मान्छेहरूले देख्दा म पुरुष थिएँ, तर मेरो आत्माले कहिल्यै स्विकारेन । जब ऐना हेर्थें– आफूलाई महिला पाउँथें । मभित्र अन्तरद्वन्द्वको आगो दन्किइरहेको थियो ।
कहिलेकाहीं सोच्दा–सोच्दै जिन्दगीमा विरक्त लागेर आउँछ । विगततिर फर्किहेर्छु, बालापन सुखमय थियो । ती दिन काटेर किशोरावस्थामा प्रवेश गर्दैगर्दा र ‘म’ भएर अहिले बाँच्न खोज्दा त्यो बीचबाटोको यात्रा साह्रै कठोर र कहालीलाग्दो लाग्छ ।
अगाडि हेरौं– थुप्रै चुनौती र संघर्ष छ, पछाडि फर्केर हेर्दा पनि त्यहाँ म चढेका चुनौतीका अजङ्गका पहाड देखिन्छन् ।
मैले आफैंलाई महिला भनिरहँदा परिवार, आफन्त, समाज र राष्ट्रले नै ‘तँ पुरुष होस’ भनिरहन्छ । म अझै महिला र पुरुषको दोसाँधमा फसिरहेकी छु । सपना र संघर्षबीच मेरो जीवन एक अजनबी बाटो जस्तो लाग्छ । समाजको मापदण्ड, पारिवारिक अपेक्षा र आफैंभित्रको आवाजसँगको अन्तरद्वन्द्वले जीवनलाई अनिश्चित र जटिल बनाइरहेको महसुस गरेकी छु ।
म ट्रन्सजेन्डर महिला हुँ, आफ्नो पहिचान र अस्तित्वको खोजीमा जीवन हिँडाइरहेकी छु । मेरो जीवन–यात्रा धेरै गहिरा चोटले भरिएको छ । यो मेरो मात्रै कथा होइन, म जस्ता धेरै सीमरनको नभनिएको कथा हो । परिवेश र परिदृश्य फरक होला तर कथाको मर्म एउटै हो, जो आफ्नो पहिचान र अस्तित्वको खोजीमा आफ्नै सीमालाई खुम्च्याइरहेका छन् ।
मेरो जन्म पोखरामा भएको हो । परिवार, समाज र इष्टमित्रले मेरो यौनाङ्ग देखेर ‘बालक जन्मियो’ भनेर बालककै रूपमा नवीन शेरचन नामकरण गरिदिए । परिवारको पहिलो सन्तान छोरा जन्मियो भनेर निक्कै हषोल्लास मनाएका थिए रे । बडो माया–प्रेम र स्नेहले हुर्काए, बढाए, पढाए । सानोमा मेरो आनीबानी परिवार र समाजले वास्ता गरेनन् । हुर्कने क्रममा ममा अझै बढी नारीसुलभ स्वभाव उमेरसँगै बढ्दै गए । म आफूलाई नारी महसुस गरिरहेकी थिएँ । किशोरावस्था प्रवेश गर्न थालेपछि शारीरिक, मानसिक र भावनात्मक परिवर्तन फरक रूपले आउन थाले । बाहिरको शरीर मेरो पुरुषको थियो, मनमस्तिष्क र भावना महिलाको । ‘छोरा’ भनेपछि छोराकै झैं बोली, हाउभाउ, व्यवहार हुनुपर्छ भन्ने कुरालाई चुनौती दिँदै म अरूका अघि फरक अवतारमा प्रस्तुत हुन थालें । त्यसपछि मलाई साथीसंगी, परिवार र समाजले बेग्लै रूपमा चिने र अनौठा–अनौठा उपनाम दिन थाले । मलाई लाग्थ्यो, यो संसारमा यस्तो मान्छे ममात्रै एक्लो हुँ । समाजले तोकिदिएको भूमिकामै आफैंलाई फिट गराउने प्रयास नगरेकी होइन, तर भित्री आत्मादेखि नै प्राकृतिक रूपमा निस्किएका भावको आवेगलाई रोक्न सकिनँ । करबल गरेर पुरुषजस्तै हाउभाउ देखाउन खोज्थें, तर मबाट त्यो सम्भव नै हुन सकेन । आफसेआफ म नारीको हाउभाउमै ढल्किहाल्थें ।
मलाई ‘छक्का’, ‘हिजडा’ जस्ता उपनाम दिएर जिस्क्याउँथे मानिसहरू, मलाई अत्यन्तै हीनताबोध हुन्थ्यो । स्कुल पढ्दा साथीहरू पनि अत्यन्तै न्यून थिए किनकि मलाई घुलमिल हुन डर हुन्थ्यो, ट्वाइलेट जान सकस हुन्थ्यो । केटाभन्दा केटीसँग रमाइलो लाग्थ्यो । यस्तो देखेर केटाहरू बुली गर्थे– केटीहरूसँग मात्रै हिँड्छ, केटी जस्तै व्यवहार गर्छ, हिजडा हो तँ भनेर । १३ वर्षको उमेरदेखि म बिस्तारै साथीभाइ र समाजदेखि अलग हुँदै गएँ ।
आफैंलाई प्रश्न गर्थें, आफैंमाथि धिक्कार्दै भगवान्लाई समेत गाली गर्दै भन्थें– किन मलाई छोराको रूपमा जन्माएर छोरा जस्तो नबनाएको ? किन मलाई छोरी बन्न मन लाग्छ ? कि मलाई पूर्ण रूपमा छोरा बनाइदेऊ, कि छोरी । हरेक पल–हरेक क्षण म देउतालाई नै धिक्कार्थें, सराप्थें किनकि मलाई अत्यन्तै गाह्रो भइरहेको थियो ।
बाहिरबाट हेर्दा म छोरा जस्तै थिएँ, लुगा पनि छोराकै लगाउँथे, दाह्री–जुँगा लामो हुँदै गइरहेको थियो तर दिमाग, मन र आत्माले त्यो स्विकार्नै सकिरहेको थिएन । आफैंलाई ऐनामा हेर्थें– नारीको रूपमा पाउँथें, तर बाहिर सर्लक्कै पुरुष थिएँ । म भित्रको अन्तरद्वन्द्वको आगो झन् दन्काइरहेको थियो । म अर्धपागल या पूरै पागल पो हो कि ? भन्ने प्रश्नले म शतप्रतिशत विक्षिप्त बनिसकेकी थिएँ । आफूलाई शान्त राख्न एकान्त रोज्न चाहन्थें ।
५ कक्षासम्म म राम्रो विद्यार्थीमा गनिन्थें तर यी विविध समस्याले मेरो पढाइ निक्कै खस्कियो, पढाइ बिगारेकोमा परिवारको गाली–चिन्ता र आफूभित्रको आँधीतुफानले मेरो जीवन भुमरीमा परिसकेको थियो । साथीहरूले आफूमाथि प्रयोग गर्ने छक्का–हिजडा शब्दले हरेक पल आफूलाई बलात्कृत महसुस गर्थें ।
१४ वर्ष (कक्षा ७ मा पढ्दा) छँदा हो, मैले आफूलाई मूल रूपमा ‘म महिला नै हुँ’ भन्ने ठोकुवा गरेको । केटाहरू फुटबल खेल्थे, म केटीहरूसँग रूखको छहारीमा बसेर गट्टा, चुङ्गी खेल्थें । उमेर बढ्दै जाँदा विपरीत लिङ्गीतर्फको आकर्षण र झुकाव बढ्ने क्रममा मेरो कक्षाकै आफूजस्तै केटा मन पर्न थाल्यो । झन् यो कुराले मलाई एकदमै दुविधामा पार्यो । मनले ‘म छोरी हुँ’ भन्ने र समाजले ‘छोरा भएर जन्मिएपछि बुहारी ल्याउनुपर्छ’ भन्ने ! मैले खुकुरीको धारमा रहेको महसुस गरें ।
स्कुलका साथीहरू ‘केटीहरूसँग मात्रै हिँड्छ, यसको यौनाङ्ग कस्तो छ ?’ भनेर हेर्न–छुन खोज्थे । साथीहरू ट्वाइलेट जाँदा, म पिसाब च्यापेरै बस्थें या हाफछुट्टीमा घरै जान्थें । केटीको ट्वाइलेट जान मन लाग्थ्यो, तर निषेधित थियो । म को हुँ ? भन्ने प्रश्नको उत्तर खोज्दा खोज्दा मेरो यौवन र किशोरावस्था कतिखेर गयो थाहै पाइनँ ।
प्लस टु पास गरेर बसिरहेकी थिएँ । एउटा ‘साप्ताहिक’ पत्रिकामा नीलहिरा समाजबारे पढें । त्यसमा ३ वटा सुन्दरीका विचित्रका तस्बिर देखें । त्यहाँ उल्लेख गरिएका सुन्दरीका कथा पढ्दै गर्दा ती मैजस्तो लाग्यो । केही समयपछि कुनै पत्रिकामा सूचना छापियो– ती पात्र टीभीमा अन्तर्वार्ताका लागि आउँदै छन् । अन्तर्वार्ता प्रसारण भयो । ‘उनीहरू यो हुन्, यसरी जीवन इन्जोय गरिरहेका छन्, आफू हुनुमा भित्रैदेखि खुसी छन्’ भन्ने सुन्दा मेरो पनि खुसीको सीमा रहेन र ‘म त यो पो हुँ’ भन्ने भयो । कतिखेर त्यहाँ पुगौं, मेरा मनका भावना उनीहरूसँग पोखौं भन्ने उत्सुकता भयो । तर, परिवार र समाज ‘छोरा भएर जन्मिएपछि परिवार पाल्न पैसा कमाउनुपर्छ, विदेश जानुपर्छ, कुनै सीप सिक्नुपर्छ’ भन्थ्यो । वैदेशिक रोजगारीका लागि इलेक्ट्रिक इन्जिनियरिङको तालिम लिन मैले काठमाडौं आउने मौका पाएँ । टीभी अन्तर्वार्तामा देखिएका सुन्दरीहरू भुल्न सकिरहेकी थिइनँ । एकदिन त्यहाँ गइछाड्ने मन भयो र त्यहाँ पुगिछाडें । लाजिम्पाटमा ट्रान्सजेन्डर साथीहरू देखें । अलमलमा परें, डर पनि लाग्यो । म १८ वर्षे उमेरको मान्छेलाई त्यहाँ निक्कै माया गरेर काउन्सिलिङ गर्नुभयो उहाँहरूले । उहाँहरूले ‘तिमी एक्लो होइन’ भन्ने सम्झाइबुझाइ गरेपछि ममा पनि ‘म एक्लो छैन’ भन्ने भाव पैदा भयो ।
सिनियरहरूले मलाई ‘छोरी’ भनेर माया गर्नुभयो, सुरक्षित महसुस गराउनुभयो । उबेला मलाई किरण भनिन्थ्यो । रमाइलो लाग्यो, संसार जितेझैं, जीवन सार्थक भएझैं लाग्यो । मैले ‘मलाई तपाईंहरू जस्तै राम्री बनाइदिनु’ भनें । उहाँहरूले मलाई मैले भनेजस्तै बनाइदिनुभयो । जुन दिन नारीको पहिरन र शृंगारमा सजिएर ऐनाअघि उभिएँ, मलाई कसैले कुनै जादुको छडीले छोएर केटाबाट केटी बनाइदिएझैं लाग्यो । खुसीको सीमा रहेन । जीवनकै आनन्दित र सबैभन्दा खुसीको दिन त्यही हो । आफूलाई संसारकै सबैभन्दा सुन्दरी महसुस गरिरहेकी थिएँ ।
नक्कली कपाल, मेकअप, लुगाफाटोमा उति परफेक्ट थिइनँ सायद, मान्छेहरू अनौठो मानेर मलाई हेरिरहेका थिए । मलाई भने ‘म राम्री छु’ भन्ने लागिरहेको थियो । त्यही समय एक केटासँग प्रेममा परें ।
फेरि पोखरा फर्किनुपर्ने अवस्था आयो । म केटाकै भेषमा घर फर्किएकी थिएँ । हिजोसम्म ‘केटा हुँ या केटी ?’ भन्ने थाहा नहुँदा छुट्टै टेन्सन थियो, आज ‘म केटी हुँ’ भन्ने थाहा पाइसकेर पनि केटाकै भेषमा हिँड्दा मरेतुल्य लाग्न थाल्यो । ‘म छोरी मान्छे हुँ’ भन्न र सोही रूपमा बाँच्न अर्को अन्तरद्वन्द्व हुन थाल्यो । त्यहीबेला परिवारले मलाई उच्चशिक्षाका लागि साइप्रस पढ्न पठायो । थुप्रै सपना बोकेर साइप्रस उडें, विविध समस्याले सपना पूरा हुन सकेन ।
लामो समय साइप्रस बसेर परिवारलाई थाहै नदिई नेपाल फर्किएँ । यहाँ ल्यान्ड हुनेबित्तिक्कै साइप्रसमा ओभरस्टेका कारण अध्यागमनले समातेर कालिकास्थानको जेलमा हुलिदियो । त्यहाँ जिन्दगी धेरै पढें, गहिरिएर बुझें ।
मैले आमा मानेकी एक जनालाई फोन गरें, उहाँले रेस्क्यु गर्नुभयो, जुन गुन म जीवनभर बिर्सिन्नँ । अब के गर्ने ? समाजको इज्जत, परिवारको खुसीका लागि आफैंलाई मारेर एउटी केटीसँग बिहे गरेर बस्छु भन्नु कत्तिको सही हो ? प्रश्नले मेरो दिमागमा तोडले हान्यो । अनि मैले वास्तविक पहिचान लुकाएर परिवार, समाजका लागि कुनै केटीसँग बिहे गर्दा म खुसी हुन सक्दिनँ भन्ने निर्क्योल निकालें । पेट पाल्न निक्कै संघर्ष गरें । नाच्नका लागि इन्डियाको बेलौरीसम्म पुगेकी थिएँ, नाच्दा धेरै पैसा हुन्थ्यो, तर त्यहाँ कहिल्यै आत्मसम्मान पाइनँ । राति चिसोमा बाइकबाट लडेर मेरो नाक भाँच्चिएको थियो । त्यहीबेला डान्सबारमा डान्सरको काम गर्न पुगें, त्यहाँ निक्कै समस्या झेल्नुपर्यो, अप्रिय घटना घटेकाले काम छाड्न बाध्य भएँ । फेरि नेपाल फर्किएँ ।
घरमा ‘म साइप्रसमै छु’ भनेकी थिएँ । तर, पोखरामा एउटा कार्यक्रम आयोजना भयो । मान्छेले चिन्लान् भनेर मुकुट लगाएरै र्यालीमा हिँडेकी थिएँ, त्यो फोटो पत्रिकामा आएपछि घरकाले म नेपालमै छु भन्ने थाहा पाए । आमालगायत परिवार मलाई खोज्दै काठमाडौं आए । त्यसपछि मैले मेरो वास्तविक पहिचान भनिदिएँ, आमाको मन धेरै दुख्यो होला । आमाको निर्दोष अनुहार हेरें, आफैंलाई पुनः ग्लानि भयो । आमाले ‘घर हिँड्’ भन्नुभाको थियो, तर म जान सकिनँ । किनकि म फरक भइसकेको थिएँ, छोरा होइन छोरी भइसकेकी थिएँ ।
म धेरै रोएँ । ‘गलत गरें, आमालाई रुवाएँ’ भन्ने कुराले पोल्न थालेपछि पशुपतिको जंगल गएर फेरि आत्महत्याको प्रयास गरें । तर, आमाको अनुहार झल्झली आँखामा आयो र ‘अब परिवारका लागि मैले केही गर्नैपर्छ’ भन्ने अठोट बोकेर फर्किएँ ।
सन् २०१२ मा ट्रान्सजेन्डर महिलाको सौन्दर्य प्रतियोगितामा भाग लिएँ । तालिम अवधिमा थुप्रै कुरा सिक्ने अवसर पाएँ, रेड रिवन अवार्ड प्राप्त गरें । यसले मेरो जीवनमा टर्निङ प्वाइन्ट लिएर आयो । धेरैले मलाई चिने । त्यसपछि मैले मेरो आवाज बुलन्द पार्न थालें । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका लागि वकालत गर्ने, अधिकारका लागि लड्ने, सचेतना जगाउने काममा म सक्रिय भएर लाग्न थालें । विशेषगरी बालबालिका र किशोरकिशोरी अवस्थामा आउने परिवर्तनबारे चेतनामूलक काम गरेकी छु । नेपालमा समलिङ्गी विवाहका लागि मुद्दा हाल्ने नौ जनामध्ये म पनि एक हुँ । नेपाली चलचित्र ‘जलेबी’ मा नायिका सुरक्षा पन्तसँगै अभिनय पनि गरेकी छु । हाल म परियोजनासँग जोडिएर थुप्रै काम गरिरहेकी छु ।
म अहिले नीलहिरा समाजको उपाध्यक्ष्यको जिम्मेवारी सम्हालिरहेकी छु । काम गर्दै जाँदा मैले महसुस गरें, हाम्रा मुद्दा बुझाउन हाम्रो समुदायभित्रै मात्रै सीमित नरही बाहिरी संसार र समुदायसँग पनि सम्बन्ध बढाउनुपर्छ । यही सोचले क्लिनअप नेपाल नामक वातावरणमा काम गर्ने संस्थाको सदस्यका रूपमा काम गरिरहेकी छु । मेरा लागि आफ्नो पहिचान र अधिकारका साथ खुसी भएर जीवन जीउन पाउनु नै सफलता हो । मजस्तै दुविधा र अन्तरद्वन्द्वको भुमरीमा फसिरहेका थुप्रै साथीको प्रेरणा बन्न सकुँ । यही छ इच्छा ।
अहिले आफैंलाई भित्रैदेखि बलियो, सशक्त र आत्मनिर्भर महसुस गर्न थालेकी छु । मेरा आवाज सुनिन थालेका छन् । केही व्यक्तिको प्रेरणा बन्न सफल भएकी छु, मेरा लागि यही जीवन हो ।
(लक्ष्मी भण्डारीसँग कुराकानीमा आधारित)
