जंगल, खेत र पोखरी नै थिएटर 

इलाम चुलाचुलीमा डेढ दशकअघि खुलेको चुलाचुली थिएटरले प्रकृतिको महत्त्व बुझाउन जंगल, खेत र पोखरीलाई रंगमञ्च बनाएर नाटक महोत्सव गरेको छ

माघ २६, २०८१

सोमनाथ खनाल

Forests, fields and ponds are theaters

नेपाली नाटक मञ्चनमा आधुनिकताको प्रभाव बढेसँगै काठमाडौंमा एकपछि अर्को नाटकघरहरू खुले र सञ्चालन हुन थाले । व्यावसायिक नाट्यकर्मप्रति युवाहरूको चासोलाई भने काठमाडौंले छेक्न सकेन । देशका फरक स्थानमा नाटकमार्फत कलात्मक काम गरिरहेका समूहहरू आफ्नो स्रोत, साधन र क्षमताले भ्याउने किसिमका ‘स्पेस’ बनाएर नाटक देखाउन कस्सिए ।

उसो त नेपाली नाट्य जगत्मा नाटकघर खुल्ने मात्रै होइन, विविध कारणले स्थानान्तरण हुने, निष्क्रिय हुने र बन्द हुने उपक्रम पनि देखिए । 

नेपाली रंगमञ्चका यी सबै क्रम–उपक्रमलाई तटस्थ भावमा हेरिरहेको चुलाचुली थिएटरले ‘स्पेस’ को सन्दर्भमा पछिल्लो समय लिएको शैली भने केही फरक देखिन्छ । इलाम जिल्लाको दक्षिणी सीमावर्ती गाउँ चुलाचुलीमा करिब डेढ दशकअघि खोलिएको चुलाचुली थिएटरले प्रकृति र पर्यावरणको महत्त्व बुझाउन जंगल, खेत, पोखरीजस्ता प्राकृतिक स्थललाई रंगमञ्च बनाएर नाटक महोत्सवजस्तो महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरिरहेको छ । विशेषगरी विद्यालयस्तरका बालबालिकालाई लक्षित गरेर आयोजना गरिँदै आएको चुलाचुली पाठशाला नाट्य महोत्सवलाई बन्द प्रेक्षागृहमा नभई बस्ती नजिकैको खुला प्राकृतिक थलोमा आयोजना गर्ने पछिल्लो अभ्यासले अहिले समग्र नेपाली नाट्यजगत् आकर्षित बनेको छ । 

हालै चुलाचुली गाउँपालिकाको शिव ओरक मिलन पोखरी पर्यटन क्षेत्रमा आयोजना गरिएको तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सवमा इलाम, झापा र मोरङका मात्रै नभएर मकवानपुरसम्मका विद्यार्थी समूहले पर्यावरण संरक्षणसँग सम्बन्धित नाटक मञ्चन गरे । ‘रंगमञ्चसँग प्रकृति र कला’ नारासहित आयोजना गरिएको दुई दिवसीय यो नाट्य महोत्सवमा आठ वटा नाटक मञ्चनका अलाबा सांस्कृतिक झाँकी, खुला प्रदर्शनी, नाट्य कार्यशाला र प्यानल डिस्कसनजस्ता गतिविधिहरू समेटिए ।

यी सबै गतिविधि गर्न आयोजक समूहले करिब एक महिना लगाएर स्थानीय जंगलमा बनाएको खुला रंगमञ्च विशेष महत्त्वको थियो । बस्ती र गोरेटो बाटोसँग जोडिएको जंगलको सीमाक्षेत्रमा पर्ने खेतमा माटो सम्याएर बनाइएको मञ्च र त्यसको वरिपरि दर्शक बस्न मिल्ने बाँसबाट बनाइएको प्याराफिट ! काठमाडौंबाहिरका अधिकांश स्थानमा नाटकघर नहुनुको पीडालाई चुलाचुली थिएटरको यो प्रयासले नयाँ बाटो देखाइरहेको भान हुन्थ्यो । मञ्च र प्रेक्षालयबाहेक जंगलका विभिन्न स्थानमा प्रतिस्थापन कलाजसरी राखिएका पेन्टिङ, आर्टिफ्याक्ट र मुन्धुमी संस्कारका सामग्रीहरूले यसलाई केवल नाटक महोत्सव मात्र नभएर एउटा बृहत् प्राकृतिक–सांस्कृतिक अनुष्ठानको स्वरूप दिएको थियो । 

Forests, fields and ponds are theaters

‘विश्वव्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी’ नारासहित नाट्य गतिविधि गर्दै आएको चुलाचुली थिएटरले पाठशाला नाट्य महोत्सवलाई जंगलमा आयोजना गर्न थालेको भने दोस्रो संस्करणदेखि हो । द्वन्द्वग्रस्त समयमा खाली भएको वन कार्यालयको भवनलाई कार्यालय र अभ्यासस्थल बनाएर काम गरिरहेको चुलाचुली थिएटरका सदस्यहरूलाई नाटक देखाउने उपयुक्त मञ्च नहुनुको पीडाले लामो समयसम्मै अल्मल्यायो । 

खाटले बनाएको मञ्चमा तन्ना टाँगेर पर्दा बनाई गरिने नाटक हुँदै ‘ब्ल्याक बक्स’ भनिने आधुनिक नाट्यमञ्चका प्रयोगहरू समेत गरिसकेको चुलाचुली थिएटरले स्रोतसाधनका अभावका कारण ‘ब्ल्याक बक्स’ बनाउँदा खपेका चुनौतीहरूको सूची लामै छ । ‘त्यही चुनौतीबीच सम्भावनाहरूको खोजी गर्दै जाँदा प्रकृतिमा नाटक लैजाने उपाय आएको हो’, महोत्सवका संयोजक चेतन आङथुपो भन्छन् ।

भारतको आसाम राज्यस्थित गोलपारामा आयोजना हुने गरेको ‘अन्डर द साल ट्री’ नामक नाट्य महोत्सवबाट प्रेरित भएर पाठशाला नाट्य महोत्सवलाई जंगलमा आयोजना गरिएको बताउने चेतन कार्यक्रमलाई मौलिक बनाउन स्थानीय संस्कृति र पर्यावरणको विषय जोडेको बताउँछन् ।

‘विद्यार्थीहरूले माटो छुन पाउन् र त्यही माटो छुँदै गर्दा पर्यावरणीय समस्याका बारेमा सचेत हुन् भनेर महोत्सवलाई खेत र जंगलमा लगिएको हो,’ आङ्थुपो भन्छन्, ‘माटो चिन्नु भनेको आफ्नो संस्कृति चिन्नु हो । विद्यार्थीले माटोलाई माया गर्न सिके भने आफ्नो संस्कृतिलाई पनि माया गर्छन् । विद्यार्थीका माध्यमबाट परिवार र समाजमा सकारात्मक सन्देश पुर्‍याउन सजिलो पनि हुन्छ ।’ 

चेतनले भनेजस्तै महोत्सवमा फरक विद्यालयबाट आएका विद्यार्थीहरूले आफैं लेखन, निर्देशन र अभिनय गरेर पर्यावरण बचाउन किन महत्त्वपूर्ण छ भन्ने विषयमा नाटक गरिरहँदा हेर्न उपस्थित अभिभावक, शिक्षक, जनप्रतिनिधि तथा कर्मचारीहरू सोचमग्न देखिन्थे । शिक्षामा सिर्जनशीलताले पार्न सक्ने प्रभावबारे छलफल गर्न आयोजित प्यानल डिस्कसनमा स्थानीय शिक्षाकर्मी तथा जनप्रतिनिधि कर्मचारी सबैले नाटकमार्फत आएका शैली र सन्देशको प्रशंसा गरे ।

छलफलको दायरा तन्किएर शिक्षामा डिजिटल प्रभाव हुँदै पठन संस्कृतिको विकाससम्म पुग्यो । स्थानीय सामुदायिक विद्यालयका प्रधानाध्यापक रुद्र प्रभातले समाज रूपान्तरणमा विद्यार्थीहरूले खेल्न सक्ने भूमिकाबारे बुझेरै आफूले विद्यार्थीहरूलाई नाटकजस्ता गतिविधिमा संलग्न गराउँदा स्थानीय प्रशासन र अभिभावकहरूले साथ नदिएको गुनासो समेत गर्न भ्याए । दोस्रो दिन आयोजित रंगकर्मीहरू सम्मिलित प्यानल डिस्कसनमा नेपाली रंगमञ्चको सौन्दर्यशास्त्र खोज्नेदेखि रंगमञ्च शिक्षासम्मका कुरा भएका थिए ।

अहिले पूर्वमा चलिरहेको मुक्कुमलुङको आन्दोलन प्रसंगबाट सुरु भएको दोस्रो दिनको प्यानल डिस्कसनमा विकासको नाममा पर्यावरण र संस्कृतिलाई असर पुर्‍याउने कार्यहरू भइरहेकोमा रंगमञ्चबाट त्यसको प्रतिरोध गरिनुपर्ने आवाज पनि उठ्यो । उसो त काठमाडौंमा ‘मुक्कुमलुङ’ शीर्षकमा नाटक नै बनाएर चुलाचुली पुगेका निर्देशक अनिल सुब्बाले रंगमञ्चबाट गरिएको प्रतिरोधले नपुगे कलाकारहरू मैदानमै जान सक्ने पनि संकेत गरे । 

दुई दिवसीय महोत्सवमा चुलाचुली र वरपरका विद्यालयहरूबाट आएका विद्यार्थीबाहेक स्थानीय समुदाय, र छिमेकी जिल्लाहरूबाट आएका कलाप्रेमीहरूको उल्लेख्य उपस्थिति थियो । रैथाने संस्कृति झल्किने गरी निर्माण गरिएको महोत्सवको वातावरणलाई महोत्सवमा प्रयोग गरिएका स्थानीय सामग्रीहरूले रोचक बनाएको थियो । ग्रामीण भेगमा लाग्ने मेलाको झल्को दिने गरी खोलिएका साना टुकुरे खाजा तथा मिठाई पसलदेखि लिएर महोत्सव स्थलमा सजावटका लागि प्रयोग गरिएका बाँस, काठ, पाटाको डोरी, माटो, स्याउलाजस्ता स्थानीय उत्पादन र सामग्रीहरूको सिर्जनात्मक प्रयोग देखिन्थ्यो । 

Forests, fields and ponds are theaters

महोत्सवमा अतिथिहरूलाई पहिर्‍याइएको माला विशेष प्रकारको थियो । पूर्वका विभिन्न समुदायका महिलाहरूले लगाउने नौगेडीको डिजाइनमा मकैको खोस्टा र खोया, सिमलको गुदी, टोटलाको पातजस्ता सामग्रीहरू प्रयोग गरेर बनाइएको मालाले यति चर्चा पायो, दमकका एक राजनीतिकर्मीले आफ्नो कार्यक्रममा खादाको सट्टा यही माला प्रयोग गर्ने निधो गरे ।

आयोजकको अनुरोधमा स्थानीय एक महिलाले माला बनाएकी थिइन् । ‘हामीले गरेको कार्यक्रमले ठूलै प्रभाव पार्न त सक्ला/नसक्ला, तर यसरी स्थानीय समुदायको सीप र व्यवसायसँग समेत जोड्न पाउनु भनेको राम्रो पक्ष हो जस्तो लाग्छ’, महोत्सवका संयोजक चेतन आङ्थुपो सन्तुष्ट सुनिँदै गर्दा बेलबारीका रंगकर्मी विकास बुढाथोकीले सुझाव दिन भ्याइहाले, ‘यति भएपछि अर्को पटकको महोत्सवमा मायाको चिनो पनि स्थानीय सामग्रीबाटै बनाउनुपर्छ ।’ रंगकर्मीहरूको अथाह ऊर्जा र सिर्जनात्मक क्षमताका बाबजुद सीमित स्रोतसाधन र बजेटका कारण मायाको चिनो र पानीका बोतलमा प्लाष्टिकलाई विस्थापन गर्न नसकिएको देखिन्थ्यो । 

आयोजकले चुलाचुली गाउँपालिका र प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट थोरै रकम अनुदान लिएर सम्पन्न गरेको महोत्सवको अर्को प्रशंसनीय पक्ष थियो– स्थानीय संघसंस्था र सरोकारवालाहरूसँग गरेको सहकार्य । इलामकै चेतना थिएटर हुँदै छिमेकी जिल्लाको कदम थिएटरदेखि काठमाडौंमा ‘मुक्कुमलुङ’ नाटक मञ्चन गरिरहेको एक थिएटर नेपालसम्मको सहकार्यमा आयोजना गरिएको महोत्सवमा करिब डेढ दर्जन स्थानीय संघसंस्था र मिडियासँग साझेदारी गरिएको थियो ।

‘हामी त ढुक्कै यतै छौं’, कदम थिएटर दमकका निर्देशक सिजन दाहालले महोत्सवमा अरू हिसाबले सघाउन नसके पनि जनशक्ति र स्रोतसाधनका माध्यमबाट सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै भने, ‘यो चुलाचुलीको र पूर्वको मात्रै कार्यक्रम होइन, समग्र नेपाली रंगमञ्चले गर्व गर्न सक्ने कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौं ।’

समग्रमा तेस्रो चुलाचुली पाठशाला नाट्य महोत्सव केवल रंगमञ्चको होइन शिक्षा, पर्यावरण, समाज र राजनीतिसम्मको भूगोललाई छोएर सम्पन्न भयो । चुलाचुली थिएटरले आयोजना गरेको पर्यावरण र रंगमञ्चको यो एउटा ‘सानो’ सहकार्यलाई सुरुवात मान्ने हो भने विक्रम संवत्को यो वर्ष फेरिनै लाग्दा नेपालमा केही महत्त्वपूर्ण अन्तर्राष्ट्रिय नाट्य महोत्सवहरू हुने तयारी हुँदै छ । मूलतः काठमाडौंकेन्द्रित यी नाट्य महोत्सवहरूमा यसै साता सुरु हुन लागेको नेपाल–भारत रंग महोत्सवदेखि चैतको पहिलो हप्ता सुरु हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवसम्म रहेका छन् ।

Forests, fields and ponds are theaters

नेपाली नाटकमा सामाजिक, राजनीतिक मुद्दाहरूमाथिको कलात्मक बहस नौलो विषय रहेन । बहसको सतह कस्तो रह्यो भन्ने अलग्गै कुरा हो, तर ‘नाटक मनोरञ्जन मात्रै होइन’ भन्ने चेत रंगमञ्चमा आकर्षित नयाँ पुस्ताका कलाकार र दर्शक दुवैमा बढिरहेको महसुस गर्न सकिन्छ । काठमाडौंमा चलिरहेका व्यावसायिक धारका नाटक मञ्चनबाहेक पनि देशैभरि भइरहेका यस्ता नाट्य गतिविधि हेर्ने हो भने दर्शक–कलाकार दुवैमा रंगमञ्चीय कर्म र सामाजिक रूपान्तरणप्रतिको दायित्वबोध स्पष्ट देखिन्छ । 

वर्गीय शोषण, जातीय तथा लैंगिक विभेद, भ्रष्टाचार र नागरिक स्वतन्त्रताजस्ता सामाजिक–राजनीतिक मुद्दाहरू हुँदै अहिलेको समय आएर रंगमञ्च पर्यावरण र रैथाने संस्कृतिमा जोडिन थालेको छ । आशा गर्न सकिन्छ, नेपाली नाटक र रंगमञ्चले खोजेको यसको मौलिक पहिचान यतैकतै भेटिने नै छ ।

सोमनाथ

Link copied successfully