नयाँ जमानाको टिनएजर्स आख्यान

विभिन्न रूप धारण गरी प्रेमाचारमा लिप्त महादेव–पार्वतीको कथावर्णन पढेपछि लाग्छ– यो जोडी आजभोलिका कुनै रोमान्टिक सिनेमाका नायक–नायिका वा ‘कलेज बंक’ पछि पार्कतिर घुमिहिँड्ने टिनएजर्स हुन्

माघ २६, २०८१

सम्झना वाग्ले भट्टराई

A modern teenage narrative

काठमाडौँ — यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुन्वन्ति देव्यैः स्तवै र्वेदैः सा·पदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नमः ।।

मैले सम्झेदेखि नै पौष शुक्लपूर्णिमादेखि माघ शुक्लपूर्णिमासम्म घरमा यी श्लोकहरू वाचन गरिन्थ्यो । परिवारको एकजनाले पाठ गर्ने र बाँकी सबैजना हातमा फूल–अक्षता लिएर, नमस्कार गर्दै, शान्तसँग बस्थ्यौं । कथा वाचन कसले गर्ने भन्नेमा कहिलेकाहीं अलिअलि द्वन्द्व पनि पर्थ्यो । तर, ती दिनहरू रमाइला लाग्थे । स्वस्थानी पढ्ने दिनहरूमा अरू किताब नपढे पनि आमा–बाले केही भन्नु हुन्थेन । अर्को कुरा, श्रीस्वस्थानी व्रतकथा सुरु भएपछि नैवेद्यका लागि भनेर घरमा पुवा, सेल जस्ता परिकारहरू पनि बन्थे । खुसी हुन अरू के चाहियो र ? 

स्वस्थानी कथा वाचन–श्रवण हाम्रो घरलगायत छिमेकीको पनि वार्षिक नियमितता थियो । स्वस्थानीको माहौल यस्तो थियो कि हरेक दिन कथाको सुरु र अन्त्यमा वाचन गरिने श्लोकहरू घरका सदस्यलाई कण्ठै थियो । मेरा निरक्षर आमा, ठूलीआमाहरू यसमा अझ अगाडि हुनुहुन्थ्यो । उहाँहरूलाई पुस्तकका अधिकांश अंशहरू मुखाग्र थिए । यसरी हाम्रो घर–छिमेकमा स्वस्थानी छुटाउन नहुने पर्वका रूपमा स्थापित भइसकेको थियो । कुनै वर्ष कारणवश घरमा स्वस्थानी वाचन भएन भने नियाँस्रो लाग्ने भइसकेको थियो । 

उमेर, अनुभव र अध्ययनसँगै व्रत र कथाका विभिन्न पक्ष र प्रसंगबारे प्रश्नहरू उठ्न थाले । कति प्रश्न मनमा भए पनि सोधिएन, कति प्रश्न सोधेर पनि अनुत्तरित रहे । 

के स्वस्थानी पारिवारिक कथा हो ?

माथि नै उल्लेख गरें, घरमा एकजनाले पढ्ने र बाँकीले सुन्ने गर्थ्यौं । पुस्तकमा पनि यो पारिवारिक कथा भएको उल्लेख छ– श्रीस्वस्थानीको पूजा गरी कथा सुन्नु, सुनाउनु । कथा सुन्ने कोही नभए आफैं भन्नु, आफैं सुन्नु । आफ्ना खाट, उइँटा धनुलाई सुनाए पनि हुन्छ । 

तर, प्रचलित स्वस्थानी कथाका केही प्रसङ्गहरू पढ्दा त्यस्तो लाग्दैन, कम से कम हाम्रो समाजमा । जस्तै : सतीदेवीको मृत्युपछि महादेव बौलाहा जस्ता भई यताउता घुमिहिँड्दा ऋषिपत्नीहरूले देख्छन् । पतिहरू दुर्बल भएका र कामभोगमा सन्तुष्टि दिन नसक्ने भन्दै ऋषिपत्नीहरू महादेवका पछि लाग्छन् । कल्पना गर्नुस् : तपाईं परिवार (आमा–बुबा, काका–काकी, भाइ–बहिनी, दाइ–भाउजू वा छोराछोरी आदि) साथमा बसेर कथा पढ्दै वा सुन्दै हुनुहुन्छ । यौनमा अतृप्त महिलाहरूको एक झुन्ड कसैको लिङ्ग देखेर उसको पछि लाग्दै गरेको परिदृश्य पढ्ने/सुन्नेको मनमा आउँदा कस्तो महसुस होला है ? अझ कथा श्रोतामध्येको कुनै बच्चाले ‘के भनेको भनेर सोध्यो रे’ भने तपाईंको उत्तर के हुन्छ ? 

ठीक यस्तै परेको छ मलाई र पारेको छु मैले पनि । 

त्रिपुरदाह उपाख्यानमा त्रिपुरको सुन्दरताको वर्णन गर्ने क्रममा लेखिएको छ– ‘.....पुरुषका नङ लाग्नाले पयोधरका गोलाकार घेरामा अर्धचन्द्राकार घाउ लागेका कलशजस्तै उतुङ्ग कुच भएका, मदिराले राता–राता आँखा भएका, लाजले मुसुक्क हास्य गर्ने, लोलिएका नेत्र भएका यस्ता अनिन्द्य सुन्दरीहरूले व्याप्त भएको त्यो त्रिपुर .... ।’

म पढ्दै थिएँ । सुन्दै गरेको तेह्र वर्षको छोरा भन्छ– ‘कस्तो अप्ठ्यारो, मैले त केही पनि बुझिनँ ।’ 

‘पुरुषको नङले अर्धचन्द्राकार आकारमा कोतरिएका, कलश जस्तै ठडिएका स्तन भएका युवतीहरू ......’ म सरल शब्दमा यसो भन्न सक्दिनँ । र, भन्छु– त्रिपुरको भव्यताको वर्णन गरेको बाबु । त्रिपुर असाध्यै सुन्दर थियो भनेको के ।

अनि पयोधर भनेको ? अनि उतुङ्ग, कुच के के ? – छोरा सोध्छ । 

पयोधर र कुच भनेको केटी मान्छेको स्तन र उतुङ्ग भनेको ठडिएको – म भन्छु ।

छोरो हाँस्न थाल्छ । 

किन हाँसेको ? ‘स्तन’ सुन्दैमा हाँस्नुपर्छ ?– म झर्कन्छु । किशोरावयमा भर्खर प्रवेश गरेको छोराको मनमा कस्ता कुरा आउन थाले भन्ने अनुमान लगाउँछु । 

तर, छोरा उसको बाबासँग ‘हिन्दी फिल्म थ्री–इडियट’ भन्दै हाँस्न थाल्छ । 

ओहो ! म स्वस्थानी कथाको माथि उल्लिखित वाक्य छोरालाई कसरी बुझाउने भनेर आत्तिएको हुन्छु । ऊ हिन्दी फिल्म थ्री–इडियटको ‘हिरो (?) ले बिगारिदिएको भाषणका संवादहरू’ सम्झँदै स्वस्थानी प्रसङ्गसँग तुलना गर्छ । 

दिमाग भुट्ने पात्र–प्रसङ्गहरू यत्रतत्र छन्, कताकता सम्हाल्ने हो– म रनभुल्ल पर्छु । 

अर्को प्रसङ्ग, महादेव–पार्वतीको बिहेपछि उनीहरू यौनमा यसरी लिप्त हुन्छन् कि तिनले संसारै भुल्छन्, सायद जिम्मेवारी भुल्छन् । महादेवबिना ब्रह्माण्डको रक्षा कसरी गर्ने भन्ने चिन्ता लाग्छ अन्य देवतालाई । जिम्मेवारी भुलेका महादेवलाई बाहिर ल्याउने जिम्मा अग्निलाई दिइन्छ । अनि अग्नि जान्छन् महादेव–पार्वतीको एकान्त बिथोल्न । 

आफ्नो एकान्त बिथोल्न आएका अग्नि देखि महादेव रिसाउँछन् । अनि उनले अग्निलाई वीर्य दिएको, अग्निले त्यो वीर्य खाएको र त्यसपछि अग्नि (पुरुष) को गर्भ रहन गएको, पछि अग्निले ओकलेको र त्यहाँ आगो बलेको तथा ऋषिपत्नीहरू आगो ताप्न जाँदा गर्भिणी भएको जस्ता कुरा उल्लेख छ । जब यो प्रसङ्ग आउँछ, म झन्डै तीस वर्षअघिको घटना सम्झन्छु । स्वस्थानी साङ्गेको दिन थियो । हाम्रो घर तथा ठूलोबुबाका घरका सबै सदस्य जम्मा भएर कथा वाचन गर्दै हुनुहुन्थ्यो । भर्खर उल्लेख गरेको प्रसङ्ग आयो । मैले ठूलो स्वरले ‘महादेवले के दिनुभएको ? वीर्य भनेको के हो ? त्यहाँ किन आगो बलेको ?’ जस्ता प्रश्नहरू सोधेकी थिएँ । 

म त्यतिखेर आमा, ठूलीआमाहरूको लाजले रातो भएको अनुहार तथा ‘बच्चामै कस्ती उत्ताउली’ भनेर गाली खाएको पनि सम्झिन्छु । 

सात/आठ वर्षकी मैले ती कुरा नबुझेर नै सोधेकी थिएँ । 

कथामा यस्ता अरू प्रसङ्गहरू पनि छन् । के तपाईंलाई लाग्छ प्रचलित स्वस्थानी पारिवारिक कथा हो ? 

के स्वस्थानी व्रत कथाले नैतिक शिक्षा दिन्छ ? 

त्यसो त नैतिकता भन्ने कुरा सापेक्ष हुँदैन । हाम्रो समाजमा भनिने र मानिएको ‘नैतिक चरित्र’ निर्माणमा पनि स्वस्थानी कथाले योगदान पुर्‍याउँछ भन्ने मलाई लाग्दैन । मेरो लेखन र बहिर्मुखी चरित्रसँग असहमति राख्ने केही आफन्त तथा साथीहरू मैले पूर्वीय धर्मशास्त्र नपढेर वा नबुझेर ‘बिग्रिएकी’ आरोप लगाउँछन् । त्यसो भन्ने कतिपय स्वस्थानी कथाकी चन्द्रवतीको उदाहरण पनि दिन्छन् । 

त्यसो त स्वस्थानी कथामा चन्द्रावतीको कथामात्र छैन । छोरी सतीदेवीको विवाह महादेवसँग गरिदिन दक्षप्रजापति इन्कार गर्छन् । तर, विष्णुले छल गरी सतीदेवीको विवाह महादेवसँग गराइदिन्छन् । यस प्रसङ्गले कस्तो नैतिकता सिकाउँछ र ? त्यस्तै, पार्वतीसँग समागमको इच्छा राखी महादेवको रूपधारण गरी जाने जालन्धर होस् वा जालन्धर–पत्नी वृन्दालाई छल गरी उनीसँग यौनसम्बन्ध राख्ने ‘भगवान् विष्णु’ चरित्रका हिसाबले फरक लाग्दैनन् । यसबाट कस्तो नैतिकता सिक्ने ? 

सामान्य आँखाले हेर्दा पनि एकपक्षीय छ कथा । परस्त्रीसँगको यौनेच्छाले सजायस्वरूप जालन्धर मारिन्छन् । तर, वृन्दासँगको समागमपश्चात् विष्णुले पाएको श्राप (?) ले उनको देवत्व झन् विस्तारित हुन्छ । उनी झारमा, घाँसमा, रुखमा र ढुंगामा समेत विस्तारित हुने अवसर पाउँछन् । 

गोमाका मातापिताको दान–दातव्यबाट डराएका इन्द्रको संरक्षण गर्न महादेवले अपनाएको तरिका वर्तमान नेपालको राजनीति जस्तै घृणित लाग्छ । आफ्ना कर्मले सम्पन्न भएका शिवभट्ट ब्राह्मण र सतीसँग ईर्ष्या गरी बदलामा उनीहरूकी बालिका छोरी गोमालाई सत्तरी वर्षका शिवशर्मासँग बिहे गराइदिने, गर्भवती अवस्थामा अलपत्र पारेर छाडी अनेकतरहका दु:ख दिने महादेव र यी सबकी साक्षी पार्वतीका व्यवहार कसरी अनुकरणीय लाग्छन् र ? 

त्यसैले त, नैतिक दृष्टान्त कवितामा कवि लेखनाथ पौड्याल लेख्छन्, ‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित ।’ 

पुरुषद्वारा पुरुषका लागि लेखिएको कथा

त्यसो त श्रीस्वस्थानी व्रतकथा महिलाका लागि लेखिएको जस्तो देखिन्छ । पार्वती व्रत बस्छिन्, उनले चाहेकी महादेव पति पाउँछिन् । गोमा व्रत बस्छिन्, कथा पाठ गर्छिन् उनका हराएका छोरा आउँछन्, पछि सुखभोग गर्छिन् । स्वस्थानी परमेश्वरीको बेवास्ता गरी दु:खको रसातलमा परेकी चन्द्रवतीलाई देवीले नै उद्धार गर्छिन् । नागिनीहरूले गरेका व्रतकै प्रभावले बिछोडिएका नागसँग मिलन हुन्छ । श्रीस्वस्थानी देवी भनिए पनि यो देवीको कथा लाग्दैन । निरञ्जन, निराकार देवीको अस्तित्व कथामा खासै भटिँदैन । बरु जतासुकै महादेव, विष्णु हावी छन् । 

लेखन पनि लैङ्गिक दृष्टिले सन्तुलित छैन । महादेव गोमाप्रति आशक्ति देखाउँछन् त्यो पनि पार्वतीसँग सल्लाहै गरेर । जालन्धर पार्वतीसँग आशक्ति देखाउँछन् वृन्दासँग सल्लाह गरेर । कल्पना गर्नुस्, पार्वतीले परपुरुषसँग समागमको इच्छा देखाएको भए के हुन्थ्यो होला ? झुक्किएरै सही वृन्दाले विष्णुसँग समागम गरेपछि के भयो ? अर्कोतर्फ, आगो तापेर गर्भिणी भएका ऋषिपत्नीहरू (कथा यस्तै भन्छ) श्रापित हुन अभिशप्त छन् । 

कहिलेकाहीं कथा रचयिताको मनोदशा पनि विक्षिप्त लाग्छ । जस्तै : सतीदेवी जन्मिँदा उनको सुन्दरताको वर्णन गरिएको छ । कस्ती कन्या भने– हजार सूर्यको जस्तो नेत्र भएकी, कदलिस्तम्भजस्तो तिघ्रा भएकी सुन्दरी । भर्खर जन्मिएकी बालिकाको पनि यसरी वर्णन गर्ने लेखकको मनमा के होला ? वा सात वर्षकी बालिकासँग विवाह गर्न आशक्त शिवशर्माको परिकल्पना गर्ने लेखकको नारीप्रतिको दृष्टिकोण कस्तो होला ? 

कथाको माध्यमबाट पुरुष लेखक भन्छन्, ‘पुरुष भएसम्म नारीले कुनै तीर्थ, व्रत, दान, धर्म गर्नु पर्दैन । नारी जातिका निम्ति सम्पूर्ण तीर्थ, व्रत, दान, धर्म उसका पुरुष नै हुन्छन् । नारीले आफ्नो पुरुषलाई रिसाएर हेरे डेरी हुन्छे, पतिसित द्रोह गरे गोही हुन्छे, पुरुषको वचन नमाने पापिनी हुन्छे र लोग्नेदेखि लुकाएर खाए कुकुर्नी हुन्छे ।’ विज्ञान प्रविधिले दीक्षित हुँदै गएको ‘जीएनजी’ पुस्ताले यस्तो सुन्दा कस्तो प्रतिक्रिया देला है ?

स्वस्थानी कथाका सकारात्मक पक्ष

कथाका कतिपय प्रसङ्ग शिक्षाप्रद छन् । ब्रह्माण्डको उत्पत्तिदेखिका विषय जानकारीमूलक छन् । वर्षौंको तपस्याले प्राप्त भएका वीरता र वैभवको विषयले मिहिनेत गर्न र दु:खमा नआत्तिन सिकाएको छ । घरमा स्वस्थानी पढ्दिने पनि कोही भएन भनेर छोरीलाई स्कुल पठाएको परिवार पनि 

म सम्झन्छु । स्वस्थानी पढ्ने बहानाकै लागि भए पनि धेरै छोरी साक्षर बनेको मलाई थाहा छ । कथामा कतिपय रमाइला प्रसङ्गहरू पनि छन् । 

‘भ्यालेन्टाइन्स् डे’ को उखरमाउलो सुरु हुनै लाग्दा लेखिरहेको छु– श्रीस्वस्थानी व्रतकथाबारे । तत्कालीन समय अनुसारको मौलिक प्रेमकथा नै हो यो । स्वस्थानी व्रत बसेमा ‘आफूले चाहेको पति पाइन्छ, छुटेका पतिपत्नी र परिवारका सदस्यको मिलन हुन्छ’ भनिएको छ । त्यस्तै, कथामा 

प्रस्तुत गरिएका महादेव, चरित्रले समर्पित र बहुलट्ठी प्रेमी लाग्छन् । श्रीमान्प्रति गरिएको अपमान सहन नसकेर आत्मदाह गर्ने सतीदेवी, सतीदेवीको मृत देह बोकेर यत्रतत्र भौंतारिने महादेव ! यी प्रेमिल जोडी स्वप्निल लाग्छन् कताकता । 

पछि पार्वतीसँग बिहे हुन्छ महादेवको । विभिन्न रूप धारण गरेर प्रेमाचारमा लिप्त महादेव–पार्वतीको वर्णनले यो जोडी आजभोलिका कुनै रोमान्टिक सिनेमाका नायक–नायिका वा ‘कलेज बंक’ गरेर पार्कतिर घुमिहिँड्ने ‘टिनएजर्स’ जस्तै लाग्छन् । 

त्यस्तै, अतृप्त यौनेच्छाका कारण लिङ्ग देखेर महादेवको पछि लागेका ऋषिपत्नीहरू, यसबाट क्षुब्ध ऋषिहरू र यी सबबाट बेखबर र श्रापित हुन अभिशप्त महादेव कति निर्दोष लाग्छन् । तर, कथाका कतिपय प्रसंगमा बहुत क्रूर र निष्ठुर लाग्छन् महादेव । यी प्रसङ्ग माथि उल्लेख गरिसकेकी छु । 

र अन्त्यमा, कथामा उल्लिखित विविध विरोधाभासका बाबजुद स्वस्थानी व्रत झनै विस्तारित भएझैं लाग्छ । सालीनदीमा लाग्ने व्रतालुहरूको भीडले कमसेकम यो देखाउँछ । भनिन्छ, स्वस्थानी कथामा प्रचलित कतिपय प्रसङ्ग पटक–पटक गरी पछिल्लो दुई सय वर्षमा थपिएका हुन् । समय अनुसारको परिमार्जन स्वाभाविक पनि हो । त्यसैले कथालाई समयानुकूल परिवर्तन गरी यसमा भएका लैङ्गिक विभेद र देवताहरूको आसुरीय व्यवहारलाई निमिट्यान्न पारौं, प्रेमका कथाहरूलाई अलि फराकिलो बनाऔं । यस्तो गर्ने हो भने आयातित 

‘भ्यालेन्टाइन्स्’ सप्ताहलाई मौलिक ‘प्रेम मास (महिना)’ ले विस्थापन पो गर्छ कि ! 

लोकगायक राजु परियारको यो गीत सम्झिरहेछु— 

संसारको चक्र यसै पनि घुमिरहन्छ 

महाभारत या पढ गीता

यै हो जीवन रमितै रमिता ।

सम्झना वाग्ले भट्टराई काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्ने समाजशास्त्री भट्टराई लैङ्गिक तथा सामाजिक समावेशिता विषयको अध्येता हुन ।

Link copied successfully