पाठ्यक्रमबाट ‘आउट’ पारिजात 

फाल्गुन २४, २०८१

बिन्दु शर्मा

Getting 'out' of the course

त्रिवि, एमए नेपालीको नयाँ पाठ्यक्रममा ५७ स्रष्टाका ६२ पाठमध्ये २ मात्रै महिला समावेश गरिनुले महिला समावेशीकरणको उपहास गरेको छ 

त्रुटिको सिलसिला 

त्रिभुवन विश्वविद्यालयमा एमए नेपालीको नयाँ पाठ्यक्रम तयार भई २०८१ फागुनदेखि लागू भएको छ । नेपाली भाषा र साहित्यको प्रतिनिधित्व गर्ने हुनाले यस्तो पाठ्यक्रमको सम्बन्ध नेपाली भाषालगायत नेपालका राष्ट्रभाषा, नेपाली साहित्य, लोकसाहित्य, समालोचना, अनुवाद तथा नेपालबाहिरको नेपाली साहित्य एवम् विश्व साहित्यको ज्ञान, सीप र प्रवीणता हासिल गर्ने प्रायोगिक सिकाइको अपेक्षासँग हुन्छ ।

तर, अहिलेको प्राविधिक युगमा उदार र समावेशी विचारको अवलम्बन, विविधतामय स्तरीय कृतिको छनोट र उत्तरोत्तर समृद्ध हुँदै साहित्यका असीमित सम्भावनासँग शिक्षार्थीलाई अन्तरक्रिया गराई सबल बनाउनुपर्ने पाठ्यक्रमले असमावेशी प्रकृति, संकीर्ण विचार, अनुकरणमा आधारित र सीमित अभ्यासका शास्त्रीय सिद्धान्तयुक्त ढोंगलाई प्राथमिकता दिएको हुनाले यो असमावेशी, त्रुटिपूर्ण र असामयिक छ ।

महिला समावेशीकरणको उपहास 

पाठ्यक्रम निरन्तर विकासशील हुनुपर्ने हो र यसले आधुनिक शिक्षार्थी र समाजको परिवर्तनशील आकांक्षालाई समेट्न सक्नुपर्ने हो तर यसअघिकै व्यवस्थालाई निरन्तरता दिँदै यो पाठ्यक्रमले ५७ जना स्रष्टाका ६२ वटा पाठमध्ये २ जना मात्र महिला समावेश गरेर समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालका विश्वविद्यालयमा विद्यमान सामन्ती पुरुषत्वको निकृष्टता प्रदर्शन गरेको छ ।

यो संवैधानिक व्यवस्थाको उपहास पनि हो । युगानुकूल आधुनिक चेतनाका विद्यार्थीका लागि रुचियुक्त पाठहरू राख्नुपर्नेमा पुराना घिसेपिटे रचना र ‘फेक’ राष्ट्रियताका विचारहरू आजका निम्ति हास्यास्पद छन् ।

ईश्वरीय अन्धभक्ति प्रसार गर्ने समको ‘प्रह्लाद’ जस्तो नाटक पढाएर हामीले कस्तो परिवर्तनशील आकांक्षाको मानव संसाधन निर्माण गर्ने हो ? महिलालाई कज्याउनका लागि एउटा ‘रामायण’ ले मात्र नपुगी रामकै कथाको ‘आदर्श राघव’ महाकाव्यका भाग्यवादी चिन्तनसमेत रटाएर यसले राष्ट्रप्रति इमानदार, लोकतन्त्रप्रति प्रतिबद्ध र श्रमप्रति निष्ठावान् नागरिक तयार गर्ने राष्ट्रिय शिक्षा नीतिको लक्ष्यमा कसरी सघाउने होला ? 

लोकतान्त्रिक विधिको भद्दा मजाक 

पाठ्यक्रमको निर्माण र परीक्षणको प्रक्रिया लोकतान्त्रिक विधिबाट हुनुपर्ने हो । यसको निर्माणमा शिक्षार्थीको कुनै सहभागिता छैन । अँध्यारो कोठामा तयार भएको यो पाठ्यक्रमको सफ्ट प्रति अहिले पनि डिन कार्यालयमा समेत उपलब्ध छैन र वेबसाइटमा पनि राखिएको छैन ।

त्यसैले प्रमुख ‘स्टेकहोल्डर’ मानिएका अध्यापनरत शिक्षकहरूले समेत त्यसको पूर्ण रूप सहजै प्राप्त गर्न सकेका छैनन् । यसलाई बिनाअभिमुखीकरण लागू गरिएको छ र ‘निमुखा’ प्राध्यापकहरू ‘लाचार’ भएर त्यसलाई पढाउन विवश छन् । विषय समितिका अध्यक्ष र सदस्यहरूलाई समेत त्यसबारे कुनै ज्ञान, चासो र चिन्तन गर्ने समय छैन । तिनले पाठ्यक्रमलाई बिनाविमर्श ‘गड गिफ्टेड’ रूपमा लिएका छन् । 

'इगोसेन्ट्रिक’ निर्माताको मनोमानी 

पाठ्यक्रम कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा जोन स्पेन्सरले भनेका छन्– पाठ्यक्रम ठ्याक्कै नक्साजस्तो हुनुपर्छ जसले शिक्षार्थीका सम्भावनाहरूलाई उत्प्रेरित गर्न सकोस्, तिनका विकल्पहरूलाई सीमित गर्ने होइन । तर, यो पाठ्यक्रमले साहित्य अध्ययनमा उत्साह लिएर आएका शिक्षार्थीका सम्भावनाहरूलाई कुण्ठित गर्ने र विकल्पहरूलाई पाठ्यक्रम निर्माता एउटा व्यक्तिमा सीमित गरेको छ । साहित्य विश्लेषणका दार्शनिक र पद्धतिगत विविधतालाई संकुचन गर्दै यसले पूरै अध्ययनलाई संरचनावादतर्फ अभिमुख गरेको छ । मूल नेपाली विषय समितिका तत्कालीन अध्यक्षको विद्यावारिधिको विषय रहेको यस सिद्धान्तलाई 

पाठ्यांशभित्र अनावश्यक रूपमा ‘कविताको संरचनात्मक वर्गीकरण’, ‘लोकसाहित्य अध्ययनको संरचनावादी पद्धति’, ‘संरचनावादी समालोचना पद्धति’, ‘संरचनावादी नेपाली समालोचना परम्परा’ मा पनि उनकै अध्ययन गराउनुपर्ने ? अझ बिजोग त के छ भने इतिहासै स्वीकार नगर्ने ‘साहित्येतिहास लेखनसम्बन्धी संरचनावादी मान्यता’ लाई पाठमा स्थापित गरेर साहित्येतिहास लेखनको मूल आधारका रूपमा रहेको मार्क्सवादी मान्यतालाई चाहिँ खारेज गरिएको छ । त्यसैले यो इतिहास लेखनको आधार सर्वथा त्रुटिपूर्ण छ ।

साहित्येतिहास लेखन साहित्यको मात्र इतिहास होइन, देशको साहित्य, भाषा, संस्कृति, राजनीति, अर्थव्यवस्था, राष्ट्रिय चेतना आदिको समग्रतामा लेखिने हो र यस्तो लेखन मार्क्सवादी मान्यताका आधारमा मात्र निर्माण हुन सक्छ । पाठ्यक्रमले साहित्यिक पाठमा प्रकटित दृष्टिकोणबारे तर्क–वितर्क गराउँदै विद्यार्थीहरूमा आलोचनात्मक सीपको विकास गर्न, मानवीय अनुभवप्रति संवेदनशीलता बढाउन, विविध सांस्कृतिक मूल्यप्रतिको सम्मान गर्न र सामयिक मुद्दाहरूमा सचेतना सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने हुन्छ ।

आधुनिक र त्यसमा पनि उत्तरवर्ती चरणको साहित्यको वैचारिक तथा दार्शनिक पाठलाई पूरै नकार्दै लोकवार्ताका धामीझाँक्री, शकुन, अपशकुन, झारफुक, टुनामुनाको ज्ञान दिनुलाई बढी महत्त्व दिएर शिक्षाको गुणस्तर सुधार गरी विद्यार्थीको ज्ञान र सीप विकास गर्ने त्रिविको लक्ष्य पूरा हुन सक्छ त ? जम्मा १९ सय पूर्णाङ्कको यस पाठ्यक्रममा भाषाविज्ञान र साहित्यिक पाठको अध्ययनका लागि समान ४ सय पूर्णाङ्क छुट्याएर साहित्यको अध्ययनलाई सीमित गरिएको छ । अर्कातिर समालोचना सिद्धान्तलाई भने ८ सय पूर्णाङ्क दिएर अन्तरविषयक विद्यार्थीहरूलाई सीमान्तीकृत गरिएको छ ।

विविधता र बहुलताको धज्जी 

बहुल सांस्कृतिक पहिचानयुक्त राज्यको सबैभन्दा ठूलो विश्वविद्यालयको पाठ्यक्रमले विद्यार्थीहरूलाई विविध क्षेत्रका दर्शन र तिनका बहुआयामिक ज्ञान प्रदान गर्नुपर्ने हो तर यस पाठ्यक्रमले नेपालका आदिवासी दर्शनलाई निषेध गरी पूर्वीय दर्शनका नाममा ६ वटा अध्यात्मवादी दर्शन पढ्न बाध्य बनाएको छ ।

यसले देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवम् सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको संस्कृति, साहित्य, कलाको संरक्षण गर्ने राज्यले लिएको सामाजिक र सांस्कृतिक रूपान्तरणसम्बन्धी नीतिलाई त मजाक बनाएको छ नै साथै क्रमिक ज्ञान र सीपलाई अवरुद्ध गरी शिक्षार्थीहरूमा सैद्धान्तिक बोझ सिर्जना गर्छ, अरुचि पैदा गर्छ र शिक्षकलाई अनुकरण एवम् टापटिपे नोटकपीमा सीमित गर्न खोजेको देखिन्छ । 

असिर्जनशील र गलत सूचनाको प्रसारण 

पाठ्यक्रमले शिक्षार्थीको आवश्यकतालाई सम्बोधन गर्नुपर्ने हो । यो शिक्षार्थीको पूर्वज्ञानमा आधारित हुनुपर्छ र आउँदो समयका चुनौतीहरूप्रति संवेदनशील प्रतिक्रिया दिन सक्ने हुनुपर्छ । यस वर्षको मात्र तथ्यांक हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी विद्यार्थी नेपालीभन्दा बाहिरका विषयबाट आएका छन् । अभिमुखीकरण कक्षामा उपस्थित अधिकांश विद्यार्थीले नेपाली साहित्यको औपचारिक ज्ञानसँगै आफ्नो सिर्जनशीलतालाई अझ समृद्ध बनाउन तथा नेपाली भाषा र व्याकरणको ज्ञान हासिल गर्नका लागि नेपाली पढ्न आएको बताएका थिए । 

पाठ्यक्रमले चाहिँ नेपाली भाषा र व्याकरणको न्यून ज्ञान रहेका अन्तरविषयक विद्यार्थीलाई शुद्ध लेख्न सिकाउने गरी नेपाली भाषाविज्ञान पढाउनुको साटो ब्लुमफिल्ड, फिल्मोर, चोम्स्की र ह्यालिडेका भाषाविज्ञानका सिद्धान्त रटाउने नियत राखेको छ ।

त्रिविअन्तर्गत भाषाविज्ञानको अध्ययन गराउने छुट्टै विभाग हुँदाहुँदै नेपाली साहित्यका विद्यार्थीलाई समेत यो बोझ थप्नु भनेको प्राज्ञिक सुझबुझबिनाको गैरजिम्मेवार प्रशासनिक कदमसमेत हो । अझ हाँसोउठ्दो कुरा त के छ भने यसका विज्ञ प्राध्यापकहरूले प्रगतिवादलाई मार्क्सवाद, नवमार्क्सवाद र उत्तरमार्क्सवादमा विभाजन गरेर राखेका छन् । यस्तो गलत विचारको प्रसार गर्न खोजिएकाले पनि यो पाठ्यक्रम निर्माताको अहम् र तिनको अर्धज्ञानको विज्ञापनमा सीमित भएको प्रस्ट हुन्छ ।

अनावश्यक बोझ र गहनताको अभाव

पाठ्यक्रम पठनपाठनको समयसँग त्यसको विषयगत गहनता र व्यापकतासित तालमेल हुनुपर्ने हो । तर, अहिले लागू गरिएको पाठ्यक्रममा सीपका कुनै कार्यकलाप गराउन सम्भव छैन किनभने त्यसमा तोकिएको जम्मा ४८ पाठघण्टामा सबै पाठ्यांशको सामान्य चर्चा मात्र गर्दा पनि ९० भन्दा बढी पाठघण्टा आवश्यक पर्दछ । ‘नेपाली आख्यान’ मा सात कथाकार र छ उपन्यासकारको परिचय, लेखनयात्रा, प्रवृत्ति र योगदानसँगै तिनका सात वटा कथा र छ वटा उपन्यास पढाएर तिनका विशिष्ट पङ्क्तिको व्याख्यासाहित प्रायोगिक अभ्यास ४८ घण्टाभित्र पढाउँदा त्यो कति गहन होला ? 

किन पढाउने बीपी र पारिजात ? 

पाठ्यक्रम शैक्षिक गुणस्तरको वृद्धितिर अभिमुख हुनुपर्ने हो । त्यसका निम्ति शिक्षार्थीले सिर्जनात्मक, अनुसन्धानात्मक र नयाँ–नयाँ खोजतिर जिज्ञासा जगाउन सक्नुपर्छ र तिनको क्षमताको उपयोग गर्ने उद्देश्य पूरा हुनुपर्छ । यस्तो गुणस्तर समाज, राष्ट्र र विश्वव्यापी जीवन पद्धति, लोकतन्त्र, न्यायको पक्षधरता, अनुभवको स्तरीकरणमा आधारित हुनुपर्छ ।

यसका लागि फरक लैंगिक, जातीय, वैचारिक र भौगोलिक पृष्ठभूमिका एकल स्रष्टाको साहित्य अध्ययन गराउने परम्परा थियो तर यसले पूर्ववर्ती पाठ्यक्रममा समावेश भएका विशिष्ट प्रतिभाहरूको अध्ययनको पाठ्यांश खारेज गरेको छ । स्रष्टाको सिर्जनाकारिताको समग्र र सघन अध्ययन गराउने उद्देश्यले राखिएका प्रतिभामध्ये नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक आख्यानकार विश्वेश्वरप्रसाद कोइराला मनोवैज्ञानिक, राजनीतिक अन्तर्दृष्टिसँगै अध्यात्मवाद र भौतिकवादको समन्वय तथा मेलमिलापयुक्त मध्यमार्गी विचारधाराको सम्प्रेषणका कुशल शिल्पी हुन् ।

त्यसैले उनका रचना अहिलेको लोकतान्त्रिक युगका लागि उत्तिकै सान्दर्भिक छन् । आख्यानकार भवानी भिक्षु व्यक्तिको मनोविज्ञानसँगै तराईको रैथाने जीवन पद्धति र त्यहाँको स्थानीय सौन्दर्यलाई नेपाली साहित्यमा भित्र्याउने तराई मूलका एक मात्र त्यस्ता कुशल स्रष्टा हुन्, जो लामो समयदेखि पाठ्यक्रममा राखेर पढाइँदै आएका थिए । विद्यार्थीहरूमा भुइँमान्छेका संघर्ष र संवेदना सम्प्रेषण गर्न तथा आलोचनात्मक चिन्तन विकसित गर्नका लागि पारिजातका रचना पढाउनैपर्ने हुन्छ ।

विजय मल्लले चाहिँ उपत्यकाको नेवाः समुदायका सांस्कृतिक पक्षका सूक्ष्मतालाई विविध आयामबाट साहित्यमा अभिव्यक्ति दिएका छन् । त्यसैले यी लेखकहरूको विकल्प खोज्ने बेला अझै भइसकेको छैन । सबै जात, लिंग, भूगोल र संस्कृतिका वैचारिक आयामलाई उत्तिकै महत्त्वका साथ पाठ्यक्रममा स्थान दिनुपर्नेमा लैंगिक, जातीय र वैचारिक पूर्वाग्रह राखेर एकपक्षीय चिन्तन लाद्ने प्रवृत्तिबाट कसरी समाजवादउन्मुख राष्ट्रका लागि आवश्यक आलोचनात्मक सोच र सिर्जनशीलतायुक्त स्वस्थ नागरिक तयार हुन्छ त ?

प्राज्ञिक नैतिकताको पतन 

पाठ्यक्रमको संरचना स्पष्ट र तार्किक हुनुपर्ने हो तर यसमा अत्यधिक अस्पष्टताहरू छन् । साहित्य र समालोचना फरक हुन् कि साहित्यमा समालोचना पनि आउँछ भन्नेमा यो पाठ्यक्रममा अस्पष्टता छ । ‘आधुनिक नेपाली साहित्यको उत्तरवर्ती चरण’ तथा ‘आप्रवासी नेपाली साहित्य’ जस्ता साहित्यिक पाठ राख्नुपर्ने पाठ्यांशमा असम्बन्धित सैद्धान्तिक ज्ञान थोपरिएको छ । डायस्पोरा र आप्रवासीमा पाठ्यक्रम पूरै अलमलमा छ, निर्माताले तिनको फरक नै बुझ्न सकेको छैन ।

यसको सम्पूर्ण पाठ्यांश ‘डायस्पोराको सैद्धान्तिक स्वरूप’ (२०७९) किताबको विषयसूचीबाट हुबहु साभार गरिएको छ । अर्कातिर ऐच्छिक चार विषयको क्लस्टरमा एउटा प्रायोगिक छ तर अरू विषय सैद्धान्तिक मात्र छन् । विषय चयनमा देखिने यस्तो त्रुटिपूर्ण व्यवस्थाले विद्यार्थीहरूको अंक प्राप्तिमा मात्र होइन, प्रमाणपत्रको निर्माणमा समेत गम्भीर समस्या सिर्जना गर्न सक्छ । पाठ्यक्रम निर्माण गर्दा अपनाउने सामान्य सावधानी र मूल्यको पालना नगरी यसले त्रिविको नैतिक र प्राज्ञिक मर्यादा मात्र खस्काएको छैन, व्यावसायिक अपराधलाई पनि बढावा दिएको छ । 

भूपी र रिमाल पनि कवि हुन् र ? 

पाठ्यक्रमले विविध विचारधारा, आलोचनात्मक ज्ञान र गहन चिन्तनलाई प्राथमिकता दिनुपर्ने हो । त्यसका लागि उपयुक्त साहित्यिक पाठहरू समावेश गर्नुपर्ने हुन्छ तर यस पाठ्यक्रममा राखिएका कृति छनोटले यसलाई पूर्णतः निषेध गरेको छ । नेपाली ‘फुटकर कविता’ मा नेपाली साहित्य लेखनको मूल धारमा रहेको प्रगतिवादी धारा नियतवश हटाइएको छ ।

पाठमा राखिएका बाह्र जना कविका कवितामा पनि प्रारम्भदेखि हालसम्मका धाराका दुई जना कवि समेटिँदा प्रयोगवादी धाराबाट चार जना कविको प्रतिनिधित्व गराई प्रगतिवादी धाराका कविहरूलाई निषेध गरिएको छ । फलतः राणा शासकसँग जुधेकी योगमाया, २००७ सालको प्रजातन्त्र ल्याउन र पञ्चायती निरंकुशताका विरुद्ध लड्ने गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, भूपी शेरचन, वासु शशीजस्ता प्रजातान्त्रिक आन्दोलनका सांस्कृतिक योद्धा र प्रतिरोधी लेखकप्रति कठोर घात गरिएको छ । 

अबको बाटो 

लिसा मर्फी भन्छिन्– शिक्षार्थीहरू नै साहित्यका पाठ्यक्रम हुन् । यसको अर्थ के हो भने पाठ्यक्रम शिक्षार्थीमा केन्द्रित हुनुपर्छ र तिनको अभिरुचि, पूर्वज्ञान, आवश्यकता एवम् सिर्जनात्मक आकांक्षालाई त्यसले सम्बोधन गर्नुपर्छ । अहिले नेपाली विषय समितिले तयार गरेर त्रिविले लागू गरेको परिमार्जित 

पाठ्यक्रम निर्माताको व्यक्तिगत महत्त्वाकांक्षा, अहम् र त्रुटिपूर्ण ज्ञानको कुवामा सीमित भएको छ र त्यसले शिक्षार्थीलाई उपेक्षा तथा शिक्षकहरूको अवमूल्यन गरेको छ । लैंगिक समावेशीकरणको संविधानप्रदत्त अधिकारलाई घात गरेको छ र वैचारिक विविधताको उदारतालाई खिल्ली उडाएको छ । यसरी एउटा 

पाठ्यक्रम खराब हुँदा त्यसले गलत ज्ञान प्रसार गरेर एउटा पुस्ता नै दिशाविहीन बनाउन सक्छ । ंशिक्षार्थीहरूका लागि सम्भावनाको मार्गचित्र बन्नुपर्ने पाठ्यक्रम नै पूर्वाग्रही साहित्यिक पाठ र भ्रमपूर्ण सिद्धान्तको डंगुरले भरिएको हुँदा त्यसले सिर्जनाको द्वार त अवरुद्ध गर्छ, मानवीय अनुभवप्रति समानुभूति र सहिष्णुताको साटो समाजलाई असमावेशी 

संकीर्णतातिर लैजाने सम्भावनासमेत हुन्छ । यसबारे पटकपटक जानकारी गराउँदा पनि त्यसका त्रुटिहरू हटाउन र त्यस विषयमा सार्वजनिक विमर्श गर्न पनि नचाहने वर्तमान नेपाली विषय समितिका अध्यक्ष र सदस्यहरूको क्रियाकलाप शंकास्पद तथा गैरजिम्मेवार छ । त्यसैले सम्पूर्ण साहित्यकार, समालोचक, साहित्यप्रेमी, भाषासाहित्यका प्राज्ञिक प्रतिभा एवम् प्राध्यापकहरूले पाठ्यक्रमको आलोचनात्मक मूल्यांकन गरी त्रिविलाई यो पाठ्यक्रम परिमार्जनका लागि सक्रिय दबाब दिनु अति आवश्यक छ ।

बिन्दु शर्मा

Link copied successfully