प्रिय स्त्री ! आफैंलाई निर्माण गर

अरे ओ पितृसत्ता ! स्त्रीलाई जीवनमा केही त बन्न देऊ । तिमी किन तिनको मानसिकतामा ‘सेवा नै स्त्रीको परम धर्म’ भन्ने झूटो प्रथा जबरन रोप्ने अधम प्रयासमा सदियौंदेखि लागिपरेका छौ ?

फाल्गुन २४, २०८१

शैलीका छेत्री

Dear woman! Build yourself up

आचार्य प्रशान्त भन्दै थिए, ‘अबला जीवन ! हाय तिम्रो यही कहानी– आँचलमा दूध अनि आँखामा पानी ।’ 

प्रिय स्त्री ! यस्ता अबला भावनाबाट खबरदार बस्नू तिमी ! स्त्री जीवनका निम्ति सबैभन्दा ठूलो झन्झटको सुरुवात यस्तै भावनाबाट हुँदो हो । बातबातमा आँसु झारेर पितृसत्तात्मक समाजले थोपरेको भावना मुन्तिर दबेर गुलाम बन्न स्त्री–देह पाएकी होइनौ तिमीले ।

पितृसत्ताले स्त्रीलाई नियन्त्रणमा राख्न अनौठो षड्यन्त्र रचेको हुन्छ, जहाँ उसले बनाएको नियमअनुरूप स्त्री दबिएर बसे ऊ उत्तम स्त्री कहलाउँछे अनि त्यो उत्तमतालाई सुहाउने ट्याग पनि दिइन्छ, ‘गाईजस्ती सोझो स्त्री’ ।

अरे ओ पितृसत्ता ! स्त्रीलाई जीवनमा केही त बन्न देऊ । तिमी किन स्त्रीको मानसिकतामा ‘सेवा नै स्त्रीको परम धर्म हो’ भन्ने झूटो प्रथा जबरन रोप्ने अधम प्रयासमा पुस्तौंदेखि लागिपरेका छौ ? तिमीले त्यसरी संस्कारमा गुलाम बनाएकी स्त्रीले जन्माएकीे बच्चाबाट भविष्यमा कस्तो शिक्षाको अपेक्षा राख्छौ ? 

‘प्रिय स्त्री ! तिमी पहिले स्वयंलाई निर्माण गर, त्यो नै मानव जीवनको प्रथम दायित्व हो ।

प्रेममा कसैका निम्ति केही गर्नु एउटा कुरा हो अनि प्रभाववश वा संस्कारवश कसैका निम्ति केही गर्नु अर्को कुरा हो । अरूलाई केही दिनु, अरूको सेवा गर्नु राम्रो कुरा हो, तर प्रथम दायित्व आफू स्वयंप्रति पनि छ । स्त्री, तिमी दुनियाँको चुनौतीलाई स्वीकार गर, अपरिचित व्यक्तिसित मिलेर काम गर अनि पो थाहा पाउँछौ, तिमी कति सामर्थ्यवान छौ ! यसरी संस्कारवश असामर्थ्य रहिरहे समाजलाई के पो ज्ञान दिन सक्छौ ?’

आचार्य प्रशान्तलार्ई सुन्दै थिएँ म । र, मनमनै त्यही क्षण सम्झिरहेकी थिएँ– दिदी मीनाक्षी उपेक्षित गृहिणी बनेको त्यो भावुक कथा । उनी भनिरहेकी थिइन्– 

शैली, मैले ऊसित आशा र सुन्दर सपना वशीभूत नै विवाह गरेकी हुँ । ऊ मभन्दा आकर्षक अनि धेरै सफल थियो, तरै पनि उसले मेरो साधारणपनलाई मन पराएको थियो । तर, धेरै वर्षपछिको हाम्रो त्यो विवाह सम्बन्धले पनि परिवर्तन देख्यो । ऊ मबाट टाढिँदै गयो र मलाई लाग्यो, म हाम्रो विवाहको छायाबाट हराउँदै छु ।

ऊ अफिसबाट घर ढिलो आउन थाल्यो अनि मेरो उपस्थितिलाई सहजै स्वीकार गर्न सक्दैनथ्यो । मचाहिँ ऊ निम्ति, उसैलाई मनपर्ने परिकारहरू तयार पार्न व्यस्त रहन्थें, तर उसलाई भने खानाको स्वादमै अरुचि लाग्न थाल्यो । म, हाम्रो एकलोपनमा वार्तालाप सुरु गर्ने बाटो खोजिरहेकी हुन्थें, तर तनाव र थकावटलाई अगाडि राखेर ऊ मदेखि भाग्ने प्रयासमा हुन्थ्यो ।

उसको व्यवहारमा मैले आफूलाई नै, आफ्नै घरमा भूत बनेझैं अनुभव गर्नु थालें, एकदम अदृश्य अनि तुच्छ । त्यस्तरी हो बिस्तारै मेरो आत्मसम्मान घट्न थाल्यो र मलाई आफ्नै मूल्यमा शंका लाग्न थाल्यो । लाग्यो, म ऊ निम्ति पर्याप्त छुइनँ । त्यसपछि हो मभित्र बिस्तारै खालीपन हाबी बन्न थाल्यो, जसलाई भर्नु मैले नयाँ शौक र अनेकौं नयाँ मित्रहरू बनाएर प्रयास गरिबसें, तर त्यो खालीपन भने उत्तिकै गहिरो नै रह्यो ।

मलाई, त्यस क्षण जीवन रेखा नदेखेर उपेक्षाको सागरमा डुबिरहेको अनुभव हुन थाल्यो । र एक दिन मैले ऐना अगाडि उभिएर वर्षौंको मलाई खोज्ने प्रयास गरें । र, त्यो खोजाइमा हो, पहिलो पटक मैले आफूलाई देखें । त्यो स्त्री बलियो र सुन्दर देखिन्थी, जसलाई एउटा पुरुषको माया, सम्मान र कदरको खाँचो थिएन । त्यो क्षणपछि हो, मैले लामो सास फेरें अनि निर्णय गरें– अब उसो म त्यो निसास्सिँदै गरेको विवाहमा बन्दी जीवन बिताउने छैन । म मेरो वास्तविक ‘म’ खोज्न पुनः दाबी गर्नेछु । 

हुन पनि, संसारमा सम्मानको अधिकार न पुरुषको हो, न स्त्रीको । न नर, न नारी यो सब केवल देहको नाम हो, लिङ्गको नाम हो । लिङ्गको निर्धारण जन्मअघिदेखि नै हुँदो हो । जन्मेर तपाईंले यस्तो के गर्नुभयो र इज्जतको चाह राख्नुहुन्छ ? जब तपाईं ‘स्त्रीको सम्मान हुनुपर्छ’ भन्ने कुरा गर्नुहुन्छ भने तपाईंलाई थाहा हुनुपर्छ, स्त्रीदेहमा जन्मेदेखि स्वयंको र उनको उन्नतिका निम्ति के यस्तो कार्य गर्नुभयो ? यो जगजाहेर कुरा हो, स्त्री जस्तो तपाईं त्यस्तै जन्मिनुहुन्छ ! जति उँचो तपाईंको चेतना हुन्छ, तपाईं उत्तिकै सम्मानको अधिकारिणी हुनुहुन्छ । 

प्रिय स्त्री ! त्यसैले यो स्त्री दिवसदेखि लिङ्गको नातामा सम्मान माग्न छाडौं, कारण नारी सशक्तीकरण नै नारीको स्वयम् चेतनालाई जान्नु हो । हामीलाई थाहै छ– चेतनाको उचाइलाई नै आत्मा मानिन्छ । जो जति चेतनाको उचाइमा हुन्छ, ऊ उत्तिकै सम्मानको हकदार हुन्छ । त्यसैले देह हेरेर, उमेर हेरेर, लिङ्ग हेरेर, आर्थिक स्थिति हेरेर कसैलाई पनि इज्जत दिन छाडौं । र, अबउसो चेतना हेरेर मानव देहलाई इज्जत दिने सूत्र याद राखौं ।

त्यसैले भन्छु, प्रिय स्त्री ! तपाईंको लक्ष्य जीवनमा उँचोभन्दा उँचो उठ्ने कार्य गर्नु हो । तपाईंको अवस्था अहिले कमजोर रहे पनि, गति उँचो उठ्नेतिर नै हुनुपर्नेछ । कारण, समझदार स्त्री वा आमाले मात्रै आफ्नो बच्चालाई उन्नतिको उचाइसम्म लैजान सक्षम हुन्छन् ।

याद राखौं बाहिरी स्वतन्त्रता केही कामको छैन, जबसम्म हामी स्त्री, भित्री तौरमा स्वतन्त्र बन्न सक्दैनौं । नारी भनेको चन्द्रमाजस्तो हो । जसरी चन्द्रमा क्षीण हुँदै जान्छ, तर पनि यसको सार स्थिर रहन्छ नि ! हो, नारीले जीवनका विभिन्न चरण पार गरेपछि पनि उसको भित्री प्रकाश, बुद्धि र करुणा अटल रहन्छ । जसरी रूख अग्लो हुन्छ, त्यसले छाया, आश्रय र आहार प्रदान गर्छ, नारीले पनि आफ्नो वरपरका सबैलाई माया, हेरचाह र पोषण प्रदान गर्दै बलियो उभिइरहेकी हुन्छिन् ।

नारीहरू परिवर्तनमा बहने नदीजस्ता हुन्, जो निरन्तर परिवर्तनशील रहे तापनि, तिनको सारमा सत्यता कायम रहिरहन्छ । नारी जीवनका चुनौतीहरूको मार्ग र सम्भावनाका नयाँ परिदृश्यहरू सिर्जना गर्दै बग्ने गर्छिन् ।

ऋग्वेदमा देवी अदीतिले महिलासहित देवता र मानवलाई जन्म दिएको भनिएको छ । ब्रह्माको अर्को मिथक छ, जसले सृष्टिकर्ता देवताको कथा बताउँछन् । त्यो मिथक भन्छ– ब्रह्माले स्त्रीलाई आफ्नै शरीरबाट सृष्टि गरेका थिए ।

स्त्री र सौन्दर्य

‘सुन्दरता’ को प्रतीक मान्नुपरे स्त्रीकै कुरा गरिन्छ । भनिन्छ– शारीरिक र भित्री चमकको सामञ्जस्यपूर्ण मिश्रण हो– स्त्री । तर मलाई लाग्छ, सुन्दरता भनेको स्त्रीले बोक्ने एक भार हो, एक बोझ हो, जुन लोभी नजरलाई आराम दिने दृश्यसरह रहेको छ ।

त्यसैले एक स्त्री हुनु भनेको आफ्नो उपस्थितिबारे निरन्तर सचेत हुनु र असम्भव मापदण्डहरूमा समाहित बन्नु पनि रहेछ । मलाई ती दिनहरू थाहा छ, जब एक साधारण प्रशंसाले मेरो सम्पूर्ण दिन उज्यालो बन्थ्यो । मेरा कपाल, मेरा मुस्कान वा मेरा आँखाबारे पाइएको मीठो टिप्पणीले म गर्वले चम्किएकी हुन्थें । म प्रायः सधैं ऐनाअगाडि उभिएर, आफ्नै प्रतिबिम्बको प्रशंसा गर्दै, आफूलाई संसारकै सुन्दर स्त्रीजस्तै महसुस गर्थें । 

तर, समय बित्दै गयो, मभित्र केही परिवर्तन आयो । एक पटक मलाई धेरै आनन्द दिने प्रशंसाहरू अबउसो रित्तो लाग्न थाल्यो । मैले महसुस गर्न थालें, मेरो आत्ममूल्य बाह्य प्रमाणीकरणसँग जोडिएको छैन र आत्माको निर्माणका निम्ति यस्तो कृत्रिम कुरा कमजोर आधार नै ठहरिन्छ ।

यत्तिका वर्ष म बाहिरी सौन्दर्यमा रमिबसें । त्यसैले हो आज म मेरो आन्तरिक सौन्दर्यका मापदण्डहरूमाथि प्रश्न गर्न थालें । र, प्रतिउत्तरमा सौन्दर्यको सामाजिक आदर्शहरूअनुरूप नापिने स्त्री सौन्दर्यको परिभाषासित दिक्क लाग्न थाल्यो । अहिलेसम्म म केवल योग्य महसुस गर्न पनि अरूबाट प्रमाणीकरण खोजिरहेकी हुन्थें । जति यी विषयमाथि चिन्तन गर्दै आएँ, त्यति नै मेरो सौन्दर्यको अवधारणा सीमित भएको पाएँ ।

र, एक दिन ऐना अगाडि उभिइरहेकै बेला मैले बोध गरें– स्त्री सौन्दर्य मेरो शारीरिक रूपले मात्रै होइन, मलाई स्त्री भनेर चिनाउने अद्वितीय गुणहरूले निर्धारित गर्दोरहेछ । त्यतिबेला मलाई लाग्यो, मेरो जुनून, शक्ति र मेरा कमजोरी सबै स्त्री सौन्दर्यमा योगदान पर्‍याउने माइलखुट्टीहरू हुन्, जो मैले कल्पना गरेको भन्दा धेरै सूक्ष्म र बहुमुखी छन् ।

जतिखेर मेरो आँखामा हेरें, त्यहाँ एउटा खाँटी स्त्रीको सुन्दरता देखें, जो बाह्य मापदण्डले परिभाषित गरिएको थिएन । तर, त्यो ‘म स्त्री हुँ’ भन्ने सोचको भित्री विकिरणबाट उब्जेको थियो । र, त्यो अति नै सुन्दर थियो । त्यसलाई कुनै प्रामाणिकता चाहिएको थिएन । तर, त्यो आफैंमा अपूर्ण भए पनि केवल मेरो एक्लो स्त्री स्वरूपबारे थियो ।

हालै, म अनौठो परिवर्तनबाट गुज्रिरहेको छु, जसले मेरो स्त्री सौन्दर्यलाई हेर्ने मापदण्डहरू परिवर्तन गराइसकेको छ । यसरी, मैले सुन्दरतालाई परिभाषित गर्ने नयाँ र थप अर्थपूर्ण तरिका पत्ता लगाएको छु, जसले अरूबाट प्रमाणीकरण खोजिरहेको हुँदैन । 

त्यसैले, प्रिय स्त्री ! तपाईं पनि एकचोटि ऐना अगाडि उभिएर आफ्नो स्त्री सौन्दर्यको मापदण्डलाई हेर्ने दृष्टि बदलेर आफूलाई पुनः हेर्नुहोस् । म पक्का भन्छु, तपाईंले अर्कै परिवर्तित आफूलाई देख्नुहुनेछ, जो अहिलेको तपाईंभन्दा धेर सुन्दर छ । आखिर, तपाईं/हामीलाई थाहै त छ, नारी हुनु भनेको आफ्नो सुन्दरतालाई परिभाषित गर्ने अधिकारका लागि लड्नु पनि हो, त्यसलाई बाधा पुर्‍याउन खोज्ने सामाजिक मान्यताहरूबाट पुनः विजय प्राप्ति गर्नु हो । अनि सामाजिक दायराको कोलाहलभन्दा माथि उठ्नु हो, सामाजिक तथा पारिवारिक अपेक्षाभन्दा माथि चम्कनु हो ।

सौन्दर्य विरोधाभास

आधुनिक समाजलाई एक विचित्र घटनाले समातेको छ । महिलाहरू मान्यता र आत्ममूल्यको खोजीमा कहिल्यै अन्त्य नहुने सुन्दरता–चक्रमा फसेका छन् । र, ती भित्री सौन्दर्यको चमक ग्रहण गर्दै शारीरिक आकर्षणको मुखौटा लगाउन रुचाउँछन् ।

कस्मेटिक उद्योगले निपुणतासित बनाएको मास्क कहलाउने बाहिरी सौन्दर्यले आत्माको जटिलता लुकाएको छ । यसले भावनाको गहिरोपन, बुद्धिको तीक्ष्णता र आत्माको उज्यालो ज्योतिलाई छोपेको छ । सुन्दर गोरो छाला, टोन्ड शरीर र स्टाइलिस आचरण नारीत्वको प्रतीक हो भन्ने विश्वासमा संसार ठगिएको छ । तर, अफसोस ! यो एक प्रचलनजस्तै बनिसकेको छ । भौतिक स्त्री सौन्दर्यको पोषाकमुनि भित्री सौन्दर्यको विशाल र अज्ञात विस्तार छ, त्यहाँ यस्तो सुन्दरता छ, जुन सामाजिक अपेक्षाका बाधाहरूद्वारा बाँधिएको छैन, तर त्यहाँ स्त्री अस्तित्वको सार देखिन्छ, जो करुणा, सहानुभूति र दयाले भरिएको छ । एक तेजिलो दिमागको सुन्दरता अनि रचनात्मक आत्माको सुन्दरताको मोल अर्कै हुँदो हो ।

म जतिखेर किशोरावस्थामा थिएँ, हार्मोनको गडबडीले मोटोपन ममाथि हाबी देखिन थालेको थियो । मलाई अझै पनि त्यो हाँसो अनि फुसफुसाएको चुट्किला याद छ । मेरा साथीहरू मेरो मोटोपनको मजाक बनाइरहेका हुन्थे । त्यसपछि हो, म मेरो मोटोपनसित लड्दै आएको । त्यो यात्रामा मैले आफैंलाई हजार पटक शंका गर्न थालें र लाग्न थाल्यो, ‘म धेर मोटो भएकाले दिनदिनै कुरूप बन्दै गएकी छु ।’

म आफूभन्दा ठूलो पहिरन पछाडि लुक्न थालें, ऐनाबाट जोगिन थालें र संसारबाट बाँच्न घरैमा प्रायः घोरिएर बस्न रुचाउन थालें । र, त्यसपछि अचानक अनुहारमा पिम्पलहरू आयो । अनिच्छित आगन्तुकहरूजस्तै तिनीहरूले मेरो अनुहारमा दागहरू छोडेर मात्रै हराए । म त्यस क्षण मानिसले मेरो अवस्था देखेर के भन्लान् ? कस्तो प्रतिक्रिया देखाउलान् ? भन्ने डरमा, अझै असामाजिक बन्दै गएँ ।

तर, यो मेरो सबैभन्दा ठूलो भूल थिए/छ कारण समुद्रका छालहरूजस्तै, महिलाको शरीर पनि फरक आकारका हुन्छन् । जसरी प्रत्येक छाल अद्वितीय हुन्छ, तर सँगै मिलेर तिनीहरूले लोभ्याउने सुन्दर समुद्रको सिर्जना गर्छन् । हो त्यस्तैगरी महिलाको शरीर सामाजिक सौन्दर्य मापदण्डहरूअनुरूप नभएकोमा लज्जित हुनुको सट्टा, स्त्रीको विशिष्टताका लागि मान्नुपर्ने हुन्छ ।

पुतली एउटा सुन्दर रूपान्तरणबाट गुज्रिन्छ । झुसिल्कीराबाट आश्चर्यजनक सुन्दर पखेटा भएको स्वतन्त्र उडिहिँड्ने पुतलीमा रूपान्तरण हुन उसले लामो कष्टसाध्य प्रक्रियाबाट गुज्रिनुपर्छ । पुतलीको सुन्दरता केवल शारीरिक उपस्थितिमा होइन, परिवर्तनशील शक्ति र रूपान्तरण गर्ने क्षमतामा हो । हो, त्यस्तैगरी हार्मोनले परिवर्तन निम्त्याएको शरीरका निम्ति लज्जित र हीनभावनाले ग्रसित हुनुभन्दा स्वयंको शक्ति र सौन्दर्यको केही जाँगर गर्नु नै स्त्री–धर्म रहेछ । होइन र ? 

हुनुपर्छ, मजस्तै कैयौं महिला बडी सेमिङबाट असमान रूपमा प्रभावित हुन्छन्, जसलाई सामाजिक सौन्दर्यका मापदण्ड र मिडिया प्रतिनिधित्वले निरन्तरता दिइरहेको छ । त्यस्तरी हो, स्त्रीले अवास्तविक सौन्दर्य प्राप्तिका निम्ति कम्ती आहार, अत्यधिक व्यायाम वा कस्मेटिक चिकित्साहरू अपनाउन दबाब महसुस गर्छन् । यस्तै मापदण्डहरूले हो, भविष्यमा स्त्रीलाई डिप्रेसन र खानपान विकारजस्ता रोग, सित्तैमा दिँदै आएको । तर, आजको तारिखमा हेर्ने हो भने स्त्रीले ‘आफूलाई आफूझैं स्वीकार गर्ने’, ‘प्रेम अनि आत्म–हेरचाह गर्ने’ र स्वयम्लाई निर्माण गर्नेतर्फ सोच्नुपर्छ । त्यसपछि स्त्री विकास मार्गतिर हिँडिरहेको देखिन्छ । 

बडी सेमिङ सम्झिँदा म पुराना दिन सम्झिन्छु । त्यो दिन, जतिखेर परिवारले मेरो विवाहको कुरा मिलाएको थियो । र, म मेरो भावी लोग्ने भेट्ने अपेक्षा गरिरहेकी थिएँ । म एकदमै नर्भस, चिन्तित र डराएको अनुभव गरिरहेकी थिएँ त्यो दिन । मनमा हजारौं प्रश्न घुमिरहेका थिए– उसले मलाई मनपराएन भने के हुन्छ ? मेरो मोटोपन, अनुहारको दाग देखेर मलाई ‘कुरूप’ पो ठान्ने हो कि ? यस्तै दुविधा र प्रश्नबीच त्यो भेटको दिन पनि निकट आयो ।

म प्रथम पटक उसको अगाडि उभिएको थिएँ, मुटु छातीको ठाउँ छोड्लाजस्तो गरी धड्किइरहेको थियो । उसले मलाई हेर्‍यो । आँखाले मेरो अनुहारलाई अचानक स्क्यान गर्न थाल्यो । र, झट्ट सोधिहाल्यो, ‘किन तिम्रो अनुहारमा कालो दाग छ ?’ त्यतिबेला उसको स्वरमा एकप्रकारको तिरस्कार टप्किरहेझैं थियो । उसले फेरि भन्यो, ‘यो दागलाई पहिले हटाउने प्रयास गर, त्यसपछि हामी विवाहको कुरा गरूम् है ।’ 

किन समाजमा महिलालाई सौन्दर्यको मापदण्डमा यसरी नै न्याय गरिन्छ ? हामीमा किन बाल्यकालदेखि नै पितृसत्ताबाट अस्वीकृति हुने डर मानसपटलमा रोपिन्छ ? डरबिना हामी स्वतन्त्र जीवन बाँच्न सक्षम छैनौं ? त्यसैले हो, म समाजले कथेको सुन्दरताको मापदण्डलाई बेवास्ता गर्छु । म अहिले सौन्दर्य प्रशंसाभन्दा माथिको सोचसित बाँच्ने प्रयास गर्छु । त्यसैले, यस नारी दिवसमा सुन्दरताको मापदण्डलाई परिभाषित गर्ने नयाँ आयामको विस्तारसित स्वयंको भित्री सुन्दरतालाई सेलिब्रेट गर्छु । 

यतिका वर्षसम्म एक स्त्रीका रूपमा मैले प्रायः आफूलाई सामाजिक अपेक्षाहरूको जालमा फसेको पाएँ । प्रतिबन्धात्मक मान्यताहरू र पुराना विश्वासहरूको भारमुनि निसास्सिएको थिएँ म । यसैक्रममा, थाहा पाएँ– स्त्रीसम्बन्धित केही विषय (महिनावारी, रजोनिवृत्ति, चाउरीपन र घट्दो यौन आनन्द) समाजको पैतालामुन्तिर कुल्चिइएको छ ।

म सोच्थें, परम्पराको नाममा महिला जीवनका यी प्राकृतिक पक्षहरू गोप्य हुन् र यिनलाई लाजले ढाक्नुपर्छ । त्यसैले हुनुपर्छ, जीवनको प्राकृतिक उतारचढाव र प्रवाहहरू अनुभव गर्दा मलाई किन हो, मेरो शरीर कुनै न कुनै रूपमा भाँच्चिएको, अपूर्ण वा अनाकर्षक लागिबस्थ्यो ।

त्यसैले भन्छु, यी सामाजिक अपेक्षा स्त्रीलाई नियन्त्रण र दमन गर्ने प्रयासबाहेक अरू केही होइनन् । हुन पनि, यो प्रतिबन्धात्मक मान्यतालाई निरन्तरता दिएर, हामी अनिवार्य रूपमा स्त्रीलाई भनिरहेका हुन्छौं– स्त्रीको शरीर स्वयंको होइन, उसको शरीरलाई योग्य मानिनका लागि सौन्दर्य र व्यवहारको अवास्तविक मापदण्डहरू अँगाल्नैपर्छ ।

जस्तै, उचाइ ५ फिट ८ इन्च, तौल ५० केजी, छाती ३२–३४ इन्च, कम्मर २२–२४ इन्च, छालाको रङ सफा अनि दागरहित ! होइन र ? तर म भन्छु, अब होइन । यी बन्धनबाट मुक्त हुने, हाम्रो शरीर र जीवनलाई पुनः प्राप्त गर्ने समय आएको छ । हामीले यस्तो संसार सिर्जना गर्नुपर्छ, जहाँ महिनावारी, रजोनिवृत्ति, चाउरीपन र यौन आनन्दको अधिकारबारे स्वतन्त्र भएर संवाद गरियोस् । 

पौराणिककालमा स्त्रीलाई पितृसत्तात्मक समाजमा दबाएर राख्न थालियो । भनियो– स्त्रीलाई पुरुष समाजमा ‘बोल्ने ठाउँ छैन’, ‘स्त्रीलाई जान्ने अधिकार छैन’, ‘स्त्रीलाई काम गर्ने स्वतन्त्रता छैन’, ‘स्त्रीमा पुरुषझैं ताकत छैन’, ‘अधिकार माग्नु स्त्रीको काम होइन’ इत्यादि । र, पौराणिक धाराले महिलालाई समाजमा खुब दमन गर्‍यो ।

तर, पौराणिककालअघिको वैदिककाल अर्कै थियो । त्यहाँ, थियो– विचारको स्वतन्त्रता, आचरणको स्वतन्त्रता, जीवनको स्वतन्त्रता, जसलाई प्रत्येक स्त्रीले मज्जासित उपयोग गरिरहेका हुन्थे । वेदान्तले स्त्रीलाई स्वतन्त्र आवाज दिएको थियो । श्रुतिशास्त्र अनि वेदान्त स्त्रीलाई बुझ्ने सुन्दर माध्यम हुन्, दुवैले स्त्रीलाई देह मात्रै नसम्झेर चेतना सम्झिन्छ, जो मुक्तिको अभिलाषी छ । 

त्यसैले, जतिखेर हामी स्त्री–शक्ति र सुन्दरताको उत्सव मनाउँछौं, त्यो याद गर्नुपर्छ– नारीवाद केवल आन्दोलन होइन, एक मानसिकता हो । यो स्त्री–व्यक्तित्व, स्त्री–विशिष्टता अनि स्त्री–सामूहिक शक्तिलाई अँगाल्ने नूतन तरिका हो ।

शैलीका छेत्री

Link copied successfully