त्रास छ नेपालीहरूमा– केदारनाथ मन्दिरका तीर्थयात्री ओसार्ने काम खोसिन्छ कि! सिमलामा स्याउ टिप्न जाने असंख्य नेपाली युवाको पनि आफ्नै दुःख छ । भारतमा मजदुरी गर्ने नेपाली कति होलान् ? सरकारसँग तथ्यांक छैन ।
यात्राका अनेक आयाम हुन्छन् । कोही तीर्थ गर्न हिँड्छन्, कोही तीर्थालुलाई साथी बनाई भ्रमण गर्न निस्कन्छन् । म पछिल्लो स्तरको यात्री परें । तीर्थ गर्ने तरिका पनि बेला र परिस्थिति अनुसार हुँदोरहेछ । तीर्थयात्राको मेरो पहिलो अनुभव विराटनगरबाट बाराहक्षेत्रको थियो, संवत् २००६ सालको माघे संक्रान्तिमा ।
त्यतिबेला विराटनगरबाट धरान जान तीन घण्टा बढी समय लाग्थ्यो र हिउँदमा धूलो र वर्षात्मा हिलोले सताउँथ्यो । गाडी पनि दोस्रो विश्वयुद्धपछि पुराना भएका जियमसी ट्रक हुन्थे । त्यतिखेर पहाडबाट भारततिर कामको खोजीमा हिँडेका ढाकर बोक्ने नेपाली धेरै हुन्थे । उनीहरू भारतको असममा काम खोज्न जान्थे र वर्षाअघि घर फर्किन्थे ।
आज हामी यस्ता हिँडाइलाई मौसमी आप्रवासन (सिजनल माइग्रेसन) भन्छौं । पहाडको दुःख र खानसम्म नपुग्ने अवस्थाले उनीहरू भारततिरै लाग्थे । झापाको धुलाबारीमा यस्ता ढाकर बोक्नेको लहर मैले बाल्यकालमै देखेको हो । उनीहरूलाई भारतीय रेलमा ठेलमठेला गर्दै हिँडेको दृृश्य आज पनि ताजै लाग्छ ।
गत साल हामी पूर्वको धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुमको भ्रमणका सिलसिलामा बाटोछेउ पर्ने बराह क्षेत्र पुग्दा २००६ सालको याद आयो । म त्यहाँ दुई दिन बस्दा धेरैजसो समय सप्तकोशीको सङ्लो पानी र लहर हेर्न पुग्थें । धरान बजार सुनसान हुन्थ्यो तर बजारमा भने ढुंगा छापेकाले हिँड्न सहज हुन्थ्यो । विराटनगर भने हिलो र धूलोले भरिएको हुन्थ्यो ।
मेरो दोस्रो तीर्थयात्रीसँगको अनुभव थियो आफ्नै बा, आमा र अरू नातेदारसित असमको कामाक्ष जाँदाको । परशुराम भण्डारी (पछि उनी शर्मा लेख्थे) अति मिल्ने एउटै कक्षाका साथी थिए । उनकी हजुरआमा र ठूली आमा, जसले उनलाई धर्मपुत्रका रूपमा सँगै राखेका थिए । उनी पनि कामाक्ष जानेमा थिए । र, मैले पनि आमाबालाई जाने जिद्दी गरेकाले जान पाउने भएँ ।
हामी गएको दिन सिलिगुडीबाट राति अमिनगाउँ जाने रेलमा ठेलमठेल गर्दै छिर्यौं । त्यतिखेर रिजर्भेसन गर्ने चलन थिएन । कुल्लीले झ्यालबाट फ्याँकिदिन्थ्यो र कतिपय अवस्थामा त रातैभर उभिनुपर्थ्यो । चिउरा, कुराउनी, घिउ, अचार बोकी बाटामा खाइन्थ्यो । त्यतिखेर ब्रह्मपुत्रमा पुल थिएन र हामी जाँदा स्टिमर (सानो जहाज) र फर्कंदा भने रेलको सिट ओगट्न दिउँसै नाउबाट नदी तरी फर्किने रेलमा अमिनगाउँमा चढ्यौं ।
रेल–यात्राको मेरो पहिलो अनुभव भने २००६ सालमा विराटनगरमा दिदी–भिनाजुकहाँ पढ्न जाँदै भइसकेको थियो । ब्रह्मपुत्र पहिलोपल्ट हेर्दा अचम्म लाग्थ्यो । तीर्थयात्रीसित हिँड्दाको रमाइलो अर्कै खालको हुन्थ्यो । म दिल्लीमा विद्यावारिधि गर्न बस्दा बाआमा र अरू नातेदारलाई लिई द्वारिका (गुजरात) जाँदा गजब लागेको थियो । दिल्लीबाट नेपाली दूतावासले दिलाउने कोटामा द्वारिकासम्म र फर्किंदा आगरा, मथुरा र वृन्दावनसम्म रिजर्भेसन गरेकाले त्यति लामो रेल–यात्रा सहज लागेको थियो ।
दिल्ली जक्सनबाट अहमदावाद रेल–गाडीमा द्वारिका जाने कोच (डिब्बा) जोडिएको हुन्थ्यो र मेहसना जक्सनमा पुगेपछि त्यो कोच अर्को गाडीमा जोडी निर्दिष्ट ठाउँमा पुग्थ्यो । अचम्म त के लाग्थ्यो भने द्वारिकाका पण्डा बिहानको रेलमा तीन चार घण्टाको यात्रा गरी जामनगरमा यात्री बसेको डिब्बामा ग्राहक खोज्दै आइपुग्थे ।
र, उनीहरू पक्का नेपालका हुन् भन्ने ठानी आफ्नो परिचय दिँदै पुराना नेपालका शासकले लालमोहर दिएकाले हामीलाई उनीहरूकै धर्मशालामा बस्न बाध्य पार्थे । सबै भाँडाकुँडा र सुत्ने ठाउँको बन्दोबस्त मिलाउँथे । यो उनीहरूको जीविका चलाउने धन्दा रहेछ ।
मथुरामा त पण्डाले अति नै गरे । अर्कै पण्डाको घरमा बसिसकेकालाई अनेक किसिमले तर्साएर, फकाएर हामीलाई लगिछाडे । यस्ता अनेक घटना पछि पनि भोग्नुपरेको थियो । मैले भारतका सबै तीर्थ स्थानमा पुग्ने मौका पाएको छु । केदारनाथ र अमरनाथ मात्रै बाँकी छ । तर, मलाई यसरी तीर्थ गर्दा फल प्राप्त हुन्छ भन्ने छैन न त म कट्टर कर्मकाण्डमा विश्वास गर्ने व्यक्ति हुँ । म आफूलाई धर्मबारे अनविज्ञ (एग्नोस्टिक) भन्ने ठान्छु । साथीभाइबीच म आफूलाई एकलो बृहस्पति भएको पाउँछु । तर, उनीहरूको विश्वासमा मलाई केही भन्नु छैन ।
यसपल्टको भारत यात्रा गजबकै रह्यो । मलाई साथ दिने साथी परे मेरा धारणा विपरीतका । विनय कुसियत कर्मकाण्डी धर्ममा विश्वास गर्थे भने दोस्रा विजयराज पन्त ठिकै किसिमका, चलनचल्तीका भाषामा ‘धार्मिक’ । हामी हरिद्वार, ऋषिकेश हुँदै देहरादुन पुगी मसुरी र फर्किंदा नालापानीमा अवस्थित बलभद्रको स्मारकमा गयौं । बलभद्रले सन् १८१४/१५ मा यसै ठाउँमा अंग्रेजसितको अन्तिम युद्ध लडेका थिए । युद्धपछि नेपालले हार स्वीकारी सुगौली सन्धि गरी भारतको हालको उत्तराखण्डमा पर्ने सबै भूभाग गुमाएको र पश्चिममा महाकाली र पूर्वमा मेची नदी सीमा कायम भएको हो । यो सिमाना हालसम्म चलेको छ र मोटामोटी रूपमा एक स्थिर सिमाना हो भन्न मिल्छ ।
हाम्रो यात्रा अति व्यवस्थित थियो । हामी देहरादुनबाट हवाईजहाजमा गुजरातको अहमदावाद पुगी महात्मा गान्धीको सावरमति आश्रम हेर्न गयौं । सावरमती नदी सफा र हरियो देखिन्थ्यो । हालसालै अटल पुल बनाइएको रहेछ, तर वारपार गर्न नभई घुम्ने पार्कका रूपमा । गाडीमा बेलुका राजकोट पुग्यौं र भोलिपल्ट द्वारिकातिर लाग्यौं । समय भएकाले पहिले हामी द्वारिका गयौं ।
म यस ठाउँमा सन् १९७२ मा बाआमासित पुगेको तर आज चिन्न गाह्रो पर्ने भएछ । अति सुन्दर पुल समुद्रको भँगालोमाथि बनेकाले पहिलेभन्दा चहल पहल बढेछ । पहिले हामी नाउमा गएका थियौं । भारतको पूर्वाधार विकास तीव्र गतिमा भएकाले सबै सडक चार लेनको बनाइएको रहेछ । तर, स्वच्छ भारत बन्न भने अझै धेरै वर्ष लाग्ने रहेछ । सहरहरू प्रायः अस्तव्यस्तै देखिन्थे ।
द्वारिकाबाट सोमनाथ मन्दिर जाँदा हामी गान्धी जन्मिएको ठाउँ पोरबन्दर गयौं । उनी जन्मिएको घर हेरी आफ्नो गन्तव्यतिर लाग्यौं र केही घण्टामै सोमनाथ पुग्यौं । यस मन्दिरको ऐतिहासिक महत्त्व रहेको जानकारी मलाई स्कुलमा इतिहास पढ्दा थाहा भएको थियो । मोहम्मद गजनीले यस मन्दिरका सुन लुटी भारतमा मुसलमान हमलाको थालनी गरेका थिए । पछि एक हजार वर्षसम्म मुसलमानले भारतमा राज गरे । पुरानो मन्दिर सानो र नयाँ बनाएको मन्दिर भने ठूलो र राम्रो रहेछ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले केही वर्ष पहिले उद्घाटन गरेको र बाहिर भने सरदार बल्लभभाइ पटेलको लामो प्रतिमा राखिएको रहेछ । भारतीय जनता दलको १० वर्षे कार्यकालमा पटेल, बाजपाई र अन्य नेताको नाम धेरैतिर राखिएको पाइन्छ । म पनि सोमनाथको नयाँ र पुरानो मन्दिर हेर्न साथीहरूसित गएँ । सोमनाथबाट हामी फेरि राजकोटतिर लाग्यौं किनभने हाम्रो हवाईजहाजको टिकट त्यहाँबाट मुम्बई हुंँदै मध्यप्रदेशको इन्दौर पुग्नु थियो ।
सबै समयतालिका ठीकसित चलेकाले तोकिएको समयमा हामी जाने ठाउँमा पुग्थ्यौं । इन्दौर जाने मेरो पुरानो धोको हो । भारतका धेरै ठाउँमा म पुगेको, तर इन्दौर भने बाँकी रहेकाले र साथै उज्जैन पनि नजिकै भएकाले म जान हौसिएको हो । विनयलाई उज्जैनको महाँकालेश्वर ज्योतिर्लिङ्ग र नर्मदा नदीतटमा स्थित ओमकारेश्वर ज्योतिर्लिङ्गमा दर्शन गर्न इच्छा भएकाले हामी दुवै ठाउँ गयौं । मलाई नर्मदा नदीबारे केही जानकारी थियो किनभने त्यहाँ बनाइने तटबन्धले (हाई ड्याम) डुबान र विस्थापनको समस्या र पर्यावरण बिग्रने भनी आन्दोलन चलेको थियो । त्यस्तै आन्दोलन तेहरी
गढ्वालमा चलेको पनि जानकारी थियो । म त्यही बाँधछेउ पुगी फोटो खिचाएर मन्दिर गएका साथीहरूलाई पर्खेर बसें । नर्मदा नदी पूर्वबाट पश्चिम बगी अरब सागरमा मिसिने रहेछ । इन्दौर राम्रो सहर, तर यसको सफाइबारेको बयान गरे अनुसार छैन । गुजरातमा पटेल, महाराष्ट्रमा छत्रपति शिवाजी, इन्दौरमा रानी अहिल्याबाइलाई आइकन (नमुना) मान्दा रहेछन् । इन्दौर विश्वविद्यालयको नाम र हवाई अड्डा उनैको नाउँमा राखिएको रहेछ ।
भारतले पूर्वाधार विकासमा फड्को मारेको तथ्य सही रहेछ । सबै सडक चार लेनका र कुनै–कुनै अझै फराकिला देखिन्छन् । सबै हवाई अड्डा अति आधुनिक छन् । डिजिटल प्रणालीमा सबै कारोबार हुन थालेकाले हामीलाई कामचलाउन अलि गाह्रो पनि पर्दोरहेछ । नेपालीले क्वीआर कोड चलाउन नमिल्ने भएकाले र कार्डको प्रयोग कुनै बेला असफल हुँदा यस्ता विषयमा दुवैतिरका सरकार सचेत हुनुपर्छ । खानपान रहनसहन भने सनातनी नै छ ।
केही अपवादबाहेक सहर–बजार त्यति सफा देखिँदैनन् । नरेन्द्र मोदीको स्वच्छ भारत अभियान कामयाव भएको पाइँदैन । गुजरातमा प्रायःजसो साकाहारी भएकाले धेरैजसो होटल रेस्टुराँ साकाहारी नै रहेछन् । मलाई मांसाहारी खाना खान इन्दौरको मुसलमानले चलाएको रेस्टुराँमा पुग्नुपर्यो । इन्दौरबाट दिल्ली हुँदै पुनः देहरादुन पुगी हामी बेलुका सीमाछेउको खटिमामा बास बस्न पुग्यौं । बाटो अति राम्रो भएकाले छ घण्टा गाडीमा गुड्दा थकान महसुस हुँदैनथ्यो ।
यात्राको अर्को पाटो मेरो असम र अरुणाचल प्रदेशको छ । वास्तवमा असम पनि बाटाघाटाका हिसाबले अरू भारत जस्तै लाग्छ । अरुणाचल प्रदेश सामरिक हिसाबले महत्त्वपूर्ण मानिन्छ र यहाँ पनि अब मिस्रित बसोबास भएको पाइन्छ । भारतका अन्य भागबाट भारतीयहरू उत्तरपूर्वी भारततिर व्यवसाय गर्न पुगेकाले ती प्रान्तमा बसाइँसराइ तीव्र छ । सामाजिक र आर्थिक रूपको विभेदले जातीय झगडा बढ्ने गरेको छ ।
पहिले नागा धेरै वर्ष लडेर हाल मनिपुरका कुकी र मेइतेई बीचमा तनाव बढेको छ । मेइतेईको संख्या ५३ प्रतिशत, कुकी–जोको १६ प्रतिशत र करिब २० प्रतिशत नागा छन्, जो पहाडी भागमा बसोबास गर्छन् । केही नेपालीहरू छन्, जो त्रसित अवस्थामा पाइन्छन् । पोहोर साल म, कृष्ण खनाल, कृष्ण हाछेथु र विनय कुसियतले असम, मेघालय, नागाल्यान्ड र मनिपुरको भ्रमण गरेका थियौं । नपुग्दा ती ठाउँ भारतका अन्य भागभन्दा फरक होलान् भन्ने लाग्थ्यो, तर त्यहाँ पुगेपछि सतहीमा हेरिँदा अन्य भारत जस्तै लाग्ने रहेछ । तर, त्यहाँ पनि बाहिरियाकै जनघनत्व बढ्दै जाँदा स्थानीयवासी विस्थापित हुइन्छ कि भन्ने डरपालेर बसेका छन् । कुनै बेला विस्फोट पनि नभएका होइनन् ।
नेपाल–भारत सम्बन्ध वास्तवमा विचित्रको छ । भारतका कुनै पनि ठाउँमा नेपाली नपुगेका छैनन् । यसपल्टको गुजरात, उत्तराखण्ड, इन्दौरको भ्रमण दौरान प्रत्येक रेस्टुराँमा आठ–दस नेपाली कामदार नभेटिएका हुँदैनथे । सुदूरपश्चिमका युवक गुजरातका सबै होटल रेस्टुराँमा भेटिन्छन् । इन्दौरमा त नेपाली बस्ती नै रहेछ, तर ती भारतीय नेपाली हुन् । नेपालले अब ती युवकको व्यवस्थापन गर्न सक्ला भन्ने लाग्दैन । हाम्रो विकासको शैली, काम गराइ र सोच अझै प्रस्ट हुन सकेको छैन । प्राथमिकता ठम्याउन नसक्दा र नेतृत्वको कमजोरीले बाहिर जाने गतिविधि रोकिने लक्षण देखिँदैन ।
त्यसैले अमेरिकी राजनीतिशास्त्री माइनर विनरको सन् १९७० को दशकमा छापिएको लेखमा उल्लेख भएको ‘भारत नेपालका लागि सेफ्टी भल्व हो’ भन्ने भनाइ आज पनि सान्दर्भिक छ । काठमाडौंको बुद्धिविलासले यस्ता समस्या थाहा पाउँदैन । केदारनाथ मन्दिरसम्म जाने मान्छे (तीर्थयात्री) ओसार्ने काम खोसिन्छ कि भन्ने कत्रो त्रास छ, ती नेपालीका मनमा । त्यस्तै सिमलामा स्याउ टिप्न जाने असंख्य युवाको समस्या छ । भारतभरिका विभिन्न स्थानमा अनेक प्रकारका काम गरी केही पैसा कमाइ पठाउने त कति छन् कति । तर, भारतमा यस्ता काम गर्ने नेपाली कति होलान् भन्न कसैले सकेको छैन । न त यसमा गहन अध्ययन नै भएको छ ।
धर्मप्रति आफ्ना निजी धारणा भए पनि आज तीर्थाटनको महत्त्व बढिरहेछ । चीनसम्म बुद्धलाई पर्यटनका लागि उपयोग गरिरहेछ । नेपालको महत्त्व झन् बढी छ किनभने यहाँको प्राकृतिक सौन्दर्य, सामाजिक समन्वय र सहिष्णुता आदि अनेक सकारात्मक पक्ष छन्, जसलाई पर्यटनका लागि प्रयोग गर्न सकिन्छ । तर, आजसम्म एउटा चार लेनको बाटो बनाउन नसक्नेले पर्यटकीय पूर्वाधार विकास गर्लान् भन्न सकिँदैन ।
