एनपीएल केवल खेलाडीको होइन, पिच र मौसमको पनि खेल हो । मौसम र पिचले खेलाडीमाथि झेल पनि गर्न सक्छ, कसरी ?
काठमाडौँ — उमेश पटवाल हुन्, नेपाली क्रिकेट टिमका पूर्वप्रशिक्षक । नेपाल प्रिमियर लिग (एनपीएल) मा उनी चितवन राइनोजका प्रशिक्षक छन् । प्रतियोगिता सुरु हुनुअघि उनी भन्दै थिए, ‘कीर्तिपुरको टीयू क्रिकेट मैदानको पिचले कस्तो व्यवहार गर्छ, त्यो हेर्न लायक हुन्छ ।
हामी सबै प्रतीक्षा गरिरहेका छौं, पिच कस्तो हुन्छ । धन्न हाम्रो खेल सुरुमै छैन, हामीसामु बुझ्ने अवसर हुनेछ ।’ उनको योजना थियो, पिचको व्यवहार अनुसार रणनीति तय गर्ने ।
यसपल्ट एनपीएलको पहिलो खेल थियो, विराटनगर किंग्सविरुद्ध जनकपुर बोल्ट्स । विराटनगरका लागि मार्टिन गुपटिलले पनि खेलेका थिए । उनले ५५ रन बनाए । यी न्युजिल्यान्डका खेलाडी पूरा विश्व घुमेर क्रिकेट खेलिसकेका खेलाडी हुन् ।
त्यो खेलमा विराटनगर पराजित रह्यो । पछि उनी भन्थे, ‘नयाँ पिचमा एकैपल्ट गएर खेल्न कहाँ सजिलो हुन्छ र ?’ भनेपछि उनी जत्तिको खेलाडीलाई पनि एकैपल्ट पिचलाई बुझ्न गाह्रै हुन्छ ।
खास कुरा यसरी सुरु गर्दा ठीक हुन्छ । यस्तो गर्नु र यस्तो नगर्नु भनेर हजार कुरा हुन्छन् क्रिकेटमा । त्यसैले यो जटिल छ । त्यसैले यसलाई रोमाञ्चक पनि बनाउँछ । जस्तो, एउटा उदाहरण । ब्याटर पक्कापक्की आउट छ । भनौं, एलबीडब्लै नै । तर, विपक्षी टिमका खेलाडीले अपिल नदिएसम्म रेफ्रीले आउट दिन पाउँदैन । फेरि स्टम्पमा बल लैजाँदैमा कोही ब्याटर आउट हुँदैन, यदि त्यसमाथिको बेल खस्दैन भने । बलले स्टम्पमा लागेर पनि कहिलेकाहीं बेल खस्दैन । यस्तोमा ब्याटर आउट पनि हुन्न ।
यी त भए अलिकति पुराना कुरा । खालि दोहोर्याएर भन्दा पनि मज्जा आउने भनेर मात्रै । टी–ट्वान्टी क्रिकेट त नयाँ हो । तर, यसमा पनि ती पुराना कुरा लागू हुन्छ । पुरानो जमानाको टेस्ट क्रिकेट पाँच दिन खेलिन्छ, त्यसैले पाँच–पाँच दिन चल्ने खेलमा नियम पनि त अनेक चाहियो नि । लामो होस् अथवा छोटो क्रिकेट, उत्तिकै जहिल्यै निर्णायक हुन सक्ने अर्को एउटा कुरा पनि छ र त्यो पिच नै हो । सिधासिधा भन्दा पिच त्यो हो, जहाँ खेलाडीले ब्याटिङ गर्छन् ।
बलरले बलिङ गर्छन् । तर, कुरा यत्तिकैमा सकिन्न । पिच साँच्चै कस्तो छ त ? यो कुराले पूरा खेलको नतिजा नै तलमाथि हुन्छ । यसको पनि एउटा मीठो उदाहरण दिन सकिन्छ । बिहानतिर खेल चल्दा आकाशमा जताततै बादल थियो । यस्तोमा पिचको व्यवहार खास एउटा हुन्छ । यस्तो बेला फास्ट बलर खुबै रमाउने गर्छन् । सम्भावना धेरै हुन्छ, ती फास्ट बलरले धमाधम एकपछि अर्को विकेट लिने । आकाशमा जहिले पनि बादल हुनु पर्छ भन्ने के छ ?
भनौं, बादल हटेर घाम लाग्छ । त्यतिबेला पिचको व्यवहार अर्कै हुन्छ । यो स्थितिमा रम्ने भनेको ब्याटर हो । ब्याटर मज्जाको छ भने उनले खुलेर रन बनाउन सक्छ । यहाँनिर पिचको मात्र कुरा आएन, मौसमको पनि कुरा आयो । भनेपछि पिच जति महत्त्वपूर्ण हुन्छ, मौसम पनि हुने रहेछ । हावा कहाँनिर कति जोडले बगिरहेको छ त ? हावामा पानीको मात्रा कति छ ? यसको पनि अर्थ हुन्छ क्रिकेटमा । यी त केही उदाहरण मात्रै हुन् । के यी उदाहरण अहिले चलिरहेको एनपीएलमा लागू हुन्छ त ?
हुन्छ नै । क्रिकेटमा प्रयोग हुने पिच आफैंमा जटिल इन्जिनियरनिङको विधा जस्तै हो । पिचकै लागि विश्व क्रिकेटमा धेरैपल्ट विवाद भएको छ, द्वन्द्व चलेको छ । यसले पनि भन्छ, यो पिच साह्रै मज्जाको रहेछ ।
एनपीएलका लागि प्रयोग भइरहेको कीर्तिपुरको टीयू मैदानको पिच चाहिँ कस्तो छ त ? जुन ब्याटरले यो पिचलाई बुझन सक्छ, जुन टिमले यो पिचको ठीक ढंगले अध्ययन गर्न सक्छ, त्यही टिमले हो, यो एनपीएलमा राम्रो गर्ने । अन्तर्राष्ट्रिय क्रिकेटका लागि यो टीयू मैदान प्रयोग हुन थालेको साढे २५ वर्ष भइसकेको छ ।
सन् १९९८ देखि भनौं । यो मैदानको इतिहास भन्नु पनि यत्तिकै हो । यहाँको पिच सुरुका दिनमा जस्तो थियो, अहिले त्यस्तो छैन् । यसले अनेक जीवन फेरिसकेको छ । सुरुका दिनमा भनिन्थ्यो, यो पिचले सहयोग गर्ने भनेकै बलरलाई हो । त्यसैले लामो समय टीयू मैदानमा धेरै रन बनेन, बलर नै हाबी रह्यो । यसै कारण नेपाली बलर उम्दा रहेको मानिन्छ, ब्याटरको तुलनामा ।
फेरि त्यस्तो दिन पनि आयो, जति बेला, अब भएन भनेर पिच ब्याटरलाई मद्दत गर्ने खालको बनाइयो । ब्याटरले जमेर रन बटुले, बलर हेरेको हेर्यै भए । यो पनि ठीकको स्थिति कहाँ थियो र ? खेलमा मज्जा आउन छाडेको थियो । रन मात्र बन्छ भने क्रिकेटमा रमाइलो हुन्न । टीयूको क्रिकेट पिचले नयाँ नयाँ जीवन पायो भन्नुको अर्थ यसलाई पूरा खनेर नयाँ बनाइएको होइन । सम्भवतः दुई तीनपल्ट टीयूको पिचले नयाँ जीवन पाएको छ, यो भनेको यसको माथिल्लो आठ दस इञ्चको पत्र पत्र फेरिएको छ ।
एनपीएलकै लागि भनेर अहिले नयाँ नयाँ पिच तयार गरिएको छ । यसका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बंगलादेशका मामुनलाई झिकाएको थियो । उनी खासमा पिच विशेषज्ञ हुन् । अहिलेको टीयू क्रिकेट मैदानको पिच उनैले बनाएका हुन् । उनले तयार पारेको पिच भने न ठ्याक्कै ब्याटरलाई मद्दत गर्ने खालको छ, न बलरलाई । यो दुवैलाई मदत गर्ने खालको पनि छ, दुवैलाई गाह्रो पार्ने खालको पनि छ । यो पिचमा दुवैका लागि केही न केही छ ।
अलिकति घाँस छ, नाम मात्रकै सही । त्यसैले यसलाई भन्न सकिन्छ, ‘स्पोर्टी पिच’ । यसलाई जो ब्याटर र जो बलरले बुझ्न सक्छ, फाइदा त्यसैलाई हुनेछ । भनेपछि अब्बल दर्जाको ब्याटरले यो पिचमा मज्जाले खेल्न सक्छ, दिल खुलेर रन बटुल्न सक्छ । बलरले पनि नापेर–तौलेर बलिङ गर्ने हो भने विपक्षी ब्याटरमाथि चर्को दबाब सिर्जना गर्न सक्छ । खेल हुँदै जाँदा पिचले आफ्नो स्वाभाविक रूप कति गुमाउने हो, त्यो पनि हेर्नलायक हुनेछ ।
र रह्यो, मौसमको कुरा । दिनको पहिलो खेल नौ बजेतिर सुरु हुन्छ । पिच पनि ओसिलो, शीत लागेको हुन्छ । यो स्थिति भनेको बलरलाई केही हदसम्म फाइदा गर्ने खालको भयो । त्यसैले निश्चित नै भन्दा हुन्छ, दिनको पहिलो खेलमा जुन टिमले टस जित्छ, त्यसले विपक्षी टिमलाई ब्याटिङका लागि निम्तो दिनेछ । ब्याटरलाई बल कसरी कति गतिले आउँछ, अनुमान गर्नै गाह्रो हुनेछ । अनि पछि बिस्तारै घाम लाग्नेछ र मौसमले ब्याटरलाई मद्दत गर्न सुरु गर्नेछ ।
त्यसैले दोस्रोपल्ट ब्याटिङ गर्नु ठीक हुनेछ, लक्ष्यलाई पछ्याउँदै । त्यसैले पहिलो खेलमा टस जित्नु ६० प्रतिशतभन्दा बढीले जित्ने सम्भावना बनाउनु हुनेछ । दोस्रो खेलमा लगभग स्थिति बराबरको हुनेछ । यो खेलमा बलरमाथि ब्याटर हाबी हुन सक्ने सम्भावना बढी हुन्छ । यो प्रतियोगिता त पुससम्म नै चल्नेछ । यो भयो काठमाडौंमा सबैभन्दा जाडो हुने समय । पुसतिर हल्का पानी पनि पर्ने सम्भावना हुन्छ । बिहान–बिहान न बाक्लै शीत लाग्नेछ ।
शीतले सधैं बलरलाई मद्दत गर्छ भन्न पनि सकिन्न । अझ साह्रै गाह्रो पनि पार्न सक्छ । बलरलाई बल राम्रोसँग समात्न पनि गाह्रो हुन सक्छ, विशेषतः स्पिनरलाई । सबै कुरा खेलको खास दिन के कस्तो हुन्छ, त्यसमा निर्भर हुनेछ । यही नै ठीक र यही नै बेठीक भन्ने पनि हुन्न । यसबारे ठीक निर्णय अनुभवी कप्तानले मात्र गर्न सक्छ र उनलाई मद्दत गर्ने भनेका प्रशिक्षक जस्ताले नै हो । त्यसको अर्थ, यसपल्टको एनपीएलमा खेलाडीले खेलेर मात्रै हुन्न, पिच र मौसमको पनि खेल हुनेछ र यसले झेल पनि गर्न सक्छ ।
