मैले सराद्धे गर्न छाडिदिएँ

मैले के कारण सराद्धे गर्न छोडें ? यो बयान सुनेर सराद्धे त्याग गर्ने अरू पनि साथीभाइ निस्के भने मेरो जत्था ठूलै हुनेछ । 

माघ १२, २०८१

श्रीधर खनाल

I stopped paying respects

काठमाडौँ — हिन्दु समाजमा बसेर पनि मैले सराद्धे गर्न छाडिदिएँ भन्न त नहुने थियो । किनभने दाजुभाइले भात–भान्साबाट हटक गर्ने कुरो त छँदै थियो, पुरेतबाजे र तिनका खलकले बाटामा राति ढुकेर ठटाउलान् भन्नेसम्म डर हुन गयो । तैपनि कहिलेकाहीं खतरा बोक्न आनन्द आउने भएकाले यो बयान सुनाउन तम्सेको हुँ ।

के कारणले र कसरी सराद्धे गर्न छोडें त्यो त बताउनु नै पर्ने भयो र मैले गरेको पछिल्लो सराद्धेको बेलीबिस्तार लगाउनुपरेको हो । यो बयान सुनेर सराद्धे त्याग गर्ने अरू पनि साथीभाइ निस्के भने मेरो जत्था ठूलै हुनेछ र मलाई टपरेहरूको डरले छुन सक्दैन कि ?

त त्यो दिन आयो, माघको पहिलो हप्तामा । तुसारोले गर्दा काठमाडौं उपत्यकामा कालो भन्ने त वस्तु नै छैन कि भन्ने परेको थियो । म आफ्नो सुकुलमा फाटेको पाखी तेब्य्राएर कुकुरगुँडुल्के अवस्थामा अझै निदाउने दाउले तीतामीठा तरङ्गमा गोता लगाउँदै थिएँ । कसैले फुत्त पाखी तान्यो । आफ्नी बजूको धोत्रो स्वर सुनियो, ‘ए कुम्भकर्ण । उठ् ए । तेरा बाजेको सराद्धे होइन आज ? पुरेतनानी चाँडै आउँछन्, बिचरालाई तीन ठाउँमा सराद्धे सकाएर अड्डामा पुग्नपर्छ रे ।’

भो कि अब ? अनि त आफ्ना बाजेलाई सम्झेर पनि दिक्क लाग्यो । वैशाख–जेठतिर स्वर्गवास हुनुपर्थ्यो नि । कहाँको यो मीनपचासको ठन्डीमा छोरानातिलाई पिरोल्ने काम गर्नुभएछ । अनि त मलाई आफ्ना पिताज्यूको माया लाग्यो । त्यसो त उहाँको पनि स्वर्गबास भइसक्यो । तर, बिचराले किरिया बस्दा रैथाने सिमेन्टीको छिँडीमा कसरी एघार दिन काट्नुभयो होला भनेर आँखाभरि आँसु भए । त्यही तीतो अनुभवले त होला, पिताज्यू जेठको आखिरीमा परमधाम पाल्नुभएको । आखिर म कुन अठोटमा पुगें भने मेरा बराजु अवश्य पनि साउने झरीमा परलोक हुनुभएछ । अनि पो मेरा बाजेलाई जाडोमा किरिया बस्दाको आनन्द थाहा नभएर उहाँले जाडामै स्वर्गबास रुचाउनुभएछ । 

यत्तिकैमा ‘ततो जयमुदीरेत्’ भनेर लाउडस्पिकर कराएकोजस्तो गर्दै पुरेतबाजे टुप्लुक्क आइपुगे । ‘लौ पुरेतनानी पनि आइसके, यसले त डसना पनि छोडेको होइन । झट्ट नुहाएर आइज जा ।’ यति भनेर बजू माथिको तरखर मिलाउन गइहाल्नुभयो । पुरेतबाजे सरासर मेरो कोठामा आफ्नै कार्यालयमा झैं भित्रिइसकेका थिए । बजूले डसना छाडेको भन्नासाथ उनका कोप्चा आँखा मेरो डसना भनाउँदो सुकुलमा परे । उनी थुक्ने निहुँले झ्यालतिर लागे । त्यहाँबाट फरक्क फर्केर उनले भने, ‘चाँडो अस्नान गर्नुपर्‍यो बाबु । मलाई त अझ दुई ठाममा सराद्धे सकेर मन्त्रालय पुग्नु छ । अचेल छड्के आउँछ र पो, नत्र त हतार नगरे हुन्थ्यो । हाकिमहरू आफ्नै जजमान छँदै थिए । ल ल बा छिटो गरौं ।’

मलाई भने अस्नानको कल्पना गर्दैमा आङभरि काँडा उम्रिसकेका थिए । अनि भनें, ‘हतपताउन भएन पुरेतबाजे । नुहाउने पानी बसालिसकेको छ, एक घण्टामा त तातिहाल्छ नि । अलि रुघा लाग्लाजस्तो छ । चिसोपानीले त कसरी नुहाउने ?’ पुरेतबाजे पहिले त नीला भए । तर, उनले हामी दुवैलाई सह पर्ने अक्किल निकाले । उनले मुख बिगारेर हो कि बनाएर हो भने, ‘आ.....केको नुहाइरहनुपर्छ र ? यस्सो पञ्चअस्नान गर्नुस् न ।

मन चङ्गा तो शरीर मे गङ्गा, बुझ्नुभो ? बरु म सर्जाम मिलाउँदै गर्छु, बाबु झट्ट आउनुस् है ?’ अनि ‘पत्रम् पुष्पम्, फलम्, तोयम्, यो मे भक्त्या प्रयच्छति’ पाठ गर्दै उनी माथितिर उक्ले । ती आधुनिक पुरेतलाई मनमनै धन्यवाद दिएँ र करुवाले झ्यालमै अस्नान सकी बुइँगलमा पुगें । त्यहाँ सब ठीक थियो । म थरथर काम्दै आसनीमा बसें ।

अब पुरेतबाजेको थुतुनो मेसिनभन्दा छिटो चल्न थाल्यो । मैले एकपटक फूल चढाउन भ्याउँदा नभ्याउँदै उनी ‘पुष्पम्, जलम्, अक्षताम्, चन्दनम्, धूपम्, नैवेद्यम्, समर्पयामि गणपतये नमः’ भट्ट्याइसक्थे । मैले गणपतिको भाग जल चढाउँदा त्यो त अर्कै देवतालाई चन्दनको नामले समर्पण भइदिन्थ्यो ।

आखिर तर्पण गर्ने बेलामा घर–मावली–ससुरालीको सातपुस्ते नाम सारिराखेको कापी खोजेको त त्यो तल ढुकुटी कोठामा नै छुटेछ क्यार । बजू त्यो ल्याउन भनेर भर्‍याङ तल झरिनसक्दै मेरा पुरेतबाजेले ‘यथायथा नामाय तथातथा गोत्राय तृप्यन्ताम् तृप्यन्ताम्’ फलाकेर टुङ्ग्याइसकेका थिए । यसको साथै ‘भैगो हजुर, कापी चाहिएन’ भनी कराउन पनि भ्याउँथे । उनले पर्खन त जानेकै थिएनन् । 

मेरो मनमा झ्वाट्ट उटुङ्ग्याइ टुसायो । यस बाहुनलाई एक पटक नचेताइ भएन । उनले ‘मोटकमादाय’ भन्नासाथ म कराएँ, ‘लौ मोटक त सकिएछ । ए कान्छा बारीबाट कुश खोजेर ल्या त ।’ पुरेतबाजेले यसो आँखीभौं जोडेर झटपट आफू बसेकै कुशासन उठाए । अनि त्यसबाट कुश लुछ्न बल गरे । एक त जाडोले बाहुनको हात कठाङ्ग्रिएको, उसमाथि त्यो कुशासन नामधारी चकला बाबियाको भएर हो कि, उनको केही लागेन । तर, बाहुनलाई बठ्याइँ पनि कति आएको नि ? उनले दाँतैले बाबियाको झ्याम्टा त्यसबाट लुछे ।

अनि आँखा झिमिक्क गर्न नभ्याउँदैमा चटक गरेजस्तै आठ–दसवटा मोटक मेरो अगाडि उनले हुर्‍याइदिए । मैले साहस गरेर भनें, ‘होइन पुरेतबाजे, यो त बाबियो पो । बाबियाको पनि मोटक हुन्छ र ?’ धूर्तले हाँसेको भान पारेर उनले भने, ‘श्रद्धा चाहिन्छ बाबु, श्रद्धा । श्रद्धा भयो भने घाँसको त मोटक हुन्छ । त्यसमाथि देउतालाई भाव चाहिन्छ त पितृलाई वचन । वचन पुर्‍याइदिने म छँदै छु ।’ उनले फेरि श्राद्धविधि भट्ट्याउन थालिहाले । अनि बीचैमा ‘बरु मोटक यस्सो पखाल्नुस् है, मैले दाँतले झिकेको’ भन्न पनि छुटाएनन् । मैले मोटक पखाल्नै भ्याइनँ र उनले पाँच ठाममा चढाउन भनेकोमा जम्मै एकै ठाममा चढाइदिएँ ।

पुरेतबाजेले एकछिन पर्खेको चाहिँ एउटै कुरामा देखियो । गोदान गर्ने बेलामा यस्सो बोहोतामा हेरेको त त्यहाँ रुपियाँ रहेनछ । हो...त्यो रुपियाँ नआउन्जेल भने उनले बिसाए । तर, उनको मुख चाहिँ त बन्द भएको होइन । उनले ‘तृष्णाम् छिन्धि भज क्षमाम् जहि मदम्’ भन्ने सिलोक पूरै पाठ गरे । रुपियाँ बोहोतामा पर्ने त कुरै छोडौं, बज्यैलाई रुपियाँ लिएर भर्‍याङको थाप्लामा आइपुगेको देख्नासाथ उनले संकल्प दगुर्‍याइहाले । मैले त सुरुमा ‘हरिओम्’ भनेको बुझें र अन्त्यमा ‘शिवराम शर्माय ब्राम्हणय’ भनेको मात्र सुनें । त्यसैबेला हो यो संस्कृत भाषा अझै राम्रो बुझ्दोरहेनछु भन्ने लाग्यो । आखिर पन्ध्रै मिनेटमा त्यत्रो सराद्धे तुरियो ।

पुरेतबाजेले रुपियाँ–पैसाजति गोजीमा हाले । टपरी जति चाहिँ भरे उनकै घरमा पठाइदिन बजूसँग फर्माइस गरेर उनले बाटो तताइहाले । भर्‍याङबाट झर्दा उनी फतफताउँदै थिए, ‘सराद्धे त बेलैमा सकाइएछ । अड्डामा पुग्न भ्याइने भइयो ।’ मैले पनि के गुनें भने पुरेतबाजेले मेरो घरमा अब सराद्धे बाँकी राखेनन् । 

अनि यस समस्यामाथि म घोरिएँ । मैले आफ्नो औसत आयु साट्ठी वर्ष राखें । पच्चीस वर्षको त अहिले नै थिएँ, अब मलाई बाँच्नु अरू पैंतीस वर्ष थियो । वर्षको दुई सराद्धेमा आधा–आधा मानु चामलको दरले एक मानु चामल भयो । सोह्र श्राद्धमा एक मानु चामल अरू लाग्थ्यो । यस हिसाबबाट एक वर्षमा दुई मानु चामलको दरले पिण्ड दिँदा पैंतीस वर्षको सत्तरी मानु पिण्डदान गर्नुपर्ने ठहरियो । त्यसमाथि दुई मानु फोसा थप्दा बहत्तर मानु अर्थात् नौ पाथी चामल पुग्यो । 

बस्, भोलिपल्टै उधारोमा नौ पाथी मसिनो चामल किनें । त्यो बोकेर सोझै बागमतीतिर म लागें । आखिर पिण्ड पनि बागमतीमै सेलाउने गरेको त थियो नि । त्यसैले मैले पनि ‘बाबुबाजेय स्वधाः’ भन्ने वचनको साथै चामल जति बागमतीको धारामा सेलाइदिएँ । म मरेपछि त मेरा बाबुबाजेको प्रमोसन भएर उनीहरू वैकुण्ठमा पुगिसक्लान् र त्यहाँ खाने–पिउनेको समस्या छैन रे !

(पत्रकार, जासुसी साहित्य लेखक श्रीधर खनाल (वि. सं. १९९८ मंसिर २४–२०८१ माघ ३) का ‘दीर्घबाहु’ नामबाट दर्जनभन्दा बढी जासुसी उपन्यास प्रकाशित छन् । ‘नमरी संसार देखिन्न’ (निबन्ध संग्रह), ‘उल्लीबिल्ली’, ‘चट्याङचुटुङ’ (हास्यव्यंग्य) उनका अन्य प्रकाशित किताब हुन् । प्रस्तुत निबन्ध २०२० सालमा प्रकाशित खनालको किताब ‘नमरी संसार देखिन्न’ बाट साभार गरिएको हो ।)  

श्रीधर खनाल पत्रकार, जासुसी साहित्य लेखक श्रीधर खनाल (वि. सं. १९९८ मंसिर २४–२०८१ माघ ३) का ‘दीर्घबाहु’ नामबाट दर्जनभन्दा बढी जासुसी उपन्यास प्रकाशित छन् ।

Link copied successfully