पछिल्ला केही वर्षझैं सन् २०२५ मा पनि उन्नत चिप बजारमा आधिपत्य जमाउन भूराजनीतिक र व्यावसायिक प्रतिस्पर्धा कायम रहने अनुमान गरिएको छ
काठमाडौँ — एआई र क्रिप्टोकरेन्सीको ख्याति अब कता ढल्किएला ? नयाँ आइफोन र अन्य कस्ताखाले ग्याजेट बजारमा आउलान् ? अनलाइन गेमिङ, स्ट्रिमिङ र सामाजिक सञ्जालको प्रतिस्पर्धा अझै कति बढ्ला ?
मोबाइल प्रविधि, अन्तरिक्ष खोज, प्रविधिको नियमन र चिप युद्धले कस्तो स्वरूप लेला ? समग्रमा, सिलिकन भ्यालीको अकासिँदो राजनीतिक–आर्थिक प्रभाव वर्ष २०२५ मा कायम रहला कि खस्केला ?
भूराजनीति र विश्व अर्थतन्त्रसँग प्रविधि बजारको साइनो कस्तो होला भन्ने कौतूहल यसपालि अलि चाँडै नै देखापर्यो । गत नोभेम्बर पहिलो साता डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति निर्वाचित भएसँगै आउँदा दिन प्रविधि क्षेत्रका लागि कस्ता होलान् भन्नेबारे अनेक अड्कलबाजी सुरु भएका थिए । विश्व प्रविधि बजारमा सधैं प्रमुख हिस्सा ओगट्ने अमेरिकाको यसप्रतिको रवैयाले बजारका कतिपय पक्ष निर्धारण गर्ने भएकाले ट्रम्प र उनको प्रशासनप्रति चासो बढेको हो ।
आफ्नो दोस्रो कार्यकालका लागि सिलिकन भ्यालीका भित्रियाहरूको ठूलो समूह नै निर्धारण गरेका ट्रम्पले यस पटक प्रविधि क्षेत्रलाई विशेष महत्त्व दिने देखिएको छ । उनका उपराष्ट्रपति जेडी भान्स आफैं सिलिकन भ्यालीका भेन्चर क्यापिटलिस्ट थिए भने विवेक रामास्वामी, इलन मस्कजस्ता प्रविधि धनाढ्यले ट्रम्पको सरकारमा महत्त्वपूर्ण स्थान पाउने पक्का भइसकेको छ ।
ट्रम्पको फ्लोरिडास्थित बंगालो मार–ए–लागोको चक्कर काट्न सुरु गरेका टेक अर्बपतिहरूको दौडधुपले पनि वर्ष २०२५ भर यो क्षेत्र ट्रम्प प्रशासनको नीतिगत र व्यावसायिक रवैया आसपास घुम्ने देखाएको छ ।
अमेरिका र सिलिकन भ्याली मात्र होइन, युरोपेली संघ, जापान वा प्रतिस्पर्धी रुस र चीन, सबैको जिज्ञासु आँखा ट्रम्पतर्फ छन् । निर्वाचित हुनुअघि ट्रम्पले अघि सारेको ‘प्रोजेक्ट २०२५’ नामक अवधारणापत्रमा प्रविधि व्यवसाय क्षेत्रलाई उल्लेख्य स्थान दिइएको थियो । यसले पनि ट्रम्पप्रति सबैको उत्सुकता बढेको हो । यसरी हेर्दा वर्ष २०२५ प्रविधि उद्योगका लागि ऐतिहासिक वर्ष बन्ने संकेत देखापरेका छन् ।
प्रविधिमा पूर्वानुमान
पछिल्ला केही वर्षझैं सन् २०२५ मा पनि उन्नत चिप बजारमा आधिपत्य जमाउन देशहरूबीच भूराजनीतिक र व्यावसायिक प्रतिस्पर्धा कायम रहने अनुमान गरिएको छ । ‘सेमिकन्डक्टर र अन्य प्रविधिमाथिको दौडधुप जारी रहनेछ,’ सूचना प्रविधिसम्बन्धी सञ्चार माध्यम पीसी म्यागले लेखेको छ, ‘एनभिडिया र एएमडीको सफलताले निरन्तरता पाइरहँदा इन्टेल पनि उनीहरूलाई भेट्न पछि–पछि दौडिरहनेछ ।’
अहिले विश्वकै दोस्रो मूल्यवान् कम्पनी रहेको चिप निर्माता कम्पनी एनभिडियाले पहिलो बन्नका लागि एप्पल र माइक्रोसफ्टलाई बलियो टक्कर दिने निश्चित छ । एआई, एज कम्प्युटिङ, क्लाउड, स्ट्रिमिङ, गेमिङलगायत क्षेत्रको बढ्दो प्रतिस्पर्धाले यी क्षेत्रलाई दिने लाभ आगामी वर्ष जारी रहने पक्कापक्की छ ।
आफ्ना उन्नत चिपसँगै लार्ज ल्याङ्वेज मोडल, जेनेरेटिभ एआई र रोबोटिक प्रविधिमा लगानी बढाएको एनभिडियालाई एड्भान्स्ड माइक्रो डिभाइस (एएमडी), ब्रोडकम, इन्टेलसँगै ताइवानी सेमिकन्डक्टर उत्पादन कम्पनी टीएमएससीले टक्कर दिने प्रयास गर्नेछन् । वर्ष २०२५ मा सेमिकन्डक्टर बजारको आकार बढेर लगभग ८ खर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।
यस क्षेत्रको आम्दानी झन्डै १४ प्रतिशतले बढ्ने प्रक्षेपण छ । हुवावेलगायत चीनका केही कम्पनीले सेमिकन्डक्टरमा आत्मनिर्भरताको प्रयास जारी राख्नेछन् । चीन र अमेरिकाबीच एक–अर्कालाई निषेध गर्न खोज्ने र बजार प्रभावित पार्न खोजेको आरोप लगाउने ‘चिप युद्ध’ ट्रम्पको प्रवेशले पेचिलो बन्ने पक्कापक्की छ । चिप बजारमा हाई ब्यान्डविथ मेमोरी, टुएनएम प्रोटोटाइप र पावर कम्पोनेन्टमा नयाँ प्रविधि आउने अनुमान छ ।
सन् २०२५ लाई लिएर अत्यन्तै उत्साहित अर्को क्षेत्र क्रिप्टो बजार हो । क्रिप्टो मुद्राका समर्थक र प्रवर्द्धक रहेका ट्रम्पसँगै जेडी भान्स र मस्क अमेरिकी सत्तामा पुग्दा यो क्षेत्र अहिले पुलकित देखिन्छ । ट्रम्पको जित आसपास एक लाख अमेरिकी डलर पुगेको बिटक्वाइन वर्ष २०२५ को अन्त्यसम्म १ लाख ६० हजार अमेरिकी डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
विश्वव्यापी क्रिप्टो बजारको आकार बढेर लगभग ८० खर्ब अमेरिकी डलर पुग्ने क्वाइनपेडियाको आकलन छ । इथेरम, कार्दानो, सोलाना, पोल्काडटलगायत सयौं क्रिप्टो मुद्राको प्रगति यो वर्ष बढ्ने पक्काजस्तै छ ।
यो वर्ष सहजै अनुमान गर्न सकिने अर्को पक्ष आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को थप र विस्तारित प्रभाव हो । एआईको प्रयोग कन्टेन्ट जेनेरेसनमा मात्र सीमित नरहेर क्रिप्टो, ई–कमर्स, सामाजिक सञ्जाल, गेमिङ, क्लाउड, हरित प्रविधि, चिकित्सा विज्ञानलगायत समाजका असंख्य क्षेत्रसँग बढीभन्दा बढी समायोजन हुँदै गएको छ ।
सन् २०२५ मा एआई क्षेत्रको बजार आकार बढेर झन्डै ८ खर्ब अमेरिकी डलर आसपास पुग्ने अनुमान गरिएको छ । जेन–एआईसँगै रोबोटिक्स, सुपर कम्प्युटिङ, डेटालगायत क्षेत्रमा एआई–बेस्ड नयाँ प्रविधि थपिँदै जानेछन् । उदाहरणका लागि आगामी एक दशकमा चिकित्सा क्षेत्रमा एआईको प्रयोग १७ गुणाले बढ्ने अनुमानहरू सार्वजनिक भएका छन् ।
यो वर्ष बजारमा एआईको बहुचर्चित लार्ज ल्याङ्वेज मोडलसँगै स्मल ल्याङ्वेज मोडल, सर्च इन्जिन, एज कम्प्युटिङ लगायतमा उल्लेख्य नयाँ उत्पादन आउने अपेक्षा गरिएको छ । योसँगै एआई क्षेत्रको नियमनका सम्बन्धमा पनि वर्ष २०२५ महत्त्वपूर्ण बन्ने अनुमान गरिएको छ ।
ग्याजेटका क्षेत्रमा २०२५ अत्यन्तै नयाँ प्रविधिभन्दा पनि एआईको समायोजन, डिजाइन र प्रयोगकर्ताको अनुभव सुधारमा आधारित उत्पादनहरू बजारमा आउने अपेक्षा गरिएको छ । एप्पलको आइफोन १७ सिरिज एआईमा आधारित क्यामरा र चिपहरूसाथ आउने अनुमान गरिएको छ ।
त्यस्तै, २०० मेगापिक्सेलको क्यामरासहित सामसङ ग्यालेक्सी एस २५ र अन्य मोडल, वनप्ल ओपन टु, नथिङ फोनको सिरिज थ्रीसँगै हुवावेको मेट एक्सटी, साओमी फोल्ड थ्री मोडलहरू बजारमा आउनेछन् ।
फोल्ड हुनेखाले फोन, सुधारिएका डिस्प्ले र प्रोसेसरसँगै गेमिङ र स्ट्रिमिङका पारखीलाई तान्ने प्रयासमा रहेका स्मार्टफोनको बजार यो वर्ष साढे पाँच खर्ब अमेरिकी डलर आसपास पुग्ने अनुमान गरिएको छ । फाइभ जीसँगै र स्याटेलाइट इन्टरनेटको बढ्दो प्रभावले स्मार्टफोन कम्पनीहरूको बजार अझै बढ्ने देखिन्छ ।
सन् २०२५ भित्रै एप्पल ४० खर्ब अमेरिकी डलर बराबरको पहिलो कम्पनी बन्ने देखिन्छ भने सामसङ, हुवावे, साओमी, ओप्पो, भिभो, सोनीलगायत धेरै कम्पनी एप्पललाई टक्कर दिनेमा लाग्नेछन् ।
ल्यापटप, हेडफोन, स्वास्थ्यसम्बन्धी ग्याजेट, गेमिङसम्बन्धी कतिपय मोडलसँगै अगमेन्टेड र भर्चुअल रियालिटीमा आधारित उपकरण तथा हरित प्रविधिलाई बढावा दिने उत्पादन पनि बजारमा आउनेछन् । निन्टेन्डो, प्लेस्टेसन, एक्सबक्सका नयाँ मोडल, एप्पल, गुगल, हुवावे र सामसङजस्ता कम्पनीका स्मार्टवाचका पछिल्ला सिरिज, सोनी, एप्पल र अन्य कम्पनीका अडियो डिभाइस बजारमा आउनेछन् ।
एसर, लिनोभोजस्ता कम्पनीले एनभिडियाको जीपीयूसहितका पर्सनल कम्प्युटर र फोल्डेबल ल्यापटप ल्याउने तयारी गर्दा एप्पलको म्याकका पछिल्ला भर्सनमा सुधारिएका चिप र एप्पल इन्टेलिजेन्सको प्रयोग बढ्नेछ । गेमिङसम्बन्धी डिभाइसहरूको बजार सन् २०२५ मा साढे दुई खर्ब पुग्ने र यसमा सोनी, माइक्रोसफ्ट र निन्टेन्डोबीच प्रभुत्वको प्रतिस्पर्धा जारी रहने अनुमान गर्न सकिन्छ ।
वर्ष २०२५ मा बढ्ने प्रतिस्पर्धाको कुरा गर्दा छुटाउन नहुने अर्को क्षेत्र सामाजिक सञ्जाल हो । विश्वका ठूला भनिने लोकतन्त्रहरूमा निर्वाचन जित्न मात्र नभएर निरंकुश व्यवस्थाविरुद्ध लड्न र राजनीतिक एजेन्डासँगै मिथ्या र भ्रामक सूचना फैलाउन पनि झनै बलियो बन्दै गएको सामाजिक सञ्जालको व्यवस्थापनसम्बन्धी चुनौती यो वर्ष जारी रहनेछ ।
सामाजिक सञ्जालमा प्रसार हुने विज्ञापनको बजार मात्रै यो वर्ष ३५० अर्ब अमेरिकी डलर पुग्ने गार्टनरको अनुमान छ । एआईमा आधारित कन्टेन्ट, छोटा भिडियो, प्रत्यक्ष प्रसारण र एआर–भीआर सामग्रीहरू भरमार थपिनेछन् ।
सन् २०२५ सम्ममा सक्रिय रूपमा सामाजिक सञ्जाल चलाउनेको संख्या सवा ५ अर्ब अर्थात् विश्व जनसंख्याको झन्डै ६३ प्रतिशत पुग्ने अनुमान गरिएको छ । समाजका हरेक क्षेत्रमा प्रभाव पार्न सुरु गरेको सामाजिक सञ्जालले कनेक्टिभिटी र सञ्चार सहजतासँगै ल्याउने प्रतिकूल असरविरुद्ध जुध्न सरकार र समुदायहरूको टाउको दुखाइ यो वर्ष पनि उत्तिकै हुनेछ ।
वर्षको सुरुमै अमेरिका र विश्वभर टिकटकको भविष्य के हुन्छ भन्ने विषयको निरूपण हुनेछ । गुगल, मेटालगायत कम्पनीले अमेरिका र विश्वका अन्य भागमा झेलिरहेका कानुनी र नीतिगत प्रश्नको समाधान कसरी गर्छन् भन्ने पनि हेर्नलायक विषय हुनेछ । सर्च इन्जिन, कन्टेन्ट क्रिएसन, मार्केटिङ, अडियन्स एनालिसिसजस्ता क्षेत्रमा एआईको बढ्दो प्रयोगले पनि यो वर्षको प्रतिस्पर्धालाई रोचक बनाउनेछ ।
वर्ष २०२५ मा प्रविधितर्फको अर्को ठूलो दौडधुप अन्तरिक्षमा हुनेछ । स्पेस एक्स र ब्लू ओरिजिनजस्ता निजी कम्पनीले अन्तरिक्ष पर्यटन र यात्रामा गर्दै आएको प्रतिस्पर्धामा बोइङ मिसिएसँगै अन्तरिक्षको व्यापारीकरण व्यापक प्रतिस्पर्धात्मक बन्ने संकेत देखिन्छ ।
यो वर्षभर स्पेससम्बन्धी कार्यहरूका लागि विश्वका विभिन्न देश र संस्थाले झन्डै ६ खर्ब अमेरिकी डलर खर्च गर्ने र सन् २०३५ सम्ममा यो खर्च त्यसको ३ गुणा बढ्ने अनुमान गरिएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा एक्लैले सन् २०२५ मा लगभग २७ अर्ब अमेरिकी डलर खर्चने योजना बनाएको छ ।
यो वर्ष चन्द्रमा यात्राको प्रयासस्वरूप नासा र जापानले छुट्टाछुट्टै यान पठाउने योजना बनाएका छन् । चीनले आफ्नै अन्तरिक्ष केन्द्रको थप विकास र पुच्छ्रेताराको नमुना संकलनको योजना बनाएको छ । छिमेकी भारतले यसै वर्ष शुक्र ग्रहसम्म यान पठाउने र मानवसहितको अन्तरिक्ष यात्रातर्फको तयारी गर्ने योजना बनाएको छ ।
अमेरिकाले युरोपेली अन्तरिक्ष निकायसँगको सहकार्यमा मंगल ग्रहमा संकलित नमुना फिर्ता ल्याउने प्रयत्न गर्नेछ । यस्तै, अन्य ग्रह र उपग्रहको खोज २०२५ मा थप हुँदै गर्दा अन्तरिक्षमा एआईको उपस्थिति, पुनः प्रयोग हुने प्रविधिको प्रयोग र व्यावसायिक उडानमा पहल बढ्नेछन् ।
वर्ष २०२४ मा सर्जकहरूको आन्दोलनलगायत कारणले गर्दा स्ट्रिमिङ र ओटीटी प्लाटफर्महरूमा कतिपय ठूला शो र प्रोडक्सन रोकिएका थिए । नेटफ्लिक्स, अमेजन प्राइम, डिज्नी, हुलु, एप्पल टीभी, एचबीओ, युट्युब लगायतका स्ट्रिमिङ प्लाटफर्मका लागि सन् २०२५ अपेक्षित रूपमा नयाँ र ठूला शो ल्याउन र प्रभुत्व जमाउनेमा केन्द्रित रहनेछ ।
सुधारिएको प्रोडक्सन र सर्वसुलभताले यस्ता प्लाटफर्मप्रतिको आकर्षण अझै बढ्ने अनुमान गरिएको छ । स्ट्रेन्जर थिङ्स, हाउस अफ ड्रागन, मार्बल, लर्ड अफ द रिङ्गस, अवतारजस्ता कैयौं ठूला प्रोडक्सन यो वर्ष नयाँ सिजनसहित ओटीटीमा फर्कंदै छन् । अनलाइन विज्ञापनको बढ्दो बजारलाई युट्युब, मेटा, टिकटक र अन्य स्ट्रिमिङ प्लाटफर्मले सक्दो उपयोग गर्नेछन् ।
समग्रमा, वर्ष २०२५ नयाँ उत्पादन वा प्लाटफर्म बनाउनेभन्दा पनि भइरहेका उत्पादन र प्लाटफर्मको अनुभव र शैली सुधारमा केन्द्रित रहने विश्लेषण भइरहेको छ । माथि उल्लिखित विषयसँगै विद्युतीय सवारी, सुपर कम्प्युटर, हरित प्रविधिजस्ता क्षेत्रमा पनि बजारको आकार र नवीनतम सोच बढ्ने अनुमान गरिएका छन् ।
यी सबैका बीच, एउटा कुरा भने पक्का छ– प्रविधि क्षेत्रका धनाढ्यहरू अझै शक्तिशाली र धनी बन्नेछन् भने ट्रम्प सरकारमा मन्त्री हुने तयारीमा लागेका इलन मस्कको सम्पत्ति ५ खर्ब कट्ने पक्कापक्की छ । एजेन्सीको सहयोगमा
