पहाड उबडखाबड देखिन्छ र मधेश समथर । भौगोलिक बनावटका दृष्टिले दुवै पृथक् भए पनि भोगाइका दृष्टिले दुवैमा उस्तै जटिलता छन्, जटिलतामा समानता पनि छ ।
काठमाडौँ — पहाडका खोल्साखोल्सीमा लुकामारी खेल्दै हुर्किएकी म, यतिबेला मधेशको माटोमा अक्षर–खेती गरिरहेकी छु । देवीस्थानको घन्टाको आवाजले ब्युँझने मेरा कान अहिले ‘अल्लाह हुँ अकबर’ सुन्न अभ्यस्त छन् ।
‘नमस्कार’ मात्रै गर्न जानेका मेरा हात कतै ‘प्रणाम’ मा उठ्छन्, कतै ‘सलाम वालेकुम’ मा, कतै ‘गोर लागैसी’ भनेर निहुरिने शिरलाई आशीर्वाद दिँदै हुन्छन् ।
तिजको दर मात्रै होइन, छठको ठेकुवा, माघीको सनेस र इदको सेबइ चाख्न पाएकी छु । घोंघी र मसुलारको स्वादले जिब्रो पड्काउन जानेकी छु । भजनकीर्तन र नाद गुनगुनाउन थालेकी छु । शिवचर्चा होस् या जितिया, अष्टजाम, पूजा मटकोर, समाचकेवा ब्रह्म पूजा होस् या छठीमाईको भजन । संस्कृतिको लय समातेर मधेशको बृहत् सांस्कृतिक आयामका भिन्नभिन्न पाटामा रमाउँदै देहातभित्रको समाजशास्त्र बुझ्न पाएकी छु ।
के छ र छोरीको
बग्ने पानी, उड्ने चरीको
भीरमा लर्क्यो खर
जाँ लान्छ कर्मले उहीं हो मेरो घर
डाँडापात्लेका फोटाहरूमा धानभित्रको सामो निकाल्दै या छिनढुंगाको खरबारीमा खर काट्दै किशोरवयमा धेरै गुनगुनाइयो यो गीत । उसो त यो गीत मात्रै कहाँ थियो र ? यो त प्रत्येक किशोरी–मनले आफैंलाई सोधेको आफ्नै हृदयको प्रश्न थियो र थियो उत्तर पनि । जुन उत्तरमा मिसिएको हुन्थ्यो अगाध चिन्ता र पीडा आफ्नै अनिश्चित जीवनसँगको ।
‘छोरीको आफ्नै घर हुँदैन, थर हुँदैन, रहर हुँदैन’ सुनेर हुर्केकी मेरा लागि मधेश भने मेरै रहरले डोर्याएको थलो हो । विवाहको कारण मधेशसँग जोडिए पनि हामी मधेश बस्न बाध्य थिएनौं । जिन्दगीको संगति राम्रोसँग चलिरहेका बखत शिक्षक सेवा आयोगको विज्ञापन खुल्यो, जसले जगायो सरकारी विद्यालयको शिक्षक हुने मभित्रको हुटहुटी ।
सोही हुटहुटीले हाम्रो जिन्दगीको पदक्रम बिगारिदियो । कर्ता बेनीमै छोडेर कर्मको डोरो समाउँदै साथमा ३ वर्षे छोरी र गर्भमा ७ महिनाको छोरासहित पार गरें– कालीगण्डकी । र, आइपुगें चाँदी नदीको बगरमा, जहाँ परख गरिरहेका छौं हामी आफूलाई, आफ्नो बुझाइलाई र आफ्नै पौरखलाई ।
पहाडमा ३० दिन धान रोपेर मुस्किलले ४ महिना खान पुग्ने धान भित्रिन्थ्यो र बाँकी ८ महिना अधिकांश घरमा पाक्थ्यो, उँदाको चामल । यो उँदाको चामल कहाँबाट आउँछ ? मेरा बालप्रश्नलाई हल गर्ने पालो आवोईंको भागमा पर्थ्यो, ‘मधेशबाट ।’ आवोईंको जवाफपछि मेरो बालमस्तिष्कले मधेश सम्झेर चौराखेतका गह्राभन्दा पनि ठूलाठूला गह्रामा धान झुलिरहेको चित्र बनाउँथ्यो । मधेश अर्थात् धानै–धान फल्ने ठाउँ । एक गतिलो ठाउँ ।
अलिक ठूली भएपछि गाउँमा केही मानिस सिरक, खोल, तन्ना भन्दै आएको देखें । तर मेरा गाउँका मानिस ती मानिसलाई खास राम्रो व्यवहार गर्दैनथे । तीप्रति गरिएको अपमान र हेपाइ मेरो कलिलो दिमागले महसुस गर्थ्यो । अझ गाउँका पाका मानिस आफ्ना छोरी, बुहारीलाई ‘यिनीहरूसँग जोगिनु है’ भन्थे । किन यसो भनेको होला ? बुझ्दै जाँदा कसैको मुखबाट सुनें, ‘यी देसीहरू हुन्, यिनीहरूले त जे पनि गर्न सक्छन्, यी सारै खराब हुन्छन् ।’
‘देसी भनेको नि ?’ मेरो प्रश्नले उत्तर पायो, ‘मधिशे के ! मधेशमा बस्ने मान्छे ।’ ‘अहो ! त्यस्तो धान फल्ने गतिलो ठाउँमा यस्ता अगतिला मान्छे पो बस्दा रहेछन् है !,’ म पहिलो पटक बालखैमा झस्किएँ अनि त मधेशसँग झस्किने क्रम निरन्तर चलिरह्यो । कहिले अखबारको हेडलाइनमा आउने बमकाण्डका खबरले झस्किएँ, कहिले बोक्सीका नाममा प्रताडित महिलाका खबरले झस्किएँ भने कहिले दहेजका कारण जलाइएका महिलाका अनुहारले झस्किएँ ।
सबैभन्दा बढी त २०६५ सालको नवरात्रका बेला चन्द्रनिगाहपुर चोकमा आँखै अगाडि आएको ड्याम्मको आवाज र क्षतविक्षत शरीर देखेर झस्किएँ । र, त्यो मेरो अन्तिम झस्काइ थियो ।
त्यस घटनापछि भने मेरो मनमा निकै प्रश्न उब्जन थाले । मेरा वरिपरिका मानिसहरू तराईलाई त्राहि–त्राहिको बिम्बझैं बुझाइरहेका हुन्थे । म भने किन–किन उनीहरूसँग सहमत हुन कहिल्यै सकिनँ ।
पहाड छोड्दाका दिन कक्षा ९ का एक विद्यार्थीले प्रश्न गरे, ‘म्याम तपाईं रौतहट जाँदै हुनुहुन्छ हो ?’ उत्तर प्रश्नमै थियो, मैले टाउको हल्लाएँ । उनले थपे, ‘म्याम तपाईंलाई थाहा छ, तपाईं जुन जिल्ला जाँदै हुनुहुन्छ ? त्यो जिल्ला साक्षरता दरमा अन्तिमबाट एक नम्बरमा आउँछ । हिंसा र आपराधिक गतिविधि उच्च हुने जिल्ला हो ।
महिला हिंसाको तथ्यांक हेर्नुभो भने त झन् भयानक छ । तपाईंको घर त्यस्तो जिल्लामा पो !’ उनको त्यो बोली आजपर्यन्त मेरा कानमा गुन्जिन्छ । उनको त्यो अबोध अनुहारमा आफ्नो शिक्षकप्रतिको चिन्ता मात्र थिएन, मधेश हेर्ने–बुझ्ने दृष्टिकोणले आकार पनि लिँदै थियो ।
पहाडबाट मधेश हेर्ने दृष्टिकोण त एक खालको छँदैथ्यो । मधेशबाट मधेश हेर्ने दृष्टिकोण पनि त खासै भिन्न रहेनछ । ‘लौ ! डुमरिया पो । यतै मिलाउनुपर्छ । तलतिर ठीक हुन्न ।’ मेरा आफन्त–शुभचिन्तक खुब चिन्ता व्यक्त गर्थे । चन्द्रनिगाहपुरदेखि ९ किमि मात्रै दक्षिण मेरो विद्यालय थियो, तर सबैको बुझाइमा त्यो ठाउँ ‘ठीक’ थिएन ।
सुत्केरी भएपछि अधिकांशले एकै खालको राय दिनुभो, ‘सानो बच्चा बोकेर नजानू है त्यता । कस्ता–कस्ता मान्छे हुन्छन् ।’, ‘बच्चा त लग्यौ लग्यौ कम्तीमा कालो टीका त लगाउनुपर्छ
नि !,’ निकै पटक हप्की पनि खाएँ । जन्मँदै हेमोग्लोबिन कमी भएको छोरा नियमित बिरामी परिरहन्थ्यो, तर अपजस भने अरूले नै पाउँथे । मन भित्रभित्रै आक्रोशित हुन्थ्यो । सबै ठाउँमा बोल्न नसकिने, नमिल्ने पनि । कति स्थानमा प्रतिवाद गरें, कति स्थानमा मैले सुनेको नसुनै पनि गरें ।
गंगा सर भनिरहनुहुन्छ, ‘कुनै स्थान या मानिसप्रति पूर्वधारणा नराख्नू । पूर्वधारणाकै कारण हामीले गलत बुझ्न र व्यवहार गर्न सक्छौं ।’ म यसप्रति सचेत थिएँ, जसकारण कार्यस्थलमा मलाई सुरुवातमै सबैसँग सहज अनुभूत भयो । मैले आरम्भमा मधेशलाई मेरा विद्यार्थीका आँखाबाट बुझ्न कोसिस गरें ।
सरकारी विद्यालय भएकाले समाजका सीमान्तकृत विपन्न परिवारका बालबालिकासँग निकट हुन पाएँ । तिनै विद्यार्थीमार्फत तिनका परिवारसित पनि भेटघाट भयो । देहातको आर्थिक–सामाजिक पिरामिडमा सबैभन्दा तल रहेका व्यक्तिका सुख, दुःख, समस्यालाई नजिकबाट नियाल्न थालेपछि बल्ल मलाई मधेशको असली अनुहारको नजिक पुगें कि भन्ने भान हुन थाल्यो ।
जसरी ठिङ्ग उभिएको देखिन्छ पहाड, त्यसैगरी लमतन्न फैलिएको छ– मधेश । पहाडले आफ्नो छातीमा लालीगुराँस र लालुपात फुलाएझैं, मधेशले पनि फुलाइरहन्छ– गुलमोहर र सूर्यमुखी । समयको आँधी, हुरी र पहिरोबाट जसरी थिलथिलो हुन्छ पहाड, त्यसरी नै मधेशमा पनि कहिले बाढी पस्छ, कहिले लु चल्छ, कहिले शीतलहर !
झट्ट हेर्दा पहाड उबडखाबड देखिन्छ र मधेश समथर । भौगोलिक बनावटका दृष्टिले दुवै पृथक् भए पनि भोगाइका दृष्टिले दुवैमा उस्तै जटिलता छन्, जटिलतामा समानता पनि त छ । समाजमा व्याप्त विभेद, अव्यवस्था दुवैतर्फ उस्तै छ । ती बेथितिविरुद्ध संघर्ष गर्ने, चिर्ने, जित्ने पात्र दुवैतर्फ छन् । शक्ति र सत्ताको तनावले दुवैको पिँधमा उकुसमुकुस मात्र छ । फरक यत्ति हो पहाडको भाषा देशले बुझ्छ, तर मधेशको भाषा ?
भाषा ? सानो प्रसंग कोट्याएँ । विद्यालय प्रवेश गरेको पहिलो हप्ताको घटना हो । रुटिन नबनेकाले म अफिसमै थिएँ । एकजना म्याम हतारिँदै अफिस छिर्नुभयो । हेडसरसँग ‘हमर भैँसुर मरगेल बिदा’ चाहिँ भन्नुभयो र छिटोछिटो निस्कनुभयो । त्यसपछि केही दिन म्याम आउनुभएन । मैले मनमनै सोचें सोचिरहें, एउटा भैंसी मर्दैमा कति दिन पो बिदा चाहिने रहेछ ! पछि मात्र थाहा पाएँ, भैंसी होइन भैंसुर अर्थात् जेठाजु बित्नुभएको रहेछ । बेलाबेला लाग्छ, मधेशले ‘भैंसुर’ भनिरहँदा बुझ्नेले भैंसी पो बुझिदिए कि !
उसो त मधेश उर्बरा भूमि मात्रै नभई कला, संस्कृति र भाषाका हिसाबले विविधतायुक्त समृद्ध ठाउँ पनि हो । तर, यो देशको अन्न भण्डारमा उभिएर मैले सबैभन्दा बढी भोका मानिस देखेकी छु, भेटेकी छु । मधेशमा भोक व्याप्त छ । हुँदा खाने वर्ग, जो यहाँको जमिनको माली मात्रै हो, मालिक अर्कै छन् ।
उनीहरूमा शिक्षाको भोक छ । हुनेखाने र गरिखाने वर्गमा भाषाको भोक, पहिचानको भोक, अवसरको भोक, अपनत्वको भोक र सबैभन्दा बढी देशले दर्शाउने प्रेमको भोक छ । कहिलेसम्म मधेश आफू भोको रहेर सिंगो देशलाई तृप्त पार्न सक्ला र ? बेलाबेला मधेशमा उभार आउने द्वन्द्वको जग यही भोक पनि हो, जुन भोकलाई उकास्ने र दबाउने दुवै काम देहातका नाममा राजनीतिक खेल खेल्ने चतुर खेलाडीले गरिरहेका छन् ।
फर्किहेर्छु, एक दशक भएको छ– मधेशसँगको सान्निध्य । यो एक दशकमा मधेशको मुहार पनि बिस्तारै परिवर्तन हुँदै त गएको छ, तर एकदम सुस्त गतिमा । मधेशको सबैभन्दा पहिलो आवश्यकता हो– शिक्षाको विकास, तर उपेक्षामा छ शिक्षा । सडकमा कालोपत्रे खन्याएजस्तो आजको भोलि प्रतिफल दिने विकास शिक्षा नभएकाले यहाँका स्थानीय तहले शिक्षालाई वास्ता गर्न सकेका छैनन् ।
स्थानीय तह टोल, मोहल्लाका गल्लीहरू पिच, ढलान गर्छ । स्थानीयहरू सोही सडकमा गाई, बाख्रा, भैंसी बाँधिदिन्छन् । विकासले त सबैभन्दा पुछारमा रहेका मान्छेलाई बलियो बनाउनुपर्ने हो । मान्छेलाई बलियो बनाउन उसको सोचलाई आकार दिनुपर्ने हो । आकार त शिक्षाले दिन्छ ।
यसरी कसले सोच्ने ? मेरो मनमा यही प्रश्न उठिरहन्छ । नेतृत्वकर्तालाई प्रश्न गर्दा ‘यिनीहरू यस्तै छन्’ भनेर दोष थोपरिदिन्छन् । दोष मात्र थोपर्ने कि कथित ‘यिनीहरूलाई’ परिवर्तन पनि गर्ने ?
यसपालि मंसिरको तेस्रो सातादेखि नै मधेशमा चिसो बढेको छ । मध्य–मधेशमा बसेर म सुम्सुम्याइरहेकी छु– पत्रपत्रमा समयको शीतलहरले झारिदिएको ओस खपेर पनि मुस्कुराइरहेका गुलाफजस्ता कलिला मुटुलाई । मलाई यी मुटुहरू मेरै हृदयमा धड्किएजस्तो लाग्छ ।
अभावले चिथोरेका कलिला आँखाहरूमा जबजब देख्छु पीडाको लालबकैया, तबतब मनभित्र ‘लु’ चल्छ । घरिघरि यो ‘लु’ लाई चढाइदिन मन लाग्छ भीमफेदीको उकालो । कटाइदिन मन लाग्छ थानकोटको डाँडो र माग्न मन लाग्छ सिंहदरबारसँग– वर्षौंदेखि मधेशले खपेको विभेद र अपमानको हिसाब ।
