२० वर्षअघि गोदावरी बोटानिकल गार्डेन भव्य र सभ्य थियो । सुन्दर, सुसज्जित र व्यवस्थित थिए– फूल, लहरा, लतिका, बोटबिरुवा । हाताभित्रैको ‘वाटर फाउन्टेन’ मनोहारी थियो, तर अहिले ?
काठमाडौँ — उफ ! लौ न ! कस्तो फसाद परेको ! हत्तेरिका ! कत्रो गाह्रो ! जाबो एउटा सन्दर्भ सम्झन पनि । मजस्तै तपाईंलाई पनि पुरानो कुरा सम्झिँदा गाह्रो पर्छ ? यदि सजिलै सम्झन सक्नुहुन्छ भने पक्का हो म नै महाबोधो रहेछु । माफ पाऊँ है । चेतनाले थाहा पाउने गरी फूल, लता, लतिका र व्यवस्थित बगैंचा कहिले कुन उमेरमा देखें ?
सम्झें–सम्झें । यही कुरा सम्झन खोज्दा आपत् परेको हो । तत्कालीन चन्द्रनिगाहपुर वार्ड १ निवासी स्वर्गीय चन्द्रराज काफ्लेको घर अगाडिको बगैंचा सम्झें ।
...
त्यस्तै, ७ वर्षको हुँदो हुँ । तिनताक हामी हुर्केको चन्द्रनिगाहपुर (हाल चन्द्रपुर नगरपालिका) महेन्द्र राजमार्गले छोएको विशाल खोरिया थियो । समथर जमिनमा ठूलठूला गरामा हटाउन नसकिएको विशाल साल, सिमल, कुसुम, बाज, कर्मा र जमुनाका रुखका जराहरू जताततै देखिन्थ्यो । कतिपय खेतमा रुखहरूको जरालाई आगो लगाएर निमिट्यान्न पार्ने प्रयास गरेको पनि धेरैतिर देखिन्थ्यो । यस्तो गाउँमा कतिपय अन्य नेपालीझैं काभ्रेपलाञ्चोक, मेथिनकोटको काफ्लेथोकबाट बसाइँ आएका स्वर्गीय चन्द्रराज काफ्लेमा फूल र बगैंचाप्रति अत्यन्तै धेरै लगाब थियो । उनकै कान्छो छोरा चर्चित कलाकार राजन काफ्ले मेरो बालसखा हुन् ।
उनीसँग खेल्न र भेट्न म पनि गइरहन्थें र उनी पनि हाम्रो घर आइरहन्थे । हो, तिनैताक मैले उनको घरअगाडिको आँगनमा व्यवस्थित बगैंचा देखेको हुँ । विभिन्न खालका सयपत्री, मखमली, गोदावरी, गुलाब, बेली, चमेली, घन्टी, पारिजात, इन्द्रकमल लगायत अनेकौं फूल थिए । मेरो फुच्चे चेतनामा पहिलो पटक फूलहरू र बगैंचा छिर्यो । त्यो स्मृति नै गाढा भएर बस्यो । कहिलेकाहीं गाउँलेहरू फूल टिप्न खोज्थे तर अनेक दुःख गरेर बनाएको बगैंचाबाट फूलहरू टिप्दा चन्द्रराज काफ्लेको चित्त दुख्थ्यो ।
फूल टिप्ने गाउँलेलाई नटिप भन्दा चन्द्रराज काफ्लेलाई बेफ्वाँकमा रिसाएर ‘पागल’ भनेको चर्चा गाउँमा पछिसम्म सुनिएकै थियो । खैर जे होस् । जीवनमा मैले पहिलो पटक बगैंचा र पुष्प पहिचान पाएको चन्द्रराज काफ्लेको घरमै हो । उनको घर चन्द्रनिगाहपुर दुर्गाचोकबाट ५ सय मिटरपूर्व महेन्द्र राजमार्गसँगै दक्षिणपट्टि थियो ।
...
पुष्प, लतिका, लहरा र वनस्पतिसँगको पछिल्लो संयोग अनौठो छ । करिब ४ वर्षको उमेरमै छोरी अवनी चापागाईं हामीसँगै क्यानडा पुगिन्, उतै हुर्किन् । १५ वर्षीया छोरी अवनी अहिले पाठशाला नेपाल बागडोलमा अध्ययनरत छिन् । उनले काठमाडौं उपत्यकामा रहेको वनस्पति उद्यान घुम्न जाने रहर गरिन् । फलतः सपरिवार गत शनिबार गोदावरी पुग्यौं ।
मंसिर २२ गते गोदावरी बगैंचा पुगेका थियौं । घुमेर फर्कंदा छोरी अवनीलाई सोधें, ‘कस्तो लाग्यो ?’ उनी जवाफिइन्, ‘ठिक्कै ।’ जवाफले मन कुँडियो, चित्त दुख्यो । तर, त्यो छोरीले गर्दा होइन । नेता, नेतृत्व, सरकार र राजनीतिक दलहरूसँग ठोक्किएर मन दुख्यो । जसले अनेकौं प्रश्न, पौरख, प्रगति, परिवर्तन, पतन र पल्लवनसँग जोड्दै मेरो टाउको दुखायो ।
...
अतिवादी झैं न निराशामा विश्वास गर्छु न त अतिरञ्जनामै । २०३९ साल मीनपचासको बिदामा स्वर्गीय बुवा शिक्षक शम्भुप्रसाद चापागाईंको औंला समातेर गोदावरी पहिलो पटक घुम्न पुगेको थिएँ । मैले पाइला टेकेको २० वर्षअघि स्थापित गोदावरी बोटानिकल गार्डेन भव्य र सभ्य थियो ।
फूलहरू, लहरा, लतिका, बोटबिरुवा, अनेकौं वनस्पतिहरू सुन्दर, सुसज्जित र व्यवस्थित थिए । हरितगृहहरू पनि चिटिक्क सफा, संरक्षित, सुदृढ र सफलताको बिम्ब जस्ता थिए । त्यसमाथि हाताभित्रै रहेको ‘वाटर फाउन्टेन’ मनोहारी थियो, जसले मेरो किशोर मन र मस्तिष्क उद्वेलित पारेको थियो । त्यो सम्झना अझै गाढा छ । अरूले पनि त्यस्तै सम्झँदा हुन् । तर, अहिले ?
...
अचेल भनिन्छ, तुलना गर्नु नै दुःखको स्रोत हो । अझ सकारात्मक दृष्टिकोणमा ‘जस्तो दृष्टि उस्तै सृष्टि’ भनिएला । गरिब र धनी दाँजेर दुःखी हुनु एउटा कुरा होला । अत्यन्तै राम्रोसँग नराम्रो नापेर निराश हुनु हेराइ नै गलत होला । तर, आफूले आफूसँगैको विगत र वर्तमान तुलना गर्नु त सम्यक् दृष्टिकोण हो । अथवा यथार्थको कसीमा घोटेको भन्नुपर्ने हुन्छ– पुरानो शाही गोदावरी बोटानिकल गार्डेन र हालको राष्ट्रिय वनस्पति उद्यान गोदावरी दाँज्दा । यथार्थवादी दँजाई होला नि । उफ, धेरै दुःख लाग्छ ।
...
वन तथा वातावरण मन्त्रालयको मातहतमा छ अचेल गोदावरी उद्यान । त्यसकै आडमा छ, ललितपुर जिल्ला वन कार्यालय । राजा महेन्द्रले २०१९ साल कात्तिक १२ गते उद्घाटन गरेपछि सुरु भएको हो शाही गोदावरी वनस्पति उद्यान । तर, त्यसपछिका ६२ वर्षहरू बितिसकेछन् ।
खोइ त ६ दशकमा हरित गृहहरूको संख्या थपिएको ? खोइ त तिनताकका पुराना हरितगृहहरूलाई स्तरीकरण र संरक्षण गरेको ? खोइ त पुरानो गोदावरीकै तुलनामा ‘आहा’ गोदावरी बनाएको ? खोइ त नेपालीको बढ्दो जनसंख्या अनुकूल थप वाटर फाउन्टेनहरू बनाएको ? र, खोइ त पहिलेभन्दा अझ बढी सफा गोदावरी बनाएको ? प्रश्न अनेक छन् । कतै गोदावरीलाई ‘बाँदरको
हातमा नरिवल’ बनाउने सिलसिला त जारी छैन ? त्यसैले चित्त दुख्छ । आक्रोश, आवेग र असन्तुष्टिले उकालो चढ्छ ।
...
भन्न र कुरा गर्न जान्दैमा सचेत मानिसहरूले पनि कुनै व्यक्तिको मृगतृष्णा पत्याइदिनुपर्ने ! समृद्ध नेपाल सुखी नेपाली । संसारकै दरिद्रतम्मध्ये दरिद्र नेपालीले ‘आहा कस्तो सुविचारित परिलक्ष्य’ भन्दिनु पर्ने । अंग्रेजहरूले बनाइदिएको एउटा राष्ट्रिय महत्त्वको वनस्पति उद्यान राम्रोसँग संरक्षण र विस्तार गर्न नसक्नेहरूका कुरा मात्रै बढी ।
...
छोरी अवनी ! माफ गर ।
हाम्रो पिढीका असक्षम, अदूरदर्शी, गलत ढंगले सम्पत्ति जोड्ने चरम द्रव्यप्रेमी र तत्काल आफू र आफ्नालाई द्रव्य हात लागे जे–जस्तो जुनसुकै काम गर्ने नेताहरू छउन्जेल यस्तै हो ।
तर, हाम्रो पिढीका आम नेपालीहरू पनि जति चरम उपभोक्तावादी भएका छन् त्यति नै अल्छी र अधैर्य भएका छन् । आफ्नै आँगनअनि घरबारीमा तरकारी, सागसब्जी, फूल, फलफूल लगाउने पुरानो बानी छोडिसके । त्यसो गर्ने धैर्य बहुसंख्यक नेपालीले गुमाइसके । तर, त्यसको साटो तत्काल चाहियो संस्कृति हावी भइसक्यो । चाहिएपछि चाहियो जस्तो उपभोक्तावादले खाइसक्यो नेपालीलाई । भविष्यमा कता पुगिने अहिले केही भन्न सकिँदैन । प्लास्टिकका फूलहरू, माला, गमला, लहरा जस्तो कृत्रिम र अस्वस्थ सामानको प्रयोग बढ्दो छ ।
जे होस्, छोरी तिम्रो पिढीले सुविचारित ढंगले चल्नुपर्ने स्थिति छ । यसखालको अवस्थाको सिर्जना हुने गल्ती धेरै नेताहरूले थोरै जनताले गर्दा भएको हो । जे भने पनि छोरी, आशा नै जीवन हो । देशका वर्तमान लाउकेहरूले सकेनन्, गरेनन् । अब तिमीहरूकै पिढीप्रति छ हाम्रो आशा ।
