सामाजिक सञ्जालको जाल

सञ्जालमा मलगायत ८ लेखकको फोटोसहित पोस्ट लेखियो– यूएसएड, नर्वे र जर्मनीको पैसा खाएर किताब लेख्नेहरू...। कमेन्टमा अत्यन्तै अशिष्ट गाली थिए । आखिर सञ्जालमा किन हुन्छ मानहानि र चरित्रहत्या ? 

फाल्गुन १७, २०८१

अमर न्याैपाने

The web of social media

केही दिनदेखि सामाजिक सञ्जालमा कतिपयले केही लेखक तथा कलाकारप्रति घृणा फैलाउन अफवाह फैलाएको देखिन्छ । कतिले नबुझेर र कतिले नियतवश हुन सक्छ । मलगायत केही लेखकको फोटोसहित पोस्ट आयो । आठ जनाको फोटोको माथि लेखिएको थियो– यूएसएड, नर्वे र जर्मनीको पैसा खाएर किताब लेख्नेहरू... ।

कमेन्टमा अत्यन्त अशिष्ट शैलीका गाली थिए ।

यस्तै प्रकारको पोस्ट तीन वर्षअगाडि पनि उही व्यक्तिको फेसबुकमा देखेको थिएँ । कमेन्टमा अधिकांशले अशिष्ट शैलीमा गाली गरेका थिए । सुरुमा त एकदम आत्तिएँ । एकदम गाह्रो भयो र स्पष्टीकरणका रूपमा केही लेखें । पोस्ट गर्नुअघि नजिकका साथीहरूलाई त्यो लिंक पठाएर कुरा गरें । प्रायः साथीहरूले असाध्यै सहजतापूर्वक लिनुभयो र भन्नुभयो, ‘स्पष्टीकरण दिनु पर्दैन, यस्ता कुरालाई इग्नोर गर्दिनू ।’

त्यसपछि म मन नलागी–नलागी चुपचाप बसें । अहिले फेरि उनै व्यक्तिको फेसबुकमा पोस्ट देखें । केहीले सेयर गरेका थिए । कमेन्टमा उसरी नै अनेक अशिष्ट गाली देखें । यसपटक पनि म मौन थिएँ । सीमा आभासजीले म्यासेन्जरमा सोध्नुभयो, ‘सामाजिक सञ्जालमा आएको विषयमा केही बोल्ने कि नबोल्ने ?’

मैले ‘तीन वर्षअगाडि पनि यस्तै प्रकारको अफवाह आएको थियो, केही बोलिनँ । पछि आफैं सामसुम भएर गयो । अहिले खै के गरुँ गरुँ’ भनें ।

सीमाजी अलि आत्तिनुभएको रहेछ क्यारे, केही त बोल्नुपर्ला भन्नुभयो । कृष्ण धरावासी दाइसँग पनि कुरा भयो । उहाँले लाइभ आउँछु र स्पष्टीकरण दिन्छु भन्नुभयो अनि मलाई पनि केही लेख्नु नि भन्नुभयो । 

तर, पनि म मौन नै थिएँ । 

एक जना कवि तथा मित्रको स्टाटसमा मेरा आँखा अडिए । उहाँले आठवटा फोटो र केही लेखकका नाम उल्लेख भएको पोस्ट सेयर गर्दै लेख्नुभएको थियोः यी हुन्– महान् राष्ट्रघाती लेखकहरू ! हजार पटक मुर्दावाद भन्छु म यी शैतानहरूलाई ! देशको भाषा, संस्कृति, संस्कार, परम्परा, धर्म, शिक्षा सबै लुट्न र लुटाउन प्रयोग भएका विदेशीका दासहरू ! थुक्क ! थुक्क !! थुक्क !!!

मलाई अचम्म लाग्यो, विज्ञानमा स्नातकोत्तर गरेका स्कुल तथा कलेज पढाउने शिक्षक तथा लेखकले तथ्य नै नबुझी यति नमिठो गाली किन गरे होलान् ? झस्किएँ– ओहो ! कसैकसैले सामाजिक सञ्जाललाई कति असामाजिक तरिकाले दुरुपयोग गरिरहेका छन् ?

मैले स्क्रिनसट गरेर उहाँलाई नै पठाएँ र लेखें– तपाईंको नाम... पानी जस्तै सुन्दर स्टाटस देखेर स्क्रिनसट गरेर पठाएँ । यहाँ मेरो पनि नाम देखें अनि जर्मनीको पैसा खाएको रहेछु भनेर थाहा पाएँ र तपाईंको थुकको प्रसाद पनि ग्रहण गरें । तपाईंको समय सुखद र सिर्जनशील बनोस् । 

उहाँको उत्तर आयो– खासमा मैले माथिको तस्बिर हेरेथें । तस्बिरमा हजुर हुनुहुन्न । मैले तल हेरिनँ । तर, भन्नु न यहाँ हजुरको नाम कसरी जोडियो ? यो त भर्खर मैले हजुरको यो प्रतिटिप्पणी पढेपछि थाहा भयो ।

उहाँसँग पटक्कै रिस उठेन । यति मात्र लागिरह्यो, सञ्जालमा आएका कुनै अफवाहमाथि कुनै अध्ययन नगरी, यतिसम्म कि को–कोमाथि आरोप लगाइएको छ, नाम पनि नहेरी किन यति भारी गाली र घृणा गरिन्छ ? त्यो पनि लेखक, शिक्षक जस्ता मानिसहरूले ? 

कुनै आरोप आधा मात्रै पढेर या फोटो मात्रै हेरेर कसरी सक्छन् प्रमाणका आधारमा पढाउने विज्ञानको अध्यापकले यस्तो लेख्न ?

उहाँले ‘तपाईंको नामै हेरेको थिइनँ’ भन्दा भन्न मन लागेको थियो– त्यहाँ तपाईंको आफ्नै नाम भएको भए ?

यो मैले कुनै व्यक्तिलाई भनेको होइन, प्रवृत्तिलाई भनेको । उहाँ त एक प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । 

...

अर्का एक विद्यावारिधि गरेका लेखक तथा अध्यापकको पोस्टमा आँखा पुगे, जोसँग मेरो राम्रो चिनजान छ । उहाँले पनि त्यही सामग्री सेयर गर्दै लेख्नुभएको थियो– विदेशी पैसाको लोभमा किताब लेख्न नपरोस्... !

यसपछि भने लाग्यो, यति विद्वान्हरूलाई त भ्रम परिरहेछ भने अब यसबारेमा मौन बस्नु हुँदैन । यद्यपि सीमाजीले स्पष्टीकरण दिइसक्नुभएको थियो र कृष्ण धरावासीले लाइभ आएर आफ्ना कुरा राखिसक्नुभएको थियो । यसबारेमा जानेबुझेका लेखकहरू– जीवा लामिछाने, गोपी सापकोटा, टीकाराम भट्टराई आदिले पनि लेखिसक्नुभएको थियो, जसले धेरैलाई सकारात्मक बनाइसकेको थियो ।

मैले पनि लेखें– केही दिनदेखि सामाजिक सञ्जालमा मलगायत केही लेखकका बारेमा एउटा अफवाह र भ्रम फैलियो । कतिपयले यही भ्रममा भाका मिलाउनुभयो, कतिपय मौन बस्नुभयो, कतिपयले तथ्य बुझेर अरूलाई बुझाउनुभयो ।

समाजमा अनेक किसिमका मानिस हुन्छन् । कतिपयले अफवाहलाई नै सत्य मान्नुहुन्छ, कतिपयले सत्यलाई नै अफवाह मान्नुहुन्छ, कतिपयले सत्यलाई पर्गेलेर तथ्यको खोजी गर्नुहुन्छ ।

यस्तो अफवाह फैलिरहँदा कतिपय साथीले केही जवाफ नदिनू भन्नुभयो, कतिपयले प्रश्न उठेपछि जवाफ दिनुपर्छ भन्नुभयो । म यसै मौन बसेर सामाजिक सञ्जालमा फैलिएको रमिता हेर्दै थिएँ र इन्द्रबहादुर राईको उपन्यास ‘आज रमिता छ’ सम्झिँदै थिएँ । मेरा प्रिय पाठक, शुभचिन्तक, आफन्त र बुझ्न चाहनेहरूका लागि केही भन्नुपर्छ भन्ने लागेर आज केही लेख्दै छु । यो जवाफ होइन, स्पष्टीकरण हो । हुन त लेखक कृष्ण धरावासी, जीवा लामिछाने, सीमा आभासलगायत यसलाई बुझ्नुहुनेहरू धेरैले लेखिसक्नु र भनिसक्नुभएको छ । म पनि केही भन्छु ।

हामी अध्ययनशील प्राणी हौं । अध्ययनका लागि संसार नै विश्वविद्यालय हो । त्यसैले अध्ययन गर्न चाहने 

प्रतिभावान्हरूका लागि देशविदेशमा अनेक प्रकारका छात्रवृत्तिको व्यवस्था गरिएको हुन्छ । यसमा आफू पनि छनोटमा परुँ भनेर हामी सहभागी हुन्छौं । जुनसुकै देशमा छात्रवृत्ति पाए पनि खुसी हुँदै अध्ययन गर्न जान्छौं । यस प्रकारको वृत्तिबाट धेरै विद्वान् जन्मिएका छन् ।

त्यस्तै २०६५ सालमा जर्मनीबाट तत्कालीन जीटीजेडमार्फत टाउन राइटर रेजिडेन्स प्रोग्राम भनेर नेपालमा लेखनवृत्तिको परियोजना आयो । त्यसमा हामी पाँच जना लेखक छानियौं । भक्तपुरका लागि कृष्ण धरावासी, बुटवलका लागि भीष्म उप्रेती, धरानका लागि सीमा आभास, धनगढीका लागि प्रकाश आङ्दम्बे र नेपालगन्जका लागि म । 

त्यस दुईमहिने लेखनवृत्तिमा हामीले आ–आफ्नै शैली र शिल्प प्रयोग गरेर स्वतन्त्र किसिमले पाँच किताब लेख्यौं । मैले ‘पानीको घाम’ नामक आख्यान लेखें, जुन २०६६ सालमा प्रकाशित भयो । पहिलो किताब नै लेखनवृत्ति पाएर सम्बन्धित ठाउँको स्थलगत अध्ययन गरी लेख्न पाउनु मेरा लागि महत्त्वपूर्ण अवसर थियो । हामी आफूले सकेसम्म सिर्जनशील भएर लेख्यौं ।

किनभने, हामी लेख्नका लागि विषय, विधा र सम्पूर्ण तरिकाले स्वतन्त्र थियौं । धेरैले किताब मन पराउनुभयो, ‘पानीको घाम’ (२०६६) पद्मश्री साहित्य पुरस्कार जस्तो प्रतिष्ठित पुरस्कारबाट सम्मानित पनि भयो । यस प्रकारका लेखनवृत्तिहरू देशविदेशमा सञ्चालन भइरहनुपर्छ । यो संसारभरिको अभ्यास हो । यसबाट संसारमा धेरै राम्रा लेखकहरूले अवसर लिएका छन् । तर, यति राम्रो सिर्जनशील कार्यका लागि पाएको लेखनवृत्तिमा कतिपयले हिलो छ्यापेको देख्दा दुःख लागेको छ ।

विकासका लागि पनि अनुदान (ग्रान्ट) आउँछन् । यस प्रकारका अनुदानबाट नेपालमा धेरै राजमार्ग, सडक, पुल, विद्यालय, विश्वविद्यालय, जलविद्युत् योजना र ठूलाठूला भवन बनेका छन् । चीनको अनुदानमा अहिलेको हाम्रो संसद् भवन 

(वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृह) नै बनेको छ । के अब हामी अनुदानमा बनेको भनेर संसद् भवनमा संसद् नै नचलाउने ? अनुदानमा बनेका ती सडकहरूमा नहिँड्ने ? ती जलविद्युत् गृहबाट उत्पादित बत्ती नै नबाल्ने ? ती विद्यालय र विश्वविद्यालयमा नपढ्ने ? हामी केही किन यति अराजक भयौं ? यसले कहाँ पुर्‍याउँछ ?

हामीले पनि सानो एउटा अनुदान (ग्रान्ट) मा किताब लेखेका हौं, बिनास्वार्थ सिर्जनशील काम गरेका हौं । यसमा त खुसी हुनुपर्छ । बरु तपाईंहरूले हामीले लेखका किताबहरूको स्वतन्त्र मूल्यांकन गर्न सक्नुहुन्छ । कृपया ‘पानीको घाम’ लगायत हामी पाँचै जनाले उक्त अनुदानमा लेखका किताबहरू पढ्नुहोस् र तिनका बारेमा समीक्षा गर्नुहोस् ।

गर्व गर्नुपर्ने विषयमा गाली गर्ने संस्कारले हामीमा घृणा र उपेक्षाभाव मात्र जन्माउँछ । त्यसैले सत्यतथ्यलाई बुझेर स्वस्थ बहस गरौं । सिर्जनशील लेखकहरूलाई हतोत्साहित नबनाऔं ।

यो अफवाहलाई चिर्ने साहित्यकार, साहित्यप्रेमी तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद । अफवाह फैलाउने र त्यसमा भाका मिलाउनेहरूलाई प्रेम नै प्रेम । किनभने, प्रेमले द्वेषभाव र मनको मैलो पखाल्न सघाउँछ ।

...

०६५ सालमा दिनको दुई हजार, त्यो पनि खान र बस्नका लागि बढीमा तीन महिना बस्ने गरी लेखनवृत्ति पाएका थियौं । प्रकाशजी, सीमाजी र म दुई–दुई महिना बस्यौं । कृष्ण धरावासी र भीष्म उप्रेती त एक–एक महिना मात्र बस्नुभयो ।

व्यक्तिगत रूपमा यस वृत्तिबाट मलाई धेरै फाइदा भयो । कुनै तालिम र प्रशिक्षणबिना नै फिल्डमा गएर स्थलगत अध्ययन गरी लेख्न सिकें । नदीलाई पानीले बग्न सिकाए जस्तै परिवेश र त्यहाँका पात्रहरूले लेख्न सिकाए । पात्रहरूलाई आफूभित्र मिसाएर लेख्न सिकें ।

यो लेखनवृत्ति सुटुक्क पाएको होइन, सार्वजनिक रूपमा प्रस्ताव आह्वान गरिएको थियो । धेरैले प्रस्ताव बुझाएका थिए होलान् । हामी पाँच जना छानियौं । यी सबै कुरा त्यही बेला पत्रपत्रिकामा आएका थिए । यस परियोजनामा कुनै मिसन थिएन । कसैको कुनै स्वार्थ थिएन । हामी कुनै विधा र विषयमा आ–आफ्नै विचार र शैलीमा लेख्न स्वतन्त्र थियौं । 

संसारमा प्रसिद्ध लेखकहरूले लेखनवृत्ति पाएर लेखेका छन् । जस्तो कि नोबेल पुरस्कार लेखक टोनी मोरिसन, पुलित्जार पुरस्कार विजेता लेखक झुम्पा लाहिरी, अङ्ग्रेजीमा लेख्ने नेपाली लेखक मञ्जुश्री थापालगायत धेरैले लेखनवृत्ति पाउनुभएको छ । सिनेमा बनाउन पनि यस्ता अनुदान दिइन्छ । सिर्जनशील कार्यका लागि लेखनवृति, अध्ययन गर्नेका लागि छात्रवृत्ति तथा अनुदान दिने संस्थाहरू संसारमा प्रशस्त छन् । यस प्रकारको लेखनवृत्ति पाउनु भनेको गर्वको विषय हो ।

खासमा जसले सुरुमा आरोप लगाएर लेख्नुभयो, त्यो पूरै गलत भने छैन । शैली र नियत गलत हो । यसलाई एउटा उदाहरणबाट भन्छु : जस्तो कि कसैले उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयमा छात्रवृत्ति पायो । परिवार, आफन्त र साथीहरूले खुसी हुँदै भने– बधाई छ । यति ट्यालेन्ट छौ जस्तो लागेको थिएन । त्यति धेरै जनामा फुल स्कलरसिपमा पढ्न पायौ । खुब पढ्नू । नाम पनि कमाउनू । दाम पनि कमाउनू ।

यसैलाई घृणा फैलाउने अशिष्ट शैलीमा भन्दा कस्तो सुनिन्छ, हेरौं है–– डलरे पढाइ गर्न विदेश गएको हो । फलानाले त डलरे शैक्षिक प्रमाणपत्र पाएछ । नेपाली राष्ट्रियता, धर्म, संस्कृति मास्न विदेशीले चखाएको जुठोबाट जन्मेका भाट विद्वान्हरू... । 

के विषयमा भनिन्छ भन्ने कुरा जति महत्त्वपूर्ण छ, कस्तो शैलीमा भनिन्छ भन्ने कुरा पनि त्यति नै महत्त्वपूर्ण छ ।

मेरो उद्देश्य यो होइन कि सबै ठिकठाक छ । प्रमाणित भएका गलत कुराहरूका बारेमा आवाज उठाउनुपर्छ, विद्रोह पनि गर्नुपर्छ तर विषयलाई नबुझी सबैलाई एउटै भकारीमा हाल्नु हुँदैन ।

त्यस्तै प्रसिद्ध कलाकार मह जोडीलाई पनि एउटै भकारीमा हालिएको छ । भिडियो सन्देश सेयर गर्दै यूएसएआईडी र नेपाल सरकारसँगको सहकार्यमा महसञ्चारले जनचेतनामूलक टेलिचलचित्रहरू– ‘असल लोग्ने’, ‘आमा’, ‘मदनबहादुर हरिबहादुर’, ‘गाउँकी तारा’ निर्माण गरेको उल्लेख हरिवंश आचार्यले गर्नुभएको छ ।

सञ्जालको जाल

मानौं सामाजिक सञ्जालको जालभित्र पूरै पृथ्वी परेको छ, तर त्यहाँ मानिसबाहेक कुनै जीव परेका छैनन् । जेहोस्, आधुनिक युगको अद्भुत आविष्कार हो– सामाजिक सञ्जाल । यसले प्रत्येक व्यक्तिलाई शक्तिशाली हुने अवसर दिएको छ । किनभने, सञ्जालले प्रत्येक व्यक्तिलाई अनेक रूपमा आफूलाई व्यक्त हुने अवसर र स्वतन्त्रता दिएको छ ।

मूलधारका सञ्चारमाध्यममा पहुँच नहुनेहरूले पनि इन्टरनेटको पहुँच छ भने संसारको जुनसुकै ठाउँबाट आफूलाई संसारको जुनसुकै ठाउँमा प्रस्तुत गर्न सक्छन् । यस्तै कतिपय प्रस्तुतिले मूलधारलाई नै धरापमा पारिदिएका छन् ।

अनेक सूचना, जानकारी, मनोरञ्जन, सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक आदि जुनसुकै विषयमा बहस गर्न सकिन्छ, विभिन्न विषय र विचारमा आफ्ना सहमति या असहमति प्रस्तुत गर्न पाइन्छ । संसारभर रहेका आफ्ना आफन्त, साथीहरूसँग जुनसुकै बेला अनुहारको भावभङ्गीमा हेरीहेरी संवाद गर्न पाइन्छ । व्यक्तिगत खुसी, सफलता, सुखदुःख आदि कुनै भावना व्यक्त गर्न सकिन्छ ।

हजारौं मानिस जम्मा गरेर गरिने ठूलाठूला सभासमारोहलाई यसले न्यूनीकरण गरिदिएको छ । अहिले त यस्तो समय आयो, कसैले म सामाजिक सञ्जाल चलाउन्नँ भन्नै गाह्रो छ । यहाँ साधुलाई पनि सामाजिक सञ्जाल चाहिएको छ । देवीदेवताको भौतिक उपस्थिति हुने हो भने तिनलाई पनि चाहिन्थ्यो होला ।

भ्रम र भाष्य

यस प्रकारको अद्भुत बिजुली सञ्जाललाई मानिसले जति सदुपयोग गर्दै आएको छ त्यति नै दुरुपयोग पनि गरेको छ । 

सदुपयोग गरेर कुनाकुनीमा लुकेर रहेका प्रतिभाहरू उजागर भएका छन् भने दुरुपयोग गरेर नामहरू बदनाम पनि भएका छन् । माथि मैले उल्लेख गरेका दुई व्यक्ति यो समाजको लेखपढ भएका र लेखपढ गराउने उच्चशिक्षा पूरा गरेका हुनुहुन्छ । उहाँहरू व्यक्ति तोकेर भनेको होइन प्रवृत्तिगत उदाहरण मात्र दिएको हुँ । उहाँहरूमा त यस्तो भ्रमपूर्ण धारणा छ भने सामान्य मानिसहरूमा कस्तो होला ? सामाजिक सञ्जालले कति भ्रमपूर्ण भाष्यहरूलाई स्थापित गरेको होला ? उहाँहरूलाई पत्याउने र पछ्याउनेहरू धेरै छन् । तिनीहरूले त्यही पत्याउँछन् र भ्रम स्थापित हुन्छ । यसरी सञ्जालले भ्रमको वनमारा खेती हुर्काइरहेको छ ।

विशेषगरी राजनीतिक व्यक्तिहरू माथिको टिप्पणी सञ्जालमा हेर्छु । त्यही एउटै मानिसलाई कसैले चरम घृणा गरेका हुन्छन्, कसैले चरम प्रशंसा गरेका हुन्छन् । कसैले देश लुटेरा, देश बेचुवा भनेका हुन्छन् भने कसैले तीन करोड नेपालीका आशा जगाएका हुन्छन् । कसैले सबैभन्दा राष्ट्रवादी देखेको मानिसलाई अर्कोले कसरी सबैभन्दा राष्ट्रघाती देख्छ ? एउटै मानिस एउटै समयमा त्यति धेरै आलोचना र प्रशंसा गर्न लायक कसरी हुन्छ ?

कुनै पनि विषय, घटना र पात्रलाई कि पूरै ठिक कि पूरै बेठिक, कि पूरै नायक कि पूरै खलनायक कित्तामा राखेर हेर्ने दृष्टिकोणको अभ्यास हाम्रो परम्परा, धार्मिक कथा, मसलेदार सिनेमा र राजनीतिक संस्कारमा रहेको छ । आरोप लगाए हुने, प्रमाणित गर्नु नपर्ने हाम्रा धेरैजसो ठूलो नेताहरूको राजनीतिक अभ्यासको प्रभाव समाजमा परेको छ । राजनीतिक स्वार्थ र सत्ता गठबन्धन मिलिन्जेल ठिक भएको पार्टी या व्यक्ति राजनीतिक स्वार्थ नमिल्नासाथ बेठिक ठहरिन्छ ।

निर्णय र निष्कर्ष

समाजमा अनेक घटना हुन्छन् । त्यसमा केही मानिसलाई सञ्जालमा आरोप लगाइन्छ । कसैले फेरि तिनैलाई बचाउ गरिरहेका हुन्छन् । यस प्रकारका आरोपका विषय भ्रष्टाचार, लैंगिक, यौनिक, धार्मिकदेखि हिंसासम्मका हुन्छन् । आरोप र बचाउमा ठूलै समूह सञ्जालमा अस्वस्थ विवाद गरिरहन्छन् । धेरैजसो म मौन हुन्छु । कतिपय साथीहरू भन्छन्– यति गम्भीर विषयमा तिमी किन बोल्दैनौ ?

मैले सञ्चार र सञ्जाल माध्यमका पढेका तथा सुनेका आधारमा ती घटनाका बारेमा फलानो दोषी हो र फलानो निर्दोषी हो कसरी भन्न सक्छु ? म त्यो विषयको विशेषज्ञ पनि होइन । त्यसको अध्ययन गर्ने छुट्टै निकाय छन् । प्रहरी प्रशासनदेखि अदालतसम्म अनेक पैरवी र बहस हुन्छन् । ती निर्णय गर्ने आधिकारिक निकाय हुन् । हामी त चाँडै न्याय देऊ भनेर आवाज उठाउन मात्र सक्छौं ।

तर, सञ्जालमा पक्ष र विपक्षमा घृणा र उत्तेजना फैलाउने अशिष्ट आरोप प्रत्यारोप चलिरहेको हुन्छ । यस्तो अफवाह जजसले फैलाउँछन् र त्यसमा जजसले भाका मिलाएर गाली गर्छन्, यदि त्यो गलत रहेछ भने बदनाम गरिएका व्यक्तिको मानहानि र चरित्रहत्याको जिम्मेवारी कसले लिने ?

आरोप लगाउनेसँग प्रमाणित गर्ने आधार हुनुपर्छ र सम्बन्धित निकायमा प्रमाणित गराएर कारबाही गराउने हैसियत हुनुपर्छ । होइन भने कसैलाई मानहानि र चरित्रहत्या हुने गरी अफवाह फैलाउन पाइँदैन । तर, निर्णय र न्याय दिने निकायलाई निष्पक्ष र चाँडै न्याय देऊ भनेर आवाज दिइरहनुपर्छ ।

अमर नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ अमर न्याैपाने मदन पुरस्कार विजेता साहित्यकार हुन् । उनकाे सेतो धर्ती, पानीको घाम, करोडौं कस्तुरी लगायतका पुस्तक प्रकाशित छन् ।

Link copied successfully