जेनजी भन्छन्– हामीकहाँ सबै कुरा तहसनहस बनाएकै राजनीतिले हो, खराब राजनीतिले राज्यको हरेक संयन्त्रलाई भ्रष्ट बनाएको छ, त्यसैले देशमा युवा बस्नै मान्दैनन्
यसपालिको अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदान गर्न योग्य व्यक्तिको संख्यामा सर्वाधिक हिस्सा थियो– सन् १९९७ देखि २०१२ सम्म जन्मिएकाहरूको । जेनेरेसन जेड अर्थात् जेनजी भनिने यो पुस्ता के उत्साहसाथ मतदानमा सहभागी होलान् ?
अमेरिकास्थित मोन्टक्लेयर स्टेट युनिभर्सिटीका प्राध्यापक गेब्रियल रुबिनले यसबारे गरेको खोजको नतिजा त्यति सन्तोषजनक थिएन । अर्थात्यो पुस्ताले राजनीतिमा उस्तो चासो राखेको पाइएन । किनभने राजनीति प्रणालीसँग उनीहरू उदासीन थिए र यसमा उनीहरूको मोहभंग भएको थियो ।
नेपालको सन्दर्भमा यो कुरा अझ चर्को हुन सक्छ । अनुजा कुमारी राम (१९) भन्छिन्, ‘राजनीति भन्नासाथ टाउको दुख्न थाल्छ । किनभने हामीकहाँ सबै कुरा तहसनहस बनाएकै राजनीतिले हो,’ अनुजा नेपाल ल क्याम्पसमा स्नातक तहमा पढ्दै छिन् । जेनजीको प्रतिनिधि उनी के पनि भन्छिन् भने, ‘खराब राजनीतिले राज्यको हरेक संयन्त्रलाई भ्रष्ट बनाइदिएको छ । त्यसैले त यहाँ युवाहरू बस्नै मान्दैनन् ।’
दिनहुँजसो ३५ सय हाराहारी युवा पढाइ र रोजगार खोज्दै विदेशिने गरेका छन् । यसरी घरसँग दूरी बढाउनुमा उनीहरू रहरभन्दा बढी बाध्यता भएको बताउने गर्छन् । यो बाध्यताको पछाडि खराब राजनीति नै मूल जड हो भन्ने उनीहरूको बुझाइ छ । अनुजा थप्छिन्, ‘नेपोटिज्म र फेवरेटिज्मले पार्टीको आन्तरिक संरचना नै ध्वस्त बनाएको छ । त्यस्ता पार्टीले कस्तो नेता जन्माउँछ ? त्यस्ता नेताले कसरी देश चलाउँछ ?’ वर्तमान राजनीतिप्रति वितृष्ण मात्र होइन, नेताहरूप्रति कत्ति पनि भरोसा नभएको उनी बताउँछिन् ।
चुनावताका मीठो भाषण गर्ने, घर–आँगन चाहर्दै अनेक आश्वासन बाँढ्ने नेताहरू नेतृत्वमा पुगेपछि सत्ताको भोगचलनमा लिप्त हुने गरेको बताउँछन् किङ्स कलेजमा पढिरहेका सुजल हुमागार्इं (१९) । नेताजस्तो नेता नहुनु
नै आफ्नो मुलुकका लागि दुर्भाग्य भएको उनको बुझाइ छ । सुजल भन्छन्, ‘यस्तो कुनै नेता छैन जसको नाम लिनासाथ हामीमा श्रद्धाभाव पैदा होस् ।’
यो पुस्ता नेताको झूटो आश्वासनलाई आँखा चिम्लेर विश्वास गर्ने खालका छैनन् । त्यसैले कुनै राजनीतिक दल वा नेताप्रति उनीहरूको लगाव त्यस्तो छैन, जस्तो अघिल्लो पुस्ताको थियो ।
मिलेनियल्स भनिने यसअघिका पुस्ता चाहेर पनि राजनीतिबाट अलग रहन सकेनन् । राजतन्त्रदेखि गणतन्त्रसम्म झेलेका उनीहरूले यस अवधिमा अनेकौं राजनीतिक उथलपुथलको साक्षी बन्नुपर्यो । यसैले उनीहरूले धेरैजसो समय राजनीतिक चासो र चर्चामा गुजारे ।
जबकि जेनजी राजनीतिभन्दा बढी इन्टरनेटमा झुम्मिए । यसले उनीहरूलाई विश्वसँग एकाकार मात्र गराएन, कुनै पनि विषयमा तटस्थ र वैज्ञानिक दृष्टिकोण राख्न पनि सक्षम भए । देश कसरी बन्छ ? नेता कस्तो हुनुपर्छ ? शासन व्यवस्था कस्तो हुनुपर्छ ? जस्ता विषयहरूमा उनीहरू प्रस्ट छन् । त्यसैले अहिलेका राजनीतिक व्यवहार, नेताहरूको आचरणबाट उनीहरू त्यति सन्तुष्ट र ढुक्क छैनन् ।
जेनजी पुस्ताकै अनुप्राश पोखरेललाई राजनीतिमा रुचि त छ, तर न वर्तमान राजनीति मनपर्छ, न नेता । ‘एक त नेता साँच्चैका नेता भइदिएनन् । उनीहरू राज्यप्रति समर्पित र उत्तरदायी छैनन् ।’ २५ भन्दा बढी पार्टी मिलेर सरकार बनाउने, आलोपालो मन्त्री बन्ने, सत्ता परिवर्तन भइरहने परिपाटी छ । यसले राजनीति प्रणाली नै भ्रष्ट मात्र हुँदै गएको छैन राजनीतिप्रति नयाँ पुस्ताको मनोविज्ञान नै खराब बन्दै गएको उनको टिप्पणी छ ।
‘मेरो पारिवारिक पृष्ठभूमि राजनीति हो । त्यसैले विद्यालय तहबाटै राजनीतिमा रुचि राख्न थालें,’ १८ वर्षीय अनुप्राश भन्छन्, ‘तर, आजको दिनसम्म आइपुग्दा म राजनीतिमा कहिल्यै सन्तुष्ट भइनँ ।’ जब–जब राजनीतिको कुरा आउँछ, नेताहरूको चर्चा हुन्छ, युवाहरूको रक्तचाप बढ्ने उनको अनुभव छ ।
देश र जनताका हितमा निःस्वार्थ काम गर्ने नेता नहुनु, मुलुकका हरेक संयन्त्रमा पार्टी र कार्यकर्ता हाबी हुनु, सत्ताका लागि चौबिसै घण्टा चलखेल भइरहनु जस्ता कारणले राजनीतिप्रतिको भाष्य नै कुरुप बन्दै गएको उनीहरूको टिप्पणी छ ।
सुजल भन्छन्, ‘नेपालमा कुनै नेता गतिला छैनन् । सबै लोभी र भ्रष्ट जस्ता देखिन्छन् । उनीहरूलाई देश र जनताप्रति कत्ति पनि जिम्मेवारीबोध छैन । केवल आफन्त, पार्टी र कार्यकर्ताका लागि मात्र नेता भएका छन् ।’
केएमसी कलेजमा पढिरहेकी १९ वर्षीया सभ्यता पौडेल चाहिँ फरक मत राख्छिन् । उनका अनुसार, राजनीतिप्रति जेनजी पुस्ताको बुझाइ नै गलत छ । ‘हाम्रो पुस्ताले राजनीतिलाई केवल सत्ता र शक्तिको खेल मात्र ठानेका छौं, यो धारणा पूर्ण रूपमा गलत हो,’ उनी भन्छिन्, ‘राजनीति भनेको नीति निर्माण र देशको समृद्धिका लागि प्रभावकारी शासन व्यवस्थाको प्रक्रिया हो भन्ने कुरा बुझ्नुपर्यो ।’
नयाँ पुस्ता वा स्वतन्त्र उम्मेदवारका कारण राजनीतिमा केही आशा जागेको बताउँछन्, अनुप्राश । ‘पुराना पार्टी, पुराना नेताहरू सबै उस्तै छन् । उनीहरूले अबको युग अनुसार मुलुकलाई हाँक्न सक्दैनन्,’ उनी भन्छन्, ‘त्यसैले उनीहरूको विकल्पमा आएका स्वतन्त्र उम्मेदवारप्रति जनविश्वास बढेको छ ।’ पार्टी प्रणालीले आशाभन्दा निराशा बनाइदिएकाले स्वतन्त्र उम्मेदवारहरूमा बढी भरोसा भएको उनी बताउँछन् ।
सुजलको विचारमा नेपालको राजनीतिमा युवा पुस्ताको उपस्थिति अपरिहार्य छ । ‘नयाँ पुस्तामा जोस, जाँगर र छुट्टै किसिमको प्रेरणा हुन्छ,’ उनी भन्छन्, ‘पुरानो पुस्ताका नेताहरू अनुभवका नाममा मात्र टिकेका छन्, तर कार्यान्वयन गर्न भने असफल भएका छन् ।’
