बाबाले बनाएको देउता बेचेपछि आमा ताउलो पोल्थिन् । ती देउताले मेरो भोकको भर्पाइ गर्न सकेनन्, अभाव र सुस्केरा सुनेनन् ।
काठमाडौँ — प्रायः मलाई यस्तै लाग्छ कि मैले बोल्न जानिनँ या भनौं बोल्नै सकिनँ अनि कापी–कलमलाई आफ्ना भावना र भोगाइको साझा बिसौनी बनाएँ । तर, आजकल म हैरान छु, उनको जिन्दगी हेरेर ।
मलाई बेस्सरी अत्यास लाग्छ, उनको मौनता देखेर । हुन त अक्षर नजानेरै मौन बसेकी पक्कै होइनन् उनी । तर, कहिलेकाहीं लाग्छ, कति पट्यारिलो जिन्दगी बाँचिरहेकी छन् । यदि अक्षर फुटाउन जान्दी हुन् त जिन्दगी बाँच्ने होइन, जिन्दगी धान्ने कलामाथि लेख्ने सर्वोत्कृष्ट लेखक हुन्थिन् उनी ।
उसो त मेरी आमाको आवाज निक्कै मिठो छ । सानो छँदा आमासँगै मेलापात–घाँसदाउरा जाँदा सुनेको हुँ मैले, उनले गाएका गीतहरू । तर, मेरी आमा गायक बनिनन् वा यो राज्यले उनी गायक बन्ने वातावरणै तयार गर्न सकेन । उसो त लेख्न जानेरै लेखिहाले पनि यो समाजले उनलाई लेखक स्वीकार गर्थ्यो होला ?
०००
आज बिहान घडीले ४ः१० बजाएपछि मोबाइलले अलार्म बजायो । अलार्मसँगै म बिउँझिएँ । कोठाभरि अँध्यारो पोखिएको छ । यस्तो चुक घोप्टिएजस्तो अँध्यारोमा मेरो सिरानको झ्यालनजिकै आगोको रातो झिल्को प्रत्येक श्वाससँगै चम्किरहेको देखें ।
त्यो चम्किने रातो वस्तु ठम्याउन समय लागेन । ‘यति बिहानै अर्काको कोठामा आएर चुरोट सल्काएको ?’ (मेरी आमाले चुरोट तानेको मलाई पटक्कै मनपर्दैन । तर, कहिलेकाहीं लाग्छ, यो प्रश्न पनि मेरो सानोतिनो विद्रोह नै हो ।) आमाले सधैंझैं आज पनि जवाफ दिन जरुरी ठानिनन् । प्रतिप्रश्न थियो, ‘चिया खाने ?’ मैले तातोपानी मागें ।
मेरी आमा र बाबाको उठ्ने समय प्रायः उस्तै हुन्छ । बाबाले मलाई तातोपानी दिँदै भने, ‘तेरी आमा आज रातभरि सुतेकी छैन । आज मात्र हो र ! अरूबेला पनि निदाएजस्तो लागेन ।’ आज बेस्सरी गाह्रो भएछ । मलाई थाहा छ, सजिलो त अरूबेला पनि छैन, तर आज त्यस्तो के भयो आमालाई ? ‘ज्वरो आएको छ, मुटु दुख्यो भनेर हैरान पारी,’ बाबाले भने । मैले सुनें, तर प्रतिक्रिया जनाइनँ ।
अहो ! आमालाई यति गाह्रो भएको मैले कसरी थाहा पाइनँ ? म भान्सा कोठातिर लागें । त्यो दिन आमा भान्सामा दाहिने हातले काम गर्दै थिइन् । उनी प्रायः देब्रे हातले काम गर्छिन् । सोचें, हात पनि बेस्सरी दुखेछ क्यारे ! दुखेकै हातले आमा सुसेधन्दामा लागिन् र बाबा आरनतिर । अनि म आफ्नै काममा । ज्यान कामतिर लागे पनि मन आमाको बिसन्चोतिरै गइरह्यो । प्रश्नका लस्कर आइरहे मस्तिष्कमा । मनमा चिसो पस्यो । आमाको मौनताले बेस्सरी पिरोल्छ मलाई । झन् आजको मौनताले मुटुभरि तीर हानिरह्यो ।
०००
अक्सर आमाको महिमा–गाथा गाउने, बलिदान र त्यागको व्याख्या गरी महान् करार गर्ने सन्तान मैजस्ता त हुँदा हुन् नि ! आमालाई परिवारको स्तम्भ घोषित गरेर गर्वले छाती फुलाउँदै हिँड्नेहरूको अनुहार पनि मेरैजस्तो त हुन्छ होला । आमाको छातीमा गाँठो परेका बाध्यता फुकाउन चेष्टा नगर्ने, तर उनको गुनगान गर्दै हिँडेकोमा आज मलाई आत्मग्लानिले गहिरोसँग घेरेको छ ।
कवि राजु स्याङ्तानको कविता ‘आमा तिमी मात’ को असली अर्थ आज बुझें सायद । आमा मात्तिएर यो व्यवस्थाविरुद्ध धावा बोलेको हेर्ने रहर मलाई पनि जागेको छ आज । मैले पनि आमामाथि समर्पित कविताजस्ता केही अक्षर लेखेको छु । तर, कति अधुरा–अपूरा छन् ती कविता, मेरी आमाले बाँचेको जिन्दगीअघि । लाग्छ, मेरी आमाले बाँचेको जिन्दगी नै एक भव्यतम् कविता हो ।
कविताजस्तो जिन्दगीमा सायद शब्द र संवादको आवश्यकता धेरै परेन कि कुन्नि ! किन मेरी आमा अत्यन्तै कम बोल्छिन् ? सामान्य घर–व्यवहारको संवादबाहेक उनी बोलेको थाहा छैन मलाई । जसरी आमा घर–व्यवहार र आवश्यक संवाद मात्रै गर्छिन्, त्यसरी नै म पनि घरमा अड्कलेर मात्रै आफ्ना भावना व्यक्त गर्छु ।
घरमै भए पनि बाबालाई आँखाअघि प्रायः कम देख्छु । आमासँग उति फुर्सदै कहाँ, घण्टौं गफिएर बस्न र सुख–दुःख साट्न ! आमालाई यो समाजले बोल्ने अनुमति नै दिएन । साँझ–बिहान चुलो बाल्न हात चलाउनु जरुरी थियो उनलाई । त्यसैले आमालाई कम बोल्ने बानी पर्यो सायद ।
०००
८ कक्षाको जिल्लास्तरीय परीक्षा राम्रै अंक ल्याएर पास गरेपछि ९ मा भर्ना हुनुपर्ने थियो । भर्ना नगरीकनै ९ कक्षामै बस्न थालें, तर ‘बिनाभर्ना विद्यालय नआउनू’ को आदेश पाएपछि विद्यालयका मेरा दिनहरू रोकिन थाले । सुरुसुरुमा स्कुल नजाँदा शिक्षकहरूले सोधेको खबर ल्याउँथे साथीहरू ।
मैले आफ्नो दुःख कसलाई सुनाउनु ? मन बेस्सरी गाँठो पर्थ्यो । पढ्न खुब जाँगर चल्थ्यो । म राम्रो विद्यार्थीमै गनिन्थें । तर, अभाव कसलाई सुनाउनु ? रहर एकातिर, बाध्यता अर्कोतिर । मलाई पढ्ने सपनाले पोल्थ्यो, बाबा–आमालाई अभाव र मात्र अभावले ।
सानैदेखि बाबाले त्रिशूल र मूर्ति बनाएको हेरेर हुर्किएँ म । तिनै मूर्ति र त्रिशूल (भगवान् र देउता) बेचेपछि आमाले ताउलो पोलेको याद छ मलाई । त्यसैले पनि हो, मेरा बाले बनाएका यी देउताले मेरो भोकको भर्पाइ गर्न सक्दैनन् भन्नेमा म विश्वस्त थिएँ ।
सोचिबस्थें, बाबाले बनाएका देउताले मेरो अभाव बुझ्दैनन्, मेरा सुस्केरा सुन्दैनन् । अलिअलि मनमा बाँकी भएको ईश्वरको आस्था पनि जातजन्य विभेदको नालीबेली बुझ्न थालेपछि हराइसकेको थियो । ईश्वरसँग केवल बाँकी थियो गरिब, दलित बनाइदिएको गुनासो ।
त्यसैले जान्ने भएयता मैले भगवान् पुकारेको उति याद छैन । दिमागमा जोर लगाएर सम्झिँदा मुस्किलले तीनचोटि भगवान् गुहारेको याद छ । सानोमा भाइ बिरामी भएको थाहा पाएर उसलाई केही नहोस् भनेर प्रार्थना गरेको थिएँ ।
अनि पहिलोचोटि लेखेको सडक नाटक मन्चन हुँदा ‘सबै दर्शकलाई मनपरोस्’ भनेर कामना गरेकी थिएँ । र, सायद अन्तिमपल्ट उनलाई पुकारा गरेकी थिएँ, जतिबेला म स्कुल जान नपाएर घरमै बसेकी थिएँ । तर, मेरै बाबाले बनाएको भगवान्ले मेरो गुहार सुनेनन् र मलाई फेरि कहिले सुनाउन मन लागेन ।
०००
समय बगिरह्यो । साथीहरूले पहिलो त्रैमासिक परीक्षा दिएको खबर सुनें । मभन्दा पछि मात्रै नाम आउने साथी प्रथम भएको खबरले मनमा कताकति डाहा लाग्यो । मा आफ्नै ‘भाग्य’ सराप्दै बसें । मलाई हरहालतमा स्कुल जानु थियो ।
काठमाडौंको कुनै गैरसरकारी संस्थाले गरिब एवं विपन्न दलित समुदायका छोरीहरूलाई निःशुल्क शिक्षा दिने खबर मेरो कानमा टाढाबाट आइपुग्यो । त्यो संस्थाबारे खोजें । र, एक्लै काठमाडौं जाने निर्णय गरें ।
यसरी सपनाको पहिलो उडान एक्लै तय गरें । जिन्दगीको पहिलो गन्तव्यको साक्षी म आफैं हुँ र त्यसको भुक्तभोगी पनि आफैं । केवल म अनि मेरो पढ्ने सपना । आफैं तय गरें, जिन्दगीको पहिलो यात्रा । तर, थाहा थिएन काठमाडौं कता हो ?
काठमाडौंसम्म पुग्छु या पुग्दिन, त्यो पनि थाहा थिएन । थियो त केवल पढ्ने सपना पछ्याउने आँट । त्यो थियो जिन्दगीको एउटा पाठ । ‘काठमाडौं जाने’ निधो आमालाई सुनाएँ । आमा प्रतिक्रियाविहीन भइन् । उनी मौन रहिन्, तर आँखाबाट बलिन्द्र आँसुका धारा छुटिरहे । सायद आमाको भन्नु त्यति थियो । यसै पनि मेरो जिद्दीको अगाडि आमाको आँसुको अर्थ थिएन । उनले पनि मलाई रोकिनन् । सायद उनका सपना पनि मसँगै जोडिएका थिए र छन् ।
त्यो दिन आमाले खाना खानुभएन । मलाई थाहा थियो, आमालाई खाना नरुचेको कारण । उसो त मलाई पनि आमा–बाबालाई छोड्न मन थिएन । भाइलाई आँखाबाट टाढा पुर्याउनै मन थिएन । घरभन्दा पछाडिको आरुको रुख मेरो हरेक सुख र दुःखको साथी थियो । उसलाई पनि त छाडेर जानु थियो । आमाका आँसुले बाध्यताअघि घुँडा टेके र म हिँडे सपना खोज्न ।
आज जिन्दगीका अरू बाह्र वर्षहरू बितिसके । यी बितेका वर्षमा आमालाई नजिकबाट नियाल्ने मौकै पाइनँ । आज पनि आमाका आँखा नियाल्ने हिम्मत जुटिसकेको छैन । कुन्नि के–के सपनाका चिहान हुन् उनका आँखा ? कति रहर दफन गरेकी होलिन् तिनै आँखाका गहिराइमा ? विशाल समुद्रलाई मेरी आमाको आँखासँग तुलना गर्न मिल्छ कि मिल्दैन म जान्दिनँ ।
तर, म यो जान्दछु– समुद्रको गहिराइ र मेरी आमाको आँखामा दबेको आभाव अनि रहरको रहस्यमा केही फरक छैन । उनको चाउरी पर्नै लागेको अनुहारलाई आज पनि नियाल्ने हिम्मत छैन । सायद आज पनि मैले उनलाई बुझ्न सकेको छैन । सायद सक्दिनँ पनि ।
हुन त यो व्यवस्थाले नै आमालाई महान् करार गरिरह्यो । आमाहरूलाई उन्मुक्त हाँसो हाँस्नै सिकाएन । हामीले भर्खरै भव्यतासाथ सम्पन्न गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्झिन्छु । यस्ता अभियानले मेरी आमाहरूलाई समेट्दैनन् ।
समेटुन् पनि कसरी ? सहरकेन्द्रित यस्ता बहस मेरी आमाको भागमा छैनन् । केन्द्रीकृत यस्ता अभियान पहुँच हुनेका लागि हो । राज्य बेखबर छ, मेरी आमाको आठ हजार वर्षदेखिको दासत्वसहितको शोषित र जातजन्य विभेदले प्रताडित जीवनको इतिहासबारे ।
यो मेरी आमाको मात्रै कथा होइन सायद, तपाईंकी आमाको पनि हो ।
