सपना छरिएका सडकहरू

गोपालप्रसाद रिमालले ‘आमाको सपना’ मा ‘हो, त्यो आउँछ’ भनेर जुन दृढताका साथ परिवर्तनको आगमन हुने बताएका थिए, त्यो यथार्थ सावित भयो । तर, देश उनकै नाटक ‘मसान’ की नायिका युवतीको गर्भझैं बाँझो रह्यो । 

माघ १२, २०८१

किशोर नेपाल

Streets full of dreams

काठमाडौँ — सपना देख्न कि त मानिसको दिमाग साह्रै बोझिलो हुनुपर्छ कि साह्रै हलुका । मानिसहरू सपना देखिरहेकै हुन्छन्, राति निद्राको तरंगमा पनि, दिउँसो कामको भीडमा पनि । सपना देख्न यस्तै अवस्था चाहिन्छ भन्ने केही छैन । केही पढेलेखेका मानिसहरू राति निद्राको तरंगमा तरंगित भइरहेका हुन्छन् ।

त्यसबेला उनीहरूलाई कलम र कागज चाहिन्छ । अक्षरको प्रयोगमा पहुँच भएका मानिस सधैं आफ्नो सिरानीमा एउटा कलम र एउटा सानो नोटबुक राखेर सुत्ने गर्छन् । मैले कसैबाट सुनेको थिएँ– कवि गोपालप्रसाद रिमालले आफ्नो सुप्रसिद्ध कविता ‘आमाको सपना’ मा ‘हो, त्यो आउँछ’ भनेर जुन दृढताका साथ परिवर्तनको आगमन हुने बताउनुभएको थियो, त्यो यथार्थ सावित भयो । परिवर्तन त यथार्थ भयो । तर, देश कवि रिमालकै नाटक ‘मसान’ की नायिका युवतीको गर्भझैं बाँझो रह्यो ।

त्यसो त आजको गतिशील जमानामा मानिसलाई फोन वा नोटप्याडको सुविधा छ । सपनाको टिपोट गर्न, पुरानो जमानामा जस्तो सिरानीमा नोटबुक र कलम राख्नुपर्दैन । बोलेर पनि आफ्ना सपनालाई मेसिनमा जोगाउन सक्ने अवस्थामा पुगिसकेको छ आजको मानिस । तर, यो पनि उत्तिकै सत्य हो, राति मस्त सुतेको मानिसले देखेको सपना रेकर्ड गर्ने प्रविधि अझै आइसकेको छैन होला ।

मानिसका आँखा झपक्क हुनेबित्तिकै प्राय: देखिने सपनाका अद्भुत नाङ्गा यथार्थ र त्यसका भावहरूलाई जस्ताको तस्तै उतार्न सक्ने मेसिन पनि पक्कै बनेको छैन होला । कुन्नि, बनेको पनि छ कि ? त्यस्तो मेसिन बन्यो भने के होला ? 

संसारको चलन पनि विचित्रको छ । अझ हाम्रो देशको चलन त विचित्र मात्रै होइन, अनौठो पनि छ । संसारका सबै समाज सत्ताकेन्द्रित हुन्छन् । जो सत्ताको केन्द्रमा रहन्छ र टिक्छ, ऊ नै सर्वाधिक शक्तिशाली मानिन्छ । यो सामन्तवाद, आभिजात्यवाद, साम्यवाद र पुँजीवादको कुरा होइन । मानिसका उपलब्धिका रूपमा रहेका भौतिकवादी विचार र वैज्ञानिक आविष्कारले पनि सत्ताकेन्द्रित शक्तिको मनोविज्ञानलाई प्रभावित गर्न सक्दैनन् । यो त विश्वव्यापि प्रवृत्ति हो । 

सपनाका विश्लेषणकर्ताहरू भन्छन्, यो देशको मात्रै कुरा होइन, यसमा त संस्कृति र संस्कार पनि गाँसिएको छ । कुरा सुनेर अचेल उसको मन अलि बढी नै खिस्रिक्क हुन थालेको छ र खलबलिएको छ । मन खलबलिएपछि मानिसले धेरै सपना देख्न थाल्छ : राम्रा पनि र नराम्रा पनि ।

अघिल्लो साताको आइतबार रातको अन्तिम प्रहरमा देखेको एउटा सपनाले मलाई निकै कोपरेको थियो । सपना भयावह थियो । तर, त्यो भय चाहिँ केको थियो ? त्यो सपनाको अर्थ र अनर्थको खोजीमा मैले कुनै विद्वान् ज्योतिषकहाँ जाने विचार नगरेको होइन । तर, सपना त सपना नै हो । त्यसको अर्थ खोज्नु भनेको अर्को त्यस्तै सपना देख्ने चाहना मात्रै हो । 

म आफूले देखेको सपनाका बारेमा एकछिन सोच्छु । त्यसलाई आफ्नो नोटबुकमा उतार्न खोज्छु । त्यसो गर्दागर्दै म आफैंले देखेको सपनाको आकार र आयतन दुवैलाई भुसुक्क बिर्सिन्छु । सपनाको त्यो अध्याय त्यहीं सकिन्छ । अर्को रात मैले अर्कै सपना देख्ने इच्छा राखेको हुन्छु । सपना त सपना हो । सपना सोच्दैमा देखिने कुरा पनि होइन ।

आखिर संसारमा जतिसुकै चामत्कारिक आविष्कार भए पनि सपनाको रेकर्डिङ गर्ने मेसिनको आविष्कार भएको पत्तो पाइएको छैन । मानिसको सपनालाई क्यामरामा कैद गरेर युट्युब च्यानलमा देखाउन सकिने भए जनतालाई ‘इमोसनल ब्ल्याकमेल’ गर्न कति सहज हुन्थ्यो होला : सरकार चलाउनेहरू र उसका विपक्षमा बसेकाहरूका लागि ?

हिजो राति मैले देखेको सपनामा सडकको पूर्वीछेउ च्याप्दै हुइँकिएर आएको एउटा बाइकले एउटा ईभी कारलाई झन्डै ठक्कर दिएन । बाइकरको आँखा बाइकको ह्यान्डिलमा अड्काएर राखेको मोबाइलमा थियो । उसको कानमा ‘श्रवण यन्त्र’ अड्किएको थियो ।

अचेल बेरोजगार केटाहरू ‘पठाओ’ चलाउँछन्– चारपाङ्ग्रे ट्याक्सी चढ्ने औकात नभएका यात्रीहरूका लागि आवागमनको सजिलो साधन । पुतलीसडकबाट नयाँ सडक गए चालीस रुपैयाँ, नयाँ सडकबाट पुतलीसडक आए पैंतालीस रुपैयाँ । सहरमा बसहरू पनि चल्छन् । पहिले पहिले त ट्रली बस पनि चल्थ्यो : काठमाडौं सहरदेखि भक्तपुर सहरसम्म, भक्तपुर सहरदेखि काठमाडौं सहरसम्म । त्यसको मजा अर्कै थियो । जलस्रोतको धनी यो देशमा उज्यालो लोडसेडिङमा परेपछि त्यो सेवा बन्द भएको थियो । अहिले त ट्रली बस चलाउने ‘अवधारणा’ नै पुरानो भइसकेको छ । 

बाइकले ईभी कारलाई ठक्कर नदिए पनि पैदल यात्रुहरूको मनमा एउटा त्रास थपिएको थियो । एक त सहरका पैदलयात्रुहरू कार देखेरै डराउँछन् । उहिल्यै कवि भैरव अर्यालले आफ्नो एउटा कवितामा काठमाडौंका चारफुट चौडा सडकमा दौडिने नौ फुट लामा बसहरूको चित्रण गरेका थिए ।

तत्कालीन समयमा त्यो कविता यथार्थको संवाहक बनेको थियो । अहिलेको समयमा चाहिँ टालटुल गरेर जसोतसो धानिएका काठमाडौं सहरका सडकमा बाइक उचालिएर पेटीतिर उफ्रिँदा कति पैदलयात्रु दुर्घटनाको सिकार हुनुपर्ने हो ? डर पलाएको छ । सडकको आयतनभन्दा ठूला कार चढ्नेहरू सडकप्रति सचेत छन् । उनीहरूले ठूला कार नचलाउने हो भने यो सहरको इज्जत कसरी धानिने हो ? कसैले भन्न सक्दैन । आखिर मानिसको सुख र भोग विलासको प्रदर्शनीको पहिलो थलो पनि सहर नै हो भने भयको पहिलो कारण पनि सहर–बजारमा हुने दुर्घटना नै हो । 

‘झन्डै’ हुन लागेको दुर्घटनाले बोझिलो भएको मन, अलिकति डर, अलिकति त्रास र जाडो मौसममा लम्किएर हिँड्दा आउने अलि कति पसिना । यो तनाव बोकेर अफिसमा छिर्दा एकाएक प्रश्न आयो– मौलिक शब्दलाई अंग्रेजीमा के भन्ने ? यो सहरमा अहिले पनि मौलिक शब्द चलनचल्तीमा रहनु गजबकै कुरा थियो । तर, मौलिकको अंग्रेजी शब्दार्थर् तत्काल सम्झनामा आएन । एकछिन पछि सम्झिएँ : मौलिक अर्थात् ओरिजिनल । त्यसपछि अर्ग्यानिक शब्द पनि चर्चामा आयो । काठमाडौं सहरमा अचेल अर्ग्यानिक शब्दको आँधी–बेहरी नै आएको छ : अर्ग्यानिक कफी, अर्ग्यानिक चुलो, अर्ग्यानिक भान्सा, अर्ग्यानिक डान्स, अर्ग्यानिक खेती र अर्ग्यानिक सेक्स । मैले आफूलाई कुनै उपन्यासकारले लेख्दै गरेको उपन्यासको अधुरो परिच्छेदसँग तुलना गरें ।

विगत केही समयदेखि म ओरिजिनल र अर्ग्यानिक शब्दका अर्थहरूको खोजीमा लागेको छु । प्राध्यापक शंकरराज पाठकको व्याख्या अनुसार, ओरिजिनलको अर्थ नैसर्गिक हो र अर्ग्यानिक भनेको संघटनात्मक । शब्दहरूको भीडमा यी दुई शब्द विलुप्त हुँदै छन् । पूरै नेपाली समाज त नभनौं, हाम्रो आफ्नै देश नेपालका सहर–बजारहरूमा यी शब्दले खासै महत्त्व राख्दैनन् । समय सँगसँगै शब्दहरूको रूपान्तरण हुने गर्छ । कति शब्दका अर्थहरू नबुझिने हुन्छन् ।

केही समय प्रयोग नगर्ने हो भने शब्दहरू आफैं शब्दहरूकै कोलाहलमा हराउँछन् । हिजोसम्म ‘जनयुद्ध’ आकर्षक शब्द थियो, खास गरेर विपन्न वर्गका लागि । अहिले त्यो शब्दमा कुनै आकर्षण रहेन । जनयुद्धका नायकहरू कतिबेला खलनायकमा परिणत भए ? कसैले पत्तो नै पाएन । तर, जनयुद्धको धङधङी भने अहिले पनि कायम नै छ । त्यसको भय घटेको छैन । त्यो जनयुद्ध नैसर्गिक थियो कि संघटनात्मक ? ऐन्द्रिक थियो कि जैविक ? 

मानिसका विचारहरू शृंखलाबद्ध हुन्छन् कि हुँदैनन् ? मलाई त त्यो पनि थाहा हुन छाडेको छ । विचारको खडेरी परिसकेको त छैन ? यस्ता मानिसहरू अहिले पनि थुप्रै छन्, जो सत्ताको केन्द्रमा नबसेरै पनि सत्तालाई हल्लाउने ताकत राख्छन् । सामान्य जनतालाई शक्तिको आधार बनाएर विचारका बलमा बाँचेका ती मानिसको प्रासंगिकताको चर्चा अहिले कतै हुँदैन ।

सामाजिक सञ्जालमा हल्लिएर आफ्नो महत्त्व स्थापित गर्नेहरूको भीडमा विचारहरू अरण्यरोदन सावित हुनु ठूलो कुरा होइन । विचारहरू अहिलेका लागि अरण्यरोदन सावित होलान् । तर, तिनका महत्त्व कहिल्यै धरापमा पर्दैनन् । शब्दहरू सृष्टि र सिर्जनाका आवश्यकता हुन् । 

किशोर किशोर नेपाल वरिष्ठ पत्रकार हुन् । उनी साहित्यका अलवा राजनीति र समाजका विविध आयामबारे लेख्छन् । उनको ‘मेरो समय’, ‘मिडिया:सिद्धान्त, सूत्र र प्रयोग’, ‘नेपालका निधि’ जस्ता पुस्तक प्रकाशित छन् ।

Link copied successfully