किताबमा उहिल्यै पढेका, सानो छँदा सुनेका सहरहरू देख्दा उनी विगत र वर्तमान खुट्याउन नसक्ने अवस्थामा छिन्
काठमाडौँ — लेखक बिन्दु सुवेदीको किताब ‘युरोप यात्राका संस्मरण (२०८०) सन् २०१८ मा गरिएको डेढ महिनाको युरोप–यात्राको वर्णन हो । किताबमा सुवेदीले सात युरोपेली देशका प्रमुख सहरको भ्रमण–कथा लेखेकी छन् । प्रमुख गन्तव्य स्थल अस्ट्रियाको राजधानी भियना हुँदै स्विट्जरल्यान्ड, हंगेरी, जर्मनी, इटाली, फ्रान्स, स्लोभाकियासम्म पुगेको यात्रा संस्मरण रमणीय छ ।
साहित्य–संगीतमा धेरै चासो राख्ने, स्वदेशी तथा विदेशी स्रष्टा, कलाकारको राम्रो जानकारी भएकी नारी लेखक बिन्दुमा कला चेत छ । बैंकिङ क्षेत्रकी सेवा निवृत्त एक कर्मचारी, यात्रा संस्मरण, कथा र बालसाहित्यकी रचयिता बिन्दुको यो किताबले पाठकलाई युरोप घुमाउँछ ।
सुवेदीका लेखनमा कला, साहित्य, चिन्तन र वादका सन्दर्भहरू आइरहन्छन् । त्यस ठाउँको सामाजिक, शैक्षिक, राजनीतिक विषयमा पनि उनी जानकार छिन् । नवीन लाग्ने विषयवस्तु आइरहन्छन् किताबमा । सुवेदीको उक्त विवेच्य किताब नियात्रा संस्मरण हो या अरू पनि केही ? उनी स्वयं पाठकलाई तत्तत् ठाउँको मार्ग निर्देशन गर्दैछिन् जस्तो आभास हुन्छ, सूक्ष्म चित्रणमा । उनी वास्तवमै एक असल यात्री लाग्छिन् । हरेक विषयलाई होसपूर्ण चेतले यसमा अवलोकन गरिएको छ । आख्यानको शैलीमा लेखिएको यो यात्रा संस्मरण, यात्रा गर्नु जत्तिकै तृप्तिकर छ ।
लेखकले घुमेका युरोपका सात देशका राजधानीमध्ये हंगेरीको बुडापेस्ट उनी धेरै मन पराउँछिन् । ती ठाउँ सम्झिँदा स्मृतिमा पहिले त्यही दृश्य बनेर आउँछ भन्छिन् उनी । ‘त्यसैले त होला बुडापेस्टलाई युरोपको मुटु भनिने गरिएको । युरोपतिरका तत्कालीन लेखकहरूका लेखनीहरूमा वर्णन गरिएका चित्रहरू बुडापेस्टको भूगोलमा अनुभूत गर्न सकिने रहेछ (पृ. ३९) ।’
उनी कतिकति बेला आफू तन्द्रामा छु या जाग्रत अवस्थामा भ्रममा पर्छिन् । घुम्न गएका ती ऐतिहासिक ठाउँ पुग्दा- विगतको स्मृतिले उनी तरंगित हुन्छिन् । पुस्तकमा पढेका कुरा, सानामा सुनेका कुरा र यात्राको वास्तविकतामा उनी विगत र वर्तमान खुट्याउन नसक्ने गरी अलमल पर्छिन् ।
बर्लिनको सम्झनामा उनलाई त्यस्तै भएको छ । ‘बर्लिनमा डालीसँग भेट’ शीर्षकमा लेखकको त्यो अप्राप्य खुसी पढ्दा रमाइलो लाग्छ । कलाकार साल्भाडोर डालीको चित्रमय पुस्तक हातमा लिँदाको उनको प्रसन्न उद्गारमा- कलाकारप्रतिको आस्था यसरी व्यक्त हुन्छ, ‘जीवनमा केही पलहरू यस्तो खुसी लिएर आउने रहेछन् जुन सोचिएकोसम्म हुँदैन । बर्लिन महानगरीको एक सडक किनारमा मैले त्यो खुसीको क्षणलाई भेटेकी थिएँ ... (पृ.५३) ।’
सुवेदीको लेखनमा तृप्तता बोध हुने लालित्यपूर्ण कला छ । सरल भाषामा भन्न खोजिएको विषय अर्थिएको छ, छोटा–छोटा वाक्यमा । पाठकलाई उत्सुक बनाइराख्ने प्रस्तुति छ- घटना र विषय छ । ठाउँ विशेषका प्रसंग र स्रष्टाको भावना तथा अनुभूतिको मिश्रित रूप शालीन छ । पेरिसमा सुवेदीका अनुभवहरू उस्तै स्मरण गर्नलायक छन् ।
प्रसिद्ध नर्तकी, फेसनेवल ओट्लीसँग घुम्दाको त्यो क्षणले उनी आफैंसँग गौरवान्वित हुन्छिन् । त्यो एउटा दुर्लभ संयोग बनेको छ । पेरिस सहरमा आफूखुसी अझ उनकै भाषामा भन्नुपर्दा बरालिँदै हिँड्दा उनलाई लाग्छ, ‘जीवनको यो उमेरमा पुग्दा अकस्मात् पेरिसको सडकमा निर्बाध यसरी एक्लै आफैंमा हराएर घुम्ने छु भन्ने मैले सोचेकी पनि थिइनँ (पृ. १०४) ।’
सुवेदी अर्को दिन फेरि एक्लै नोत्रेदाम गिर्जाघर पुग्छिन् । ‘युरोप यात्राका संस्मरण’ मा पहिले जापान बस्दाका लेखकका स्मृतिहरू आइरहन्छन् । यात्राप्रेमी उनी नवीन कुरा केही देख्न छुटिहाल्छ कि भन्नेमा ज्यादै सचेत छिन् । त्यस्तै प्रसिद्ध भर्साइ दरबार हेर्ने उत्सुकता छ उनमा । काठमाडौंदेखि नै भर्साइ दरबार हेर्ने कल्पनामा थिइन् उनी ।
सुवेदीको पुस्तकले पाठक प्रियताका हिसाबले एउटा उचाइ लिएको छ । त्यसरी प्रियता आर्जन गर्ने विविध विषय छन् । त्यसमध्ये एउटा कुरा छ- स्रष्टाको सूक्ष्म दृष्टि । कति स–साना र अझ नगण्य कुरालाई पनि साहित्यिक अभिव्यक्ति दिने कला उनको लेखनको अर्को सुन्दर पक्ष छ ।
‘युरोप यात्राका संस्मरण’ एउटा अध्ययनीय किताब बनेको छ । परदेशमा कला, संस्कृति, भाषा, साहित्यको आदर गर्ने ‘डायास्पोरिक’ नेपालीको दैनिकी पनि केही मिसिएको छ । त्यही दिन नेपालीहरू जुटेर अर्को हलमा भानु जयन्ती मनाएका कुरा सुखद छन् ।
डेढ महिनाको बसाइमा लेखकलाई अझै समय पुगेको छैन । नयाँ नयाँ ठाउँ घुम्न जाने उनको रहर बाँकी नै छ । उनलाई त्यहाँको एउटा क्लासिक म्युजियम या त कुनै अर्केस्ट्रा शो हेर्ने मनमा गहिरा इच्छा छ । ‘युरोप यात्राका संस्मरण’ आम पाठकको रुचिमा पर्नेछ । घटना तथा दृश्य रुचाउने, केही नौलो विषय छ कि भनेर खोजी गर्ने, सरल स्वतःस्फूर्त लय तथा हार्दिक शैली मन पराउने पाठकको रुचि अनुसारका विषय यो किताबमा प्रशस्त छन् ।
