रूसी गीतमा रानी रत्न 

सन् १९५८ मा राजा महेन्द्र र रानी रत्न रुस भ्रमणमा थिए । त्यस भ्रमणपछि रुसमा एउटा गीत रचना गरियो । ६७ वर्षअघि लेखिएको ‘कारालेभा नेपाला’ शीर्षक त्यो गीतमा रानीको पातलो–सुरिलो शरीर र उज्यालो अनुहारको वर्णन गरिएको छ । रुसमा अहिले पनि त्यो गीत गुन्गुनाइन्छ ।

माघ १९, २०८१

मिलनराज तुलाधर

Queen Ratna in Russian song

रूसका लागि नेपाली राजदूत भएर २ वर्ष, १ महिना काम गरेपछि गत सेप्टेम्बरमा म नेपाल फर्केको छु । परराष्ट्र मामिला र कूटनीतिको क्षेत्रमा अध्ययन–अनुसन्धान गर्दै आएको मेरा लागि देशको प्रतिनिधित्व गर्नु एक अवसर थियो, त्यो बाहेक कूटनीतिक सम्बन्धको प्रत्यक्ष अनुभव र अभ्यास गर्ने मौका पनि ।

मुलुकको राजनीतिक व्यवस्था र नेतृत्व बदलिइरहन सक्छ । त्यसको बदलावले कुनै पनि मुलुकसँगको आपसी सम्बन्धका आयाम पनि फरक–फरक हुन सक्छन् । तर, कूटनीति राजनीतिबाट निर्देशित हुनुहुन्न । मुलुकसँगको सम्बन्धमा ‘सफ्ट’ कूटनीतिको झन् ठूलो महत्त्व हुन्छ । खासगरी विपन्न मुलुकका लागि सफ्ट डिप्लोमेसीको विशेष महत्त्व हुन्छ । 

म राजदूतका रूपमा धेरै कार्यक्रममा सहभागी भएँ । हाम्रै दूतावासमा विभिन्न गोष्ठी, सांस्कृतिक, वैचारिक आदानप्रदान कार्यक्रम आयोजित गरिए । राजनीतिकदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तारका लागि रुसका विभिन्न भौगोलिक क्षेत्रमा पुगेर प्रवर्द्धनात्मक काम गरियो । त्यसक्रममा नेपालको रुससँगको सांस्कृतिक सम्बन्धका धेरै आयाम बुझ्न र प्रत्यक्ष अनुभव गर्ने मौका पाएँ । 

यहाँ केही ऐतिहासिक प्रसंग जोड्न चाहन्छु । ‘सफ्ट कूटनीति’ को प्रभाव र महत्त्वबारे बुझाउन त्यसले सहयोग पुर्‍याउनेछ । 

तत्कालीन सोभियत संघमा राष्ट्रपति भोरोसिलोभ र प्रधानमन्त्री निकिता ख्रुर्स्चेव थिए । त्यही समय नेपाल र रुसबीच कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि १९५८ मा नेपालका तत्कालीन राष्ट्रप्रमुखका रूपमा रहेका राजा महेन्द्र र रानी रत्नलाई भ्रमणको निम्ता आयो । त्यसअघि जून १९५५ मा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले पहिलो रुस भ्रमण गरेका थिए भने चिनियाँ नेताले १९५० र १९५७ गरी दुई पटक रुस भ्रमण गरिसकेका थिए । तिनै दुई देशबीच रहेको नेपाललाई पनि १९५८ मा निम्तो आएको थियो । त्यसै अनुरूप त्यहाँ भव्य स्वागत भएको थियो । २८ दिन लामो भ्रमणका क्रममा कम्युनिस्ट पार्टीका महासचिव खुर्चेव र भोरोसिलोभले राजारानीसहितको प्रतिनिधिमण्डलसँग भेटेका थिए । त्यही भ्रमणपछि १९६० मा भेरोसिलोभ नेपाल पनि आएका थिए । 

रुसको एउटा के विशेषता थियो भने, उसले चीन र भारत दुवै देशसँग निकै राम्रो सम्बन्ध राखेको थियो । चीन र भारतबीच समस्या हुँदा पनि रुसले सम्बन्धलाई सन्तुलनमा राखेर अघि बढेको थियो । कम्युनिष्ट देश भएर पनि चीनसँगको सम्बन्धमा दरार आएको थियो । तर, भारतसँगको सम्बन्ध स्थिर र निकट रह्यो । कतिसम्म भने महेन्द्र भ्रमणको लगत्तैपछि ३ अक्टोबर १९५८ मा पेइचिङमा ख्रुश्चेभले माओलाई भनेका थिए, ‘नेपालले रुसी दूतावास खोल्न आग्रह गरेको थियो, तर नेहरूको मनसाय बुझी अहिलेलाई नखोल्न भनेको छु ।’ यसबाट तत्कालीन अवस्थामा नेपालले गरेको कूटनीतिक प्रयास र रुस–भारत परामर्श स्तरबारे बुझिन्छ ।

त्यतिबेला ‘इस्टर्न ब्लक’ का देशहरू रुसको पक्षमा थिए । त्यसैले ती देशलाई रुसले महत्त्व दिन्थ्यो । चीनलाई पनि धेरै सहयोग गर्‍यो । १९५० को दशकमा चीनलाई व्यापक रूपमा आर्थिक र प्राविधिक सहयोग गरेको थियो । त्यसपछि भारतलाई पनि भिलाई इस्पात मिललगायत सहयोग गर्‍यो ।

त्यही दौरान रुसले नेपाललाई सानो मुलुक भए पनि महत्त्व दिएको थियो । कतिपय सहयोग पनि नेपाललाई गर्‍यो । त्यसमा पनौती जलिविद्युत् आयोजना, कान्ति बाल अस्पताल, पथलैया–ढल्केबर रोड, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी तथा कृषि औजार कारखाना बनाउन सहयोग गरेको थियो । त्यसबेला जनकपुर चुरोट कारखानाले धेरै राजस्व बुझाउने गर्थ्यो र अरू परियोजनाले पनि देश विकासमा ठूलो भूमिका खेलेका थिए । 

अन्तर्राष्ट्रिय रूपमा पनि चर्चा पाएको उक्त भ्रमणपछि सोभियत संघमा अध्ययनका लागि नेपाली विद्यार्थीहरू जाने क्रम सुरु हुन थाल्यो । नेपालमा पहिलो पुस्ताका डाक्टर, इन्जिनियर, अर्थशास्त्री जस्ता प्राविधिक जनशक्ति तयार गर्न रुसको ठूलो योगदान रहेको छ । 

त्यो भ्रमणको चर्चाले रुसमा एउटा लोकगीत नै बनेको रहेछ । त्यो गीत अहिले पनि त्यहाँका मानिस गुनगुनाउने गर्दा रहेछन् । त्यो गीत सुरुमा कसले गायो र रचना गर्‍यो ? त्यो थाहा छैन । तर, अहिले पनि त्यो गीत त्यहाँ गाइँदो रहेछ । रुस भ्रमण गर्ने तत्कालीन रानी रत्न राज्यलक्ष्मीदेवी शाहको चर्चा त्यो गीतमा रहेको छ । तर, गीतमा चाहिँ ‘रानीलक्ष्मी’ र ‘नेपाल’ भन्ने शब्द भेटिन्छ । उनीहरूलाई बोल्दा जुन सजिलो लाग्यो त्यही शब्द बोलेको हुन सक्छ । बनाउँदा सजिलो लागेको शब्द टिपेर उनीहरूको भाषाको लवजमा मिल्ने खालको गीत बनाएको होला । 

‘कारालेभा नेपाला’ (नेपालकी रानी) नामको त्यो गीतमा रानीको पातलो, सुरिलो शरीर, उज्यालो अनुहार रहेछ भन्दै उनको सौन्दर्यमाथि आफ्नै ढंगको वर्णन गरिएको रहेछ । रुसी लोक कलाकारले गाएको गीतको परिवेश अनुसारको भावानुवाद यस्तो छ :

हे नानी ! हेर न हेर यस सुन्दरी नारीलाई हेर !

सल्लाभन्दा पातली छिन् उनी, नियाली हेर !

किन हो बिहे भने उनले महेन्द्र राजासँग नै गरिन् ?

हे नानी, उनैको भाखामा सुनाई देउ न उनलाई ! 

हाम्रो गीत सुनाई देउ न उनलाई !

पक्कै निको लाग्दो होला है नानी !

हातैको भाखैले भए नि सुनाई देउ 

हाम्रो स्यानो गीत !

यति जनी गर न नानी !

(गीतको एक अंश, भावानुवाद : धनञ्जय श्रेष्ठ) 

मलाई यस्तो गीत छ भनेर कसैले सुनायो । यस्तो गीत कुन क्षेत्रमा प्रचलित छ भनेर त सर्भे छैन, तर यो गीत ‘जेनरेसन टु जेनरेसन’ ट्रान्सफर भइरहेको रहेछ । मस्कोमा हाम्रो पारिवारिक मित्र तथा रुसी कवियत्री तात्याना चेग्लोभाले गीतको रेकर्डसमेत दिई थप जानकारी दिएका थिए भने अनुवादमा मित्र धनञ्जय श्रेष्ठले सहयोग गरेका थिए । त्यो गीत जीवन्त रहनु र अझै प्रचार भइराख्नु भनेको नेपालकै लागि निकै सुन्दर विषय हो । यो खासमा ‘सफ्ट डिप्लोमेसी’ को एउटा उदाहरण हो । 

कूटनीतिमा ‘सफ्ट डिप्लोमेसी’को महत्त्वपूर्ण भूमिका हुन्छ । ‘सफ्ट डिप्लोमेसी’को महत्त्व किन हुँदोरहेछ भने महाकवि देवकोटा दुई पटक रुस गई त्यहाँ आफ्ना चेलाचेली समेत बनाएका थिए, जसमध्ये एक जनाले नेपाली साहित्यमा पीएचडी नै गरेका छन् । अहिले सेन्टपिटर्सवर्गमा नेपाली भाषा पढाइ हुन्छ । बुद्धिज्मबारे त धेरै विश्वविद्यालयमा पढाइ भइरहेको छ । केहीले नेपालको लुम्बिनी विश्वविद्यालयसँग एमओयूसमेत गरेका छन् । राजनीति त उथलपुथल हुन्छ, तर सांस्कृतिक सम्बन्ध सधैं रहिरहन्छ । 

(रुसका लागि पूर्वराजदूत तुलाधरसँग दुर्गा खनालले गरेको कुराकानीमा आधारित) 

मिलनराज तुलाधर

Link copied successfully