भारतीय भोजनालयमा नेपाली किशोर कामदार भेटिँदा अनेकन प्रश्न उब्जिए– विद्यालय पढ्ने उमेरका ती नेपाली किशोर किन र कुन बाध्यताले दक्षिण भारतका भोजनालयमा काम गर्न पुगे ? हरेक दिन नेपाली किशोर भेटिनु संयोग मात्र हो ?
७ पुस, २०८१मुन्नार, केरला, दक्षिण भारतचियाबारी, पहाडी दृश्यका लागि प्रसिद्ध मुन्नारको मनोरम दृश्य देखिने स्थानमा रहेको एउटा होटलमा हामी सबै बिहानको खाजा खान बसेका थियौं । छेउमा अतिथिको रुचिअनुसारको अन्डाका परिकार बनाएर दिने सानो स्टल पनि थियो । हामीले नेपाली बोलेको सुनेर त्यहाँ पकाइरहेका कुक मुसुमुसु हाँस्दै थिए ।
‘मलाई एउटा अमलेट धेरै नुन नहाली बनाइदिनुस् है !’
‘हुन्छ’ उनले हाँसेर भने र तुरुन्तै बनाएर ल्याइदिए ।
...
८ पुस, २०८१
अलप्पी, केरला, दक्षिण भारत
साँझ हाउस बोटमा बसेर त्यसै समुद्रको तारेको माछा खाएर रमाइलो गर्दै थियौं । त्यत्तिकैमा एक युवक हाम्रो डुंगामा आइपुगे ।
‘तपाईंहरू नेपालबाट आउनुभएको भन्ने सुनेर म भेट्न आएको । यिनीहरूले कस्तो खुवाउँदै छन् ? हाम्रो खाना र यिनीहरूको खाना फरक छ । म अर्को बोटमा काम गर्छु । म भनिदिन्छु है !’
भोलिपल्ट बिहान अर्को बोटबाट हात हल्लाउँदै उनले हामीलाई बिदा गरे ।
...
९ पुस, २०८१
पञ्जाबी भोजनालय, मदुराई, दक्षिण भारत
मदुराईको मीनाक्षी मन्दिरको विशाल प्रांगणमा हरेक दिन विश्वका विविध मुलुकबाट आएका दर्शनार्थीहरूको घुइँचो लाग्छ । हामी साँझ ६ बजेतिर मन्दिर पुग्दा लामो लाइन थियो र ९ बजे मात्र दर्शन गरेर बाहिर निस्किन सक्यौं । यतिन्जेल सबैलाई अत्यन्त भोक लागिसकेको थियो ।
मन्दिर वरिपरि थुप्रै दक्षिण भारतीय भोजनालयहरू थिए । तर सबै जनाको सहमतिमा उत्तर भारतीय स्वाद खोज्दै हामी केही पर एउटा पञ्जाबी भोजनालयमा पुग्यौं । भोजनालय खचाखच भरिएको थियो । खानाअघि सलाद र पापड पस्किन बनाइएको काउन्टरमा एउटा दुब्लो पातलो सोह्र/सत्र वर्षे ठिटो व्यस्त रहेको देखियो । केहीबेरमा त्यो किशोर हाम्रो टेबलमा आइपुग्यो ।
‘तिमी नेपाली हौ ?’
‘हो, हामी धेरै जना नेपाली छौं यहाँ ।’
त्यो बालकको माया लाग्यो, निस्कने बेला हातमा केही भारतीय नोटहरू थमाएर निस्कियौं ।
‘कुनै बेला भेट होला नि ! म काठमाडौं आउँछु,’ अलि वाचाल उसको साथीले हामीलाई बिदा गर्यो ।
...
१२ पुस, २०८१
भोजनालय, तिरुवल्लुर, तमिलनाडु, दक्षिण भारत
दिउँसो, ३ बजे
महाबलिपुरमबाट तिरुपति जाने हाइवेमा अलि गतिलो खाने ठाउँ भेटिएन । ड्राइभरले हाइवे नजिकको एउटा सानो सहरजस्तो बस्तीमा रोक्यो । मेनु हेर्दै गर्दा हाम्रो कुरा सुनेर एक जना नेपाली किशोर आए । सुदूरपश्चिम नेपालका ती किशोर लजालु थिए, नेपाली बोल्न त्यति जान्दा रहेनछन्, हामीलाई हेरेर हाँसी मात्र रहे । अर्का स्थानीय कर्मचारीले हामीलाई चित्तबुझ्दो गरी खाना खुवाएर तृप्त गराए ।
...
माथिको विवरण नेपाली पर्यटकहरूको १४ दिने दक्षिण भारत यात्राको अंश हो । हाम्रो त्यस १४ दिने यात्राका क्रममा हामी ७ वटा सहरमा स्थल मार्गबाट घुम्यौं । धेरै वटा भोजनालयका स्वाद चाख्यौं । धेरैजसो भोजनालयमा नेपाली किशोर कामदारहरू भेटिँदा खुसीभन्दा पनि मन अमिलो भएर आयो र अनेकन प्रश्नहरू उब्जिए । विद्यालय पढ्ने उमेरका ती नेपाली किशोरहरू किन र कुन बाध्यताले दक्षिण भारतका भोजनालयहरूमा काम गर्न पुगे ? हरेक दिन नेपाली किशोरहरू भेट्नु के यो संयोग मात्र हो ?
श्रम विभागले सन् २०२३ जुलाईदेखि २०२४ जुलाईका बीचमा विदेश जाने नयाँ र पुराना कामदारको सूचीमा जम्मा ७,४१,२९७ जना विदेशिएको आँकडा सार्वजनिक गरेको छ । यसरी श्रम स्वीकृति पाएका १४९ मुलुकहरू सूचीमा छन्, जसमा भारत पर्दैन । भारत जान र त्यहाँ गएर काम गर्न श्रम स्वीकृतिको आवश्यकता पर्दैन । विदेश जाने नेपाली कामदारको सूचीमा वयस्कहरू मात्र पर्छन् किनभने बालिग नभई श्रम स्वीकृति पाइँदैन ।
तर, नेपाली भाषासँग नजिक सिनेमा हेरेर र गीतहरू सुनेर नेपालीहरूले सजिलै बुझ्ने हिन्दी भाषा पनि नबोलिने सुदूर भारतका टाढा–टाढाका सहरहरूमा काम गर्न गएका हामीले भेटेका ती कलिला नेपाली किशोरहरू श्रम मन्त्रालयको त्यो आँकडाअन्तर्गत पक्कै परेका छैनन् होला । कलम र किताब समाउनुपर्ने हातहरू किन डाडु–पन्यु समाउन पुगे ? जुँघाका रेखी पनि राम्ररी नबसेका ती कलिला किशोरहरू कुन बाध्यताले दक्षिण भारतका ती सहरहरूमा हपहपी गर्मीमा पसिना बगाएर श्रम गर्दै छन् ?
के तिनीहरूका घरमा दुई छाक खाएर विद्यालय जान सक्ने अवस्था थिएन ? यस्ता अनगिन्ती प्रश्नहरूले उत्तरको खोजी गरे । परिवारको आर्थिक दबाब र जीवनयापनका लागि आवश्यक पैसाको जोहो ती किशोरहरूको घर छोडेर भारत जाने कारण र उत्प्रेरणा हुन सक्छ । भारतका ठूला सहरहरूमा मात्र होइन, साना–साना बस्तीहरूमा पनि नेपाली किशोरहरू रोजगारका लागि पुगेका छन् ।
प्रतिभा पलायन अथवा ब्रेन ड्रेन हरेक देशका लागि एउटा घाटा हो । तर, नेपालको सन्दर्भमा नेपालीको मुख्य पेसा र आयस्रोतको सूचीमा वैदेशिक रोजगार पर्छ । वैदेशिक रोजगार देशको मुख्य आयस्रोत हो । तर, देशको भविष्यका आधार किशोरहरू बिना कुनै सीप र आधारभूत शिक्षा पनि नलिईकनै सानातिना शारीरिक परिश्रमका लागि विदेशिनु पनि देशलाई प्रतिभा पलायनभन्दा ठूलो घाटा हो । ती किशोरहरू केही वर्ष काम गरेर देशमा फर्किए पनि कुनै गतिलो सीपको अभावमा जीविकोपार्जनका लागि राम्रो रोजगार पाउन असमर्थ हुन्छन् । भारतजस्तो ठूलो मुलुकमा पाएका जस्ता सानातिना काम दिन पनि नेपालको सानो र सीमित क्षमताले भ्याउँदैन । समान किसिमका काममा तुलनात्मक रूपमा धेरै कम पैसा हुन्छ ।
नेपालमा त्यस्ता धेरै युवा छन्, जसले परिवारको उत्साहमा र आर्थिक अभावमा किशोर अवस्था भारतमा काम गरेर बिताए । सम्पर्क र सामाजिक सञ्जालको सहयोगमा भारतमा हुँदा नै उनीहरूले विविध सम्पर्क स्थापित गरी उतैबाट रोजगारको अवसर मिलाएर अरब मुलुकहरूमा पनि जान्छन् ।
कतिपय कामदारहरू नेपाल फर्किए पनि नियमित आम्दानीको अभावमा जीविकोपार्जनको उपाय नभएपछि फेरि अधबैंसे उमेरमा भारतका तिनै सहरमा फर्किन बाध्य भएका धेरै उदाहरण हाम्रासामु छन् । नेपालमा त्यसै प्रकृतिको सहयोगीको काम गर्न खोज्दा दिइने तलब भारतको तुलनामा अत्यन्त कम हुने हुँदा पनि कामदारहरूमा भारत जाने प्रेरणा बढेको हो ।
किशोरहरू रोजगारका लागि मात्रै होइन, अध्ययनका लागि भारत जाने कुरामा पनि यही सिद्धान्त लागू हुन्छ । तुलनात्मक रूपमा भारतमा सस्तो पर्ने हुँदा नेपाली विद्यार्थी अध्ययनका लागि पनि त्यता जाने गरेका छन् ।
पपुलेसन एन्ड स्ट्याटिस्टिक रिसर्च हबले इ.सं. २०२१ को जनसंख्याका आधारमा गरेको एउटा सांख्यिकीय अध्ययनअनुसार नेपालबाहिर रहेको कुल जनसंख्याको ३२ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला भारतमा छन् । यो तथ्यांक कोभिड महामारीलगत्तै ई.सं. २०२१ नोभेम्बरमा संकलन गरिएको हो । त्यसैले अहिलेको समयमा यो संख्या अझ बढेको हुन सक्ने अनुमान गर्न सकिन्छ ।
यो विवरण नेपालमा अनुपस्थित र भारतमा उपस्थित नेपालीहरूको जनसंख्या विवरण फाराममा तोकिएअनुसार लिंगका आधारमा संकलन गरिएको हो । देश छोड्ने समयमा कामदारको उमेर पनि तथ्यांकमा संकलन गरिएको छ तर त्यो यस अध्ययनको समयमा उपलब्ध हुन सकेन । त्यसकारण उमेरका आधारमा ठ्याक्कै कति प्रतिशत किशोर भारतमा छन् भन्ने तथ्यांक निकाल्न सकिएन । यहाँ प्रस्तुत ग्राफिक्सले नेपाली जनगणना (इ.सं. २०२१) को तथ्यांकका आधारमा नेपालमा अनुपस्थित नेपालीहरूको विवरण यस प्रकार प्रस्तुत गरेको छ ।
त्यो ग्राफिक्समा भारत र भारतबाहेक अन्यत्र रहेको नेपालीहरूको संख्या मात्र देखिन्छ । भारत जाने नेपाली नागरिकहरू विविध कारणले गएको कुरा जनगणनामा उल्लेख छ, जस्तैः रोजगार, व्यापार, रोजगारको खोजी, आश्रित, अन्य र अज्ञात । त्यो विवरणबाट रोजगारका लागि र रोजगारको खोजीमा भारत जाने जनसंख्यालाई छुट्याएर हेर्दा निम्नअनुसारको विवरण निस्कन्छ ।
नेपाली जनगणना (इ.सं. २०२१) अनुसार रोजगार र रोजगारको खोजीमा भारतमा रहेका नेपालीहरूको संख्या : 
यहाँ प्रस्तुत ग्राफिक्स र तालिकाले सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढी नेपाली रोजगारका लागि भारत गएको देखिएको छ भने कर्णाली प्रदेश दोस्रोमा पर्छ । सुदूरपश्चिमको अनुपस्थित जनसंख्यामा ८८ प्रतिशत पुरुष र ९६ प्रतिशत महिला भारतमा छन् । कर्णाली प्रदेशबाट ६६ प्रतिशत पुरुष र ८९ प्रतिशत महिला भारतमा छन् भने लुम्बिनी प्रदेशका जम्मा अनुपस्थित नेपालीबाट भारत जाने पुरुष ४३ प्रतिशत र महिला ५५ प्रतिशत मात्रै रहेको विवरणले देखिए पनि लुम्बिनीबाट तुलनात्मक रूपमा धेरै मानिस रोजगारका लागि विदेश गएका छन् ।
भारत जाने सबैभन्दा कम नेपाली बागमती प्रदेशका छन् तर विदेश जाने जनसंख्यामा भने बागमती प्रदेशको जनसंख्या कोशी र मधेशकै हाराहारीमा उच्च छ । रोचक पक्ष त के छ भने, भारतीय भाषा र संस्कृतिसँग नजिक रहेको भनिने मधेश प्रदेशबाट भारत जानेहरूको संख्या कम छ र यो संख्या बागमती प्रदेशभन्दा अलिकति मात्रै बढी छ । हामीले भारतमा भेटेका किशोरहरू पनि अधिकांश सुदूरपश्चिम र लुम्बिनीका थिए भने एक जना मात्रै बागमती प्रदेशका थिए । नेपालभरिमा १५ देखि १९ वर्षका २ लाख ६८ हजार २ सय २१ किशोरहरू र ५१ हजार ३ सय ७५ जना किशोरीहरू अनुपस्थित छन् ।
किशोर र युवाले कम उमेरमै बेरोजगारी अवस्थाको सामना गर्ने अवस्था भयो भने त्यसले उनीहरूको आय र रोजगारको स्थिरतामा आजीवन प्रभाव पार्न सक्छ । किनभने आर्थिक अभावका कारण उनीहरू कमजोर योग्यताबाट कामको सुरुवात गर्छन् र पछि गएर आफ्नो रोजगार जीवनमा श्रम बजारका अवसरका चुनौती सामना गर्न तिनलाई गाह्रो हुन्छ ।
यसले उनीहरूमा आत्मविश्वासको कमी हुन सक्छ । एउटा निश्चित उमेर पुगिसकेपछि तिनीहरूमा नयाँ सीप सिक्ने र आफ्नो शिक्षालाई निरन्तरता दिने साहस र अवसरमा कमी हुन्छ । त्यसैले उनीहरूले रोजगार जीवनमा ठूलो फड्को मार्ने सम्भावना कम हुन्छ र जीवनस्तर माथि उठ्न सक्दैन । अनि जीवनमा कुनै उत्साहजनक परिवर्तन हुँदैन । अपवादमा केही युवा र किशोरले पछि गएर आफ्नो स्तर उकास्न सक्लान् तर अधिकांशले सक्दैनन् । त्यसैले जति धेरै किशोर तालिम, सीप र उच्च शिक्षा वा अझ भनौं आधारभूत शिक्षाबिनै रोजगार बजारमा होमिनु देशका लागि उति धेरै हानिकारक हुन्छ ।
भविष्यमा अदक्ष र अशिक्षित जनशक्तिको बाहुल्य हुन सक्छ । अतः देशको भविष्य सुनिश्चित गर्न रोजगारमूलक शिक्षाका अवसर सिर्जना गर्नु र किशोरकिशोरीलाई आधारभूत शिक्षा र आयमूलक तालिम दिने अवसर सिर्जना गर्न सक्नु कुनै पनि देशको सुन्दर भविष्य निर्माणका लागि अनिवार्य हुन जान्छ । माथि प्रस्तुत गरिएको तथ्यांकअनुसार यस्तो कदम सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशतिर छिटोभन्दा छिटो चालिनु र आयमूलक तालिमबारे जनचेतना जगाउनु अत्यन्तै आवश्यक छ ।
