प्रतीक्षा त एसियाकप छनोटको पनि हुनेछ, जुन आफैंमा विश्वकप छनोट हो । अचेल हाम्रा महिला फुटबलर ठूलै सपना बुनिरहेका छन् ।
काठमाडौँ — एउटा वुमेन्स साफ च्याम्पियनसिप जित्न सकेका छैनौं, के को ठूल्ठूला कुरा ? नेपालको महिला राष्ट्रिय फुटबल टिमले विश्वकप खेल्ने सपना बुन्यो भने यस्तै आरोप लाग्दो हो । हो पनि । होइन पनि । हो किन भन्दा हाम्रो पहुँचकै साफ च्याम्पियनसिपकै घेरा तोड्न सकिएको छैन, विश्वकप त परकै कुरा भयो ।
होइन किन भन्दा दक्षिण एसियाली महिला फुटबलको घेरा बाहिर गएर एक नजर लगाउनुपर्छ, विश्वकप नजिकै छुन सकिने खालको लाग्न सक्छ ।
‘सक्छौं हौ, सक्छौं,’ नेपाली महिला फुटबलकी अहिलेसम्मकै सबैभन्दा ठूला स्टार सावित्रा भण्डारी कुरैपिच्छे भन्ने गर्छिन् । उनी युरोपमा व्यावसायिक फुटबल खेल्ने पहिलो खेलाडी भइन् । अचेल फ्रान्समा खेल्छिन् । उनलाई पछ्याएर एन्जिला सुब्बा पनि ग्रिस पुगेकी छन् । उनी त उल्टै प्रश्न गर्छिन्, ‘किन नसक्नु हो हामीले ?’ यसका लागि सबैभन्दा पहिला के बुझ्नुपर्छ भने अन्तर्राष्ट्रिय फुटबल समीकरणमा पुरुष र महिलाको खेल फरक छ, ठ्याक्कै फरक छ ।
यसलाई यसरी बुझाउन सकिन्छ । फिफाले महिला फुटबलको पनि वरीयता निकाल्ने गर्छ । यो वरीयतामा हामी छौं, १०३ औं स्थानमा छ । एक प्रकारले यो धेरै पछाडि नै हो । सन् २०२७ को महिला विश्वकप ब्राजिलमा हुनेछ र त्यसमा सहभागी हुने देशको संख्या हो, ३२ । त्यसमध्ये एसियाबाट खेल्न पाउने भनेको छ टिमले मात्रै हो । यो त निकै कम संख्या हो, त्यसैले नेपालका लागि विश्वकप पहुँच बाहिरको लाग्न सक्छ । तर लक्ष्य विश्वकपकै समात्ने हो भने अरू थुप्रै सम्भावना खुल्नेछन् ।
अबको विश्वकपको एसियाली छनोट जुन–जुलाईमा हुँदै छ । यो विश्वकपको छनोट मात्र हुने छैन, एसियाकपको पनि छनोट हुनेछ । भनेपछि दुई ठूला प्रतियोगिताको छनोट एउटै । सन् २०२६ को एसियाकप भने अस्ट्रेलियामा हुनेछ । समय हो, मार्च । खासमा हामीले आफ्नो धरातलमै रहेर ताक्ने भनेको यही एसियाकप हो । यो एसियाकपमा भाग लिने टिमको संख्या हुनेछ, १२ मात्र । अझ त्यसमध्ये पनि चार टिम त छनोट पनि भइसकेका छन् ।
त्यसमध्ये एउटा आयोजक अस्ट्रेलिया भइहाल्यो । अर्को, सन् २०२२ को एसियाकप विजेता चीन । त्यही एसियाकपको उप–विजेता दक्षिण कोरिया र तेस्रो भएको जापानलाई पनि प्रतियोगितामा सिधै प्रवेश दिइएको छ । अब बाँकी आठ स्थानका लागि छनोट चल्नेछ । यसको ‘ड्र’ मार्चमा निस्कँदै छ । छनोटमा ३३ टिम हुनेछन् । तिनलाई आठ समूहमा विभाजन गरिनेछ । प्रत्येक समूह विजेताले एसियाकप खेल्नेछन् । नेपालले साँच्चै प्रयास गर्ने यसकै लागि हो ।
यसैको तयारीका रूपमा हुन लागेको ‘फोर नेसन्सकप’ । नेपाली फुटबलमा केही राम्रो भएन भन्ने हल्लाबीच केही राम्रो हुन लागेको छ भने यो यही प्रतियोगिता हो । नेपालले अहिलेसम्म महिला फुटबलको यस्तो प्रतियोगिता गरेकै छैन । त्यसैले पछि गएर यसको ऐतिहासिक महत्त्व हुने पनि पक्कापक्की नै छ । ‘हामी आफ्नै मैदानमा यो प्रतियोगिता जित्न तयार छौं,’ नेपाली महिला फुटबलकी सर्वाधिक लोकप्रिय खेलाडी प्रीति राईले उद्घोष गरिसकेकी छन् ।
नेपालसँगै यो प्रतियोगिता खेल्ने टिम हुन्– म्यानमार, किर्गिस्तान र लेवनान । ठ्याक्कै यही प्रतियोगितालाई लिएर भन्न मिल्छ, नेपाल फाइनल पुग्नेछ, यो निश्चित छ । निश्चित के मात्र छैन भने नेपालले यो प्रतियोगिता जित्ने छ । निश्चित जस्तै के पनि छ भने फाइनल पुग्ने दुई टिम नेपाल र म्यानमार नै हुन् । म्यानमार हाम्रोको तुलनामा बलियो छ, त्यसैले विजेतालाई लिएर दुविधामा रहने छुट हुन्छ । यस्तो किन त ? यसको पनि समीकरण बुझ्न आवश्यक हुन्छ ।
महिलाको एसियाली फुटबललाई सरसर्ती चार भागमा विभाजन गर्न सकिन्छ, वरीयताका आधारमा । एसियामा केही यस्ता देश छन्, जसको उपस्थिति विश्वस्तरकै छन् । फिफाको एसियाली वरीयतामा यी देश अगाडि नै छन् । जस्तोः जापान, उत्तर कोरिया, अस्ट्रेलिया, चीन र दक्षिण कोरिया नै । उनीहरू उच्च वर्गका टिम हुन् । यिनीहरूलाई छुनै गाह्रो हुने गर्छ । त्यसपछि दक्षिण पूर्वी एसियाका केही देशहरू आउने गर्छन् । जस्तैः भियतनाम, फिलिपिन्स, थाइल्यान्ड र म्यानमार नै । ताइपेयी र उज्वेकिस्तान पनि यही समूहमा पर्छन् ।
यसरी एसियाका शीर्ष ११ टिमको सूची तयार हुन्छ । यी देशसँग नेपालले आँट्न मिल्छ । त्यसपछि २० औं स्थानसम्म रहने टिमको समूह आउँछ । नेपाल यसमै छ । एसियाली वरीयतामा नेपाल २० औं स्थानमा छ । यत्ति त गब्बज नै सुनिन्छ नि, होइन र ? नेपाल अगाडि रहेका देश हुन्– इरान, भारत, जोर्डन, हङकङ, बहराइन, इन्डोनेसिया, ग्वाम र मलेसिया । यी यस्ता देश हुन्, जसलाई हामी मैदानमा पछार्न सक्छौं ।
त्यसमध्ये नेपालले इरानसँग एकपल्ट खेलेको छ र मज्जाले ३–० ले जितेको छ । भारतविरुद्धका पछिल्ला दुवै खेलमा जित नेपालकै रहेको छ । जोर्डनसँग पनि एकपल्ट खेलेका छौं र यो खेल त्यही वाफ च्याम्पियनसिपको फाइनल त हो । जितको निकै नजिक रहेर नेपाल टाइब्रेकरमा हारेको हो, नत्र निर्धारित समयको खेल बराबरीमै छुटेको थियो । हङकङविरुद्ध तीनपल्ट खेलेका छौं । सन् अस्सीकै दशकको अन्त्यतिर दुईपल्ट हारेपछि नेपालले हङकङलाई तेस्रो खेलमा गोलरहित बराबरीमा रोकेकै हो ।
बहराइनसँग नेपालले अहिलेसम्म खेलेको छैन । ग्वामसँग पनि खेल्ने अवसर जुटेको छैन । इन्डोनेसियाविरुद्ध पनि तीनपल्ट खेलेका छौं, त्यसमध्ये अन्तिम खेलमा जित नेपालकै पक्षमा रहेको थियो । मलेसियाविरुद्ध दुई खेल खेलेकामा एक बराबरी र एक हार रहेको छ । सार के भन्दा अलिकति मिहिनेत गर्ने हो भने नेपाललाई यी टिमविरुद्ध गाह्रो हुन्न, १९–२० कै टिम हुन् । अलिकति धेरै मिहिनेत गर्ने हो भने अझ माथि पनि ताक्न मिल्ने नै हो । त्यसपछिको सूची आउने कमजोर टिम हुन् ।
अब नेपालले खेल्न लागेको म्यानमारकै कुरा । नेपाली टिमका प्रशिक्षक राजेन्द्र तामाङ पनि मान्छन्, यो बलियो प्रतिद्वन्द्वी हो । म्यानमारले बरोबर खेल्ने भनेको तिनै भियतनाम, फिलिपिन्स र थाइल्यान्डसँग हो । भियतनाम त विश्वकप खेलिसकेकै टिम भयो । म्यानमारसँग नेपालले अहिलेसम्म चारपल्ट खेलेको छ । त्यसमध्ये सुरुको एउटा बराबरीमा टुंगेको थियो । बाँकी तीनमा भने नेपाल पराजित रहेको छ, तर स्कोर सम्मानजनक नै रहेको छ ।
त्यसैले, नेपालले फोर नेसन्सकपमा बडो ध्यानले खेल्नुपर्ने भनेकै म्यानमारसँग हो । यही खेलले हामी कहाँ छौं, त्यो पनि लगभग तय हुनेछ । घरेलु नेपाली महिला फुटबलमा लिग भर्खर सकिएको छ । लिगमा घोटिएका खेलाडी म्यानमारसँगको खेललाई लिएर उत्साहित पनि छन् । उनीहरू यही खेलकै प्रतीक्षामा छन् । अनि प्रतीक्षा त एसियाकप छनोटको पनि हुनेछ, जुन आफैंमा विश्वकप छनोट पनि हो । अचेल हाम्रा चेलीले ठूलै सपना बुनिरहेका छन् ।
