कविता : गन्तव्य

माघ १९, २०८१

अभय श्रेष्ठ

Poetry: Destination
news-wrap-sec

व्यस्त सहरकोकुनै जुवाघर होइन म ।

म ढुङ्गाको देवता पनि होइन ।

आँखा, हात र हृदय

खुला राखी हिँड्ने 

साधारण मानिस हुँ म ।

म बेहिसाब प्रेम गर्छु

नदीझैं गतिशील 

मानिसहरुका सपनालाई ।

घृणाको गोली मेरो कञ्चट ताकेर 

हाँसिरहेको क्रूर समयमा

खमेय् जात्राको पशुझैं 

धूलोमा पछारिएर बिस्तारै उठिरहेछ प्रेम

र, म अविरल प्रेमको राजमार्गमा छु ।

news-wrap-sec

देउरालीमाथि आइरहने 

अर्को देउरालीको अथक यात्री हुँ म ।

म प्रेममय सपनाको लेनिन हुँ

एक क्रूर अत्याचारप्रति 

कुनै पनि मूल्यमा हुन सक्दिनँ उदार

म कालभैरवझैं महान् होइन

हाँसेरै जसले गरून् हत्यारालाई माफ

हाम्रो समयको सबभन्दा प्रेमिल, 

सबभन्दा कोमल 

र, सबभन्दा करूणाशील 

मानिसहरुमध्ये एक हुँ म 

निर्दोष मानिसहरुप्रति 

असीम प्रेम र करूणाको दसी

news-wrap-sec

यसभन्दा बढी अरु के हुन्छ ?

आँखाको कसिङ्गरझैं 

वर्णको पर्खालझैं 

त्याग्नैपर्ने कुरा

र, भत्काउनैपर्ने सम्बन्धहरु 

धेरै छन् यहाँ ।

मिथ्याचारझैं मिथ्या व्यवस्थामा 

निसासिन्छ स्वयं प्राणवायु 

पुग्नु छ मलाई नयाँ गन्तव्य ।

त्यस्तो अप्राप्य इच्छा 

केही छैन मसँग

बस ! एक प्रतिरोध 

हुँ म क्रूरताविरूद्ध 

आफ्नै जगमा उभिएको 

करूणा र प्रेमको बोधीवृक्ष हुँ ।

अभय श्रेष्ठ श्रेष्ठ साहित्यकार हुन् ।

Link copied successfully