ?’
आपाको ओठबाट पालैपालो गर्दै एकचोटि धूवाँ र एकचोटि शब्द निस्कन थाल्यो, ‘किराती गीतमा सबै मान्छे समान हुन्छन् । सबैलाई बराबर बाँच्ने अधिकार हुन्छ । तीन चुला कसरी बराबरको भएर भाँडा अडिन्छ र खानेकुरा पाक्छ । त्यसरी नै सबैलाई बराबर माया गर्नुलाई मुन्दुमको सार भनिन्छ ।’
‘त्यसो भए क्षेत्री–बाहुन ठूलो, सार्की–कामी सानो, हामी बीचको भनेर किन भनेको त ?’
‘हामीलाई ठूलो–सानोले केही फरक पार्दैन, हाम्रो चुलाले खसी–बाख्रा नसहने हुनाले भित्र पस्न नदिएको मात्र हो ।’ यत्ति भनेर आपाले सालबिँडे आँठामा ठोस्नुभो । तर, केही दिनअघि मात्रै मैले सार्की दाइलाई जाँड छानेर चरेसको डबुकोमा दिँदा आमाको हातको सिर्कनु खाएकी थिएँ । तर, बाहुन दाइहरूले त्यसैमा खाँदा त क्यै गाल आएको थिएन । त्यसकारण कुरा बुझिनसक्नुको थियो । कुरा नबुझेपछि गीत लेख्न पनि सकिएलाजस्तो लागेन ।
एकछिनमा आमा बोलेको सुनें, ‘खुश्या खुन्खाता/कान्छी कता गई ?’ म छेउमै थिएँ । मेरो जामाको हरियो भुइँमा पहेंला लामा–लामा जौको बाला भएको बुट्टा भएकाले फट्याङ्ग्राजस्तै धानबारीमा झट्ट नदेखिने भएको रहेछु । आमाले बोलिसक्नेबित्तिकै मलाई देखेर मरिन्जेल हाँस्नुभयो एक्लै । हामी त हाँसेनौं । अनि, बडो कौतूहलमा आमाले आपालाई भन्नुभयो, ‘हना तल्लो टोलको सिम्माले बिहा गर्ने भएछ ।’
आपाले पनि बडो छक्क परेर हाँसोको पारामा भन्नुभो, ‘हना नानाको त चुलातिर जानेबेला भो त । जन्ती जान हिँडेको मान्छे मलामी जानुपर्यो भने ?’
‘चुला सारेको अरे । माइतीलाई किरिया गर्न लगाउनु पाप भन्छ नि त । चुला सारेको अरे ।’
‘हाँ ?’ आपा र म ट्वाँ परिगयौं । एकछिनपछि मेरो डोको आमाले बोक्नुभो । आपाले ठूलो घाँसको भारी कसेर अघि लाग्नुभो । हामीले पछ्यायौं आपालाई । तर, मेरो मनमा हल्लिखल्ली मच्चियो । आफूभन्दा दोब्बर उमेरको एउटै केटोसँग विवाह गर्ने सल्लाह गरेर साथी एक्लै लुत्त गइदिँदा मलाई जति आघात परेको थियो, त्यसपछि मैले आजीवन विवाह नगर्ने सोच बनाइसकेकी थिएँ । तर, तिम्मा (ठूली आमा) ले कपाल फुलेपछि चुलाकै लागि विवाह गर्ने कुराले मलाई फेरि एकदम अचम्मित बनायो ।
आपा–आमा घाँस राख्न गोठतिर जानुभयो, म घरतिर जानुपर्नेमा दिमागले काम नगरेर गीताको घर पो पुगेेंछु । गीता घर आएकी रहिछ । मैले चिन्न नसकेर निकैबेर घोरिएर हेर्नुपर्यो । ऊ खिस्स हाँसी । हाँस्दा दुवै गालामा मुजा परे । दाँतको वरिपरि मात्रै तिनको हाँसो पहिलेजस्तै थियो । दुई चुल्ठी थिएन । कपाल रातै थियो सिन्दुरले । गलामा पोतेका झुत्ता । गुन्युचोली लगाएकी, तर कति ‘कुरूप’ देखिएकी । छ महिनाअघि मलाई ‘जान्छु’ पनि नभनी हिँडेकी गीतासँग मेरो चित्त कति धेरै दुखेको थियो भने म बिरामी नै परें । तर, त्यो दिन उसलाई देख्नासाथ ‘गीता !’ भनेर चिच्याइहालेछु ।
आखिर, मान्छेले प्रतिक्रिया जनाउने दुई थोक त हुँदो रहेछ, माया र घृणा । माया सकिए घृणा पलाउँदो रहेछ र घृणा सकिएपछि फेरि माया आफैं पलाउँदो रहेछ । गीतप्रति फेरि औधी माया पलायो ।
गीता केही बोलिन । आँखा टिलपिल पारेर उभिइरही । हामी त्यतिविधि मिल्ने दौंतरी, चौबीसै घण्टा बोलेर पनि बात नसकिने साथी, तर त्यो दिन हामीबीच बोल्ने एकै शब्द भएन । परिस्थितिले कताकता हराउन पुगेछौं । म पनि आँखा निचोर्दै फरक्कै फर्किएँ । जीवन एकदमै भयानक रहेछ भन्ने पहिलोचोटि संकेत मिल्यो ।
घर पुग्दा आमा–आपा आँगनको धारामा हात, गोडा धोइवरी भित्र भर्खर पस्नुभएको थियो । घाम निकै चर्किसकेको थियो । आमाको अनुहार रातो भएछ । पानीले फेरि पखाल्नुभयो र उही भर्खर विवाह गर्न लाग्नुभएको तिम्माकै कुरा निकाल्नुभयो, ‘चुलाले गर्दा नानाले बिहा गर्नुभो ।’
चुलाकै लागि जबर्जस्ती विवाह गर्नुपर्ने रहेछ भने सुरुमै आफैं चुला तयार गरेर बस्दा के होला ? मैले आपालाई भनें, ‘म त बिहा नगर्ने हो । म आफैं चुला राखेर बस्छु । मलाई चुला दिनु आपा । ऊ पल्लो टारगह्रामा चुला राखेर बस्छु ।’
आपाको जहिल्यै जिस्कने बानी । मलाई उसैगरी गिज्याएर भन्नुभो, ‘तैंले एउटा चुला लगेपछि हामीले दुई चुलामा कसरी भात पकाउने ? तँ झन् एउटा चुलामा के पकाएर खान्छस् ? ज्वाइँको घर गएपछि तीनटै चुला पाउँछस् ।’
आमाले पनि थप्नुभयो, ‘चुला राखेर मात्र हुन्छ ? आफू मरेपछि आफूलाई चुलामा पुज्ने सन्तान हुनुपर्यो । छोरी अर्काको घर जानु परिगो । छोरा भए सधैंलाई आफ्नो हुन्छ । त्यसको लागि सन्तान बनाउन लोग्ने घर जानु परिगो । गएपछि नाथे चुलाफुला पाइगैइन्छ नि ।’
यो कुरा पनि मेरा लागि मनासिब नै लाग्यो । तर, सिंगल बस्नचाहिँ नपाइने भो । गहुँ र चामलको भात अनि गुन्द्रुक र आलुको तरकारी, सानोखाले बेलौती/टमाटरको अचार ! आपाले ठूलो गाँस खाना निलेपछि फेरि भन्नुभो, ‘अरूको छोरी पढेर के–के बन्ने सपना देख्छ, मेरो छोरीले त ढुङ्गा मागेर छक्क पारिस् ।’
‘तिम्मा पनि त हेडमास्टर । आखिर ढुङ्गैले गर्दा बिहा गर्नुपर्यो ।’
आमाले भन्नुभो, ‘भाइहरूसँग रिस उठ्यो हला नै ? तिम्रो किरिया कसले गर्दोरछ । पैसा नदिए किरिया गरिन्न, भनिबस्थ्यो अरे । त्यै भएर हला नै ? आफ्नो छोराछोरीजस्तो कैले हुँदैन अरू ।’
मलाई फेरि अर्को दुविधा आइलाग्यो । छोराछोरी पनि हुनैपर्ने ! दुविधामाथि दुविधा थपिँदो थियो । आफूभन्दा बढी उमेरको मान्छेसँग विवाह गरेर पनि गीता किन त्यसरी ओइलिएकी ? हेडमास्टर भएर पनि तिम्माले किन विवाह गर्नुभो ? फेरि अरू मान्छेको भरै नहुने, छोराछोरी नै चाहिने ! दसैं बिदा मेरो दुविधामै सकियो ।
एक बिहान ब्युँझँदा म ओछ्यानमै रगतपच्छे पाएँ । अचम्मै भो, त्यसरी थाहै नपाई रगत बनाइदिने एउटै मात्र तत्त्व थियो, जुका । अहिलेको एक नम्बर प्रदेशको मबु भन्ने मेरो गाउँमा फलफूल, सागसब्जी, सिजने बाली र अलैंची प्रशस्त भए पनि उत्तिकै मात्रामा जुका पाइन्छ । बेला न कुबेला रगतैसरी बनाइदिन्छ । मलाई पनि त्यसैगरी खरी जुका/ठूलोखाले जुकाले टोकेछ भनेर घाउ पत्ता लगाउँदै जाँदा रगत पिसाबझैं बगिरहेको थियो । आमालाई बोलाएँ । उहाँले देख्नासाथ भन्नुभो, ‘अबुई नानी, लौ तँ त फुलिछस् । ठूली भइछस् । अब लोग्नेमान्छेसँग जोगिनू । नत्र बच्चा बस्न सक्छ । लु नुहाएर अर्को लुगा लगा । म फोसीमा पानी तताइदिन्छु ।’
‘लोग्नेमान्छेसँग के के कुरामा जोगिने ? कस्तालाई लोग्नेमान्छे मान्ने ?’ प्रश्नहरूको ओइरो लाग्यो । फेरि आमालाई सोधें, ‘आमा त्यो हामीसँग स्कुल जानेहरू लोग्नेमान्छे हो कि होइन ?’ आमा स्वाइँए हाँस्नुभो । शंका लाग्यो आफैंसँग, मेरो प्रश्नै मिलेन क्यार ।
यो फुल्ने काम पनि एकपल्ट फुलिसकेर नहुने पो रहेछ । महिनैपिच्छे फुल्नुपर्दा अर्को झमेला थपिने । महिनैपिच्छे कम्तीमा पनि पाँच दिन बिरामी हुनु भनेको चानचुने कुरा होइन । यी पाँचदिने बिरामी हुनुपर्ने दिनकै कारण धेरै काममा बाधा पर्न जान्छ । ‘महिनावारी बार्नु हुँदैन’ भन्ने जुन भनाइ छ, यसले महिलाको स्वास्थ्यमा धेरै नराम्रो असर पर्न जान्छ । यी पाँच दिनलाई बेवास्ता गर्नाले नै शरीर कमजोर हुँदै जान्छ । यसको मतलब ‘महिनावारीलाई पापका रूपमा लिएर केही नछुने’ भन्ने होइन, तर आराम र पोसिलो खानेकुरामा ध्यान दिनु अत्यन्त जरुरी छ ।
राईहरूको लाहुरे परिवेशमा लाहुरेहरू जति पैसा कमाए पनि पेन्सन पकाएर फेरि सेक्युरिटी–गार्ड गर्न जान्छन् । ‘कति पैसाले पनि नपुगेको’ भन्ने आरोप खेपीखेपी लाहुरेहरू पेन्सन पकाएर फेरि अर्को जागिरमा गएका हुन्छन् । तर, खासमा पेन्सन पकाएर पनि आरामले बस्न पाउने उनीहरूलाई छुट नहुँदो रहेछ । श्रीमतीले अर्को काममा लगारिहाल्दा रहेछन् । कि त गाली खाँदै बस्नुपर्यो, यदि सम्मान पाउने हो भने अर्को पैसा आउने काममा लागिहाल्नुपर्यो ।
मलाई त यस्तो मन परेन । श्रीमान् पनि कसैका छोरा हुन् । पैसा कमाएन भनेर बुहारीले गाली गरिन् भने चित्त दुख्छ । त्यसैले मैले श्रीमान्लाई ‘पैसा कमाऊ’ भनेर कहिल्यै जोड गरिनँ । छोराहरू र श्रीमान्ले दुःख गरेको देख्न नसक्ने मेरो कमजोरी हो । बरु जत्ति दुःख मै गरुँला, मै सहुँला, तर यसरी त नहुने पो रहेछ । विवाहको रजत वर्ष मनाउने मेरो धोको अधुरै रह्यो । म उहिल्यै परित्यक्त भइसकेको रहेछु । मलाई प्रेम नै नगर्नेलाई पनि म प्रेमी मान्दो रहेछु । ‘प्रगति राई मेरो अभिभावक मात्र हो’, भन्दा पो होस खुल्यो । खोइ मैले माया गर्न जानेको ?
आखिर पोखरीजस्तै प्रेम पनि निकासरहित बनाउन नसकिँदो रहेछ, कहिलेकाहीं नियन्त्रणबाटै फुत्त भागेर कतै टाँसिन पुग्दो रहेछ ।
केही वर्षको कोरिया बसाइले केही बानीचाहिँ बदल्नै नसक्ने गरी लतजस्तै गरी लागेछ । बोलिसकेपछि त्यो पूरा हुनैपर्ने बानी लाग्यो । कसैले ‘भरे फोन गर्छु’ भनेर गरेन भने एकदम तनाव हुन्छ । ‘आउँछु’ भनेर आएन भने वा ‘यो मितिमा यसो गरौं’ भनेर गरेन भने मलाई ज्यादै तनाव हुन्छ ।
यस्तो त नेपालमा कति हुन्छ कति ! यस्तै तनावबीच एक मित्र भेट हुनुभो, ठ्याक्क–ठ्याक्क बचन पूरा गर्ने । यो बानीसँग मेरो लत परेछ । असल मित्र हुनुभयो या बनाएँ । तर, प्रेम दिवसमा फेरि कता हराउनुभो ! दिमागले केही होइन भन्दाभन्दै पनि मन त चर्किएछ । पुछेर जति सफा गर्न खोज्यो, उति दाग देखिन्छ । केही दिन वाद उहाँले ‘प्रगतिजी चिया नखाएको धेरै भएछ, कतै भेटौं है !’ भन्नुभो ।
‘खाइन्न चियासिया’ भनें । ‘लौ त अलबिदा’ भन्ने उत्तर आयो । मैले पनि ‘रेस्ट इन पिस, शान्तिसँग बस्नुहोला’ भनें ।
खोइ त मैले प्रेम गर्न जानेको ? निकास खोजिरहने प्रेमले कसलाई चाहिँ माया गरेर निकास दिने हो ? आफैंलाई या अरू कसैलाई ? आफैंलाई माया गरुँ त छिनछिनमा मन बदलिइरहन्छ । घरी मनले भन्छ– थोरै खाएर जीउ राम्रो बनाऊ, धेरै पढेर प्रतिष्ठित बनुँ, फेरि भन्छ मनले– अँ...मस्तले खाऊँ, आनन्दले सुतुँ ।
आखिर आफैंले आफैंलाई प्रेम गर्दा त कुनै भर नहुने रहेछ । प्रेममा कुनै एकाकार हुन्न भने अरूलाई गरेको प्रेमले सधैं साथ दिन्छ भन्नु मूर्खता रहेछ । जीवनको यो उत्तरार्द्धमा आएर थाहा भयो, मूर्त आकार नभएको प्रेमलाई कुनै आकारमा हेर्न खोजेर आधा जीवन आँसुमा डुबाइँदो रहेछ । प्रेम त क्षणिक हुने रहेछ । त्यो क्षण–क्षणलाई जोडेर मिनेट, घण्टा, दिन, वर्ष बनाउनुपर्ने रहेछ । तर, सधैं प्रेमकै रखवारी गरिबस्न मान्छेलाई समयले कहाँ साथ दिन्छ र ?
