सहारामा सूर्यास्त 

सहारा मरुभूमिले युगौंदेखि अन्वेषक, स्वप्नशील र जिज्ञासुलाई सम्मोहनमा पारेको छ । सदिऔंदेखि यहाँ यात्रारत छन्– व्यापारीहरू । क्याराभानमा तिनले सामान मात्रै ओसारपसार गरेनन्, समृद्ध सांस्कृतिक विरासत पनि नयाँ पुस्तालाई छाड्दै गए अनि विचार, दर्शन र सपनाहरूको आदानप्रदान गरे । 

पुस १३, २०८१

जीवा लामिछाने

Sunset in the Sahara

काठमाडौँ — असलमा यो पूर्वनिर्धारित यात्रा थिएन । कहिलेकाहीं यात्राहरू आकस्मिकै तय हुन्छन् । त्यो कस्तो भने सपनाजस्तो, अनायास र अचानकै । 

म गएको महिना मोरक्कोका ऐतिहासिक स्थानहरूको एक साता लामो यात्रामा थिएँ । यात्रा गर्नु र कुनै नयाँ स्थानतिर यसै बरालिनुले जीवनमा नयाँ रङ र उमंग थप्छ । 

त्यो यात्रामा एक साँझ गाइड मोहम्मदले हामीलाई खबर गरे, ‘भोलि हामी बास बस्ने एरफाउद सहर सहारा मरुभूमिको गेट–वे हो ।’ 

अहो ! सहारा मरुभूमि ? म अनायास उत्साहित भएँ । त्यो स्थान त एक रुक्खासुक्खा मरुस्थल थियो, तर मेरो मनस्थल भने रसिलो भयो । मरुभूमिको कल्पना मात्रैले पनि अचानकै हृदयमा पुष्पोत्सवझैं बहार आयो । 

मोरक्को र अल्जेरियाको सीमास्थित सहारा मरुभूमिमा बिदिन्ता र म मित्रहरूको समूहसँगै थियौं । हामी एक सानदार दृश्यलाई आँखाभरि टाँस्न आतुर थियौं । त्यो थियो, सहारामा सूर्यास्त हुँदाको अद्भुत क्षण । डढिरहेको सगर नियालिरहनु र सूर्य अस्तपछि निम्तिने अन्धकारको साक्षी बस्नु पनि जीवनको एक आनन्दमय बेला हो । 

भौगोलिक, जैविक र वानस्पतिक विविधता अनि बहुरंगी, हराभरा प्राकृतिक सम्पदाले भरिएको देशका बासिन्दा हामी । तर, बिलकुल निर्जन, फराकिलो र सुक्खा भूमितर्फको यात्राले मन कौतूहलले भरिपूर्ण थियो । 

सहारा केवल मरुभूमि होइन, यो मानव इतिहासका अनेक आरोहअवरोहले रचित एक किंवदन्ती पनि हो । ९२ लाख वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो विराट तथा सुनौलो भूमि रहष्य र रोमाञ्चको एक पर्याय पनि हो । माली, मोरक्को, मौरिटानिया, अल्जेरिया, ट्युनिसिया, लिबिया, नाइजर, चाड, सुडान, वेस्टर्न सहारा र इजिप्ट गरी ११ देशमा फैलिएको यो मरुभूमिको साम्राज्य ४ हजार ८ सय किलोमिटर लम्बाइ र १ हजार ८ सय किलोमिटर चौडाइको छ । क्षेत्रफलका हिसाबले यो मरुभूमि झन्डै युरोप महादेश जत्रो छ, जहाँ झन्डै तीन वटा भारत अट्न सक्छन् । 

सहाराले एउटा भौतिक स्थानभन्दा पनि केही माथिको सम्पदाको परिचय बनायो । युगौंदेखि यसले सभ्यताहरूको चौबाटोका रूपमा अफ्रिकालाई भूमध्य सागरसँग जोड्ने एक विशाल पुलको काम गरेको छ । नुन, सुन र मसलाजस्ता सामान लिएर प्राचीनकालदेखि नै यात्रीहरूको लामो लस्कर यही बलौटे जमिन पार गरेर अघि बढ्थ्यो । शताब्दीऔंदेखि यही मरुभूमिमा यात्रारत छन् व्यापारीहरू ।

ती क्याराभानमा उनीहरूले सामान मात्रै ओसारपसार गरेनन्, एउटा समृद्ध सांस्कृतिक विरासत पनि नयाँ पुस्तालाई छाड्दै गए । उनीहरूले विचार, दर्शन र सपनाहरूको पनि आदानप्रदान गर्दै गए । युगौंदेखि अन्वेषक, स्वप्नशील, जिज्ञासु र कलाकारहरूलाई सहाराले सम्मोहनमा पारेको छ । यसको शाश्वत सुन्दरतामा थोरै भए पनि रंगिने पालो अब हाम्रो थियो । म पनि सहाराको सम्मोहनले डोरिएको एक यात्रु हुँ । 

वार्षिक २५ सेन्टिमिटरभन्दा कम वर्षा हुने र खेती पटक्कै नहुने क्षेत्रलाई मरुभूमिको मापदण्डभित्र राखिएको छ । मरुभूमिमा कि बालुवा मात्रै हुन्छ कि बरफैबरफ । बरफैबरफको डिजर्ट अन्टार्कटिकामा समेत म यसै वर्ष पुगेर आएँ । त्यो चिसो र हिउँ टाँगिएको महादेशभन्दा सहारा मरुभूमि ठीकविपरीत थियो ।

अन्टार्कटिकामा लाखौं आइसबर्ग, हिउँका पहाड, हिउँका ताल तथा हिउँगुन्द्री देखें सहारामा चाहिँ तातो र बलौटे मरुभूमि, जहाँ २०० मिटरसम्मका असंख्य बलौटे पहाड छन् । सहाराको सबैभन्दा उच्च बिन्दु माउन्ट कुसी हो, जसको उचाइ ३,४१५ मिटर छ । गाइडले भने– ‘आजभन्दा केही हजार वर्षअघिसम्म हरियालीले ढाकेर ऋतुहरूको विविधता छाउने सहारा क्षेत्रको मरुभूमीकरण यस क्षेत्रमा निरन्तर भएको वनविनाशले भएको हो ।’ 

उनले यसो भनिरहँदा वनको क्रमिक विनाशपछि कसरी एक हराभरा र जैविक विविधताले समुन्नत ठाउँलाई उराठ र उजाड बनाइदिने रहेछ भन्ने सोचेर म उद्वेलित भएको थिएँ । उद्वेलित मेरो मनमा आशाको एउटा दियो बल्यो, जब उनले भने, ‘अबको १५ हजार वर्षपछि यो विशाल मरुभूमि पुनः जंगलले ढाकिने कतिपय वैज्ञानिकहरूको अनुमान छ ।’

हाम्रो इतिहासले भन्छ– मरुभूमीकरणदेखि अनेक जलवायु परिवर्तन र पर्यावरण विनाशका कारक हामी मनुष्य नै हौं । 

सहारा मरुभूमिका सन्दर्भमा मलाई मोरक्कन यात्री इब्न बतुताको प्रसंग स्मरण हुन्छ, जसले सहारा क्षेत्रमा गरेका अनेक यात्राहरू बहुचर्चित छन् । इब्न यस्ता यात्री हुन्, जो २२ वर्षको उमेरमै सन् १३२५ मा आफ्ना माता, पिता र जन्मभूमि छाडी एक खच्चड लिएर विश्वयात्रामा निस्किएका थिए ।

मिश्र, सिरिया, प्यालेस्टाइन, ह्याब्रोन, त्रिपोली, जेरुसेलम, तताकिया, दमिस्क, बसरा, मदिना, बगदाद, मक्का हुँदै पूर्वी अफ्रिका, भारत, चीन, मालदिभ्स आदि गरी त्यस समय उनले ७५ हजार माइल लामो यात्रा गरेका थिए । मोरक्को फर्किएर उनले सुल्तानलाई सहारा मरुभूमिलगायत विभिन्न स्थानमा आफूले गरेका भ्रमण–वृत्तान्त सुनाए । सुल्तानले उनको यात्रा वृत्तान्त लिपिबद्ध गर्न आदेश दिए । त्यो बृहत् भ्रमण वृत्तान्तको नाम ‘तुहफत अल अजायब अल अफसार’ राखियो, जसको एक प्रति पेरिसको राष्ट्रिय पुस्तकालयमा अझै सुरक्षित छ । 

टिम्बुक्टुबाट जीवितै फर्किन सफल प्रथम युरोपेली रेने क्यालीले कठोर परिस्थितिको सामना गर्न आफूलाई एक मुस्लिम तीर्थयात्रीमा रूपान्तरण गरेका थिए । खोजको उत्कट प्यासबाट प्रेरित ती साहसीहरूले मानवीय सहनशक्तिका सीमासमेत तोडिदिएका थिए । 

यद्यपि, अझै पनि सहारा मरुभूमि जोखिमपूर्ण क्षेत्र हो । अचानकै बहने बलौटे तुफानले कैयौं मानव लस्करलाई आफूभित्र लपेटेको छ । असह्य गर्मीले पनि कैयौं मानिसको इहलीला मरुभूमिको बालुवामै समाप्त भएको छ । 

एरफाउद अर्थात् विशाल मरुभूमिको किनारमा अवस्थित एक सहर, जसलाई ‘सहाराको प्रवेशद्वार’ पनि भनिन्छ । यो मोरक्कोको यस्तो सहर हो, जहाँ कुनै बेला नुन, मसला आदिको भारी बोकेर धुलाम्य बाटोमा मानिसहरूको लस्कर लाग्थ्यो । फ्रेन्च प्रोटेक्टोरेट अन्तर्गतको सैन्य किल्लाका रूपमा यो सहरको स्थापना गरिएको थियो । हामीलाई मोहम्मदले भनेका थिए, एराचिडिया प्रान्तको प्रशासनिक केन्द्र तथा एक प्रमुख पर्यटकीय गन्तव्य मानिने यो सहरमा भोलि हाम्रो बास हुनेछ, जुन सहारा मरुभूमि यात्राको आरम्भ–बिन्दु हो । 

करिब पाँच करोड वर्षअघि सहारा मरुभूमि पानीमा डुबेको थियो । कालान्तरमा यो भूमि जमिनमा परिणत भयो । त्यसपछि सबै जलचर, थलचर र उभयचर प्राणीहरू जमिनमुनि दबिए । अहिले पनि त्यहाँ माछा, गोही र डाइनोसरका अवशेष फेला पारेका छन् अन्वेषकहरूले ।

‘नेसनल जोग्राफिक’ को सन् २००५ को एक रिपोर्ट अनुसार, विभिन्न समयमा सहारामा करिब दुई सयवटा चिहान उत्खनन भए । उत्खननका क्रममा एउटा विशाल चिहानघारी फेला पर्‍यो, जहाँ मानिस र पशुका हाड तथा ठूला माछा र गोहीका अवशेष भेटिए । यसबाट वैज्ञानिक के निष्कर्षमा पुगे भने कुनै बेला सहारा मरुभूमि हराभरा थियो । केहीअघिदेखि नै मरुभूमि हुने क्रम सुरु भए पनि झन्डै २५ सय इसापूर्व भने यो ठाउँ पूर्णरूपमा मरुभूमिमा परिणत भयो । मरुस्थलका ढिस्काढिस्कामा दबिएका अनौठा जीवाश्महरूले भरिएको एरफाउद सहरलाई ‘विश्वको जिवाश्म राजधानी’ पनि भनिन्छ । सहारामा हजारौं वर्षपहिले विचरण गर्ने प्राणीहरूका विभिन्न जीवाश्म पसल र संग्रहालयमा खोज्दै आउने खोजकर्ताहरूको यहाँ ताँती लाग्छ । त्यसैमध्येको एक पसलमा हाम्रो टोली पनि पुगेको थियो । 

एरफाउदको विशेषता जीवाश्म मात्र होइन, बालुवा र बालुवाकै थुम्काहरू पनि हुन् । सहरबाट केही पर जानासाथ जता हेर्‍यो उतै बालुवै बालुवा । आँखाले ठम्याउन भ्याएसम्म बलौटे पहाडका थुम्काहरू । सुक्खा र निर्जन ढिस्काहरूमध्ये एउटा प्रख्यात गन्तव्य हो– एर्ग चेब्बी । हाम्रो गन्तव्य थियो, एर्ग चेब्बी भएको क्षेत्र मेरजौगा । 

मोरक्कोको दक्षिणतिर एर्ग चेब्बीको किनारमै अवस्थित सहारा मरुभूमिको गाउँ मेरजौगामा अरब र बेर्बर समुदायको मिश्रित बसोबास छ । यसको स्थापना एउटा व्यापारिक मार्गका रूपमा गरिएको थियो । टिम्बकटु, अन्य महत्त्वपूर्ण सहर र बन्दरगाहको लामो यात्राबाट थाकेका यात्रुले विश्राम खातिर उपयुक्त स्थान खोज्दै जाँदा मेरजौगा स्थापना गरेका हुन् । कालान्तरमा यो बेर्बर जातिको तीर्थक्षेत्र बन्न पुग्यो । 

सुरुका दिनहरूमा त्यहाँ उँट र टेन्टबाहेक केही थिएनन् । अहिले यो क्षेत्रमा पर्यटकीय चहलपहलसँगै सुविधासम्पन्न होटल सञ्चालनमा छन् । ड्युन्स किनारमा अत्याधुनिक त्रिपालसहितका शिविर केन्द्र छन् । सूर्योदय र सूर्यास्त अवलोकन, उँट ट्रेकिङ, एर्ग चेब्बी ड्युन्समा स्यान्ड बोर्ड, डेजर्ट हाइकिङ, नाइट क्याम्प ओएसिस, ड्युन्स आसपासको भ्रमण र संगीत समूहको सांस्कृतिक प्रस्तुतिमा रमाउन यो क्षेत्रमा पर्यटकको ओइरो नै लाग्छ । 

बलौटे पहाडमुनिको भूमिगत जलले मेरजौगामा पिउने पानीको अभाव पूर्ति गरिरहेको भए पनि पर्यटकीय आवास निर्माण बढेपछि जलस्रोत सुक्न थालेको छ । यो क्षेत्रमा यास्मिना ताल पानीको अस्थायी भण्डार भए पनि धेरै दिन यो टिक्दैन । सन् १९७० यता ड्युन्सका दुवैतर्फका मैदानी क्षेत्रमा आउने नियमित बाढीको क्रम पनि घट्दो छ, जसले गर्दा पशुपक्षी चरणको क्षेत्र पनि करिबकरिब समाप्त हुँदै छ । 

साँझ ४ बजे तीन वटा विशेष खालका ल्यान्ड क्रुजर गाडी मानौं आधुनिक जमानाका उँटझैं हाम्रो प्रतीक्षा गरिरहेका थिए । हाम्रो समूहका साथीहरूमा कौतूहलता, उत्साह र जिज्ञासाको मिश्रित भाव स्पष्ट झल्किरहेको थियो । मरुभूमिमा हावाको वेगले निर्माण गरेको बालुवाको उच्च सतह नियाल्दै हाम्रो यात्रा अघि बढ्यो, गोधूलि साँझको धुलाम्य रेखा पछ्याउँदै । 

अहो, अनन्तसम्म फैलिएको बन्जर भूमि अनि हावामा सुक्खा धरतीको सुगन्ध । लागिरहेको थियो, कानमै आएर बेस्सरी बहेको हावाले कताकता त्यहाँका रहस्यहरू फुसफुसाइरहेका छन् । यस्तो लाग्थ्यो, मरुभूमिले हामीलाई स्नेहपूर्वक बोलाइरहेको छ र भनिरहेको छ, प्रिय मानिसहरू आऊ, सौन्दर्यमा लडीबुडी गर्न आऊ । 

मरुभूमि छेउ पुग्नुअघि हामी यास्मिना ताल छेउ रोकियौं । सुनौला ढिस्काहरूको बीचमा अवस्थित झिलमिलाउँदो ओएसिस झट्ट हेर्दा अवास्तविक प्रतीत हुन्थ्यो । सहारामा यस्ता ९० वटा ओएसिस छन्, जसको आकार मौसमअनुसार घटबढ भइरहन्छ । सुक्खा बालुवाले घेरिएको एउटा जल गहना, जसको उपस्थिति नै अचम्म पार्ने खालको थियो । जसै हामी तालको किनारमा पुगेर उभियौं, तालमा प्रतिबिम्बित आकाश र मरुभूमिका ढिस्काहरूले अनन्त स्थानको भ्रम सिर्जना गरिरहे । 

Sunset in the Sahara

यास्मिना ताल पुग्दा मलाई यस्तो लाग्यो, सबभन्दा निर्जन स्थानमा पनि जीवनले अस्तित्व रक्षा गर्ने र हुर्कने बाटो खोज्दो रहेछ । हाम्रो समूहको कल्याङमल्याङ पनि मौनतामा बदलियो । यो शान्त क्षण सायद मरुभूमितर्फको यात्रा जारी राख्नुअघि हामीलाई केही क्षण रोकिएर त्यो आत्मसात् गर्न प्रकृतिले गरेको आमन्त्रण हो । 

एर्ग चेब्बीनेर हाम्रो गाडी रोकियो । चारैतिर टाँगिएको कार्पेटझैं विस्तारित सुन्तले सतहले हामीलाई निक्कै सम्मोहित गर्‍यो । ३० किलोमिटर लम्बाइ र करिब १० किलोमिटर चौडाइ क्षेत्र ओगट्ने एर्ग चेब्बी छेउमै मेरजौगा र हसिलाबिदजस्ता गाउँहरू पनि छन्, जहाँ जटिलता र जोखिमबीच जीवनचक्र चलिरहेकै छ । पहेंलपुर बालुवाको थुप्राहरूका कारण एर्ग चेब्बी कताकता मंगलग्रहको सतहजस्तो पनि प्रतीत हुन्छ । सन् १९९९ मा निर्मित फिल्म ‘द ममी’ र २०१० मा निर्मित ‘प्रिन्स अफ पर्सिया’ को छायांकनमा यो भूमि उपयोग गरिएको रहेछ । 

विश्वकै सबैभन्दा ठूलो र तातो सहारा मरुभूमि एक विरोधाभासको भूमि पनि हो । सुक्खा, तैपनि रहस्यले भरपूर । शान्त, तर कैयौं कथाहरूको गुञ्जन, जसले शताब्दीऔं पुरानो आफ्नो जीवनको कथा भन्छ । सुनाउँछ सहाराले, कसरी ऊ घना बलौटे भूमिमा फेरियो ! आफ्नै कथा वाचन गर्दै ऊ सुक्खा–सुक्खा बाँचिरहेको छ । 

सहाराले सधैं साहसी र जिज्ञासु मानिसलाई आकर्षित गर्छ । हामी पुग्नुभन्दा केही साताअघि वि.सं. २०८१ कात्तिकमा सहारा मरुभूमिमा त्यसको मौलिक चरित्रभन्दा भिन्न परिस्थिति देखिएको थियो । पछिल्ला ५० वर्षमा पहिलो पटक सहारामा दुई दिनसम्म भीषण वर्षा भएको थियो र बाढीका कारण १८ जना मानिसको ज्यान गएको थियो । मोरक्कोको राजधानी रबातभन्दा ४ सय ५० किलोमिटर पर अवस्थित टागुनाइट गाउँमा २४ घण्टामा १०० मिलिलिटर पानी पर्‍यो । त्यो घटनाले सबै आश्चर्यमा परे । सन् १९२५ मै सुकिसकेको इरिकी तालमा पानी भरिएको थियो, यसबाट स्थानीय किसानहरूले निक्कै ठूलो राहत पाएका थिए । यसअघि पनि सहारा मरुभूमिमा सन् १९७४ मा भारी वर्षाका कारण बाढी आएको थियो । 

आँखामा आशा र उत्सुकता भरिएका केही उँट चालक हाम्रो नजिक आए । अनि सुपथ मूल्यमै बलौटे पहाडतिर घुमाउन लैजाने प्रस्ताव राखे । उनीहरूको त्यो उत्साहले सुदूर क्षेत्रमा जीविका चलाउने पर्यटनको महत्त्व झल्काइरहेको थियो । हाम्रो समूहका सदस्य रोबी र उनकी पत्नी हेइकेले उँटमा सवार हुने निधो गरे । उँटमा उनीहरू चढ्न त चढे, तर हल्लिँदै हिँड्ने प्राणीमा बसेर सन्तुलन कायम गर्ने उनीहरूको कोसिस भने हेर्नलायक थियो । उनीहरूको हाँसोले परिवेशमा थप रौनक छाएको थियो । 

बिन्दिता, म र हाम्रो दलका अन्य सदस्यले चाहिँ पैदलै यात्रा गर्ने विकल्प रोज्यौं । हामी आफ्ना पैतालामुनि नरम बालुवाको स्पर्श अनुभव गर्न चाहन्थ्यौं, जसबाट सहाराको बालुवासँग एकाकार हुन सकौं । नभन्दै, बालुवामा पहिलो कदम जादुमय थियो । हामीले जुन असहज क्षेत्रको कल्पना गरेका थियौं, त्यस्तो केही पनि त्यहाँ थिएन । 

प्रत्येक कदम बालुवामा गाड्दै धीमा यात्रामा हामी अघि बढ्दै गयौं । हाम्रा चारैतर्फका बलौटे ढिस्काहरू जीवन्त लागिरहेका थिए । हावाको झोकाले ती निरन्तर परिवर्तित भइरहेझैं भान हुन्थ्यो । विश्वका कुनाकुनाबाट आएका यात्री त्यस दिन त्यहाँ एकत्रित भएका थिए । अब हामी एर्ग चेब्बीको शिखरतर्फ लम्कियौं । उक्लिन उति सहज थिएन । पैतालामुनि मुलायम बालुवा रेशम झैं महसुस हुन्थ्यो, तर हरेक कदमसँगै त्यो भास्सिन्थ्यो र उक्लिन कठिन हुन्थ्यो । त्यो हाम्रो शारीरिक क्षमता र संकल्प दुवैको परीक्षा थियो । 

टाकुरामा पुगेपछि जुन दृश्य देखियो, त्यो अद्वितीय र अनुपम थियो । हरेक दिशामा अन्तहीन रूपमा फैलिएका बालुवाका उच्च थुम्काहरू थिए । अनि तिनका लहरेदार आकृतिमा चम्किरहेका थिए– सुनौला र लालीमायुक्त किरण । त्यो बिल्कुल विष्मयको क्षण थियो, जसले आसपासको दुनियाँसँग अति गहिरो गरी जोडिएको महसुस गराउँथ्यो । यस्तो लाग्थ्यो, मरुभूमिले श्वास लिइरहेको छ र उसको मौनता एउटा गहिरो सिम्फोनी हो । 

अब पालो थियो– सूर्यास्त दर्शनको । सूर्यको अवतरण नै हाम्रो यात्राको चरमोत्कर्ष थियो । हेर्दाहेर्दै क्षितिज बल्दो सुन्तले, हल्का गुलाबी र गहिरो बैजनी रंगको ‘प्यालेट’ मा बदलियो । रंगहरूले लेपित र चित्रित उज्ज्वल आकाश कुनै महान् चित्रकारले प्राकृतिक क्यानभासमा कोरेको चित्रभन्दा उन्नत थियो । चुच्चे धारदार सतहमा छायाहरूले निमेषभर नृत्य गर्दा क्षणभङ्गुर ढाँचा सिर्जित भयो । त्यो अतितमा कसैले गरेको खासखुसझैं लाग्थ्यो । आकार, रंग र प्रकाशको अकल्पनीय त्यो बान्की देख्दा को खुसी नहोला ? हामी त्यसको अपवाद थिएनौं । मन बेहद् खुसीको रङले पोतियो ।

पूर्वी क्षितिजको त्यो भव्य लालीमा र सूर्यको रक्तिम किरण ! म त्यो सम्मोहनले यसरी तानिएछु, केही समय त्यही दृश्यमा लीन भइरहें । वातावरणमा लामो सन्नाटा छाइरह्यो । हामी मौन–मौन यात्रीहरू त्यो दृश्यको साक्षी थियौं । हामीले सूर्य हेरिरह्यौं । सूर्य तल–तल डुबिरहेको थियो र आफ्नो पछाडि गोधूलिमा हराएको सुन्दर संसार छोडिरहेको थियो । मोहम्मदले पर अल्जेरियाई सीमातर्फ इसारा गरे । एउटा नजानिँदो रेखा, जो मन्द प्रकाशमा धूमिल भइसकेको थियो । 

हामी उभिएको स्थानभन्दा तल टेन्टहरूको झिलीमिली प्रकाशले मरुभूमिसँग गहिरो गरी जोडिएको जीवनको संकेत दिइरहेको थियो । केही पर तुआरेग्सका घरहरू देखिए । तुआरेग्स अर्थात् मरुभूमिमा ठूलै समूहमा जनावरसँग यात्रा गर्ने घुमन्ते आदिवासी । झुप्रा जस्ता देखिने ती घरहरू शताब्दीयौंदेखि कठोर वातावरणमा पनि मानवता फस्टाउन सक्ने क्षमताको जीवन्त प्रमाण थिए । 

जसै सूर्य क्षितिज मुन्तिर डुब्यो र बलौटे ढिस्काहरू धूमिल हुँदै गए, मरुभूमिको सौन्दर्यले हामीलाई जीवन भरिको अद्भुत उपहारका रूपमा एक अविस्मरणीय क्षण दिएर गयो । 

हामी एरफाउदतर्फ फर्कियौं । रातिको आकाश खुलेको थियो । सहरको झिलीमिली प्रकाशभन्दा ताराहरूको भिन्न चमक ! सहाराले हामीलाई फेरिफेरि आउन आह्वान गरेझैं लाग्यो । हाम्रो यात्रा छोटो थियो, तर यसको सम्झना भने चिरकालीन हुनेछ । यो केवल एक यात्रा थिएन, प्रकृतिका अनेक शाश्वत सत्यसँगको हाम्रो सान्निध्य पनि थियो । 

त्यो यात्राको चरमोत्कर्ष सूर्यास्त नै भयो । सूर्यास्तका बेला पारी देखिने पहाड पहेंलपुर थिए । लाग्थ्यो, हामीहरू सुनै–सुनका पहाडहरू नियालिरहेका छौं । बलौटे रातो बालुवामा प्रकाश परावर्तन भएर मलाई सुनको देशमा आएको भान भयो । जमिनको बालुवा यसै पनि रातोरातो थियो । त्यसमा सूर्यास्तको आभा पर्दा स्वर्णिम अनुभूत भयो । नेपालका हिमालदेखि अन्टार्कटिकालाई चाँदीचाँदी देखेका मेरा आँखाले सहारा मरुभूमिमा सुनैसुन देखे । 

असलमा आकस्मिकै गरिएको एक सपनाजस्तो, अनायास र अचानकै भएको यात्राले लामो प्रभाव छोडिगयो । त्यो सूर्यास्त–सुन्दरताको वर्णन गर्ने शब्दहरू मसँग छैनन् ।

जीवा

Link copied successfully