इतिहास केलाउँदा पृथ्वीनारायण शाह धेरै पढेका जस्ता देखिँदैनन्, तर उनले राज्य विस्तार र एकीकरणको काम कुशलतापूर्वक गरेको देखिन्छ
काठमाडौँ — पृथ्वीनारायण शाह को हुन् ? उनी नायक हुन् कि प्रतिनायक वा नायक बन्ने प्रक्रियामा रहेका नायकदेशीय ? मैले नयाँ पुस्तकको नाम यही बहसको सेरोफेरोमा पृथ्वीनारायण शाह : नायक, प्रतिनायक अनि नायकदेशीय राखेको छु ।
इतिहास केलाउँदा पृथ्वीनारायण शाह धेरै पढेका जस्ता देखिँदैनन् । तर उनले राज्य विस्तार वा एकीकरणको काम कुशलतापूर्वक गरेको देखिन्छ । उनले दिएको उपदेश, जसलाई कतिपयले दिव्योपदेश पनि भन्ने गरेका छन् । यस उपदेशका केही कुरा छाड्ने हो भने यो २१ औं शताब्दीको पाठ्यक्रममा पनि राख्न मिल्ने खालको छ । उनले उपदेशमा भनेका कैयौं कुरा अहिले पनि सान्दर्भिक देखिन्छन् ।
विदेशी व्यापारीलाई पर्सादेखि माथि आउन नदिनू, किनभने उनीहरूले आफ्ना प्रजाहरूलाई कंगाल पार्छन् भनेका छन् । विदेशी कपडा नलगाउनू, नाचगान गराउन गाउन परे यहीँका नेवारहरूबाट गराउनू भनेका छन् । खेत हुने ठाउँमा घर नबनाउनू, खानी फेला परे खेत मासेर भए पनि त्यसको उपयोग गर्नू भनी उनले बोलेका छन् । यहाँका जडीबुटीको व्यापार र प्रयोगलाई प्रोत्साहन गर्नूजस्ता कुरा उनले उपदेशमा भनेका छन् । यस्ता कुराबाट पृथ्वीनारायण शाहको राजनीतिक दृष्टिकोण बुझ्न सकिन्छ । उनका लुकेका विचार र योजना पनि मैले यो पुस्तकमा समावेश गरेको छु । नयाँ पुस्ताका लागि उनको भाषण वा विचार बुझ्न सजिलो होस् भनेर उपदेशको पूर्णपाठ पनि पुस्तकमा समेटेको छु ।
पृथ्वीनारायण शाहबारे नेपाली समाजले जेजति कुरा थाहा पायो, त्यो २००७ सालपछि मात्रै हो । किनकि राणा शासनकालमा पृथ्वीनारायण शाहलाई महत्त्व दिइएन । त्यस समयमा न त उनको आलोचना गरियो, न समर्थन नै । विसं. १९९२ मा सूर्यविक्रम ज्ञवालीको ‘पृथ्वीनारायण शाह’ भन्ने पुस्तक प्रकाशित भयो । पछि यस पुस्तकको समीक्षा गोरखापत्रमा प्रकाशित भयो । प्रेमराज शर्मा सम्पादक रहेको सो समयमा उक्त पुस्तकलाई अत्यन्तै होच्याएर समीक्षा गरिएको थियो । जसका कारण उक्त पुस्तकमा नेपालमा एक प्रकारको अघोषित प्रतिबन्धजस्तै लाग्यो ।
त्यतिबेला पनि उक्त पुस्तक भारतबाट छापिएको थियो । किनकि त्यस समयमा नेपालमा पुस्तक छाप्न असाध्यै गाह्रो थियो । प्रकाशनका लागि प्रोत्साहन पनि थिएन । त्यसमाथि राजनीतिक कुरा भएको, शाह राजाको बखान भएको किताब छाप्नु असम्भव नै थियो । यसकारण बाबुराम आचार्यले नेपालबाट आवश्यक दस्ताबेज दार्जिलिङमा रहेका सूर्यविक्रम ज्ञवालीलाई पठाए । अनि उतैबाट ‘पृथ्वीनारायण शाह’ पुस्तक छापियो ।
त्यतिबेलाको समयमा दार्जिलिङमा जातीय भावना थियो । त्यस समय बंगाली भाषामा अंग्रेजीको ‘नेसनल’ शब्दको उल्था ‘जातीय’ भनी गरिन्थ्यो । आज हामी त्यसलाई ‘राष्ट्रिय भावना’ भन्छौँ । गोर्खाली जातिलाई उठाउनुपर्ने भावना राखेर द्रव्य शाह, राम शाह र वीर बलभद्रको पुस्तक पनि सूर्यविक्रम ज्ञवालीले छपाए । बाबुराम आचार्यले आफैंले लेख्न र छाप्न कठिनाइ भएपछि सूर्यविक्रम ज्ञवालीलाई सहयोग गरी ‘पृथ्वीनारायण शाह’ को प्रकाशन गरेको बुझ्न गाह्रो छैन ।
सूर्यविक्रम ज्ञवालीले पृथ्वीनारायण शाहको भाषण भनेर उनको उपदेश छापे । प्रजातन्त्रकालमा बाबुराम आचार्य र नरहरिनाथले दिव्योपदेश भनी त्यस भाषणको नाम राखे । त्यसपछि पृथ्वीनारायण शाहको जन्मदिनमा सार्वजनिक बिदा दिने चलन पनि सुरु भयो । अनि पृथ्वीनारायण शाहलाई नायकका रूपमा चिनाउने क्रम सुरु भयो । कतिपयले पृथ्वीनारायण शाहका कुरालाई दिव्योपदेश भन्ने गरे पनि संशोधन–मण्डलले भने यसलाई उपदेश मात्रै भन्ने गरेको छ । किनकि दिव्य शब्दमा त धार्मिक भावना अन्तर्भूत छ ।
मेरो विचारमा पृथ्वीनारायण शाह नभएको भए यो राष्ट्रको निर्माण नै हुँदैनथ्यो । उनलाई हामीले नायक नै मान्नुपर्छ । राज्य निर्माण गर्दा पृथ्वीनारायण शाहले नरसंहार गरे भनी केही मानिस भन्छन् । नरसंहारको कुरा केही मात्रामा सत्य भए पनि, राज्य विस्तार हुँदा सबै ठाउँमा केही न केही अत्याचार चाहिँ भएकै हुन्छन् । तर पृथ्वीनारायण शाहबाट अत्याचार भने त्यति धेरै भएको देखिँदैन । त्यतिबेलाको परिस्थितिअनुसार पृथ्वीनारायणका केही कदम क्षम्यजस्तै लाग्छन् । रमाइलो त के छ भने ब्रिटिसहरूले आफ्नो साम्राज्य विस्तारका क्रममा संसारभरजसो हिंसा पनि गरे । तर, आफ्नो हिंसाभन्दा कैयौं गुना कम हिंसालाई उनीहरूले नै बढाइचढाइ गरेर लेखे । हाम्रा यहाँका अल्पपठित विद्वान्हरूले अंग्रेजले लेखेपछि मानिदिए, पत्याइदिए ।
पृथ्वीनारायण शाहले नाक काटेको भने सत्य हो । तर धार्नीको धार्नी भन्ने कुरामा भने सत्यता छैन । फेरि त्यस्तो काम त्यतिबेलाको समयअनुसार अक्षम्य अपराध भने हैन । किनकि पौराणिक कालमा रामायणमा पनि नाक काटेको घटना छन् । विसं. १९३३ सम्म पनि रुस र तुर्कीको लडाइँमा थुफै तुर्व सैनिकको नाक काटिएको घटना छ । नाक काट्नु राम्रो हैन तर युद्धमा यो हल्का खालकै अपराध हो ।
पृथ्वीनारायण शाहबारे नेपाली समाजमा केही भ्रामक तथ्य र विचार पनि छन् । त्यसैको एउटा अंश हो– मुगल सम्राट्जस्तै देखिने गरी औंला ठड्याइएको पृथ्वीनारायण शाहको तस्बिर । यही तस्बिरका आधारमा पृथ्वीनारायण शाहको सालिक पनि बनेका छन् । तर बुझ्नुपर्ने कुरा के छ भने पृथ्वीनारायण शाह तस्बिरमा देखाइएजस्तो बलिष्ठ वा दबंग खालको शरीर भएका व्यक्ति थिएनन् । ७ महिनामा जन्मिएकाले पनि उनी शारीरिक रूपमा भयंकर कायाका थिएनन् भन्ने देखिन्छ ।
पृथ्वीनारायण शाहसँग भविष्यप्रतिको योजना भने भएको देखिन्छ । त्यही योजना भएकैले उनी राज्यविस्तार गर्नुअघि बनारस गएको देखिन्छ । त्यहाँ उनले भारतका विभिन्न राज्यको शक्ति बुझ्नेदेखि फर्किंदा हतियार बनाउन सक्ने मुस्लिम कारिगरहरू पनि सँगै लिएर आएको देखिन्छ । यसका अलावा उनले त्यहाँछँदा आफ्नो गोत्र परिवर्तन गरेका थिए । किनकि नेपाल फर्केर राज्यविस्तार सुरु गर्दा यहाँका थरीथरी राज्यका राजाहरूसँग लडनुफर्थ्यो ।
तीमध्ये वेही उनका सगोत्री भएकाले गोत्रहत्याको पाप लाग्ने डरले उनले बनारसमै आफ्नो काश्यप गोत्रसमेत परिवर्तन गरेर भारद्वाज गोत्र राखेको देखिन्छ । पृथ्वीनारायण शाहबारे विद्यमान अनेकन् भ्रम चिर्ने काम मात्रै मेरो पुस्तकले गरेको छैन, कैयौं नयाँ तथ्य उधिन्ने काम पनि गरेको छ ।
(कुराकानीमा आधारित)
