बघिनी अर्थात् सगरमाथा

आमादब्लम र सगरमाथा सँगसँगैजस्ता देखिन्थे । अझ ठूलो, अझ गजधुम्मे त आमादब्लम थियो । थाहा नपाउनेले सुरुमा आमादब्लमलाई नै सगरमाथा ठान्थे ।

मंसिर २९, २०८१

युवराज नयाँघरे

Baghini means Mount Everest

‘अब मौसम खुल्छ’ल्हाक्पा बूढाले आकाश हेरेर भने ।तर चारैतिरबाट हावा, बादल र पानीले घेर्दै ल्याएको म देखिरहेथें । बाक्लै पानी छिट्याएपछि हतार–हतार पाइला चालें ।

दिबुचेलाई चिसो हावा र बादलले छोपेकोछोपेकै थियो । मनमनै डराएँ– संसार हेरूँला भनेर आएको छु । रित्तै हुनु परें त... ।

होटलभित्र पुग्दा नपुग्दै बाटैमा श्रीमान् तेन्जिङ नुर्बु शेर्पा र श्रीमती आङ जाङमु शेर्पा भेटिए । उनीहरूले बडो सत्कारले हामीलाई भित्र्याए । झोलाझ्याम्टा एकातिर थन्के । अनि आगो ताप्न थाल्यौं हामी । भदौको १६ गते मध्य १२ बजे दाउरा ठोसी–ठोसी आगो ताप्न थालें म ।

‘जीउ ठीक छ ?’ ल्हाक्पा बूढाले सोधे ।

‘ठीक छु ।’ भन्न त यसो भने पनि टाउको भारी हुन थालेको थियो । डर पनि बढिरहेको थियो । मुटु अलिक 

चाँड्चाँडो चलेको हो कि–हो कि भइरहेथ्यो मलाई ।

‘पानी खाइराख ।’ बूढाले यसो भनेर अलिक परको भित्तामा अडेसिएँ । म तातो पानी लिएर झ्याल बाहिरको संसारमा डुबिरहेथें । बादल फाट्तै पानी बिर्बिराउँथ्यो । फेरि हावाले चारैतिरबाट बादल बढारकुँडार पारेर थुपारी हाल्थ्यो दिबुचेको आकाशमा ।

‘कति छन् घर दिबुचेमा ?’

‘आठ घर ।’ जाङमुले भनिन् र हामीलाई खाजा खुवाउन असिनपसिन गरिरहिथिन् । एक डालो उसिनेका आलु, चिजका चार–पाँच लाम्चा चोइला, एक मुठी छुर्सेप, २–३ चम्चा सेर्कमले भरिएको खाजा आयो सामुन्ने । हरियो धनियाँ लसलस पिनेर छेउमा चुल्याएर राखिएथ्यो । कुन छेउबाट खान थाल्नु, कसरी खानु, केमा चोबेर खानु ?

यहींनेर अल्मलियो केटो ।

खाने पनि कुनै विशेष शैली छ कि ? छेउ–टुप्पो कुनै बेग्लै छ कि ? थाल्ने कुनै अलग पारा पो छ कि ? म अरूका भागतिर चोर आँखाले हेर्दै थिएँ । आफूले सधैं खाएको, भेटेको, देखेको र मन पराएको पनि आलु । यही आलुसँग नजिकिएर खाजासँग नाता जोडें ।

जाङमु खितखिताएर हाँस्दै चियाको कित्लीमा नुन चिया हाल्न थालिन् । अरूले घ्यु र नुन मिसाइएको चिया खाए । मैले भैरुङपाती सुकाएर बनाएको हरियो चिया खाएँ ।

‘पचाउन नसक्ला है आलु । थोरै खानु ।’ मैले आलु छोडाइरहेको देखेर ल्हाक्पा बूढाले सतर्क्याए । लेकाली आलुको स्वादमा भुलेर ७–८ दाना बुत्याइसकेथें । अझै पनि मेरा हात यतिखेर सकपकाएर गइहाल्थे आलुका चाङमा ।

‘छेर्छ–छेर्छ !’ नुर्बुले पनि ख्याल गर्न सम्झाए । मैले बोलिनँ । मुस्काएर कुरा सुनिरहें ।

त्यो मुस्कानले भित्रभित्र यसो भनेको थियो– ‘लेक लागेर मान्छे मर्ला । आलुको छेरपाटोले मरिहालिन्न होला । हेरेर मर्नुभन्दा छेरेर मर्नु जाती होला साथी हो...’

साँच्चिकै दिउँसोतिर दिन उज्यालियो । म घरबाट बाहिरिन्थें । लजसँगै जोडिएर पाङबोचे गएको बाटोका भरियाहरू हेर्थें । एकाध जना लट्ठी टेकेर गइरहेका घुमन्तेसँग बातचित गर्न खोजिरहन्थें ।

दिबुचेलाई दूधकोशीको छङछङले हरक्षण गीत गाएर सुनाइरहेको लाग्थ्यो । पाखो भित्तोमा दिबुचे बसेको थियो । पूर्वतिर रुखका हाँगाहाँगीले छेलिँदाछेलिँदै पनि देखिन्थ्यो पाङबोचे । दक्षिणतिर सगरमाथा राष्ट्रिय निकुञ्जले घ्वाप्पै छोपेको थियो । उत्तरतिर खुम्बिलाका ढुंगेनी चुचुरा, चेप, खोंच र भिराला चुलीले अनकन्टारसँगै आँखै अत्तालिने संसार थियो । हिउँ अलि–अलि अडिएको देखिन्थ्यो ।

‘टाउको रनन्न भा’छ ।’ अमरलाई सुनाएँ । उनले टिम्मुरको धूलो दिए हत्केलामा । अनि तातोपानी गिलासमा थपेर सम्झाए– ‘पानी खाकोखाकै गर्नु ।’

‘तपाईं १,४०० मिटरबाट एकैचोटि ३,७७० मिटर उचाइमा आइपुग्दा अक्सिजन कसरी पुग्छ त ? दिमागमा अक्सिजन कम भयो भन्ने ज्यानको इशारा हो यो । तपाईंलाई त टाउको गरुँगो मात्र भा’छ । धेरै त मुटु फुटेर मर्छन् ।’ गुरुङले गोर्खाली पारामा सम्झाए ।

मैले आफ्नो गिदी, मुटु, सास सबै एकैपटक सम्झेर हत्केलाको टिम्मुर फक्क्याएँ । अनि तातोपानी घुट्काएर आँखा परपर हुत्याएँ ।

‘नमस्ते–नमस्ते ।’

‘काँसम्म हो ?’ बाटोमा भारी रोकेर बसेका दुई जना शेर्पालाई सोधें । ती थिए– आङ देन्डी शेर्पा र किपा शेर्पा ।

‘गेस्ट लिएर आउँदै छ– अर्को साथीले ।’ किपाले भने ।

सगरमाथा जाँदा बाटोको अन्तिम गाउँ रहेछ– दिबुचे । त्यसउता होटल, रेस्टुराँ, लज भए पनि बस्ती चैं यो नै अन्तिम भएको सुनें । पाङबोचे जान दिबुचे र पारि फोर्चेपट्टि पनि बाटो थियो । पुरानो बाटो दिबुचे भए पनि अचेल खोलापारि खुम्बिला र फोर्चे भएर जानेहरू मनग्गे हुँदा रहेछन् ।

‘यो बाटो त खुबै हिँडियो नि । पहिला मेल रनरको काम गर्थें । गेस्टको सम्चार बोकेर तल झर्ने र तल आएको सम्चार माथि लाने काम हुन्थ्यो ।’ किपा हाँसे बोल्दाबोल्दै ।

‘किन, के भो र ?’ खसखस पोखें ।

‘कत्ति मेल रनर खबर लिएर आउजाउ गर्दा बाटैमा स्याब्रु नाच्दानाच्दै मोहनीमा पर्थे । अनि कताको मेल, कताको रनर । अन्तैको पाङदेनमा लटपटिएर बस्थे । हा... हा... हा... ।’

किपाले पुरानो कुरा सम्झेर हाँसे ।

आङ देन्डीले अरू थपे– ‘धेरैले त्यो बेला जागिर गुमाए । घरबाट ठुल्ठूलो सपना देखेर भारी बोकेर सगरमाथा आउँथे । जाडो धपाउन प्याक तान्दा–तान्दा आफ्नो अनुहार नि कालो भइसक्थ्यो । हिउँ, हावा, घामले भन्दा बढ्ता त प्याकले कालो पार्दो रै’छ अनुहार । कालो मुख लिएर घर पुग्दा कसरी उज्यालो होस् परिवारको अनुहार ।’

सुनिरहें आङ देन्डीका गहिरा कुरा । बेलुकासम्म पाङबोचे पुग्ने भएकाले उनीहरू हतारिएका थिएनन् । थर्मसको पानीमा घोलेर चम्पा खाए देन्डीले । किपाले डल्लो पारेर खाए– घ्युमा मुछेर चम्पा ।

बाटोपारि भोजपत्रका रुख थिए– छपक्कै । भोजपत्रका फेद मास्तिरबाट पत्र–पत्र निस्केका देखिन्थे । आङ देन्डीले लट्ठीले औंल्याए– ‘पैला–पैला भोजपत्रमा धर्मका कुरा लेख्थ्यो रे । हाम्रा पालामा अर्कै काम भो त्यसको । टिनमा भोजपत्र राखेर घ्यु हाल्ने गरिन्थ्यो । अचेल वनको वनै कुहिएर जान्छ ।’

खुम्बिलातिरबाट आएको हावाको फुइँकीले कुचै लाएजस्तो बढारेर उज्यालो पार्‍यो । अनि स्वात्तै देखिए दुई गजधुम्मे चुचुरा पूर्वतिर । मेरो छेउमा पासाङ दावा र सोनाम डोल्मा थिए । उनीहरू पाङबोचेबाट फोर्चे गाउँका आफन्त भेट्न आएका थिए ।

‘यति भए पनि देख्न पायो तपैंले छमोलिङ्मालाई ।’ सगरमाथातिर देखाएर दावाले भने । आमादब्लम र सगरमाथा सँगसँगै जस्तो देखिन्थे । अझ ठूलो, अझ गजधुम्मे त आमादब्लम थियो । थाहा नपाउनेले सुरुमा आमादब्लमलाई नै सगरमाथा ठान्थे ।

शेर्पाहरूले सगरमाथालाई देवी छमोमीय लाङ्साङ्या भनेर मान्दा रहेछन् । एक हातमा अन्न, फलफूल र अर्को हातमा धनसम्पत्ति लिएर बसेकी देवी बाघमाथि आसन जमाउने उनीहरूको विश्वास रहेछ । बोलीचालीमा देवी छमोमीय लाङ्साङ्याको नाउँ अर्कै भएको रहेछ ।

‘बाघमाथि चढ्ने देवी भएरै हाम्रो श्रीमतीहरू त्यस्तै आँटिली, कडा, बलियो र खटनपटन चलाउने हुन्छ नि ।’ पासाङ दावाले त्यसो भन्दा उनकी पत्नी आँखा तर्दै मुस्काइन् ।

नयाँ कुरा थाहा पाएर रमाएँ म । दिबुचे फर्कंदा भनें– ‘छमोलङ्मा मलाई स्वीकार है । तिम्रो शरणमा आएको छु ।’ बादलले यतिन्जेलमा दुवै चुचुरा छोपिए ।

बारीमा घाँस काटिरहेका राई केटोले भन्यो– ‘दिबुचेलाई हामी कुलुङ राईले खुबै मान्छौं । यै बाटो स्वर्ग पुग्छ रे मर्दाखेरि । त्यै भएर पैला–पैला राईहरू यता नबसेर तल–तल बसेको रे । अचेल त स्वर्ग पनि जाँदैन होला राईहरू त । अनि त माथि पाङबोचेसम्मै आएर व्यापार गर्छन् । हा हा... हा हा... हा हा... ।’ ऊ फेरि मज्जाले हाँस्यो ।

सानो खोल्सो कटेलगत्तै पहेँला फूल छपक्कै फुलेका देखिए । टाउको मुठारिएका धुपीका बुट्यान म चुँड्दै सुघ्थें । दक्षिणपट्टिको हरियो जंगलपट्टि फर्केर लामै सास फेरें । एक हैन, दुई हैन तीन पटक लामो–लामो तानेर धेरैबेर फोक्सोमा रोकेर फ्याकें ।

‘सास रोक्ने ट्रेनिङ ?’ बीरु बोले ।

‘आयु लम्ब्याउने ट्रेनिङ ।’ उनकै पारामा उत्तर दिएँ ।

हुन पनि पिँधबाट धर्तीको कुममा पुगेको थिएँ म । धर्तीको शिर त अलिक पर थियो । तर भुइँकुइरो र बादलले घरीघरी देखाउने, छोप्ने गरिरहेथ्यो आमादब्लमलाई । खोइ किन हो सगरमाथा र आमादब्लम सँगसँगै बसे पनि त्यो सर्वोच्च चुली छोपिरहेकै थियो बादलको कालो रासले ।

खोलापारि एउटा निकै कलात्मक र भव्य होटल बनिरहेथ्यो ।

‘काठ, ढुंगा कताबाट ल्याउने हो ?’ मैले बनिरहेको होटल हेर्दै सोधेको थिएँ ।

‘यहाँ केही पाइन्न । एउटा ढुंगा खन्न पनि निकुञ्जको सिफारिस चाहिन्छ । सबै तलैबाट ल्याउने हो । सक्नेले हेलीमा ल्याउँछन् । घर, गोठका लागि ल्याउनेले जोप्क्यो, खच्चड, याकमा भारी हाल्ने हो ।’ बीरुको उत्तर सुनें मैले ।

हामी खोलो फड्केर अलिक अघि गयौं । पहेँलै फुलेका फूलका बोटहरू चुँड्दै सुघें । जटामसीका पात चुँडेर 

चाटें । माथि पाङबोचे जाने फोर्चेको त्यो तेर्सो बाटो नछोई मोडियौं । आमादब्लम खुल्दै, हराउँदै गरिरहेथ्यो । सगरमाथा लुकेको–लुकेकै थियो ।

बिहानै पनि आमादब्लम देखेर सगरमाथा नदेख्दा दिक्दार मानेको थिएँ । एकोहोरो सगरमाथातिरै देखिएला कि भनेर आँखा च्याती–च्याती हेरेको थिएँ ।

‘चढ्ने कुरा आफ्नो हो । हेराउने चैं मेरो काम हो । सगरमाथा नदेखी हामी दिबुचेबाट फर्कंदैन,’ ल्हाक्पा बूढाले काला पत्थरतिर हेरिरहेको मलाई ठूलो आड दिएर भनेथे ।

अहिले सगरमाथा नदेख्दा दु:खी भइनँ । किनभने दिबुचेमा अझै केही दिन बसिने कुरा सुनेको थिएँ । 

त्यसैले मन मारिहाल्नु भएको थिएन । अलिक ठूलो ढुंगामा उभिएर काला पत्थर देखिन्छ कि भनेर हेरें । तर जंगल, पहाडका तरेली, खोंचका तह–तहले त्यो मेरो रहर फेरि पनि बाम्पुड्कियो । बरु यतिखेर पाङबोचेका घरहरू अलिक खुलेर देखिए ।

लजमा पसेर तातोपानी सुर्क्याएर भनें– ‘भोलिसम्ममा चिनिसक्ने छ मलाई दिबुचेले ।’ मैले खाइरहेको कपमा अरू सु चिया थपेर जाङमुले भनिन्– ‘त्यसपछि भारी भएको टाउको हलुको हुनेछ ।’ 

पर कुनामा बसिरहेका नुर्बु हाम्रा कुरा सुनेर हाँसे । दिबुचेमा उडिरहेको कालो बादल फाटेर यतिखेर खुलेर आयो छ्याङ्ङ ।

युवराज

Link copied successfully