राजनीति र कूटनीतिमा ‘फरेनर्स इम्प्याक्ट’ निको मानिन्न, तर खेलकुदमा यसलाई सकारात्मक कदम मानिन्छ
काठमाडौँ — जगत टमाटा गुरुले ठीकै भनेका हुन्, ‘सुदूरपश्चिम रोयल्समा जे पनि राम्रै राम्रो छ ।’ टिमै राम्रो । भनेपछि खेलाडी नै राम्रो । समर्थक पनि राम्रो । ती समर्थकले कीर्तिपुरको टीयू मैदानमा गाउने देउडा गीत र नाच दुवै राम्रो ।
नराम्रो हुन्थ्यो त सुदूरपश्चिमले कसरी समूह चरणको अन्त्यमा शीर्ष स्थान जित्यो ? अनि कसरी क्वालिफायर–वान पनि सजिलै जितेर फाइनल पुग्थ्यो ? यसबीच पनि सुदूरपश्चिमको सबैभन्दा राम्रो चाहिँ के हो त ?
आजभोलि जताततै नेपाल प्रिमियर लिग (एनपीएल) कै चर्चा छ । हामी पनि त्यसकै कुरा गरिरहेका छौं । हिजै मात्र प्रतियोगिता सुरु भएको जस्तो लाग्थ्यो, अब त सकिन पनि लाग्यो । जम्मा जम्मी एकै खेल मात्रै बाँकी छ, फाइनल । उपाधिको भिडन्तमा सुदूरपश्चिमको प्रतिद्वन्द्वी हो, जनकपुर बोल्ट्स ।
जनकपुर त्यही टिम हो, जसले लिग चरणमा दोस्रो स्थान ओगटेको थियो, सुदूरपश्चिमको ठ्याक्कै मुनि । यस्तोमा यसको अर्थ सिधा छ– फाइनल खेल तिनै दुई टिमबीच हुने भएको छ, जसलाई सबैभन्दा राम्रो दुई टिम भन्न मिल्छ ।
प्रतियोगिताको सुरुमै एकखाले अनुमान थियो, यसपल्टको एनपीएलमा त्यही टिम सफल हुनेछ, जसका विदेशी खेलाडी चम्किने छन् । अझ स्पष्ट भन्दा जुन टिममा ‘फरेनर्स इम्प्याक्ट’ बढी सटीक हुन्छ, त्यही टिमले राम्रो गर्नेछ । भयो पनि यस्तै । त्यसो त राजनीति र कूटनीतिमा ‘फरेनर्स इम्प्याक्ट’ लाई सायद निको मानिन्न । तर, खेलकुदमा यो राम्रै हो, सकारात्मक ।
अब सबैभन्दा पहिले उठाइएको प्रश्नमै जाने हो भने सुदूरपश्चिमको एउटै सबैभन्दा राम्रो पक्ष भनेको उसको लगभग सबै विदेशी खेलाडी चम्कनु हो । लिग चरणमा पुछारतिर परेको टिमको एउटै गुनासो सुनिएको थियो, हाम्रो त विदेशी खेलाडी चल्दै चलेनन् । तर, सुदूरपश्चिमका विदेशी खेलाडी भने मज्जाले चले । तिनको ब्याट पनि चल्यो, बलिङ पनि चल्यो । यसमा सबैभन्दा पहिले नाम आउँछ, सइफ जइब । यी ब्याटिङ अलराउन्डर हुन् ।
यी इंग्लिस खेलाडीले ८ खेलमा २ सय ६ रन बनाइसके । अनि ११ विकेट पनि लिएका छन् । त्यसपछि आउँछन्, ब्रान्डन म्याकमुलेन । उनी भने स्कटल्यान्डका हुन् । यिनले भने ८ खेलमा १ सय ८७ रन बनाएका छन् । अनि उनले लिएको विकेट संख्या हो, ६ । न्युजिल्यान्डका स्कट कुगेलिन त पूरा प्रतियोगितामै सबैभन्दा बढी विकेट लिने बलरमध्ये एक हुन्, अहिलेसम्म । उनले ८ खेलमा १६ विकेट लिएका छन् । ब्याटबाट उनले धेरै खास केही गर्नु परेकै छैन ।
अझ उनीसम्म ब्याटिङको पालै आउँदैन् भन्दा पनि हुन्छ । अर्को विदेशी खेलाडी हरमिन सिंह मेरिकी हुन् । उनले ४ खेल मात्रै खेलेका छन्, तर लिएका छन्, आठ विकेट । यति भन्दाभन्दै सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नाम कसरी छुटाउने ? नेपालको घरेलु क्रिकेटका स्टार खेलाडीको एउटा सानो सूची बनाउने हो भने त्यसमा रहेका नाममध्ये यसपल्टको एनपीएलमा सबैभन्दा बढी चम्कने खेलाडी हुन्, तिनै दीपेन्द्र ।
यस्तो किन पनि भन्नुपरेका हो भने त्यस सूचीमा पर्ने केही खेलाडी नराम्रोसँग असफल भएका छन्, यसपल्टको एनपीएलमा । जे होस, कुरा के भन्दा क्रिकेटका कप्तानको ठूलै भूमिका हुन्छ । अझ केहीले त प्रशिक्षकभन्दा कप्तान नै ठूला भन्छन्, क्रिकेटमा । यही काम दीपेन्द्रले मीठोसँग गरिरहेका छन् । क्रिकेटको ठ्याक्कै भाषामा ‘लिडिङ फ्रम द फ्रन्ट’ । उनी आफैं सबैभन्दा बढी रन बनाउने खेलाडी सूचीमा छन्, उनले ८ खेलमा २ सय १८ रन बनाएका छन् ।
यहाँनिर भेट्रान भन्न मिल्ने विनोद भण्डारीलाई पनि छुटाउनु हुन्न । सुदूरपश्चिमका लागि उनले गुनै मान्न सकिने खाले खेल प्रदर्शन गरिरहेका छन् । सबैभन्दा पहिले उनले ओपनरको भूमिका नै दरिलोसँग निभाइरहेका छन् । त्यसकै प्रमाण त हो, उनको ब्याटबाट निस्केको १ सय ९४ रन । जति उनी राम्रो ब्याटिङ गरिरहेका छन्, त्यत्तिकै सटीक विकेटकिपिङ पनि गरिरहेका छन् । यस्तोमा विनोदकै कारण सुदूरपश्चिमलाई टिममा एउटा फरक भूमिकाको खेलाडी छिराउने मौका मिलिरहेको छ ।
अब जनकपुरको कुरा । जनकपुरको फाइनल यात्रा त्यति सुमधुर रहेन, जति सुदूरपश्चिमको रह्यो । सुरुआत चाहिँ जनकपुरले राम्रै गरेको थियो, तर पछि उसको प्रदर्शन केही तलमाथि भयो । तर, जनकपुर पनि फाइनलका लागि त्यत्तिकै हकदार हो । यसका लागि पनि उसले आफ्नो विदेशी खेलाडी जिम्मी निसमलाई धन्यवाद दिनैपर्छ । यिनी पनि अलरान्डर नै हुन्, न्युजिल्यान्डका । यसपल्टको एनपीएल खेल्ने विदेशी खेलाडीमध्ये सम्भवतः सबैभन्दा ठूलो नाम ।
यी निसमले ८ खेलमा २ सय ४३ रन बनाएका छन् । त्यतिमात्र नभएर उनले ६ विकेट पनि लिइसकेका छन् । खासमा उनी कति धेरै उपयोगी खेलाडी हुन् भन्ने कुरा क्वालिफायर–टुमा उनको प्रदर्शनले देखाउँछ । त्यस खेलमा प्रयोग भएको पिच आफैंमा ब्याटरका लागि गाह्रो थियो । बल राम्रोसँग ब्याटमा आइरहेकै थिएन । अरू सबै ब्याटर रन बटुल्न असफल रहेको बेला उनले भने मज्जाले ४५ रन बनाए, कर्णाली याक्सविरुद्ध ।
अहिले तत्कालका लागि सबैभन्दा बढी लयमा रहेका खेलाडी उनी नै हुन् । त्यसो त उनी ३४ वर्षका भए, माथिल्लो दर्जाको अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढिएको पनि धेरै भइसकेको छैन । कठिन पिचमा काम लाग्ने भनेकै यिनी जस्ता खेलाडी हुन्, शक्तिशाली ठूलाठूला प्रहार गर्न सक्ने । फेरि नेपालमा खेल्न पाएर उनी खुसी पनि छन्, आफ्नो खेलमा आफैं रमाइरहेका छन् । उनी जत्तिको विदेशी खेलाडीबाट योभन्दा बढी के नै आस गर्ने र ?
जनकपुरका लागि श्रीलंकाली मूलका अर्का अमेरिकी खेलाडी लाहिरू मिलान्थाले पनि ब्याटबाट राम्रै गरिरहेका छन् । सुरुका चार खेलमा असाध्यै राम्रो खेलका यी विकेटकिपर ब्याटर पछिल्लो समय अलिकति रन बनाउन संघर्ष गरिरहेका छन् । तर, उनको सबैभन्दा ठूलो विशेषता हो– उनी जत्ति अरू विदेशी खेलाडी टीयू मैदानसँग अभ्यस्त छैनन् । क्यानाडाका हर्ष थाकेरले पनि ९ खेलमा ११ विकेट आफ्नो नाममा लेखाइसके ।
जनकपुरका लागि हाम्रो आफ्नै छुटाउने नहुने नाम भनेको ललित राजवंशी हो । उनले ९ खेलमै १६ विकेट लिएका छन् । कुगेलिनसँगै उनी सर्वाधिक बढी विकेट लिने सूचीको शीर्षमा छन् । बढी रन बनाउने १० खेलाडीको सूची बनाउँदा त्यसमा ६ विदेशी छन् । अनि यस्तै बलरको सूचीमा पाँच विदेशी छन् । त्यो अर्थमा नेपाली र विदेशी खेलाडीको सन्तुलन ठीकठीकै छ । नेपाली क्रिकेटका लागि जति राम्रो विदेशी खेलाडी आयो, त्यति नै राम्रो पनि हुन्छ ।
यति धेरै कुरा गरिसकेपछि एउटा सार भने खिच्न सकिन्छ र यसले तयार पार्छ, एनपीएलमा राम्रो प्रदर्शनको सूत्र । त्यो के भने अबका संस्करणमा सुदृढ प्रदर्शन गर्ने हो भने चल्ने खालका तीन/चार विदेशी खेलाडी ल्याउनैपर्ने हुन्छ । यहाँनिर चल्नेको अर्थ नाम मात्रै होइन, बल र ब्याट दुवैबाट खेल्न सक्ने हो र सबैभन्दा ठूलो टिमका लागि योगदान दिन सक्ने पनि । खालि पेन्सन मात्रै पकाउन आउने विदेशी खेलाडी ठीक हुन्न, मज्जाले खेल्न सक्ने नै चाहिन्छ ।
यसपल्टको एनपीएलले दिएको ‘विनिङ फर्मुला’ अर्थात् जित्ने सूत्र यही नै हो ।
