भनिन्छ– क्रिकेट हेर्नेले फुटबल हेर्दैनन्, फुटबल हेर्नेले क्रिकेट । के नेपालमा पनि यस्तै हुन्छ ?
जतिबेला नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ सकिनेछ, यसका राम्रा पक्षमाथि चर्चा हुनेछ । अनि नराम्रा पक्ष पनि कोट्याइनेछन् । यसपल्टको एनपीएलको साँच्चै सबैभन्दा राम्रो पक्ष के रह्यो ? सीधा उत्तर हुनेछ, दर्शकको अपार समर्थन ।
समर्थन मात्रै होइन्, टीयू क्रिकेट मैदानमै पुगेर खेल हेरेका दर्शक । अझ पैसै तिरेर क्रिकेट हेरेका दर्शक । प्रतियोगिता सुरु हुनुअगाडि एक प्रकारको डर थियो, कतै दर्शक नै नहुने त होइन ?
एनपीएलका हर्ताकर्ता पारस खड्का दाबी गरिरहेका थिए, दर्शक मज्जाले आउनेछन् । ‘दर्शकबाटै राम्रो आम्दानी हुनेछ,’ उनी यस्तै भनिरहेका थिए । नभन्दै यस्तै भयो । एकाध अपवादलाई छाडेर लगभग सबै खेलमा अहिलेसम्म दर्शक पुग्दो नै रहेको छ । अबका केही दिनमा लिग चरणका सबै खेल सकिनेछन् । यिनै खेलले प्ले–अफमा पुग्ने टिम कुन कुन हुन् ? त्यो निर्धारण गर्नेछ । त्यसैले यी खेलमा थप रोमाञ्चकता हुनेछ । क्रिकेट खेल न पर्यो, हिसाबकिताब नै आवश्यक हुन्छ, कुन टिम कहाँ रह्यो भनेर ठ्याक्कै भन्न ।
त्यसैले त हो, क्रिकेटलाई अझ रोमाञ्चक बनाउने । पुस ६ मा फाइनल हुनेछ । त्यसअघि प्ले अफका तीन खेल हुनेछन्, एक इलिमिनेटर । अनि दुई क्वालिफायर । यी खेल ठ्याक्कै नकआउट जस्ता त होइनन्, तर लगभग त्यस्तै हुन पनि । त्यसैले सजिलै अनुमान गर्न सकिन्छ, यी खेलमा पनि दर्शकको कमी हुन्न । फाइनलको त झन् कुरै बेग्लै हुनेछ । जति बेला सबै ३२ खेल सकिनेछन्, सम्भवत: कति दर्शकले टिकट नै काटेर हेरे भन्ने तथ्यांक बाहिरिनेछ ।
अहिलेलाई प्रश्न हो, साँच्चै यति धेरै दर्शकले किन एनपीएललाई रुचाएका होलान् ? यत्ति विश्लेषण अहिले नै गर्न सक्छौं । टिकट नै काट्ने दर्शन जुट्ने तीन खेल मात्र छन्, नेपालमा । त्यसमा पहिलो भयो, फुटबल । दशरथ रंगशालामा हुने फुटबल हेर्न लाग्ने दर्शकको घुँइचोको इतिहास पुरानो छ । त्यसपछि अर्को खेल भलिबल भयो । पछिल्लो समय भलिबललाई पनि दर्शकको कहिल्यै अभाव छैन । भलिबल भने कडर्भ हलमा हुने खेल भयो । अनि यही क्रिकेट ।
एनपीएल त नेपाली क्रिकेटको इतिहासकै कोशेढुंगा सावित भएको छ, दर्शकको ओइरोका कारण । अन्तर्राष्ट्रिय अनुभवलाई पनि आधार मान्ने हो भने प्राय: फुटबल र क्रिकेटका दर्शक फरक हुन्छन् । फुटबल र क्रिकेट दुवैको जन्मथलो इंग्ल्यान्डमै पनि भनिन्छ, क्रिकेट हेर्नेले फुटबल हेर्दैनन्, फुटबल हेर्नेले क्रिकेट हेर्दैनन् । के यो तथ्य नेपालमा पनि लागू हुन्छ त ? यसको उत्तर भने हामीसँग छैन । खालि अनुमान गर्न सकिन्छ, सम्भवत: नेपालमा पनि यस्तै हुँदो हो ।
फेरि क्रिकेटकै दर्शकमा केन्द्रित हुने हो भने यसपल्टको एनपीएलमा दर्शक एकाएक आएका होइनन्, यसका लागि पछिल्लो केही वर्षदेखि आधार भने तयार भइरहेका थिए । एक त नेपालमा यो नै पहिलो पटक फ्रेन्चाइज लिग भएको होइन । फेरि उता भारतमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) पनि आफैंमा नेपाली दर्शकका लागि नयाँ रहेन । यस्ता फ्रेन्चाइज लिग कसरी खेलाइन्छ ? खेलाडीको लिलामी कसरी चल्छ ? यी तथ्यबाट सबै जानकार नै भइसकेको स्थिति थियो ।
धेरैलाई त्यो समय मज्जाले याद हुनुपर्छ, जति बेला पछिल्लो आईसीसी क्रिकेट वर्ल्डकप लिग–टु २०१९–२०२३ मा नेपालको स्थिति दयनीय बनेको थियो । नेपालको वान–डे मान्यता नै खोसिने डर थियो । ठीक त्यही बेला नेपाली टिमका कप्तानमा नियुक्त भए, रोहित पौडेल । अनि प्रशिक्षक बने, मोन्टी देसाई । यिनीहरूको जोडीले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटमा गज्जबको सफलता दिलाए । यसले नेपाली क्रिकेटप्रति दर्शकको मोह गाढा भएको थियो ।
नत्र यस अगाडि पनि टीयू मैदानमा दर्शक नै नआएका होइनन् । त्यही गाह्रो समयमा नेपाली दर्शकले टीयूमा गएर क्रिकेट हेर्न छाडेका पनि थिए । हातैले दर्शक गन्न सकिने स्थिति थियो । तिनले पनि सम्भवत: टिकट काटेका थिएनन् । त्यहीबेला एकपल्ट तिनै कप्तान रोहितलाई सोधिएको थियो, क्रिकेटलाई माया गर्ने दर्शकहरू कहिले बाक्लोसँग फर्कन्छन् होला ? उनले त्यसमा साह्रै सटीक उत्तर दिए, ‘जति–जति बेला नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सफलता चुम्न थाल्नेछ, दर्शक बढ्नेछन् ।’
ठ्याक्कै यस्तै भएको हो । नेपालले त्यस लिग–टुमा राम्रो मात्रै गरेन, विश्वास नै गर्न नसकिने गरी शृंखलाबद्ध रूपमा एकपछि अर्को खेल जित्यो । ठीक यहीबेला नेपाल टी–ट्वान्टी विश्वकपमा पनि छनोट भयो । अनि अमेरिका र वेस्ट इन्डिजमा भएको त्यस विश्वकपका बेला नेपालको प्रदर्शन राम्रै जस्तै रह्यो । अनि नेपालले एसियाकपमा भारत र पाकिस्तान जस्ता देशविरुद्ध पनि खेले । त्यसैले बिस्तारै नेपाली खेलकुदमा मज्जाले क्रिकेट हेर्ने र बुझ्ने दर्शक बाक्लो संख्यामा तयार हुँदै थियो ।
भलै नेपालमा घरेलु क्रिकेटको ढाँचा कमजोर छ, तर यसबीच पनि पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट भने एकपछि अर्को चलिरह्यो । महिना दिन बिराएर एकपछि अर्को क्रिकेट भइरह्यो, हाम्रोमा । यस्तोमा दर्शकलाई पनि बानी पर्न थालेको थियो, क्रिकेट हेर्न । यो लगातार क्रिकेटको शृंखलामा क्रमभंग हुनुपर्छ, दर्शक हराउने डर हुन्छ । अझ भनौं, दर्शक पलायन हुन्छन् । क्रिकेट नियमित भइरह्यो भने दर्शक पनि नियमित हुने रहेछ, अनुभवले यस्तै भन्छ ।
नेपालले सन् २०१४ मै पनि बंगलादेशमा भएको टी–ट्वान्टी विश्वकप खेलेको थियो । त्यसको छेउछाउ पारेर त्यही बेलै पनि खासखास प्रतियोगितामा दर्शकहरू टीयू पुग्ने गर्थे, त्यो पनि राम्रै संख्यामा । पछि नेपाली क्रिकेट विवाद र अन्योलतामा फस्यो, खेल आफैं ओरालो लाग्यो । क्रिकेट मन पराउने दर्शक हराए । यसपल्ट भने अपेक्षाभन्दा बढी दर्शक आएको पनि पक्कै हो, यसको तत्कालीन कारण भनेको यो प्रतियोगिताले पाएको चरम चर्चा पनि हो ।
एनपीएलका आठ टिम छन्, तिनले प्रतियोगिता सुरु हुनु एक महिना जति अगाडिदेखि नै सक्दो प्रचारप्रसार गरे । त्यसका लागि अहिले फेसबुकको रिलदेखि टिकटकले पनि धेरै काम गरेको छ । अझ भनौं सामाजिक सञ्जालले पनि एनपीएलको लोकप्रियता ह्वात्तै बढाउन मदत गर्यो । अनि नेपाली खेलकुदले अन्तर्राष्ट्रिय खेलकुदमा खासै केही गर्न नसकेको मात्र हो, नत्र खेल मन पराउने दर्शकको कहिल्यै कमी रहेन, विशेषत: क्रिकेटमै पनि ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) देखि लगभग सबैले मानेको एउटा तथ्य के हो भने नेपाली क्रिकेटलाई समर्थकको कहिल्यै कमी छैन । अझ भन्नौं हुन्न । त्यसैले त अन्तर्राष्ट्रिय क्रिकेट नेपालप्रति कायल छ । अन्तर्राष्ट्रिय रूपमै के चर्चा गरिन्छ भने टेस्ट मान्यता पाउने कतिपय देशमा पनि क्रिकेटको लोकप्रियता त्यति छैन, जति नेपालमा छ । इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतलाई छाडेर अन्यत्र क्रिकेटका दर्शक कहाँ छन् र ? अझ छैन नै भन्दा हुन्छ ।
तर, नेपालमा भने दर्शक छन् । त्यसैले धेरै विदेशी खेलाडीले बारम्बार भनेका छन्, नेपालमा दर्शकको उपस्थितिले क्रिकेट खेल स्वयंलाई फरक बनाउँछ, मज्जाको बनाउँछ । खेलाडीलाई पनि लाग्दो हो, भरिभराउ रंगशालामा गएर खेल्ने । तर, सबै खेलाडी भाग्यमानी हुँदैनन्, त्यसैले खालि दर्शकदीर्घा अगाडि खेल्न बाध्य हुन्छन् । नेपाली खेलाडी भने यो कुरामा भाग्यमानी नै छन् । यसपल्टको एनपीएलले त अझ प्रमाणित गरेको छ, खेल मात्र ढंगले गर्न जान्नुपर्छ, दर्शक आइहाल्छन् ।
