जब म आफैंलाई ऐनामा हेर्थें, साह्रै उदास र निराश हुन्थें । अदृश्य भगवान्साग सोधिरहन्थें– हे ईश्वर ! किन मेरो शरीर महिलाको र मन पुरुषको बनायौ ?
काठमाडौँ — अध्याय : एक मेरो जन्म एक बालिकाका रूपमा भयो । परिवारले खुसी भएर मेरो नाम एलिना राखिदिए । मलाई सानैदेखि छोटो कपाल पाल्न र केटाको पहिरन लगाउन मनपर्थ्यो । तर, मेरी ममीले फ्रकलगायत छोरीले लगाउने अन्य एक्सेसरिजहरू किनेर ल्याइदिनुहुन्थ्यो ।
त्यो फ्रक म एकछिन लगाएजस्तो गर्थें र फुकालिहाल्थें । मलाई उतिबेलैदेखि महसुस हुन्थ्यो कि म अरू केटीभन्दा पृथक् छु, तर किन म फरक छु ? त्यो थाहा थिएन ।
बढ्दै जाने क्रममा झन्झन् मभित्र ‘म केटी होइन’ भन्ने भाव हुर्किंदै गइरहेको थियो । मभित्रको मेरो मन र मस्तिष्क एक पुरुषकै छ भन्ने कुराले मलाई बढी नै पिरोल्दै गइरहेको थियो किनकि मेरो बाहिरी आवरण त्यतिबेला पनि केटीकै जस्तो देखिन्थ्यो ।
जब म किशोरावस्थामा पुगें, मेरो महिनावारी हुनुका साथै ममा शारीरिक परिवर्तन आउन थाल्यो । मेरा स्तनहरू बढ्दै जान थाले, शारीरिक बनावट ठ्याक्कै एउटी किशोरीको जस्तै देखिन थाल्यो । आफूमा आएको त्यस्तो परिवर्तन म आफैंले स्वीकार्न सकिरहेको थिइनँ । मेरो मन र मस्तिष्कमा ठूलो अन्तरद्वन्द्व हुन थाल्यो, किन मेरो मन र मस्तिष्क पुरुषको र शरीर महिलाको जस्तो छ ?
यी मभित्रका यस्ता द्वन्द्वले मलाई भित्रभित्रै खाएर खोक्रो पारिसकेको थियो । महिनावारीका दिनहरू मेरा लागि निक्कै कष्टकर र काला दिन भएर बित्ने गर्थे किनकि महिनाको २९ दिनसम्म म ‘पुरुष हुँ’ को भावमा बाँचिरहेको हुन्थें । र, महिनावारीका दिनहरूले पलपल याद दिलाउँथे कि म जन्मिँदा केटीका रूपमा जन्मिएकी थिएँ । यी र यस्ता विविध द्वन्द्व तथा अन्तरद्वन्द्वले मलाई असाध्यै सताइरहेको थियो । ममा के भइरहेको छ ? किन भइरहेको छ ? खुट्याउनै सकिरहेकी थिइनँ ।
जब म आफूले आफैंलाई ऐनामा हेर्थें म भित्रैदेखि साह्रै उदास र निराश हुन्थें अनि भगवान्लाई धिक्कार्दै भन्थें, किन मेरो शरीर महिलाको र मन पुरुषको बनायौ ? आफ्नै शरीर देखेर घिन लाग्थ्यो । बाहिर हिँडडुल गर्दा कसरी स्तन लुकाउने भनेर हरक्षण दिमागमा चिन्ता हुन्थ्यो ।
एलिना भण्डारी
चैत–वैशाखको प्रचण्ड गर्मीमा पनि मागेर लाएजस्तो देखिने ठूला–ठूला साइजका ज्याकेट लगाएर शारीरिक वनावट लुकाउने प्रयास गर्थें । मैले लगाउने लुगा मेरा जीउभन्दा निक्कै ठूला र खुकुला हुने गर्थे । जीवन यसरी नै द्वन्द्व र द्विविधामै अगाडि बढिरहेको थियो, तर मेरो भित्री मनमा भने एउटै मात्र प्रश्न रुमल्लिइरहेको हुन्थ्यो– कहिले मेरो भित्री मन र मस्तिस्क जस्तै बाहिरी शरीर नि हुन सक्ला ?
सात–आठ कक्षा पुग्दासम्म म अत्यन्तै राम्रो पढ्ने विद्यार्थी थिएँ । हाम्रा पाठ्यपुस्तकमा लैंगिक तथा अल्पसंख्यक समुदायबारे यथेष्ट सूचना र जानकारीमूलक ज्ञान थिएन, त्यही कारण होला हामीजस्ता व्यक्तिलाई मान्छेले बेग्लै नजरले हेर्ने गर्थे । साथीभाइ र शिक्षकहरू पनि अनौठो मान्ने गर्थे । त्यति मात्रै नभएर मप्रति गरिने व्यवहारले समेत मलाई फरक महसुस गराउँथ्यो । सायद यस्ता थुप्रै कारण थिए, जसले म पढाइमा केन्द्रित हुनै सकिनँ । मेरो दिमागमा हरपल आफ्नो पहिचान कसरी लुकाउने भन्ने मात्रै ध्याउन्न हुन्थ्यो । स्कुल–लाइफमा साथीहरूबीच
विपरीत लिंगीतर्फको आकर्षणको कुरा चल्थ्यो । केटी भएर केटीलाई नै मनपराउने कुरालाई अरूले कसरी हेर्ने हुन् भन्ने ठूलो त्रासले म रातभर सुत्न सक्दिनथें । मनैदेखि प्राकृतिक रूपमा आफसेआफ आएको कुरा लुकाउन धेरै नै सकस भइरहेको थियो किनकि मलाई अरू कसैले केटा बनाइदिएको त होइन नि ।
स्कुल पढ्दा मेरो मुख्य समस्या ड्रेस र ट्वाइलेटमा हुन्थ्यो । स्कुल युनिफर्म स्कर्ट थियो । कपाल लामो हुनुपर्ने, रिबन बाँध्नुपर्ने त सामान्य नै भइहाले । छ, सात कक्षासम्म छोटो कपालमा स्कुल गएको मलाई पछि जबर्जस्ती शिक्षकहरूले लामो कपाल पाल्न लगाए । मेरो मनले भने यी कुरा गर्नै मान्दैन्थ्यो । स्कर्ट लाउनुपर्दा, लामो कपालमा रिबनले चुल्ठो बनाउनपर्दा असाध्यै नमज्जा र असहज महसुस हुन्थ्यो । कुनै केटालाई केटीको लुगा लगाइदिएर हिँडाएजस्तो साह्रै नै लाजमर्दो लाग्थ्यो आफैंलाई ।
मैले आफूलाई मनैदेखि पुरुष ठान्ने हुँदा केटीको ट्वाइलेटमा जान शरम लाग्ने, इच्छै नलाग्ने । फेरि केटाको ट्वाइलेट जाँदा किन केटी भएर केटाको ट्वाइलेट पसेको भनेर बुली गर्ने गर्थे साथीहरू । १२ कक्षासम्म केटीकै पहिचान लिएर बाँचेको मलाई त्यो कष्टकर भोगाइ सयौं जुनीभन्दा पनि लामो लागिरहेको थियो । १२ कक्षा पास गरेपछि म एउटा कन्सल्टेन्सी अफिसमा डाटा इन्ट्री गर्ने काम गर्थें ।
अफिसका सबैले मलाई केटीकै रूपमा देखेका र चिनेका थिए, मेरो वास्तविक पहिचान कसैलाई थाहै थिएन । तर, कहिलेकसो केटाजस्तै व्यवहार गर्छ भन्ने कुराहरू नआएका भने होइनन् । त्यहाँ मेरा प्रिय साथीहरू भए, ब्लु डायमन्ड सोसाइटीमा इन्टर्नसिप गरेका साथीभाइ ।
उनीहरूले मेरो बारेमा केही शंका गरे । यो यस्तो समुदायको व्यक्ति हो भन्ने निर्क्योल गरेर मलाई ब्लु डायमन्ड सोसाइटीमा कनेक्ट गराइदिए । म काउन्सिलिङका धेरै सेसनहरूमा बसेको छु । त्यसपछि मात्रै मलाई कन्फर्म भयो कि म ‘ट्रान्सम्यान’ रहेछु भन्ने ।
वर्षौंदेखि मैले खोजिरहेको पहिचान ब्लु डायमन्ड सोसाइटीमा गएर पाएँ । तब मभित्रको अन्तरद्वन्द्व केही हदसम्म कम भएजस्तो, अलिकति सजिलो गरी श्वास फेर्न पाएजस्तो लाग्यो । मजस्ता मान्छे यो दुनियाँमा म मात्रै नभएर अरू थुप्रै रहेछन भन्ने अनुभूतिले ममा फेरि एक पटक बाँच्ने आशा जागेर आयो ।
कलेजको पहिलो दिन अझैं याद छ मलाई, त्यो दिन मैले सर्टपाइन्ट लगाएको थिएँ, कपाल छोटै थियो । केटीको ट्वाइलेट छिरें, केटा भएर केटीको ट्वाइलेटभित्र छिर्यो भनेर सबैले हकारे । त्यो दिन सम्झिँदा अहिले पनि निक्कै नमिठो लाग्छ । पहिलो दिन नै मैले यस्तो तीतो अनुभव गर्नुपर्यो ।
अब म प्राइभेट कलेज पढ्दिनँ किनभने मेरो पहिचानलाई लिएर मलाई निक्कै गाह्रो हुन्छ भन्ने ठानेर ब्याचलर सरकारी कलेजमै पढ्ने निधो गरें । र, पशुपति क्याम्स भर्ना भएँ । सोचें नियमित कक्षामा बस्दिनँ, परीक्षा दिन मात्रै जान्छु ।
स्नातक पहिलो वर्षको परीक्षा दिन जाँदा मेरो परिचयपत्रमा भएको फरक लुक्स देखिने फोटोले अर्को ‘इस्यु’ आयो । त्यतिबेलासम्म मैले मेरो पहिचान पाइसकेको थिएँ । कपाल निक्कै नै छोटो बनाएको थिएँ । ‘फोटोमा देखिने मान्छे तँ होइन’ भनेर मलाई परीक्षा हलमा बस्न दिएनन । त्यो दिनदेखि मैले कलेज ‘ड्रपआउट’ गरें, छोडेको छोड्यै भएँ, फेरि फर्केर कलेज जाने र पढ्ने सपना मारिदिएँ ।
त्यसपछि म ब्लु डायमन्ड सोसाइटीमा भोलेन्टियरको काम गर्न थालें । निक्कै पछि जागिरका लागि दरखास्त आवाह्न निस्कियो । मैले अप्लाइ गरें, पास पनि भएँ । हटलाइन अपरेटरको पदमा मैले ब्लु डायमन्ड सोसाइटीमै जागिर सुरु गरें ।
सन् २०१५ मा मैले हटलाइन अपरेटरको जागिर सुरु गरेको हुँ । फोनमा आएका जिज्ञासा र गुनासाहरू सुन्दा मलाई लाग्थ्यो, यो समुदायभित्र कत्ति धेरै समस्या रहेछन् । पारिवारिक समस्या, हिंसा, प्रेम र विवाहलगायत थुप्रै विषयमा सोधपुछका फोनहरू आउने गर्थे ।
मैले सकेसम्म उपयुक्त सूचना र जानकारी दिएर आफ्नो काममा अब्बल प्रदर्शन गर्ने प्रयास गरें । त्यसको करिब ३ वर्षपछि मैले कुनै प्रोजेक्टमा प्रोग्राम असिस्टेन्टको रूपमा काम गर्न थालें । त्यस पदमा रहेर काम गर्न कार्यक्रम कसरी डिजाइन गर्ने, कार्यक्रम अवधारणा कसरी बनाउने लगायतका कुरा सिक्ने मौका पाएँ ।
अहिले म ब्लु डायमन्ड सोसाइटीमा प्रोजेक्ट कोअर्डिनेटरका रूपमा काम गरिरहेको छु, जुन एलजीबीटीक्यूआई चाइल्ड राइट्समा केन्द्रित छ । यसमा विशेषगरी यो समुदायका बालबालिकालाई विद्यालयमा हुने हिंसा, विभेद, बुलिङ्ग, परिवारमा हुने स्विकारोक्तिका समस्या लगायत राष्ट्रिय बाल नीति समुदायमैत्री हुन पर्यो भन्ने जस्ता विषयबारे वकालत गरिन्छ ।
अध्याय : दुई
म नेपालकै प्रथम ‘ट्रान्सम्यान’ हुँ । काठमाडौंमा एलिना नामकी बालिकाका रूपमा जन्मिएको मैले उमेरसँगै बढ्दै गएको स्तन र पाठेघर शल्यक्रिया गरी फालें । त्यसपछि दाह्री–जुँगा आउने र हर्मोन बढाउने औषधि खान थालें । हाल म पूर्णरूपमा पुरुषको भेषमा हुन्छु । मेरो स्वर पनि पुरुषको जस्तै हस्की भइसकेको छ । युवतीका रूपमा जन्मिए पनि मेरो तन महिलाको र मन पुरुषको थियो । त्यही कारण होला केटीहरूप्रतिको आकर्षण बढ्दै जान थाल्यो । भित्रभित्रै डर लाग्थ्यो, मनमा असाध्यै द्विविधा हुन्थ्यो– म किन अरूभन्दा फरक ? मेरो शरीर र मन एकै किन नभएको ?
बाल्यकालदेखि केटाको जस्तै हाउभाउ र पहिरन गर्ने मैले एकदिन लामो केश काटी टाउको मुडुलो बनाएर घर आएँ। घरका सबै सदस्य तर्सिए । मैले दाइलाई भने, ‘तैंले मलाई सहयोग गर्नुपर्छ, म तेरी बहिनी होइन भाइ हो, मलाई भाइजस्तै व्यवहार गर्नू ।’
यसमा दाइको भरपुर सहयोग प्राप्त भयो । मेरो बुवाले सधैं भन्ने गर्नुहुन्थ्यो, ‘तँ किन सधैं यसरी बेरूपी भएर हिँड्ने गर्छेस् ?’ बिस्तारै आमाबुवाले यो कुरा थाहा पाएपछि एकदिन आमाले नमीठो मानेर भन्नुभो, ‘तैंले किन यसरी आफ्नो मन र शरीरलाई यत्ति धेरै दुःख दिएको ? म यो सब हेरेर बस्न सक्दिनँ, आफ्नो खुसी गर्नू ।’ आमाको यो कुराले मेरो मुटु छोयो ।
आमाको माया र शक्ति अपरम्पार हुँदोरहेछ । अहिले बुवाआमा दुवै मलाई छोराका रूपमा स्वीकार गर्न पाउँदा खुसी हुनुहुन्छ । उहाँहरूको मप्रतिको माया र विश्वासले यो सबै सम्भव बनायो ।
सन् २०१५ तिर म समुदायसँग हटलाइनमा काम गर्ने कुरा माथि नै बताइसकें । त्यहाँ मेरो काम यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायभित्रका अन्योलता, उनीहरूलाई परेका समस्या, सामाजिक बहिष्करणमा परेका तथा एचआईभी प्रभावितहरूसँग संवाद र काउन्सिलिङ गर्नु थियो ।
त्यतिबेला समुदायसँग त छँदैथियो, त्यसबाहेक महिला आयोग, मानवअधिकार आयोग, स्वास्थ्य सेवा आयोग र विभिन्न सरकारी निकायसँग हाम्रो समुदायबारे वकालत गर्ने काम गर्थें । यो कामले हाम्रो समुदायभित्र आत्मविश्वास बढायो भने समाजमा परिवर्तन लिएर आयो । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूले बाल्यकालदेखि नै पारिवारिक तिरस्कार, सामाजिक हेय र विभेद भोग्नु परिरहेको थियो ।
स्कुलमा यौनिक तथा लैंगिक अल्पसंख्यकमैत्री वातावरण कसरी सिर्जना गर्ने ? यस्ता बालबालिकाका परिवार र अभिभावकहरूलाई कसरी सचेत र सजग गराउने ? कसरी उनीहरूलाई यो विषय बुझाउने ? यो नीति तथा कार्यक्रमको अवधारणा र कार्यान्वयनमा मेरो पनि भूमिका छ ।
काठमाडौं, बाँके र दैलेखका स्कुलहरूमा मेरै नेतृत्वमा थुप्रै जनचेतनामूलक कार्यक्रम सम्पन्न भए, यसले सकारात्मक परिणाम पनि ल्यायो । तर, सुरुवाती दिनमा काठमाडौंका नाम चलेका विद्यालयबाट पनि हामी अस्वीकृत भएका थियौं । सहजै स्वीकार गरेका परिवारलाई एकैठाउँमा ल्याएर ‘रेन्बो ग्रुप’ बनाएका छौं, जसले ‘पियर टु पियर’ परामर्श दिन्छन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मूल कार्यक्रम गाईजात्रा, गौरव यात्रामा ती परिवार वा अभिभावकलाई रोल मोडलका रूपमा प्रस्तुत गरिन्छ । यौनिक तथा लैंगिक अल्पसंख्यक भन्नेबित्तिकै तेस्रो लिङ्गी महिलाको विषय मात्रै हाइलाइट भएको र यसले अन्यलाई छायामा पारेको मलाई अनुभूति हुन्छ । बालिका भएर जन्मिएका, तर फरक मन बोकेका ‘ट्रान्सम्यान’हरू लैंगिक पहिचानको हिसाबले फरक हुंदा झन् दोहोरो–तेहेरो मारमा पर्ने मेरो बुझाइ छ ।
कतिपय बालिकालाई ‘करेक्टिभ रेप’ (यौनको स्वाद थाहा नपाएर केटाजस्ती भएकी, एकपटक यौन कार्य गरेपछि केटी हुन्छे भनेर परिवारले नै केटा खोजेर यौनसम्बन्ध गराइदिने) घटनादेखि प्रसूतिसम्बन्धी विविध समस्याका कारण मजस्ता कैयौं ‘ट्रान्सम्यान’हरू दैनिक मर्दै बाँच्न विवश छन् ।
मूल कुरा त हामीलाई समान मानवका रूपमा व्यवहार गर्नुपर्यो । हरेक ठाउँमा हामीले मात्रै विभेद भोग्नुपर्ने किन ? जागिर खान जाँदा आफूसँग सीप, क्षमता र दक्षता नै भए पनि कतै काम दिइँदैन, किन ? सरकार र समाजले सोच्नुपर्ने होइन र ?
सञ्चारमाध्यमहरूले पनि हाम्रो दुःख–पीडाका कथा र अनौठा तस्बिर छापेर ‘पब्लिसिटी’कै लागि मात्रै हामीलाई नलिइदिए हुन्थ्यो जस्तो लाग्छ । हामी पनि मानव हौं, समाज र देश बनाउने नागरिक हौं । हाम्रा मुद्दालाई सही रूपमा उपयुक्त ढंगले उठान र वकालत गरिदिए मुलुकले हामीबाट धेरै लाभ लिन सक्छ भन्ने मेरो बुझाइ हो ।
अन्य मुलुकमा लैंगिक तथा अल्पसंख्यक समुदायका लागि कैयौं अधिकार स्थापित भइसकेका छन्, तर हामीकहाँ सोचसमेत बदलिन सकेको छैन । हामीलाई पनि अन्य मानिससरह व्यवहार गरी राज्यले आफ्ना नागरिकप्रतिको आफ्नो दायित्व पूरा गरोस् भन्ने हाम्रो चाहना हो ।
यो समुदायभित्र थुप्रै मुद्दा यथावतै छन्, जसलाई टड्कारो उठान गर्नुपर्ने देखिन्छ । फरक लिङ्ग भएकै कारण पढाइबाट वञ्चित हुनुपर्ने, परिवार र समाजको छिःछिः र दुर्व्यवहार सहनुपर्ने, मानसिक तथा शारीरिक पिडा भोग्नुपर्नेजस्ता अनगिन्ती समस्यालाई सञ्चारमाध्यमले उचित ढंगले उठान गरिदिए यो समुदायले पनि मर्यादित जीवन बाँच्न पाउने थियो । बिकज मिडिया ह्याज द्याट पावर टु चेन्ज द थट्स एन्ड सोसाइटी ।
(लक्ष्मी भण्डारीसँगको कुराकानीमा आधारित)
