जोखिम, डर र रोमाञ्चक भावमा ६,१४५ मिटर उचाइको लोबुचे हिमाल चुचुरो पुग्दा सोचें– म स्वर्गको एक टुक्रामा उभिएको छु र पृथ्वी नियालिरहेको छु । सधैं मुन्टो उचालेर मात्रै देखिने हिमाल लोबुचे चुचुरोबाट शिर बराबर आँखाकै दूरीमा उभिएका थिए ।
काठमाडौँ — बिहान ६ः४५ । माइनस ३५ डिग्रीभन्दा कम तापक्रम । मुखबाट निस्केको बाफ मेरो दाह्रीमा ठोक्किएर सेकेन्डभरमै जमिसकेको थियो अनि पन्जा लगाएको हातले दाह्री मुसार्दा त्यो बालुवाजस्तै साह्रो र खस्रो बनिसकेको थियो ।
लोबुचे हिमालको चुचुरो देखेपछि आँखाबाट अचानक बरररर आँसु निस्किए, मुखबाट अनायसै शब्द फुत्किए ‘यसपालि बडा अचम्मै भो, ‘हिमाल आरोहण’ को कथा सुनिन्थ्यो, तर चढ्ने आँट थिएन । महामन्त्रीज्यू, तपाईंले हौस्याउन थाल्नुभएको २ वर्ष चानचुन भयो, यसपालि नपत्याउँदो तरिकाले हिमालै आरोहण पो गरियो ! ६,१४५ मिटर उचाइको लोबुचे हिमाल चढियो त गाँठे !’
चुचुरो पुग्नासाथै खुसीले एक अर्कालाई गला लगायौं । सधैं मुन्टो उचालेर मात्रै हेर्नुपर्ने भएभरका हिमाल आज लोबुचेको चुचुरोबाट शिर बराबर आँखाकै दूरीमा उभिएका थिए ।
०००
कान्तिले मलाई गत भदौमा भनिन्, ‘तिमी वाचा गर्ने, तर पूरा कहिल्यै नगर्ने मान्छे ।’ १४ वर्षकी छोरी र ९ वर्षको छोराले रारा ताल घुम्ने इच्छा राखेपछि मैले ‘हुन्छ’ भनेको दुई वर्ष नाघिसकेको थियो । फ्ल्यासब्याकमा सम्झिन्छु– छोरीछोराको चाहना र कान्तिको भावनामा रारा अनि अलि वर्षअघि डा. रामेश कोइरालासहित सगरमाथा बेसक्याम्पसम्मको ट्रेकिङले लोबुचे आरोहणका लागि मलाई पृष्ठभूमि बनेर राम्रो ऊर्जा भरेको रहेछ ।
०००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग म हिमाल आरोहणमा जान्छु है भनेर कान्तिलाई ५/६ महिना पहिल्यै भनिसकेको थिएँ । तर, रारा यात्रामा छोरालाई ‘हाई एल्टिच्युड’ को समस्याले इन्तु कि चिन्तु बनाएको सम्झिएर कान्तिले मलाई हिमाल आरोहणको यात्राबाट रोक्न खोजेकी थिइन् । भन्दै थिइन्,‘तिम्रो स्वास्थ्य अहिले छैन है पहिले जस्तो ।’ तर, म आफ्नो अडानमै थिएँ, भनें, ‘पिर नगर फोन लागेछ भने चुचुरोमा पुगेर पहिलो कल तिमीलाई नैं गरुँला ।’
०००
यात्राको पहिलो दिन, २१ मंसिर २०८१ । कीर्तिमानी आरोही सेभेन समिटका मिङ्मा शेर्पा अनि पदयात्राका पथप्रदर्शक लाक्पा शेर्पा एयरपोर्टभित्र हामीलाई पर्खिरहेका थिए । महामन्त्री शर्मासँगै पुगें म । टिकेटिङको प्रक्रिया पूरा गरिसक्दा खबर आयो, ‘खराब मौसमका कारण लुक्ला एयरपोर्ट बन्द छ ।’
यात्राको पहिलो दिननै लामो समय कुर्नुपर्दा ‘लौ साइत मिलेन कि’ भन्ने पिर लागेको थियो । तर, अन्ततः अपराह्न १.३० बजे लुक्ला पुगेपछि साइतलाई सोझ्याउनतर्फ हामी लाग्यौं ।
सेभेन समिटका साहुजी मिङ्मा शेर्पाले चारदिनपछि २५ मंसिर मा दिङ्बोचेमा भेटिने गरी हामीलाई काठमाडौंबाट बिदाइ गरेका थिए । मिङ्माका भान्जा, कीर्तिमानी पर्वतारोही लाक्पा शेर्पा हाम्रो सारथि बनेर लुक्लाबाट अघि लागे । सगरमाथा आरोहण मात्र होइन, एकै सिजनको १६ दिनभित्रमा ३ पटक मकालु हिमाल आरोहण गरेर गिनिज बुकमा नाम लेखाएसँगै ‘मकालु लाक्पा’ उपनामले चिनिँदा रहेछन् उनी । मामा मिङ्माका साथीहरू भनेर उनले हामीलाई सुरुदेखि नै ‘मामा’ पुकारे । हामीलाई पनि ‘गाइड’ होइन ‘भान्जा’ लिएर हिँड्दा बढी आत्मीय अनुभूति हुने नै भो ।
लुक्लाबाट हामीसँग थपिए अर्का युवा– धन तामाङ । लुक्लामै एउटा हेलिकोप्टर कम्पनीमा काम गर्नबाहेक पर्वतीय सहयोगी श्रमिकका रूपमा पनि यात्रा गर्दारहेछन् उनी । दिउँसो करिब २.०० बजे लुक्लाबाट सुरुभयो ३ ‘मामाभान्जा’ सहित ४ जनाको खुम्बु पदयात्रा । बास बस्न २८०० मिटर उचाइको फाक्दिङ पुग्नु थियो । आज पहिलो दिन न लामो यात्रा न उचाइको चिन्ता ।केही टिकटक् क्लिप्स् र फोटो क्लिक्स् लिँदै साँझ ढल्नुपूर्व फाक्दिङ पुग्यौं ।
०००
केही महिनाअघि हिमताल फुटेर आएको बाढीपछि थाकेर सुइया सुस्केरा हालेर सुसाउँदै बगिरहेको दूधकोसी जस्तो पर्यटकको सिजन सकिएर केही होटलहरू बन्द भइसकेको फाक्दिङमा हामीले एउटा मात्रै खुलेको होटल भेट्टायौं, ‘शेर्पा गाइड लज ।’खानपिन पश्चात् लाक्पा भान्जाले हामीलाई हिमाली क्षेत्रको पदयात्रामा पालना गर्नुपर्ने अत्यावश्यक केही ‘प्रोटोकल’ सुनाए ।
सुत्नुअघि पल्लो बेडमा रहेका महामन्त्री शर्मालाई सोधें– शेर्पाजीको गाइडलाई सुनिसकियो अब शर्माजीको मूल लाइन सुनौं न । हाम्रो यो यात्राको केही सन्देशमूलक बुँदा सोच्नुभएको छ ?
विश्वप्रकाशले गम्भीर मुद्रामा भन्नुभयो, ‘जलवायु परिवर्तनको असर कत्ति समाचार पढेर थाहा पाउने ?प्रत्यक्ष हेरौं, बुझौं अनि सरकार, संसद् र संसारलाई ध्यानाकर्षण गराऔं । यो नै हो हाम्रो हिमाल आरोहणको मुख्य उद्देश्य हो । तर, समग्रमा ९ वटा उद्देश्य मैले टिपोट गरेको छु ।’
‘आम्मामामामामा नौ–नौवटा उद्देश्य ? हिमाल आरोहण कि विश्व बैंकको मिलियन डलरको परियोजना?,’ मैले पनि ठट्टा गर्दै प्रश्न गरें । उहाँले पनि ठट्टाकै शैलीमा जवाफ दिनुभो, ‘पहिलो कुरा त जबसम्म हामी हिमाल चढ्दैनौं तबसम्म बाहिर भन्ने चैं खुम्बु पदयात्रा मात्र हो ।’
मैले थपें, ‘सहमत । त्यसैले सोसल मिडियाका पोस्टहरूमा पनि ३खुम्बु, ३पदयात्रा मात्र लेखौं । ह्यास ट्याग त्यही बनाऔं !’
विश्वजीले थप्नुभयो, ‘त्यतिमात्र हैन, ३जयहिमाल ३जयनेपाल पनि लेखौं ।’ ताप्लेजुङ, मुस्ताङ, हुम्ला, बाजुरा र दार्चुलाका हिमाली भेगमा पुगेको छु, अब यो खुम्बु क्षेत्रको भ्रमणपछि पूर्वदेखि पश्चिमसम्मको समग्र हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेका चुनौतीहरूको थप अध्ययन गरेर समाधानका लागि सम्बन्धित सबै तहको ध्यानाकर्षण गराउनैपर्छ ।’
मैले फेरि सोधें, ‘बाँकी आठ वटा चैं?’
‘दोस्रो चैं नेपालको उच्च हिमाल आरोहण गर्ने हालसम्मका सबै पर्वतारोहीको सम्मान हो । पर्वतारोहणमा महत्त्वपूर्ण भूमिका खेल्ने शेर्पा समुदाय, गाइड तथा श्रमिकहरूप्रति हामी सबैले सम्मान गर्नैपर्छ । खासगरी हिमाली श्रमिकहरूको असुरक्षित जीवनलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराउन जरुरी छ । पर्वतारोहण क्रममा जीवन गुमाएकी पासाङल्हामु शेर्पादेखि सबै स्वदेशी र विदेशी आरोहीप्रतिश्रद्धा र श्रद्धाञ्जली प्रकट गर्नु छ ।’
कुरा त यो पनि एकदम ठीक हो । प्रकृतिले निःशुल्क उपहारका रूपमा हामीलाई सुम्पेका यी सुन्दर हिमालहरू आज हाम्रो देशको पहिचान मात्र होइन, कतिपय अवस्थामा कमाइखाने भाँडो पनि बनेका छन् । तर, के यसैसँग लडिबुडी खेलेका, यहीं जन्मेहुर्केका र यहीं प्राण त्यागेकाहरूको सम्मान हामीले मनैदेखि गरेका छौं त ? मनको प्रश्नलाई मनमै रोकेर मैले महामन्त्रीलाई तेस्रो कुरा सोधें ।
‘हामीले हिमाल आरोहण गरेपछि साहसिक पर्यटनप्रति इच्छुकहरूमा प्रेरित गराउने काम हुनेछ । यो हाम्रो अर्को उद्देश्य हो । यत्तिका घुमेर गएपछि त पर्यटन क्षेत्रको विकासमा राज्यको विशेष प्राथमिकताका लागि विशेष ध्यानाकर्षण त अवश्य गराउन सकिन्छ । अनि यही साता संसद् दिवस छ । आरोहण यही दिवसको सेरोफेरोमा गर्ने मेरो सोच हो । संसद् दिवस चैं बडा उत्साहले मनाउने अनि शिक्षा, निजामती प्रशासन, प्रहरी लगायत कयौं महत्त्वपूर्ण विधेयक चैं कछुवाको गतिमा हुने ? यो विल्कुलै भएन । हामीले संसद्दिवसको उत्सव शिखरमा मनाएर सम्माननीय सभामुख, संसद् र संसदीय समितिहरूको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ । हिमाल जस्तै पवित्र र कञ्चन नेपाली समाज बनाउनु सबै नेपालीको साझा कर्तव्य हो । यो आरोहणमार्फत नेपाली समाजमा रहेका जातीयलगायत सबै विभेद र विसंगति अन्त्य गर्न दलहरू, संसद्, संघसंस्था र सिंगो समाजलाई हामीले घच्घच्याउनु छ । यात्राको अर्को उद्देश्य यो हो ।’
‘हिजो राजनीतिक परिवर्तन भयो, अब राजनीतिमा परिवर्तन जरुरी छ । परिपक्वतासाथ पद्धतिभित्र प्रवृत्ति रूपान्तरण गर्दै नागरिक पंक्तिमा नवीन आशा र विश्वासको अभिवृद्धि जरुरी छ । भ्रष्टाचार, ठगी र अनियमितता नियन्त्रणका लागि निकटका हुन् या इतरका कसैप्रतिपनि कुनै मोलाहिजा नराखी दृढ कानुनी कारबाहीलाई अझ व्यापक बनाउन आह्वान गर्नु छ । कयौं भौतिक पूर्वाधार निर्माण ढिलासुस्तीले नागरिक पंक्तिमा असन्तुष्टि निरन्तर बढेको देखिन्छ । सडक, पुल जस्ता भौतिक निर्माणको कार्य ३ सिफ्टमा गर्ने गरी पुँजीगत खर्च वृद्धिसम्बन्धी नयाँ कानुनी बन्दोबस्तका लागि सरकारलाई अपिल गर्नु छ र समुन्नतिका लागि अपनत्व विस्तारसहितको स्थिर संसदीय प्रणाली, अनि प्रणालीको सबलताका लागि ५ वर्षे स्थिर प्रधानमन्त्रीको पद्धति खोजीका लागि विल्कुलै नवीन बहसको थालनी समेत गर्नु छ ।’
सुत्ने बेलामा महामन्त्रीका मुखबाट यति सुनिसकेपछि मलाई कम्युनिस्ट पार्टीहरूले भन्ने गरेको बन्द प्रशिक्षण शब्दावली याद आयो । एकातर्फ प्रशिक्षण लिएझैं अनुभूतिमा थिएँ म, अर्कातर्फ हिमाल आरोहणसँग गाँसिएका सन्देशहरूको हिमाल जत्रै वजन जोख्दै थिएँ म ।
लोबुचे हिमाल चुचुरोमा विश्वप्रकाश शर्मा, प्रकाश लामिछाने, पदम शर्मा, मिङ्मा शर्मा र मकालु लाक्पा शेर्पा ।
०००
यात्राको दोस्रो दिन, २२ मंसिर !फाक्दिङबाट बिहानै हिँडेर मोञ्जो हुँदै जोरसल्ले पुग्यौं । बाटोमा मोञ्जो निवासी ७० वर्षीया एक आमा भेटिनुभयो– आङफुटी शेर्पा । विश्वजीले आमाबाट ‘आशीर्वाद लिउँ है’ भन्दा उहाँले भन्नुभयो, ‘को हौ, के गर्छौ थाहा छैन तर जो हौ राम्रो काम गर ।’ आमाको आशीर्वाद ग्रहणपछि दूधकोसी किनारको बाटो अघि बढ्यौं ।
केही महिनाअघिको बाढीले दूधकोसी किनारबाट खुम्बु पदयात्रा गर्ने बाटो भत्काइदिएकाले सहज यात्राका लागि अर्को खच्चड हिँड्ने मुख्य बाटो जान भनिँदोरहेछ । हामी भने खोला किनारकै बाटो हिँड्ने भयौं । ठाउँठाउँमा भत्किएको, कतै उठेर भित्तो समाउँदै कतै बसेर घिस्रिँदै दूधकोसी किनारैकिनार केही घण्टामा हिलारी पुलछेउ पुगियो, जहााबाट तारानाथ शर्माले लेख्नुभएको ‘घनघश्याको उकालो’ भन्दा कडा उकालो बाटो छिचोल्नुपर्छ नाम्चे पुग्न ।
०००
६ वर्षमा त्यहाँ पनि परिवर्तन आइसकेछ । हिलारी पुलको तल्लो पुलमा हाई अल्टिच्युड बञ्जीजम्प स्टेसन खुलिसकेछ । पदयात्राको बाटो फराकिलो र चिटिक्कको बनिसकेछ । सायद डोजर चलाउन दिइन्थ्यो भने यहाँसम्म ट्याक्टर त पक्कै आइसक्थ्यो होला अहिलेसम्म । तर, चौंरीखर्कदेखि माथि पदयात्रालाई जोगाइराख्न स्थानीय खुम्बुबासीले डोजर चलाउन दिएका छैनन् । जुन खुम्बुक्षेत्रको आजसम्मको सुन्दरता पनि हो ।
नाम्चेको उकालो उक्लिँदै गर्दा बाटोमा नाउर, थार, डाँफे जस्ता जिवजन्तु र चराचुरुङ्गीहरू देखिए । नदेखियून् पनि किन ?आखिर यो यिनकै संरक्षणका लागि बनाइएको सगरमाथा राष्ट्रिय निकुञ्जकै आवादी पनि त हो । डेढ घण्टा फ्याँफ्याँ गर्दै उक्लेपछि नाम्चेको तल्लो भाग आइपुग्यो ।
तल्लो नाम्चे कट्नेबित्तिकै नाम्चे बजारको सुन्दर दृश्य देखिइहाल्यो । हिउँदको समय साढे ४ बजे नै घाम अस्ताइसक्ने नाम्चेमा झिलिमिली बिजुली बल्न थालिसकेको थियो । ‘टुरिष्ट सिजन’ सकिएकाले नाम्चे ठमेल जस्तो ठेलमठेल त थिएन, तर ठमेलभन्दा कम झिलिमिली थिएन । बाटोमा एकजना सानी नानी भेटिइन् । उनले मलाई पटकपटक पल्याकपुलुक् हेर्दै अघि बढिन् । नाम सोधें । उनले जवाफ दिइन्, ‘सारिका शेर्पा’ ।
मेरो अपेक्षाभन्दा भिन्न नाम थियो त्यो । सोलुखुम्बुको नाम्चेमा कुनै शेर्पाकी छोरीको नाम छिरिङ, डोल्मा या याङ्जेन यस्तै केही अपेक्षा गरेको, तर उनी थिइन्, सारिका । यो नामले अचम्मित थिएँ, तर तत्कालै सम्झिएँ– नौ वर्षअघि मेरो एकजना साथीले टिपिकल नाम राख्छु भनेर छोरीको नाम गौंथली राख्दिएछ । ‘अहिले छोरीले यो कस्तो नाम राख्दिएको भनेर फेर्नदिनदिनै कचकच गर्छे’ भनेर सुनाएको कुरा ।
हिमालमा जलवायु मात्र होइन, मानिसको नाम राख्ने तौरतरिकामा पनि परिवर्तन आइसकेछ । म यस्तै सोच्दै अघि बढ्दैथिएा । उनै सारिका नानीले मलाई फ्याट्ट सोधिन्, ‘तपाईं केटी हो ?’
म अचम्मित भएँ, ‘किन?’
उनले भनिन्, ‘त्यति लामो कपाल छ त ।’
‘अनि त्यसो भए केटीको यति लामो दाह्री पनि देखेकी थियौ ?’
मैले यसो भनेपछि, ‘ए ला हो त’ भन्दै नानी बेस्मारी कुदिन् ।
०००
यात्राको तेस्रो दिन मंसिर २३ । आज हाम्रो बसाइ नाम्चेमै दोहोरिँदै थियो । हिमाल यात्रामा हाई अल्टिच्युडका कारण बिरामी नहोइयोस् भनेर ‘अक्लाइमेटाइजेशन’का लागि आजको बसाइ यहीं हुँदैथियो, तर हामीलाई लाक्पाले ३,४४० मिटरको नाम्चेबजारबाट ३,८८० मिटरको उचाइमा अवस्थित संसारमै कहलिएको होटल एभरेष्ट भ्यूमा पुर्याएर ओह्राल्दै थिए ।
एउटा राजनीतिक व्यक्तित्व, त्यसमा पनि देशको सबैभन्दा ठूलो राजनीतिक दलको महामन्त्री । कार्यव्यस्तताबाट समय निकाल्नु त छँदैछ मोबाइल नेटवर्क टिप्ने ठाउँसम्म मोबाइल फोनको रिङले कति खेद्छ भन्ने म प्रत्यक्ष देख्दै थिएँ ।
बाटोमा उक्लिँदै गर्दा कहिले आफ्नो निर्वाचन क्षेत्रबाट प्रधानमन्त्री केपी शर्मा ओली पुग्ने बाहुनडांगीको कार्यक्रममा कतिबेला आइपुग्ने भनेर फोन आउनु, कहिले पार्टीको महामन्त्री भएर आफ्नै पार्टीको कोशी प्रदेशको सम्मेलन जस्तो ठुलो कार्यक्रममा किन अनुपस्थित भनेर जिज्ञासा राख्दै आउने कललाई मेरो यो ६ महिना अघि नै पूर्वनिर्धारित कार्यक्रम हो भन्दै सम्झाइरहनु र उचाइमा उक्लिँदै फोनवार्ता गर्नु ।
महामन्त्रीका यी बाध्यता राजनीतिकर्मीहरूका साझा बाध्यताका रूपमा म बुझ्दैथिएँ । यद्यपि विराटनगरमा हुँदै गरेको पार्टीको प्रदेश अधिवेशनलाई लिखित शुभकामना मन्तव्य होस् या झापा क्षेत्र नम्बर १ मा प्रधानमन्त्री पुग्दै गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भिडियो वक्तव्य बनाउने कुरा होस्, विश्वजीले त्यो सबै हाँस्दै, रमाउँदै र उचाइमा उक्लिँदै बनाइरहनुभएको थियो ।
करिब ५ घण्टामा सक्यौं चानचुन ८ घण्टा लाग्ने यो दिनको यात्रा । यात्रामा हामीले स्याङ्बोचे र होटल एभरेष्ट भ्युबाट लुक्ला, फाक्दिङ, नाम्चेमा भएका केही कुराकानीहरूसम्झिँदै थामसेर्कु, आमादब्लम, नुह्त्से, लोह्त्से, सगरमाथा, पुमरी लगायतका हिमालको दृश्यपान गर्यौं । बीचैमा विश्वजीले सोध्नुभयो–‘साँच्ची सुरुमा हामीले आरोहण गर्ने भनेको आइल्यान्ड पिक कता रे?’
लाक्पाले बादलले छेकिँदै गरेको दिङ्बोचेको कुनो देखाउँदै भने, ‘ऊ त्यतातिर पर्छ ।’
हाम्रो यात्राको सुरुमा मिङ्माको योजना अनुसार आइल्यान्ड पिक चढ्ने कुरा थियो, तर यात्राको ३ दिन अघि मात्र थाहा भयो, ‘इम्जात्से भनेर चिनिने यस हिमालको त हाइक्याम्प, बेसक्याम्प सबैतिरबाट क्याम्प उठाइसकेको छ। साथै डोरीहरू पनि पुराना भैसकेका छन् ।’
यात्रा आरम्भ हुने ३ दिनअघि मात्र यस्तो कुरा सुनेर आरोहण गर्नुपर्ने हिमाल नै फेरिादा कस्तो कस्तो त लागिरहेकै थियो, तर लोबुचेको पहिचान अझ स्थापित छ भन्ने तथ्यले भिन्न उत्साह पनि दिएको थियो ।
बेलुकीपख नाम्चे फर्किंदा टिममा दुईजना नयाँ सदस्यहरू थपिए– इन्जिनियरलाई सुभाष अधिकारी र पदम शर्मा । सुभाषसँग त मैले यो देशका धेरै जिल्ला तथा उचाइहरूमा सँगै पाइला चालेको थिएँ । पदमजीसँग पहिलो यात्रा थियो । दुईजना नयाँ पर्वतारोहीका स्वभाव भिन्नभिन्न थिए । एउटा धेरै बोल्न रुचाउने अर्का कम बोल्ने । एउटा टन्न खाए पिएजस्ता अर्का अठार दिनको अनशनबाट भर्खर उठेजस्ता ।
पदमार्गमा अभ्यस्त सुभाषका लागि बाटो आफ्नै घरछेउको गल्ली जस्तै थियो भने पदमजीका लागि चन्द्रलोकको बाटोजस्तै के हो कसो हो भन्ने केही थाहा छैन । यात्राको पहिलो दिनमै आधाउधी मुभस्प्रे सकाएर जसोतसो पदमजी नाम्चे आइपुगे । हामीलाई साथीहरूको एकखाले चिन्ता त छँदैथियो, हामीभन्दा धेरै चिन्ता हाम्रो मुख्य पथप्रदर्शक लाक्पालाई थियो । उनी भन्दै थिए–‘अक्लाइमेटाइजेसन पनि भएको छैन, खुट्टा पनि एकैदिनमा गएजस्तो छ । पदम सर त जान सक्नुहुन्न जस्तो लाग्यो हौ मामा ।’
मैले लाक्पा भान्जालाई सम्झाएँ, ‘धेरै चिन्ता नलिनुस् । हामी जोखिम मोल्दैनौं । जो जहाँसम्म जानसक्छ त्यहाँसम्म जाने हो । सके हिमाल चढ्ने हो नसके हिमाल हेर्ने हो अनि फर्किने हो । यसमा कसैले चित्त दुखाउनेछैन ।’
यति भनेपछि भान्जाले सम्पुर्ण टिमलाई यात्राको विस्तृत विवरण सुनाए र प्रोटोकलबारे बताए । भोलिदेखि थप अल्टिच्युडको यात्रा हुने हुँदा मद्यपान लगायतका कुरालाई नाम्चेमै विसर्जन गरेर अघि बढ्न पनि आग्रह गरे ।
०००
यात्राको चौथो, पाँचौं र छैटौं दिन मेरा लागि भूगोलका हिसाबले खासै नौला थिएनन् । आइसकेको ठाउँ, उही बाटो । बाटोमा पटकपटक सुनिइरहने उस्तै हेलिकोप्टरको भटटटटटटटट आवाज ! अघिल्ला ३ दिनदेखि नियमित सुनिरहेको उही दूधकोसीको स्वाँस्वाँवाला सुसेसी ।
विश्वजी र पदमजीका लागि भने यी सबै पहिलो अनुभव थिए । खासगरी विश्वजी बाटोमा चौंरीदेखि डाँफे भेट्दा होस् या नाउरदेखि थार देख्दा, उत्साही हुनुहुन्थ्यो । कुनै पथप्रदर्शक या श्रमिक भेटिए पनि गफगाफ गरिहाल्ने । स्थानीयवासी भेटिँदा त झन् लामो कुराकानी हुने नै भयो । पर्यटक या पदमार्गी भेटिँदा ‘अब कतिबेरमा तेङ्बोचे, दिबुचे, दिङ्बोचे, थुक्ला वा लोबुचे आउँछ’ भनेर सोधिरहने–
तपाईंको घर कुन देश हो ? नेपाल आएको कतिपटक हो ? पहिलोपटक कहिले आएको ? राम्रो के कुरा लाग्यो ?सुधार्नुपर्ने कुरा के के छन् ?विश्वजीका यी प्रश्नहरूको सामना बाटोमा भेटिने लगभग सबै पर्यटक वा पदमार्गीले गरे नै । बीचमा मैले र सुभाषले, ‘थाकेर फर्किएका कतिपय पर्यटकलाई यस्ता प्रश्नले इरिटेड बनाउन सक्छ, यसो अनुहार हेरेर नमस्ते भन्दा मुस्कुराउनेहरूसँग मात्र कुराकानी गर्नुहोला है’ भनेर सम्झायौं पनि ।
यात्राको चौथो र पाँचौं दिन हाम्रो लागि उच्च पर्वतीय क्षेत्र, त्यहाँको जनजीवन र रहनसहन सहित समस्या बुझ्ने दिनकै रुपमा रह्यो । यसका साथै थामसेर्कु, आमादब्लम, चोलात्से, आइल्यान्ड पिक, तबुचे, पुमरी, मकालु लगायतका हिमालको अवस्थालाई नजिकबाट दृश्यावलोकन गर्ने र स्थानीयवासीसँग व्यापक संवाद गर्ने अवसरका रूपमा लियौं पनि ।
यात्राका क्रममा चौथो दिन बिहान नाम्चेदेखि हिँड्दैगर्दा एकजना पाको उमेरका विदेशी नागरिकले हाम्रो ध्यान खिचे । विश्वजीले उनीसँग छोटो कुराकानी गर्नुभयो । उनी बेलायतका नागरिक रहेछन्, उमेर ७० वर्ष । सन् १९९४ मा पहिलोपटक नेपाल आएयताको ३० वर्षमा यो उनको २२ औं नेपाल भ्रमण रहेछ ।
हिमालको विकटता र चिसो मौसममा पनि उनमा देखिएको पदयात्राको ऊर्जाको प्रशंसा गर्दै हामी अघि बढ्यौं ।ती विदेशी ज्येष्ठ नागरिक लड्न पुगे । म दौडिएर उनलाई उठाउन गएँ, तर उनले ‘थ्यान्क्यू’ भने मलाई छुनसम्म दिएनन् । मैले बडो अप्ठ्यारो मान्दै उनी उठ्दै गरेको हेरिमात्र रहें । उनले ‘मलाई ठिक छ, तिमी जाऊ’ भनेपछि मात्र म हिँडे ।
चौथो रात ३,८७० मिटर उचाइको दिबुचेमा बासबस्न पुगेका हामी पाँचौं रात भने ४,४०० मिटरभन्दा उचाइको स्थान दिङ्बोचेमा बास बस्दै थियौं । पाँचौं दिनको बाटोको यात्रा खासै लामो नभएकोले तस्बिर र भिडियोहरू खिच्दै, भेटेसम्मका मानिससँग संवाद गर्दै अघि बढ्दै थियौं । बाटोमा फेरी उनै ज्येष्ठ नागरिक भेटिए । विश्वजी, म र सुभाष थियौं । मैले अनुमान गरें यो मानिस पक्कै श्रीमती र छोराछोरी नभएको हुनुपर्छ । नत्र यो उमेरमा पक्कै एक्लै ट्रेकिङ गर्ने थिएन । विश्वजीले उनीसँग फेरी कुराकानी गर्ने चाहना राख्नुभयो ।
७० वर्षीय ती बेलायती नागरिकको नाम रहेछ– जेम्स ह्यान्ड्रीक्स । छोटो भेटघाटमा बडा बिन्दास तरिकाले हामीसँग खुलेर उनले सुनाए, ‘मेरो न छोरा छन्, न छोरी, न श्रीमती !’
‘उसोभए परिवारमा को को छन् त?’
‘एकजना भाइ र एकजना बहिनी ।’
‘पटक पटक हिमाल नै किन त?’
उनले भने, ‘हिमाल मात्र हैन । म दक्षिण एसियामा कहिले गोवाको समुद्र तटतिर हुन्छु त कहिले हिमाल । यताको जनजीवन मलाई निक्कै प्यारो लाग्छ । यता आएर जिन्दगीलाई मैले मज्जैले र मस्तिले भोगिरहेको छु ।’ छुकुङसम्म जाने योजनामा रहेका उनीसँग अब भेट नहुने भएकाले हामीले हृदयदेखि कामना गर्यौं, ‘सकुशल रहोस् उहाँको यो यात्रा ।’ अचम्म के भने त्यो उमेरका पदयात्रीसँग कोही गाइड पनि थिएन ।
साँझ पर्दै थियो । यात्राको यो पाँचौं रात हिजोभन्दा आज थोरै असहज हो कि जस्तो लाग्दैथियो । यद्यपि भर्खरै एउटा नृत्यवाला टिकटक बनाएर बास बस्ने होटेल छेउमा पुग्दैगर्दा छुट्टै ऊर्जा चैं थियो नै । आमादब्लम हिमालको काखको पराकिलो त्यो दिङ्बोचे उपत्यकामा झिसमिसे साँझपख एकजना आमा भेटिनुभयो–आङ्सोना शेर्पा ।
विश्वजीलाई देख्ने बित्तिकै कांग्रेस महामन्त्री भन्ने चिनिहाल्नुभो सायद वा कसैले उहाँलाई सुनाएको थियो क्यार ! ती हँसिली आमासँग आमादब्लम हिमाललाई पृष्ठभूमिमा पारेर तस्बिर खिचियो । हिमाल चढ्न हिँडेका युवाहरू देखेपछि भन्नू भो– निकै गाह्रो छ, तर सक्छ होला !
झोला थन्क्याएर दिनभरको थकान मेट्न एकैछिन सुस्ताएका मात्र के थियौं, दुईजना प्रहरीहरू देखा परे । महामन्त्री दिङ्बोचे आएको खबर उनीहरूले पक्कै पनि पाएको हुनुपर्छ । उनीहरूमध्ये एकजनाले सुभाषसँग र अर्को एकजनाले लाक्पासंग यात्राको गन्त्व्य, विवरण, उद्देश्य, फर्किने रुट आदिबारे सोध्न थाले ।
सायद हाइप्रोफाइल व्यक्ति पनि भएको र बेमौसमको पदयात्रा जस्तो लागेर पनि उनीहरूले यो प्रश्न गरेका हुनसक्छन् । बाटोमा हामीले पनि धेरै पसल तथा होटल मात्र नभई आवासिय घरहरूमा समेत ताला लागेको देखेर अचम्म मानेका थियौं । खास कारण मंसिर मसान्त भइसकेकोले एक त चिसो पनि अब ह्वात्तै बढ्छ र पर्यटकिय सिजन समेत सकिइसकेको हुँदा यसरी सबैतिर ताला लागेको हो भन्ने थाहा पाइयो ।
प्रहरी साथीहरू हामीले लोबुचे हिमाल चढ्ने कुरा थाहा पाएपछि झन् अचम्मित भए । अनि उनीहरूले हिमाल आरोहणका सामग्रीहरू, सेफ्टी प्रोटोकल आदि बारे सोध्न थाले । हामीले यी सबै कुरा हाम्रो गाइड लाक्पालाई सोध्न भन्यौ । लाक्पाबाट आवश्यक सूचना लिइसकेपछि उनीहरू हामीलाई शुभकामना दिन आए ।
सोही क्रममा विश्वजीले उनीहरूको आफ्नोबारे सोध्नुभयो । सोध्दै जाादा थाहा भयो–माथिल्लो खुम्बु क्षेत्रको यो एकमात्र अस्थायी प्रहरी चौकी रहेछ, दरबन्दी ४ जना मात्र । त्यसमा पनि दुईजना छुट्टीमा रहेछन् । नियमित सुरक्षा बाहेक हिमाल आरोहणका क्रममा आएका वा पदयात्राका क्रममा हराएका वा समस्यामा परेकाको खोजउद्धार कार्य यही टिमले हेर्नुपर्ने रहेछ ।
यति कुरा गर्दैगर्दा हामीले बाटोमा ‘गाइड’ बेगर एक्लै ‘रिस्की’ यात्रा गरिरहेका ती बेलायती नागरिक जेम्सलाई सम्झियौं । ‘गाइड’ बेगर हिमालमा ट्रेकिङ जाने अनुमति उनलाई राज्यको कुन निकायले दियो होला? हामीले सोध्दा ‘एक्लै यात्रा गर्छु म त सधैं’ भनेर उनले हामीलाई ढाँटेका त पक्कै होइनन् ।
यदि त्यो उमेरको व्यक्तिलाई सोलो ट्रेकको अनुमति कुनै निकायले दिएको हो भने, त्यो अत्यन्तै गलत हो । हिमाल यात्राको जोखिममा वर्षेनी कयौंको मृत्यु भएको समाचार आइरहँदा, यस्तो कमजोरी किन ? यसबारे महामन्त्रीले तत्कालै फिल्डबाटै प्रहरीको साधनस्रोतको सीमितताबारे प्रहरी प्रमुख बसन्त कुँवर र सोलुखुम्बुका सिडियो अनोज घिमिरेलाई ध्यानाकर्षण गराउनुभयो । सिडियोले दिएको जानकारी अनुसार खुम्बु क्षेत्रमा चिसो या अल्टिच्युडका कारण पदयात्रीको नियमित मृत्यु हुने कुराले हाम्रो पनि आङ सिरिङ्ग भयो ।
यस्तो ठाउँमा बसेर साधनश्रोतको अभावमा पनि मानवसेवामा खटिएका राष्ट्रसेवक प्रहरीप्रति स्याल्युट पनि गर्न मन लाग्यो ।
यसबीचमा हामीलाई काठमाण्डौबाट हेलिकोप्टरमार्फत् लुक्ला पठाएका मिङ्मा पनि दिङ्बोचे आइपुगेका थिए । यात्रामा हामीसँग दिङ्बोचेबाट जोडिने सल्लाह बमोजिम मिङ्मा २५ गते हेलिकप्टरमा त्यहाँ आइपुगे । मिङमा शेर्पा कस्ता हुन् भनेर सुभाष सुनाउँदै थिए, ‘२ वर्षअघि रामेश कोइराला, सुभाष अधिकारी र सुवास शर्मा मेरा पिक जाँदा बेलुका ३ बजे मेराको बेसक्याम्प पुगेका मिङ्मा राति ९ बजे पिक चढेर फेरी बेसक्याम्प आइपुगेका थिए ।’
बिचैमा मिङ्माले ओभरटेक हाने, ‘मेरो के कुरा? कहिलेकाहीं मेरो पोर्टर भाइहरू भारी बोक्दाबोक्दै बाटो बिराएर पुगिराख्या हुन्छ मेरा पिकमा त । हाम्रो त यस्तो भैरहन्छ ।’
उनको कुरा सुनेर जिब्रो टोक्दै विश्वजीले भन्नुभयो, ‘तपाईंको अनुभव र हिमालसँगको सम्बन्ध हेर्दा अनि सुन्दा त तपााई हिमाल आरोहण क्षेत्रको हिउँ प्रदेशको मुख्यमन्त्री नै हो जस्तो पो लाग्यो त मिङ्माजी !’
मिङ्माले उचित मौकामा आफुभित्रको राजनीतिक चेतसहितको आकांक्षालाई मिलाएर भनिहाले, ‘दाइहरूको साथ र संगत रहिरहे मन्त्री मुख्यमन्त्री पनि भैहाल्न के बेर छ र !’
जुनेली रातको त्यो सुनसान सन्नाटा चिर्दै एकछिन मजैले हाासो गुञ्जियो दिङ्बोचेको उत्तरी पाखोमा ।
०००
पूर्वनिर्धारित समय तालिकाअनुसार यात्राको छैटौं दिन अर्थात् २६ मंसिरका दिन हामी दिङ्बोचेमै ‘अक्लाइमेटाइजेसन’ गर्ने योजना थियो । त्यसका लागि दिउसोतिर त्यहींको नागार्जुन डाँडा पुग्ने र फर्किने मात्र कार्यक्रम थियो । तर, कसैलाई खासै गाह्रो नभएको र बरु अलिकलि माथिल्लो ठाउँमा पुगे दूरी पनि छोटिने सबैको सल्लाह बमोजिम छैटौं रात दिङ्बोचे भन्दा २०० मिटरको उचाइमा रहेको थुक्लामा बासबस्ने योजना भयो ।
४६०० मिटर उचाइमा रहेको थुक्ला सगरमाथा बेसक्याम्प, गोरकसेप तथा कालापत्थर जानेहरू र लोबुचे हिमाल तथा चोला पास हुँदै गोक्यो लेक जानेहरू छुट्टिने बाटो पनि हो । परिमार्जित योजना अनुरूप नागार्जुन डाँडाको टुप्पामै नपुगिकन बीचबाटै दिङ्बोचे फर्केर हिमाल आरोहणका क्रममा लगाउनुपर्ने जुत्ता तथा ज्याकेटको साइज नापेर हामीहरू थुक्लाका लागि ब्यागप्याक गर्न थाल्याौ । अत्यावश्यकबाहेकका सामग्रीहरू धनभाइमार्फत फेरिचे पठाउने कि थुक्लामै लैजाने भन्ने विषयमा एकछिन बहस पनि भयो ।
धन तामाङ, पदयात्राका श्रमिक भाइ अर्थात् बोलिचालीको भाषामा भरिया भाइ । मिजासिला धन भाइसँगको कुराकानीमार्फत हिमाली क्षेत्रका भरियाहरूको पिडालाई नजिकबाट बुझ्न पाइयो । न आम्दानीको कुनै सुनिश्चितता छ न त लडे, चोटपटक लागे या अन्य हिसाबले बिरामी परे कसले उपचार गर्ने कुनै टुंगो नै छ । बिमाको पनि कुनै सुनिश्चितता छैन ।
मिङ्मा सुनाउँदै थिए, ‘वर्षेनी दर्जनौ भरिया भारी बोकेर हिमाल त जान्छन् तर फर्केर आफ्नो घर पुग्दैनन् । बीचमै हराउाछन् । न उनीहरूको लास भेटिन्छ न त सास नै । यसरी अनिश्चित आम्दानी र अनिश्चित जिन्दगी सहितको भारी बोकेका भरियाहरू यो हिमाली पर्यटनका नभइनहुने पिल्लर हुन्।’
अन्तर्राष्ट्रिय पर्वत दिवसका दिन अर्थात् मंसिर २६ गतेको हाम्रो बसाइ हुँदैथियो सगरमाथाबाट आएको खुम्बु ग्लेशियर अर्थात् दूधकोसीको मुहानछेउको ४,६२० मिटर उचाइको थुक्लामा, माइनस १३ डिग्रीको तापक्रममा मोबाइल फोनको नेटवर्कविहीन अवस्थामा । संयोगले १ हजार रुपैयाँ तिरेपछि केही घण्टा चल्ने इन्टरनेट पाइनेरहेछ । त्यो पनि राति चिसोले ब्याट्री डाउन भएपछि सक्कियो ।
परिमार्जित तालिका अनुसार भोलि बिहान त लोबुचे हाइक्याम्पका लागि मुभ हुनु थियो र भोलि नै राति लोबुचे हिमाल आरोहणका लागि हिँड्नुपनि थियो । एउटा जोखिम र डर मिश्रित सपना देखिने कल्पना गर्दै थुक्लाको रात बिताइयो ।
०००
‘अहो! अबको १७ घण्टामा त लोबुचे हिमाल आरोहणका लागि सम्पूर्ण सरसामग्री भिरेर हिँडी पो सकिन्छ त है ?,’ सहयात्री सुभाषलाई भनें ।
‘हामी त जान्छौं जान्छौं बरु पदमजी पो के हो ?,’ वास्तवमा अकस्मात् निर्णय गरेर हो या किन हो पदमजीलाई हामी सबैले हिमाल आरोहणमा सिरियस्ली लिएका थिएनौं । सुरुमा ‘लुक्लाबाटै फर्किन्छन् नभए नाम्चेबाट त कन्फर्म’ भनेका पदमजी दिबुचे, दिङ्बोचे हुँदै थुक्लासम्मै आइपुगेका थिए ।
चानचुन ९ बजेतिर थुक्लामै खाना खाएर हामीहरू लोबुचे हाइक्याम्पमा बास बस्नेगरी अघि बढ्यौं । हामीले खाना खाँदै गर्दा दिङ्बोचेबाट क्याम्प बाँध्ने टोली हाम्रा हिमाल आरोहणका सामग्रीहरू लिएर अघि बढिसकेका थिए । पदमजी खाना खासै मिठो हुन छोडेको सुनाउँदै थिए । खाना खाइसकेपछि अत्यावश्यक बाहेक बाँकी सामग्री थुक्लामै छोडेर हामीहरू लोबुचे हाइक्याम्पका लागि अघि बढ्यौ ।
अलिपर पुगेपछि चोलात्से र ताबुचे हिमालको बीचमा हिमपहिरोले थुनेर बनाएको चोला ताल जमेर ठप्पै भएको देखियो । एकछिन त्यहीं सुस्ताएर कुनैदिन यो हिमताल फुटेमा यसले तल फेरिचेदेखि पाड्बोचेसम्मका गाउाहरूमा पार्न सक्ने असरका बारेमा कुराकानी गर्यौं । यत्तिकैमा माथि हेर्दा सुभाष, पदमजी र मिङ्मा अर्कोबाटो हुँदै हामीभन्दा ३/४ सय मिटर माथि पुगिसकेको देख्यौं र हामीहरू पनि उठेर हिँड्न थाल्यौ ।
एकछिनमा फराकिलो फााट आयो । लाक्पा भान्जाले उक्त ठाउँ नै लोबुचे बेसक्याम्प भएको बताए । बेसक्याम्पबाट हेर्दा हामीभन्दा अघि हिँडेका साथीहरूले बाटो बिराएजस्तो देखियो । चिच्याएको सुन्लान् जस्तो लागेन अनि हातको इसाराले बाटो बारे जानकारी दिइयो र बेसक्याम्पबाट हाइक्याम्पका लागि उकालो लागियो । अब भने बिस्तारै उचाइको गाह्रोपना महसुस हुँदैथियो । हिजोसम्म १२ किलोको झोला आफैंले बोकेर हिँडिएको थियो, तर अहिले त्यसको आधा हुँदा पनि गह्रौं महसुस हुँदैथियो । बेसक्याम्प र हाइक्याम्पको बीचमा पुग्दैगर्दा बाटो बिराएका साथीहरू पनि आइपुगे र हामीहरू दिउँसोको पौने ३ बजे लोबुचे हिमाल हाइक्याम्पमा पुग्यौं ।
हावा जोडले चलिरहेको हाइक्याम्पमा छेवैको सानो ताल पनि जमेर ठप्प थियो । हाम्रो लागि बनाइएका टेन्टहरू बसिसक्नुका थिएनन् । मिङ्माले हावा धेरै चलेकोले सबैजना डाइनिङ टेन्टभित्रै सुत्नुपर्नेसुनाए । मिङ्माको निर्देशनलाई पालना गर्दै केहीबेर रेस्ट गर्ने भइयो ।
केहीबेर आराम गरेर बेलुका ५ बजेपछि दालभात र साग खाइयो, ननभेज खाने साथीहरूले मासुभात खाए । हावा जोडतोडले चल्दैथियो । खाना खाएर फेरि सुतियो तर केको निद्रा लाग्नु ? बाहिर हावाको स्पिड १२० किलोमिटर प्रतिघण्टा भन्दा ज्यादा नै थियो होला । सबैजना सुतेझैं गर्दैथियौं तर निद्रा कसैलाई लागेको थिएन । हावाले टेन्ट मात्र होइन मान्छेलाई नै उचालेर फाल्ला जस्तो गर्दैथियो । यसबीचमा पिसाबले च्याप्ला जस्तो हुादापनि टेन्ट बाहिर जाने हिम्मत आएन ।
रातिको ११ बजे, लाक्पा भान्जाले सबैलाई उठाएर ट्रेकिङ गियरहरू लगाउन भने । बाक्लाबाक्ला डबल मोजा लगाएर झन्डै २–२ केजीका जुत्ता अनि भित्र दिउसो लगाएका रेगुलर लुगाबाहिर डाउन पेन्ट र डाउन ज्याकेट अनि त्यसबाहिर हार्नेस र हिउँ एरिया भेटिएपछि जुत्तामा फलामका दाँत भएका र्क्याम्पन्स । हातमा डाउन पञ्जा र ट्रेकिङ पोल त छँदैछ । यति लगाइसकेपछि बाटोमा दिसापिसाब आइहाले के गर्ने नि ?
बाँकी कुरा देखाजाएगा । यत्ति सोचेर रेडी भइयो ।
०००
मध्यरातको १२ बज्न १५ मिनेट बाँकी हुँदा हाइक्याम्पबाट हाम्रो आरोहण सुरु भयो । चारजना आरोहीहरू– विश्वप्रकाश शर्मा, म, सुभाष अधिकारी र पदम शर्मा । आरोहणका अन्य मुख्य सहयात्रीहरूथिए– मिङ्मा शेर्पा, मकालु लाक्पा शेर्पा, ङिमाठेन्डुक शेर्पा र लाक्पा शेर्पा ।
सुरुका २ घण्टाजति करिब ८० डिग्रीको भिरालो चट्टानको उकालो अनि बााकी ५ घण्टाजति हिउा नै हिउँको यस्तै प्रकारको ८० डिग्रीको भिरालो । डोरीमा झुडिँदै, घिस्रिँदै बिहानपख झुल्केघामको उज्यालोसँगै ६ः४५ बजे पुगियो लोबुचे हिमालको चुचुरो ।
अत्यन्तै जोखिम, डर तर उत्तिकै रोमाञ्चकता यिनै भावहरू बोकेर हिमालको चुचुरोमा पुग्दा यस्तो लाग्यो– स्वर्गको एक टुक्रामा उभिएको छु र पृथ्वीलाई नियालिरहेछु । पिकमा पुगेपछि कतै सेताम्मे हिमाल त कतै उजाड पहरा हेर्दै विश्वजीले भन्नुभयो– जलवायु परिवर्तनको असरबाट यो पृथ्वीलाई बचाउन सबभन्दा पहिले हाम्रा यी हिमालहरू जोगाउनुपर्छ ।
